शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१५ - जग्गा

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २१५            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ५६

निवेदक, वादी : दलबहादुर थापा क्षेत्री

विरुद्ध

विपक्षी, प्रतिवादी : मोहनप्रताप जंग थापा क्षेत्री

मुद्दा : जग्गा

(१)   शेषपछिको बकसपत्र बदर गराएमा बेरीत वा गैरकानूनी भए म्यादभित्र उजुर गर्नुपर्ने । हेरविचार नगर्ने हकदारलाई अपुतालीको रूपमा सम्पत्ति दिलाउन नमिल्ने ।

            बजै इन्द्रकुमारीले ८८ सालमा बकसपत्र गरी नदिएको भए त्यसतर्फ र सो बकसपत्र गरी दिएको हुँ । बदर गरी पाउँ भनी इन्द्रकुमारीले उजुर दिई रजिष्ट्रेशनबाट बदर गरी वादीलाई जनाउसमेत दिएको भएपछि त्यसतर्फसमेत कारवाई बेरीत वा गैरकानूनी भए किर्ते कागजको २१ नं. का ऐनको म्याद २ बर्षभित्र उजुर गरी बदर गराउन सक्नुपर्ने । सो नगरी चित्त बुझाई बसेको देखिन आयो । अपुतालीबाट पनि हाम्रो समेत हक लाग्ने भनी बहसमा जिकिर गरेको, सो कुरा वादीमा दावी नलिएकोले त्यसतर्फ निर्णय दिनु नपर्ने भएतापनि ९४ सालमा इन्द्रकुमारीले दिएको बिन्तीपत्रमा अरु छोराले हेरविचार नगरी कान्छा छोरा मोहनप्रताप जङ्गले हेरविचार गरी आएको भन्ने बोली परेको देखिएकोले त्यस्तो हेरविचार नगर्ने हकदारलाई इन्द्रकुमारीको सम्पत्ति दिलाउन न्यायोचित नपर्ने ।

(प्रकरण नं. १५, १६)

वादी तर्फबाट : ल्पीडर नारायणप्रसाद

प्रतिवादी तर्फबाट : कृष्णप्रसाद उपाध्याय

फैसला

      १.     ७६ सालमा बजै इन्द्रकुमारी समेतको बण्डापत्र भएकोमा बजैका भागको खेत मध्ये २ खण्ड आफुखुशी गर्ने एक खण्डमा ४ भाग गरी खानु भनी लेखीदिएकोमा पछि बजैले बदर गराए तापनि ८८।६।२६ मा अन्यायवालाले सो बण्डाको जग्गा आमाबाट लेखाई दिउँला भनी कागज गरी दिएको बजै ००७ साल आश्विन २८ गते मरेकाले जग्गा टुट्याई देउ भन्दा नदिएकाले खेत मुरी ।३० पाखा बिज ३।१७।३ सेर्मा रु. ३।८८।२ र कदमबोटे खेत मुरी ।६।१७।४ मध्ये ५ खण्डको १ खण्ड खेत मुरी ।१।७४ समेत नाउँ सारी गरी पाउँ भन्नेसमेत वादी ।

      २.    अघि बण्डा हुँदा २ खण्ड आफू खुसी गर्ने १ खण्ड ४ भाईले खानु भनी कागज गरी दिएकोले आमालाई दुःख दिएबाट आमाले ८३।१०।२७ गतेमा शेषपछिको बकसपत्र बदर गराएकोमा पछि वादी मिल्न आएकाले ८८।६।२८। मा मैले आमाबाट बण्डामा लेखिएबमोजिम लेखाई दिउँला भनी कागज गरी दिएकोमा आमाले गरी दिनु भई हेरचाह नगरेबाट बिन्तिपत्र दिई ०९४।८।२५।६ मा पर्चा हुँदा घरसारको बदर हुने भनी पर्चासमेत भईसकेकाले आमाले नै लिखत गरी दिईसकेकाले आमा मसँग रहे बसेकाबाट मेरो हक हुँदा झुट्टा उजुर गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी ।

      ३.    प्रतिवादीले गरी दिएको कागज बदर गराएको नदेखिएको र बण्डामा लेखिएको जग्गामा दावी भएको कदमबोटे खेत बदर गराएको नदेखिएकोले अपुतालीबाट वादी दावीबमोजिमको जग्गा समेत पाउने ठहराई पश्चिम २ नं. अदालतबाट ०९।८।२२।१ मा फैसला भएको रहेछ ।

      ४.    शुरुबाट गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको अपील परेमा आमाबाट बकसपत्र गरी दिएको पक्का सबुद दिन नसकेको प्रतिवादीले गरी दिएको लिखत भरपाई हुँदा समेत इन्साफ पं. २ नं. अदालतको मनासिव ठर्हछ भन्ने अपील पहिलाबाट ०९।१२।९ मा फैसला भएको रहेछ ।

      ५.    रजिष्ट्रेशनबाट पर्चा भएको थाहा भईसकेको लिखत ऐनका रीत पुगेको नभई अन्यायसँग जग्गा दिलाउने गरे भन्नेसमेत प्रतिवादीको अपील ।

      ६.    प्रतिवादीले गरी दिएको ८८ सालको कागज पास नभएको कागज गरी दिएकोमा हेरचाहा नगरेको भनी इन्द्रकुमारीले बिन्तीपत्र दिई पास नभएकाले बदर हुने भनी ९४।८।२५ मा रजिष्ट्रेशनबाट पर्चा भएको वादीले थाहा भई बिन्तिपत्र दिएको देखिएको बकसपत्र नै गरी नदिएकोमा इन्द्रकुमारीले भनेको भए किर्ते कागजका ४ नं. ले किर्ते ठहर्ने किर्ते कुरा गरेको भए ऐ. २१ नं. का म्याद २ बर्ष भित्र वादीले उजुर हुनुपर्ने उजुर गरेको नदेखिएकोले वादीको दावी पुग्न नसक्ने भई शुरु अपीलसँग राय नमिलेकाले डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१३।८।१०।१ को सिंगलबेञ्चको आदेश रहेछ ।

      ७.    ७२ सालको बण्डापत्रमा इन्द्रकुमारीको शेषपछि खान पाउने लेखिएको सो शेषपछि खाने भनी लेखी दिएको बदर गरी पाउँ भनी उसबखतका दानदातव्यको २६ नं. हालको दानदातव्य १२ नं. का ऐनबमोजिम इन्द्रकुमारीले दर्खास्त बिन्तिपत्र दिई ८३।१०।२७ गते पं. २ नं. अदालत सदर र ९४।७।२५ गते र ९४।१२।२३ गते बाट रजिष्ट्रेशनबाट बदर गर्ने ठहरी सो कुरा शेषपछि खान पाउनेलाई जनाउसमेत दिएकोमा त्यसउपर म्याद भित्र नालेस अपील जो गर्नुपर्ने गरी सो अड्डाहरूको ठहर बदर गराउन सकेको नदेखिई एउटा बिन्तपत्रसम्म दिएको । त्यसमा ऐन सवाल खड्गनिशाना लालमोहरबमोजिम गर्नु भन्ने मुताबिकको तोक लागी अरु कारवाई भए गरेको नदेखिनाले शेषपछि खान पाउने भन्ने व्यहोरा उस बखत बदर भएको जानी बुझी सोही सदर कायम राखी बसेको । ८८ सालको लिखतमा पनि आमा इन्द्रकुमारीबाट लिखत गराई दिन नसके मेरा भागबाट कट्टा गरी लिनु भनी लेखिएको । त्यसबाट पनि इन्द्रकुमारीको भागमा दावी गर्न पाउने नदेखिनाले समेत वादीको दावी झुट्टा ठर्हछ । शुरु अपीलको इन्साफ गल्ती ठर्हछ भन्नेसमेत ०१४।११।१९।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको रहेछ ।

