निर्णय नं. २७१० - उत्प्रेषण

निर्णय नं. २७१० ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको रिट नम्बर २२५९
आदेश भएको मिति : २०४३।४।९।३ मा
निवेदक : कपिलवस्तु मौजे कटुवा गा.पं.निगालीहवा वडा नं.७ बस्ने रामकिसन थारुसमेत
विरुद्ध
विपक्षी : भूमिसुधार अधिकारी, जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुसमेत
विषय : उत्प्रेषण
(१) कानुन बमोजिमको रीत नपुगेको मोहिलाई मोहियानी बाली बुझी रसीद दिएको भनी जग्गाधनीले भनेको र रसीद दिएको आधारमा निवेदकको निवेदन दावी खारेज गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षी कार्यालयले मिति २०४२।१।११ को फैसला निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मोही नामसारी सम्बन्धमा हामीले दिएको उजूरी बमोजिम मोही कायम गरी दिनु भनी परमादेशको आदेश समेत गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ :
२. यसमा मर्ने मोही अलगु थारु मरेकोले मोही नामसारी गरिपाउँ भनी रामकिसुन थारुका राधेकिसुन थारुको निवेदन पर्दा विपक्षी जग्गा धनीहरूलाई बुझ्दा हाजिर भई २०३७ सालदेखि रामेश्वर चौधरीबाट बाली बुझी भर्पाई दिएका छौं । अरु कानुन बमोजिम होस् भनेका र रामेश्वर चौधरीले मिति २०४१।२।२३ मा मोहीको प्रमाणपत्र– पाउँ भनी माग गरी निवेदन दिएको समेत मिसिल संलग्न देखिन्छ । अब के कति वर्षदेखि के कसको जोत भोगमा सो जग्गा छ भनी २०४१ साल मार्गमा गा.पं.सरजमीन बुझ्दा ७(ख) को कि.नं.६१५ र ७(क) को कि.नं.४६५ मा ३।४ वर्षदेखि रामेश्वर चौधरीको जोत भोगको छ भनी सबैले सरजमीन मुचुल्कामा सहिछाप गरेका समेत आधारबाट निवेदकहरूले उक्त जग्गा रु.३।४ वर्षदेखि जोत भोग नगरी अन्य व्यक्तिले गरेको देखिने भई भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम निवेदकहरु छोराहरु भएकोले मर्ने मोही अलगु थारुको मोही हक निवेदकहरूलाई प्राप्त हुने हो तापनि भू.सं.ऐन, २०२१ को दफा २५ बमोजिम एक वर्षको मुख्य बाली जोते पनि अन्य व्यक्तिको मोही हक प्राप्त हुन सक्ने अवस्था देखिने भई जग्गा धनीको बयान र सरजमीनबाट निवेदकहरूले जग्गा नजोतेको देखिँदा निवेदकहरूको दावी खारेज हुने ठहर्छ भन्ने समेत भू.सु.का.कपिलवस्तुको मिति २०४२।९।११ को निर्णय ।
३. सो निर्णय सरासर गैरकानुनी हो भन्ने सम्बन्धमा निम्न बुँदा अनुरोध गर्दछु भू.सु. लागू हुनुभन्दा धेरै अघिदेखि सो जग्गा हामीहरूका बाबु अलगुले कमाई आएको भू.सु. नियमानुसार १ नं. अनुसूची २ नं. समेत बाबुकै नामबाट प्रकाशित भएको छ । मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजका पती पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएका व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानुनी व्यवस्था भू.सं. ऐनको दफा २६(१) मा भएको र आमा प्रल्हीया थरुनी मिति २०३५।८।२० गते र बाबु मिति २०३५।९।१० गते परलोक भइसकेको र अब हामी २ छोरा मात्र भएको सो मोहियानी हक हामी निवेदकलाई प्राप्त हुने प्रष्ट छ । उक्त कुरा जग्गाधनी अर्थात् विपक्षी नं. २ तथा ३ ले आफ्नो बयानमा भनी स्वीकार गरेकोले अन्य व्यक्तिलाई पत्याउने अवस्था तथा स्थिति पनि नभएकोमा सो कानुनी व्यवस्थाको विपरीत उक्त निर्णय गरिएकोले त्रुटिपूर्ण भई बदरभागी छ । भू.सं.ऐन, २०२१ को दफा २५(२) को बमोजिमको मोही हुन ऐ.को दफा ३४ बमोजिमको कबूलियत हुनुपर्ने अनिवार्य बाध्यात्मक व्यवस्था छँदाछँदै सो बमोजिम गरेको छु भनी विपक्षीले भन्न लेख्नसम्म पनि नसकेकोमा दफा २५(२) प्रयोग गरी मोही कायम गर्ने गरेको र हाम्रो उजूरी खारेज गर्ने गरेको भू.सु.का.को निर्णय गैरकानुनी हुँदा बदरभागी छ र सो मेरै मौलिक एवं संविधानले दिएको सम्पत्ति सम्बन्धी हकमा समेत कुण्ठित तथा अवरोधित समेत भएकोले नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत रिट निवेदन दिन आएको छु जो चाहिने उत्प्रेषणयुक्त आदेश जारी गरी विपक्षीको मिति २०४२।१।११ को उक्त निर्णय बदर गरी मोही नामसारी सम्बन्धमा हामीले दिएको उजूरी निवेदनमा भू.सं. ऐन दफा २६(१) बमोजिम गरी मोहियानी हक कायम गरी दिने भनी विपक्षीको १ नं. को नाममा परमादेशको आदेश समेत जारी गरी यो रिट निवेदन टुङ्गो नलाग्ने भई निर्णय कार्यान्वयन नगर्नु गराउन भन्ने भू.सु. अधिकारीका नाममा अन्तरिम आदेश समेत गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
४. विपक्षीबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको सिंगलबेञ्चको आदेश ।
५. यसमा यो रिट निवेदनको टुङ्गो नलागेसम्म त्यस कार्यालयबाट भएको २०४२।९।१ को निर्णय कार्यान्वयन नगर्नु गराउनु भनी भू.सु.का.कपिलवस्तुका नाममा स.अ. नियमावली २०२१ को नियम ५८(३) बमोजिम तोक आदेश जारी गरी दिएको छ भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको आदेश ।
६. यसमा जग्गाधनी छन्दविक्रम शाह र भवेन्द्रविक्रम शाहका नाममा दर्ता रहेको मौजे कटुवा निगलीहवा गा.पं.वडा नं.७(ख) को कि.नं.६८५ को जग्गा विगहा ३–१५–० र ऐ.वडा नं.७(क) को कि.नं.४६५ को ज.वि.०–३–१० समेत जम्मा ३–१८–१० जग्गामा रामेश्वर मोही कायम गरेको बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदकको भनाई देखिन्छ । मोहियानी हकलाई अपुताली हकको समक्ष राख्न कदापी मिल्दैन । विपक्षीहरूले मोहीको दायित्व पूरा नगरेको हुँदा रिट निवेदन खारेजभागी छ । २०३७ साल देखि जग्गा मैले नै कमाई जग्गा धनीलाई बाली बुझाई आएको कुरा रसीदबाट र जग्गा धनीको बयान तथा सरजमीनबाट समेत प्रष्ट भइरहेको कुरामा जग्गै नकमाउनेलाई ऐनको दफा २६(१) ले विपक्षी निवेदकलाई ठेक्का दिनुका सट्टा नकारात्मक असर पारेको प्रष्ट छ । यस्तो स्थितिमा भू.सं. ऐनको दफा ३४(१) मा गरेको व्यवस्थाले भू.सु. को उक्त निर्णयमा कुनै नकारात्मक असर पार्न नसक्ने हुँदा अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम गरेको निर्णयमा कुनै त्रुटि नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने रामेश्वरप्रसाद चौधरीको लिखितजवाफ ।
७. निवेदकहरूले बाबु अलगु थारु र आमा बुटीहयाको समेत मृत्यु भइसकेको हुँदा निज बाबुको नाममा रहेको मोहियानी जग्गा भू.सं. ऐन, ०२१ को दफा २६(१) बमोजिम हाम्रा नाममा नामसारी गरिपाउँ भनी निवेदन दिई कारवाही चली आएकोमा भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने व्यवस्था भएको विपक्षी जग्गाधनीहरू उपस्थित भई निवेदकहरू मर्ने अलगु थारुका छोराहरू हुन २०३७ सालको बाली देखि रामेश्वर चौधरीले बाली बुझाउँदै आएका छन् रसीद समेत दिएको छु भनी बयान गरेको र जग्गाधनीहरूले निवेदकलाई पत्याएको छ निजहरूको नाममा नामसारी गरी दिएमा मन्जूर छ भनी किटानी साथ भन्न नसकी कानुन बमोजिम होस् भनी भनेको र रामेश्वर चौधरीसँग बाली बुझी रसीद समेत दिएको देखिँदा निवेदकहरू मर्ने मोहीको छोराहरू भएकाले निज मर्ने मोहीको हक प्राप्त हुने हो तापनि भू.सं.ऐनको दफा २५(२) बमोजिम मोहीको हैसियतले मुख्य वार्षिक उब्जनीको बालीको एक बालीसम्म कमाएको रहेछ अन्य व्यक्तिको मोही हक प्राप्त हुन सक्ने अवस्था देखिने भई जग्गा धनीको बयान र सरजमीनको आधारबाट निवेदकहरूले जग्गा नजोतेको देखिँदा निवेदकहरूको दावी खारेज हुने ठहराई यस कार्यालयबाट मिति २०४२।१।११ मा भएको निर्णय न्यायसंगत नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भू.सु.का.कपिलवस्तु तौलिहवाको लिखितजवाफ ।
८. निवेदकतर्फबाट उपस्थित भएको विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले र विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस समेत सुनियो । मुख्यत निवेदकका माग बमोजिमको आदेश जारी गर्नु मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. हामीहरूको बाबु अलगु थारु र आमा पुन्हिया थरुनी समेत परलोक भएको र बाबु अलगुका नाममा १ नं. २ नं. र ४ नं. समेत प्राप्त मोही दर्ताको विवादीत जग्गा हामी छोरा निवेदक बाहेक कोही नभएकोले कानुन बमोजिम हामीहरूका नाममा जो जे नामसारी गरिपाउँ भन्ने शुरु निवेदनमा सो जग्गा रामेश्वर चौधरीले जोतेको हुँदा निजले नै कमाई भर्पाई रसीद गरी दिएको छ भन्ने जग्गाधनी र निजैले जोतेको हो भन्ने सरजमीन तथा मैले नै जोतेको हुँ भन्ने रामेश्वर भएको आधारमा निज रामेश्वरलाई मोही कायम गर्ने गरी हाम्रो उजूरी खारेज गर्ने गरेको भू.सु.का.को निर्णय बदर गरिपाउँ भन्ने मुख्य निवेदकहरूको निवेदन जिकिर भएको पाइन्छ । सो जिकिरतर्फ हेर्दा मोही अलगु विवादीत जग्गाको मोही भएकोमा र निवेदकहरू मात्र छोरा भएकोमा कुनै विवाद देखिएन । अलगु थारुको मृत्यु भएको र निज कानुन अनुरुपको मोही हो भन्ने कुरा जग्गाधनीले गरेको बयानबाट पनि समर्थित भएको पाइन्छ । रामेश्वरप्रसादले केवल २०३७ सालको बाली बुझाई जग्गाधनीबाट रसीद गराई लिएको भन्ने सरजमीन तथा जग्गा धनीले रामेश्वरले २०३७ साल देखि कमाई आएको छैन भन्ने आधार मात्र पाइन्छ । विवादीत जग्गा भू.सं. ऐन, ०२१ को दफा २६(१) बमोजिम निवेदकहरू छोरा भएकोले मर्ने मोही अलगुको मोही हक प्राप्त हुने हो तापनि ऐ.ऐनको दफा २५ बमोजिम १ वर्ष मुख्य बाली जोते अन्य व्यक्तिको मोही हक प्राप्त हुन सक्ने देखिँदा निवेदकहरुको दावी खारेज हुने ठहर्छ भन्ने भू.सु.का.को निर्णयमा मुख्य बुँदा उल्लेख गरेको पाइन्छ । भू.सं. ऐनको दफा ३४ मा हेर्दा लिखित कबूलियत गर्नुपर्ने र दुवैको सहिछाप भएको कबूलियतको अर्को एकप्रति प्रतिलिपि जग्गावालाले स्थानीय पञ्चायतमा दाखिल गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था भएको पाइन्छ । साथै ऐनको दफा २६(१) मा मोही सम्बन्धी निजको हक निजपछि निजका पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने किटानी व्यवस्था भएको देखिन्छ । यस्तो स्थितिमा उल्लिखित कानुन बमोजिमको रित नपुगेको मोहिलाई मोहियानी बाली बुझी रसीद दिएको भनी जग्गा धनीले भनेको र रसीद दिएको आधारमा निवेदकको निवेदन दावी खारेज गर्ने गरेको भूमिसुधार कार्यालय कपिलवस्तुको निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब मृतक मोही अलगु थारुको मोहियानी नामसारी गरिपाउँ भनी दिएका निवेदकहरूका निवेदनमा कानुन बमोजिम कारवाही गरी किनारा गर्नु भनी विपक्षी भू.सु.का.कपिलवस्तुका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४३ साल श्रावण ९ गते रोज ३ शुभम् ।