शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७०३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: २८ साल: २०४३ महिना: भाद्र अंक:

निर्णय नं. २७०३    ने.का.प. २०४३     अङ्क - ५

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४२ सालको रिट नं. १६७६

आदेश भएको मिति : २०४३।४।२७।२ मा

 

निवेदक : जिल्ला बारा सामापुर टोकनी गा.पं.वडा नं.१ हाल परिवर्तित ऐ.गा.पं.वडा नं.८ बस्ने रामबहादुर साहुतेली

विरुद्ध

विपक्षी : वीरगञ्ज नगर पञ्चायत वडा नं.५ बस्ने संकटादेवी श्रेष्ठसमेत

 

विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)         जग्गावालाले लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा रिट निवेदकलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति ०४२।४।१७ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनको त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

 

निवेदकतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री जयकान्तलाल दास

विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार अधिकारीको २०४२।४।१७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :

२. प्रतिरक्षी पूर्णकुमारी श्रेष्ठको नाउँ दर्ताको जिल्ला बारा रामपुर गा.पं.वडा नं.१ कि.नं. २५ को ज.वि.०१३० ऐ.ऐ.कि.नं. ७ को ज.वि.०१३१० ऐ.वडा नं.२ कि.नं. २३ को ज.वि. ०१५० ऐ.कि.नं. ३१ को ज.वि. ०१६१० समेत जम्मा ज.वि. २१८० को म मोही भई कमाई आएको छु । प्रतिरक्षी मध्ये संकटादेवी श्रेष्ठले ०४२।५।१८ गतेका दिन आई कि.नं. २३ को ज.वि. ०१५० ऐ. कि.नं. ३१ को ज.वि.०१६१० समेत मैले आमा पूर्णकुमारीबाट खरीद गरेको छु । सो जग्गाबाट तपाइको मोही लगत समेत कट्टा भइसकेको छ भनी मलाई भन्दा प्रतिरक्षी संकटादेवीको कुरा सुनी आश्चर्य भई भू.सु.कार्यालय वारा गई मोही लगत कट्टाको ठहर आदेश सहितको नक्कल ०४२।५।१९ मा लिई अवगत भएँ । पूर्णकुमारी श्रेष्ठका नाउँ दर्ताको जिल्ला वारा रामपुर टोकनी गा.पं.वडा नं.२(क) कि.नं. २३ को ज.वि. ०१५० ऐ.कि.नं. ३१ को ज.वि. ०१६१० को विपक्षी रामबहादुर साहको मोहियानी लगत कायम भई जोती आएको र जग्गा जोत्‍न असमर्थ हुँदा ०३४।१।५ मा मोहियानी हकको छोडपत्र गरी दिएको र सो जग्गा पूर्णकुमारी आफैंले जोती आएकोले रजिष्ट्रेशन समेत पास गराई भोगचलन गरी आएको छु । उक्त जग्गामा विपक्षको मोहियानी हक भएकोमा उक्त लेखिए अनुसार छोडपत्र गरी दिएकोले निजको नाउँको मोही लगत कट्टा गरी मेरो नाउँमा मोही लगत कायम गरिपाउँ भन्ने प्रतिरक्षी संकटादेवीले निवेदन दिएको आधारमा ०३२ साल चैत्र देखि नै जोत छोडी दिएको देखिने पुनः ०३४।१।५ मा छोडपत्र गरेको प्रतिरक्षी भु.सु. अधिकारीले दावीको जग्गा ०३४।१।५ मा मोही छोडपत्र गरेको र आफ्नो जग्गा आफैं जोत्नु भनी जग्गाधनीलाई सूचना गरी सकेको देखिँदा विपक्षी मोहीको नाम मोही लगत कट्टा गरी दिने ठहर्छ भनी ०४२।४।१७ मा ठहर आदेश गर्नुभएको छ ।

३. मेरो मोही जोत भोगको लगत कट्टा गरिपाउँ भन्ने निवेदन दिनु भएकोमा मलाई झिकाउँदै नझिकाई प्रतिवाद गर्ने मौकाबाट बञ्चित गरी प्राकृतिक न्याय सिद्धान्त विपरीत गर्नुभएको ठहर गैरकानुनी बदरभागी छ । सो छोडपत्र मेरो हो होइन अ.बं. १८४क. र अ.बं. ७८ नं. को कानुनी प्रकृयाको प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि गरी भएको ठहर आदेश बदरभागी छ र अ.बं. ७८ नं. को प्रकृया नअपनाएको छोडपत्रलाई प्रमाणमा ग्रहण गरी गरेको ठहर भूमिसम्बन्धी ऐनको दफा २६ को देहाय १ को खण्ड (क), प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश विपरीत भई बदरभागी छ । अ.बं १३९ नं. बमोजिम प्रतिरक्षी पूर्णकुमारीलाई नबुझी गर्नुभएको फैसला गैरकानुनी छ । मेरो नेपाल कानुन र मौलिक संवैधानिक हकहरू हनन् हुन गएकोले उत्प्रेषणको आदेश जारी गरी भू.सु.अधिकारीको निर्णय बदर गरी हक संरक्षण गरिपाउँ भन्ने रिट निवेदन जिकिर ।

४. विपक्षीसँग लिखितजवाफ लिई आएपछि उक्त अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४२।६।२० को आदेश ।

५. मोहीले चीनी कारखानामा नोकरी गरेकोले खेती गर्न नसक्ने हुँदा छोडपत्र गरी दिएको सत्य भएको र ०३२ सालमा छोडपत्र गरी दिएपछि पुनः ०३४ सालमा छोडपत्र लेखी दिएको आधारमा प्रमाणको मूल्याङ्कन गरी मोही लगत कट्टा गर्ने गरी ०४२।४।१७ मा भएको आदेश कानुनसंगत छ । रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत भू.सु.का.बाराको लिखितजवाफ ।

६. ०३२ साल चैत्रमा मोही छोडपत्र गरी सकेपछि कमाई आएको भए आजसम्म बाली बुझी दिएको भर्पाई धरौट राखेको प्रमाण हुनुपर्ने सो नभएबाट झुठ्ठा जिकिर लिएको प्रष्ट छ । ०३२ र ०३४ सालको छोडपत्र समेतको आधारमा मोही लगत कट्टा गरेको निर्णय त्रुटि छैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत संकटादेवी श्रेष्ठ र पूर्णकुमारी श्रेष्ठको लिखितजवाफ ।

७. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले रिट निवेदक विधिवत मोही छोडपत्र गरेको छैन । मोही लगत कट्टा गर्ने निर्णय गर्दा रिट निवेदकलाई बुझेको पनि छैन । छोडपत्र अ.बं. ७८ नं. बमोजिम सुनाएको पनि छैन । सो कार्यविधि पूरा नगरी मोही लगत कट्टा गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने बहस गर्नुभयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका  विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान तथा प्रत्यर्थीहरू तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले रिट निवेदकले जग्गा कमाउन सक्दिन भनी दुई पटक मोही छोडपत्र गरेको छ । त्यसपछि जग्गा जोतेको भए कूत बुझाएको हुनुपर्ने सो छैन । सो छोडपत्र समेतको आधारमा मोही लगत कट्टा गरेको निर्णय कानुनसंगत छ । रिट खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९. यसमा निर्णयतर्फ हेर्दा ०३२ सालको छोडपत्र कागज बदर गराएको नदेखिने र पुनः छोडपत्र गरी यस कार्यालयलाई संशोधन गरी दावीको जग्गा छोडपत्र गरी दिएको जग्गाधनीलाई समेत आफ्नो जग्गा आफैं जोत्नु भनी सूचना गरी सकेको देखिँदा दावीको जग्गाबाट मोहीको नाम मोही लगतबाट कट्टा गरी दिने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय बाराबाट निर्णय गरेको देखिन्छ ।

१०. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) मा दफा २५ को उपदफा (५) को खण्ड (ख) बमोजिम दर्ता भएको मोहियानी हकको जग्गा मोहीले छाड्न चाहेमा खेतीको याम भन्दा कमसेकम १ महीना अगावै तोकिएको अधिकारी र जग्गावालालाई लिखित सूचना दिनु पर्दछ र तोकिएको अधिकारीले सम्बन्धित पञ्चायत समेत बुझी सो छानबीन गरी दर्ता किताबमा सच्याएको सूचना मोहीले प्राप्त गरेपछि मात्र जग्गा छाडेको मानिने छ भन्ने लेखिएको पाइन्छ । प्रस्तुत मुद्दामा जग्गा जोत्‍न असमर्थ देखाई ०३४।१।५।१ मा मोहियानी हक छोडपत्र गरी सो छोडपत्र निवेदन यस कार्यालयमा मो.फा.द.नं. ६२८।०३३ मिति ०३४।१।५ मा दर्ता भएकोले मोही लगत कट्टा गरिपाउँ भन्ने जग्गाधनी संकटादेवीको निवेदन परेकोमा मोही लगत कट्टा गर्ने भू.सु.का.बाट निर्णय गरेको छ । तर उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) अनुसारको कार्यविधि पूरा गरी मोही हक छाडेको भन्ने कुरा भू.सु.का.को निर्णयमा भन्न सकेको देखिँदैन । दुई पटक छोडपत्रको निवेदन दिएको र जग्गावालाले मोही लगत कट्टा गरिपाउँ भनी दिएको निवेदन सनाखत गराउँदा झुठ्ठा ठहरे पुनः मोहीको माग आएमा पूर्ववत् मोही लगत राखी दिएमा मञ्जूर छ भनी सहिछाप गरी दिएको आधारमा मोही लगत कट्टा गर्ने निर्णय गरेको भन्ने भू.सु.का.को लिखित जवाफबाट देखिन्छ । उपरोक्त उल्लिखित कानुनको कार्यविधि पुरा नगरी जग्गावालाले लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा रिट निवेदकलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय वाराको मिति ०४२।४।१७ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनको त्रुटिपूर्ण देखिन आयो ।

११. अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति २०४२।४।१७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागी यो आदेश प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

 

इति सम्वत् २०४३ साल श्रावण २७ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु