निर्णय नं. २७०१ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २७०१ ने.का.प. २०४३ अङ्क - ५
फुलबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको रिट फु.नं. ३०
आदेश भएको मिति : ०४३।५।२४।३ मा
निवेदिका : का.न.पं.वडा नं.२१ जैशीदेवल बस्ने तारादेवी अधिकारी
विरुद्ध
विपक्षी : अध्यक्ष तथा महाप्रबन्धक नेपाल यातायात संस्थान, केन्द्रीय कार्यालय, टेकू, काठमाडौंसमेत
विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
(१) परीक्षणकालमा राखी नियुक्ति गरिएमा कुनै कर्मचारीको सम्बन्धमा परीक्षणकाल समाप्त भइसकेपछि विनियमले प्रदान गरिएका अधिकारहरू मध्ये आफ्नो परीक्षणकालको अवधिमा अरु तीन महीना बढाउन उचित लागी तीन महीना परीक्षणकालको अवधि बढाई पुर्जी नदिई वा निजले आफ्नो परीक्षण कालको अवधिमा गरेको काम सन्तोषजनक, नलागी निजलाई नोकरीबाट हटाएको पुर्जी पनि नदिई नोकरी गरिएकै पदमा बहाल राखी तलब समेत खुवाएमा ६ महीनाको परीक्षणकाल समाप्त भएपछि नियुक्ति सदर (Confirm) गरिएको मान्नु पर्ने ।
(प्रकरण नं. ११)
(२) नियुक्ती स्वतःसदर (Confirm) भएको मानिने विनियममा व्यवस्था नभएको भन्ने आधारमा विनियममा भएको व्यवस्था विपरीत अनिश्चित कालसम्म परीक्षणकाल भइरहेको भन्न न्यायका सर्वमान्य सिद्धान्तको विपरीत पर्न जाने ।
(प्रकरण नं. ११)
निवेदिकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
आदेश
न्या.हिरण्येश्वरमान प्रधान : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. निवेदिका नेपाल यातायात संस्थान, केन्द्रीय कार्यालयको सहायक तह ४(प्र) को पदमा ६ महीना परीक्षण कालमा रहने गरी नियुक्ति पाई काम काज गरी रहेको बखत कार्य सन्तोषजनक नभएकोले सेवाबाट हटाएको व्यहोरा आदेशानुसार सूचित गर्दछु भनी प्रमुख कर्मचारी प्रशासन शाखाको २०४०।१२।१२ को पत्र प्राप्त हुन आएकोले उक्त निर्णय उपर निवेदिकाले सञ्चालक समितिमा पुनरावेदन गरेकोमा परीक्षणकाल सम्बन्धी कारवाही भएको र विभागीय कारवाही सम्बन्धी भएकोले ने.या.सं. विनियम, २०२२ बमोजिम तपाइको २०४१।१।४ को पुनरावेदन माथि हेर्न नपर्ने गरी सञ्चालक समितिबाट २०४१।२।१५ मा निर्णय भएको व्यहोरा जानकारी गराइएको छ भन्ने पत्र प्राप्त भयो ।
३. नेपाल यातायात संस्थान विनियम, २०२२ का परिच्छेद ४ भाग २ को दफा ९(१) मा जनरल मेनेजर, डिभिजन चिफ र सो सरहका पदाधिकारीहरू बाहेक संस्थानको जुनसुकै पदमा नयाँ नियुक्ति हुने कर्मचारीलाई ६ महीनाको परीक्षण कालमा राखिने र सो अवधि पूरा भइसकेपछि स्थायी नियुक्ति गरिने छ । तर निजलाई नियुक्ति गर्ने अधिकारीले उचित सम्झेमा निजको परीक्षणकाल ३ महीना थप गर्न सक्नेछ भन्ने र विनियमको दफा ९(२) मा परीक्षण कालको अवधिमा सन्तोषजनक काम गरेको छैन भन्ने लागेमा परीक्षणकाल भित्रै त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन सक्ने व्यवस्था छ । परीक्षणकाल समाप्त भएपछि काम सन्तोषजनक नभएको भनी सेवाबाट हटाउन मिल्दैन । निवेदिकाको ६ महीनाको परीक्षणकाल २०४०।