निर्णय नं. ३०९८ - कर्तव्य ज्यान

निर्णय नं. ३०९८ ने.का.प. २०४४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पु.नं. ५५४
फौ.सा.नं. ९५
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: मकवानपुर जिल्ला दहचोक गा.पं.वा.नं. २ बस्ने सुन्दर जोशी समेत।
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार ।
फैसला भएको मिति : २०४४।५।१२।६ मा
मृतकले जाहेरी दर्खास्त दिएको र वीर अस्पतालमा उपचार हुँदा हुँदै सोही दिन राती १०:४० बजे निजको मृत्यु भएको भएपछि जाहेरी दर्खास्तमा उल्लेख भएका कुरालाई मृत्युकालीन घोषणा (Dying Declaration) हो भनी प्रमाण ऐन, २०३१ को दफा ११ ले मान्न मिल्ने ।
(प्रकरण नं. २८)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री सुवास नेवाङ
विपक्षी, वादीतर्फबाट : विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.गजेन्द्र केशरी बास्तोला: श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई थामी पाएको म्याद भित्र प्रस्तुत कर्तव्य ज्यान मुद्दाको पुनरावेदन यस अदालतमा दर्ता भई यस अदालतको मिति ०४३।११।१ को डि.बे.बाट अ.बं. २०२ नं. बमोजिम विपक्षी श्री ५ को सरकारलाई झिकाई पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ०३८।६।२२ गते बेलुका गाउँमा नाटक देखाउने कार्यक्रम भएकोले सो ठाउँमा जाँदा बाटोमा मञ्च देखी चौरमा मञ्च बनाउन पर्छ भनी माइलो भन्नेसंग वादविवाद हुँदा अं. ८ बजेको समयमा उदय भन्ने जोशीले छुरीले हानी अन्य व्यक्तिहरूले कुटपिट गरेकोले बहोश भई लडेछु कस्ले छुट्याएर के गरे थाहा नहुँदा होशमा आएपछि यो दर्खास्त गर्न आएको छु, विपक्षीहरूले घा चोट पारेमा जाँच समेत गराई पाउँ भन्ने समेत व्यहोराको घाइते अवस्थामा जाहेरवाला दुर्गाबहादुर श्रेष्ठको जाहेरी दर्खास्त ।
३. ०३८।६।२३ गते कुटपिटको घा जाँच गर्ने काठमाडौं वीर अस्पताल पठाएकोमा सोही गते रात १०:४० मा कुटपिटकै चोटले पति दुर्गाबहादुर श्रेष्ठको मृत्यु भएको हुँदा पति दुर्गाबहादुरले दिएको उजूरी निवेदनमा लेखिएको व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ठूली श्रेष्ठको जाहेरी दर्खास्त ।
४. म समेत भएर मर्ने दुर्गाबहादुर श्रेष्ठलाई कुटपिट गराएको होइन, छैन । लेखिएका अन्य कसकसले कुटपिट गरे त्यहाँ म नहुँदा मलाई थाहा छैन केवल भनाभन भई ६ बजेतिर म ठुली आमाको घरमा गई सुतेको छु भन्ने समेत व्यहोराको माइला जोशी भन्ने कृष्णबहादुर जोशीको प्रहरीमा भएको कागज ।
५. ०३८।६।२२ गते गाउँमा नाटकको मञ्च बनाउन लागेका थिए । म त्यस दिन देउरालीतर्फ गएकोले घटनास्थलमा नहुँदा मर्ने दुर्गाबहादुर र माहिला जोशी भन्ने कृष्णबहादुर जोशीको बीचमा भनाभन भए नभएको थाहा छैन । मैले कुटपिट नगरेको हुँदा जाहेरवालाले किन उजूर गरे थाहा छैन भन्ने समेत व्यहोराको सुन्दर जोशीले गरेको कागज ।
