निर्णय नं. ८८५३ - कर्तव्यज्यान ।

ने.का.प. २०६९, अङ्क ६
निर्णय नं. ८८५३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
२०६७-CR-०४१२
फैसला मितिः२०६९।४।२४।३
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः जिल्ला झापा, भुटानी शरणार्थी शिविर वेलडाँगी–१ सेक्टर A, हट नं. ११८ घर भई हाल कारागार कार्यालय, भद्रपुर झापामा थुनामा बस्ने बीरमान लुङ्गेली (मगर)
विरूद्ध
प्रत्यर्थी वादीः चित्रबीर मगरको जाहेरीले नेपाल सरकार
शुरू फैसला गर्ने :
मा.न्या. श्री अर्जुनप्रसाद कोइराला
पुनरावेदन फैसला गर्ने :
मा.मु.न्या.श्री पुरूषोत्तम पराजुली
मा.न्या.श्री विष्णुदेव पौडेल
§ फौजदारी अपराधमा जरियाको सिद्धान्त (Doctrine of Causation) अनुसार फौजदारी दायित्व वहन गराउनका लागि फौजदारी कानूनले निषेध गरेको परिणाम कसको कार्यबाट उत्पन्न भएको हो भन्ने कुरा महत्वपूर्ण हुने ।
§ कार्य र परिणामको अवधि लामो अन्तरालयुक्त भएको अवस्थामा तेस्रो पक्षको कुनै कार्य वा मृतकको अनपेक्षित व्यवहार वा अन्य कुनै कारणले निषेधित परिणाम ल्याउनमा योगदान गरेको अवस्थामा त्यस्तो परिणामको लागि पहिलो जिम्मेवार मानिएको प्रतिवादीको फौजदारी दायित्व निर्धारण गर्नु न्याय निरोपण गर्ने निकायको अत्यन्त महत्वपूर्ण र जटिल दायित्व बन्न पुग्ने ।
(प्रकरण नं.६)
§ टाउकाको हड्डी फुटेको र सोही चोटबाट थला परी मृत्यु भएको प्रमाणित भइरहेको अवस्थामा ज्यान सम्बन्धीको ८ नं. आकर्षित हुने ।
(प्रकरण नं.८)
§ अ.वं १८८ नं. को प्रयोग गर्दा पनि केही न्यायिक आधार अवलम्बन गर्नुपर्ने हुन्छ । अन्यथा विधिकर्ताले ठूलो विश्वासका साथ न्यायकर्तालाई प्रदान गरेको यो तजविजी अधिकारको सदुपयोग हुन नसक्ने ।
§ दाउराको चीरपटको प्रहारलाई सावधानीपूर्वक भएको प्रहार मान्न नमिल्ने ।
(प्रकरण नं.१०)
§ चित्तमा लाग्ने भन्ने कुरा मनोगत हुन सक्दैन । सर्वप्रथम आधार र कारणको विश्लेषणबाट नै अ.वं. १८८ नं. को प्रयोग हुने वा नहुने निष्कर्ष निकाल्नु पर्दछ । न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु नै अ.वं. १८८ नं. का लागि पर्याप्त नहुने ।
(प्रकरण नं.११)
पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता लीलामणि पौडेल
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ ज्यानसम्बन्धी महलको १, ६, १३, १३(३), १४, १५, १६, १७, १८, २८, २८क, २८ग, घ नंं.