५।३ मा समाप्त भइसकेको छ । अवधि पनि थप गरिएको छैन । परीक्षणकाल समाप्त भइसकेपछि प्रतिवाद गर्ने मौका नै नदिई प्राकृतिक न्यायको सिद्धान्त, विपरीत यातायात संस्थानको मिति २०४०।१२।१० को निर्णय अनुसार सेवाबाट हटाइएको र त्यस्तो निर्णय उपर सञ्चालक समितिमा पुनरावेदन गरेकोमा विपक्षी यातायात संस्थानको त्रुटिपूर्ण निर्णयलाई कायमै राखी गरेको सञ्चालक समितिको मिति २०४१।२।१५ को निर्णय समेत गैरकानुनी हुँदा उक्त दुवै निर्णयहरू बदर गरी साविक बमोजिम आफ्नो पदमा रही काम गर्ने अधिकार समेत प्रचलन गराई पाउँ भन्ने समेत तारादेवी अधिकारीको मिति २०४१।३।२५ को रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४१।३।२७ को आदेश ।
५. निवेदकको नियुक्ति परीक्षणकालमा भएको र निज स्थायी रुपमा नियुक्ति सदर भई स्थायी हुन नपाउँदै निजले काम गरेको आर्थिक प्रशासन शाखाका मिति २०४०।१२।३ को प्रतिवेदन समेतको आधारमा कार्य सन्तोषजनक नभएकोले सेवाबाट हटाइएको भनी मिति २०४०।१२।१० मा कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धकज्यूबाट निर्णय भए अनुसार २०४०।१२।१२।१ को पत्रबाट निजलाई सूचना पठाएको हो । नियुक्ति परीक्षणकालको भई सो परीक्षणकाल नै कायम रहेको अवस्थामा निजलाई सेवाबाट हटाउने निर्णय भएकोले सो पदमा विपक्षीको कुनै हक नै स्थापित भई नसकेकोले असाधारण अधिकार क्षेत्रको प्रयोग गराउन विपक्षीलाई हुने हक नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत नेपाल यातायात संस्थान कर्मचारी प्रशासन शाखाको प्रमुख लक्ष्मणराज भण्डारीको मिति २०४१।६।२४ को लिखितजवाफ ।
६. विपक्षीलाई संस्थानको मिति २०३९।११।४।४ को पत्रबाट परीक्षणकालमा नियुक्ति गरी आएकोमा काम सन्तोषजनक नभएको भनी मिति २०४०।१२।१० को निर्णयानुसार सेवाबाट हटाएको भन्ने मिति २०४०।१२।१२।१ का पत्र विपक्षीलाई बुझाएपछि निजले यातायात संस्थान विनियम, २०२२ को भाग २ परिच्छेद ६ को दफा ६.३(घ) तथा लोकसेवा आयोगबाट प्राप्त सामान्य सिद्धान्तको परिच्छेद १० को दफा ३(४) बमोजिम भनी सञ्चालक समिति समक्ष पुनरावेदन गरेकी थिइन । तर उक्त परिच्छेदको व्यवस्था अनुसार विपक्षी माथि विभागीय सजायँ गरेको नभई परीक्षणकालमा नियुक्ति भएको विपक्षीको कार्य सन्तोषजनक नभएको भनी सेवाबाट हटाएको देखिन आएकोले त्यस्तो पुनरावेदन हेर्नु नपर्ने भनी मिति २०४१।२।१५।२ मा सञ्चालक समितिबाट भएको निर्णय कानुन अनुरुप छ । परीक्षणकालको अवधि थप नभएको र अवधि समाप्त भएपछि स्वतः स्थायी हुने होइन स्थायी नियुक्ति गरिने हुन पर्छ । अतः निवेदिकालाई सफाईको मौका दिनुपर्ने समेत होइन । स्थायी रुपमा नियुक्त नभएसम्म सो पदमा विपक्षीको हकदैया नै नपुग्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत नेपाल यातायत संस्थान केन्द्रीय कार्यालय सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको मिति २०४१।६।२४ को लिखितजवाफ ।
७. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुन आएको नेपाल यातायात संस्थान विनियम, २०२२ को विनियम ९(१) र ९(२) बमोजिम संस्थानमा ६ महीनाको परीक्षणकालमा रहने गरी नियुक्ति भएको ६ महीनाको परीक्षणकाल पूरा गरेपछि वा परीक्षण कालको अवधि ३ महीना थप भएकोमा सो अवधि समाप्त भए पछि स्वतः स्थायी नियुक्ति हुन सक्ने र उक्त तोकिएको परीक्षण कालको अवधिभित्र सन्तोषजनक रुपमा कार्य नगर्ने संस्थानका कर्मचारीहरूलाई परीक्षणकालको अवधि भित्र नोकरीबाट हटाउन सक्ने व्यवस्था उक्त विनियमले गरेको देखिन आयो । ऐनद्वारा निर्धारित परीक्षणकालको अवधि व्यतित भइसकेपछि पनि परीक्षणकाल ऐनले कायम गरेको छैन । यसरी परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी नियुक्ति भएका कर्मचारीलाई नोकरीबाट हटाउनु पर्दा वा सजायँ गर्नु पर्दा प्रतिवाद गर्ने मौका दिई स्पष्टीकरण लिनु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा रिट निवेदिका प्रत्यर्थी संस्थानको आर्थिक नियन्त्रण शाखाको सहायक तह ३(प्र) पदमा मिति २०३९।११।४ मा ६ महीनाको परीक्षणकालमा नियुक्ति भई सो परीक्षणकालको अवधि थप गरेको पनि देखिँदैन । सो मिति ०४०।५।३ मा परीक्षणकाल अवधि पूरा भएपछि नियुक्ति भएको पदमा स्वतः स्थायी भएको निवेदिकालाई सफाईको मौका नै नदिई कुनै स्पष्टीकरण नलिई परीक्षणकाल समाप्त भएको ७ महीना पछि मिति २०४०।१२।१० मा परीक्षणकालको अवधिमा कार्य सन्तोषजनक नभएको भन्दै नेपाल यातायात संस्थानबाट सेवाबाट हटाइएको र सो उपर समितिमा पुनरावेदन परेकोमा हेर्न नमिल्ने भनी मिति ०४१।२।१५ मा सञ्चालक समितिबाट भएको निर्णय समेत प्राकृतिक न्यायको सिद्धान्त विपरीत तथा उक्त नेपाल यातायात संस्थान विनियम २०२२ को दफा ९(१) र ९(२) समेतको प्रत्यक्षतः त्रुटि गरी निर्णय गरेको हुँदा उक्त निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।
८. रिट निवेदिकालाई परीक्षणकालमा नियुक्ति गरेकोमा कार्य सन्तोषनजक नभएको भनी सेवाबाट हटाएको भन्ने नेपाल यातायात संस्थानबाट निवेदिकालाई लेखेको मिति २०४०।१२।१२ पत्रबाट देखिन्छ । नेपाल यातायात संस्थान विनियम २०२२ को दफा ९(२) बमोजिम यस्तो संस्थानको कर्मचारी परीक्षणकाल अवधि पूरा भइसकेपछि स्वतः स्थायी हुने नभई स्थायी रुपमा नियुक्ति गरिएपछि मात्र स्थायी हुने व्यवस्था गरेको देखिन आयो । स्वतः स्थायी हुने भन्ने विनियममा व्यवस्था भएको पाइँदैन । रिट निवेदिकाले परीक्षणकाल मिति ०४०।५।३ मा समाप्त भएपछि स्थायी नियुक्ति लिएको छु भन्न र देखाउन सकेको छैन । यसबाट निवेदिका स्वतः स्थायी भएको भन्न मिलेन । जहाँसम्म मिति २०४०।५।३ मा परीक्षणकालको अवधि पूरा भइसकेपछि सफाईको मौका नदिई २०४०।१२।१० मा नोकरीबाट हटाएको मिलेको छैन भन्ने जिकिरको कुरा छ । विनियमले परीक्षणकाल भित्रै हटाउनु पर्छ भन्ने व्यवस्था गरेको पाइँदैन । अतः परीक्षणकाल वितेको केही महीना पछि हटाएको भन्दैमा निवेदिका स्वतः स्थायी भएको भन्नु न्याय कानुन र व्यवहारले पनि मिल्दैन । परीक्षणकालमा रहेकालाई सफाईको मौका दिने विनियममा व्यवस्था नभएको मात्र हैन प्रचलन पनि छैन । यस स्थितिमा अधिकार प्राप्त निकायद्वारा रिट निवेदिकालाई सेवाबाट हटाउने गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय ।
९. निवेदिका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले निवेदिकालाई परीक्षणकाल समाप्त भइसकेपछि कार्य सन्तोषजनक नभएको भनी सेवाबाट हटाइएको छ । यदि कार्य सन्तोषजनक नभएको भए परीक्षणकालको अवधि भित्रै हटाउनु पर्छ । यातायात संस्थानले सेवाबाट हटाउने निर्णय गर्दा लोकसेवा आयोगको सामान्य सिद्धान्त एवं यातायात संस्थान विनियम, २०२२ को भाग २ दफा १(९) (१) र १(९) (२) समेतको विपरीत निर्णय हुन आएको छ । तसर्थ सफाईको समेत नदिई सेवाबाट हटाएको विपक्षीहरूको निर्णय उत्पे्रषणको आदेशद्वारा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी नेपाल यातायात संस्थानको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले रिट निवेदिका परीक्षणकालमै रहेको र नियुक्ति सदर भई स्थायी नियुक्ति भएको नहुँदा सफाईको मौका दिनुपर्ने होइन । संस्थान ऐन, २०२१ को दफा १६ ले दिएको अधिकार प्रयोग २०२२ सालमा विनियम बनेको हुँदा लोकसेवा आयोगको सामान्य सिद्धान्त आकर्षित हुने अवस्था छैन । परीक्षणकालकै अवस्थामा कार्य सन्तोषजनक नभएको भनी सेवाबाट हटाएको संस्थानको २०४०।१२।१० को निर्णय र सञ्चालक समितिको २०४१।२।१५ को निर्णय समेत कानुन अनुरुप हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१०. यसमा निवेदकलाई विपक्षी नेपाल यातायात संस्थानले मिति २०३९।११।४।४ मा ६ महीनाको परीक्षणकालमा नियुक्ति गरेको र निजको काम सन्तोषजनक नहुँदा २०४०।१२।१० को निर्णयानुसार सेवाबाट हटाइएको जानकारी २०४०।१२।१२ मा दिइएकोमा दुवैपक्षको मुख मिलेकोबाट निवेदकलाई विपक्षी संस्थानको सहायक तह ३ (प्रा) मा नियुक्ति गरेको १ वर्ष १ महीना ६ दिन पछि परीक्षणकालको अवधिमा निवेदकको काम सन्तोषजनक नभएको भन्ने आधारमा सेवाबाट अवकाश दिइएकोमा कुनै विवाद रहेन ।
११. विपक्षी नेपाल यातायात संस्थानको काम कारवाही व्यवस्थित गर्न बनेको विनियम, २०२२ को सम्बन्धित व्यवस्थाहरू हेरिएमा सो विनियमको परिच्छेद ४ भाग २ को दफा १ (९)(१) मा जनरल मैनेजर डिभिजन चिफ र सो सरहका पदाधिकारीहरू बाहेक संस्थानको जुनसुकै पदमा नयाँ नियुक्ति हुनेलाई ६ महीनाको परीक्षणकालमा रहने गरी नियुक्ति गरिने छ । परीक्षणकालको अवधि पूरा भएपछि स्थायी नियुक्ति गरिनेछ तर निजलाई नियुक्ति गर्नेले उचित सम्झेमा परीक्षणकालको अवधि ३ तीन महीना थप्न सक्नेछ र नियम १(९)(२) मा कुनै कर्मचारीले आफ्नो परीक्षणकालको अवधिमा सन्तोषजनक काम गरेको छैन भन्ने लागेमा अफिसर स्तरको कर्मचारीको हकमा समितिको स्वीकृतिले र अन्य कर्मचारीको हकमा जनरल मैनेजर आफैंले त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन सकिने छ भन्ने व्यवस्था भएकोबाट जनरल मेनेजर, डिभिजन चिफ र सो सरहका अधिकृत कर्मचारी बाहेक संस्थानका अन्य सबै पदमा नयाँ नियुक्ति गर्दा ६ महीनाको परीक्षण कालमा राखी नियुक्ति गर्ने र परीक्षणकाल समाप्त भएपछि मात्र स्थायी नियुक्ति गर्ने स्पष्ट व्यवस्था भएको स्पष्ट छ । यदि परीक्षणकालको अवधिमा कुनै कर्मचारीले गरेको कामबाट नियुक्ति गर्ने अधिकारीले उचित सम्झेमा परीक्षणकालको अवधि थप्न सक्ने या कुनै कर्मचारीले आफ्नो परीक्षणकालको अवधिमा सन्तोषजनक काम गरेको छैन भन्ने लागेमा अफिसर स्तरको कर्मचारीको हकमा समितिको स्वीकृतिले र अन्य कर्मचारीको हकमा जनरल मैनेजर आफैंले त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन सक्ने व्यवस्था भएको देखिन आएको छ तर निवेदकतर्फको जिकिर बमोजिम यदि कुनै कर्मचारीलाई निजको परीक्षणकालको अवधिभित्र निजले गरेको काम सन्तोषजनक छैन भन्ने लागेमा लोकसेवा आयोगको सामान्य सिद्धान्तमा उल्लेख भए बमोजिम परीक्षणकालको अवधिभित्रै नोकरीबाट हटाउनु पर्ने भन्ने बाध्यता गरेको पाइएन र विनियममा स्पष्ट व्यवस्था भएको कुरामा लोकसेवा आयोगको सामान्य सिद्धान्त बमोजिम हुनुपर्छ भन्ने जिरह र बहसमा देखाइएको जिकिर समेत विपक्षी तर्फको जिरह बमोजिम लाग्ने देखिन आएन । यस्तो व्यवस्थाको अभावमा विपक्षीको जिरह बमोजिम कुनै कर्मचारीले आफ्नो परीक्षणकालको अवधिमा गरेको काम सन्तोषजनक नलागेमा निजलाई विनियममा व्यवस्था भए बमोजिम परीक्षणकाल समाप्त भएपछि स्थायी नियुक्ति नगरिंदैको अवस्था निज स्वतः परीक्षणकालमा रहेको मानी निवेदकलाई बर्खास्त गरिए जस्तै कुनै अवस्था बर्खास्त गर्न सकिने हो कि त भन्नलाई परीक्षणकालमा रहने गरी नियुक्ति गरिने निवेदक जस्ता कुनै कर्मचारीलाई ६ महीना परीक्षणकालमा राखी नियुक्ति गरिएकोमा विनियममा भएको उक्त व्यवस्थाबाट परीक्षणकालमा राखी नयाँ नियुक्ति गरिएका निवेदक जस्ता कर्मचारीको परीक्षणकाल समाप्त भएपछि विपक्षी यातायात संस्थानलाई निम्न तीनवटा अधिकारसम्म प्रदान गरेको पाइन्छ । सो तीनवटा अधिकार प्रयोग गर्नु बाहेक अरु कुनै विकल्प रहेको देखिन आउँदैन ।
(क) परीक्षणकाल समाप्त भएपछि त्यस्तो परीक्षणकालमा राखी नियुक्ति गरिएका कर्मचारीले आफ्नो परीक्षणकालको अवधिमा गरेको कामबाट निजलाई नियुक्ति गर्ने अधिकारीले उचित सम्झेमा निजको परीक्षणकालको अवधि ३ महीना बढाउने ।
