निर्णय नं. २७०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २७०६ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४२ सालको रिट नं. १४५९
आदेश भएको मिति : २०४३।५।६।६ मा
निवेदक : वारा जिल्ला मोतीसार गा.पं.वडा नं.९ बस्ने रामस्वरुप राउत कुर्मी
विरुद्ध
प्रत्यर्थी : भूमिसुधार कार्यालय वाराको भू.सु.अ.श्री विश्वनाथ श्रेष्ठसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) नाबालखको हकमा हकदार बाबुले उजूर गर्न पाउने ।
(प्रकरण नं. १०)
(२) बाली बुझाएको कुराको प्रमाण नभएकोले मोही निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालयबाट निर्णय गरेको देखिन्छ । यसबाट बाली नभराए पनि बाली नबुझाएको भन्ने आधारमा मोहियानी निष्कासन हुने निर्णय गरेको पाइन्छ । बाली नभराएकोमा रिट निवेदकको हकहितमा कुनै असर पर्न आएको देखिँदैन ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस र विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. मेरो नाम दर्ताको वारा जिल्ला मोतीसार गा.पं.वडा नं.७ कि.नं. १०१ को ०–१७–० कठ्ठा जग्गाको मोही विपक्षी रामस्वरुप राउतले २०४० सालको कूत बाली नदिएको र धरौट समेत नराखेकोले ०४० सालको कूत धान मन ९–३१–० (नौ मन एकतीस सेर) को प्रचलित मोल रु.९८०।५० दिलाई मोही निष्कासन गरिपाउँ भन्ने प्रत्यर्थी रामनारायण राउत अहिरको हकमा प्रत्यर्थी बाबुलाल राउतको प्रत्यर्थी भूमिसुधार कार्यालयमा निवेदन परी ०४० सालको कूत बाली धान मन ९ सेर ३१, प्रमाणका मानिसहरूको रोहवरमा बुझाएको हो, भर्पाई दिएको छैन प्रमाणका मानिस बुझेमा प्रष्ट हुनेछ भन्ने म निवेदकको प्रतिउत्तर परेकोमा मिसिल संलग्न बाली बुझाएको कुनै प्रमाण रहेको देखिँदैन, बाली नभराउने प्रतिवादी मोहीले आफूले गर्नुपर्ने कर्तव्य नगरेको हुँदा त्यस्ता मोहिलाई कायमै राख्न मनासिब नदेखिँदा प्रतिवादी मोहिबाट निष्कासन हुने ठहर्छ भन्ने प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूले मिति ०४२।२।२७ गते निर्णय गर्नुभयो ।
३. उपरोक्त बमोजिम निर्णय दिँदा अ.बं. १८४क. बमोजिम प्रतिवादीले उल्लेख गरेका साक्षी सबूद बुझी निर्णय गर्नुपर्नेमा साक्षी प्रमाण बुझ्दै नबुझी भएको निर्णय अ.बं.१८४(क), १८५ र १८९ नं., प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको विपरीत छ, विपक्षी बाबुलालले आफ्नो छोराको हकमा बिना वारिसनामा उजूरी फिराद दिएको र उक्त फिराद खारेज नगरी निर्णय भएको अ.बं. २४ नं. ८२ र १८० नं. को प्रतिकूल छ । भूमिसुधार अधिकारीज्यूको उक्त त्रुटिपूर्ण निर्णयले म निवेदकको उल्लिखित हकहरूको अतिरिक्त नेपालको संविधानको धारा १०(१), ११(२)(ङ), १५ का हकहरू अवरुद्ध भएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूको निर्णय बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति ०४२।५।४।३ को सिंगलबेञ्चको आदेश ।
५. जिल्ला बारा मोतिसार गा.पं.वा.नं. ७ कि.नं. १०१ को जग्गा विगहा ०–१७–० बाबुलाल राउत अहिरको नाबालक छोरा रामनारायण राउतको नाउँमा दर्ता रहेकोमा मोही रामस्वरुप राउत कुर्मीले ०४० सालको कूत बाली नबुझाएकोले भू.सं. ऐन, २०२१ को दफा २९ बमोजिम कूत भराई मोहिबाट निष्कासन समेत पाउँ भनी नाबालख छोराको हकमा बाबुलाल राउत अहिरले ०४०।१२।१९ मा फिराद गरेकोमा विपक्षी मोहीले बाली बुझाएको भर्पाई नदिएको भनेकोमा भू.सं. ऐन, २०२१ को दफा ३८(२) अनुसार निजले भू.सु.अ. समक्ष उजूर गर्नुपर्ने हो । निजले कुन मितिमा बुझाएको यकीन जिकिर लिनु सकेको छैन । तसर्थ ०४२।२।२७ मा भएको निर्णय कानुनसंगत छ, रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको लिखितजवाफ ।
६. भूमिसम्बन्धी ऐनको दफा २९(१) अन्तर्गत मोही निष्कासनको माग गर्ने आधार बाली नबुझाएको, दफा ३४(२) अनुसार बाली बुझाउँदा भर्पाई लिनु दिनुपर्ने र भर्पाई नदिएमा दफा ३८(२) अनुसार उजूर गर्नुपर्ने व्यवस्था भएको । विपक्षीले कूतको भर्पाई पेश गर्न नसकेको अवस्थामा कूत नबुझाएकै कुरा निर्विवाद प्रमाणित भइसकेपछि साक्षी बुझिएन भन्ने जिकिर मात्र जिकिरको लागि जिकिर गरिएको छर्लङ्ग हुन्छ । अ.बं. ८३ नं. को प्रावधान अनुसार नाबालकको हकमा संरक्षकले उजूर दिन पाउने प्रष्ट व्यवस्था छ । अतः उपरोक्त बमोजिम भूमिसुधार अधिकारीज्यूबाट कानुनको परिधिभित्र रही अधिकार क्षेत्रको कुरामा सबूद प्रमाणको उचित मूल्याङ्कन गरी निर्णय गर्नुभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी बाबुलाल राउत अहिर र रामनारायण राउत अहिरको संयुक्त लिखितजवाफ ।
७. यसमा रिट निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले प्रत्यर्थी बाबुलाल राउत अहिरले छोराको वारेसनामा बेगर भूमिसुधार कार्यालयमा फिराद गरेको छ । मेरो पक्षतर्फको साक्षी सबूद प्रमाण बुझी त्यसको मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा सो नबुझी गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भनी बहस गर्नुभयो । प्रत्यर्थी बाबुलाल राउत अहिर र रामनारायण राउत अहिरका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवानन्ददास सरसले बाबुलालको हकमा वारेसनामा नभए पनि संरक्षकले उजूर गर्न सक्ने व्यवस्था छ । रिट निवेदकले बाली नबुझाएको प्रमाणित भइसकेको छ । बाली बुझाएको रसीद नदिएको भए उजूर गर्नुपर्ने गरेको छैन । रिट खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले सबूद प्रमाणको मूल्याङ्कन गरी अधिकार प्राप्त अधिकारीबाट कानुन अनुरुप निर्णय भएको हुँदा रिट निवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा ०४० सालको बाली प्रमाणको साक्षी समक्ष बुझाई दिएको भन्ने प्रतिवाद जिकिर भएकोमा साक्षी सबूद नबुझेको त्रुटि छ । विपक्षी बाबुलालले आफ्नो छोराको हकमा बिना वारिसनामा उजूर गरेको खारेज हुनु पर्नेमा निर्णय गरेको त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ ।
१०. प्रत्यर्थी नाबालख रामनारायण राउत अहिरको हकको बाबुलालले उजूर गरेको देखिन्छ । त्यसरी नाबालकको हकमा हकदार बाबुले उजूर गर्न पाउने नै हुँदा अ.बं. ८३ नं. विपरीत भन्न मिलेन । बाली बुझाएको कुराको प्रमाण नभएकोले मोही निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालयबाट निर्णय गरेको देखिन्छ । यसबाट बाली नभराए पनि बाली नबुझाएको भन्ने आधारमा मोहियानी निष्कासन हुने निर्णय गरेको पाइन्छ । बाली नभराएकोमा रिट निवेदकको हक हितमा कुनै असर पर्न आएको देखिँदैन । तसर्थ बाली बाँकी राखेको ठहरी मोही निष्कासन हुने भनी गरेको प्रत्यर्थी भू.सु. कार्यालय वाराको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ फायल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४३ साल भाद्र ६ गते रोज ६ शुभम् ।