निर्णय नं. ३१३५ - अंश

निर्णय नं. ३१३५ ने.का.प. २०४४ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४३ सालको दे.पु.नं. ५३१
मुद्दा : अंश ।
पुनरावेदक/वादी: जि. कपिलवस्तु गजहैडा गा.पं. वडा नं. ३ बस्ने मौजे गोलिया बस्ने उदयराज कुर्मी ।
ऐ.ऐ बस्ने रामदास कुर्मी ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने सावित्रीदेवी कुर्मिनी ।
ऐ.ऐ बस्ने उदयराज सुभग कुर्मी ।
ऐ.ऐ बस्ने रामानन्द कुर्मी ।
फैसला भएको मिति: २०४४।४।१८।२ मा
राजीनामा माइती मै बसेको अवस्थामा गराई लिएको देखिएकोमा सगोलको सम्पत्तिबाट किनेको हो भनी वादीले साक्षी दिएकोमा भगवान दत्त कुर्मीले लिखतको ऋणी थैली समेतको वारेमा विवरण दिन नसकेकोले निजको भनाई तथ्ययुक्त देखिन नआउने ।
(प्रकरण नं. १२)
अंशियारले नेपालमा आई सम्पत्ति आर्जन गरेको देखिन नआई अंशियारकी श्रीमतीले माइती तर्फबाट पाएको दाइजोको रुपैयाँले खरीद गरेको सम्पत्ति देखिँदा अंशियार अंशियार बीचमा निर्णय भएको नजीरहरू प्रस्तुत मुद्दाको वस्तुस्थितिसंग नै नमिल्ने भएकोबाट ती नजीरहरू यस मुद्दामा लाग्न सक्ने अवस्थाको नदेखिने ।
(प्रकरण नं. १२)
पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह
विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री कृष्ण कुमार बर्मा
उल्लेखित मुद्दाःX
फैसला
न्या.रुद्र बहादुर सिंहः पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षेपमा विवरण यस प्रकार छ ।
२. स्वर्गीय मानिक कुर्मीको स्वर्गीय तमेसर कुर्मी र स्वर्गीय पटेश्वरी कुर्मी समेत २ छोरा भएको, तमसेरको छोरा म उदयराज तथा स्वर्गीय जगत भई जगतको छोरा रामदास हो । पटेश्वरीको छोरा राम सुमग र रामानन्द हुन । हाम्रो अंशबण्डाको भएको छैन । सगोलमै छ । पैतृक सगोलको धनबाट प्र.मध्ये सावित्री देवीको नाउँमा सम्पत्ति आर्जन गरी भोग गर्दै आएकोमा घरको मुख्य राम सुमग भई आयस्ता मनमानी हिनामिना गरेकोले अंश छुट्याई माग्दा मिति २०४१।६।१५ मा इन्कार गरे फिराद परेको अघिल्लो दिनलाई मानु छुटिएको मिति कायम गरी सम्पत्तिको तायदातीलाई आधा प्रतिवादीको हक पर सारी बाँकी आधामा १।१ भाग हामीलाई अंश दिलाई पाउँ भन्ने समेत रामदास कुर्मी समेतको फिरादपत्र ।
३. वादीहरू हाम्रो सराकतमा रहेको नहुँदा अंश भागको सम्पत्ति सगोलमा रहेको छैन । वादीहरूको अंश भारतकै कानून बमोजिम तमेसर र पटेश्वरीकै पालमा छुट्याई सकेको छ । तमेसर स्वर्गे हुँदा निजको नामको दर्ताको नामसारीको कारवाही उदयराजले भारतकै कानून बमोजिम भारतमै चलाई सकेको र उदयराजको भारतमै रहेको सम्पत्तिबाट फिरादी रामदासले अंश पाउने हुँदा हामीसंग अंश माग्ने हक अधिकार वादीलाई छैन । हामीले वादीहरूलाई अंश दिनु पर्ने होइन। सह प्रतिवादी बनाइएको रामानन्द, म राम सुमगको भाइ भएपनि निज र म राम सुमगको बीचमा पनि आपसमा बराबर भई दुई भाइ मध्ये भारतमा एकलौटी रामानन्दले लिई दर्ता गराई भोग तिरो चलन गरिरहेको हुँदा तीन पुस्ता परका वादीहरूले यसरी भारतबाट आएर नेपालको अदालतमा अंशमा दावा गर्न पाउने होइनन् । यदि वादी दावा साँचो हुँदो हो त भारतमा रहेको सम्पत्तिमा पनि मेरो रहेभएको देखिनु पर्ने सो समेत केही नहुँदा हाम्रो उपरको दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको सावित्री देवी समेत जना ३ को प्रतिउत्तरपत्र ।
४. वादीहरू नेपालको नागरिक पनि नभएको र सावित्री १२ वर्षको नावालख हुँदा नेपालको नागरिक भई खरीद गरेको जमीन वादीहरूको पैतृक सम्पत्तिको हो भन्ने कुनै पनि प्रमाणबाट समर्थन हुन नआएकोले वादीहरूको अंश हकमा दावी पुग्ने देखिन आएन । वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत कपिलवस्तु जि.अ. को फैसला ।
५. सो फैसला उपर चित्त बुझेन, फिराद दावी बमोजिम अंश दिलाई पाउँ भन्ने वादी रामदास कुर्मी समेतको प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
६. तमेसर पटेश्वरी दुई दाजुभाइ भएकोमा तमेसरका सन्तानले पटेश्वरीका सन्तान उपर अंश मुद्दा दायर गरेको देखियो । सावित्रीदेवीको भू.सु. फाराम उदयराज हस्ते दाखिल भएको देखिन्छ । तसर्थ यस स्थितिमा पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु कपिलवस्तु जि.अ. को इन्साफ मनासिब छ भनी प.क्षे.अ. बाट फैसला भएको रहेछ ।
७. प.क्षे.अ. को सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी निवेदक वादीको यस अदालतमा परेको निवेदनपत्र ।
८. यसमा वादी प्रतिवादी अंशियार भएकोमा विवाद देखिँदैन । वादीले प्रतिवादीबाट अंश पाएको भन्ने कुनै प्रमाण पेश भएको पाइँदैन । वादी विदेशी भए पनि स्वदेशमा भएको अंश सम्पत्तिमा अंश हक लाग्ने नै हुँदा अंश हक लाग्दैन भन्न मिल्दैन अदलको ३ नं. बमोजिम हुने नै हुँदा प.क्षे.अ. को फैसलामा अदलको ३ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएकोले त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा समेत हुँदा पुनरावेदनको लागि अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह र विपक्षी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री कृष्ण कुमार बर्माले आ–आफ्नो पक्षका तर्फबाट गर्नु भएको बहस समेत सुनियो ।
१०. विद्वान वरिष्ठ अधिवक्ताले मेरो पक्षहरू भारतीय भएकोले नेपालको नागरिकता प्राप्त गरेकी प्र.मध्येको सावित्रीदेवीका नाउँमा सगोलकै पैतृक सम्पत्तिबाट जग्गा जमीन खरीद गरी राखिएको हो यदि त्यसो नहुँदो हो त १२ वर्षकी नाबालख सावित्रीदेवीले जग्गा जमीन खरीद गरी राख्न सक्ने अवस्था नै छैन, जुन कुरा सम्भव नै हुन सक्दैन र सो खरीद भएको जग्गा जमीन निजको दाइजो पेवाको हो भन्ने कुरा पनि देखिन आउँदैन । किनकी मेरो पक्ष उदयराजले नै सो जग्गाको भूमिसुधार फाराम भरी दाखेल गरेका छन् । मेरो पक्षहरू भारतीय भए पनि नेपालको सम्पत्तिमा हक लाग्दैन भन्न मिल्दैन । यस सम्बन्धमा सम्मानीत स.अ. बाट सिन्द्धान्त समेत प्रतिपादित भई रहेको छ, तसर्थ मेरो पक्षहरूले अंश पाएको भन्ने सबुद प्रमाणको अभाव रहेको अवस्थामा अंश नपाउने भनी ठहर गरेको प.क्षे.अ.को फैसला नमिलेको हुँदा मेरो पक्षको दावी बमोजिम अंश पाउनु पर्छ भनी आफ्नो बहसमा भन्नु भयो भने विपक्षी तर्फका विद्वान अधिवक्ताले आफ्नो माइती बाबु पट्टिबाट पाएको रुपैयाँले खरीद गरेको जग्गा मेरो पक्षको दाइजोको सम्पत्ति हो, त्यस्तो दाइजोको सम्पत्ति अंश भाग लाग्ने सम्पत्ति नहुँदा अंश नपाउने ठहर्याई भएको प.क्षे.अ. को फैसला मिलेकै हुँदा सो इन्साफ मनासिब हुनुपर्छ भनी भन्नु भयो ।