(ख) परीक्षणकाल समाप्त भएपछि त्यस्तो परीक्षणकालमा राखी नियुक्ति गरिएका कर्मचारीले आफ्नो परीक्षणकालको अवधिमा गरेको काम सन्तोषजनक छैन भन्ने लागेमा अफिसर स्तरको कर्मचारीको हकमा समितिको स्वीकृतिले र अन्य कर्मचारीको हकमा जनरल मैनेजर आफैंले त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउने ।
(ग) परीक्षणकाल समाप्त भएपछि त्यस्तो परीक्षणकालमा राखी नियुक्ति गरिएका कर्मचारीले आफ्नो परीक्षणकाल अवधिमा गरेको काम सन्तोषजनक नभएको नलागेमा स्थायी नियुक्ति गर्ने ।
तर विनियममा भएको कुनै व्यवस्थाले पनि परीक्षणकालमा राखी नियुक्ति गरिएको निवेदक जस्ता कर्मचारीलाई विपक्षी तर्फको जिरह बमोजिम परीक्षणकाल समाप्त भएपछि उपयुक्त तीनवटा अधिकार मध्ये कुनै अधिकार प्रयोग नगरी अनिश्चित कालसम्म नियुक्ति गरिएको पदमा बहाल राखी छोड्न कुनै अधिकार प्रदान गरेको देखिन आउँदैन । यदि परीक्षणकालमा राखी नियुक्ति गरिएमा कुनै कर्मचारीको सम्बन्धमा परीक्षणकाल समाप्त भइसकेपछि पनि विनियमले विपक्षीलाई प्रदान गरिएका उक्त अधिकारहरू मध्ये निजले आफ्नो परीक्षणकालको अवधिमा गरेको कामबाट परीक्षणकालको अवधि अरु तीन महीना बढाउन उचित लागी तीन महीना परीक्षणकालको अवधि बढाई पुर्जी नदिई वा निजले आफ्नो परीक्षणकालको अवधिमा गरेको काम सन्तोषजनक नलागी निजलाई नोकरीबाट हटाएको पुर्जी पनि नदिई निजलाई नियुक्ति गरिएकै पदमा बहाल राखी तलब समेत खुवाएमा ६ महीनाको परीक्षणकाल समाप्त भएपछि निजको नियुक्ति सदर (Confirm) गरिएको मान्नु पर्ने हुन आउँछ । यस्तो अवस्था विपक्षी तर्फको जिरह तथा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको ठहर रायमा देखाइए बमोजिमको निज नियुक्ति स्वतः सदर (Confirm) भएको मानिने विनियममा व्यवस्था नभएको भन्ने आधारमा विनियममा भएको व्यवस्था विपरीत अनिश्चित कालसम्म परीक्षणकाल भइरहेको भन्न न्यायका सर्वमान्य सिद्धान्तको विपरीत पर्न जाने भई यस सम्बन्धित तत्कालीन माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ठहर मनासिब देखिन आएकोले त्यस्तो नियुक्ति सदर (Confirm) भई सकेका कर्मचारी निवेदकलाई सफाईको सबूद दिने मौका प्रदान गर्नु बेगर निजलाई दिइएको बर्खास्ती पुर्जीमा देखाइए बमोजिम परीक्षण कालमा रहेको भनी बर्खास्त गरिएको विपक्षी यातायात संस्थानको निर्णयमा विनियम विपरीत देखिन आएकाले निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा निजलाई बर्खास्त गर्ने २०४०।१२।१० को निर्णय र सो उपर परेको पुनरावेदनमा हेर्न नपर्ने भन्ने समितिको २०४१।२।१५ को निर्णय समेत बदर हुने ठहर्छ । निवेदिकालाई साविक बमोजिम आफ्नो पदमा रही काम गर्न दिनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या.बब्बरप्रसाद सिंह
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४३ साल भाद्र २४ गते रोज ३ शुभम् ।