      ८.    डिभिजन बेञ्चबाट मलाई हराई फैसला भयो । रिभ्यूको निवेदन दिएकोमा रिभ्यू नलाग्ने भनी किनारा गरियो । वीरबहादुरको र आफ्नो हकमासमेत बिन्ती चढाउन आएको छु । तिरो विषय मुद्दा र यो मुद्दासमेत दुवै रिभ्यू गरी दोहराई हेरी दिनु भन्ने हुकुमको प्रमांगी पाउँ भन्नेसमेत वादी दलबहादुरको बिन्तीपत्र ।

      ९.    मोहनप्रताप जङ्गको मुद्दा सर्वोच्च अदालतबाट हराई दिए । दोहराइ पाउँ भनी दलबहादुर थापाले श्री ५ महाराजाधिराजका हुजरमा चढाएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा सो मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेबमोजिम उक्त बिन्तिपत्र यसैसाथ राखी सूचना गरेको छु भन्ने श्री माहाराजाधिराजको प्रमुख निजी सचीवालयको ०१६।९।११ को पत्र ।

      १०.    यसमा बक्स भई आएका हुकुम पं्रमागीबमोजिम गर्नु होला भन्ने ०१६।१०।७ को श्री माननीय का.मु. प्रधान न्यायाधीशज्यूको आदेश रहेछ ।

      ११.    यसमा तारेखमा रहेका दुवै पक्षलाई राखी पेश हुन आएको प्रस्तुत मुद्दामा वादीतर्फ रहनुभएका विद्वान वकील प्लिडर नारायणप्रसाद श्रेष्ठको र प्रतिवादीतर्फबाट रहनुभएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद उपाध्यायको बहससमेत सुनी विचार गर्दा बज्यै इन्द्रकुमारीको अंश भागको गुठी बिर्ता घरबारी समेतमा ३ बण्डाको १ बण्डा बजैका शेषपछि छोराहरूले खान पाउने बण्डापत्र भएको बजैले उजुर गरी बदर भए पनि आमाबाट अर्कै लिखत गराई दिउँला, दिलाउन सकिँन भने मेरो अंशबाट खेत पाखो जग्गा कट्टी गरी लिनु भन्ने कान्छा बाबु मोहनप्रताप जंगले ८८।६।२६ गते कागज गरीदिएको । सो लिखतबमोजिम मैले पाउने बिर्ता घर कुरिया रैती दिलाई पाउँ भन्ने वादी र ८८।६।२८ मा आमाबाट बण्डामा लेखिएबमोजिम लेखाई दिउँला भनी कागज गरी दिएकोमा आमाले गरीदिनु भई हेरचाह नगरेबाट ९४ सालमा बिन्तिपत्र दिई बदर हुने पर्चा भईसकेको भन्ने प्रतिवादीको जिकिर भएको देखियो । ८८।६।२८ मा लिखत गरीदिएमा प्रतिवादी सावितै रहेकोले त्यसतर्फ विचार गरिरहन परेन ।

      १२.   अब सो लिखतको शर्त पूरा भएको छ छैन र सोबमोजिम प्रतिवादीबाट वादीले पाउने नपाउने के हो ? त्यतिसम्म निर्णय दिनुपर्ने देखिन आउँछ ।