६. ०३८।६।२२ गते नाटकको लागि मञ्च बनाउने विषयमा दुर्गाबहादुरसंग झै झगडा भएको समयमा कसकसले कुटे म रिहर्सल गर्न गएको हुँदा थाहा पाइन । मलाई अन्दाजमा किन किटानी दर्खास्त दिए थाहा छैन भन्ने समेत व्यहोराको विष्णुबहादुर जोशीको कागज ।
७. दुर्गाबहादुर श्रेष्ठको जाहेरी दर्खास्तमा लेखिएका व्यक्तिहरूले कुटपिट गरी सक्त घाइते भएका दुर्गाबहादुर श्रेष्ठको उपचार हुँदा हुँदै अस्पतालमा मृत्यु भएको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
८. मृतक दुर्गाबहादुरको बायाँ आँखी भौंमा डेड इन्च धारिलो हतियारले काटेको र विभिन्न ठाउँमा चोटपटक निल डाम भएको भन्ने लाश जाँच मुचुल्का र टाउकोको चोटको कारणबाट मृत्यु भएको भन्ने लाश जाँच प्रतिवेदन ।
९. कमलबहादुर समेत ७ जनाको कुटपिट तथा छुरीको प्रयोगबाट दुर्गाबहादुर मरेको हुन भन्ने समेत व्यहोराको बुझिएका रामचन्द्र अर्याल समेतको कागज ।
१०. प्रतिवादीहरू ७ जनाकै कुटाई तथा छुरी जस्तो जोखिमी धारिलो हतियारको चोटबाट दुर्गाबहादुर श्रेष्ठको मृत्यु भएको सिद्ध हुन आएकोले ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
११. ०३८।६।२२ गते गाउँमा नाटक देखाउने कार्यक्रम हुँदा नाटक देखाउन बाजा चाहिने भएकोले दमाइहरूलाई बाजा बनाउन लगाएर टेप गर्न दमाई डाँडा गई त्यहाँबाट ७ बजे फर्की आएपछि नाटक रिहर्लसल गर्न मेरो घरतर्फ गयौं । तर नाटक हुन सकेन दुर्गाबहादुरलाई कस्ले के गरी कुटपिट अथवा के गरी मारे मलाई थाहा छैन, म समेत भएर दुर्गाबहादुरलाई कुटपिट गरेको समेत नहुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्र.विष्णुबहादुर जोशीको अदालतमा भएको बयान ।
१२. ०३८।६।२२ गते म आफ्नो होटल टिस्टुङ देउरालीमा थिएँ । मर्ने दुर्गाबहादुर कहाँ थिए थाहा छैन त्यस दिन टिस्टुङ देउरालीबाट टिका लगाउन १२–१ बजे घर आई २
बजे होटल फर्केको हुँदा मैले कुटपिट समेत गरेको छैन भन्ने समेत व्यहोराको प्र.सुन्दर जोशीको बयान ।
१३. प्रहरीमा भएको बयान मैले भने बमोजिम नभई डर धम्कीबाट गराएका हुन् । मर्ने दुर्गाबहादुरलाई मैले कुटपिट गरेको छैन र कसरी मरे भन्ने कुरा समेत थाहा नहुनुको साथै ककसले कुटे कुटेनन् थाहा छैन भन्ने समेत व्यहोराको प्र.कृष्णबहादुर जोशीको बयान ।
१४. ०३८ साल बडा दशैंमा घरको टिका लगाई हेटौंडाको दिदी कृष्ण जोशी सिकिस्त छ भनी खबर आएकोले गते बारको याद भएन, त्यहाँ गई हेटौंडाबाट भाइ टिका लगाई मात्र घर आएको हुँ । वारदात भएको भनेको दिन २२ गते गाउँ घरमा नहुँदा दुर्गाबहादुरलाई म समेत भएर कुटपिट गरेको छैन भन्ने समेत व्यहोराको प्र.भाइचा भन्ने प्रेमबहादुर जोशीले गरेको बयान ।
१५. म समेतले दुर्गाबहादुरलाई कुटपिट गर्दा मरेको होइन । सो वारदात भएको भनेको दिन ०३८।६।२२ गते दशैंको टिका लगाउन काठमाडौं कालिमाटीको घरमा १२ बजे बसबाट गएको हुँदा म समेत भएर कुटपिट गरेको छैन भन्ने समेत व्यहोराको प्र.नेपाल जोशीको बयान ।
१६. ०३८।६।१९ गते दहचोकको मूल घरमा आई ०३८।६।२२ गते नेपाल जोशी समेत भई काठमाडौं घरमा ११।१२ बजेको बसद्वारा आएको हो । रामचन्द्र समेतले पोल गरी कागज गर्नको कारण यिनीहरूलाई सापटी दिएको रुपैयाँ नबुझाएको बाँकी थियो र अन्य रुपैयाँ पनि मागेको बखत नदिएको रिसइवीले गर्दा नै हो । दुर्गाबहादुरलाई कस्ले कुटेको हो थाहा पाइन, कुटपिट भएको सुनेको थिएँ, म नभएको हुँदा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्र.उदयबहादुर जोशीले गरेको बयान ।
१७. ०३८।६।२२ गते बेलुकी ५ बजे टिका लगाउन भनी हेटौंडा गई १७ दिन बसी मात्र पहाड घरमा आएको हुँ । मर्ने दुर्गाबहादुर रक्सी खाई आई गाउँलेहरूसंग झगडा परी कुटपिट भई मरे भन्ने सुनेको हुँ म वारदातमा नहुँदा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्र.कमलबहादुर जोशीको बयान ।
१८. प्रतिवादीका साक्षीहरूले प्रतिवादी मिलानका बकपत्र गरेका रहेछन् ।
१९. ०३८।६।२३ गते ०३८।६।२५ गते दिएको दर्खास्त मेरै हो । सो घा जाँच गराउन दिएको दर्खास्त कृष्णबहादुर श्रेष्ठले लेखी दिएको हो । सो दर्खास्त मेरो श्रीमानले दिएको र भने बमोजिमकै हुँदा पहिलो दर्खास्तमा श्रीमानकै सही परेको हो भन्ने समेत व्यहोराको जाहेरवाला ठूलीमाया श्रेष्ठको बकपत्र ।
२०. ०३८।६।२३।६ मा प्रहरी थाना पालुङमा इन्चार्जलाई सम्बोधन गरी दुर्गाबहादुर श्रेष्ठको दर्खास्त मैले लेखी दिएको हुँ । दुर्गाबहादुरको श्रीमती ठूलीमाया श्रेष्ठले श्रीमान बोल्न नसक्ने अवस्थामा छन् । सबै कुरा मैले श्रीमानलाई सोधी सकेकी छु भनेबाट सोही बमोजिम दर्खास्त मैले लेखिदिएको हुँ भन्ने समेत व्यहोराको कृष्णमान अमात्यको बयान ।
२१. प्रतिवादीहरूले कुटेको चोटबाटै मरेको भन्ने प्रमाण रहे भएको नदेखिएकोले प्रतिवादीहरूले वादी दावी बमोजिम ज्यान मारेको ठहर गर्न नमिल्ने हुँदा प्रहरी प्रतिवेदन अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मकवानपुर जि.अ.बाट मिति ०३९।९।२३।६ मा भएको फैसला ।
२२. दुर्गाबहादुर श्रेष्ठले आफू मर्नु भन्दा अगाडि माहिलो भन्ने कृष्णबहादुर जोशी समेतका ६ जनाले कुटपिट गरी बेहोश अवस्थामा पुर्याएको भन्ने कुरा लिखित रुपमा किटानीसाथ व्यक्त गर्नुको साथै सरजमीनका व्यक्तिहरूले समेत किटानीसाथ बकी लेखाई दिएकोले त्यसतर्फ ध्यान नै नदिई शुरु जि.अ.ले प्रतिवादीहरूले सफाई दिएको नमिलेको हुँदा सो फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदनपत्र ।
२३. प्रतिवादीहरूलाई सफाई दिने गरी मकवानपुर जि.अ.ले गरेको फैसला मिलेको नदेखिनाले अ.बं. २०२ नं. र क्षे.अ. नियमावली बमोजिम छलफल निमित्त विपक्षी झिकाई आएपछि या म्याद नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।११।१८ को आदेश ।
