निर्णय नं. १८० - जग्गा निखनाई पाउँ भन्ने
निर्णय नं. १८० ने.का.प. २०१९
फुल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश स. श्री इश्वरीराज मिश्र
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. ४०
निवेदक, प्रतिवादी : गुणनिधि घिमिरे
विरुद्ध
विपक्षी, वादी : छविन्द्र शर्मा घिमिरे मरी मुद्दा सकार गर्ने निजको स्वास्नी मणिकर्णी ब्रम्हणी
मुद्दा : जग्गा निखनाई पाउँ भन्ने
(१) साहु असामीको ९ नं. हकवालाले निखनी लिने म्यादसरहदमा भए छ महिना विदेशमा गएको भए १ वर्ष थाहा पाउने म्याद थाहा पाएको ३५ दिनभित्र कारवाई गर्नुपर्ने ।
साहु असामीको ९ नं. मा बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए छ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिनभित्र हकवालाले लिन्छ भने पाउँछ” भन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना वर्ष दिनभित्र भित्र भन्ने बोली नपरी “सम्ममा” भन्ने लेखिएको छ महिना १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिनभित्र निखन्ने म्याद दिएको देखिन आएकोले .....
(प्रकरण नं. २०)
निवेदक तर्फबाट : वकील कृष्णप्रसाद उपाध्याय
विपक्षी तर्फबाट : वकील ईच्छाहर्ष
फैसला
१. यसमा डिभिजन बेञ्चबाट ०१४।११।१५।४ मा फैसला भएउपर दोहर्याई पाउँ भन्ने निवेदकको बिन्तिपत्र परी दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई आई दायर भई दुवै थर झगडिया राखी पेश हुन आएको यो मुद्दा हेर्दा ।
२. मेरो सहोदर दाजु पुरुषोत्तमले गुणानिधिलाई दुर्गा फाँट भन्ने खेत मुरी ।२० मोहरू ५८२५। मा म हकदारलाई समेत थाहा नदिई घरायसमा राजीनामा गरी दिई पास गराइपाउँ भन्ने साहुको नालिस परी पास हुने ठहराई पाल्पा अदालतबाट फैसला भई ०१२।४।१३ मा पाल्पा मालबाट पास गराई लिएको ०१२।१०।५ मा नक्कल लिँदा थाहा भयो । साहु गुणनिधिसँग निखन्न देउ भन्न जाँदा निखन्न दिएन । थैली धरौट राख्न ल्याएको छु । सो थैली साहुलाई बुझाई जग्गा निखनाइपाउँ भन्नेसमेत छविन्द्र शर्माको ०१२।१०।१३ को दर्खास्त ।
३. यही जग्गा ०१०।११।१६ मा घरायसमा राजीनामा लिएमा करकाप गरे भन्ने असामी पुरुषोत्तमले मउपर पाल्पा अदालतमा उजुर दिएको ०११ साल चैतमा डिसमिस भएको र सो राजीनामा ०१२।४।१३ गते पास गराई लिएको ०११।०१२ सालदेखि नै जग्गा मैले भोग गरेको गाउँघरमै भएको वादीले मौकैमा थाहा पाएको थाहा पाएका ३५ दिनभित्र उजुर गर्न नसकेको र पास भएको ०१२।४।१३ ले ०१२।१०।१२ गते ६ महिना पुगेकोमा ऐ. १३ गते ६ महिना नाघेपछि उजुर गरेको हुँदा खारेज हुनुपर्ने थैली बुझ्न कर नलाग्ने भन्नेसमेत गुणिनिधिको ०१२।१२।१२।१ को कागज ।
४. अगावै थाहा पाएको प्रमाण दिन नसकेको र पास भएको ०१२।४।१३ को मितिले म्याद ६ महिनाभित्रकै उजुर देखिने र वादी हकदार होइन भन्न नसकेकोले समेत थैली बुझी निखन्न दिनुपर्ने, निखन्न नदिएको ठहर्छ । धरौट राखेको थैली ऐनसबालबमोजिम म्यादभित्र लिन आएमा साहुलाई दिने । उजुरवालालाई जग्गाको चलन पुर्जी गरिदिने भन्नेसमेत गुल्मी तमघास मालको ०१२।१२।१९ को पर्चा ।
५. सोउपर चित्त बुझेन भन्ने प्रतिवादी गुणनिधिको अपील ।
६. अ.बं. ७० नं. ले हदम्याद तारिखको लागि दिनको हिसाब गर्नुपर्दा महिना वर्ष तोकिएकोमा जति दिनको महिना भए पनि संक्रान्तिले हिसाब गर्नु भन्ने किटिएको ०१२।४।१३ ले ०१२।१०।१२ नै ६ महिना पुग्ने ऐ. १३ गते ६ महिना १ दिन हुने र विदेश गएको थिएँ भन्न नसकेकाले साहु असामीको ९ नं. ले सरहदमा हुनेले ६ महिनाभित्रैको थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने । सो हद नाघेपछि उजुर गरेको हुँदा दण्डसजायको ५३ नं. ले खारेज हुने ठहर्छ भन्ने पाल्पा अपीलको ०१३।२।२१।११ को फैसला ।
