निर्णय नं. २७०७ - परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २७०७ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको रिट नं. १४८९
आदेश भएको मिति : २०४३।५।९।२ मा
निवेदक : जिल्ला बर्दिया मगरागाडी गा.पं.वडा नं.९ औरीको पूर्णबहादुर थापा
विरुद्ध
प्रत्यर्थी : लक्ष्मीनारायण मन्दिर वर्दिया, गुलरियासमेत
विषय : परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ
(१) जग्गा बिक्री वितरणमा पाउँ भनी परेको निवेदनमा कारवाई भई प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरणमा दिने गरेको प्रत्यर्थी जिल्ला समिति बर्दियाको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नहुने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. बर्दिया जिल्लामा भूमिसुधार लागू भएपछि साविक जग्गाधनी रङ्गविक्रम शाहका नाउँको हदबन्दी भन्दा बढी भएको बर्दिया मगंरागाडी गा.पं.वडा नं.९ कि.नं. २२ को जग्गा श्री ५ को सरकारले प्राप्त गरी सो मध्येको ४–०–० (चार विगहा) जग्गा कित्ताकाट भई कि.नं. २९३ कायम गरी नरबहादुर शाहीलाई बिक्री वितरण गरिएकोमा किस्ता नबुझाउँदा ०२९।११।१ मा जफत भयो, सो जग्गामा खास सुकुम्बासी म निवेदकका बाबु कुलबहादुर थापाले घर धुरी खडा गरी घर कर जिल्ला पञ्चायत वर्दियामा र ०३४ सालसम्मको मालपोत निज नरबहादुर शाहीकै नामबाट मालपोत कार्यालयमा बुझाई आधी आयस्ता भूमिसुधार कार्यालयमा बुझाउँदै आएकोमा म निवेदक भिन्न भई सोही जग्गा मध्ये पूर्व दक्षिणतर्फ २–०–० (दुई विगहा) जोतभोग गरी आधी आयस्ता विपक्षी भूमिसुधार कार्यालयमा बुझाउँदै आएको, जग्गा दर्ता गरिपाउँ भनी पटक पटक मेरो बुबाले श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र चढाउनु भएकोमा हुकुम प्रमांगी बक्स भई मालपोत कार्यालय बर्दियामा गएकोमा आवश्यक कारवाहीको लागि विपक्षी भूमिसुधार कार्यालयमा पठाइयो । यसै बीच विपक्षी समितिबाट जग्गा बिक्री वितरण गरिने भएकोले दर्खास्त आव्हान गरे बमोजिम आफ्नो जोतभोगको निस्सा, सुकुम्बासीको सिफारिश साथै राखी ०४१।१०।१७ मा निवेदन गरेकोमा उक्त जग्गा बिनाआधार विपक्षी लक्ष्मीनारायण मन्दिरलाई वितरण गरिएकोले गा.पं.समक्ष निवेदन गरेकोमा गाउँ सभाको असाधारण बैठकबाट मेरो नाउँमा वितरण गरी दिन सर्व सम्मतिबाट निर्णय गरी विपक्षी समिति समक्ष अनुरोध गरेकोमा उक्त जग्गा मेरो नाममा वितरण गरेन ।
३. साविक देखि जोति भोगी आएकोमा विवाद नभएपछि भूमिसम्बन्धी ऐनको दफा २(ख) २१ तथा नियम २३ को (क) र (घ) बमोजिम मैले पाउनेमा भूमिसम्बन्धी नियमको २३ को प्रति प्राथमिकता भित्र नपर्ने विपक्षी लक्ष्मीनारायण मन्दिरलाई वितरण गरिएको कारवाही तथा निर्णय मुलुकी ऐन अ.बं. १८४क., १८५ को त्रुटिपूर्ण छ । उक्त विपक्षीहरूको काम कारवाही तथा निर्णयबाट मेरो उल्लिखित कानुनी हकको साथै नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकमा आघात परेकोले उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षीहरूको उल्लिखित काम कारवाही तथा निर्णय बदर गरी आघातित हकको संरक्षण तथा प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति ०४२।५।५।४ को सिंगलबेञ्चको आदेश ।
५. भूमिसुधार मन्त्रालय जिल्ला समिति बर्दिया समक्ष म प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरको पूजाआजा सञ्चालनको लागि आर्थिक व्यवस्था नहुँदा मन्दिरको नाममा जग्गा दर्ता गरी बेच विखन गर्न नपाउने शर्तमा समितिबाट बिक्री वितरणको जग्गा पाउँ भनी बर्दिया जिल्ला मगरागाडी गा.पं.वा.नं. ९ को कि.नं.२२(म) को २–०–० दुई विगहा जग्गा समेतको जग्गाहरू पाउँ भन्ने व्यहोराको निवेदन ०४१।४।३१ मा दर्ता गरेकोमा कारवाही चली मगरागाडी गा.पं.का प्रधानपञ्चले पनि उल्लिखित जग्गा म प्रत्यर्थीका नाममा बिक्री वितरण गर्नका लागि सिफारिश गरेको समेत आधारमा समितिको मिति ०४२।१।१८ को निर्णय बमोजिम उल्लिखित दुई विगहा जग्गा दर्ता गरिदिने निर्णय भई दर्ता समेत भइसकेको छ । विपक्षी रिट निवेदकको जिकिर झुठ्ठा, हकदैया विहिन हुँदा एवं समितिले कानुन बमोजिम गरेको काम कारवाहीमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी लक्ष्मीनारायण मन्दिर व्यवस्था तथा निर्माण समितिका तर्फको लिखितजवाफ ।
६. यस कार्यालयबाट मिति ०४१।५।३ मा प्रकाशित सूचना बमोजिम तोकिएको म्यादभित्रै जि.बर्दिया गुलरिया गा.पं.स्थित लक्ष्मीनारायण मन्दिरको नाममा जग्गा प्राप्त गरिपाउँ भनी उक्त मन्दिरका समितिका सदस्यले दिएको निवेदन अनुसार जिल्ला कार्यालय बर्दिया र सम्बन्धित गा.पं.समेतको सिफारिशको आधारबाट समेत मन्दिरको दैनिक तथा पर्व पूजा चलाउन र आर्थिक व्यवस्थाको लागि मगरागाडी गा.पं.वा.नं. ९ को कि.नं.२२(म) ज.वि.२–०–० जग्गा बिक्री वितरण गरिदिने निर्णय भएको हो विवादको जग्गा निवेदक पूर्णबहादुर थापाले भूमिसुधार कार्यालयलाई आयस्ता बुझाउने गरी लगाई राखेको कुरामा भूमिसुधार कार्यालय बर्दियाबाट अर्को व्यवस्था नगरिएसम्मको लागि मात्र स्वीकार गरिएको हो । निज पूर्णबहादुर थापालाई हकै कायम गराउने उद्देश्यले लगाउन दिएको होइन । अतः लक्ष्मीनारायण मन्दिरको नाममा जिल्ला समिति बर्दियाबाट वितरण गरिएको जग्गा भूमिसम्बन्धी नियम २३ ले बिक्री वितरण हुन नसक्ने कुनै बाधा अड्काउ गरेको नदेखिने हुँदा रिट निवेदन खारेजभागी छ भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय बर्दियाको लिखितजवाफ ।
७. नियम बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले भूमिसम्बन्धी नियमको प्राथमिकता अन्तर्गत मेरो पक्ष मोहीले जग्गा बिक्री वितरणमा पाउनुपर्नेमा प्राथमिकता अन्तर्गत नपर्ने विपक्षी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरण गर्ने गरेको निर्णय कानुनी त्रुटिपूर्ण हुनाले उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत र प्रत्यर्थी कार्यालयका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले रिट निवेदक मोही नै कायम भई नसकेको हुँदा निजलाई रिट निवेदन गर्ने हकदैया छैन । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले जफत भएको जग्गालाई श्री ५ को सरकारले मोहीमा कमाउन दिन सक्दैन । रिट निवेदक भूमिसम्बन्धी ऐनको दफा २५(१)(२) अन्तर्गतको मोही होइन । मोही नै नभएपछि निजले जग्गा बिक्री वितरणमा प्राथमिकता पाउनु पर्दछ भन्ने प्रश्न नै उठ्दैन । तसर्थ हकदैया नै नभएको व्यक्तिले दिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा म निवेदकले जोती भोगी आएको जग्गा विपक्षी समितिले बिक्री वितरण गर्दा मैले पाउने प्रष्ट छ । विपक्षी समितिले प्रकाशित सूचनाको म्यादभित्र आफूले जोति भोगी आएको निस्सा र सुकुम्बासीको सिफारिश सहित निवेदन गरेकोमा भूमिसम्बन्धी नियम २३ को प्राथमिकता भित्र नपर्ने विपक्षी लक्ष्मीनारायण मन्दिरलाई बिक्री वितरण गरेको त्रुटि हुँदा बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर देखिन्छ । प्रत्यर्थी श्री लक्ष्मीनारायण मन्दिर व्यवस्था निर्माण समितिको लिखितजवाफमा बिक्री वितरणको जग्गा पाउँ भनी निवेदन ०४१।४।३१ मा दर्ता गरेको समितिको ०४२।१।१८ को निर्णय बमोजिम २ विगहा जग्गा दर्ता गरी दिने निर्णय भई दर्ता समेत भइसकेको छ । विवादीत जग्गाको रिट निवेदक मोही होइन भन्ने उल्लेख भएको पाइन्छ । रिट निवेदक विवादीत जग्गाको कानुन बमोजिम मोही भएको कुनै आधार प्रमाण रिट निवेदकले देखाउन सकेको छैन विवादीत जग्गा बिक्री वितरणमा पाउँ भन्ने रिट निवेदकको निवेदन २०४१।१०।१७ मा परेको भन्ने रिट निवेदनबाट र लक्ष्मीनारायण मन्दिरको तर्फबाट २०४१।४।३१ मा निवेदन परेको भन्ने लिखितजवाफबाट देखिन्छ । जग्गा बिक्री वितरणमा पाउँ भनी परेको उक्त निवेदमा कारवाही भई प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरणमा दिने गरेको प्रत्यर्थी जिल्ला समिति बर्दियाको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४३ साल भाद्र ९ गते रोज २ शुभम् ।