२४. चस्मदिद भनिएका व्यक्तिहरू रामचन्द्र अर्याल, लोकनाथ अर्याल समेतले प्रतिवादीहरूले कुटपिट गरेको देखेको साँचो हो भनी प्रहरी र अदालतमा समेत बयान गरेको र कुटपिटको वारदात ०३८।६।२२ मा भएको र ०३८।६।२३ मा मृतकले सख्त घाइते अवस्थामा होश छँदै घा जाँचको लागि दर्खास्त दिएको साथै मृतकको शरीरमा विभिन्न घा चोटको अतिरिक्त टाउकोमा धारिलो हतियारले काटेको चोटबाट मृत्यु भएको भन्ने लाश जाँच प्रतिवेदनबाट देखिएको। सुन्दर जोशी, नेपाल जोशी समेतले मृतकलाई छुरा प्रहार गरी कुटपिट समेत गरेको चोटबाट मृतकको मृत्यु भएको मिसिल प्रमाणबाट देखिन आएको प्र.कमलबहादुर जोशीले मृतकलाई कुटपिट गरेको भन्ने शंकारहित स्वतन्त्र प्रमाण समेत नदेखिँदा अपराध गरेको भन्न मिल्ने देखिँदैन । प्रतिवादी मध्येका उदय जोशीले मृतक दुर्गाबहादुर श्रेष्ठलाई छुरा प्रहार गरेको र टाउकोमा हतियारले काटेको घाउ समेत भई सो चोटको कारणबाट दुर्गाबहादुरको मृत्यु भएको देखिँदा निजलाई ज्या.सं. को १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद र अन्य प्रतिवादीहरू माहिला भन्ने कृष्णबहादुर जोशी १, सुन्दर जोशी १, विष्णुबहादुर जोशी १, नेपाल जोशी र भाइचा जोशी समेतलाई ज्या.सं. को १३(३) बमोजिमकै जन्मकैद हुन्छ । प्र.कमलबहादुर जोशीको हकमा सफाई दिने गरेको शुरुको फैसला मनासिब भई शुरुको फैसला केही उल्टी हुन्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२५. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ उपर चित्त नबुझी पु.प्र.सुन्दर जोशी समेतले हु.प्र.बाट थामी पाएको म्यादभित्रै प्रस्तुत पुनरावेदन पर्न आई अ.बं. २०२ नं. बमोजिम विपक्षी श्री ५ को सरकारलाई झिकाउने भन्ने मिति ०४३।११।१ को यस अदालतको डि.बे.को आदेश ।
२६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा प्र.सुन्दर जोशी समेतको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री सुवास नेवाङको र श्री ५ को सरकारको तर्फबाट विद्वान सह-न्यायाधिवक्ता श्री बलराम के.सी.को बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
२७. यसमा मिति ०३८।६।२२ गते बेलुकी गाउँमा नाटक देखाउन मञ्च बनाएकोमा मञ्च सम्बन्धमा माइलोसंग भनाभन हुँदा झगडा भई माइलोले बेलुकी उदय जोशी, नेपाल जोशी, विष्णु जोशी, भाइचा जोशी र सुन्दर जोशी समेत भेला गराई कुटपिट गरेको र उदय जोशीले छुरी प्रहार गरेकोबाट म दुर्गाबहादुर बेहोश भएछु । घा चोट निल समेत जाँची उपचार गरिपाउँ भन्ने व्यहोराको दुर्गाबहादुर श्रेष्ठको मिति ०३८।६।२३ को जाहेरी दर्खास्तमा उल्लेख भएको र घा जाँच उपचारको लागि निज दुर्गाबहादुरलाई काठमाडौं वीर अस्पतालमा पठाएकोमा उपचार गर्दै गरेको अवस्था वीर अस्पतालमा मिति ०३८।६।२३ को राती सो घा चोटको कारणबाट पति दुर्गाबहादुर श्रेष्ठको मृत्यु भएको हुँदा विपक्षीहरूलाई सजायँ गरिपाउँ भन्ने व्यहोराको मृतककी पत्नी ठूली श्रेष्ठको जाहेरी दर्खास्तमा उल्लेख भएको पाइन्छ ।
२८. मृतकको जाहेरी दर्खास्त परेपछि सोही दिन मिति ०३८।६।२३ मा निज जाहेरवाला दुर्गाबहादुर श्रेष्ठको मृत्यु भएको हुँदा सो जाहेरी दर्खास्तमा उल्लेख भएका कुरालाई मृत्यु कालिन घोषणा भन्न मिल्ने हो होइन त्यसतर्फ विचार गर्दा सर्वप्रथम मृतकले दिएको जाहेरी दर्खास्तमा मृतक दुर्गाबहादुर श्रेष्ठको सही परेको देखिन आउँछ सो जाहेरी दर्खास्तमा दस्तखत भएको सम्बन्धमा सरजमीनका व्यक्ति श्यामबहादुर डंगोलले अदालतमा आई बयान गर्दा वारदात भएको दिन टिष्टुड्ड नाटक हेर्न गएकोमा कृष्णभक्तले दुर्गाबहादुरको रगत भनी रगतको ठाउँ देखाएको र अस्पताल पुर्याई दिनु पर्यो भनेको र भोलिपल्ट बिहान थानामा पुर्याउँदा दुर्गाबहादुरले बयान गर्दा मेरो सामुन्नेमा नै दस्तखत गरेको र वीर अस्पतालमा भर्ना गरी उपचार हुँदा हुँदैको अवस्थामा राती १०:४० बजे दुर्गाबहादुरको मृत्यु भएको र जोहरी दर्खास्तमा कुटपिट गर्नेको नाम नेपाल जोशी, माहिला जोशी, विष्णु जोशी, भाइचा जोशी, उदय जोशी, सुरेन्द्र समेतको नाम लेखाएको थियो भनी कागज गरेबाट पनि जाहेरीमा मृतकको दस्तखत भएको कुरा समर्थित हुन आउँछ, साथै सरजमीनका अर्को व्यक्ति कृष्णभक्त श्रेष्ठले प्रहरीमा गरेको बयान राजीखुशीले गरेको भनी लेखाएको र उक्त कुटपिट वारदातको घटना देख्ने म र भाइ लोकनाथ अर्याल थिए भनी रामचन्द्र अर्यालले अदालत आई बयान गरेको र लोकनाथ अर्याल पनि वारदात भएको बयान गरेबाट पनि मिति ०३८।६।२२ गते वारदात कुटपिट भएबाट शुरु भएको हो भन्ने कुरामा विवाद रहेन । मञ्च बनाउने सम्बन्धमा विवाद उठी भनाभन भई झगडा भएको र कुटपिट समेत हुन गएको स्थितिमा मृतक पीडित व्यक्तिले आफूलाई कुट्ने भनेका व्यक्तिहरूलाई चिन्हेन भन्न मिल्दैन । वारदातको किसिम र अवस्थाबाट वारदातको घटना स्वभाविक हो र पीडित व्यक्तिले कुट्ने व्यक्तिहरू थाहा नपाएको र थाहा नपाउने भन्न सकिन्न । मृतक दुर्गाबहादुरले जाहेरी दर्खास्तमा सही नगरेको भए उसको सही भनी प्रहरीले भन्नु पर्ने कुनै कारण छैन देखिँदैन । यदि प्रहरीले प्रतिवादीहरूलाई फसाउने नै गरेको भए अझ स्पष्ट शब्दमा बढि गढाउ हुने गरी दर्खास्त लेखाउन सक्ने थियो नकि सामान्य खालको कुटपिटको दर्खास्त लेखाउने थिएन होला । मृतक दुर्गाबहादुरको सही परेको दर्खास्त भएपछि निजको भनाई बमोजिम लेखेको होइन भन्ने लेखकको पछिको बकपत्रबाट मान्न न्यायोचित हुँदैन । जाहेरी दर्खास्तमा उल्लेख भएका प्रतिवादीहरूले उक्त कुटपिटको वारदात भएको होइन भन्न प्रतिवादीहरूले प्रमाण गुजार्न सकेको छैन केवल अदालतमा आई इन्कार गरेकोलाई मात्र सत्य तथ्य हो भनी प्रमाणमा लिन मिल्ने अवस्था होइन । मृतकको मृत्यु वारदात भएको भोलिपल्ट जाहेरी दर्खास्त परेको र सोही जाहेरी दर्खास्त परेको दिन नै मृतकको मृत्यु भएको भनी वीर अस्पतालको पत्रबाट समेत देखिन आएको हुँदा प्रतिवादीहरूले मृतकलाई कुटपिट गरी मारेको होइन भन्न मिल्दैन । कुटपिट गरेको व्यक्तिहरूको नाम उल्लेख गरी जाहेरी दर्खास्तमा मृतकले सही गरी सकेपछि मृत्युकालीन घोषणा हो वा होइन भन्ने सम्बन्धमा प्रमाण ऐन, ०३१ को दफा ११ मा “कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होश छँदाछँदै आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था भएको र प्रमाण ऐन, ०३१ को दफा १०(१)(ख) मा सो काम घटना वा अवस्थाबाट पीडित भएका व्यक्तिले “मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था भएबाट मर्ने जाहेरवाला पीडित व्यक्ति होइन भन्न मिल्दैन । त्यसैले प्र.उदय जोशी र नेपाल जोशी दुवै दाजु भाइलाई सजायँ भएकोमा उदय जोशीको पुनरावेदन नगरी चुप लागी बसेको छ भने नेपाल जोशी र सुन्दर जोशीले म्याद थमाई पुनरावेदन गरेको छ । नेपाल जोशीले अदालतमा आई बयान गर्दा म वारदातमा नभई काठमाडौंमा बसेको छु भनेकोमा पछि आएर दाजु उदय जोशी साथै छु भनेकोबाट बयानमा पनि फरक पर्न आएको प्रष्ट हुन्छ । मर्ने दुर्गाबहादुरको शरीरमा कुटपिटबाट विभिन्न घा चोट परेको र प्रतिवादीहरूको नाम जाहेरीमा किटानी साथ लेखिएका एवं पोष्ट मार्टममा घा चोट नील डाम छन भनी राय व्यक्त भएको समेतबाट वारदात धेरै जनाबाट भएको पुष्टी हुन्छ । दर्खास्तमा उल्लेख भएको कुरा लेखाए पछि यदि मृतक दुर्गाबहादुर उपचारबाट निको भई हिंडडुल गर्न सक्दथ्यो भने देखि त्यस अवस्थामा मृतकले दिएको जाहेरी दर्खास्तलाई मृत्युकालीन घोषणा (Dying Declaration) भन्न मिल्दैनथ्यो तर प्रस्तुत मुद्दामा त्यसो नभई मिति ०३८।६।२२ गते वारदात भई मिति ०३८।६।२३ मा मृतक दुर्गाबहादुर श्रेष्ठले जाहेरी दर्खास्त दिएको र वीर अस्पतालमा उपचार हुँदा हुँदै सोही मिति ०३८।६।२३ को दिन राती १०:४० बजे निज दुर्गाबहादुर श्रेष्ठको मृत्यु भएको भएपछि जाहेरी दर्खास्तमा उल्लेख भएका कुरालाई मृत्युकालीन घोषणा (Dying Declaration) हो भनी प्रमाण ऐन, २०३१ को दफा ११ ले मान्न मिल्दछ । जाहेरीलाई मृत्युकालीन घोषणा (Dying Declaration) मान्न सकिन्न भन्ने विद्वान अधिवक्ताको बहस जिकिरसंग यो बेञ्च सहमत हुन सकेन । तसर्थ जाहेरीमा किटानीसाथ लेखिएका प्रतिवादीहरूको कुटपिटबाट घाइते भई दुर्गाबहादुरको वीर अस्पतालमा मृत्यु भएको भन्ने सरजमीन मुचुल्का, धारिलो हतियारले काटेको र शरीरको विभिन्न ठाउँमा चोटपटक निलडाम समेत भएको भन्ने लाश जाँच मुचुल्का एवं टाउकोमा चोट लागेको कारणबाट मृतकको मत्यु भएको भन्ने पोष्टमार्टम समेतबाट समर्थित भएकोले नेपाल जोशी, सुन्दर जोशी, माइला भन्ने कृष्णबहादुर जोशी, विष्णु जोशी, भाइचा जोशी र उदय जोशीले छुरा प्रहार गरी कुटपिट गर्दा सोही कुटपिटको चोटबाट दुर्गाबहादुर श्रेष्ठको तत्कालै मृत्यु भएकोमा मृतकको जाहेरीलाई मृत्युकालीन घोषणा (Dying Declaration) मान्न मिलेको देखिँदा (छुरा प्रहार गर्ने) प्र.उदय जोशीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने अन्य प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी कमलबहादुर जोशीको हकमा निजले कुटपिट गरेको भन्ने शंका रहित स्वतन्त्र प्रमाण समेत नदेखिँदा निज प्रतिवादीले अपराध गरेको भन्न मिल्ने नदेखिँदा निज कमलबहादुरलाई सफाई दिने गरेको शुरुको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको जिकिर पुग्न सकेन । साधकको लगत कट्टा गरी नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४४ साल भाद्र १२ गते रोज ६ शुभम् ।