शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१०९ - जग्गा हक दर्ता बदर

भाग: २९ साल: २०४४ महिना: असोज अंक:

निर्णय नं. ३१०९ ने.का.प. २०४४ अङ्क ६

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४३ को दे.पूर्ण ई.मि.नं. ९६

मुद्दा : जग्गा हक दर्ता बदर ।

 

निवेदक/प्रतिवादी: तेर्‍हथुम जिल्ला इसिबु गा.पं. वडा नं. ७ इसिबु बस्ने वीरध्वज लिम्बू ।

विरुद्ध

विपक्षी/वादी:ऐ.ऐ वडा नं.४ घर भई हाल झापा जिल्ला दमक गा.पं. वडा नं. ३ बस्ने जयधर्म उपाध्याय भण्डारी ।

फैसला भएको मिति: २०४४।६।१।५ मा

    झगडा परेको जग्गा निवेदक प्रतिवादीको हो भन्ने तथ्ययुक्त आधार प्रतिवादीले दिन सकेको छैन तसर्थ विवादको जग्गामा वादीको हक कायम हुने ।

(प्रकरण नं. १६)

निवेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या. धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तीपत्रमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको मुद्दा फुलबेञ्चबाट दोहोर्‍याई हरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत श्री महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विषेश जाहेरी विभागबाट मिति २०४३।४।२९ मा तोक लागि आएअनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.   ५० साल जाँचमा इसिबुको राई गुमान ध्वजका नाम माटो मुरी ३० तिरो रु. १५।दर्ता भई दर्तावाला मरी नाति बुद्धिमानले म बाट भा.रु. २,४००।खाई तेस्रो कुलो र मेरो किपटबारी भनेको हाल वीरबहादुर गायत्रीदेवी बारी पूर्व हर्कध्वजको किपट गंगटे खेत बारी भनेको खेमनाथका नाममा दर्ता भएको खेत र विपक्षीले गायत्रीलाई भो.ब. पास गरी बारी पश्चिम विपक्षीकै किपट गैरी खेत कि.नं. ५८९ र मर्दल भनेको निजको नाति बलबहादुर इन्द्रजंग भनेको निजको पति भुवान सिं दर्ता कि.नं. ५९१ उत्तर असले जाने डागे बारी भनेको हाल गायत्रीदेवी दर्ता कि.नं. ५२२ खेत र ठाडो बाटो दक्षिण यति ४ किल्ला भित्र धान बीउ पाथी १८ जाने उब्जा मुरी ४४ हुने रिठो बोटे भन्ने रैकर खेत २०१२।४।३ गते राजीनामा लिखत भई २०१२।९।१७ मा पास गरी तिरो तिरी भोगी आएको उक्त ३ कित्ता जग्गा बसुन्धराबाट रु. ४,०००।खाई राजीनामा लिखत गरी दिएबाट सो लिखतका ४ किल्ला भित्रका बसुन्धराले र त्यस बाहेकको जग्गा मैले भोगी आएको सर्भे नापी कि.नं. ५९०, ५९१ समेतको जग्गा मेरा नाममा राजीनामाका ४ किल्ला भित्रको हुनाले दर्ता गरिपाउँ भनी देखाएकोमा कि.नं. ५९४ को जग्गा मेरा नाममा दर्ता गरिदिएको र कि.नं. ५९० को जग्गा वीरध्वजले झगडा जनाएको वीरध्वजका नाममा अस्थायी दर्ता गरिदिने चित्त नबुझे ३५ दिन भित्र अदालतमा उजूर गर्नु भन्ने मिति २०३४।५।२ को १ नं. नापी गोश्वारा २ नं. नापी टोली तेर्‍हथुमबाट निर्णय गरी मिति २०३४।५।१४ गते सूचना पाएकाले  म्यादभित्र फिराद गर्न आएको छु । मेरो राजीनामाको ४ किल्लाको कि.नं. ५९० को खिचोला मेटाई मेरो नाममा दर्ता गरिपाउँ भन्ने जयधर्मको फिरादपत्र ।