§ अ.बं. १८८ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६७।३।९ को फैसलाउपर यस अदालतमा प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :–
मिति २०६४।१२।२४ गते बिहान अं. ७.०० बजेको समयमा खाना नबनाएको निहुँमा अभियुक्त वीरमान लुङ्गेली मगरले निजकी श्रीमती वर्ष १९ की मनमाया मगरलाई चीरपट दाउराले टाउको हिर्काई मरणासन्न पारेकोले निजलाई उपचारार्थ विभिन्न अस्पताल हुँदै भारत सिलगुढीस्थित न्यूरो अस्पतालमा पुर्याई मिति २०६५।५।२ गतेसम्म सोही अस्पतालको आई. सी. यू. वार्डमा राखी लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा समेत होस नखुली सम्बन्धित डाक्टरले फिर्ता गरेकाले बेहोस स्थितिमा नै बेलडाँगीस्थित घरमा ल्याई राखेकोमा होस नखुली सोही कुटपीटको चोटबाट थला परेकी घाइते मनमाया मगरको मिति २०६५।७।८ गते बिहान ३.०० बजे मृत्यु भएको हुँदा घटना सम्बन्धमा तत्काल ज्यान मार्ने उद्योग मुद्दा चली कारागारमा थुनामा रहेका अभियुक्त वीरमान लुङ्गेलीलाई कर्तव्य ज्यानमा कारवाही चलाई पाऊँ भनी निज मनमाया मगरलाई उपचार गराएका कागजातसहित संलग्न राखी मृतकका बाबु चित्रवीर मगरले दिएको जाहेरी दरखास्त ।
बेलडाँगी १ सेक्टर वि. ४ हर्ट नं. ४७६ स्थित घरभित्र उत्तर टाउको, दक्षिण गोडा भई उत्तानो अवस्थामा रहेकी वर्ष १९ की मनमाया मगरको लास रही अनुहार पूरै पहेलो भएको, दुवै आँखा बन्द, टाउकोमा पुरानो घाउचोट देखिएको भन्ने लासजाँच प्रकृति मुचुल्का ।
अभियुक्त वीरमान लुङ्गेली मगरले मिति २०६४।१२।२४ गते बिहान अं. ७.०० बजेको समयमा घरभित्र चुल्होमा आगो फुक्दै गरेकी वर्ष १९ की मनमाया मगरलाई निजले भनेको समयमा खाजा नबनाएको भनी सोही स्थानमा रहेको चीरपट दाउराले पछाडिबाट टाउकोमा मच्चाएर प्रहार गरी सख्त घाइते बेहोस बनाएकोमा निज मनमाया मगरलाई तत्कालदेखि हालसम्म विभिन्न साधनसम्पन्न अस्पतालमा पुर्याई लाखौं रूपैयाँ खर्च गरी उपचार गराउँदा समेत होस नखुली उपचार हुन नसक्ने भनेकाले निजलाई बेलडाँगी–१ स्थित घरमा ल्याई राखेकोमा होस नखुली नै मिति २०६५।७।८ गते बिहान अं. ३.०० बजे मृत्यु भएकाले अभियुक्त वीरमान लुङ्गेलीले कुटपीट गरेको चोटको कारणबाट निज मनमाया मगरको मृत्यु भएको हुँदा त्यसरी कर्तव्य गरी ज्यान मारेकोमा वीरमान लुङ्गेली मगरलाई कानूनबमोजिम आवश्यक कारवाही होस् भन्ने समेत व्यहोराको स्थानीय हर्कमान मगर समेतका मानिसहरूले लेखाइदिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मृतक मनमाया मगरको मृत्युको कारण, “due to head injury” भनी उल्लेख भएको प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे मोरङ्गबाट भएको शव परीक्षण प्रतिवेदन ।
मिति २०६४।१२।२४ गते बिहान श्रीमती मनमाया मगरलाई खाजा बनाउन लगाउँदा ढिलो गरेको र म अत्यन्त झडङ्ग रीस उठ्ने मानसिक रोगी समेत भएको हुँदा तत्कालीन रिसको आवेशमा श्रीमतीलाई घरभित्र चुल्होमा आगो फुक्दै गरेका बखत त्यहीँ रहेको चीरपट दाउराले पछाडिबाट निजको टाउकोमा हिर्काई सोही चोटबाट बेहोस भई ढलेकीमा उपचारको क्रममा साधनसम्पन्न विभिन्न अस्पतालहरूमा लगी उपचार गराउँदा समेत होस नखुलेको, बेहोसस्थितिमा नै घरमा फर्काएर ल्याई राखेकोमा ६।७ महिनापछि मिति २०६५।७।८ गते बिहान मेरी श्रीमतीको मृत्यु भएको भन्ने थाहा पाएको हुँ । श्रीमतीको मृत्यु हुँदाका बखत म सोही सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षको लागि थुनामा हुँदा लास देखे हेरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी बीरमान लुङ्गेली मगरको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।
