निर्णय नं. ३०८७ - ज्यान मार्ने उद्योग ।

निर्णय नं. ३०८७ ने.का.प. २०४४ अङ्क ५
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. १९
मुद्दा : ज्यान मार्ने उद्योग ।
निवेदक/प्रतिवादी: जिल्ला कालिकोट खिम गाउँपञ्चायत वडा नं. ५ बस्ने महेन्द्रराज बम ।
विरुद्ध
विपक्षी/वादी: अज बहादुरको बमको जाहेरीले श्री ५ को सरकार ।
फैसला भएको मिति: २०४४।५।२३।३ मा
मिसिल संलग्न केश फाराम हेरिएमा अगाडिका महलहरूमा छाला खुइलिएको ३५ दिनमा निको हुने ३½ र २ से.मी. लम्बाई सम्मका घाउहरू भएको भनी जनिए तापनि त्यसपछिका महलहरूमा धार भएको हतियार र कडा भन्ने महलमा चिनो लगाई राखेको देखिएबाट माथि लेखिएको कुरा समर्थन हुन नसकी घाउ खत परेका भनी देखाइएका ठाउँहरू जाहेरी दर्खास्तमा उल्लेख भए बमोजिम कै देखिन आएबाट केश फारामको अघिल्ला महलहरूमा लेखिएका र जनिएका कुराहरू नै साँचो हो भन्न सकिने अवस्था रहन नआउने ।
(प्रकरण नं. ३३)
हाजिरीमा देखाइए बमोजिम साउन १ गते देखि हाजिर भई कामकाज गरेको नदेखिने भनी साउन भाद्र महीनाको समेत हाजिरी फाराम पठाएकोमा निज दर्शनकला साउन २६ गते सम्म विरामी नै रही ऐ. २७ गते देखि मात्र हाजिर रहेको देखिन आएबाट निज दर्शनकला साउन १ गते देखि नै हाजिर रही काम गरिआएको भनी देखाउने असफल प्रयास गरेको देखिन आउने ।
(प्रकरण नं. ३४)
पेश गरेको औषधि उपचारको प्रमाणपत्र कुनै सरकारी अस्पतालको नभई एकजना प्राइभेट डाक्टरको देखिएको हुँदा निसन्देह रुपबाट प्रमाणमा लिन सकिने अवस्थाको नदेखिएको र आफ्नो सफाइमा पेश गरेको साक्षीहरूको बकाई समेत आपसमा नमिली फरक परेको देखिन आएकोले यस अवस्थामा निजको इन्कारी बहस जिकिर बमोजिम साँचो मान्न सकिने अवस्थाको देखिन नआउने ।
(प्रकरण नं. ३५)
निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी,विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षी, वादीतर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः यस अदालतको डिभिजन बेञ्जबाट मिति २०४२।२।१३।१ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र चढाउनु भएकोमा ‘यसमा व्यहोरा साँचो भए यस्मा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको ज्यान मार्ने उद्योग मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी निर्णय गर्नु’ भन्ने हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. २०३७ साल आषाढ ३२ गतेको बेलुका छोरी दर्शनकला र वर्ष १० को छोरा सूर्यबहादुर आफैं खोला नजिकको घट्टमा गहुँ पिध्न गएको बेलामा जाफे हुलाकको एजेन्ट पदबाट महेन्द्रराज बमलाई हटाउन लगाई छोरी दर्शनकलालाई एजेन्ट बनाए भन्ने रीसले परेगबहादुर बम, प्रभूजंग बम, महेन्द्रराज बम, सिरजंग बम, सुरजिम बम, संख बम, नन्दबहादुर बम, नागमल धामी आई घेरा दिई प्रभूजंग, सिरजंग, सुरजिम ३ जनाले यिनी २ जनालाई मार्नै पर्छ भन्ने बचन महेन्द्रराजलाई दिई निज महेन्द्रराजले हातमा लिएको खुकुरीले छोरी दर्शनकलालाई हानी मर्न बाँच्नाको दोसाँध गरेकोले निज छोरी दर्शनकलालाई उपचार गर्न जुम्ला अस्पतालमा राखिएको र छोरा सूर्यबहादुर मरे या जीवित के छ पत्ता नभई बेपत्ता भएकोले कारवाही गरिदिनु भन्ने निर्देशन गरिपाउँ भन्ने समेत व्यहोराको उपसभापति अजबहादुर बमको क.अं.एस.पी.कार्यालय जुम्लामा परेको मिति २०३७।४।५।१ को जाहेरी दर्खास्त ।
३. २०३७ साल आषाढ ३२ गते दिदी दर्शनकला र म पिठो पिध्न जाफे घट्टमा गएको अवस्था प्रभुजंग बम, सुरजीम बम, महेन्द्र बम, जना ३ सो घट्टमा आई महेन्द्र बमले यस घट्टा पिसी हुलाकमा बसी काम गरुलाँ भने ठानेकी होलिस् हैन ? भनी मेरो दिदीलाई भन्दा दिदी दर्शनकलाले हुलाकको काम गर्ने त भएँ भन्ने जवाफ गर्दा खुब एजेन्टको काम गर्ने भएँ भन्ने भएकी हैन भनी निज महेन्द्र बमले आफ्नु कम्बरमा भिरेको खुकुरी झिकी मेरो दिदी दर्शनकलाको मुखमा हानी घोची रगतपक्ष गरी बेहोश तुल्याउँदा म डराई घट्टको कुनामा जाँदा महेन्द्र बम म बसेको ठाउँमा आई खुकुरीको टुप्पाले मेरो बायाँ आँखामा काटी रगतपक्ष हुँदा मलाई छाडी दिदी भएतर्फ लाग्दा म सो घट्टको उज्यालो आउने खोपोबाट बाहिर निस्की भागी जंगलतर्फ जाँदा मेरो गाउँको नाम नचिनेको मानिससंग भेट भई निजले मलाई रुम भन्ने ठाउँको रतिमान बुढाको गोठमा पुर्याई दिँदा सो ठाउँमा ८।९ दिन बसी घरबाट मेरो भिनाजु धनमल शाही समेतका मानिस लिन आउँदा निजहरूका साथ घरमा आएको हुँ भन्ने वर्ष १० को सूर्यबहादुर बमले निजको बाबु जाहेरवाला अजबहादुरको रोहवरमा मिति २०३७।४।२८।३ मा गरिदिएको कागज ।
४. २०३७ साल आषाढ २६ गतेदेखि म मेरो ससुराली सिजावडकी गाउँमा छु । ससुरा मुनबहादुर शाहीलाई धान चोरी मुद्दामा पक्राउ गरेको र त्यसको सरजमीन ऐ. ३१ गते हुँदा सो सरजमीनमा म समेत बसेको छु र साउन २ गते मात्र म मेरो घर खिन गाउँमा आएको हुँ । वारदातको दिन म आफ्नो गाउँ घरमा नै छैन । जाहेरवाला अजबहादुरलाई यस अदालतमा लुटपिट मुद्दा दिएको रिसइवीबाट मेरो नाममा समेत ज्यान मार्न उद्योग गर्यो भन्ने जाहेरी दिएको हुनु पर्दछ म समेतको मद्दत भई जाहेरवालाकी छोरी दर्शनकलालाई ज्यान मार्नाको उद्योग गरे गराएको छैन भन्ने समेत व्यहोराको प्रभुजंग बमको मिति २०३७।५।१६।२ मा प्रहरी समक्ष इन्कारी बयान ।
५. २०३७ साल आषाढ ३२ गतेका दिनमा खिन गाउँमा र आफे भन्ने ठाउँमा समेत म गएको नभई सल्लाकोटको मेरो घरमा बसेको छु । म समेत भई उपसभापति अजबहादुर बमको छोरी दर्शनकलालाई समेत खुकुरीले हानी ज्यान मार्ने उद्योग गरे गराएको छैन । अजबहादुर बमले म समेतका नाममा लुटपिट र जग्गा मुद्दा दिएको र सोही रिसइवीले हामीहरूको नाम समेत ज्यान मार्न उद्योग गर्यो भनी उजूरी दिएको हुनु पर्दछ भन्ने समेत उप प्र.पंच परेगबहादुरले मिति २०३७।५।१६।२ मा प्रहरीमा गरेको इन्कारी बयान कागज ।
६. २०३७ साल आषाढ ३२ गतेका दिन म मेरो परिवार समेत सल्लीकोटको घरमा छु। सो दिन कुनै कसैको साथमा लागी जाफे भन्ने ठाउँमा म समेत आएको छैन । म समेत भई महेन्द्रराजको साथमा लागी जाफे भन्ने घट्टमा गई दर्शनकलाको ज्यान मार्ने उद्योग मैले गरेको छैन । अजबहादुर बमले म उपर लुटपिट मुद्दा दिएको र सोही रीसबाट मेरो नाममा समेत ज्यान मार्ने उद्योग गर्यो भन्ने जाहेरी दिएका हुन् भन्ने समेतको शंकबहादुर बमको मिति २०३७।५।१६।२ को प्रहरीमा गरेको बयान कागज ।
७. मिति २०३१ सालमा जाफे भन्ने ठाउँमा अतिरिक्त हुलाक रहँदा सो हुलाकको एजेण्ट पदमा महेन्द्रराज बमले काम कागज गरिरहेको २०३५ साल चैत्र महीनामा निज महेन्द्रराज बमलाई एजेण्ट पदबाट खारेज गरी सो एजेण्ट पदमा मलाई नियुक्ति गरिएको थियो । यस कुराको रिसइवी महेन्द्रराजले म र मेरा बाबा उपर लिएका थिए । २०३७ साल आषाढ ३२ गते भाइ सूर्यबहादुर बमलाई साथमा लिई जाफे भन्ने घट्टमा गहुँ पिसी राखेको अवस्थामा बेलुका अं. ६ बजेको समयमा महेन्द्रराज बमले हातमा नांगो खुकुरी समाती आएको परेगबहादुर बम, सिरजन बम, सुरजिम बम, प्रभुजंग बम समेत ढोकामा बसेका शंख बम, नन्दबहादुर बम, नागमल धामी समेत ३ जना घट्टको बाहिर बसेका र महेन्द्रराज बमले मलाई जाँफेमा बसी हुलाकको काम गरुँँला भन्ने सम्झेको छन् भन्दा मैले बस्ने त भएँ भनी जवाफ दिएँ । त्यसपछि चाँडो काट भनी प्रभुजंगले महेन्द्रराजलाई भन्दा निज महेन्द्रराजले एक हातले मेरो कपालको रौं समाती एक हातले मेरो दाहिने आँखा नजिकै खुकुरीको टुप्पाले घोचिदिँदा मेरो भाइ सूर्यबहादुर बम डराई घट्टको कुनामा गई कराउँदा महेन्द्रराजले मेरो भाइलाई खुकुरीले बायाँ आँखी भौं निर घाउ पारी दिँदा भाइ घोप्टो परे । महेन्द्रराज बम म भएको ठाउँमा आई खुकुरीले हान्न लाग्दा खुकुरी थाम्न छल्न खोज्दा दुवै हातको हत्केलामा र मुखको ठाउँ ठाउँमा लागी म बेहोश भई लडेपछि निजहरू भागी गएछन् भन्ने समेत व्यहोराको दर्शनकलाले मिति २०३७।५।१६।२ मा प्रहरीमा गरी दिएको कागज ।
८. २०३७ साल आषाढ ३२ गतेका दिनमा म मेरो घरमा छैन । गोरु बेचेको पैसा ल्याउन सिजा विष्ठ वाडाको ग्वामे भन्ने शिवराज जैशीको घरमा गई ऐ. आषाढ ३१ गतेको बेलुका देखि साउन ३ गतेको विहानसम्म निजको घरमा बसी ऐ. ३ गतेको साँझतिर म मेरो खिन गाउँको घरमा आइपुगेको हुँ । म समेत भई जाहेरवालाकी छोरी दर्शनकलालाई जाँफे भन्ने घट्टमा ज्यान मार्ने उद्योग समेत गरे गराएको छैन निज जाहेरवाला अजबहादुर बमसंग जग्गाको मुद्दा अदालतमा हुँदा सोही रीसले मलाई समेत ज्यान मार्ने उद्योगमा जाहेरी गरेका हुन् भन्ने समेत सुरजिम बमले मिति २०३७।५।१७।३ मा प्रहरीमा गरेको बयान कागज ।