७. सोउपर चित्त बुझेन भन्ने वादी छविन्द्रको अपील ।
८. साहुँ असामीको ९ नं. वारेको फुल कोर्टको ०१३।१०।५ को निर्णयले वादी यसै सरहदा हुँदा थाहा पाउनालाई ६ महिनाको म्याद र सो थाहा पाएका ३५ दिन भित्र थैली धरौट राखी निखन्न पाउँ भनी उजुर गर्ने म्याद पाएको देखिएको र वादीले सो म्यादभन्दा अगावै थाहा पाएको भन्ने सबुद केही मिसिल सामेल रहेको नदेखिएकोले उजुर खारेज हुन्छ भन्ने मुनासिब नदेखिएकोले छलफललाई प्रतिवादीलाई झिकाई डिभिजन बेञ्चमा पेश गर्न भन्ने ०१३।११।८।३ को सिंगलबेञ्चको आदेश ।
९. पाल्पा अपीलबाट फैसला भई सकेपछि ०१३।१०।५ मा भएको फुल कोर्टफी निर्णयबाट समेत निखन्न पाउने म्याद भित्रै वादीले थैली धरौट राखेको देखिएकाले निखन्न पाउने ठहराएको ०१३।११।८ को सिंगलबेञ्चको राय मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०१४।११।१५ को फैसला ।
१०. वादी घर गाउँमै भई करकाप मुद्दाको वारिसनामामा सहीछापसमेत गरेकाले थाहा पाएको ३५ दिन भित्र उजुर गर्नुपर्ने नगरेबाट म्याद दिई सकेको कुरामा पास भएको मिति भन्ने ऐन छँदाछँदै नलाग्ने अर्थ लगाई निखन्न पाउने गरी डिभिजन बेञ्चबाट फैसला भयो । दोहराई दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत गुणनिधिको बिन्तिपत्र ।
११. उक्त बिन्तिपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए दोहर्याई ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत मौसुफको प्रमुख निजी सचिवालयको ०१६।४।१५।५ को पत्र ।
१२. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने श्री का.मु.प्र.न्या. ज्यूबाट भएको ०१६।६।१४ को आदेश ।
१३. वादी छविन्द्र शर्मा राखी छलफल गर्न निज वादीलाई झिकाई अएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१८।६।२।२ को आदेश ।
१४. मिलापत्र गर्नालाई कारणी झगडिया हाजिर गर्न १ महिनाको समय पाउँ भनी दुवै पक्षका वारेसले बेञ्चमा निवेदन गरेकोले वारिस दिने कारणी झगडिया हाजिर गराउनु भनी १ महिनाको तारेख तोकी दिनु भन्ने फुल बेञ्चबाट भएको ०१९।३।२६ को आदेश ।
१५. मिल्ने इच्छापत्र दर्खास्तपत्रसमेत मिसिलमा पेश भई रहेको देखिएकोले दुवै थर झगडियालाई म्याद दिई झिकाई निजहरू मिलापत्र गर्ने नगर्नेसमेत के हो बुझी मिलापत्र नगर्ने भनेमा सोही व्यहोराको र मिलापत्र गर्ने भनेमा बक्सौनीसमेत लिई मिलापत्र गर्न सर्वोच्च अदालतमा हाजिर हुन जानु नगए मुद्दा फैसला हुनेछ भनी हाजिर हुने यथोचित समयसमेत तोकी सुनाई सो व्यहोराको कागज गराई पठाई दिनु भनी गुल्मी इ. अदालतलाई लेखी पठाई सो कागज भई अएपछि पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०१९।५।२२।६ को आदेश ।
१६. सो मुद्दा मिलापत्र नगर्ने भएकाले फैसला नै गरी पाउँ भन्ने गुणनिधि घिमिरेको ०१९।७।६।२ दर्खास्त ।
१७. यसमा निवेदक प्रतिवादीतर्फबाट रहनुभएको विद्वान वकील कृष्णप्रसाद उपाध्यायले साहु असामीको ९ नं. अनुसार सरहदमा भएको हकवालाले ६ महिना भित्र थाहा पाएको ३५ दिनसम्ममा नालिस गर्नुपर्ने प्रस्तुत मुद्दामा पास भएको मितिले ६ महिना नघाई नालिस गरेको र माललाई भएका ०४ सालको सनदबमोजिम मेरो पक्षले म्याद नाघेकोले निखन्न दिन मन्जुर छैन भनी मुनासिब कारण देखाएपछि अदालतमा पठाउनु पर्ने आफैले फैसला गरेकोले मालले आफूले पाएको अधिकार बेगर मुद्दा किनारा गरेको हुँदा मुद्दा खारेज हुनपर्ने भनी र वादीतर्फबाट रहनुभएका विद्वान वकील इच्छाहर्षले साहु असामीको ९ नं. मा ‘सम्ममा’ भन्ने लेखेकोले सो ६ महिनासम्मको अवधी थाहा पाउनाका लागि राखिएको हो । सो अवधिको अन्तिम दिनमा थाहा पाए पनि सो दिनबाट ३५ दिन उजुर दिने म्याद पाउने ६ महिना भित्रै नालिस दिनुपर्ने कुरामा भित्र भन्ने शब्दहरू अन्य ऐनहरूमा पाइन्छ । मालले सनद अन्तर्गत नै निर्णय गरेकोले निखन्न पाउने भनी डिभिजन बेञ्चबाट भएको इन्साफ सदर हुनुपर्ने भन्नेसमेत बहस गर्नुभयो ।
१८. उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा वादी उजुरी म्याद भित्रको हो होइन र निजले निखन्न पाउने हो होइन भन्ने कुरा निर्णय गरी मुद्दा किनारा गर्नुपर्ने देखियो ।
१९. प्रस्तुत मुद्दाको उजुरी घरसारमा लिखत हुँदा सहीछाप नगर्ने वादीले रजिष्ट्रेशन पास भएको मिति ०१२।४।१३ बाट ०१२।१०।१३ गते अर्थात ६ महिना १ एक दिनको दिन डायर गरेको रहेछ ।
२०. साहु आसामीको ९ नं. मा बेचेकिनेको मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएको ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिनामा वर्ष दिन भित्र भन्ने बोली नपरीसम्ममा भन्ने लेखिएकोले ६ महिना र १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्ने म्याद दिएको देखिन आएकाले निखन्न पाउने अन्तिम हद ६ महिनासम्मको हो र सो अवधिमा थाहा पाएको ३५ दिन भित्र नालिस दिनपर्ने भन्ने निवेदकतर्फका विद्वान वकीलको जिकिर उक्त कानूनको मनसायबमोजिम देखिएन ।
२१. मालले अनाधिकृत फैसला गरेकाले मुद्दा खारेज हुनुपर्ने भन्ने हकमा माललाई भएको ०४।४।६ को सनदमा मुनासिव माफिकको कारण बताई थैली बुझी लिन मन्जुर नगरेमा नालिस गर्नु भनी सुनाउनु भन्ने लेखिएको । प्रस्तुत मुद्दामा म्याद भित्र परेको उजुरीलाई म्याद नाघेकोले थैली बुझ्न कर नलाग्ने भन्ने जिकिर मुनासिव कारण मान्न भएकाले मालले सनद काटी फैसला गरे भन्ने जिकिर पनि मुनासिव देखिएन ।
२२. वादी हकदारै हैन भन्ने प्रतिवादी नपरेकोले र अघि करकाप मुद्दामा पुरुषोत्तमले वारिस दिंदा वादी साक्षी बसेकोबाट थाहा पाएको भन्ने हकमा लिखत पास हुनुभन्दा अगावैको हुनाले सो मिति कायम मान्न नमिल्ने र वादीको शुरु उजुरीमा म हकदारलाई थाहा नदिई राजीनामा लिनदिन गरेछन् र लिखत पासमा नालिस परी पास हुने ठहराई फैसला भई ०१२।४।१३ मा पास गरी लिएछन् । सो कुरा ०१२।१०।५ मा नक्कल सारी लिएपछि थाहा पाए भन्ने उल्लेख भएको । यो किसिमबाट नक्कल लिई थाहा पाएको भन्ने नभएकोले अगाडि नै वादीले यो कुरा थाहा पाईसकेपछि मात्र नक्कल लिन गएको भन्ने देखिन आए पनि लिखत पास भएपछि यो मितिमा वादीले थाहा पाएको भनी प्रतिवादीले सबुद पुर्याई खण्डन गर्न नसकेको हुनाले वादीले थाहा पाए भनेको ०१२।१०।५ गते नै थाहा पाएको मिति कायम मान्नुपर्ने हुन आई कानूनको अवधी भित्रैको वादीको दावी उजुर परेको देखिंदा वादीले निखन्न पाउने नै देखिन ठहर्न आएकाले निजले निखन्न पाउने गरी ०१४।११।१५ मा डिभिजबेञ्चबाट भएको फैसला मुनासिब छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसील
प्रतिवादी गुणनिधि घिमिरेके इन्साफ दोहराएमा शुरु दण्ड ने.रु. १४५। को हा.क. का ११ नं. ले दशौद ने.रु. १४।५० दण्ड हुन्छ रुजु हुँदा असुल गर्नु भनी तपसीलमा लगत दिनु ...................१
नियमबमोजिम मिसिल बुझाई दिनु .....................२
इति सम्बत् २०१९ साल कार्तिक २४ गते रोज ६ शुभम् ।