११. विद्वान कानून व्यवसायीहरूले गर्नु भएको उल्लिखित बहस जिकिर समेतलाई ध्यानमा राखी निर्णयतर्फ विचार गर्दा शुरु कपिलवस्तु जि.अ. को इन्साफ मनासिब ठहर्याई भएको प.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो कुराको नै निर्णय दिनु पर्ने देखिन आयो।
१२. यसमा २०१७।१२।२२ को राजीनामा सावित्रीदेवीले माइती मै बसेको अवस्थामा गराई लिएको देखिएकोमा सगोलको सम्पत्तिबाट किनेको हो भनी वादीले साक्षी दिएकोमा भगवानदत्त कुर्मीले लिखतको ऋणी, थैली समेतको वारेमा विवरण दिन नसकेकोले निजको भनाई तथ्ययुक्त देखिन आउँदैन । वादीकै अर्को साक्षी अम्बिका कुर्मीले पनि सावित्रीदेवीका नाउँमा खरीद गरिएको जग्गा सगोलकै सम्पत्तिबाट खरीद गरिएको हो भनी वादीको दावीलाई तथ्ययुक्त रुपमा समर्थन गरेको देखिँदैन । पुनरावेदक वादी उदयराजले हस्ते गरी भरेको अनुसूची १ नं. फाराममा सगोलको परिवारमा रामसुभर कुर्मी, पटेश्वरी र मंगल कुर्मी समेतका व्यक्तिहरूलाई देखाई एकाघरका परिवारमा आफ्नो नाउँ सम्मिलित गरेको पनि देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २६ ले वादीले लिएको दावी प्रमाणित गर्ने भार वादीमै निहित रहेकोमा निज वादीले सगोलको सम्पत्तिबाट सावित्री देवीको नाउँमा राजीनामा गरी जग्गा खरीद गरिएको हो भन्ने कुराको सबूत गुजार्न सकेको देखिन आएन । विपक्षी प्रतिवादी सावित्री देवीको साक्षीले सावित्री देवीको नाउँमा खरीद भएको जग्गा निजको माइती बाबुले दिएको धन दाइजोबाट खरीद गरिएको हो भनी निजको जिकिरलाई पुष्टी गरी बकी दिएको पाइन्छ । लिखतमा संलग्न रहेको पिंगलप्रसाद कुर्मीले राजीनामाको धनी सावित्री देवीको वारेस भई माइती बाबुले दिएको रुपैयाँबाट मैले राजीनामा गराई दिएको भनी प्रष्ट रुपमा बकी प्रतिवादीको जिकिरलाई तथ्ययुक्त रुपमा पुष्टी गरेको पाइन्छ । प्रतिवादी सावित्री देवीका नाउँको उक्त जग्गा बाहेक सगोलको अन्य सम्पत्ति रहेको कुराको दावी लिएको भएको पनि देखिँदैन । श्याम विहारीप्रसाद गोल्दार पुनरावेदक प्रतिवादी, र सत्यदेवप्रसाद गोल्दार विपक्षी वादी भएको अंश मुद्दाको र राधाकृष्ण अग्रवाल पुनरावेदक वादी, ग्यारसीलाल अग्रवाल समेत विपक्षी प्रतिवादी भएको अंश मुद्दाको नजीरहरू पुनरावेदक वादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताले पेश गर्नु भएको सन्दर्भमा विचार गर्दा प्रस्तुत मुद्दामा अंशियारले नेपालमा आई सम्पत्ति आर्जन गरेको देखिन नआई अंशियारकी श्रीमती सावित्री देवीले माइती तर्फबाट पाएको दाइजोको रुपैयाँले खरीद गरेको सम्पत्ति देखिँदा अंशियार अंशियार बीचमा निर्णय भएको उक्त नजीरहरू प्रस्तुत मुद्दाको वस्तुस्थितिसँग नै नमिल्ने भएकोबाट ती नजीरहरू यस मुद्दामा लाग्न सक्ने अवस्थाको देखिन आउँदैनन् । तसर्थ अंश नपाउने ठहर्याइएको शुरुको सदर गरेको प.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । कोर्ट फी रही दायर रहेको मुद्दा हुँदा केही गरी रहन परेन, मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल श्रावण १८ गते रोज २ शुभम्