निर्णय नं. ३११४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३११४ ने.का.प. २०४४ अङ्क ६
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रिट नम्बर १६६१
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
रिट निवेदक: महेशकुमार एण्ड ब्रदर्श धरानको प्रोप्राइटर कृष्ण कुमार अग्रवाल ।
विरुद्ध
विपक्षी : श्री विराटनगर भन्सार कार्यालय ।
श्री अञ्चलाधीशको कार्यालय कोशी अंचल विराटनगर ।
श्री वाणिज्य विभाग,काठमाडौं ।
आदेश भएको मिति : २०४४।५।१५।२ मा
स्पोर्ट सामान झिकाउने इजाजतबाट रिट निवेदकले पैठारी गरेको क्यानभास जूत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भन्ने विवादको कुरामा भन्सार महसूल दरबन्दीको आधारभूत पुस्तक समेतको आधार उल्लेख गरी सो जुत्ता स्पोर्ट सामान भित्र पर्दैन भन्ने समेत तथ्यको निरोपण गरी विराटनगर भन्सार कार्यालयबाट निर्णय गरेको र सो निर्णय कोशी अञ्चलाधीशबाट सदर गरेको देखिएको र तथ्य सम्बन्धी विवादमा सो जुत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भनी रिट क्षेत्रबाट तथ्यको निरोपण गर्न नमिल्ने ।
(प्रकरण नं. १२)
रिट, निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. निवेदकले गणतन्त्र चीनबाट खेलकूदका सामान झिकाउन २१ डिसेम्बर १९८२ अर्थात् २०३९ सालमा इजाजतपत्र लिई चीनका कम्पनीबाट स्पोर्टसको लागि चाहिने विशेष किसिमको तलुवामा रबरको गोलो किला समेत भएको स्पोर्ट कयानभास जुत्ता झिकाइएको र सो माल नेपालमा आई नपुग्दै आयात इजाजतपत्रको प्रतिलिपि साथ राखी सो इजाजतमा आयात हुन लागेको सो स्पोर्ट क्यानभास सुजको इन्भ्वायस र अन्य सम्बन्धित कागज भन्सार विभागमा तत्कालै पेश गरेको थिएँ ।
३. भन्सार विभागले इन्भ्वायस नं. ८३ को २८१८१० ता १२।४।१९८२ अन्तर्गत आयात हुने सो स्पोर्टस क्यानभास जुत्ताको विजक मूल्यमा भन्सार लिने गरी श्री ५ को सरकारको मिति २०४०।२।२४ मा निर्णय भएकोले सो अनुसार गर्नु भनी भन्सार कार्यालय विराटनगरका नाममा मिति २०४०।२।२५ मा आदेश गरी पठाएको थियो । सो आदेश पुगेको दुई साता पछि उक्त स्पोर्ट सुजहरू भन्सारमा आइपुगे सो स्पोर्ट क्यानभास सूज सिल्ड प्राप्त भई जोगवनी ट्रेनबाट आएकोलाई छुटाई भारतीय कस्टममा माल इन्भ्वाइस र इजाजतपत्र जन्याउन पास गराई विराटनगर भन्सार कार्यालयमा सो माल ल्याई भन्सार ऐन, २०१९ को दफा ५ बमोजिम सो मालको विवरण र मूल्य इत्यादी प्रज्ञापनपत्रमा भनी पेश गरेकोमा भन्सार निर्धारण गर्नुपर्नेमा गरिएन । उक्त स्पोर्टस सूज स्पोर्टस समान होइन सामान्य जुत्ताको दरमा भन्सार लाग्छ भनियो । उक्त स्पोर्टस सूजको नमुना खेलकुद परिषद्मा पेश गरी खेलकूदको सामान भित्र पर्दछ वा पर्दैैन भनी निवेदन गर्दा खेलकूद परिषद्ले उक्त क्यानभास जुत्ता खेलकूदको सामान हो स्पोर्टसमा प्रयोग गरिन्छ भनी मिति २०४०।४।२८ मा लेखेको पत्र पेश गर्दा पनि सामान छाडिएन । बरु पुर्गाग्रहद्वारा प्रेरित भई हाम्रो इजाजत अनुसार झिकाइएका स्पोर्टस क्यानभास सूजलाई गैर खेलकूद सामान ठहर्याई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५(१) लगाई माल जफत गरी विगो बमोजिम रु. ५०,३६०।३७ जरिवाना समेत गरियो । सो निर्णयमा निवेदकको चित्त नबुझी कोशी अञ्चलाधीश कार्यालयमा पुनरावेदन गरेकोमा भन्सार कार्यालय विराटनगर भन्सार कै फैसलालाई मनासिब ठहर्याई मिति २०४३।३।३१ मा श्री अञ्चलाधीशज्यूले निर्णय गर्नु भएको छ ।
४. निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५(१) मा लाइसेन्समा तोकिएको वस्तु वा त्यसको मूल्यमा फरक पारी कसैले कुनै वस्तु निकासी वा पैठारी गरेमा विगो जफत गरी निजलाई विगो बमोजिम जरिवाना वा एकवर्ष सम्म कैद वा दुवै सजायँ हुने छ भन्ने व्यवस्था छ । हाम्रो इजाजतपत्रमा “स्पोर्टस गुड्स” मात्र उल्लेख छ । सो सामान भनी तोकिएको छैन । कुन सूचना वा नियमले स्पोर्टसका सामान भन्नाले यो सामान मात्र आयात गर्न पाउने भन्ने कतै उल्लेख छैन । “सो स्पोर्टस गुड्स” भन्ने शब्दले खेलकूद सम्बन्धी सबै प्रकारका सामानहरूलाई जनाउँछ । फुटबल, टेनिस, व्याटमिन्टन, क्रिकेट सबै खेलमा क्यानभास, सूजको अनिवार्यता हुन्छ । यस्तो स्थितिमा निकासी पैठारी ऐन, २०१३ बमोजिम सम्पत्ति जफत गरी सजायँ समेत गरेको विपक्षी भन्सार कार्यालय विराटनगरको मिति २०४२।२।९ को फैसला तथा अञ्चलाधीश कार्यालय कोशी अञ्चलको मिति २०४३।३।३१ को फैसला गैरकानूनी हुँदा निवेदकको संविधानको धारा ११(१) ११(२)(ङ) तथा धारा १५ समेतको हकमा आघात पुगेकोले निवेदन गर्न आएको छु । उत्प्रेषणको आदेशद्वारा उक्त गैरकानूनी फैसलाहरू बदर गरी निवेदकको हक सुरक्षित गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको मिति २०४३।५।२४ को आदेश ।
६. निवेदकलाई “स्पोर्टस गुड्स” को आयात इजाजतपत्र दिइएकोमा निजले क्यानभास सूज आयात गर्नु भएको छ । स्टेन्डर्ड इन्टरनेशनल ट्रेड क्लासिफिकेशन अनुसार क्यानभास स्पोर्टश सूज र स्पोर्टस गुड्स एउटै संकेत नम्बर अन्तर्गत परी बेग्ला बेग्लै संकेत नम्बर अन्तर्गत पर्दछ। स्टेन्डर्ड इन्टरनेशनल ट्रेडक्लासिफिकेशन अनुसार क्यानभास स्पोर्टस सूज एस.आइ.टी.सी.नं. ६५१,०४ अन्तर्गत पर्दछ जवकी स्पोर्ट गुड्स एस.आई. टी.सी.नं. ८९४,६३ अन्तर्गत पर्दछ । यसबाट स्पोर्ट गुड्स र क्यानभास स्पोर्ट सूज बेग्ला बेग्लै बस्तुहरू हुन् भनी जनाउँछ । भन्सार दरबन्दी अनुसार स्पोर्ट गुड्स र क्यानभास सूज बेग्लाबेग्लै भन्सार दरबन्दी अन्तर्गत पर्छन । रिट निवेदकले इजाजतपत्रमा तोकिएको वस्तुका सट्टा अर्कै वस्तु आयात गरेको प्रष्ट छ । भन्सार कार्यालय तथा अञ्चलाधीश कार्यालयको फैसलाहरू कानून अनुसार नै भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी वाणिज्य विभाग, काठमाडौंको लिखितजवाफ।
७. रिट निवेदकले इजाजत विपरीत सामान पैठारी गर्नु भएको प्रष्ट छ । उल्लेखित जूत्ता खेलकूदको नभई अन्य क्यानभास जुत्ता हो राष्ट्रिय खेलकूद परिषद्को पत्रमा पनि उल्लेखित जुत्ता स्पोर्टमा प्रयोग हुने भन्ने उल्लेख नभई फुटवल अभ्यासका लागि उपयुक्त हुने भन्नेसम्म उल्लेख भएको देखिन्छ । इजाजत विपरीत सामान आयात गरेकोले निवेदकलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५(१) बमोजिम कारवाही भई सामान जफत गरी विगो बमोजिम जरिवाना गर्ने निर्णय भएको र उक्त निर्णय कोशी अञ्चलाधीश कार्यालयबाट सदर भई मिति २०४३।३।३१ मा निर्णय भएको छ । सो फैसलामा चित्त नबुझे पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्न पाउने म्याद दिएकै छ । निवेदकको कुनै हकमा आयात नपुगेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी भन्सार कार्यालय विराटनगरको लिखितजवाफ ।
८. रिट निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शुशिल कुमार सिन्हाले स्पोर्ट क्यानभास सूज स्पोर्ट गुड्स अन्तर्गत पर्छ । निवेदकले आयात गरेको जुत्ता खेलकुदको लागि उपयुक्त बनौटको छ । खेलकूद परिषद्बाट उक्त जुत्ताहरू स्पोर्टस अन्तर्गत पर्छ भनी सिफारिश दिएको छ । यस स्थितिमा निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५(१) लगाई सामान जफत गरी सजायँ समेत गरेको विपक्षी विराटनगर भन्सार कार्यालयको फैसला तथा सो फैसला सदर गरेको कोशी अञ्चलधीश कार्यालयको मिति २०४३।३।३१ को फैसला समेत त्रुटिपूर्ण हुँदा उक्त फैसलाहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट बहसमा उपस्थित हुन भएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले रिट निवेदकले आफूले लिएको इजाजत विपरीत सामान आयात गर्नु भएको प्रष्ट छ स्पोर्ट गुड्स भित्र क्यानभास सूज पर्दैन यी दुवै सामानमा भन्सार दरबन्दी र शीर्षक नै फरक छन् । भन्सार महसूल दरबन्दीको आधारभूत अंग्रेजी पुस्तक (सि.सि.सि.एन.) मा पनि क्यानभास सूज स्पोर्ट गुड्समा परेको छैन । खेलकूद परिषद्को पत्रमा पनि अभ्यासका लागि उपयुक्त देखिने भन्ने छ । उक्त पत्रलाई आधिकारिक आधार लिन पनि मिल्दैन अतः निवेदकले इजाजत विपरीत सामान आयात गरेकाले सामान जफत गरी सजायँ गरी गरेको विराटनगर भन्सार कार्यालयको निर्णय तथा सो सदर गरेको कोशी अञ्चलाधीशको कार्यालयको फैसला समेत कानून अनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
९. प्रस्तुत निवेदनबाट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यस्मा निर्णय तर्फ हेर्दा निवेदकले गणतन्त्र चीनबाट खेलकूदका सामान झिकाउन २१ डिसम्बर १९८२ मा इजाजतपत्र लिई क्यानभास स्पोर्टस सूज आयात गरेकोमा विराटनगर भन्सार कार्यालयबाट स्पोर्ट गुड्स अन्तर्गत पर्ने उक्त क्यानभास जुत्तालाई स्पोर्टश गुड्स अन्तर्गत नपर्ने भनी निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५(१) प्रयोग गरी सामान जफत गरी विगो बमोजिम रु. ५०,३६०।३७ जरिवाना समेत गरी मिति २०४२।२।९ मा फैसला गरेको र सो फैसला कोशी अञ्चलाधीशज्यूले सदर गरी मिति २०४३।३।३१ मा गरेको फैसला समेत त्रुटिपूर्ण हुँदा उक्त फैसलाहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर छ ।
११. प्रत्यर्थी भन्सार कार्यालय विराटनगरको मिति २०४२।२।९ को फैसला हेर्दा क्यानभास जुत्ता स्पोर्ट गुड्स अन्तर्गत पर्छ पर्दैन भनी भन्सार महसूल आधारभूत अंग्रेजी पुस्तक (सि.सि.सि.एन.) हेर्दा प्रतिवादीले पैठारी गरेको उक्त जुत्ता खेलकुदका सामान अन्तर्गत नपरी दरबन्दी नै फरक देखिएकोले वाणिज्य विभागबाट प्र. को नाममा जारी भएको उक्त पैठारी इजाजतपत्रले दिएको अधिकार विपरीत स्पोर्टश गुड्सको सट्टा जुत्ता सूज पैठारी गरेकोले सामान फरक पारी पैठारी गरेको ठहर्छ । सो ठहर्नाले निकासी पैठारी (नियन्त्रण) ऐन, संशोधित सहित २०१३ को दफा ५ को उपदफा (१) बमोजिम सामान जफत हुन्छ र उक्त जुत्ताको कायम भएको रु. ५०,३६०।३७ प्रतिवादीलाई विगो बमोजिम जरिवाना हुन्छ भनी निर्णय गरेको र सो फैसला कोशी अञ्चलाधीशबाट मिति २०४३।३।३१ मा सदर गरेको देखिन्छ ।
१२. त्यसरी स्पोर्ट सामान झिकाउने इजाजतबाट रिट निवेदकले पैठारी गरेको क्यानभास जुत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भन्ने विवादको कुरामा भन्सार महसूल दरबन्दीको आधारभूत पुस्तक समेतको आधार उल्लेख गरी सो जुत्ता स्पोर्ट सामान भित्र पर्दैन भन्ने समेत तथ्य निरोपण गरी विराटनगर भन्सार कार्यालयबाट निर्णय गरेको र सो निर्णय कोशी अञ्चलाधीशबाट सदर गरेको देखिएको र तथ्य सम्बन्धी विवादमा सो जुत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भनी रिट क्षेत्रबाट तथ्यको निरोपण गर्न पनि नमिल्ने भएबाट रिट निवेदकको माग बमोजिमका आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल भाद्र १५ गते रोज २ शुभम् ।