निर्णय नं. ३०९६ - जालसाजी ।

निर्णय नं. ३०९६ ने.का.प. २०४४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ६६१
मुद्दा : जालसाजी ।
पुनरावेदक/वादी: का.जि.असन किसीढोका टोल बस्ने ज्ञानमान तुलाधर ।
ऐ.असन कमलाक्षी बस्ने कान्छारत्न तुलाधर ।
ऐ.ऐ बस्ने कुलिस रत्न परलोक भै मु.स. गर्ने अष्टरत्न तुलाधर ।
ऐ.असन खापा मरु दुवा बस्ने हिराभाई तुलाधर ।
ऐ.न्हैकतला बस्ने हर्षदास तुलाधर ।
ऐ.भोटाहिटी बस्ने दीव्य रत्न तुलाधर ।
ऐ.रामशाहपथ बस्ने बाबुरत्न तुलाधर ।
ऐ.त्रिपुरेश्वर बस्ने कुलविर सिंह तुलाधर ।
ऐ.त्यौड टोल बस्ने पुष्परत्न तुलाधर ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ल.पु.जि चापागाउँको हाल का.न.पं वार्ड नं. २९ ठमेल बस्ने रामकृष्ण मानन्धर ।
ऐ.ऐ बस्ने चन्द्र बहादुर श्रेष्ठ ।
ऐ.ऐ बस्ने पुनमाया महर्जन ।
ऐ.वार्ड नं. १६ बस्ने पकनाजोल बस्ने राम बहादुर श्रेष्ठ ।
फैसला भएको मिति: २०४४।३।३०।३ मा
विवादित घर जग्गा स्ववासी नठहरी जग्गाधनी देवाली गुठीको ठहरी निर्णय भएकोले जग्गाधनी देवाली गुठीको सो जग्गा राजीनामा लिनु दिनु गर्दा पनि सोही बमोजिमको व्यहोरा खोली लिनु दिनु गर्नु पर्नेमा सो व्यहोरा नजनाई गुठीको जग्गा धनीको हकमा असर पर्ने गरी तिरो नलाग्ने स्ववासी भनी झुठ्ठा व्यहोरा लेखी राजीनामा लिए दिएको देखिँदा लिखत सदर नै रही सो व्यहोरासम्म फरक पारी दिने र लिने कीर्ते कागजको ३ नं. अनुसार जालसाजी गरेको ठहर्छ । लेखक र लिखत साक्षीहरूलाई बिक्री गरेको घरको वास्तविक स्थिति थाहा नहुने हुँदा निजहरूले जालसाजी गरेको नठहर्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. का.जि.का.न.पं. वार्ड नं. २१ को हाल वार्ड २९ को कि.नं. २४२ सहितका सोही वार्ड नं. को कि.नं. २३८, २३९, २४०, २४१, २४३, २४४, २४५ र २४६ समेत जम्मा ९ कित्ता जग्गा हामी वादीहरू १० जनाको देवाली गुठीको जग्गा भई सो जग्गाको आयस्ताबाट हामी गुठीयारले सो गुठी चलाई गुठी धर्म कायम गरी आफ्नो कूलको परम्परा रितिस्थिति चलाई आएकोमा हाल सोही वार्डको हाल सर्भेबाट कायम भएको कि.नं. २४२ को जम्मा रोपनी ०–१–०–३ मा विपक्षी मध्येका पुनमाया महर्जनले गुठीको कुनै स्वीकृति नलिई आफ्नो हक नपुग्ने सो जग्गामा जबरजस्ती घर बनाई बस्न खोजेकोमा गुठीले सो घर भत्काई लग्न भनी निज पुनमायालाई भन्दा अटेर गरी सो घर नभत्काई त्यसै राखेका हुँदा घर बनाउनेको ४ नं. अनुसार सो घर समेत गुठीको भएको सो अवस्थामा शहरी क्षेत्रको घर जग्गा नापी हुँदा सो नापी भएको अवस्थामा विपक्षी पुनमायाले बिना सबुद प्रमाण उक्त कि.नं. २४२ को घर जग्गालाई आफ्नो स्ववासी भनी दावी गर्नु भयो । आखिर प्रमाणहरूको छानबिन भई सबुद प्रमाणको आधारमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(५) बमोजिम गठित समितिबाट उक्त कि.नं. २४२ सहित माथि उल्लेखित सम्पूर्ण कित्ताहरू गुठीकै नाउँमा दर्ता गर्ने निर्णय गरी चित्त नबुझ्ने पक्षलाई ३५ दिन भित्र अदालतमा जानु भनी ०३५।१।२६ मा सूचना दिएकोमा विपक्षी पुनमायाले सो निर्णय उपर चित्त बुझाई उक्त घर छाडी ललितपुर आफ्नो घरतर्फ गई बस्नु भयो । उक्त जग्गा मिति ०३५।१।२७ बाट गुठीका तर्फबाट कब्जा तथा चलन गरी, सो कि.नं. २४२ स्थित घरको छाना बिग्री ठाउँ ठाउँमा चुहिने समेत भई रहेको हुँदा सो घरको छाना बनाई स्याहार सम्भार गरी बस्ने र गुठीयारलाई चाहिएको बखत छोडी दिने शर्तमा का.जि. नयाँबजार डेरा गरी बस्ने ठिकेनानी श्रेष्ठलाई ०३५।३।२५ देखि गुठीले सो घरमा बस्न दिएको छ । निज ठिकेनानी हालसम्म बसी आउनु भएको छ । हाम्रो गुठीका नाउँमा हक र दर्ता रहेको घर जग्गालाई यही मिति ०३६।८।२३ मा विपक्षी मध्येको पुनमाया महर्जन ऋणी भई विपक्षी रामकृष्ण मानन्धर र धनी भई रु. १५,०००।– मा उक्त कि.नं. २४२ को हाम्रो गुठीको घर जग्गालाई राजीनामा लिनु दिनु गरेको ०३६।८।२३ को राजीनामा पुनमाया महर्जनले गुठीको हक मेटाउन झुठ्ठा व्यहोरा लेखी आफ्नो हक नपुग्ने कि.नं. २४२ को सम्पत्ति राजीनामा गरेको र त्यस्तो झठ्ठा व्यहोरा लेखाई जानी जानी रामकृष्ण मानन्धरले राजीनामा गराई लिएको हुँदा जालसाजीतर्फ सजायँ माग गरी यो फिराद दायर गरेका छौं । सो ०३६।८।२३ को घर जग्गाको राजीनामा बदर गराउन लिखत बदरतर्फ छुट्टै फिराद दायर गरेको छु । सो कि.नं. २४२ मा देवाली गुठीको हक मेटाउन नभएको झुठ्ठा कुरा लेखी गुठीको दर्ता भोग सम्पूर्ण कुरा लोप पारी पुनमाया र रामकृष्णले कीर्ते कागजको ३ नं. अनुसार जालसाज गरेको स्पष्ट छ र उक्त कि.नं. २४२ को सम्पत्ति देवाली गुठीको हक मेटाउन विपक्षी पुनमाया र रामकृष्ण मानन्धरले जानाजान झुठ्ठा कुरा लेखी ०३६।८।२३ मा राजीनामामा सहिछाप गरी लिनु दिनु गरेको र जालसाजी लिखतमा अन्य विपक्षी मध्येका व्यक्तिहरू साक्षी बसेको हुँदा कीर्ते कागजको ३ नं. र ऐ को १० नं. को आधारमा यो फिराद दायर गरेको छ, यस्तो हक नभएको सम्पत्ति विपक्षीहरूले लिनु दिनु गरेको हुँदा उक्त ०३६।८।२३ गते मालपोत कार्यालय ललितपुरबाट विपक्षी पुनमाया ऋणी विपक्षी रामकृष्ण धनी भई अन्य विपक्षीहरू साक्षी बसी घरको राजीनामा लिखतमा झुठ्ठा कुरा लेखी गुठीको सम्पत्ति लिनु दिनु गरेको हुँदा कीर्ते कागजको ३ नं. आधारमा सो लिखतलाई जालसाजी ठहर गरिएको १० नं. अनुसार विपक्षीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको ज्ञानमान तुलाधर समेत जना १० को फिराद ।
३. प्र.मध्ये म रामकृष्ण मानन्धरले पुनमाया महर्जनबाट ०३६।८।२३ मा राजीनामा गराई लिएको का.जि.का.न.पं. वडा नं. २१ हाल २९ नं. को कि.नं. २४२ मा नापी भएको घरको विषयमा फिराद गरेकोमा फिराद लेखबाट विवादको घर पुनमायाले बनाएकोमा फिराद स्वयंले मानेको छ । के कुन मितिमा घर तैयार भएको भनी उल्लेख भएको छैन । विपक्षीको जग्गामा जबरजस्ती घर बनाएको भन्ने आशय झल्काएको देखिन्छ तर घर बनाउनेको ११ नं. को हदम्याद भित्र उजूर पनि छैन, यसबाट घर पुनमायाको भन्ने कुरा विपक्षीले मान्नु भएको छ, उक्त कि.नं. २४२ मा नापी भएको भन्ने कुरामा कुनै विवाद रहेको देखिँदैन उक्त घरवारे नापीले निर्णय गरेकोलाई पनि विपक्षीले स्वीकार गरेकै छ, नापीबाट जग्गा नापजाँच ऐन, २०१९ को दफा ६।५ अन्तर्गत निर्णय गर्दा कि.नं. २४३ बाहेक अरु कित्तामा घर समेत बनाई भोग गरी आएकोले मोहियानीसम्म कायम गर्न मनासिब देखिन्छ र देवाली गुठीका तर्फबाट भएको बयानमा निवेदकहरूले मोहियानीसम्म लेखाउनु पर्ने भन्ने लेखाई समेतले मोहियानी दिन चाहेको देखिन्छ भन्ने प्रष्ट उल्लेख भएको छ । यसबाट घर बनेको कित्तामा नापीको अवस्थामा विपक्षीले घरतर्फ कुनै दावी नगरेको नापीमा समेत कुनै दावी गर्न नसकेको हाल घरतर्फ विवाद उठाई लिखततर्फ झुठ्ठा उजूर गरेको भन्ने नापी मिसिल झिकाई हेरेमा प्रष्ट हुन्छ, नापीबाट मिति ०३५।१।२०।४ मा निर्णय भएको निर्णयको सूचना पुनमायालाई दिएको मिति ०३५।१।२६।३ को पत्रको नक्कल साथै पेश गरेका छौं । विवादित घर म रामकृष्णलाई पुनमायाले राजीनामा फार्छे गरिदिनु भन्दा पूर्व निज पुनमायाले ल.पु. चापागाउँ वडा नं. २ इखाटोल बस्ने नानीमाया श्रेष्ठनीलाई मिति ०३४।९।१६।७ मा भोगबन्धकी लिखत गरी दिएको र निज नानीमायाले लिखत पास गरिपाउँ भनी यसै अदालतमा फिराद गरेपछि पुनमायाले मिति ०३५।११।२०।१ मा रुपैयाँ बुझाई दरपीठ गराई लिएको उक्त पारीत मुद्दा डिसमिस भई का.जि.अ.मा रहेको छ । घर बनाउने पुनमाया घर छोडी गएको र विपक्षीको कब्जामा भएको भनिन्छ । तर मिति ०३५।१।२०।४ को निर्णयलाई पनि मानेको देखिन्छ । जुन निर्णयले घरको स्वासी दाता पुनमानलाई बनाएको प्रष्ट छ, विपक्षीले घर बनाउनेको ११ नं. लेख्नु हुन्छ मिति ०३५।१।२०।४ मा नापीबाट निर्णय भएको र उक्त निर्णय हुनु भन्दा अगाडि स्ववासी भनी नापीमा दर्ता गर्न लाग्दा विपक्षीको उजूरी परेकोमा कुनै विवाद छैन । २०३३ साल ज्येष्ठ भन्दा अगावै विवादित घर नापी भएको कुरामा पनि विपक्षीले इन्कारी गर्न सक्नु हुन्न । विपक्षीको उजूर परेपछि नापीबाट उपरोक्त जग्गा विपक्षीको नाममा र घर पुनमायाको नाममा गर्ने गरी जग्गा मात्र विपक्षीको गराई घरबास गर्ने व्यक्तिहरूलाई मोहीको हैसियत प्रदान गरी घरको दर्ता निस्सा पुनमायालाई दिएकोले सोही निस्साको आधारमा पुनमायाले रामकृष्ण मानन्धरलाई मिति ०३६।८।२३ मा रु. १५,०००।– मा राजीनामा फार्छे पास गरी दिएको हो । मिति ०३६।१।२७ मा उक्त कि.नं. २४२ गुठीले कब्जा गरी आफ्नो भएको भन्ने उल्लेख गरेको छ भन्नेमा विलकूलै कपोलकल्पित हो । यसो भनी लेख्नुको मतलब के हो भने उक्त कि.नं. २४२ को घरमा पुनमायाले ठिकेनानी श्रेष्ठलाई महीनाको रु. २००।– बहाल बुझाउने गरी मौखिक शर्तमा बहालमा राखिआएकोमा सो अवस्थामा पुनमायाले रामकृष्णलाई राजीनामा फार्से गरी दिएपछि म रामकृष्णले निज ठिकेनानीलाई उक्त घर मलाई नै आवश्यकता पर्यो छाडिदेउ भनेको र सूर्यमायाले पनि रामकृष्णबाट ०३७।३।५ मा राजीनामा गराई लिएपछि पनि सोही बमोजिम घर छाडिदेउ भनेकोमा निज ठिकेनानीले बहाल समेत नबुझाएको र घरबाट उठाउन लाग्दा झगडा गरी अशान्ती मच्चाएबाट शान्ती सुरक्षाको लागि वागमती अञ्चलाधीश कार्यालयमा निवेदन गरेकोमा निज ठिकेनानीलाई झिकाइएकोमा निजले घर छाडिदिने छु भनी कागज गरेको र त्यस्तो अवस्थामा निज ठिकेनानीले अञ्चलाधीश समेत विरुद्ध निषेधाज्ञा जारी गरिपाउँ भनी वा.अं.अ.मा फिराद दायर गरी रामकृष्ण तथा सूर्यमायाको लिखितजवाफ परी कारवाही भइरहेछ । उपरोक्त अवस्थामा म रामकृष्णले पुनमायाबाट राजीनामा फार्से गरी लिएको घर छुटाउनको लागि निज ठिकेनानी र विपक्षीको बीचमा मिलोमतो गरी जुनसुकै किसिमको कागज गराएको पनि हुन सक्छ कुनै कागज भएमा अ.बं. ७८ नं. बमोजिम देखाए सुनाएको बखत बयान गर्ने नै छौं, तसर्थ विपक्षीको उजूर झुठ्ठा हुँदा पुनमाया महर्जनबाट रामकृष्ण मानन्धरले लिखत पास गराई लिएको लिखत जालसाजी ठहर गरिपाउँ भन्ने विपक्षीको उजूरबाट फुर्सत दिलाई पाउँ भन्ने समेत व्यहोराको रामकृष्ण मानन्धरको प्रतिउत्तरपत्र ।
४. वादी दावीको लिखतको घर प्र.मध्येको पुनमायाले बनाएको भन्ने कुरालाई वादीले स्वीकार गरेको पाइएको र लिखतको दावी जग्गालाई स्वामित्व गुठीको भन्ने तथ्यलाई लिखतमा जुनसुकै कुरा लेखिए तापनि प्रतिवादीले स्वीकार गरेको पाइन्छ । वादी पक्षले प्र.पुनमायाले जबरजस्ती घर बनाएको भए कानून बमोजिम खाली गराउन सक्नु पर्ने सो गर्न नसकेको अवस्थामा र प्रतिवादीले अस्वीकार गरेको कुरामा स्वतः हट्ने भन्न मिलेन नापीको निर्णयमा नाप नक्शाको समयमा कायम भएका व्यक्तिहरूको नाउँमा स्ववासी दर्ता गर्ने प्रश्न नउठे तापनि निजहरूले कि.नं. २४३ मा बाहेक अरु कित्तामा घर समेत बनाई भोग गरी आएकोले मोहियानीसम्म कायम गर्न मनासिब देखिन्छ । कि.नं. २४९ बाहेक अरु सबै जग्गा देवाली गुठीका नाउँमा सञ्चालन संरक्षण हस्ते दर्ता गरिदिने भन्ने समेत उल्लेख भएको पाइएकोमा सो निर्णय अन्तिम रुपमा दुवै पक्षको स्वीकार्य रहेको भन्ने देखिएको छ । यसबाट दावी कि.नं. २४२ को जग्गाधनी देवाली गुठी भन्ने र त्यसको भोगााधिकार पुनमायाको देखिनुको साथै त्यसमा रहेको घर पुनमायाले रहेको कुरा निर्विवाद देखिन आउँछ । यसरी दावी जग्गाको स्वामित्वलाई गुठी भन्ने कुरा प्रतिवादी पक्षले स्वीकार गरेकै पाइँदा वादी पक्षको गुठीको हक मेटिने देखिएन । घरसम्म भोग चलनको व्यत्तिले हक छोडिदिन नपाउने नहुँदा वादीको हक मेटीन जाने नदेखिएकोले लिखत जालसाजी गरे भन्ने वादी दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को २०३८।१२।११ को फैसला ।
५. उक्त का.जि.अ.ले गरेको इन्साफमा चित्त नबुझेकोले पुनरावेदन गर्न आएको छौं । का.जि.अ.ले दावी गरिएको लिखतको व्यहोरातर्फ निर्णय नगरी अन्य सबुद प्रमाणको मूल्यांकन नगरी जालसाजी ठहर्याउनु पर्ने लिखतलाई नठहर्याई गरेको निर्णय गैरकानूनी हुँदा हाम्रो फिराद दावी बमोजिम जालसाजी ठहर गरिपाउँ भन्ने समेत व्यहोरा वा.अं.अ. मा परेको पुनरावेदन ।
६. वादी पुनरावेदकहरूले जालसाजी भनी दावी गरेको ०३६।८।२३ गतेको राजीनामा लिने प्रतिवादी रामकृष्ण मानन्धरले सो राजीनामाको घर जग्गा ०३७।३।५ मा सूर्यमायालाई राजीनामा गरी दिइसकेको देखियो । वादी दावीको राजीनामालाई जालसाजी भनी दावी गरेकोमा सो भन्दा पछि मिति ०३७।३।५ को राजीनामालाई पनि जालसाजी हो भनी यिनै वादी पुनरावेदकहरूले यिनै प्रतिवादी मध्येका रामकृष्ण मानन्धर समेत उपर गरेको जालसाजी मुद्दामा पुनरावेदन परिआएकोमा शुरुको इन्साफ सदर भई आजै फैसला भएकोले सो राजीनामा सदर भएपछि यो राजीनामा जालसाजी भन्न तथ्य सबुद प्रतिवादी पुनरावेदकहरूले केही गुजार्न नसकेकोले इन्साफ शुरु का.जि.अ.को मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वा.अं.अ.को मिति ०३९।५।७ को फैसला ।
७. उक्त वा.अं.अ.ले हामीलाई हराई गरेको फैसलामा कानूनको व्याख्या सम्बन्धी प्रश्नमा र बुझ्नु पर्ने प्रमाण नबुझेको प्रश्नमा प्रत्यक्षतः विवाद रहित त्रुटि भएको हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी ज्ञानमान तुलाधर समेत जना १० को संयुक्त निवेदन ।
८. यसमा यसै संग सम्बन्धित लिखत बदर मुद्दामा आजै पुनरावेदनको लागि अनुमति प्रदान भएकोले यस मुद्दामा पनि न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(३) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको ०४०।६।१६।१ को आदेश ।
९. विवादित कि.नं. २४२ को जग्गामा पुनमायाले घर समेत बनाई भोग गरिआएकोले मोहियानीसम्म कायम गर्ने भन्ने जग्गा नाप जाँच ऐनको दफा ६(५) बमोजिम गठित समितिको निर्णय भएको देखिन्छ । पुनमायाले घर बनाएकोमा उजूर गरी घरमा वादीहरूले आफ्नो हक कायम गराउन सकेको नदेखिएको साथै मिति ०३६।८।२३ को राजीनामा लिखतबाट गुठीको स्वामित्वमा कुनै प्रतिकूल असर पारी लिखत गरी लिनु दिनु गरेको समेत नदेखिँदा जालसाजी गर्यो भन्ने वादी दावी पुग्न सक्दैन । जालसाजी नठहर्याएको सम्म शुरुको सदर गरेको वा.अं.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति ०४१।११।९।४ को फैसला ।
१०. म.क्षे.अ.को उक्त फैसलामा घर बनाएको ४ नं. प्रमाण ऐन, ०३१ को दफा ५४ तथा भू.सु. ऐन, ०२१ को दफा ३१(क) समेतको त्रुटि हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा पर्न आएको निवेदन ।
११. यसमा आफ्नो हक भएको कानूनी मान्यता प्राप्त प्रमाणको अभावमा एकपटक सर्भेमा विवाद गरी सो विवादबाट हक प्राप्त भएको कुनै आधार हुनु त परै जाओस ३५ दिन भित्र उजूर समेत नगरी बसेको जग्गामा आफ्नो हक भनी नभएको झुठ्ठा कुरा लेखी वादीको हक मेटाई गरेको राजीनामा लिखतलाई सद्दे ठहर्याई गरेको फैसलामा कीर्ते कागजको ३ नं. को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४२।२।१६।४ को आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्मा तथा विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले गर्नु भएको बहस समेत सुनियो ।
१३. यसमा विवादित कि.नं. २४२ मा बनेको घर प्रतिवादी पुनमाया महर्जनले बनाएकोमा वादीले आफ्नो फिराद दावीमा स्वीकार गरेको देखिन्छ । कि.नं. २४३ बाहेक अरु कित्ताहरूमा घर समेत बनाई भोग गरी आएकोले मोहियानीसम्म कायम गर्ने मनासिब देखिन्छ भनी जग्गा नाप जाँच ऐनको दफा ६(५) बमोजिम गठित समितिको मिति ०३५।१।२०।४ को निर्णयबाट समेत विवादित जग्गामा बनेको घर यी वादीहरूले बनाएको नभई यी प्रतिवादीले बनाएको भनी विवादित घर जग्गामा मोहियानी हक समेत प्रदान गरेको देखिन्छ । अर्को तर्फ सो घर प्रतिवादीले छाडी वादीलाई भोग चलनमा दिएको भनी कुनै लिखत प्रमाण पेश हुन सकेको छैन । वादीले कानून बमोजिम उजूर गरी प्रतिवादीको घरमा हकभोग मेटाई आफ्नो हक भोग चलनमा लिएको भन्ने वादीको भनाई पनि देखिँदैन । अतः सो विवादित घरमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) अनुसार प्रतिवादी पुनमाया महर्जनको स्वामित्व रहेको र निजले अरुलाई बिक्री गर्न पाउने नै देखिन आयो । यस अवस्थामा घर बिक्री गरेकै सम्पूर्ण लिखत नै जालसाजी हो भन्ने वादी दावी पुग्न सक्ने देखिएन । तर मिति ०३७।८।२३।१ को लिखतको व्यहोरा हेर्दा का.न.पं. वार्ड नं. २९ का.जि. ठमेल टोलको स्ववासी तिरो तिरान भएको पश्चिम मोहडामा लम्बाई फिट १८ चौडाई फिट ६१/३ भएको पक्की गाह्रो र जस्ताको छाना भएको घर भन्ने उल्लेख भएको देखिन्छ । यसबाट स्वावासी तिरो नलाग्ने जग्गा जनाई प्रतिवादी पुनमायाले प्रतिवादी रामकृष्णलाई राजीनामा गरिदिएको देखिन्छ । तर सो विवादित घर जग्गा निजको स्ववासी नठहरी जग्गाधनी देवाली गुठीको ठहरी निर्णय भएकोले जग्गाधनी देवाली गुठीको सो जग्गा राजीनामा लिनु दिनु गर्दा पनि सोही बमोजिमको व्यहोरा खोली लिनु दिनु गर्नु पर्नेमा सो व्यहोरा नजनाई गुठीको जग्गाधनीको हकमा असर पर्ने गरी तिरो नलाग्ने स्ववासी भनी झुठ्ठा व्यहोरा लेखी राजीनामा लिए दिएको देखिँदा लिखत सदर नै रही सो व्यहोरासम्म फरक पारी दिने पुनमाया र लिने रामकृष्णले कीर्ते कागजको ३ नं. अनुसार जालसाजी गरेको ठहर्छ । लेखक र लिखत साक्षीहरूलाई बिक्री गरेको घरको वास्तविक स्थिति थाहा नहुने हुँदा निजहरूले जालसाजी गरेको ठहर्दैन । यसमा बिगो खुलेको नहुँदा कीर्ते कागजको १० नं. अनुसार तजबिज रु. २००।– जरिवाना हुने ठहर्छ । वादी दावी नपुग्ने ठहर्याएको म.क्षे.अ.को इन्साफ केही उल्टी हुन्छ। तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहरेको हुँदा देहायका व्यक्तिबाट देहाय बमोजिम जरिवाना असूल उपर गर्नु भनी शुरु का.जि.अ.मा लगत दिनु.......१
पुनमाया महर्जन के ज. रु १००।–
रामकृष्ण मानन्धर के ज. रु. १००।–
म.क्षे.अ.को फैसला केही उल्टी हुने ठहरेकोले तत्कालीन मा.न्या. श्री हिरण्येश्वरमान प्रधान र मा.न्या. श्री कृष्णजंग रायमाझीको केही उल्टीमा रेकर्ड राख्नु भनी स.अ. प्रशासन शाखामा लगत दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल आषाढ ३० गते रोज ३ शुभम् ।