निर्णय नं. ३१०६ - लुटपीट

निर्णय नं. ३१०६ ने.का.प. २०४४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६४८
मुद्दा : लुटपीट ।
पुनरावेदक/वादी: का.जि. बत्तिसपुतली बस्ने शान्तादेवी गौतम ।
विरुद्ध
विपक्षी/प्रतिवादी:मोरङ विराटनगर न.पं. वार्ड नं. ६ हाल परिणत वडा नं. ११ बस्ने रहमान मियां।
ऐ.बस्ने ताहिद मियां ।
ऐ.बस्ने माहिद मियां ।
ऐ.बस्ने काशीराम भन्ने वैरिया मियां ।
ऐ.बस्ने वाहीय मियां ।
ऐ.बस्ने अहमद मियां ।
ऐ.बस्ने आशीण मियां । .
ऐ.बस्ने छेदी मियां ।
ऐ.बस्ने मनिर मियां ।
ऐ.बस्ने उसमान मियां ।
मोरङ जातुवा कठकुप्पा गा.पं.वा.नं.१(क) को हाल परिणत वि.न.न.पं.वडा नं.११ बस्ने बजीर मियां ।
ऐ.ऐ बस्ने तैयव मियां ।
ऐ.ऐ बस्ने रोजवा मियां ।
ऐ.ऐ बस्ने वहिव मियां ।
ऐ.ऐ बस्ने सुलेमान मियां ।
ऐ.ऐ बस्ने वकिल मियां ।
ऐ.ऐ बस्ने बुचुकुन मियां ।
ऐ.ऐ मलबी ताहिर मियां ।
फैसला भएको मिति: २०४४।२।३१।६ मा
भूमिसुधार कार्यालय मोरंगबाट सर्वोच्च अदालतको रिटमा भएको परमादेश बमोजिम निर्णय गरिसकेको मिसिलबाट देखिँदैन । यस्तो स्थितिमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला कायम राख्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक,वादी तर्फबाटःX
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
उल्लेखित मुद्दाःX
फैसला
न्या.रुद्र बहादुर सिंहः पू.क्षे.अ. ले गरेको इन्साफमा चित्त नबुझी निवेदिका वादी शान्तादेवी गौतमको पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा दिएको निवेदनबाट पुनरावेदन गर्ने अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत लुटपीट मुद्दा यस प्रकारको छ ।
२. मेरो नाउँ दर्ता रहेको मोरंग गुठी संस्थान अन्तर्गत गोग्राहा मौजे मधुमारा गुठी रै.नं. ४८ को जग्गा विगहा ११–१८–८।।। मध्ये साविक कि.नं. ६३, ६८ र ६९ को जग्गा विगहा ४–४–९ सर्भे नापी हुँदा जतुवा कठकुपा गा.पं. वार्ड नं. १(क) को कि.नं. ८३, ८४ र ८५ विराटनगर न.पं. वार्ड नं. ६ मा कि.नं. ३१९, ३२० ३२१, ३२२ मा नापी नक्शा भई जग्गा विगहा ४–५–६ कायम भएको जग्गामा ०३५ सालमा मैले लगाएको पटुवा वाली विपक्षीहरू र नचिनेका १०।१२ जना समेत ३० जनाले मलाई धम्की डर समेत देखाई ०३५।५।३० गते देखि ०३५।६।९ गते सम्म पटुवा वाली लुटि लगेकोले म्यादभित्र फेराद गरेको छु । लुटि लगेको पटुवा मन १०६ मन २५ के.जि. दिए पटुवा नै नदिए मन १ को रु. ११०।– को दरले हुने विगो रु. ११,७२८।७५ प्रतिवादी मध्येका मुख्य भई लुट्ने लुटाउने रहमान मियाँ उसमान मियाँ कासिम भन्ने वैरियर, तादिद, माहिद, वाहिद समेत ६ जनाबाट दिलाई भराई सजायँ गरिपाउँ भन्ने समेतको फेरादपत्र ।
३. वादीका फेरादमा उल्लेख भएको कि.नं. ३१९, ३२०, ३२१, ८३, ८४, ८५ समेतका जग्गामा हामी ताहिद वैरिया उसमानको बाबु वाहिद मियाँ, ताहिद, कासिम भन्ने वैरिय मियाँ समेत मोही भएको सनातन धेरै वर्षदखि बसोवास गरी जोती भोगी जग्गा धनीले पाउने कुत वाली सालसालै जग्गा धनीको प्रतिनिधि नारायणप्रसाद कोइरालाले बुझिलिने गरेको छ । मैले लगाएको बाली हामीले लुटी लगेको भनी वादीले झुठ्ठा उजूर गरेको हो भन्ने समेत व्यहोराको सहमान मियाँ उसमान मियाँ ताहिद मियाँ वैरिया बाहिद मियाँ समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. अरु प्रतिवादीहरूले शुरु म्यादै गुजारी प्रतिवाद नै नदिई गुजारी बसेका रहेछन् ।
५. प्रतिवादीहरूले लुटपिट गरे भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत शुरु मो.जि.अ. को ०३६।१२।१४।५ को फैसला ।
