निर्णय नं. २७१२ - अंश नामसारी

निर्णय नं. २७१२ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको दे.पु.नं.४६३
फैसला भएको मिति : २०४३।४।१६।५ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही गा.पं.अमुवा वडा नं.३ बस्ने सहदेव थारुको मु.स. गर्ने ऐ.की श्रीमती उदाशी थरुनी
विरुद्ध
विपक्षी/वादी : ऐ.बस्ने दिर्गिनारायण थारुसमेत
मुद्दा : अंश नामसारी
(१) मर्ने व्यक्तिको मुद्दा सकारै नभई मृतकको वादी प्रतिवादी दुवैपक्षको बज्यै तथा आमा नाताकी अंशियार हुँदा निजका मृत्यु पछि निजको अंश हक यिनै वादी प्रतिवादीकै हकमा स्वतः निहित भइसकेको अवस्थामा मृतक भइसकेकी वादीले अंश पाउने गरी गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराको निर्णयमा समेत चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी निवेदकले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा जिकिर संक्षिप्तमा निम्न प्रकार छ :
२. मुल पुरुष हुँदाको छोरा महेश निजकी श्रीमती म वादी सोमनी थरुनी र महेशका २ छोरा क्रमशः भन्तु थारु र दिर्गिनारायण थारु भन्तुको छोरा प्रतिवादी सहदेव हुन बाजे दुहा थारु एवं महेश भन्तु २००७ सालमा भन्दा अघि नै आफ्ना कालगतिले परलोक हुनुभएकोले ज.मि. विपक्षी सहदेवका नाममा दर्ता भई हामी वादी प्रतिवादीहरू एकासगोल सराकतमा बसी खति उपति जीवन आर्जन गरी आएको अवस्था २०३७ साल बैशाख महीना देखि विपक्षीले हामीलाई कूदृष्टि गरी झगडा कलह गरी रहनु भएकोले निजको अन्याय सहन नसकी प्रमाणका मानिसका रोहवरमा रीतपूर्वकको अंशबण्डाको कागज लेखी हामीहरूका नाममा पास गरी देउ भन्दा मेरा नाममा जग्गा जमीन दर्ता छ जग्गा जमीन समेत केही दिन्न भनेकोले अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती लिई सम्पूर्ण सम्पत्तिमा ३ तीन भाग गरी १ एक भाग विपक्षीलाई परसारी २ दुई भाग हामी वादीहरूलाई दिलाई नामसारी समेत गराई पाउँ भन्ने समेत दावी ।
३. वादीले उल्लेख गरेको वंशावली मिलेको छैन । उल्लिखित अंशबण्डामा दिर्गिनारायण, भागिरथीगया, पारसनाथ, प्रेमबहादुर, चन्द्रीका सहदेव कोही मानिस र मेरी छोरी समेत जीवित छौं । आ–आफ्ना खति उपतिमा बसी पैतृक जग्गा जमीन वादी छुट्टाछुट्टै बसी आएका बखत मेरा लोग्ने सहदेवले तथ्य सम्झिन मौजे मधुवनीको र आठ आना जिमिदारी पाल्पा निवासी ईश्वरीलाल राजभण्डारीसँग मोल रु.१०,२७२।– मा राजीनामा गराई लिनु भयो । सहदेवले गरेको एकलौटी खति उपतिमा यी वादीहरूको सम्बन्ध सरोकार समेत नभएकोले साहू ईश्वरीलालले पनि वादीलाई खोज्न प्रयोजन परेन । यसरी भिन्ना भिन्नै भई बसी पैतृक सम्पत्ति भाग हिस्सा लगाई जोत भोग गरी आएका वादीले सगोलमा छौं बण्डा भएका छैन भन्ने दिउँसै रात पार्नु हो । हामीले वादीहरूलाई अंश दिन पर्ने छैन वादीहरूले हामीसँग अंश गरी पाउने हकमा छैनन् । अंश दिनु पर्दैन भन्ने समेत व्यहोराको उदासी थरुनीको प्रतिउत्तरपत्र ।
४. वादीका साक्षी टंकु थारु जगतनारायण र प्रतिवादी साक्षी भगोती थारु, नारायण थारुको बकपत्र रहेछ ।
५. वादी प्रतिवादीको छुट्टाछुट्टै बिक्री व्यवहार भएको सिद्ध हुन आयो अंशबण्डाको ३० नं. मा बण्डा पत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल बण्डा गरी छुट्टी आफ्नो आफ्नो भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज गराइसकेकोमा वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार र प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र भएको छैन र असल कमसल भयो भन्न पाउँदैन भन्ने उल्लेख भएको पाइन्छ । यस स्थितिमा वादीलाई सगोल रहेको भन्न मिलेन । तसर्थ अंश दिलाई नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको फैसला ।
६. हामीलाई हराई गरेको फैसलामा चित्त बुझेन उल्टाई पाउँ भन्ने समेत व्यहोराको सोमती थरुनी समेतले पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरामा दिएको पुनरावेदन ।
७. अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको सिंगलबेञ्चको आदेश ।
८. यसमा नारायण थारुले जग्गा बिक्री गरेको देखिन्छ । आफूले पाएको जग्गा बिक्री गरेको अवस्थामा अंश भाग पाउँ भन्ने दावी पुग्न सक्ने भएन । अब सोमतीको हकमा विचार गर्दा निजले कुनै अंश भाग पाएको भन्ने देखिएन । यस स्थितिमा अंश भाग पाउने नै भयो । वादी सोमती थरुनी र सहदेव थारुलाई अंशियार कायम गर्दा प्रतिवादीले पेश गरेको तायदातीबाट वादी सोमती थरुनीले २ भागको एक भाग अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा– यसमा अनुमति अंशियार भएको भनी निवेदकले प्रतिवाद गरेकोमा अन्य अंशियार भनेकालाई नबुझी प.क्षे.अ.ले निर्णय गरेको देखिन्छ । प्रतिउत्तरमा उल्लेख भएका अंश अंशियारलाई अ.बं.१३९ नं. बमोजिम नबुझी निर्णय गरेकोबाट अ.बं.१३९ नं. को प्रत्यक्षत कानुन त्रुटि गरेकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको आदेश ।
१०. पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको छ, छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. यसमा मूल पुरुष दुहा थारुका छोरा महेश थारु निजकी श्रीमती म वादी सोमती थरुनी र महेशका दुई छोरामा भन्तु थारु १ दिर्गीनारायण थारु र भन्तु परलोक भई निजका छोरा यी प्रतिवादी सहदेव हुन दिर्गी थारु र भन्तु परलोक भइसकेका जग्गा जमीन प्रतिवादी सहदेवका नाममा दर्ता भइरहेकोले अंश देउ भन्दा नदिएकोले सम्पूर्ण सम्पत्तिमा ३ भाग लगाई १ भाग विपक्षीलाई परसारी २ अंश हामी वादीहरूलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सहदेव थारुको बज्यै सोमती र काका दिर्गीनारायण थारुका वादीमा मुख्य जिकिर लिएको पाइन्छ । दिर्गिनारायणले आफूले अंशमा पाएको जग्गा बिक्री गरी खाई सकेको समेतका आधारमा अंश भाग पाउँ भन्ने दावी नपुग्ने गरी क्षेत्रीय अदालतले गरेको निर्णयमा दिर्गीनारायणले चित्त बुझाई बसेकोले त्यसतर्फ केही बोली रहन परेन । अब प्रतिवादी सहदेव यी बज्यै सोमतीका हकमा विचार गर्दा प्र्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले मिति २०४१।११।८।२ मा निर्णय गरी निज सोमतीले अंश पाउने ठहर गरेको पाइन्छ । क्षेत्रीय अदालतमा पुनरावेदन गर्ने वादी सोमती थरुनी सो फैसला नहुँदै चलिरहेकै अवस्थामा मिति २०४१ साल पौष १० गतेमा नै आफ्ना कालगतिले परलोक भएको कुरामा पञ्जिकाधिकारीको कार्यालय रुपन्देहीबाट समेत प्रमाणित गरी निर्विवाद रहेको देखिन्छ । सो वादी पुनरावेदक सोमतीको मृत्यु पश्चात कसैले मुद्दा सकार गरेको पनि पाइँदैन । यस्तो स्थितिमा मर्ने व्यक्तिको मुद्दा सकारै नभई मृतक व्यक्तिको वादी प्रतिवादी दुवैपक्षको बज्यै तथा आमा नाताकी अंशियार हुँदा निजका मृत्यु पछि निजको अंश हक यिनै वादी प्रतिवादीहरूकै हकमा स्वतः निहित भइसकेको अवस्थामा मृतक भइसकेको वादी सोमनी थरुनीले अंश पाउने गरी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम मृतक वादी सोमनी थरुनीले अंश पाउने गरी प्रतिवादीले दिएका मिति २०४१।६।२८ का तायदातीमा लेखिएका सम्पत्तिको जम्मा बिगो रु.४४३६१।– मा २ भाग गरी १ भाग २२१८०।५० को चल अचल सम्पत्ति नरम गरम मिलाई वादी सोमनी थरुनीलाई अंश छुट्याई दिनु भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसला समेत तपसील खण्डमा लेखिएका सम्पूर्ण कलममा अब सो इन्साफ उल्टी भई सो बमोजिम गर्नु नपरेकोले सो सम्पूर्ण कलमको लगत काटी दिनु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि.अ. मा लगत दिनु ....१
वादी सोमनी थरुनीले दाखिल गर्नुपर्ने कोर्टफी रु.५७८।६१ र पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३०।७५ समेत प्रतिवादी उदाशी थरुनीबाट लिने भनेको कलममा अब सो बमोजिम गर्नु परेन सो कलमको पनि लगत कट्टी गरी दिनु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखी पठाउनु काठमाडौं जिल्ला अदालतमा लगत दिनु.....२
पुनरावेदक प्रतिवादी सहदेवको मु.स.गर्ने उदाशी थरुनी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भएकोले निजले यस अदालतमा पुनरावेदन गर्दा मिति २०४२।५।२१ मा धरौट राखेको कोर्टफी रु.३०।– म्यादमा भराई पाउँ भनी दर्खास्त परे दस्तूर केही नलिई निज उदाशी थरुनीलाई भराई दिनु भनी का.जि.अ.मा लगत दिनु.... ३
पुनरावेदक उदासीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.८६।८० भराई पाउँ भनी वादीको जेथा देखाई दर्खास्त परेमा वादीबाट प्रतिवादी उदाशी थरुनीलाई कानुनको रीत पुर्याई भराई दिनु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.... ४
मिसिल नियमानुसार गरी बुझाइदिनू ..... ५
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४३ साल श्रावण १६ गते रोज ५ शुभम् ।