९. २०३७ आषाढ ३२ गतेको बेलुका एजेन्ट दर्शनकलाले साथमा आफ्नो भाइ सूर्यबहादुर बमलाई लगी जाँफेमा पिठो पिसी बसेको अवस्था महेन्द्रराज बमले निज दर्शनकलालाई खुकुरीले हानी निजको मुखमा र हातको हत्केला समेतमा ठाउँ ठाउँमा काटी घाउ पारे पछि निजको भाइ सूर्यबहादुर बम त्यस ठाउँबाट भागी रुम भन्ने ठाउँको रतिमानको गोठमा गएछ र निज दर्शनकलालाई मरणतुल्य बनाई घट्ट भित्र बाहिर तानी ल्याउन लाग्दा गोठबाट आएको डबल शाहीले देखेपछि निज महेन्द्रराजले दर्शनकलालाई छाडी भागी जाँदा निज डबल शाही र मल्ल शाही जना २ ले दर्शनकलालाई बोकी ल्याई जाँफे हुलाकमा राखी निज डबल शाहीले दर्शनकलाको बाबु अजबहादुर बम समेतका गाउँ घरमा मानिसहरूलाई सो घट्टमा भएको कुरा भन्दा हामीहरू समेत दर्शनकला भएको ठाउँमा गई हेर्दा लेखिए बमोजिमको निज दर्शनकलाको हातमा र मुखमा खुकुरीले काटेका घाउहरू देखेकोले सो कसले काटेकोे हो भनी सोधपुछ गर्दा महेन्द्रराज बमले काटेको हो भनी दर्शनकलाले भनेकी हुँदा, निज महेन्द्रराज बम जाहेरीमा लेखिएका अरु मानिस परेगबहादुर बम समेतको मद्दत भई काटेका कुरा निज दर्शनकलाले उस बखत नभनेको हुँदा अरु मानिस प्रति शंका लाग्दैन घायल भएकी दर्शनकलालाई महेन्द्रराज बमले घट्ट भित्रबाट बाहिर घिसारी तान्न लागेको अवस्था डबल शाहीले देखी कराए पछि मात्र निजलाई छाडी भागी गएको बुझिएको र अघि जाँफे अतिरिक्त हुलाकको एजेन्ट निज अभियुक्त महेन्द्रराज बम भएकोमा सो पदबाट निजलाई हटाई दर्शनकला आफू नियुक्ति भई आएको रिसइवीले निज दर्शनकलालाई महेन्द्रराज बमले खुकुरीले हानी काटी ज्यान मार्न उद्योग गरेको हो । निज महेन्द्रराज बम उक्त घटना गरी भागी गएदेखि आजसम्म घरमा नआई बेपत्ता भएको छ भन्ने सरजमीनका केही मानिसहरूको एकै मिलानको लेखाई भएको सरजमीन मुचुल्का ।
१०. २०३७ आषाढ ३२ गतेको बेलुका रुम भन्ने गोठबाट जाँफे घट्टको बाटो गरी घरमा आउन लाग्दा ऐ. ६ बजेको समय हुँदो हो जाँफे घट्ट भित्रबाट महेन्द्रराज बमले दर्शनकलालाई पाखुरा समाई बाहिर घिसारी तान्न लागेको केही माथिबाटै देख्दा के गरेको भनी मैले कराउँदा त्यतिकै छाडी महेन्द्रराज बम हतपत दौडी जुम्ला जाने बाटो तर्फ भागी गएको र सो घट्टमा पुगी हेर्दा निज दर्शनकलाको कम्मर देखि माथिको अंग घट्टको ढोका बाहिर कम्मर देखि तलको अंग ढोका भित्र भई बेहोस भइरहेको देख्दा र हात मुख भरी काटेको घाउहरू भई रगतले मुछिएकोले मरी सकेकी छ कि भन्ने लाग्यो । निजको नाडी र छातीमा छाम्दा मुटु चलेको चाल पाएकोले टोपीमा पानी ल्याई निजको टाउकोमा हाल्दा बोल चाल नगरेकोले र सो ठाउँदेखि साँगु पारीबाट जाँफे गाउँको मल्ल शाही आउँदा निजलाई बोलाई हामी २ जनाले दर्शनकलालाई बोकी जाँफे हुलाकमा राखी दर्शनकलाको बाबु अजबहादुर बम समेत गाउँघरका मानिसहरूलाई सो कुरा जाहेर प्रकाशन गरेको हुँ । निज दर्शनकलालाई महेन्द्रराज बमले खुकुरीले हानी काटी घिसारी बाहिर तान्न लागेको अवस्था मैले देखि कराएपछि भागी गएको हुँदा निज दर्शनकला मरी भनी हो वा घट्ट नजिकको खोलामा बगाउने नियतले निज अभियुक्त महेन्द्रराज बमले दर्शनकलाको ज्यान मार्न उद्योग गरेको रहेछ भन्ने घटनाको स्थितिबाट देखिएको र ऐ. साउन १ गतेको दिनमा सोधपुछ गर्दा महेन्द्रराज बमले आफूलाई खुकुरीले हानी घाउ गराएको हो भनी दर्शनकलाले भनेकी हुन् भन्ने समेतको ऐ. खिन गाउँ बस्ने डवल शाहीले गरिदिएको कागज ।
११. परेग बहादुर बम, प्रभुजंग बम, शिरजंग बम, सुरजीम बम, नन्द बहादुर बम, नागमल धामी समेत जना ७ उपर मुद्दा चलाउन पर्याप्त सबुद प्रमाण नभएको र महेन्द्रराज बमले दर्शनकलालाई ज्यान मार्ने उद्योग गरेको सिद्ध हुन आएकोले निज अभियुक्त महेन्द्रराज बमलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१२. अज बहादुरको छोरी दर्शनकलालाई आफैं हुलाकको एजेन्ट पदमा नियुक्ति गरेको विषयमा मैले हुलाक सेवा विभाग काठमाडौंमा उजूरी गरेको थिएँ । सो निवेदन उजूर हुलाक सेवा विभागबाट क्षेत्रीय कार्यालय हुलाक विभागमा आई कारवाही हुँदै थियो सो कारवाही बारे बुझ्न मिति २०३७।३।२३ मा घरबाट हिंडे २८ गते नेपालगंज पुगी त्यहाँ मलाई काम ज्वरो आएकोले औषधि गराई नेपालगंजबाट साउन १६ गते देखि हिंडी साउन २० गते काठमाडौं पुगे । साउन २२ गते श्री ५ महाराजाधिराजका हजूरमा जग्गाको विषयमा र पञ्चायतको छाप कागजपत्र सम्बन्धमा निवेदन चढाएको छु । तसर्थ २०३७ साल आषाढ ३२ गते म घरमा छैन । आफ्नो छोरीलाई एजेन्ट पदबाट फर्काउला भनी अजबहादुरले झुठ्ठा जाहेरी गरेको हो । दर्शनकलालाई खुकुरीले काटी ज्यान मार्ने उद्योग गरेको होइन भन्ने महेन्द्रराज बम मल्लले अदालतमा गरेको बयान ।
१३. मिति २०३७।३।३२ गते म जुम्ला सिंजा बडकीको प्रधानपञ्च मुनबहादुर शाहीको घरमा थिएँ । प्रहरीमा भएको कागज पढी बाँची नसुनाई सहिछाप गराएका हुन् । दर्शनकलाको बाबु अजबहादुर बमसंग यही अदालतमा चलिरहेको मुद्दाको रिसइवीले म समेत उपर जाहेर दिएको हो । सरजमीनका मानिसहरूसंग मुद्दा परेको रिसइवीले झुठ्ठा बकेका हुन् । महेन्द्र र म वारदात गरी महेन्द्रराजले दर्शनकलालाई खुकुरीले काटेको होइन भन्ने समेत प्रभुजंग बमले अदालतमा गरेको बयान ।
१४. प्रहरीमा भएको कागज मलाई नसुनाई सहिछाप गराएका हुन् । मिति २०३७।३।३२ गते म गोरुको पैसा उठाउन भनी जुम्ला सिंजा विष्ठ वडाका शिवराज जैशी कहाँ गएको थिएँ । म समेत उपर झुठ्ठा उजूरी दिएको हो भन्ने समेत सुरजीम बमले अदालतमा गरेको बयान ।
१५. मिति २०३७।३।३२ मा मेरो घरबाट एक कोशजति तल सल्लीकोट भन्ने खेतमा रोपाई गर्न गई १ गते सम्म त्यहीं थिए । महेन्द्रराज बमले निज दर्शनकलालाई खुकुरीले हानी ज्यान मार्ने उद्योग गरेको भनी मैले प्रहरीमा भनेको होइन । प्रहरीमा मलाई नसुनाई सही गराएको हो भन्ने समेत परेग बहादुर बमले अदालतमा गरेको बयान ।
१६. जाहेरी मैले गरेको हुँ र जाहेरीमा लेखे अनुसार महेन्द्रराज बमले छोरी दर्शनकला र छोरा सूर्य बहादुरलाई खुकुरीले हानी घाइते बनाएको हो । त्यसै घाउको असरले जीउ सुकी खानापिना कम कम गर्दथिन र मिति २०३७।९।२ गते छोरी दर्शनकला परलोक भइन् भन्ने समेत जाहेरवाला अजबहादुर बमले अदालतमा आई गरेको बकपत्र ।
१७. मिति २०३७।३।३२ गते म दिदी दर्शनकला जाँफे घट्टमा थियौं घट्टमा गहुँ हाल्दै दिदीले पिनी खोली भर्खर घट्ट पिन्न लागेको अवस्था पहिले महेन्द्रराज भित्र पस्यो खुकुरी दाप भित्र हाली भिरेको थियो अब हुलाकमा बसी लेखुँला भनेकी छस् भनी दापबाट खुकुरी झिकी दिदी दर्शनकलालाई कहिले आँखामा कहिले गालामा कहिले घाँटीमा काट्न थाल्यो दर्शनकलाले खुकुरी रोक्न खोज्दा हातमा पनि खुकुरीले घाउ लाग्यो दिदीले रुन कराउन गर्न लागेपछि म कराएँ अनि यसका सन्तान राख्न हुन्न भनी मलाई खुकुरीले हान्दा घट्टको छानो होचो भएकोले ताक नपरी मेरो बाँया आँखी भौंमा महेन्द्रराजले हानेको खुकुरीको टुप्पाले लाग्यो र म आत्तिएर घट्टको कोखपट्टीको दुलोबाट निस्की ज्यान जोगाई भागी रुप भन्ने जग्गामा गई गोठको छानामा गई लुके घट्ट वरीपरी बाहिर कोही थिएनन् प्रभुजंग बम, सुरजीत, सिरजंग बमहरू घट्टको ढोकामा बसेका थिए अरु थिएनन् । म निस्केपछि दिदीलाई के के गरे मलाई थाहा भएन । महेन्द्रराजले पेश गरेको डाक्टरी सर्टिफिकेट झुठ्ठा हो मैले प्रहरी कार्यालयमा पनि कागज गरिदिएको छु भन्ने समेत वर्ष ११ को सूर्यबहादुर बमले अदालतमा आई गरेको बकपत्र रहेछ ।
१८. मिति २०३७।३।३२ गते म मेरो भैंसी लिई खर्क पारे भन्ने ठाउँबाट अं.३ बजेतिर घरतर्फ जान सो बाटो आएको हुँ सो बाटो जाँफे भन्ने घट्ट भई जान्छ बेलुकी ६ बजे देखि अं. १ पाव माथि पर्ने बाटोमा आई पुग्दा घट्टमा सूर्यबहादुर बम कराएको सुनें के भयो भनी त्यसतर्फ जाँदा महेन्द्रराज बमले दायाँ हातमा खुकुरी लिई बायाँ हातले दर्शनकलाका नाडी समाती तान्दै थियो दर्शनकलाको शरीर आधा भित्र र आधा घट्ट बाहिर महेन्द्रराजले तानेको थियो म त्यहाँ पुग्नु भन्दा अगावै महेन्द्रराज बमले दर्शनकलालाई खुकुरीले हान्दा सूर्यबहादुरले कराएको रहेछ सो घट्टलाई घेरी परेगबहादुर प्रभुजंग बम बसेका थिए मैले माथि बाटोबाट दर्शनकला एजेन्टलाई के गरे भनी कराउँदा परेगबहादुर बम जाँफेतर्फ गयो महेन्द्रराज बम समेतका अरु मानिस लेखतर्फ गए म भन्दा केही अघि मल्ल शाही सो घट्टमा पुगे म केही पछि पुगें महेन्द्रराज बमले दर्शनकलालाई तिला नदीमा फाल्न हात समाती घिसार्न लागेको मैले आँखाले देखेको हुँ भन्ने समेत चस्मदिद साक्षी डबल शाहीले गरेको बकपत्र ।
१९. मिति २०३७।३।३२ गतेको दिन जांफेको घट्ट भएको ठाउँको खोला देखि पारी बारीमा काम गर्दै थिएँ । दर्शनकलाले मलाई डाँकी र घट्टमा आएँ दर्शनकलाको दाहिने गाला हातमा घाउ थियो औंला घाउबाट रगत आउँदै थियो । दर्शन मुर्छा परेको रहिछन् मैले बोकी जाँफेको हुलाक घरमा पुर्याएको हुँ । त्यसपछि डबल शाही आइपुगे निज दर्शनकला मुर्छाबाट ब्युँझेपछि मलाई महेन्द्रराज बमले खुकुरीले काट्यो भनिछिन् । सरजमीनमा मैले भने बमोजिम लेखिएको हो भन्ने समेत मल्ल शाहीको बकपत्र ।
२०. सुरजिम बम, प्रभु बम, परेग बहादुर बम, घट्टको छाप्रोमा घेरा दिने महेन्द्रराजले ज्यान मार्ने उद्देश्यले नै दर्शनकलालाई जाँफेको घट्टमा खुकुरीले हानेको हो डबल शाहीले देखी कराएपछि महेन्द्र भागेछन् अरुले घेरा दिई महेन्द्रराजले खुकुरीले हानेकोले आफ्नो जीउमा घाउ परेको भन्ने कुरा दर्शनकलाले भनेकी हुन् भन्ने समेत सरजमीनमा आफूले भनेकोलाई समर्थन गरी बक्ने विष्णुबहादुर बम, कर्णबहादुर बम, कटकबहादुर बम, फटकबहादुर शाही, उदय सिंह बम, कर्ण बम वारदातको दिन म घरमा थिइन महेन्द्रराज बमले दर्शनकलालाई हानमार गरेछन् भनी मल्ल शाहीले भन्दा सुनेको हुँ । दर्शनकलाको शरीरमा ठाउँ ठाउँमा घाउ थियो, मैले देखिन कस्ले घाउ पार्यो भन्ने समेत सङबहादुर धामी, बलबहादुर धामी । महेन्द्र बमले मलाई खुकुरीले हानी घाउ पारेको हो भनी दर्शनकलाले भनिन् र महेन्द्रराज बम आषाढ २३ गते नेपालगंज जान हिंडेका हुन् कसरी काटे भन्दा दर्शनकला बोलिन दर्शनकलालाई के भई घा खत लाग्यो थाहा छैन भन्ने समेत कर्ण बम । दर्शनकलाको शरीरमा लोटेर लागे जस्तो घाउ थियो खुकुरीले हाने जस्तो थिएन मैले आँखाले देखिन महेन्द्रराज आषाढ २३ गते जुम्ला जान्छु भनी गएका हुन् कसले घाउ पार्यो थाहा छैन भन्ने समेत देउसगे धामी अजबहादुर बमको छोरीलाई जुम्लातर्फ लाँदा देखेको हुँ । दर्शनकलाको जिउमा घाउ थियो । महेन्द्रराजले खुकुरीले काट्यो भन्ने सुनें मैले देखिन भन्ने छङ्ली धामी समेत सरजमीनका व्यक्तिहरूको बकपत्र रहेछ ।
२१. अभियुक्त महेन्द्रराज बमका साक्षी रतनबहादुर शाही, नरबहादुर शाही, रायलाल रोकाया, रङ बुढी, प्रभुजंग बमको साक्षी कालीबहादुर सिंह, सुरजिम बमका साक्षी सार्की सिंह, परेगबहादुर बमको साक्षी अजम्बरी बम, अम्बर सिंह शाहीले प्र.को बयान मिलान गरी बकेको बकपत्र रहेछ ।
२२. मिति २०२७।४।३।३ को दर्शनकलाको घा जाँच फाराम ।
२३. अभियुक्त महेन्द्रराज बमलाई प्रहरी प्रतिवेदन अनुसार ज्यानसम्बन्धीको १५ नं. ले कैदवर्ष १० हुने ठहर्छ भन्ने कालीकोट जिल्ला अदालतको मिति २०३८।४।१९ गतेको फैसला ।
२४. दर्शनकलालाई मर्नेसम्मको चोटपटक परेको पनि देखिँदैन । दर्शनकलालाई ज्यान मार्नेसम्मको काम गर्दा कुनै अवरोध परी मार्न नपाएको भन्न सबभन्दा अघि घटनास्थलमा पुग्ने भनिएका वादीका साक्षी मल्ल शाहीबाट पनि देखिँदैन । दर्शनकलाको हाजिर रेकर्डबाट निज जुम्ला जिल्लामा नभई कालीकोट जिल्लामा आफ्नो काममा रत भएको देखिँदा देखिँदै पनि म निर्दोष व्यक्तिलाई सजायँ गरेको फैसला बदर गरिपाउँ भनी महेन्द्रराज बमको पुनरावेदनपत्र ।
२५. प्रहरी प्रतिवेदन अनुसार विपक्षीले ज्यान मार्ने उद्योग दर्शनकला बम उपर गरेको भन्ने दावी भएकोमा दर्शनकलाले नै मिति २०३७।५।१६ मा डोरमा गरिदिएको कागज निजको घा जाँचको प्रकृतिबाटै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार ज्यान मार्ने उद्योगको वारदात भएको देखिन नआएको अवस्थामा शुरुबाट दावी कायम गर्ने गरी गरेको फैसला कानूनसंगत देखिन आएन । अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।३।२४ को आदेश ।
२६. वारदात घटनाको प्रकृति अनुसार पुनरावेदक प्रतिवादीले गर्न थालेको कार्यमा रोकावट बाधा अवरोध खडा भई सो कार्य बीचमै रोकिन गएको भन्ने कुरा पनि मिसिलबाट नदेखिएकोले दर्शनकलाको घा जाँच फाइलबाट सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(क) अनुसार गर्नु पर्ने देखिए तापनि सरोकारवाला व्यक्ति निज दर्शनकला मरिसकेको मिसिलबाट देखिएकोले सो बमोजिम गर्नु भनी निर्देशन दिन नमिल्ने हुँदा ज्यान मार्ने उद्योग ठहर्याई गरेको शुरु जिल्ला अदालतको इन्साफ गल्ती भई उल्टी हुने ठहर्छ भन्ने मिति २०३०।१२।२३।४ को मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरिएको फैसला ।
२७. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी श्री ५ को सरकारको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।
२८. यसमा पीडित व्यक्ति दर्शनकलाको घा जाँच फारामबाट सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(क) अनुसार गर्नु पर्ने देखिए तापनि सरोकारवाला निजको मृत्यु भइसकेकोले सो बमोजिम गर्न निर्देशन दिन नमिल्ने हुँदा ज्यान मार्ने उद्योग ठहर्याई गरेको जिल्ला अदालत (कालीकोट) को इन्साफ उल्टी हुने ठहर्छ भनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएको देखिन्छ । त्यसरी सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को ७(क) अनुसार गर्नु पर्ने देखिएपछि पीडित व्यक्तिको मृत्यु भए पनि अ.बं. ६२(३) र कुटपिटको महलको २५ नं. अनुसारको कारवाही हुन सक्नेमा सो बमोजिम गर्ने गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको नहुँदा अ.बं. ६२(३) र कुटपिटको २५ नं. को प्रत्यक्ष गम्भीर कानूनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको मिति २०४०।१२।१।४ को आदेश ।
२९. जाँफे हुलाकको एजेन्ट पदबाट महेन्द्रराजलाई हटाई सोही पदमा दर्शनकलालाई नियुक्ति गरेबाट निज महेन्द्रराजको दर्शनकला उपर रिसइवी परेको मिसिलबाट देखिन्छ । अजबहादुरले जाहेरी दर्खास्त दिँदा महेन्द्रराज बमले हातमा लिएको खुकुरीले छोरी दर्शनकलालाई हानी मर्ने बाँच्नेको दोसाँध परेको भन्ने किटानी उल्लेख गरी अदालतमा सो कुरा समर्थन गरी बकपत्र गरेको पाइन्छ । क्षेत्रीय अदालतले पनि फैसला गर्दा सो कुरालाई मान्यता दिएको तर सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(क) अनुसार गर्नु पर्ने भन्ने निष्कर्षमा पुगेको देखिन्छ । उक्त निष्कर्षमा पुग्न क्षेत्रीय अदालतले वारदात घटनाको प्रकृति अनुसार प्रतिवादीले गर्न थालेको कार्यमा रोकावट बाधा अवरोध खडा भई सो कार्य बीचमै रोकिन गएको भन्ने कुरा पनि मिसिलबाट नदेखिएको भन्ने तर्क देखिन्छ । सो तर्क मनासिब बेमनासिब के हो भन्ने तर्फ हेर्दा महेन्द्रराज बमले दर्शनकलालाई पाखुरामा समाई बाहिर घिसारी तान्न लागेको देख्दा के गरेको भनी मैले कराउँदा त्यत्तिकै छाडी महेन्द्रराज बम हतपत छाडी भागी गएको भनी प्रहरी समक्ष कागज गरेको र अदालतमा समेत घटना देखेको भनी बकपत्र गरेको र डबल शाहीले देखी कराएपछि महेन्द्र भागेछन् भन्ने कुरा पीडित व्यक्ति दर्शनकलाले भनेको भन्ने सरजमीनका व्यक्तिहरूले समेत बकपत्र गरेको समेत प्रमाणबाट प्रतिवादी महेन्द्रराज बमले दर्शनकलालाई ज्यान मार्ने उद्योग गरेकै देखिन ठहर्न आएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला गल्ती भई उल्टी हुने र निज प्रतिवादी महेन्द्रराजलाई कालीकोट जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग गरेको ठहर्याई १० वर्ष कैदको सजायँ हुने गरी गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।२।१३।१ को फैसला ।
३०. यस अदालत डिभिजन बेञ्जबाट भएको उक्त फैसलामा इन्साफ जाँची दिनु भनी सर्वोच्च अदालतको नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी निवेदक प्रतिवादी महेन्द्रराज बमले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र चढाउनु भएकोमा “यसमा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको ज्यान मार्ने उद्योग मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी निर्णय गर्नु” भनी हुकुम बक्स भई आएको ।
३१. श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी महेन्द्रराज बमका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता द्वय श्री शिवराज अधिकारी तथा श्री बालकृष्ण न्यौपानेले मेरो पक्षको ज्यान मार्ने मनसाय थिएन । यदि ज्यान मार्ने मनसाय भएको भए एउटी स्वास्नी मानिसको कपाल समाएको छ भने खुकुरी जस्तो सांघातिक हतियारको प्रहार गरी एकै चोटमा निज दर्शनकला ज्यान खतम पार्न सक्ने पर्याप्त अवस्था थियो । तर घाउ चोट निजको आँखी भौं गालामा लागेको छ । अतः मेरो पक्षले ज्यान मार्न उद्योग गरेको भन्न मिल्ने अवस्था नदेखिँदा ज्यान मार्ने उद्योग ठहर्याई यस अदालतको डिभिजन बेञ्जबाट गरेको फैसला मिलेको नदेखिनाले उक्त फैसला बदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न उपस्थित हुनु भएका विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी महेन्द्रराज बमको दर्शनकलालाई मार्नु पर्ने मनसाय थियो वा थिएन भन्ने कुरा निजले प्रयोग गरेको हतियारबाट नै थाहा हुन्छ । निजको दर्शनकलालाई मार्ने मनसाय नभएको भए साँझको बेला खुकुरी जस्तो जोखिम हतियार लिएर जाँफे घट्टमा जानु पर्ने नै थिएन । आफूलाई हुलाकको एजेन्ट पदबाट हटाई सो पदमा दर्शनकलालाई नियुक्त गरेकोले नै निज दर्शनकलालाई मार्नु पर्ने कारण उपस्थित हुन गयो । अतः यस अदालतको डिभिजन बेञ्जबाट प्रतिवादी महेन्द्रराज बमलाई ज्यान मार्न उद्योग गरेको ठहर्याई गरेको फैसला कायमै हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
३२. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा यस अदालतको डिभिजन बेञ्जबाट प्रतिवादी महेन्द्रराज बमलाई ज्यान मार्ने उद्योग गरेको ठहर्याई मिति २०४२।२।१३।१ मा भएको निर्णय मिलेको छ, छैन हेर्नु परेको छ । निर्णयतर्फ हेर्दा यसमा प्रतिवादी महेन्द्रराज बमले आफूलाई जाँफे हुलाकको एजेन्ट पदबाट हटाई सोही पदमा निज दर्शनकलालाई नियुक्ति गरेको रिसइवीबाट मिति २०३७।३।३२ गते साँझ ६ बजे जाँफे घट्टमा आफ्नो भाइ सूर्यबहादुर बमको साथमा लिई छोरी दर्शनकला गहुँ पिस्न गएको अवस्थामा प्रतिवादी महेन्द्रराज बम समेतका मानिस आई महेन्द्रराज बमले छोरी दर्शनकलालाई खुकुरीले हानी काटी मर्न बाँच्न दोसाँध गरिदिएकोले सो कुरा थाहा पाई निजलाई बोकी लगी जुम्ला अस्पतालमा उपचार गराएको हुँदा निज अभियुक्तहरूलाई ज्यान मार्ने उद्योग गरेकोमा कारवाही चलाई सजायँ गरिपाउँ भनी घाइते दर्शनकलाको बाबु अजबहादुर बमको किटानी जाहेरी दर्खास्त परेको र अदालतमा आई बकपत्र गर्दा समेत जाहेरवालाले सोही बमोजिम बकपत्र गरेको पाइन्छ । घाइते दर्शनकलाले अदालतमा आई बकपत्र गर्दा पनि उक्त जाहेरीको कुरालाई समर्थन गरी लेखाएकी छिन् । मौकामा देख्ने घाइते दर्शनकलाको भाइ सूर्यबहादुर बमले पनि अदालतमा आई बकपत्र गर्दा समेत आफ्नो दिदीलाई प्रतिवादी महेन्द्रराज बमले जाहेरीमा देखाइए बमोजिम खुकुरीले काटे घोचेको कुरा समर्थन गरिसकेको निज सूर्यबहादुर कराएको सुनी वारदात स्थलमा आइपुग्ने डबलबहादुर शाहीले पनि अदालतमा आई बकपत्र गर्दा समेत आफू घट्ट भित्र आइपुग्दा महेन्द्रराज बमले दायाँ हातमा खुकुरी लिई बायाँ हातले दर्शनकलाको नाडी समाई तान्दै गरेको मौकामा देखेको र आफू जानु भन्दा अघि नै महेन्द्रराज बमले दर्शनकलालाई खुकुरीले हान्दा सूर्यबहादुर कराएको रहेछ भनी बकपत्र गरेको, सोही वारदातको अवस्थामा वारदात स्थलमा पुग्ने मल्ल शाहीले पनि दर्शनकलाले मलाई बोलाएकोले म घट्टमा पुग्दा उनको दाहिने गाला र हातमा घाउ थियो र आलो घाउबाट रगत आउँदै थियो । दर्शनकला मुर्छा परिराखेकोले उनलाई मैले पिठमा बोकी जाँफे हुलाक घरमा पुर्याई राखेको थिएँ भन्ने व्यहोरा समेत देखाई बकपत्र गरेकोबाट जाहेरी व्यहोरामा देखाइएको घटनाको कुरा अरु सबुद प्रमाणबाट समर्थन भएको देखिन आएको छ ।
३३. तर प्रतिवादी महेन्द्रराज बमले अदालतमा आई बयान गर्दा सो वारदातको मौकामा आफू वारदात भएको गाउँ घरमा नभई नेपालगंजमा डाक्टर कहाँ उपचार गराई रहेको भनी सर्टिफिकेट समेत पेश गरी आफ्नो इन्कारीको समर्थनमा साक्षीहरू समेत बकाउनाको साथै यदि दर्शनकलालाई रिसइवीको कारणबाट मार्ने खोजेको भए देखि निजलाई सोही किसिमको घाउ चोट हुनु पर्ने तर दाखिल हुन आएको केश फाराममा सो बमोजिम घा चोट नदेखिई छाला खुइलिएको भन्ने जनाई सानो सानो खतसम्म परेको भनी देखाइएको र वारदातको भोलिपल्ट देखि नै घाइते दर्शनकला जाँफे हुलाकमा रुजु हाजिर रहेको भनी जिकिर लिई इन्कारीमा रहेको देखिन आउँछ । मिसिल संलग्न केश फाराम हेरिएमा अगाडिका महलहरूमा छाला खुइलिएको ३५ दिनमा निको हुने ३ र २ से.मी. लम्बाई सम्मका घाउहरू भएको भनी जनिए तापनि त्यसपछिका महलहरूमा धार भएको हतियार र कडा भन्ने महलमा चिनो लगाई राखेको देखिएबाट माथि लेखिएको कुरा समर्थन हुन नसकी घाउ खत परेका भनी देखाइएका ठाउँहरू जाहेरी दर्खास्तमा उल्लेख भए बमोजिमकै देखिन आएबाट केश फारामको अघिल्ला महलहरूमा लेखिएका र जनिएका कुराहरू नै साँचो हो भन्न सकिने अवस्था रहन आएन ।
३४. जहाँसम्म वारदातको भोलिपल्ट देखि नै घाइते दर्शनकला जाँफे हुलाकमा रही काम काज गरेको भन्ने प्रतिवादी महेन्द्रराज बमतर्फका विद्वान कानून व्यवसायीको जिकिर छ, सो जिकिरको हकमा जाँफे अतिरिक्त हुलाक कार्यालयबाट पहिले पठाएको हाजिरी फाराममा २०३७ साल साउन १ गते देखि नै रुजु हाजिर रहेको देखिएको तर जाहेरीको कुरा र मिति २०२७।४।३।६ मा घाइते दर्शनकलाको घाउ जाँच गरी केश फाराम भरिएको देखिएबाट निज दर्शनकला पुरै हाजिर जनिएको भन्ने कुरा फरक पर्न गएकोले जाँफे हुलाक कार्यालयको २०३७ साल आषाढ महीनाको सक्कलै हाजिरी फाराम पठाउनु भनी कालिकोट जिल्ला अदालतले कालिकोट जिल्ला हुलाकलाई पुनः लेखी पठाएकोमा जाँफे अतिरिक्त हुलाकमा निज दर्शनकला उक्त हाजिरीमा देखाइए बमोजिम साउन १ गते देखि हाजिर भई काम काज गरेको नदेखिने भनी साउन भाद्र महीनाको समेत हाजिरी फाराम पठाएकोमा निज दर्शनकला साउन २६ गतेसम्म विरामी नै रही ऐ. २७ गतेदेखि मात्र हाजिर रहेको देखिन आएबाट निज दर्शनकला साउन १ गते देखि नै हाजिर रही काम गरिआएको भनी देखाउने असफल प्रयास गरेको देखिन आउँछ ।
३५. जहाँसम्म वारदात मौकामा आफू गाउँ घरमा नै नभएको भन्ने प्रतिवादीको जिकिर छ त्यसतर्फ हेर्दा प्रतिवादी महेन्द्रराज बमले पेश गरेको औषधि उपचारको प्रमाणपत्र कुनै सरकारी अस्पतालको नभई एक जना प्राइभेट डाक्टरको देखिएको हुँदा निसन्देह रुपबाट प्रमाणमा लिन सकिने अवस्थाको नदेखिएको र आफ्नो सफाइमा पेश गरेको साक्षीहरूको बकाई समेत आपसमा नमिली फरक परेको देखिन आएकोले यस अवस्थामा निजको इन्कारी बहस जिकिर बमोजिम साँचो मान्न सकिने अवस्थाको देखिन आएन । अतः उपरोक्त उल्लेखित सबुद प्रमाणहरूबाट प्रतिवादी महेन्द्रराज बमले दर्शनकलालाई ज्यान मार्ने उद्योग गरेकै देखिन ठहर्न आएकोले यस सर्वोच्च अदालत डिभिजन बेञ्जबाट प्रतिवादी महेन्द्रराज बमलाई ज्यान मार्ने उद्योग गरेको ठहर्याई १० वर्ष कैदको सजायँ गर्ने गरेको मिति २०४२।२।१३।१ को इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी महेन्द्रराज बम के माथि इन्साफ खण्डमा निजलाई ज्यानसम्बन्धीको नं. १५ बमोजिम १० दश वर्ष कैद गर्ने ठहर्याएको सर्वोच्च अदालत डिभिजन बेञ्जको इन्साफ मनासिब ठहरेकोले मुद्दा दोहोर्याई ल्याए वापत अ.बं. २०४ नं. अनुसार दश वर्षको सयकडा १० का दरले थप कैद १ वर्ष हुन्छ । बेरुजु हुँदा असूल उपर गर्नु भनी शुरु कालिकोट जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु....१
प्रतिवादी महेन्द्रराज बम के सर्वोच्च अदालत डिभिजन बेञ्जका फैसलाबाट निजले भुक्तान गर्न बाँकी देखिएको कैद ७ महीना ११ दिन वापत मुद्दा दोहोर्याई ल्याउँदा स.अ.ल.न.शाखा मार्फत का.जि.अ.त.मा मिति २०४२।५।१९ मा रु. ४१११।५० धरौटी राखेको देखिएकोले डिभिजन बेञ्जका फैसलाले निजलाई लाग्ने गरेको कैद भुक्तान गरी सकेपछि कानून बमोजिम गरी उक्त धरौटी रकम फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु...२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३
उक्त रायमा हामी सहमत छौं ।
न्या.बब्बरप्रसाद सिंह
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४४ साल भाद्र २३ गते रोज ३ शुभम् ।