३.   वादी दावी कि.नं. ५९० को जग्गा वादी लेख बमोजिम बुद्धिमानबाट वादीले राजीनामा लिएको रैकर जग्गा नभई सो कि.नं. ५९०, ५९३, ५९४, ५८९, ५९६, ५९५, ५९८, ५९७ समेतका जग्गा हुन अघि गुमानध्वजले ५० साल जाँचमा पुरानीयाबाट नयाँ जिम्मा फुदा गर्दा पल्लो किराततिथीले सरकारी माटो मुरी ६० र ५२ बहाली सहाली समेत यो कि.नं. ५९० को जग्गा वादीले बुद्धिमानसंग राजीनामा लिए भनेको र खिचोला गरे भनेको झुठ्ठा हो । साँचो भए १ नं. नापी गोश्वाराले मेरो नाममा दर्ता हुने फैसला गरे बमोजिम पास गरी लिएको ०१२ सालदेखि आज २३, २४ वर्षसम्म खान भोग्न पर्ने आजसम्म नभोगेको रहेछ भन्ने जग्गा नाप्ने अमीनबाट प्रष्ट भएको, कि.नं. ५९० को जग्गा पूर्व मेरा बाबुले राजीनामाबाट हाल खगेन्द्र दर्ता कि.नं. ५९८ को जग्गा र पश्चिम इन्द्रजंग हाल भुवान सिं दर्ता कि.नं. ५९१ र बलबहादुर कि.नं. ५८८ को जग्गाहरू मात्र भएको वादीको प्रकरण (१) मा लेखिएको समुच्चा किल्ला पूर्वका किल्लाहरूमा उक्त कि.नं. ५९८ र ५८८, ५९१ का जग्गा उल्लेख नभएको र यो ५९० को जग्गाको जग्गा नमेटिएको वादीकै बाबु धनी भएको निजलाई राजीनामा गरी दिने भनेको बुद्धिमानको बाजे राइ गिरी जिम्मावाल मानध्वज साक्षी बसेको वादीको आमा बसुन्धराले थैली बुझी फतल गरी दिएको फटा तमसूक र हाल साहू उमानाथलाई मेरा बाबुले पास गरिदिएको किल्लासँग भिडेकोबाट समेत कि.नं. ५९० को जग्गा (वादी) को रैकर नभई किपट देखिएको छ । उक्त सबुद प्रमाणबाट जग्गा मेरै सदर गरिपाउँ भन्ने प्रतिवादी ।

४.   वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको शुरु तेर्‍हथुम जिल्ला अदालतको मिति २०३५।५।२९ को फैसला ।

५.  वादी दावी नपुग्ने ठहर्‍याई गरेको तेर्‍हथुम जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने व्यहोराको वादी जयधर्मको पुनरावेदनपत्र ।

६.   कि.नं. ५९२, ५९३ को जग्गा वादी जयधर्मबाट मैले राजीनामा लिई मेरो हक भएको हो । फिरादमा उल्लेख भए अनुसार माटो मुरी ३० दर्ता भित्रको रैकर जग्गा हो । सो जग्गा मध्ये कि.नं. ५९३ को जग्गा मेरो किपट भनी प्रतिवादी वीरध्वज लिम्बुले दावी गर्दा मैले उजूर गरी मेरै राजीनामा भित्रको रैकर ठहरी मिति २०३५।५।२९ गते तेर्‍हथुम जिल्ला अदालतबाट फैसला समेत भएको छ । वादी दावीका सबै जग्गा रैकर हुन सो जग्गालाई प्रतिवादीले किपट भनी झुठ्ठा दावी लिएको हो भन्ने समेत पेटबोलीबाट बुझिएको बसुन्धरा उपाध्यायको वारीस भेषराज निरौलाको मिति २०३६।६।९ को बयान ।

७.  वादी दावी नपुग्ने ठहर्‍याई गरेको तेर्‍हथुम अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको मिति २०३६।७।२६ को फैसला ।

८.   सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा प्रमाणको मूल्यांकन सम्बन्धी कानूनी त्रुटि गरेको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।११।४ को आदेश ।

९.   वादी दावी आधारको लिखतले विवादको कि.नं. ५९० लाई समाएको नदेखिँदा सो जग्गा वादीको रहेछ भन्न मिलेन । वादी दावी नपुग्ने गरी शुरुको सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।१।२६।२ को फैसला ।

१०.  सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १८४(क) र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिएकोले  पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४०।११।१८ को आदेश ।

११.  मिति २०३७।३।२१ को नक्शा हेर्दा विवादको कि.नं. ५९० को पूर्वमा २क. को गंगटे खेत र दक्षिण किल्लामा ३क. को गैरी खेत देखिन्छ । तसर्थ पूर्व दक्षिणको किल्ला वादीको राजीनामा भित्रको देखिँदा उक्त विवादको कि.नं. ५९० को जग्गामा वादीको हक कायम हुने ठहर्छ। वादी दावी नपुग्ने गरी शुरुको सदर गरेको कोशी अञ्चल अदालतको फैसला मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला गल्ती ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।९।२० को फैसला ।

१२.  श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तीपत्रमा फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।४।२९ मा तोक लागी आएको रहेछ ।

१३.  निवेदन प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले वादीले बुद्धिमानसंग २०१२ सालमा राजीनामा गरी लिएको र माटो मुरी ३० नै राजीनामा लिएको भन्ने दावा छ । तर सो ३० मुरी मध्ये साविक दर्ता लगतमा नै प्रतिवादीका बाजे हाङकोराको समेत दर्ता रही १० मुरी प्रतिवादीको हक हो । वादीको राजीनामाको किल्लासँग मिल्दैन । विवादित जग्गा वादीको हो भन्ने कुनै सबुद प्रमाण गुजार्न सकेको छैन । विवादित जग्गा प्रतिवादीतर्फबाट बन्धकी दिएको फट्टा तमसूकबाट समेत प्रतिवादीको भन्ने देखिन्छ । यसमा विवादित जग्गा वादीको ठर्‍याएको सर्वोच्च अदालतको निर्णय समेत मिलेको छैन । बदर हुनु पर्छ भन्ने समेत बहस गर्नु भयो ।