६. शुरु जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी शान्तादेवी गौतमको को.अं.अ. मा परेको पुनरावेदनपत्र ।
७. प्रतिवादीका साक्षीहरूले वादी दावी बमोजिम यति उब्जा र यो दर भन्न नसकेको समेतबाट वादी दावी बमोजिमको पटुवा नै लुटपीट गरेको ठहर्छ भन्ने समेत को.अं.अ.को ०३८।१०।१८।५ को फैसला ।
८. को.अं.अ. ले गरेको इन्साफमा चित्त नबुझी प्रतिवादीहरूको पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
९. को.अं.अ. ले गरेको फैसलामा न्या.प्र.सु ऐन, ०३१ को दफा १३(३) को अवस्थामा विद्यमान रहेकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने पू.क्षे.अ. को सिंगल बेञ्जको ०३९।७।१९।६ को आदेश ।
१०. भूमिप्रशासन कार्यालय मोरंगको ०३९।९।२१ को फैसलाबाट प्रतिवादीहरू मोही कायम रहेको देखिन्छ । जग्गा धनी र मोहीका बीच विवाद चलेको देखिँदा लुटपीट अपराध कायम गर्न मिलेन वादी दावी पुग्न सक्दैन को.अं.अ. को इन्साफ उल्टी हुन्छ भन्ने ०४०।२।२८ को पू.क्षे.अ. को फैसला ।
११. पू.क्षे.अ. को इन्साफमा चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी शान्तादेवी गौतमको यस अदालतमा परेको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरेको रहेछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत लुटपीट मुद्दामा पुनरावेदक वादी शान्तीदेवी गौतमको वारेश मिथिला शरणलाल कायस्थको जिकिर र विपक्षी प्रतिवादीहरू माहिद मियाँ समेतको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहको बहस समेत सुनियो । प्रस्तुत लुटपीट मुद्दामा पू.क्षे.अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
१३. यस्मा प्रस्तुत कुटपिट मुद्दा कोशी अञ्चल अदालतबाट मिति ०३८।१।१८।४ मा फैसला भई त्यस उपर पुनरावेदनको अनुमति निमित्त प्रतिवादीहरूको निवेदन परी त्यसमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३९।७।१९।६ मा अनुमति प्रदान भएकोमा मिति ०३९।९।२१ मा भूमिसुधार कार्यालय मोरंगबाट वादीहरूले कुत बुझी लिनु पर्ने गरी गरेको निर्णयको आधारमा पूर्वाञ्चल क्षेत्रीय अदालतले वादी दावी नपुग्ने ठहर्याई मिति २०४०।२।१८ मा फैसला गरेको पाइन्छ ।
१४. प्रतिवादीहरूलाई मोही प्रमाणपत्र दिने गरी भूमिसुधार कार्यालय मोरंगले ०३८।९।२ मा गरेको निर्णय उपर वादीको यस अदालतमा ०३९।५।२५।६ मा रिट निवेदन परी सो निर्णय यस अदालतको उत्प्रेषणको ०४०।१२।३०।५ को आदेशले बदरले भएको देखिन्छ । । त्यस्तै पूर्वाञ्चल क्षेत्रीय अदालतको विचाराधीन रहेको फैसला गर्दाको अवस्थामा वादीले कुत धरौट बुझी लिनु पर्ने होइन भनी भू.सु.का. मोरंगमा दिएको फिरादमा कुत बुझी लिनु पर्ने गरी भूमिसुधार कार्यालय मोरंगबाट मिति ०३९।९।२१ मा भएको निर्णय बदर गरिपाउँ भनी यस अदालतमा वादीको मिति ०३९।१२।१७ मा रिट परिरहेको र मिति ०४०।१२।३०।५ मा यस अदालतबाट भू.सु.का. मोरंगको उक्त ०३९।९।२१ को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर भई कानून बमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी भएको देखिन्छ । तर भूमिसुधार कार्यालय मोरंगबाट सर्वोच्च अदालतको रिटमा भएको परमादेश बमोजिम निर्णय गरी सकेको पनि मिसिलबाट देखिँदैन । यस्तो स्थितिमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४०।२।१८ मा गरेको फैसला कायम राख्न नमिल्ने हुँदा बदर गरिदिएको छ । कानून बमोजिम गर्नु भनी दुवै थरका पक्षहरूलाई तारेख तोकी नियम बमोजिम मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४४ साल जेष्ठ ३१ गते रोज ६ शुभम् ।