निर्णय नं. २६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २६९२ ने.का.प. २०४३ अङ्क -४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको रि.नं. २३२५
आदेश भएको मिति : ०४३।४।१२।१ मा
निवेदिका : राजविराज न.पं.वार्ड नं. ४ बस्ने मालती सिंह
विरुद्ध
विपक्षी : श्री मालपोत कार्यालय राजविराज सप्तरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) उजूरी तथा निवेदन मालपोत कार्यालयमा पर्न आएपछि दुवैपक्षबाट पेश हुन आएका कागज प्रमाणहरूको छानबीन गरी हेरी ऐन बमोजिम निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. १४)
निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
आदेश
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : मालपोत कार्यालय सप्तरी राजविराजको मिति ०४१।२।१ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको विवरण यसप्रकार छ ।
२. जि.सप्तरी राजविराज न.पं.वार्ड नं. ४ स्थित जनकमण्डलका घर जग्गाले पूर्व सडक से पश्चिम सरकारी नाल से उत्तर शिवनारायण साहु समेत से दक्षिण यति चार किल्ला भित्रको ब्लक नं. २ को चारैतिर पर्खालले घेरी घर कम्पाउण्ड बनाई पाँचघर समेत कायम गरी घरबास गरी बसी आएको मेरो हक भोग चलनको घरबासको जग्गा हो । सो कम्पाउण्ड भित्रको जग्गामा आई पोखरी, ट्यूवेल समेत लगाई भोग गरी आएको छु । ०१७ सालमा फुसको घर बनाएको न.पं.मा घर धुरी कर पनि बुझाएको छु ।
३. विपक्षी योगेन्द्र झाले सप्तरी राजविराजको न.पं.वार्ड नं. ४ मा रहेको आफ्ना नाउँकै साविक कि.नं. ५३० मालतीदेवी से उत्तर पर्खाल से दक्षिण गोविन्दप्रसाद से पूर्व सडक पर्खाल से पश्चिमको ब्लक नं. २ को ०–४–० चारकठ्ठा जग्गाको मालपोत बुझी रसीद दिनु होला भनी विपक्षी मालपोत कार्यालयमा मिति ०४०।७।१५ मा निवेदन दिनु भएको रहेछ विपक्षी मालपोतले मलाई गुपचुप राखी मलाई कुनै सूचना नदिई बेरितसँग सूचना प्रकाशित गरेकोमा केही दिनपछि थाहा पाई निवेदकले दावी लिएको जग्गामा मैले पर्खाल लगाई घेरी पोखरी, घर समेत बनाई भोग चलन गरी आएको छु भनी मेरो तर्फबाट उजूर परेको थियो । मैले घर बनाई भोगी आएकोमा थप घर बनाउँदा विपक्षीको मानिसले उजूर गर्दा नगर पञ्चायतले मलाई जरिवाना समेत गरेको छ । ब्लकको पोत नलाग्ने र आजसम्म असूल उपर नभई रहेको कुरामा मेरो पक्की कच्ची घर समेत बनाई भोग चलन गरी आएको जग्गामा असर पार्न झुठ्ठा उजूरी दिएको भन्ने ०४०।१०।१५ मा मेरो तर्फबाट उजूर परेको थियो ।
४. यस्तो स्थितिमा हक बेहकको निर्णय गर्नुपर्ने अधिकारै नभएको कुरामा विचारै नगरी सबूद प्रमाण हेरी राजीनामा समेतको लिखत समेतको प्रमाण हेरी भन्दै जोगेन्द्र झाको हक भोगमा रहेको, जिल्ला पञ्चायतको सिफारिश भएको भन्दै उत्तर पूर्व कुनाबाट ०–४–० जग्गा भोग चलनमा रहेको भनी सरजमीन मुचुल्का मालती देवीले घर कर तिरेको भोगको खास प्रमाण पेश गर्न नसकेको भन्दै सम्बन्धित अदालतमा उजूर गर्न जानु भनी सुनाई मालपोत बुझी लिनु पर्ने ठहर्छ भनी ०४१।२।१ मा विपक्षी मालपोत कार्यालय निर्णय भएको छ ।
५. नगर पञ्चायत क्षेत्रभित्रको ब्लकको जग्गाको पोत बुझाउन पर्ने होइन अतः र पोत बुझाई पाउँ भन्ने विपक्षीको निवेदन उजूरी लिई सो आधारमा सरजमीन बुझ्ने आदि सम्पूर्ण क्रियाकलाप गर्न मिल्दैन मेरो केम्प घरबास गरी आएको भोग चलनको घरबासको जग्गामा नगर पञ्चायतको प्रमाण समेत बुझी निर्णय गरिपाउँ भनी परेको मेरो निवेदनमा वास्ता समेत नगरी अदालतको निर्णय फैसला बेगर मालपोत कार्यालयलाई कारवाही किनारा गर्न पाउने अधिकार नभएको हुनाले मालपोत कार्यालयले गरेको मिति ०४१।२।१ को निर्णय गैरकानुनी एवं त्रुटिपूर्ण भई म निवेदकको मौलिक हकमा असर परेकोले उक्त त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ र रिटको किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत मालती सिंहको मिति ०४१।३।७ को रिट निवेदन जिकिर ।
६. विपक्षीहरूबाट लिखितजवाफ मगाउने र अन्तरिम आदेशको छलफल निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई ७ दिनको सूचना दिई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४१।३।१० को आदेश ।
७. यसमा अन्तरिम आदेश जारी गरिरहन परेन भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०४१।४।१७ को आदेश ।
८. निवेदक योगेन्द्र झाले माग दावी गरेको जि.सप्तरी प्रगन्ना मौजे विहारपुरको साविक कि. ५३० को साविक २००४ सालको नापी जम्मा बन्दी किताबमा भिडाउन लगाई हेर्दा सा.कि.नं. ५३० को लक्ष्मीप्रसाद सिंहको पश्चिम दक्षिण जानकी सो पूर्व सरकारी नाल सो उत्तरको जग्गा विगहा ०–१६–४ जग्गा ८२ नं.का रैती भिखमचन्द्रका नाउँमा नापी भएको देखिन्छ र जिमिदारी पटवारीले दाखिल गरेको २०२८ सालको ६ नं. फाराम हेर्दा रै.नं. १६९ मा योगेन्द्र झाका नाउँमा ज.वि.०–४–० जग्गा उल्लेख भएको ६ नं. फारामबाट देखिएको र रैती नम्बर १६९ को ज.वि.०–४–० जग्गाको निवेदक योगेन्द्र झाको नाउँको ०२८ सालमा मालपोत बुझाएको रसीद पेश हुन आएको देखिएको । लक्ष्मीप्रसाद सो पश्चिम दक्षिण जानकी सो पूर्व सरकारी नाल सो उत्तर मौजे विहारपुरीको साविक कि.नं. ५३० को ज.वि.०–१६–४ जग्गा दर्तावाला भिखमचन्द्र जैनसँग तत्कालीन सप्तरी मालबाट नं. २१६४ मिति २०१५।२।२१ मा डा.योगेन्द्र झाले रजिष्ट्रेशन पास गराई लिएको पारीत राजीनामाको नक्कल पेश हुन आएको देखिएको उक्त साविक कि.नं. ५३० को ०–८–२ जग्गाको भूमिसुधार लागू हुँदा मिति ०२२।८।२७ म डा.योगेन्द्र झाले पेश गरेको ७ नं. फाँटवारी नक्कल पेश हुन आई सो जग्गा मध्ये पूर्व उत्तर कुनाको ०–४–० बाहेक गरी ज.वि.०–४–२ जग्गा निज योगेन्द्र झाले मिति २०२२।७।१७ मा गोविन्दप्रसाद सिंहलाई रजिष्ट्रेशन पास गरी दिएको पारीत राजीनामाको नक्शा पेश हुन आएको देखिँदा ०२८ सालसम्म ज.वि.०–४–० योगेन्द्र झाकै नाउँमा बाँकी रहेको रसीद पेश हुन आएको र यस जिल्लामा ०२९ सालदेखि भूमिप्रशासन ऐन लागू भई जिमिदारी ऐन खारेज भई हालसम्म डा.योगेद्र झाँकै नाउँमा ज.वि.०–४–० बाँकी रहेको देखिँदा र सम्बन्धित नगर पञ्चायतको सिफारिश समेत पेश भई मिति ०४०।१०।९ मा राजविराज नगर पञ्चायत मार्फत दावी जग्गामा कसैको हक दावी छ कि भनी सार्वजनिक सूचना टाँस समेत भएको साथै रसीद काटी दिन भनी जिल्ला पञ्चायत सप्तरीबाट सिफारिश भई आएको हुँदा निवेदक योगेन्द्र झाको माग बमोजिम जग्गाको मालपोत बुझिदिने र उजूरवाला मालती सिंहको चित्त नबुझेमा कानुनको म्यादभित्र सम्बन्धित अदालतमा गई आफ्नो हक कायम गराई ल्याउन सुनाई दिने आदेश भएको हो सो आदेशमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय सप्तरी राजविराजको लिखितजवाफ ।
९. रिट निवेदकले दावी गरेको जग्गामा दर्ता तिरो हक भोग भएको प्रमाण पेश गर्न सक्नु भएको छैन जस अनुसार अ.बं. ८२ नं. ले निवेदकलाई प्रस्तुत रिट दायर गर्ने हकदैया नै छैन । रिट निवेदकले निवेदनमा जिकिर लिएको जग्गामा निर्विवाद हक स्थापित भएको श्रेस्ताबाट देखिन्न । रिट निवेदकले ०१७ सालमा बनाएको फुसको घरको नगर पञ्चायतबाट धुरी कर लिएकोलाई भोग चलन भन्नु भएको छ । नगर पञ्चायतबाट फुसको घरधुरी लिएको भए पनि सो जग्गाको दर्ता प्रमाण मान्न कानुनले मिल्दैन । जग्गा दर्ता प्रमाणको लागि साविकमा जिमिदारी पटवारी कचहरीको श्रेस्तामा र मालमा दर्ता रहेको र हाल मालपोत कार्यालयमा दर्ता श्रेस्ता रहेको मालपोत तिरेको रसीद, भू.सु.लागू हुँदा ७ नं. फाँटवारी भरिएको हुनुपर्ने सो केही नभई निर्विवाद हक भोग दर्ता तिरो तिरानको जग्गाको तिरो तिर्ने गरी भएको मालपोत कार्यालय सप्तरीको आदेश उपर मलाई हैरानी गर्नको लागि यो रिट दायर गर्नुभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी योगेन्द्र झाको लिखितजवाफ ।
१०. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले मालपोत कार्यालयलाई तेरो मेरोमा निर्णय गर्ने अधिकार छैन । रिट निवेदिकाले जिकिर लिएको विवादीत जग्गा निजको हकभोगको घरबास ब्लकको जग्गा हो । तिरो बुझाउनु पर्ने होइन । विपक्षी योगेन्द्र झाले देखाएको चारकिल्लासँग रिट निवेदिकाको जग्गाको चारकिल्ला मिल्दैन । विवादीत जग्गा रिट निवेदिकाले भोग चलन गरेको र ०१७ सालमा फुसको घर बनाएकोमा घर कर समेत नगर पञ्चायतलाई बुझाएको प्रमाण छ । विवादीत जग्गामा नक्शा पास नगरी घर बनायो भन्ने उजूरी परी रिट निवेदिकालाई नगर पञ्चायतबाट जरिवाना समेत भएको छ उक्त प्रमाण देखाई विपक्षी मालपोत कार्यालयमा विवादीत जग्गा विपक्षी योगेन्द्र झाले आफ्नो नाउँमा कायम गराई तिरो बुझाई पाउँ भन्ने निवेदन दिएको थाहा पाई विपक्षीका नाउँ दर्ता तिरो हुनुपर्ने होइन भनी रिट निवेदकको उजूरी परेकोमा निवेदिकाको प्रमाण उपर वास्ता विवेचना नगरी जिल्ला पञ्चायतको सिफारिश भएको आधारमा विवादीत निवेदिकाको विवादीत ०–४–० जग्गा विपक्षी योगेन्द्र झाको कायम गरी तिरो समेत बुझी लिने ठहराई गरेको विपक्षी मालपोत कार्यालय सप्तरीको मिति ०४१।२।१ को निर्णय गैरकानुनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुनु पर्दछ भन्ने र प्रत्यर्थी कार्यालय तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा प्रत्यर्थी योगेन्द्र झाका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले रिट निवेदिकाले जिकिर लिएको जग्गा विवादीत जग्गा निजको हक भोग तिरो भएको प्रमाण पेश हुन आएको छैन । उक्त जग्गामा निवेदिकाको निर्विवाद हक नभएको हुँदा रिट दायर गर्न अ.बं. ८२ नं.ले हकदैया पनि छैन । विवादीत जग्गामा योगेन्द्र झाको हक भोग भएको र तिरो बुझाएको रसीद राजीनामा तथा सरजमीन समेतका प्रमाणका आधारमा तिरो सम्म बुझी लिने ठहर गरी मालपोत कार्यालय सप्तरीबाट निर्णय भएको कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१०. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा राजविराज न.पं.वार्ड नं. ४ मा रहेको मेरो नामको साविक कि.नं. ५३० मध्ये बिक्री गरी बाँकी रहेको मालतीदेवी सो उत्तर पर्खाल सो दक्षिण गोविन्दप्रसाद सिंह सो पूर्व सडक पर्खाल सो पश्चिम पूर्व उत्तर कुनाको सर्भे नापी गर्न नपाई ब्लक नं. २ मा पारेको ज.वि.०–४–० जग्गा मेरो हक भोगको हुँदा मेरो प्रमाण बुझी सो जग्गाको ०२९ सालदेखि लाग्ने मालपोत बुझी लिई रसीद पाउँ भन्ने प्रत्यर्थी योगेन्द्र झाको मालपोत कार्यालयमा निवेदन परी सार्वजनिक सूचना टाँस हुँदा सो सूचना वेरितपूर्वक टाँस भएकोले केहि दिन पछि थाहा पाएँ । विवादीत ०–४–० जग्गा मेरो हक भोगको जग्गा हो सो जग्गामा घर कटेरा समेत बनाई भोग चलन गरी आएको छु । ०१७ सालमा फुसको घर बनाउँदा घर कर समेत तिरेको छु । राजविराज न.पं.मा उक्त जग्गामा नक्शा पास नगरी बेगर इजाजत घर बनाएको भनी म उपर उजूर परी राजविराज नगर पञ्चायतबाट जरिवाना समेत हुने ठहरी मिति ०४०।८।२९ मा निर्णय समेत भएको छ । दावी जग्गा योगेन्द्र झाको नभई मेरो हुँदा निजले अदालतबाट हक कायम गराई नल्याएसम्म निजबाट उक्त जग्गाको मालपोत बुझी रसीद दिने काम नहोस् भन्ने यी रिट निवेदिकाको मालपोत कार्यालय सप्तरी राजविराजमा उजूरी परेको त्यसरी उजूरी परेपछि माल कार्यालय सप्तरीबाट उजूरवाला मालती सिंहको हक भोगको प्रमाण भए ३ दिनभित्र पेश गर्न सुनाई दिने भनी मिति ०४०।१०।२५ मा आदेश हुँदा विवादीत जग्गामा आफ्नो हक भोग भएको भनी मालती सिंह तर्फबाट राजविराज न.पं.कार्यालयबाट बिना इजाजत नक्शा पास नगराई विवादीत जग्गामा घर बनाएको भनी रु.२१।– जरिवाना गर्ने गरी मिति ०४०।८।२९ मा भएको निर्णयको प्रतिलिपि, आफ्नो बयान तथा विवादीत जग्गामा घर बनाएकोमा घर कर तिरेको रसीदको प्रतिलिपि राजविराज न.पं.ले गराएको मिति ०४०।८।२८ को सरजमीन मुचुल्काको प्रतिलिपि समेत प्रमाण लगाई पाउँ भनी ०४०।१०।२७ मा निवेदन साथ दाखिल भइसकेपछि मिति ०४१।२।१ मा घर कर बुझाएको रसीद पेश गरी मालती सिंहको उजूरी पर्न आए तापनि निज उजूरवाली मालती सिंहले उक्त योगेन्द्र झाले माग दावी गरेको साविक कि.नं. ५३० मध्येकै ०–४–० को घर कर तिरेको भन्न नसकिने र हक भोगको खास प्रमाण पेश गर्न नसकेको देखिँदा निवेदक योगेन्द्र झाको माग दावी बमोजिम राजविराज न.पं.वार्ड नं. ४ ब्लक नं. २ मौजे विहारपुरको सा.कि.नं. ५३० को ०–८–२ मध्ये पूर्व उत्तर कुनाबाट ०–४–० चारकठ्ठा जग्गाको निवेदक योगेन्द्र झाका नाउँमा ०२९ सालदेखि लगत कसी मालपोत तथा भूमिकर समेत बुझी रसीद दिने भनी प्रत्यर्थी मालपोत कार्यालय सप्तरीबाट निर्णय भएको पाइन्छ ।
१३. विवादीत जग्गामा मेरो हक भोग रहेको देखिने प्रमाण पेश गरेकोमा सो को छानबीन मूल्याङ्कन नै नगरी विवादीत जग्गा योगेन्द्र झाको कायम गरी मालपोत तथा भूमिकर बुझी रसीद दिने ठहराएको मालपोत कार्यालय सप्तरीको मिति ०४१।२।१ को निर्णय गैरकानुनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी प्रस्तुत रिट पर्न आएको देखिन्छ ।
१४. विवादीत जग्गा मेरो हक भोगको हो मालपोत बुझी रसीद दिलाई पाउँ भन्ने योगेन्द्र झाको निवेदन परेपछि सोही जग्गा योगेन्द्र झाको होइन मेरो हक भोगको घरबास ब्लकको जग्गा हो योगेन्द्र झाबाट मालपोत बुझी रसीद दिनुपर्ने होइन भनी आफ्नो हकभोगको प्रमाणको रुपमा घर कर तिरेको रसीद नक्शा पास बिना नगर पञ्चायतको स्वीकृत बेगर विवादीत जग्गामा घर बनाएकोमा राजविराज नगर पञ्चायतबाट जरिवाना हुने ठहरी भएको निर्णय समेत देखाई यी रिट निवेदक मालती सिंहको उजूरी तथा निवेदन मालपोत कार्यालयमा पर्न आएपछि दुवैपक्षबाट पेश हुन आएका कागज प्रमाणहरू छानबीन गरी हेरी ऐन बमोजिम जो निर्णय गर्नुपर्ने हो गर्नुपर्ने हुन्छ ।
१५. तर प्रस्तुत मुद्दामा रिट निवेदकले जिकिर लिएको विवादीत जग्गा रिट निवेदकको हक भोग रहेको भनी प्रमाण निमित्त पेश गरेको घर कर तिरेको रसीद तथा राजविराज नगर पञ्चायतको मिति ०४०।८।२९ को निर्णय समेतको सम्बन्धमा छानबीन तथा सो प्रमाण सम्बन्धमा विवेचना गरी बोली प्रत्यर्थी मालपोत कार्यालयबाट विवादीत जग्गाको मालपोत भूमिकर प्रत्यर्थी योगेन्द्र झाबाट लिने ठहराई निर्णय गरेको देखिँदैन ।
१६. त्यसरी रिट निवेदकबाट पेश भएका कागज प्रमाणको सम्बन्धमा छानबीन नै नगरी बेवास्ता गरी केवल मालती सिंहबाट घरकर तिरेको रसीद पेश भए तापनि योगेन्द्र झाले दावी गरेको साविक कि.नं. ५३० मध्येकै चार कठ्ठा जग्गाको घर कर तिरेको भन्न नसकिने भन्दै विवादीत जग्गाको मालपोत भूमि कर प्रत्यर्थी योगेन्द्र झाबाट बुझी लिने ठहराई गरेको प्रत्यर्थी मालपोत कार्यालय सप्तरी राजविराजको मिति ०४१।२।१ को निर्णय कानुन विपरीत भई त्रुटिपूर्ण देखिन आयो ।
१७. अतः प्रत्यर्थी मालपोत कार्यालय सप्तरी राजविराजको उक्त मिति ०४१।२।१ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः ऐन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी मालपोत कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४३ साल श्रावण १२ गते रोज १ शुभम् ।