संकलित कागज प्रमाणको आधारमा प्रतिवादी बीरमान लुङ्गेली मगरले मृतकलाई चीरपट दाउराले टाउको जस्तो संवेदनशील अङ्गमा मार्ने नियतले प्रहार गरी उपचार हुँदाहुँदै ज्यान सम्बन्धी महलको ८ नं. बमोजिमको परिबन्दबाट मृतकको मृत्यु भएको देखिएकोले ज्यान सम्बन्धी महलको १ र १३ नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
मिति २०६४।१२।२४ गते बिहान मेरो दिमागले काम नगरेकोले दाउराको चीरपटले मेरो श्रीमती मनमाया मगरलाई टाउको र शरीरमा हिर्काएछु । सो विषयमा मउपर ज्यान मार्ने उद्योग मुद्दा दायर भई थुनामा छु । मेरो श्रीमतीको उपचार हुँदाहुँदै मिति २०६५।७।८ गते मृत्यु भएछ । रिसको झोकमा मर्ने गरी नै हिर्काएछु । रक्तचाप बढेको कारणबाट त्यस्तो हुन गएको हो । अधिकारप्राप्त अधिकारीसमक्ष मैले गरेको कागज ठीक छ भन्ने समेतको प्रतिवादी वीरमान लुङ्गेली मगरले अदालतमा गरेको बयान ।
प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल मुलुकी ऐन, अ.वं. ११८(२) नं. अनुसार प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने समेत व्यहोराको शुरू अदालतको मिति २०६५।९।१ को आदेश ।
मिति २०६४।१२।२४ गते बिहान प्रतिवादीले मृतक मनमायालाई आँखामा कुटेपछि हतियारले टाउकोमा प्रहार गरेर थला पारेपछि विभिन्न अस्पतालमा उपचार हुँदाहुँदै मिति २०६५।७।८ गते बिहान प्रतिवादीको घरमा मृत्यु भएको हुँदा यिनै प्रतिवादीको कुटपीटको कारण मृत्यु भएकाले प्रतिवादीलाई हदैसम्मको सजाय हुनुपर्छ भन्ने समेतको जाहेरवाला चित्रवीर मगरले गरेको बकपत्र ।
आदेशानुसार वस्तुस्थिति मुचुल्काका मानिस आइतसिँह मगर, तारावीर मगर, यादव मगर, घटनास्थल लास जाँच मुचुल्काका मानिस भीम मगर र कविराज मगरले गरेको बकपत्र मिसिल संलग्न रहेको ।
यसमा प्रतिवादीले कसूर स्वीकारी बयान गरेको, जाहेरवालाले घटना पुष्टि गर्दै गरेको बकपत्र, मृतकको टाउकोमा लागेको चोटको कारणले मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन र लासजाँच मचुल्का समेतबाट प्रतिवादी बीरमान लुङ्गेली मगरले दावीबमोजिमको आरोपित कसूर गरेको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३)नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । साथै मृतकलाई मार्नुपर्नेसम्मको यथेष्ट कारण, पूर्वयोजना र मनसाय नदेखिएको अवस्थामा सर्वस्वसहितको जन्मकैद चर्को पर्ने हुँदा प्रतिवादीलाई मुलुकी ऐन, अ.वं. १८८ नं. बमोजिम सात वर्ष कैदको सजाय हुन मनासिब हुने राय पेश गरिएको छ भन्ने समेत व्यहोराको शुरू झापा जिल्ला अदालतबाट भएको मिति २०६६।९।१३ को फैसला ।
मृतकले खाजा नबनाएको कारणले आवेशमा आई रिस थाम्न नसकी मैले हिर्काएको कारणबाट पर्न गएको चोट भए पनि ऐनको म्याद नाघी अन्य कारणबाट मृतकको मृत्यु हुन गएको, मृतकलाई मार्नुपर्ने कुनै कारण रिसइवी समेत नभएको, शरीरमा एक्कासी रगत ताती सृजित घटनाबाट भएको वारदात पुष्टि भइरहेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. को भवितव्य ठहर्ने व्यवस्था समेतमा केन्द्रित नरही र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (नेकाप २०४४, अङ्क १०, पृष्ठ १०५०, नि.नं. ३२३९ मुद्दा कर्तव्य ज्यान) को विपरीत गई मलाई सजाय हुने गरी भएको शुरू झापा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
टाउको जस्तो संवेदशील अङ्गमा प्रहार गरेको देखिएपछि ज्यान सम्बन्धीको दफा ६ बमोजिमसम्म सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकीर समेत मुनासिब नदेखिँदा पुनरावेदकले उल्लेख गरेको नजीर यस मुद्दामा आकर्षित हुन सक्ने देखिएन । यसर्थ प्रस्तुत पुनरावेदक प्रतिवादीलाई अभियोग दावीबोजिमको कसूरदार ठहराई भएको शुरू झापा जिल्ला अदालतको मिति २०६६।९।१३ को फैसला मुनासिबै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । आफूले प्रेम विवाह गरी ल्याएको श्रीमतीलाई ज्यादै निर्ममतापूर्वक दाउराले टाउकोजस्तो संवेदनशील अंङ्गमा मर्ने नै गरी जोडले परिणामको ख्यालै नगरी प्रहार गर्ने पुनरावेदकलाई शुरूले लगाएको राय बमोजिम ७ वर्षमात्र कैदको सजाय गर्नु ज्यादै न्यून हुने देखिएकाले निज प्रतिवादीलाई कैद वर्ष १५ को सजाय हुन मुनासिब ठानी अ.वं. १८८ नं. बमोजिम राय समेत जाहेर गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति २०६७।३।९ को फैसला ।
मैले मृतकको कुनै अङ्ग भाच्ने छिनाल्ने गरी कुटपीट गरेको छैन । ज्यानसम्बन्धी महलको परिभाषित कसूर गरेको भए ७ महिनासम्म मृतकको बाच्ने अवस्था नै हुने थिएन । मैले आवेशमा मृतकलाई समान्य प्रहार गरेको हुँदा अन्य रोगका कारण मृतकको ७
महिनापछि मृत्यु भएको हो । टाउकोमा चोट लागे पनि अङ्ग भाँचिने, छिन्ने गरी हाने कुटेको होइन । शव परीक्षण प्रतिवेदनले पनि सो कुरा किटानी गर्न सकेको नहुँदा ज्यान सम्बन्धी महलको ८ नं. ले परिभाषित कसूरमा मैले सजाय पाउने अवस्था छैन । मैले मार्ने उद्देश्यले प्रहार नगरेको र अलिक वडी रिस उठ्ने मानसिक रोगी भएकाले खाजा नबनाएको निहुँमा सवक सिकाउन सामान्य रूपमा कुटेको र घटना भएको ७½ महिनापछि आन्तरिक रक्तश्राव भयो वा टाउकोमा चोट परेको कारणले मृत्यु भएकोले मलाई सर्वश्वसहित जन्मकैद गर्न मिल्ने होइन । मृतकलाई मार्ने नियतबिना खाजा नबनाएको निहुँमा सामान्य प्रहार गर्दा लाग्न गएको चोटको कारणले अङ्ग भाचिई वा छिनी मृत्यु भएको होइन । मार्ने नियत नभएको हुँदा भवितव्य ठहर हुनुपर्नेमा पुनरावेदन अदालत इलामले झापा जिल्ला अदालतले गरेको फैसला सदर गर्दै ७ वर्ष सजाय हुने गरी व्यक्त गरिएको रायलाई बढाई १५ वर्ष सजाय हुनुपर्ने रायसहितको पुनरावेदन अदालत इलामको फैसलामा गम्भीर त्रुटि हुँदा उक्त फैसला उल्टाई सफाइ पाउने गरी वा भवितव्यमा सजाय गरिपाऊँ । त्यस्तो स्थिति नरहेमा पनि जिल्ला अदालतले ७ वर्ष सजाय गरेको रायलाई सदर गर्ने गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लीलामणि पौडेलले यी निवेदकले मृतकलाई मार्ने नियतले प्रहार गरेको होइन । मृतक यी प्रतिवादीको श्रीमती भएकोले निजले समयमा खाजा नबनाएको निहुँमा तत्काल आवेशमा आई चीरपट दाउराले हान्दा मृतकको टाउकोमा लाग्न गएको र निजलाई उपचार गर्दागर्दै साढेसात महिनापछि निजको मृत्यु हुन गएको हो । यी प्रतिवादी उच्च रक्तचापको रोगी भएकोले निज आवेशमा आई एक पटक मात्र प्रहार गरेको हो । सो कुरा यी प्रतिवादीले स्वीकार नै गरेको अवस्था छ । यी प्रतिवादीको कार्य ज्यान सम्बन्धी महलको ८ नं. ले परिभाषित गरेको कार्यभित्र पर्ने अवस्था समेत