      १३.   मेरा शेषपछि खान पाउने अघि लिखत भए पनि ८३ सालमा दर्खास्त दिई बदर गराएको । त्यसपछि मानप्रतापको छोरा दलबहादुर मेल हुन आयो र अघिको लिखत बदर गरे तापनि सोहीबमोजिम खानु भनी ८८ सालमा मानप्रतापको छोरा दलबहादुरलाई शेषपछिको लिखत गरिदिएको र हाल मेरा कान्छा छोरा बाहेक अरु कसैले मलाई हेरविचार नगरेको हुँदा सो ८८ सालको शेषपछिको बकसपत्र बदर गरी कान्छा छोरालाई लेखी दिन पाउँ भनी निज इन्द्रकुमारीले चढाएको बिन्तिपत्रमा तोक लागी आएको विचार गर्दा, ८८ सालमा दलबहादुरलाई गरी दिएको शेषपछिको लिखतका हकमा सो लिखत रजिष्ट्रेशन पास नभएको घरसारबाट मात्र लेखिदिएको भन्ने ईन्द्रकुमारीले लेखिदिएको मुचुल्काबाट देखिनाले त्यस्तो रजिष्ट्रशन पास नभएको लिखत ऐनले सदर नहुने हुँदा त्यसका हकमा बदर गर्नुपर्ने नभई रजिष्ट्रेशन पास नभएपछि त्यसै बदर भएको भन्नेसमेत व्यहोराको ९४।८।२५।६ मा रजिष्ट्रेशनबाट पर्चा भएको देखिन आएको छ ।

      १४.   नाति दलबहादुरलाई शेषपछिको बकसपत्र गरी दिएको बदर गरी पाउँ भनी बजै इन्द्रकुमारीले बिन्तिपत्र दिई सदर रजिष्ट्रेशनबाट जनाउ पुर्जी आएकोले थाहा भएको भनी वादीमा प्रष्ट उल्लेख गरी लेखिएको देखियो ।

      १५.   बजै इन्द्रकुमारीले ८८ सालमा बकसपत्र गरी नदिएको भए त्यसतर्फ र सो बकसपत्र गरी दिएको हुँ बदर गरी पाउँ भनी इन्द्रकुमारीले उजुर दिई रजिष्ट्रशेनबाट बदर गरी वादीलाई जनाउसमेत दिएको भएपछि त्यसतर्फसमेत कारवाई बेरीत वा गैरकानूनी भए किर्ते कागजका २१ नं.का ऐनको म्याद २ वर्ष भित्र उजुर गरी बदर गराउन सक्नुपर्ने, सो नगरी चित्त बुझाई बसेको देखिन आयो ।

      १६.    अपुतालीबाट पनि हाम्रोसमेत हक लाग्ने भनी बहसमा जिकिर गरेको । सो कुरा वादीमा दावी नलिएकोले त्यसतर्फ निर्णय दिनु नपर्ने भएतापनि ९४ सालमा इन्द्रकुमारीले दिएको बिन्तिपत्रमा अरु छोराले हेरविचार नगरी कान्छा छोरा मोहनप्रताप जंगले हेरविचार गरी आएको भन्ने बोली परेको देखिएकोले त्यस्तो हेरविचार नगर्ने हकदारलाई इन्द्रकुमारीको सम्पत्ति दिलाउन न्यायोचित नपर्ने ।

      १७.   उक्त लेखिएका कारण परिबन्दबाट प्रतिवादी मोहनप्रताप जंगले गरी दिएको ८८ सालको लिखत शर्तबमोजिम काम भईसकेको देखिन आएकोले सो लिखतबमोजिम काम भएको छैन लिखतबमोजिम पाउनुपर्ने बाँकी छ भनी वादीले २००८ सालमा मात्र गरेको यो उजुर उचित नदेखिएकोले २०१४।११।१९।१ का डिभिजन बेञ्चबाट भएको फैसला मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

मुद्दा दोहर्‍याएमा निवेदक, वादी दलबहादुरको डिभिजन बेञ्चबाट भएको दण्ड रु. २।६२ को हा.का. ११ नं. ले दशौद रु. २६ दण्ड हुन्छ । रुजु हुँदा असूल गर्नु भनी का.देवानी तपसीलमा लगत दिनु। ...............१

नियमबमोजिम मिसिल बुझाई दिनु । ......................२

 

इति सम्वत् २०१९ साल श्रावण १६ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु