निर्णय नं. २१७ - जग्गा जालसाजी

निणय नं. २१७ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
फौ.फु.न. १२
अपीलाट, वादी : दुर्गाप्रसाद उपाध्याय
विरुद्ध
विपक्षी, प्रतिवादी : ईश्वरीबहादुर शाह समेत
मुद्दा : जग्गा जालसाजी
(१) चार किल्ला खोली नम्वरी कित्ता भनी राजिनामा दिएको जग्गामा बढ भए खरिदवालाकै हुने । बढ भएको जग्गा खरिदवालाको स्वीकृति बिना मालले बिक्रीवालाको नाउँमा दर्ता गर्न नमिल्ने ।
२००६ सालमा हाल आवादीमा दर्खास्त दिने केशवप्रसादले दुर्गाप्रसादलाई २००७ सालमा राजिनामा दिँदा नम्बर ४२ को दीपबहादुर सो उत्तर दाडर सो पूर्व पर्वता जाने बाटो सो दक्षिण दगर सो पश्चिमको जग्गा भनी ४ किल्ला राखी राजिनामा गर्ननपर्ने आफूले अवाद गर्नपाउँ भनी भनेको जग्गाको किल्ला बाहेक गरी दिनुपर्ने सो नगरी सम्पूर्ण जग्गा राजिनामा दिएको देखिने । त्यसरी नम्बरी कित्ता भनी राजिनामा दिईसकेपछि उक्त जग्गामा केही बढ भए खरिदवालाकै हुने हुँदा वादी दुर्गाप्रसादलाई जनाउनै नदिई प्र. को नाउँमा दर्ता गर्ने गरेको मालको पर्चा बेरीतको देखिन्छ । जालसाजी गर्यो भन्ने हकमा प्र. केशवप्रसादले ६ सालमा तत्कालिन एग्रीकल्चर अड्डामा दर्खास्त दिएको र उक्त अड्डा सदरमा सरी पछि मालबाट कारवाही हुँदा ०६ सालको दर्खास्त सदरबाट आएको भन्ने प्रमाणको मिसिलबाट देखिँदा जालसाजी गरेको नठहराएको र माथी लेखिएबमोजिम केशवप्रसादको नाउँमा दर्ता गर्ने गरी भएको मालको पर्चा बेरीतकै देखिँदा प्र. केशवप्रसादको दर्ता बदर गरी वादी दुर्गाप्रसादको नाउँमा दर्ता गर्ने ठहराएको शुरुको इन्साफ सदर गरेको श्री माननीय न्यायाधीश रत्नबहादुरको राय मनासिव ठहर्छ ।
(प्रकरण नं. १२)
फैसला
१. सर्वोच्च अदालत पूर्व दौडाहा मुकाम जलेश्वर डिभिजन बेञ्चका श्री माननीय न्यायाधीश रत्नबहादुर विष्ट श्री माननीय न्यायाधीश पशुपतिप्रसाद उपाध्यायका बेञ्चबाट राय नमिली रायबाझी भई पेश हुन आएको यो मुद्दामा,
२. प्रतिवादी केशवप्रसादबाट कं.रु ८०९ मा नं. ४२ को १द्र२ जग्गा ०७ साल जेष्ठ १५ गतेमा राजिनामा गराई लिई नालेस दिई पास गराउने डिगी्र भई पास गराइ भोग गरी आएकोमा सो जग्गा ।। जग्गा बढ्ता भएको । सो जग्गा नाप जाँच गरी बढी ठहरेको । मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने ०९ सालमै जनकपुर हुलाकद्वारा हाल आवादी दर्खास्त रजिष्ट्ररी गरी पठाएको । सो दर्खास्तमा कारबाइ नगरी प्रतिवादीहरू मिली अगाडिको मितिको दर्खास्तसमेत लिई मलाईसमेत नराखी नाप जाँच गरी बढी ठहरेको जग्गा केशवप्रसादको नाउँमा दर्ता गरेको बदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ । जालसाज गरेमा सजाय गरीपाउँ भन्नेसमेत दुर्गाप्रसाद उपाध्यायको ०१३।८।२९ को फिराद ।
३. वादीको दावाबमोजिम जालसाज गरेको होईन । २००६ सालमा सो ४२ नं.को जग्गा बढी भएकोले मेरा नाउँमा हाल आवादी दर्ता गरी पाउँ भनी एग्रीकल्चरमा दर्खास्त दिई सो एग्रीकल्चर टुटी सदर गएकोले त्यहाँबाट नआउँदा ०११ सालमा फेरि ताकेताको दर्खास्त दिई पहिले दर्खास्त समेत आएकोले बिर्ता मालबाट कारवाई भई सो जग्गा अगाडिको दर्खास्त मेरो भएकोले मरो नाउँमा दर्तागर्ने ठहराई दर्ता भएको हो जालसाज गरेको होईन भन्ने केशवप्रसादको दर्खास्त र दुर्गाप्रसादको दर्खास्तबमोजिम कारवाई भएकोमा केशवप्रसादको अगाडिको दर्खास्तबमोजिम केशवप्रसादका नाउँमा दर्तागर्ने ठहराई पर्चा खडा भई बढी ठहरेको जग्गा केशवप्रसादको हाल आवादीमा दर्ता गरी दिएको हुँ । जालसाज गरेको होईन भन्नेसमेत हाकिम ईश्वरीबहादुर समेतको प्रतिवादी ।
४. सो ४२ नं.को दीपबहादुर सो उत्तर दाडर सो पूर्व पर्वता जानेबाटो सो दक्षिण दगर सो पश्चिमको १द्र२ जग्गा केशवप्रसादबाट वादीले खरीद गरेको सो हद भित्रै बढी देखिएकोले केशवप्रसादले हकै छोडी बिक्री गरिसकेपछि दुर्गाप्रसादले खरिद गरेको हुँदा सो केशवप्रसादको नाममा दर्ता भएको २द्र४ जग्गा वादी दुर्गाप्रसादले पाउँछ । जालसाज गरेको ठहर्दैन भन्नेसमेत जलेश्वर अमिनीको ०१४।६।२८।२ को फैसला ।
५. सो बढ जग्गा मेरो नाउँमा दर्ता भएको कायम गरिदिनु पर्नेमा कायम नहुने भनी शुरुबाट भएको फैसलामा चित्त बुझेन भन्नेसमेत केशवप्रसादको अपील ।
६. प्रतिवादी केशवप्रसादको दर्खास्त ०६ सालमा परेको । वादीको दर्खास्त ०९ सालमा परेकोमा अगाडिको मिति राखी जालसाज गरे भन्नेतर्फ जालसाज गरेको ठहर्दैन भन्ने अमिनीउपर वादीले चित्त बुझाई बसेको । वादीको दर्खास्त ०९ सालमा परेको । प्र. को दर्खास्त ०६ सालमै परेकोमा त्यस विषयमा दुईटा मालबाट कारवाई भई सो बढ जग्गा प्र.का नाउँमा दर्ता गरी दिने ठहराई मालबाट ०१३।२।२२ गते पर्चा खडा भएको । सो पर्चाबमोजिम बढी ठहरेको जग्गा प्र. का नाउँमा ०१३।७।८ गतेमा चलन पुर्जी पाएको प्रमाण मिसिलबाट देखिएको हुँदा बिर्ता मालबाट कारवाई भएको थाहा पाएन कि भन्न वादीको ०९ सालको दर्खास्त सनाखत गराउने वादीलाई झिकाई ०११।११।१३ गते सनाखतको कागज गरेको मिसिलबाट देखिएको । बिर्ता मालबाट भएका फैसलाउपर जागिरदार बिर्ताबारले झगडा हेर्दाको १५ नं. का ऐनबमोजिम सो फैसलाउपर अपील सरहको फिराद दायर गरी कारवाई चलाएको फिरादबाट नदेखिएकोले वादीको दावा पुग्न नसक्ने हुँदा खारेज गरी दिने र खारेज गर्नुपर्ने नगरी अमिनीले गल्ती इन्साफ गरेको ठर्हछ भन्नेसमेत महोत्तरी अपीलको ०१५।१।४।४ को फैसला
७. सो बढ देखिएको जग्गा मेरो नाउँमा दर्ता हुनुपर्ने ठहराई अमिनीले गरेको इन्साफ कायम गरी फैसला हुनुपर्नेमा सो बढ जग्गा मैले नपाउने गरी अपीलबाट भएको फैसलामा चित्त बुझेन भन्नेसमेत वादी दुर्गाप्रसाद उपाध्यायको धरौटी अपील ।
८. प्र. केशवप्रसादले ०६ साल भाद्र ३१ गते एग्रीकल्चर आवादी अड्डामा दिए भनेको दर्खास्त अड्डाको छाप नलागेको र निजैले ०११ सालमा दिए भनेको दर्खास्तको मिति पहिले बैशाख लेखी त्यसै अक्षरलाई अर्को मसीले सच्याई आषाढ बनाई गते बार अंक पनि बेगल मसीले लेखेको देखिएको र रघुनाथ बिर्ता मालले ०१३।२।२९ मा खडा गरेको पर्चाको दुर्गाप्रसादलाई जनाउ नदिएकोले सो पर्चाउपर अपील उजुर नगरेको भन्न नहुने हुनालेसमेत शुरुका फैसलामा लेखिएका बुँदा प्रमाणले अपीलसँग राय नमिलेकाले छलफलमा प्र. केशवप्रसादलाई झिकाई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सर्वोच्च अदालत पूर्व दौडाहा मुकाम जलेश्वर सिंगलबेञ्चबाट भएको ०१५।९।२५।६ को आदेश ।
९. सर्वोच्च अदालत पूर्व दौडाहा मुकाम जलेश्वर डिभिजन बेञ्चमा पेश हुँदा तेरो मेरो पर्न आएपछि हक बेहकमा उजुर गर्न जानु भनी सुनाउनु पर्नेमा सो केही नगरी बिर्ता मालले हक बेहक गरी पर्चा गरेको बेमनासिव हुँदा सो पर्चा सहितको कारबाइ खारेज हुने र सो बिर्ता मालको पर्चा खारेज भएकोले हाल परेका वादीबाट जालसाजीतर्फ कसैलाई केही गरी रहन नपरी हाल आवादी जग्गा पाउँ भन्ने हक बेहकमा अर्को उजुर परेका बखत ठहरेबमोजिम निर्णयगर्ने वादीको धरौटी अपील भएको र रायतर्फ निर्णय हुन मिसिल सर्वोच्च अदालतमा जाने भएकोले फुल बेञ्चको निर्णयको जनाउ झिकी आएका प्र. केशवप्रसादलाई दिने गरी हाल निज केशवप्रसादलाई तारेखबाट छुटाई दिनु भन्नेसमेत ०१३।१०।२१ को माननीय न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको आदेश ।
१०. प्र. केशवप्रसादले ०६ सालमा दिए भनेको दर्खास्तमा अड्डाको छाप नभएको ०११ सालको दर्खास्तमा महिना सच्याएको र गते बारको अंक बेगल मसीले लेखेको देखिएकोबाट समेत प्र.केशवप्रसादको जालसाजी काम देखिन आउने । ०६ सालको दर्खास्त देवीभवन गोश्वाराबाट आएको भन्ने कुरा बिर्ता मालका हामिक समेतको प्रतिवादी भएबाट त्यसतर्फ बिर्ता रघुनाथपुर मालको जालसाजी भन्न नभई खाली ०१३।२।२९ का पर्चाको जनाउ वादी दुर्गाप्रसादलाई दिनुपर्ने नदिई एकतर्फीबाट प्र. केशवप्रसादका नाउँमा दर्ता गरी दिनु भनी पुर्जी गरी दर्ता गराएकोसम्म बिर्ता मालले ऐन छाडी काम गरेको सदर मान्न नहुने हुँदा ऐन छाडी काम गरेमा अ.बं. २८९ नं. ले बिर्ता मालका हाकिम प्र. ईश्वरीबहादुर समेतलाई तजविजी रु. १। एक जरिवाना गर्नेसमेत इन्साफ शुरु जलेश्वर अमिनीको मनासिव । अपीलले खारेज गरेको गल्ती ठहर्ने बिर्ता मालको पर्चा सहितको कारवाई खारेज भएकोले हाल परेका वादीबाट जालसाजीतर्फ कसैलाई केही गर्न नपर्ने । हाल आवादी जग्गा पाउँ भन्ने हक बेहकमा उजुर परेका बखत ठहरेबमोजिम निर्णय गर्ने भन्ने भनी श्री माननीय न्यायाधीश पशुपतिप्रसादबाट राय भएकोले सर्वोच्च अदालत नियमावली, २०१३ को ३१ (क) बमोजिम निर्णयका लागी फुल बेञ्चमा पेश गर्नुपर्ने हुँदा यो आदेश सहितको मिसिल सर्वोच्च अदालतमा पठाई फुल बेञ्चमा पेश भई भएको जनाउ प्र. केशवप्रसादलाई दिने गरी हाल निजलाई तारेखबाट छुटाई दिनु भन्ने श्री माननीय न्यायाधीश रत्नबहादुर विष्टज्यूबाट भएको ०१५।१०।२१ को आदेश ।
११. प्र. केशवप्रसादको ०६।५।३१ को र ०११।३।३ को र वादी दुर्गाप्रसादको ०९ साल भाद्र बेगतेको हाल आवादीको दर्खास्तमा लेखिएको किल्ला र ०७।२।१५ का घरसारको वादीको राजिनामाको किल्ला समेत प्रष्ट देखिने गरी राजिनामाका किल्ला भित्र बाहिर हाल आवादी दर्खास्तको किल्ला के पर्छ सो समेत देखिने गरी दुवै थर झगडीयासमेत राखी साक्षीसमेत लिई ऐन सवालको रीतपुर्याई नक्सा सरजमिन गरी प्र. केशवप्रसादलाई तारेख तोकि पठाईदिनु भनी जिल्ला अदालत महोत्तरीलाई लेखी पठाई नक्सा र प्र.केशवप्रसाद आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत फुल बेञ्चबाट भएको ०१८।३।६।३ को आदेश ।
१२. यसमा प्रमाणमा आएको रघुनाथपुर मालको हाल आवादी मिसिलसमेत हेरी वादीको धरौटी अपील भएको र प्रतिवादी केशवप्रसाद उपाध्याय मरी मुद्दा सकार गर्ने रामप्रसाद उपाध्यायलाई राखी प्रस्तुत मुद्दा हेर्दा यस मुद्दामा मालको कारवाई जालसाजी पूर्ण छ वा छैन र दर्ता बदर हुन्छ वा हुँदैन ? भन्ने प्रश्नको निर्णय दिनुपर्ने देखिन्छ । वादी दुर्गाप्रसाद प्र. केशवप्रसाद दुवैको हाल आवादीको दर्खास्त परी कारवाई भई केशवप्रसादको नाउँमा दर्ता हुने ठहर्छ भन्ने पर्चा भएको प्रमाणको मिसिलबाट देखिनाले तेरा मेराको निर्णय गरेको भन्ने दोष माललाई लाग्न नसक्ने हुँदा पर्चा खारेज गरी तेरा मेरामा उजुर गर्नु जानु भनी सुनाउन पर्ने अवस्था नदेखिएकोले इन्साफतर्फ विचार गर्दा, २००६ सालमा हाल आवादीमा दर्खास्त दिने केशवप्रसादले दुर्गाप्रसादलाई २००७ सालमा राजिनामा दिँदा नम्बर ४२ को दीपबहादुर सो उत्तर दाडर सो पूर्व पर्वता जाने बाटो सो दक्षिण दगर सो पश्चिमको जग्गा भनी ४ किल्ला राखी राजिनामा गर्नु नपुर्ने आफूले आवद गर्न पाँउ भनी भनेको जग्गाको किल्ला बाहेक गरी दिनु पर्ने, सो नगरी सम्पूर्ण जग्गा राजिनामा दिएको देखिने । त्यसरी नम्बरी कित्ता भनी राजिनामा दिईसकेपछि उक्त जग्गामा केहि बढ भए खरीदवालाकै हुने हुँदा वादी दुर्गाप्रसादलाई जनाउ नै नदिई प्र. को नाउँमा दर्तागर्ने गरेको मालको पर्चा बेरीतको देखिन्छ । जालसाजी गर्यो भन्ने हकमा प्र. केशवप्रसादले ०६ सालमा तत्कालिन एग्रीकल्चर अड्डामा दर्खास्त दिएको र उक्त अड्डा सदरमा सरी पछि मालबाट कारवाई हुँदा ०६ सालको दर्खास्त सदरबाट आएको भन्ने प्रमाणको मिसिलबाट देखिँदा जालसाजी गरेको नठहराएको र माथी लेखिएबमोजिम केशवप्रसादका नाउँमा दर्ता गर्ने गरी भएको मालको पर्चा बेरीत कै देखिँदा प्र.केशवप्रसादको दर्ता बदर गरी वादी दुर्गाप्रसादको नाउँमा दर्ता गर्ने ठहराएको शुरुको इन्साफ सदर गरेको श्री माननीय न्यायाधीश रत्नबहादुरको राय मनासिव ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी दुर्गाप्रसाद उपाध्यायकै निजलाई शुरु जलेश्वर अमिनीका ०१४।६।२८ का फैसलाको जग्गा जितेमा भनी सलामी कं रु. १ र जालसाजीतर्फ झुठा उजुर गरेतर्फ लिने गरेको रु. २।। समेत जम्मा रु. ३।। लिने गरेकोमा अपीलका ०१५। १।४ का फैसलाले कं.रु. २।। लाग्ने भएकोले लाग्ने कं रु. २।। कट्टा गरी वाँकी रु. १ फिर्ता दिने गरेकोमा हाल शुरुके इन्साफ मनासिव भएकोले महोत्तरी अपीलको लगत काटी शुरुको लगत कायम गर्नु भनी जलेश्वर अमिनी लाई पुर्जी गर्ने का.दे.त मा लगत दिनु ............................१
देहायका मानिसके निजहरूलाई शुरु अमिनीका ऐ मितिका फैसलाले गर्ने गरेको देहायबमोजिमको जरिवाना नलाग्ने भनी ऐ अपीलका ऐ. मितिका फैसलाले फिर्ता दिने गरेकोमा हाल लाग्ने भएकोले अपीलको लगत काटी शुरु अमिनीको लगत कायम गर्नु भनी ऐ.ऐ ...........................२
केशवप्रसाद उपाध्याय के.कं.रु. १, ईश्वरीबहादुर शाहा के.क.रु. ।, श्री नारायण कायस्त के.।, केशवबहादुर देवकोटा ।, बद्री श्रेष्ठ के ।, मधुरी लाल कायस्त के।
वादी दुर्गाप्रसाद उपाध्यायके निजलाई शुरुका ऐ मितिका फैसलाले प्रतिवादी केशबप्रसादका नाउँमा दर्ता भईरहेको जग्गा विगाहा २द्र४। अपीलको म्याद नाघेमा मितिले ऐनका म्याद भित्र जग्गा चलन माग्न आएमा जग्गाको तिरो कायम रही दं. स का ४७ नंका ऐनबमोजिम दशौद लिई सो जग्गा वादीका नाउँमा पुर्जी गरी दिई चलन चलाई दिने गरेकोमा ऐन अपीलका ऐ मितिका फैसलाले केशवप्रसादकै नाउँमा भएको दर्ता कायमै राख्ने गरेकोमा हाल शुरुको इन्साफ कायमै राख्ने गरेकोले ऐ अपीलको ऐ मितिको फैसला को लगत काटी शुरु अमिनीको फैसलाबमोजिम लगत कायमगर्नु भनी जलेश्वर इलाका अदालतलाई पुर्जी गर्ने ऐ.ऐ..........................३
प्रतिवादी केशवप्रसाद उपाध्याय मरी मुद्दा सकार गर्ने रामप्रसाद उपाध्याय के शुरु अमिनीउपर अपील गरेमा शुरु दण्ड कं.रु. १ को दशौद कं.रु. को प्रकाशित गजेटबमोजिम ने.रु. ।१६ दण्ड हुन्छ वारेस हुँदा असुल गर्नु भनी ऐ.ऐ.............४
वादी दुर्गाप्रसादले यस अदालतमा अपील दिँदा जलेश्वर अमिनी तहसिलमा १५।२।१४ मा राखेको धरौट कं.रु. चार आना नलाग्ने हुँदा निजलाई फिर्ता दिनु भनी जलेश्वर अमिनी तहसिललाई पुर्जी गर्नु ऐ.ऐ.............................५
महोत्तरी अपीलका देहायका मानिसके उल्टीमा रिकर्ड राख्नु भनी सर्वोच्च अदालत रजिष्ट्रार अफिसमा लेखि पठाई दिनु ........६
हा.सु.ईश्वरी जं.बहादुर सिंह १, अ.ना.सु.धनानाथ उपाध्याय १, वि.कुलानन्द झा १
वादी दुर्गाप्रसादको धरौटी अपील भएकोले मुद्दा छिनिएको जनाउ दिई मिसिल नियमबमोजिम बुझाई दिनु....७
इति सम्वत् २०१९ साल मार्ग २२ गते रोज ६ शुभम् ।