छैन । मृतकको कुनै अङ्ग भाच्ने वा छिन्ने गरी प्रहार भएको पनि होइन । मृतकको मृत्यु तत्काल नभई साढेसात महिनापछि भएकोले यी प्रतिवादीको चोटले नै मृत्यु भएको भन्ने अवस्था पनि शंकारहित तरिकाले पुष्टि भएको छैन । यस्तो अवस्थामा यी प्रतिवादीलाई ज्यान जस्तो गम्भीर अपराधको दोषी ठहर गर्नु उपयुक्त हुँदैन । मृतकलाई सचेत गराउन एकपटक गरेको प्रहारले चोट लाग्न गएको र लामो समयको अन्तरालपछि निजको मृत्यु भएको अवस्थालाई समेत विचार गरी भवितव्यको वारदात हुन सक्ने अवस्था छ । शुरू जिल्ला अदालतले अ.वं. १८८ नं. बमोजिम सात वर्ष मात्र कैद गर्न उपयुक्त हुने भनी जाहेर गरेको रायलाई पुनरावेदन अदालतले १५ वर्षसम्म बढाउनु पर्ने कुनै कारण र आधार छैन । यस्तो अवस्थामा विपक्षीलाई झिकाई छलफल गरी यी प्रतिवादीलाई अत्याधिक सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला बदर गरी भवितव्य ठहराई न्याय हुनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको बहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत इलामबाट मिति २०६७।३।९ मा भएको फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६४।१२।२४ गते बिहान अं. ७.०० बजेको समयमा खाजा नबनाएको निहुँमा बीरमान लुङ्गेली मगरले निजकी श्रीमती मनमाया मगरलाई चीरपट दाउराले टाउकोमा हिर्काई मरणासन्न पारेको र उपचारार्थ विभिन्न अस्पताल हुँदै भारत सिलगुढीस्थित न्यूरो अस्पतालमा पुर्याई मिति २०६५।५।२ गतेसम्म उपचार गर्दा समेत होस नखुली सम्बन्धित डाक्टरले फिर्ता गरेकाले बेहोस स्थितिमा नै घरमा ल्याई राखेकोमा होस नखुली सोही कुटपीटको चोटबाट मिति २०६५।७।८ गते बिहान ३.०० बजे मृत्यु भएको हुँदा बीरमान लुङ्गेलीलाई कर्तव्य ज्यानमा कारवाही चलाई पाऊँ भन्ने समेत व्यहोराको मृतकका बाबु चित्रवीर मगरले दिएको जाहेरी दरखास्तको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान कारवाही उठान भएको देखिन्छ । यी प्रतिवादी वीरमान लुङ्गेलीले गरेको प्रहारबाट ज्यानसम्बन्धी महलको ८ नं. बमोजिमको परिबन्दबाट मृतकको मृत्यु भएको भन्ने आधारमा निजलाई ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोजन पक्षको अभियोग माग दावी रहेको देखिन्छ ।
३. अनुहार पूरै पहेलो भएको, दुवै आँखा बन्द, टाउकोमा पुरानो घाउचोट देखिएको भन्ने समेत व्यहोराको लासजाँच प्रकृति मुचुल्का र मृतक मनमाया मगरको मृत्युको कारण, “due to head injury” भनी शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिएबाट मृतकको मृत्यु कर्तव्यबाट भएको देखिन आयो ।
४. अभियोग माग दावीबमोजिम यी प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा मिति २०६४।१२।२४ गते बिहान श्रीमती मनमाया मगरलाई खाजा बनाउन लगाउँदा ढिलो गरेको हुँदा तत्काल आवेशमा चुल्होमा आगो फुक्दै गर्दा त्यहीँ रहेको चीरपट दाउराले पछाडिबाट टाउकोमा हिर्काई सोही चोटबाट बेहोस भई ढलेकीमा उपचार गर्न विभिन्न अस्पतालहरूमा लगी उपचार गराउँदा समेत होस नखुलेको र बेहोस स्थितिमा नै घरमा फर्काएर ल्याई राखेकोमा मिति २०६५।७।८ गते बिहान मेरी श्रीमतीको मृत्यु भएको भन्ने थाहा पाएँ, रिसको झोकमा मर्ने गरी नै हिर्काएछु, रक्तचाप बढेको कारणबाट त्यस्तो हुन गएको हो, अधिकारप्राप्त अधिकारीसमक्ष मैले गरेको कागज ठीक छ भन्ने समेत व्यहोरा उल्लेख गरी अनुसन्धानको क्रममा भएको बयानको व्यहोरा तथा कसूर स्वीकार गरी बयान गरेको पाइन्छ ।
५. यी प्रतिवादीले कसूर अभियोग स्वीकार गरी गरेको बयान मृतकको लासजाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनमा उल्लिखित व्यहोरा, जाहेरवालाले अदालतमा आई जाहेरीको व्यहोरालाई समर्थन गरी गरेको बकपत्र तथा अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरूले अदालतमा गरेको बकपत्र समेतका प्रमाणबाट समर्थित भएको देखिन आउँछ । यी प्रतिवादीले मिति २०६४।१२।२४ मा मृतक मनमाया मगरलाई प्रहार गरेको देखिन्छ भने निजको मृत्यु मिति २०६५।७।८ मा भएको देखिनछ । मृतकलाई प्रतिवादीले प्रहार गरेपछि सोही चोटले बेहोस भई उपचारको क्रममा समेत होसमा नआई सोही चोटपीरले निजको मृत्यु भएको भन्ने जाहेरवालाको बकपत्र, शव परीक्षण प्रतिवेदनमा उल्लिखित मृत्युको कारण तथा प्रतिवादीको बयानबाट समेत देखिएको छ । वस्तुस्थिति मुचुल्काका तारावीर मगर, यादव मगर, भीम मगर र कविराज मगरले पनि प्रतिवादीले प्रहार गरेको चोटबाटै मृतकको मृत्यु भएको हुँदा अभियुक्तलाई हदैसम्मको सजाय हुनुपर्छ भनी बकपत्रमा लेखाइदिएको देखिन्छ । मृतक होसमा आई पछि अन्य कुनै रोग वा कारणबाट निजको मृत्यु भएको भन्ने प्रतिवादीको जिकीर समेत रहेको छैन ।
६. फौजदारी अपराधमा जरियाको सिद्धान्त (Doctrine of Causation) अनुसार फौजदारी दायित्व वहन गराउनका लागि फौजदारी कानूनले निषेध गरेको परिणाम कसको कार्यबाट उत्पन्न भएको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुनै व्यक्तिको कार्यको परिणामस्वरूप आपराधिक घटना भएको अवस्थामा सो निषेधित परिणामको लागि त्यस्तो कार्य गर्ने व्यक्ति जिम्मेवार हुन्छ । कार्य र परिणामको अवधि लामो अन्तरालयुक्त भएको अवस्थामा तेस्रो पक्षको कुनै कार्य वा मृतकको अनपेक्षित व्यवहार वा अन्य कुनै कारणले निषेधित परिणाम ल्याउनमा योगदान गरेको अवस्थामा त्यस्तो परिणामको लागि पहिलो जिम्मेवार मानिएको प्रतिवादीको फौजदारी दायित्व निर्धारण गर्नु न्याय निरोपण गर्ने निकायको अत्यन्त महत्वपूर्ण र जटिल दायित्व बन्न पुग्दछ । तर प्रस्तुत मुद्दामा यी प्रतिवादीको चोट प्रहारले बेहोस भएकी मृतक उपचारको क्रममा समेत निरन्तर बेहोस रही सोही कारणबाट निजको मृत्यु भएको देखिएकाले यी प्रतिवादीकै चोट प्रहारबाट मृतकको मृत्यु भएकोमा विवाद देखिएन ।
७. प्रतिवादीले यस अदालतमा दायर गरेको पुनरावेदन जिकीरमा मैले मृतकलाई मार्ने उद्देश्यले प्रहार गरेको होइन, म उच्च रक्तचापको रोगी तथा अत्यन्त कडा रिस उठ्ने मानसिक रोगी भएको हुँदा आवेशमा आई दाउराले हानी निज घाइते भएकीमा सोही चोट पीरले सात महिना पन्ध्र दिनपछि मृत्यु भएकोले अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भनी जिकीर लिएको समेत देखिन्छ । प्रस्तुत जिकीरको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले आफू आफ्नो कार्यको प्रकृति र परिणाम बुझ्न नसक्ने हदसम्मको मानसिक रोगी भएको भनी जिकीर लिन सकेको अवस्था छैन । निजको अनुसन्धानको क्रममा र अदालतमा भएको बयानको अध्ययनबाट समेत निजको मानसिक अवस्था युक्तियुक्त जवाफ दिन सक्ने वा आफ्नो व्यहोरा आफूले चाहेबमाजिम लेखाउन सक्नेस्तरको भएको देखिएको छ । कुनै समयमा अचानक अत्याधिक रिस उठ्ने वा उच्च रक्तचाप वा अन्य रोगको कारणले कुनै समयमा आफूउपरको नियन्त्रण केही क्षणका लागि गुमाउने व्यक्तिले फौजदारी दायित्वबाट पूर्ण उन्मुक्तिको दावी गर्नसक्ने प्रतिरक्षासम्बन्धी कानूनी व्यवस्था समेत भएको पाइँदैन । अत्याधिक रिस वा आवेश मृतकको कुनै क्रिया, भनाई वा व्यवहारको प्रतिक्रियास्वरूप प्रतिवादीमा उत्पन्न हुनसक्ने मानवीय स्वाभाविक अवस्था हो । यी प्रतिवादीको हकमा अत्याधिक रिस वा आवेशमा आउनु पर्नेसम्मको कुनै कार्य वा व्यवहार मृतकले गरेको देखिएको छैन । यस्तो अवस्थामा यी प्रतिवादीको सो दावीलाई स्वीकारयोग्य मान्न सकिँदैन ।
८. यी प्रतिवादीको ज्यानसम्बन्धी महलको ८ नं. आफ्नो हकमा आकर्षित नहुने भन्ने जिकीरको सम्बन्धमा विचार गर्दा निजले मृतकको टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरेको स्वीकार गरेका छन् । मृतकको टाउकोको हड्डी फुटी आन्तरिक रक्तश्राव समेत भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिएको छ । यस्तो अवस्थामा प्रतिवादीको प्रहारबाट नै मृतकको टाउकाको हड्डी फुटेको र सोही चोटबाट थला परी मृत्यु भएको प्रमाणित भइरहेको अवस्थामा ज्यान सम्बन्धीको ८ नं. यी प्रतिवादीले गरेको कार्यको हकमा आकर्षित हुने देखिन आउँदा निजको सो जिकीरसँग सहमत हुन सकिने अवस्था देखिएन । यसबाट यी प्रतिवादीकै चोट प्रहारबाट मृतकको मृत्यु भएको पुष्टि हुन आयो ।
९. अब अ.वं. १८८ न. को रायतर्फ विचार गर्दा सो नं को प्रयोग गरी सजाय घटाउन र दण्ड निर्धारण गर्दा अपराध गर्ने व्यक्तिको पारिवारिक र सामाजिक पृष्ठभूमि, सुनियोजित तरिकाले मनसायपूर्वक हत्या भएको हो वा होइन, हत्या क्रुरतापूर्वक भएको छ वा छैन ? अपराधको प्रकृति र त्यसको समाजमा पर्ने असर तथा अपराध गर्ने व्यक्तिको शारीरिक र मानसिक अवस्था समेतलाई विचार गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीलाई फैसलाले ठहर भएको सजाय चर्को पर्ने भनी शुरू जिल्ला अदालतले सात वर्ष र पुनरावेदन अदालत पन्ध्रवर्षसम्म कैद गर्नुपर्ने भनी राय जाहेर गरेको देखिन्छ ।
१०. अ.वं १८८ नं. को प्रयोग गर्दा पनि केही न्यायिक आधार अवलम्बन गर्नुपर्ने हुन्छ । अन्यथा विधिकर्ताले ठूलो विश्वासका साथ न्यायकर्तालाई प्रदान गरेको यो तजविजी अधिकारको सदुपयोग हुन सक्दैन । प्रस्तुत विवादमा खाजा समयमा नबनाएकोले तत्काल उठेको आवेगमा दाउराको चीरपटले प्रहार गर्न पुग्दा मृतकको टाउकोमा चोट पुगी मृत्यु भएको छ । पटक पटक प्रहार गरी मृतकलाई मार्ने नै मनसायको पुष्टि भएको छैन । यो क्षणिक आवेगबाहेक मृतकलाई प्रतिवादीले मार्नुपर्ने कारण पनि केही छैन । दाउराको चीरपटलाई जोखिमी हतियार भन्न पनि सकिँदैन । यो प्रहार टाउकोमा बाहेक अन्यत्र परेको भए मृतकको ज्यान जान नसक्ने स्थिति पनि पर्दथ्यो । दाउराको चीरपटको प्रहारलाई सावधानीपूर्वक भएको प्रहार मान्न मिल्दैन । मृतक प्रतिवादीकी श्रीमती हुन् भन्ने कुरा सजाय घटाउने आधार बन्न सक्दैन । एक व्यक्तिले अर्को व्यक्तिको ज्यान लिन्छ र ज्यान सम्बन्धीको ७ नं. समेतका उन्मुक्ति पाउने अवस्थामा पर्दैन भने यो सजायभागी अपराधकै कोटीमा पर्दछ । मिसिल संलग्न सबूद प्रमाणबाट ज्यान मार्ने मनसायको अभाव, ज्यान लिनु पर्नेसम्मको इवीको अभाव, लुकी चोरी हानेको आधारको पनि अभाव, उसै मौकामा उठेको रीस थाम्न नसक्दा दाउराको चीरपटले गरेको प्रहारबाट, बचाउने यथासम्भव प्रयास गर्दा पनि सम्भव नभई, मृतकको मृत्यु भएको देखिएको छ ।
११. उपर्युक्त तथ्य प्रमाणका आधारमा प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्दा चर्को पर्ने न्यायकर्ताको चित्तमा लाग्नु पर्ने अवस्था छ छैन विवेचना हुन आवश्यक छ । इन्साफ गर्ने हाकिमको चित्तमा भवितव्य हो कि भन्न हुनेसम्मको शङ्का उत्पन्न हुने कारण र अवस्थाको विद्यमानता छ छैन वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को पर्ने महसूस गर्ने आधार छ छैन भन्ने यकीन गर्नुपर्ने वाध्यता अ.वं. १८८ नं. ले सिर्जना गरेको छ । चित्तमा लाग्ने भन्ने कुरा मनोगत हुन सक्दैन । सर्वप्रथम आधार र कारणको विश्लेषणबाट नै अ.वं. १८८ नं. को प्रयोग हुने वा नहुने निष्कर्ष निकाल्नु पर्दछ । न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु नै अ.वं. १८८ नं. का लागि पर्याप्त हुँदैन । प्रस्तुत विवादमा उपल्लो प्रकरणमा विवेचित अवस्थाले अ.वं. १८८ नं. प्रयोग हुन उचित छ । यस सन्दर्भमा पुनरावेदन अदालतको रायलाई अन्यथा भन्न मिल्दैन ।
१२. अब अ.वं. १८८ नं. बमोजिम यी प्रतिवादीलाई कति सजाय घटाउने अर्थात् कति कैद तोक्ने भन्ने कुरामा पनि निश्चित् मापदण्डको सहयोग लिइनु पर्दछ । यस सन्दर्भमा ज्यानसम्बन्धी महलको कैद सजाय तोक्ने ६, १३, १४, १५, १६, १७, १८, २८, २८क, २८ग र २८घ नम्बरहरूमा तोकिएका कैदका हद मापदण्ड हुनुपर्दछ । विचाराधीन मुद्दा यी कानूनी व्यवस्थामध्ये कुनसँग तादात्म्यता राख्दछ भनी हेरी प्रतिवादीलाई कैद ठेक्नु न्यायोचित हुन्छ । यस सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले पूर्वरिसइवी र मार्ने नै मनसाय तथा इवी नभएको अवस्थामा तत्काल आवेशमा आई लाठा सरहको दाउराको चीरपटले प्रहार गरेको देखिन आउँछ । यस्तो अवस्थामा निजलाई हदैसम्मको सजाय गर्दा चर्को पर्ने देखिँदा १०(दश) वर्ष कैद सजाय गर्नु उपयुक्त देखिन आयो ।
१३. तसर्थ, उल्लिखित विवेचित आधार र कारणबाट यी प्रतिवादीको चोटको कारणले मृतकको मृत्यु भएको पुष्टि हुन आउँदा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराएको शुरू झापा जिल्ला अदालतको मिति २०६६।९।१३ को फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालतको मिति २०६७।३।९ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । माथि विवेचना गरिएबमोजिम निजलाई उक्त सजाय चर्को पर्ने देखिएकाले निजलाई अ.बं. १८८ नं. बमोजिम १० (दश) कैद हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरूमा तपसीलबमोजिम गर्नु ।
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी बीरमान लुङ्गेली (मगर) लाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी अ.बं. १८८ नं. बमोजिम निज प्रतिवादीलाई कैद वर्ष १० (दश) मात्र हुने ठहरी फैसला भएकोले निज मिति २०६५।१।८ देखि थुनामा रहेको देखिँदा सोही मितिबाट कैद कट्टा हुने गरी मिति २०७५।१।७ सम्म कैदमा राखी मिति २०७५।१।८ मा कैदबाट छुटी जाने गरी लगत कसी सोबमोजिम कैद असूल गर्न लगत र कैदी पूर्जी संशोधन गरी प्रतिवादी तथा सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउनु भनी शुरू झापा जिल्ला अदालतलाई लेखी पठाउनू .......१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ...२
उक्त रायमा सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०६९ साल साउन २४ गते रोज ३ शुभम्
इजलास अधिकृत : श्रीप्रकाश उप्रेती