१४.  आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्जको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१५.  यस्मा निर्णयतर्फ हेर्दा ५० सालको जाँचमा राई गुमानध्वजका नाममा माटो मुरी ३० तिरी रु. १५।दर्ता भई दर्तावाला मरी नाति बुद्धिमानबाट ०१२।९।१७ मा राजीनामा पास गरी लिई मेरो हक भएको सर्भे नापीको कि.नं. ५९० को जग्गा वीरध्वजले झगडा जनाएकोले वीरध्वजका नाममा अस्थायी दर्ता गरिदिने २ नं. नापी टोलीले निर्णय गरे मेरो राजीनामाको ४ किल्लाको कि.नं. ५९० को खिचोला मेटाई मेरा नाममा दर्ता कायम गरिपाउँ भन्ने वादीको दावी देखिन्छ । प्रतिवादीले विवादको कि.नं. ५९० को जग्गा मेरै किपट हो भन्ने जिकिर लिएको पाइन्छ । वादीले बुद्धिमानबाट लिएको मिति २०१२।९।१७ मा पारीत भएको राजीनामाको ४ किल्ला हेर्दा तेस्रो कूला र मेरै किपट बारी पूर्व हर्कध्वजको किपट गंगटे खेत र बारी समेत पश्चिम ऐ कै किपट गैरी खेतको खेतको खले गरा सिधा र भर्दल इन्द्रजंग लिम्बुहरू समेतका किपट उत्तर असले जाने ठाडो बाटो दक्षिण भन्ने उल्लेख भएको देखिन्छ । सो राजीनामा उपर कसैको उजूर परी बदर भएको देखिँदैन । उक्त राजीनामा कायम रहेको पाइन्छ । सो राजीनामाको जग्गा मध्ये माटो मुरी २२ बाइस वादीले बसुन्धरा उपाध्यायनीलाई मिति २०२५।११।३० मा रजिष्ट्रेशन पास गरी राजीनामा दिएको देखिन्छ । उक्त बसुन्धरासंग यही प्रतिवादी वीरध्वज लिम्बुको जग्गा हक बेहक दर्ता बदर दर्ता गरिपाउँ भनी मुद्दा पर्दा कि.नं. ५९३ को जग्गामा प्रतिवादी वीरध्वज लिम्बु हारी सो जग्गा बसुन्धराको राजीनामाको ठहरी तेर्‍हथुम जिल्ला अदालतबाट मिति २०३५।५।२९ मा फैसला भएको पेश भएको फैसला नक्कलबाट देखिन्छ । निज बसुन्धरालाई पेटबोलीबाट बुझेकोमा वादी दावीको सबै जग्गा रैकर हुन सो जग्गालाई प्रतिवादीले किपट भनी झुठ्ठा दावी  लिएको हो भनी कोशी अञ्चल अदालतमा मिति २०३६।६।९ मा बयान गरेकोबाट समेत विवादको जग्गा वादीको राजीनामा भित्रको जग्गा रहेछ भन्ने देखिन्छ ।

१६.  मिति २०३७।३१।६ मा तेर्‍हथुम जिल्ला अदालतबाट भएको नक्शा हेर्दा झगडा परेको जग्गाको पूर्वतर्फ न.नं. २क. हर्कध्वजको किपट गंगटे खेत र दक्षिणतर्फ न.नं. ३क. विपक्षीकै गैरी खेत न.नं. २३क. गैरी खेत भन्ने उल्लेख भएको छ । सो नक्शाको पूर्व र दक्षिण किल्ला, वादीको राजीनामाको पूर्व र दक्षिण किल्लासंग मिल्न भिड्न आएको पाइन्छ । यस स्थितिमा झगडा परेको कि.नं. ५९० को जग्गा वादीको राजीनामाको किल्ला भित्रको वादीको रहेछ, भन्ने देखिन आयो । सो झगडा परेको कि.नं. ५९० को जग्गा निवेदक प्रतिवादीको हो भन्ने तथ्ययुक्त आधार प्रतिवादीले दिन सकेको छैन तसर्थ विवादको कि.नं. ५९० को जग्गामा वादीको हक कायम हुने ठर्‍याएको सर्वोच्च अदालत डिभिजन बेञ्जको इन्साफ मनासिब ठहर्छ । कोर्ट फी लागेको मुद्दा हुँदा केही गर्न परेन । सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।९।२० को फैसला र मिति २०४१।११।२२ का लगतले वादीलाई निवेदक प्रतिवादीबाट भराउने गरेको कोर्ट फी रु. २०४।दुई सय चार रुपैयाँ निवेदक प्रतिवादीले मुद्दा दोहोर्‍याई ल्याउँदा सर्वोच्च अदालत (निवेदन शाखा) को मिति २०४३।११।१८ को पत्रसाथ सर्वोच्च अदालत ल.न. शाखा मार्फत का.जि.अ. मा रु. २०४।दुई सय चार रुपैयाँ धरौट राखेको देखिँदा सो धरौटबाट भराई पाउँ भनी वादीको ऐनको म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई सो धरौटीबाट वादीलाई भराई दिनु र वादीलाई प्रतिवादीबाट भराउने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको फैसला बमोजिम कसिएको मिति २०४१।११।२२ को लगत काटिदिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

न्या.प्रचण्डराज अनिल

न्या.रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल आश्विन १ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु