शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१३० - उत्प्रेषण समेत

भाग: २९ साल: २०४४ महिना: असोज अंक:

निर्णय नं. ३१३०     ने.का.प. २०४४      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

विषय : उत्प्रेषण समेत ।

 

निवेदक      : जिल्ला पर्सा वीरगन्ज न.पं.वा.नं. १५ स्थित स्वस्तिक उद्योगको हकमा ऐ. बस्ने प्रो. मंजु तापडिया

विरुद्ध

विपक्षी : बिक्रीकर फछ्र्यौट आयोग, श्री ५ को सरकार, वीरगन्ज ।

      कर कार्यालय बिक्री कर शाखा ,वीरगंज ।

      श्री ५ को सरकार अर्थ मन्त्रालय,हरिहर भवन ।

आदेश भएको मिति: २०४४।४।१८।२ मा

      निवेदिकाले मिति ०३५।१०।११।५ मा घरेलु तथा ग्रामिण उद्योगबाट श्री स्वस्तिक उद्योग रजिष्ट्रर गरी प्रमाणपत्र लिएको देखिन्छ, उक्त उद्योग घरेलु उद्योगको वर्गीकरण भित्र पर्ने कुरामा विवाद देखिँदैन, उक्त उद्योगको उद्देश्य चप्पलको फित्ता बनाउने भएको उद्योग रजिष्ट्रर प्रमाणपत्रमा उल्लेख भएको पाइन्छ, औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१) क(२) मा त्यस्तो उद्योगको लागि आयात गरिने मेशिनरी, पार्टपूर्जा तथा विजुलीका सरसामान र आधारभूत तथा सहायक कच्चा पदार्थमा एक प्रतिशतले मात्र भन्सार महसूल लगाइनेछ, र विक्री कर छुट हुनेछ भन्ने व्यवस्था भएको पाइन्छ, उक्त व्यवस्था बमोजिम निवेदिकाको उद्योगले सहायक कच्चा पदार्थमा मात्र बिक्रीकर छुट पाउने देखियो, ०४२।११।१५ को बिक्रीकर फछ्र्यौट आयोगको  बिक्री कर निर्धारण आदेश हेर्दा अन्य सानो ठुलो फित्ताको असूल गरेको विक्री कर बाहेक रु. ४२८१७।९५ पि.भि.सि. कम्पाउण्ड कच्चा पदार्थमा बिक्रीकर लगाएको देखिन्छ , उक्त कच्चा पदार्थमा उल्लेखित दफा ९(१) (क)(२) ले बिक्री कर लाग्न नसक्ने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री वद्रिबहादुर कार्की

विपक्षीतर्फबाट : विद्वान का.मु. सह न्यायाधिवक्ता श्री बलराम के.सी

उल्लेखित मुद्दाः X

आदेश

न्या.प्रचण्डराज अनिलः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ ।

२.    घरेलु तथा ग्रामिण उद्योग विभाग अन्तर्गत मिति ०३५।१०।११।५ मा स्वस्तिक उद्योग नामको फर्म दर्ता गराई प्रमाणपत्र समेत पाएको छु । प्रत्यर्थी अर्थ मन्त्रालयको ०४२।३।१७ को सूचनाद्वारा गठित प्रत्यर्थी विक्री कर फछ्र्यौट आयोगले ०४२।९।२३ मा निवेदिकाको हकको उद्योग घरेलु उद्योग हो भन्ने अवगत हुँदाहुँदै औ.व्य. ऐन, ०३० को दफा ९(१) (क) र (ग) समेतले विक्री कर छुट दिएकोमा सो को विपरीत निर्णय गरी कच्चा माल पि.भि.सी. कम्पाउण्ड ९,८०० के.जी. र तयारी फित्ता सानो १५७५८ जोर र ठुलो ७,४२३ जोर स्टक कायम गरी मिति ०३६।१२।२२ देखि ०३७।१।२४ सम्मको अवधिको लागि रु. ६४,२३९।६३ बिक्री कर लगाई ३५ दिनभित्र सो रकम तोकिएको बैंकमा दाखिल गर्नु भनी ०४२।११।१५ मा मेरो उद्योगको नाउँमा जारी गरिएको आदेश ०४३।१।२१ मा प्राप्त हुन आयो । सोही मितिमा कानून विपरीत धरौटी लिइराखेको रु. ११,४२४।९६ समेत असूल भएको निर्णय गरियो । प्रत्यर्थी उद्योगको ०४२।९।२३ को निर्णय र सो सम्बन्धी ०४२।११।१५ को आदेशद्वारा मौलिक तथा कानूनी हक अतिक्रमण हुन गएकोले संरक्षित एवं प्रचलित गरिपाउँ ।

३.    निवेदिकाको उद्योग घरेलु उद्योगको वर्गीकरण भित्र पर्ने भएकोले तत्कालिन औ. व्या. ऐन, २०३० ले बिक्रीकर छुट दिएकोमा सो कानून विरुद्ध कर निर्धारण गर्नु संविधानको धारा ५८(१) विरुद्ध हुन जान्छ । प्रत्यर्थी आयोगले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा ६ को अधिकार प्रयोग एवं १० को कार्य प्रणाली कार्यविधि परिपालना समेत न्यायिक मनको प्रयोग गरी गरेको छैन । उल्लेखित निर्णय पर्चामा कारण र अधिकार खुलाउन सकेको छैन । कानूनकै बेवास्ता गरी गरेको निर्णय स्वतः गैरकानूनी छ । कर अधिकृतको प्रतिवेदनमा के छ वा थियो मलाई जानकारी छैन । कुनै शर्त र कार्यविधि पूरा नगरेको प्रत्यर्थीको निर्णय र आदेश प्राकृतिक न्याय सिद्धान्त र उक्त कानूनको ठाडै विपरीत भई बदरभागी छ । अस्पष्ट एवं कानून विपरीतको आदेश बदर गराउनु पुरै रकम धरौटी राख्न पर्ने बाध्यताले समेत अनुमतिको उपचारको बाटो अन्याययुक्त छ । तत्काल प्रचलित औ.व्य. ऐन, २०३० ले किटान साथ छुट र सहुलियत दिएको र हालको औ.व्य. ऐन, ०३८ ले थप सुरक्षित राखेको छ भने त्यस्तो कुरामा उक्त कानूनको बाटो अपेक्षा गरी मिति ०४२।९।२३ मा गरेको निर्णय तथा आदेश बदर गरी आदेश बमोजिमको बिक्रीकर असूल तथा अग्रीम असूल गरेको रु. ११,४२४।९६ समेत फिर्ता दिनु भन्ने परमादेश जारी गरिपाउँ । यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म आदेश बमोजिम बिक्री कर असूल नगर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन  जिकिर ।

४.    विपक्षीबाट लिखितजवाफ झिकाउने साथै अन्तरिम आदेश किन जारी हुन नपर्ने हो छलफलको लागि म.न्या.का. लाई सूचना दिने भन्ने समेतको यस अदालत सिंगल बेञ्जको आदेश ।

५.    यो रिट निवेदन अन्तिम टुंगो नलागेसम्म बिक्री कर असूल नगर्ने भन्ने कर कार्यालय वीरगञ्जका नाउँमा अन्तरिम आदेश जारी हुने ठहर्छ भन्ने आदेश ।

६.    विपक्षी बनाउन पर्ने कुनै आधार देखाउन सक्नु भएको देखिँदैन । यसरी विना आधार यस मन्त्रालयलाई विपक्षी बनाई रिट निवेदन दिनु भएकोले खारेज हुनु अनुरोध गर्दछु भन्ने समेतको अर्थ मन्त्रालयको लिखितजवाफ ।

७.    औ.व्य. ऐन, २०३० को दफा ९(१) को (क) र (ग) बमोजिम घरेलु उद्योगलाई बिक्रीकर छुट हुन पर्ने भनी उल्लेख गरेको देखिन्छ । उक्त दफाको देहाय (क) र (ग) उद्योगको छुट्टा छुट्टै वर्गको लागि व्यवस्था भएकोमा विपक्षीको उद्योग कुन वर्गमा पर्ने हो वर्गीकरण भई नसकेको अवस्थामा दुवै आधार लिन मिल्दैन । आयोगद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत यस कार्यालयबाट विक्रीकर निर्धारण आदेश गरी पठाइएको छ । कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा ६ र १२ अन्तर्गत कार्याविधि भित्र रही निर्णय गरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको कर कार्यालय वीरगंजको लिखितजवाफ ।

८.    नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्कीले र विपक्षी कार्यालय तर्फबाट उपस्थित विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री बलराम के.सी. ले गर्नु भएको बहस समेत सुनियो ।

९.    अब प्रस्तुत रिट निवेदनमा निवेदककको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन भन्ने कुराको निर्णय दिनु परेको छ ।

१०.    निर्णयतर्फ हेर्दा यसमा निवेदिकाले मिति ०३५।१०।११।५ मा घरेलु तथा ग्रामिण उद्योग विभागबाट श्री स्वस्तिक उद्योग रजिष्टर गरी प्रमाणपत्र लिएको देखिन्छ । उक्त घरेलु उद्योगको वर्गीकरण भित्र पर्ने कुरामा विवाद देखिँदैन । उक्त उद्योगको उद्देश्य चप्पलको फित्ता बनाउने भएको उद्योग रजिष्ट्रर प्रमाणपत्रमा उल्लेख भएको पाइन्छ । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१) क(२) मा त्यस्तो उद्योगको लागि आयात गरिने मेशीनरी, पाटपूर्जा तथा विजुलीका सरसामान र आधारभूत तथा सहायक कच्चा पदार्थमा एक प्रतिशतले मात्र भन्सार महसूल लगाइने छ र विक्री कर छुट हुनेछ भन्ने व्यवस्था भएको पाइन्छ उक्त व्यवस्था बमोजिम निवेदिकाको उद्योगले सहायक कच्चा पदार्थमा मात्र बिक्रीकर छुट पाउने देखियो । ०४२।११।१५ को विक्रीकर फछ्र्यौट आयोगको विक्री कर निर्धारण आदेश हेर्दा अन्य सानो ठुलो फित्ताको असूल गरेको विक्रीकर बाहेक रु. ४२,८१७।९५ पि.भि.सी. कम्पाउण्ड कच्चा पदार्थमा बिक्रीकर लगाएको देखिन्छ । उक्त कच्चा पदार्थमा उल्लेखित दफा ९(१) (क)(२) ले बिक्रीकर लाग्न नसक्ने प्रष्ट व्यवस्था गरेको पाइन्छ । बिक्रीकर औ.व्य. ऐन, ०३० को दफा ९(१) मा उल्लेख भएको अन्य कर जस्तो सबै किसिमको घरेलु उद्योगलाई छुट दिएको भन्न मिल्दैन । तसर्थ पि.भि.सी. कम्पाउण्ड जतिमा विक्रीकर माग गरेको जतिसम्म मात्र विक्रीकर फछ्र्यौट आयोगको ०४२।९।२३ को निर्णयानुसार २०४२।११।१५ मा गरेको विक्रीकर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।                                         

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल श्रावण १८ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु