निर्णय नं. २७०२ - कर्तव्य ज्यान

निर्णय नं. २७०२ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको फौ.पु.नं. ५०१
सम्वत् २०४१ सालको फौ.सा.नं. ९८
फैसला भएको मिति : २०४३।४।२१।३ मा
पुनरावेदक/वादी : परवीर खड्काको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : रोल्पा थुम २२ खुवा सिरप बौठे चउर बस्ने पले घर्ती मगर
मुद्दा : कर्तव्य ज्यान
(१) प्रतिवादी फेरार रहेको कारणबाट सरजमीनका व्यक्तिहरूले शंका गरेको भरमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा श्री ५ को सरकाको पुनरावेदन जिकिर अनुसार प्रतिवादीलाई अपराधी ठहर गर्न न्यायसगंत नहुने ।
(प्रकरण नं. १४)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(क) अनुसार पुनरावेदन गरी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. जाजरकोटबाट बसाई सरी आएको मनलाल वादी ०२३।११।१८ गते गोठेचौर बाहुन डाँडा भीरमा उतानो परी लडेके सीर फुटेको हात खुट्टामा नील भएको पले घर्तीको कर्तव्यबाट मरेको शङ्का लागी पक्राउ गरेको बास बसेको घरबाट २० गते भागेको हुँदा जाहेर गरेको छु भन्ने समेत परवीर खड्काको जाहेरी ।
३. टाउको टुप्पीमा २” लम्बाई २” चौडाई खत भएको, आँखीकोष सुनिएको नानी नदेखिएको नाकबाट रगत आएको लिंगबाट लस्सादार चुहिएको, घुडाँ कुममा निल समेत भएको भन्ने लास प्रकृति मुचुल्का ।
४. फाल्गुण १७ गते लोग्ने मनलाललाई पं.स. पले घर्तीले फुली चोरी ल्याएका छौ रे फुली देउ कित हिंड भनी लिई गएको दुवै जनाले एक ठाउँमा जाँड खाएको भन्ने पनि सुनें, लोग्नेलाई पलेले मारेको पुरा शंका लाग्छ भन्ने समेत मर्नेकी श्रीमती सवजी बडेनी समेतको सरजमीन मुचुल्का ।
५. ०२३।११।१८ गते मेरो घरमा आएको रु.५ को दारु खाई साथै गएका हुन् मेरो घरमा झगडा नभए पनि पले घर्तीले मनलाल वादीलाई मारी भाग्यो भन्ने सुनेको हुँ भन्ने समेत दुर्गा मगरनीको कागज ।
६. पले घर्तीले मनलाल वादीलाई कर्तव्य गरी मारेको देखिँदा निज पले उपर ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन ।
७. पले घर्ती हाजिर नभई फेरार रहेकोले मुलतबी रहेको अंश रोक्का भएको मितिले ६ वर्ष पुगी सकेको हुँदा मुलतबी जगाई पेश गर्नु भन्ने समेत ०३९।८।७ को रोल्पा जि.अ.को आदेश ।
८. मनलाल वादी र पले घर्ती झगडा गर्दै गएको कुरा सुनेको र पले घर्तीलाई पक्राउ गरी लैजाँदा बीचबाट भागेको भन्ने सुनेको हो । निजले कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने समेत सरजमीनका थमन थापा र धनबहादुरको अदालतमा भएको ०४०।१।९ को बकपत्र ।
९. प्रतिवादी फरार भई बसेकाले मृतक मनलाल वादीलाई कर्तव्य गरी मारेको ठहर्छ प्र.पले घर्तीलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले १० वर्ष कैद हुने मनासिब देखिँदा राय सहित जाहेर गरेको छु भन्ने समेत रोल्पा जिल्ला अदालतको जाहेरी फैसला ।
१०. अभियुक्त फेरार रहेको र सरजमीनका केहि व्यक्तिले शंका गर्दैमा अभियुक्त पले घर्तीलाई दोषी ठहराएको न्यायोचित नहुँदा निजले सफाई पाउने ठहर्छ शुरु रोल्पा जि.अ.को इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।२।३० को फैसला ।
११. सो फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन ।
१२. पुनरावेदक श्री ५ को सरकार तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठले जाहेरी सरजमीन समेतबाट मर्ने मनलाल वादी पलेकै कर्तव्यबाट मरेका भन्ने शंका गरेको छ । मर्ने र पले घर्ती झगडा गरेको कुरा सरजमीन समेतबाट पुष्टी भएको छ । निज पले घर्तीले अपराध नगरेको भए फेरार हुनुपर्ने अवस्था समेत थिएन । तसर्थ निजलाई सफाई दिएको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो ।
१३. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१४. यसमा निर्णयतर्फ हेर्दा बुझिएका सरजमीन समेतबाट प्रतिवादी पले घर्तीले मनलाल वादीलाई कर्तव्य गरी मारेको देखिन आएकोले ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी देखिन्छ । अभियुक्त प्रतिवादी पले घर्ती वारेण्ट जारी हुँदा पक्राउ हुन र तामेल भएको म्यादी पुर्जीमा समेत हाजिर नभई अंश रोक्का हुँदा समेत हाजिर नभई फेरार रहेको पाइन्छ । जाहेरवाला तथा सरजमीनका व्यक्तिहरूले प्रतिवादी पले घर्ती उपर शंकासम्म गरेको देखिन्छ । निजले यो यसप्रकारले कर्तव्य गरी मारेको हो भनी किटान गर्न सकेको छैन । सरजमीनका अदालतमा आई बकपत्र गर्ने थमन थापा र धनबहादुरले पनि मनलाल र पले घर्ती झगडा गर्दै गएको कुरा गाउँ घरबाट सुनेको, पक्राउ गरी लैजाँदा बीचबाट भागेको सुनेकोले निजले कर्तव्य गरेको विश्वास लाग्छ भनी शंकासम्म गरेको पाइन्छ । तर निज प्रतिवादी पले घर्तीले कर्तव्य गरी मारेकै हो भन्ने देख्ने चस्मदिद गवाह कोही देखिँदैन । तसर्थ प्रतिवादी फेरार रहेको कारणबाट सरजमीनको व्यक्तिहरूले शंका गरेको भरमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा श्री ५ को सरकारले पुनरावेदन जिकिर अनुसार प्रतिवादी पले घर्तीलाई अपराधी ठहर गर्न न्यायसंगत नहुँदा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी पले घर्तीलाई सफाई दिने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन तहबाट निर्णय भएकोले साधक तहबाट विचार गर्न परेन । प्रस्तुत मुद्दाको साधक लगत कट्टा गरी दिनु । श्री ५ को सरकारको पुनरावेदन परेकोले केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४३ साल श्रावण २१ गते रोज ३ शुभम् ।