निर्णय नं. ३१४६ - घर उठाई घर जग्गा चलन पाउँ

निर्णय नं. ३१४६ ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको दे.पु.नं. ४७९
मुद्दा : घर उठाई घर जग्गा चलन पाउँ ।
पुनरावेदक/प्रतिवादी: जनकपुर न.पं. वा.नं. ४ बस्ने तीर्थनाथ अर्याल ।
ऐ.ऐ. बस्ने ज्ञानेन्द्र नाथ अर्याल ।
ऐ.ऐ. बस्ने अमरेन्द्र नाथ अर्याल ।
विरुद्ध
विपक्षी/वादी :जि.धनुषा जनकपुर न.पं. वा.नं. २ बस्ने केदारप्रसाद उपाध्याय ।
ऐ.ऐ बस्ने हरि किर्तन शर्मा ।
फैसला भएको मिति: २०४४।४।२०।४ मा
घर जग्गा संयुक्त रुपले भोगिआएको भनी फिरादपत्रमा उल्लेख गरेको देखिन आएकोले प्रस्तुत मुद्दामा मुलुकी ऐन अदालती बन्दोवस्तको ७२ नं. आकर्षित हुने नदेखिने ।
(प्रकरण नं. १३)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना
विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरि शंकर निरौला तथा विद्वान अधिवक्ता श्री सीताराम तिवारी
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी पर्न आएको निवेदनमा यस अदालत डिभिजन बेञ्जका मिति ०४२।५।१२ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. तत्कालिन जनकपुर मैनेजरी हाल जनकपुर गुठी तहसील तथा खर्च कार्यालय तालुक जि. धनुषा जनकपुर न.पं. वा.नं. ४ अवस्थित अमरखाना देवी मन्दीर देखि उत्तर, तिरहुतिया गाछी जाने बाटोदेखि पश्चिम, हात्तिसार तथा अमरखाना जाने बाटोदेखि पूर्व, कृष्णकुमारी देखि दक्षिणको ०–०–३ धुर जग्गा म फिरादी केदारप्रसादका पिता र भोलानाथका दाजु पं. सीतारामले पूर्व मुख पारी होटेल घर बनाई भोगी आउनु भएकोमा सो होटल घर उठाई पाउँ भनी २००५ सालमा कृष्णकुमारीले उजूर गर्नु भई के कति जग्गा रहेछ नापी जाँची लिलाम बढाबढ गर्नु भन्ने तत्कालिन म.री.नी.बाट तोक आदेश भएको र सो बमोजिम भई डाँक लिलामको सूचना टाँस भएपछि २००७ सालमा व्यवस्था हेरफेर भई सो जग्गा घर डाँक लिलाम नहुने भई पं. सीताराम उपाध्याय कै भोगाधिकार रहिआएकोमा निज पछि पूर्वबाट ०–०–२ धुर जग्गामा रहेको फुसको घर र सो घरको पश्चिम ०–०–१
धुर खाली खाल्सा जग्गा समेत हामीहरूले संयुक्त रुपमा भोग गरी आएको सो घर जग्गाको उत्तर साँधको घर जग्गा हुने कृष्णकुमारीले पदमलालसंग खरीद गरेको ०–०–७ धुर जग्गा पूजा रकम लाग्ने गणेशबहादुरबाट खरीद गरिलिएका ०–०–४ धुर समेत ०–०–११ धुर जग्गा हाल तीर्थनाथको भोगमा रहेको छ । २०३४।८।२५ गते हामी फिरादीहरूको भोगमा रहेको उल्लिखित घरको दावा गरी विपक्षले आफ्नो आँगन जाने जग्गामा मिसाई हाम्रो घरको पश्चिममा रहेको जग्गाको फुसको भुँइतले पश्चिम मुखको घर पक्की सफेरी पाइखाना गेट समेत हाम्रो ०–०–१
जग्गा चापी भित्री घर बनाई सो घरको पानी हाम्रै घर माथि खसाउने गरी बनाएको हुँदा उक्त फुसको घर पाइखाना तथा गेट समेत उठाउन लगाई खिचोला मिटाई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको केदारप्रसाद उपाध्याय र भोलानाथ उपाध्यायको मिति ०३४।११।३० को संयुक्त फिरादपत्र ।
३. पद्मलाल र गणेशबहादुर संग ०–०–११ धुर जग्गा जेठी आमाले खरीद गरेको सोका अतिरिक्त सीताराम उपाध्यायको होटल जग्गा घर लिलाम गर्ने निकासा भएपछि ह.गणेशबहादुरको हकमा पनि थामिदिनु मनासिब नपर्नाले कृष्णकुमारीलाई बाटो निकास निमित्त चाहिने जग्गा आँठा सरह रकम लिने गरी छुट्याई दिने बाँकी गणेशबहादुरलाई नै थामिएको थियो । सो तोक अनुसार पूर्व पश्चिम १५ हात उत्तर दक्षिण ७ हात जग्गा कृष्णकुमारीका नाउँमा पुजा रकम लाग्ने जग्गा थप दर्ता भएको भन्ने बुझिएको छ । भू.सु.को ७ नं. फाराम कृष्णकुमारीको भोगाधिकारमा जम्मा ०–१–२ जग्गा रहेको देखिँदा हामीले पनि सोही अनुसार भोगको हौं । खिचोला गरेका छैनौं। प्रस्तुत फिराद अ.बं. ७२ र ८२ नं. प्रतिकूल हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको तीर्थनाथ अर्याल समेतको संयुक्त प्रतिउत्तर ।
४. झगडा जनिएको न.नं. ९, ११, १३ मध्ये ०–०–१ धुर जग्गा वादीको देखिन आउने हुँदा वादीको कायम रहेको न.नं. १२ को ०–०–२ धुर बाहेक नपुग हुने ०–०–१
जग्गामा प्रतिवादीहरूले घर बाटो समेत बनाई खिचोला गरेको ठहर्छ । न.नं. ९, ११, १३ को जग्गा मध्ये वादीको न.नं. १२ को घरदेखि उत्तर न.नं. १३ बाटो ०–०–०–५
कन्वा जग्गा उत्तरतर्फ बाटो र न.नं. ९ को जग्गाबाट ०–०–०–१४
कनवा समेत जम्मा ०–०–१
जग्गा वादीको हकको हुने हुँदा सो जग्गामा भएको न.नं. ९ को घर र न.नं. १३ को बाटो प्रतिवादीले नपाउने हुँदा घर उठाई बाटो समेत छाडी दिने र जग्गा चलन समेत पाउने हुँदा फिराद दावीमा ०–०–१
धुर जग्गा खिचोला गर्यो भन्ने दावी लिएको देखिँदा ४ कनवा जग्गा खिचोला गर्यो भन्ने वादी दावी लिएको ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति ०३६।४।६ को फैसला ।
५. वादी दावी बमोजिम ४ कनवा जग्गा बाहेक अरु जग्गामा खिचोला गरेको र घर उठाउने र बाटो समेत छाडी दिनु पर्ने ठहर्याएको धनुषा जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन भन्ने व्यहोराको प्र.तीर्थनाथ अर्याल समेतको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. न.नं. ९ मा बनेको घरतर्फ घर बनाउनेको ११ नं. को म्याद नाघिसकेपछि मात्र प्रस्तुत फिराद परेको देखिँदा सो तर्फ खारेज हुने र वादीको घर रहेको न.नं. १२ को घर जग्गाको उत्तरतर्फबाट न.नं. १३ को बाटो जनिएको जग्गा मध्ये वादीको न.नं. १२ को जग्गाको १ फुत्ले ठहर्ने जग्गा वादीकै हुने हुँदा सो हदसम्म प्रतिवादीले खिचोला गरेको, सो सम्मको बाटो जग्गा वादीले चलन समेत पाउने ठहर्र्छ, शुरुको इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको जनकपुर अञ्चल अदालतको मिति ०३८।५।२ को फैसला ।
७. जनकपुर अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी केदारप्रसाद उपाध्याय समेत र प्रतिवादी तीर्थनाथ समेतको छुट्टाछुट्टै निवेदन परेकोमा पुनरावेदनको अनुमति प्रदान गरिएको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।७।३० को आदेश ।
८. न.नं. ९ को फुसको घरको सम्बन्धमा मिति ०३४।८।२५ गतेदेखि बनाएको भन्ने वादीको दावी निजको साक्षीहरूबाट समर्थन हुन आएको देखिँदा घर बनाउनेको ११ नं. को म्याद भित्रै नालिश देखिन आउँछ । नक्शा कुण्डलीमा न.नं. १२ मा वादीको घर देखाएको र घरको बलेनीको विषयमा प्रतिवादीतर्फको उजूर परी आफ्नो हक कायम गराएको समेत नदेखिँदा सो बलेनीको भाग वादीको रहेछ भन्ने देखिन आउँछ । वादीको देखिने न.नं. १२ को घर टाँसिएकै पश्चिम तर्फ न.नं. ९ को घर प्रतिवादीले बनाएकोबाट वादीको ०–०–१ सवा धुर मात्र सो न.नं. १२ को घर देखि उत्तरतर्फको बलेनीको जग्गा र बाँकी न.नं. ९ को जग्गा प्रतिवादीतर्फबाट चापी घर बनाएको देखिँदा जम्मा ०–०–१
धुर जग्गामा वादीको हक कायम भई सो न.नं. ९ को जग्गाको घर बनाउन लगाई वादीले चलन पाउने समेत ठहर्र्छ, जुनकपुर अञ्चल अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।३।३० को फैसला ।
९. वादीहरूले मुख्य रुपले विवाद देखाएको पक्की चर्पी सेफ्टी ट्यांकी र ढोकातर्फ इन्साफ नगरी अ.बं. १९२ को त्रुटि गरी शुरुले वादीहरूलाई न.नं. ८, १०, ११ मा हराएको सो पनि वादी दावा मध्येकै भएको हुँदा वादीको जग्गाको कूल मात्र गणना गर्दा सो लाई समेत गर्नु पर्ने नगरी सबुद प्रमाणको सही रुपले मूल्याङ्न नभएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी तीर्थनाथ अर्याल समेतको यस अदालतमा पर्न आएको निवेदन ।
१०. वादीको हक अधिकारको जग्गा कति हो र प्रतिवादीको दर्ताको जग्गा कति हो सो को विगहा फुटको अंक दुवै पक्षको नाप जाँच गरी यकीन गर्नु पर्ने सो गरेको पाइँदैन, साथै विवादित घर कहिले बनाउन शुरु गरी कहिले तयार भएको हो सो को प्रमाणित रुपमा निश्चयात्मकक तथ्य पनि कुनै पाइँदैन । यस्तो स्थितिमा सवाधुर जग्गा वादीको हक कायम भई न.नं. ९ को जग्गाको घर उठाउन लगाई वादीले चलन समेत पाउने ठहर्याई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अ.बं. १८४(क), १८५ समेतको त्रुटि गरी गरेको देखिन आएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्जको मिति ०४२।५।१२ को आदेश ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएको वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विपक्षी वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा सीताराम तिवारीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१२. अब म.क्षे.अ.को इन्साफ मिलेको छ छैन सोको निर्णय दिनु परेको छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा विवादको घर जग्गा वादी भोलानाथ र केदारप्रसाद उपाध्यायले संयुक्त रुपले भोगिआएको भनी फिरादपत्रमा उल्लेख गरेको देखिन आएकोले प्रस्तुत मुद्दामा मुलुकी ऐन अदालती बन्दोवस्तको ७२ नं. आकर्षित हुने देखिँदैन ।
१४. झगडा जनिएको न.नं. ९ मा बनेको फुसको घरको हकमा फिरादपत्र हदम्याद भित्र परेको छ छैन भनी विचार गर्दा वादीले विवादको फुसको घर २०३४ साल मार्ग २५ गते बनाएको भनी दावी लिएको र अदालतबाट बुझिएको वादीका साक्षी लक्ष्मण झा, वैकुण्ठनाथ उपाध्याय, पद्मलाल उपाध्यायले बकपत्र गर्दा ०३४ साल मार्ग महीनामा उक्त विवादको घर प्रतिवादी तीर्थनाथले बनाएको भनी किटान साथ बकी लेखाई दिएकाबाट वादी दावी जिकिर समर्थित भएको पाइन्छ । तर २०३१ सालमा बनाएको हुँ भन्ने प्रतिवादी तीर्थनाथको भनाई भएकोमा प्रतिवादीका साक्षी सुभान राइनले उक्त घर तीर्थनाथले २०३० साल भन्दा अगावै बनाएका हुन भनेको र प्रतिवादीकै साक्षी जलिल्ह राइनले उक्त घर २०३० सालमा बनाएका हुन् भनी बकपत्र गरेको देखिन्छ । प्रतिवादीका साक्षीहरूको भनाई यसरी एकापसमा मेल खाने नभएबाट त्यसलाई विश्वास लायक मान्न सकिने स्थिति रहेन । यसप्रकार प्रतिवादीका साक्षीहरूको भनाई बकाई फरक फरक भई प्रतिवादीको जिकिर समर्थित हुन आएको पाइँदैन । २०३४ साल मार्ग २५ गते विवादको घर प्रतिवादीले बनाएको भन्ने वादीको जिकिरलाई निजका साक्षीहरूले किटानसाथ समर्थन गरेको पाइएकोले उक्त विवादित घर प्रतिवादीले २०३४ सालमा नै बनाएको भन्ने कुरा खम्बिर हुन आएकोले सो घरको हकमा २०३४।११।३० मा परेको फिराद घर बनाउनेको ११ नं. ले हदम्याद नघाई परेको भन्न मिलेन । तसर्थ हदम्याद नघाई फिराद परेको भनी सो हकमा फिराद खारेज गर्ने गरेको अञ्चल अदालतको फैसला उल्टी हुने ठहर्याएको म.क्षे.अ.को इन्साफ मिलेकै देखिन्छ।
१५. अब विवादित न.नं. ९ को जग्गाको सम्बन्धमा हेर्दा उक्त न.नं. ९ को जग्गाबाट प्रतिवादीले ०–०–१ जग्गा मिची घर बनाएको भन्ने हकमा विचार गर्दा वादीको कूल जग्गा जनकपुर मेनेजरीको पत्रबाट ०–०–३
देखिन आएकोमा विवाद देखिँदैन । वादीको घर न.नं. १२ मा भएको र सो जग्गाको क्षेत्रफल ०–०–२ मात्र भएको कुरा भइआएको नक्शाबाट देखिन्छ । यसबाट वादीको ०–०–१
जग्गा नपुग भएको प्रष्टै देखिन आउँछ । कृष्ण कुमारीले पदमलालसंग ज.वि. ०–०–७ र गणेश बहादुरसंग ज.बि. ०–०–४ गरी जम्मा ज.बि. ०–०–११ धुर जग्गा खरीद गरिलिएकोमा सो जग्गा प्रतिवादीको भोग रहेको कुरामा विवाद देखिँदैन । भइआएको नक्शाबाट कूल जग्गा ०–०–११ देखिएकै छ । नक्शाबाट घरको बलेनीको विषयमा प्रतिवादीको उजूर परी आफ्नो हक कायम गराएको समेत नदेखिँदा सो बलेनीको भाग वादीको रहेछ भन्ने देखिन आउँछ । वादीको देखिने न.नं. १२ को घर टाँसिएकै पश्चिमतर्फ न.नं. ९ को घर प्रतिवादीले बनाएबाट वादीको नपुग भएको ०–०–१
सवाधुर जग्गामा सो न.नं. १२ को घरदेखि उत्तरतर्फको बलेनीको जग्गा र बाँकी न.नं. ९ को जग्गा प्रतिवादीतर्फबाट चापी घर बनाएको कुरा सिद्ध हुन आएको छ ।
१६. तसर्थ विवादित जग्गा मध्ये न.नं. १२ को उत्तरतर्फको बलेनी र न.नं. ९ को जग्गामा समेत जम्मा ०–०–१ सवा १ धुर जग्गामा वादीको हक कायम भई सो न.नं. ९ को जग्गामा प्रतिवादीले बनाएको घर उठाउन लगाई वादीले चलन पाउने ठहर्छ कोर्ट फी राखी पुनरावेदन दायर भएकोले केही गर्न परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४४ साल श्रावण २० गते रोज ४ शुभम् ।