शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७१३ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: भाद्र अंक:

निर्णय नं. २७१३     ने.का.प. २०४३     अङ्क - ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् ०४२ सालको रिट नं. २३४०

आदेश भएको मिति : २०४३।४।२०।२ मा

 

निवेदक : कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित का.न.पं.वडा नं.१० बानेश्वर स्थित होटल एभरेष्ट इण्टर नेशनल लिमिटेडको तर्फबाट अधिकार प्राप्त गरेको व्यवस्थापक एभरेष्ट सेराटन होटलका पर्सनल मैनेजर ईश्वरलाल मानन्धरसमेत

विरुद्ध

विपक्षी : विष्णुप्रसाद न्यौपाने का.न.पं.वडा नं.१० नयाँ बानेश्वरसमेत

 

विषय : उत्प्रेषण

 

(१)         निवेदकलाई बर्खास्त गर्ने गरी भएको निर्णय उपर परेको पुनरावेदन मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(४) अनुसार कारखाना निरीक्षकले स्वयं गर्नुपर्नेमा सो बमोजिम नगरी पेश भएको टिप्पणीमा उपरोक्त राय अनुसार भनी सदर गरेको देखिन आएकोले न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. ९)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना

विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षीको मिति २०४१।९।२६ को टिप्पणी सदर निर्णय उत्प्रेषणको  आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ :

२. म होटल एभरेष्ट सेराटनमा ३ जुन १९८२ देखि काम गर्दै आई आफ्नो काम अनुसार ६ जुन १९८३ मा प्रमोशन समेत पाई काम गर्दै आएकोमा मलाई बर्खास्तको सूचना कुनै पनि नदिई हाजिर हुन पनि नदिई जबरजस्ती प्रहरी समेत लगाई बिना कारण कामबाट निकालिएकोले कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(३) मा निर्दिष्ट समयभित्र उजूर गरेको छु गैरकानुनी कारवाही बदर गरी पुनः आफ्नो पदमा बहाल गरिपाउँ भनी क्यासियर विष्णुप्रसाद न्यौपानेले मिति २०४१।५।१० मा दिएको उजूरीमा यसमा संलग्न कागजात अध्ययन गर्दा उजूरवाला श्री न्यौपानेलाई होटल एभरेष्ट सेराटनले मिति ३०।७।१९८४ को पत्रद्वारा गरेको निष्कासन त्रुटिपूर्ण देखिएकोले उक्त मितिको निष्कासन पत्र बदर ठहर भएको व्यहोरा जानकारी होटल एभरेष्ट सेराटनलाई गराई गरी सदर भन्ने समेत व्यहोराको कारखाना निरीक्षक श्रम कार्यालय बागमती अञ्चल श्रम विभागको मिति २०४१।९।२६ को टिप्पणी सदर निर्णय ।

३. यो निर्णयमा चित्त बुझेन भनी होटल एभरेष्ट सेराटनले दिएको पुनरावेदनमा यसमा प्रस्तुत विषयमा प्रचलित नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ अनुसार यस मन्त्रालयमा पुनरावेदन लाग्न सक्ने नदेखिएकोले सोही व्यहोरा जानकारी दिने मिति २०४२।१।३१ मा निर्णय भएकोले अनुरोध गरेको छु भन्ने समेत व्यहोराको यस श्रम तथा सामाजिक कल्याण मन्त्रालयको मिति २०४२।२।१ मा होटल एभरेष्ट सेराटनलाई दिएको जानकारी पत्र ।

४. विपक्षी विष्णुप्रसाद यस होटलको क्यासियर पदमा काम गर्दै आउनु भएकोमा २६ जुन १९८४ को दिन आफ्नो ड्यूटीका समयमा काम नगरी सुती राखेको होटलको महाप्रबन्धकले देखेको र निजसँग स्पष्टीकरण माग्दा गल्ती लुकाउने प्रयास गरी गरेको स्पष्टीकरण पेश गरेको पनि सन्तोषजनक नभएकोले पुनः खराब आचरण नगर्न लिखित नसिहत दिइएको थियो यसरी पटक पटक खराब आचरण गरेकोले बाध्य भई कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ तथा होटलको सेवा शर्त र नियुक्तिपत्रको शर्त अन्तर्गत रही निजलाई सेवाबाट बर्खास्त गरिएकोमा निजले कारखाना निरीक्षक समक्ष दिएको उजूरीमा ३०।७।१९८४ को पत्रद्वारा गरेको निष्कासन त्रुटिपूर्ण देखिँदा सो निष्कासन पत्र मिति २०४१।९।२६ को निर्णयानुसार बदर ठहर भएको भन्ने पत्र मिति २०४१।९।२६ मा विपक्षी सो उपर पुनरावेदन गरेकोमा पुनरावेदन नलाग्ने भन्ने मन्त्रालयको सूचना प्राप्त भयो । सो निर्णय त्रुटिपूर्ण भएको मुख्य कुरा के हो त भन्ने कारखाना निरीक्षकले आफैंले कागज हेरी प्रमाणको मूल्याङ्कन गरी निर्णय गरेको नभई पेश गरिएको राय अनुसार ठहर गरेको प्रष्ट न्यायिक वा अर्धन्यायिक निर्णय गर्नुले अरुको प्रभावमा नपरी आफ्नै न्यायिक मन प्रयोग गरी निर्णय गर्नु पर्दछ सो बमोजिम नगरेको निर्णय न्यायिक मनको अभावले त्रुटिपूर्ण छ । अ.बं. १८४(क) १८५ नं. ले निर्दिष्ट गरेको बमोजिम निर्णय गर्नुपर्ने कर्तव्य भएको विपक्षी कारखाना निरीक्षकले सो बमोजिम गरी टिप्पणी सदर गरेको निर्णय उक्त उल्लिखित कानुन विपरीत भई त्रुटिपूर्ण हुँदा बदरभागी छ । आफ्नो काम दायित्वमा हेलचक्र्याई गरी खराब आचरण गरेकोमा नसिहत दिएकोमा निर्विवाद छ । सो नसिहत बुझ्न इन्कार गरी व्यवस्थापनको आदेश पालना नगरी अनुशासनहिन काम गरेको समेत हुँदा टिप्पणीलाई नै निर्णय माने पनि उक्त कानुनको विपरीत भई त्रुटिपूर्ण छ । खराब आचरण गरेमा पहिलो पटक नसिहत दिइसकेकोमा सो पछि खराब आचरण गरेमा बर्खास्त गर्नु अघि स्पष्टीकरण माग्न नपर्ने बिना सूचना बर्खास्त गर्न सकिने व्यवस्था नेपाल कारखाना र  कारखानाको काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ ले गरेको छ । तसर्थ सुनुवाईको मौका नदिई बर्खास्त गरेको मिलेन भन्ने टिप्पणी र बर्खास्त गरेको कानुनी त्रुटि देखिएको भन्ने कारखाना निरीक्षकको निर्णय गैरकानुनी भई त्रुटिपूर्ण छ । सो निर्णयबाट होटलले विष्णुप्रसादलाई बर्खास्त गरेको त्रुटि भएको भनी गरेको निर्णय बदर गराउन दफा ५९ को अन्तर्गत पुनरावेदन नलाग्ने भनी मन्त्रालयले लेखेबाट अन्य उपचारको व्यवस्था नहुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत निवेदन गरेको छु । उत्प्रेषणयुक्त अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरी कारखाना निरीक्षकको मिति २०४१।९।२६ को टिप्पणी सदर निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

५. विपक्षीबाट लिखितजवाफ झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको सिंगलबेञ्चको आदेश ।

६. यसमा निर्णय आधारयुक्त छ । निवेदकको म एक कामदार हुँ र साथै श्रम कार्यालयले कानुन सबूद प्रमाणको मूल्याङ्कन गरी निर्णय गरेको छ । आत्मगत रुपबाट कसूर र खराब आचरण कायम गर्दैमा कायम हुने होइन । सो खराबको वस्तुनिष्ठ आधार पनि देखिनु पर्दछ । बिनाआधारै मलाई रिट निवेदकले निष्कासन गर्न खोजिएको छ । निवेदकको कथन काल्पनिक मात्र छ । यसरी बिना कारणै निष्कासन गर्ने हो भने कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को कुनै तात्पर्य रहने छैन । केवल आफ्नो दुई कर्मचारी राख्‍न मात्र काल्पनिक कुराको रचना भएको हो पत्र बुझ्न इन्कार गरेको भए स्थायी ठेगानामा पठाउन पनि सक्ने नै हुँदा केवल मलाई प्रतिवादको मौका मात्र नदिएको हो । निवेदकले देखाएका तथ्यहरू घटित एवं सत्य होइनन् त्यसकारण रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विष्णुप्रसादको लिखितजवाफ ।

७. यसमा के कस्तो आधारबाट नोकरीबाट निष्कासन गरेको हो भनी होटललाई लिखित रुपमा पेश गर्न लेखी पठाउनुका साथै नसिहत र निष्कासन गर्दा के कस्ता कानुनी आधारहरू अपनाइएका छन त्यसको विवरण पेश गर्न लेखी पठाएको र प्राप्त कागजात हेर्दा नसिहत पत्र र सरुवा निष्कासन समेतका पत्रहरू नबुझेका देखिनुका साथै सरुवा गरेको स्थानमा काम गर्न इन्कारी गरी व्यवस्थापक आदेश निर्देशनको पालना नगरेको भए तापनि सेवाबाट अवकाश गर्नु अघि भन्न पाउने सो विषयमा प्रमाण पेश गर्न पाउने अवसर दिनुपर्नेमा विपक्षी रिट निवेदक र होटलले सो दिएको नदेखिएकोले प्राकृतिक न्याय सिद्धान्त विपरीत निज न्यौपानेलाई विपक्षी होटलले ३०।७।१९८४ को पत्रद्वारा गरेको निष्कासन त्रुटिपूर्ण देखिएको हुँदा उक्त मितिको निष्कासन पत्र यस कार्यालयको मिति २०४१।९।२६ को निर्णयद्वारा बदर ठहर भएको हुँदा ऐनको दफा ५१ बमोजिम न्यायिक निर्णय भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको श्रम कार्यालय बागमती अञ्चलको लिखितजवाफ ।

८. निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले र विपक्षी कार्यालय तर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु. सरकारी सहन्यायाधिवक्ता श्री मोहनमणि दाहालले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९. विपक्षी कारखाना निरीक्षकले न्यायिक मनको प्रयोगै नगरी निवेदकलाई हराई अनुशासनमा नरही आफ्नो कामको जिम्मावारी नै बहन नगर्ने गरेको प्रमाणित आरोपमा निष्कासन गरेका कर्मचारीलाई सफाई दिने गरी तल्लो कर्मचारीले ठहर गरी गरेको टिप्पणी सदरको निर्णय गरी कानुन विपरीत गरेको निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको मुख्य निवेदक होटल एभरेष्ट सेराटनको जिकिर गरेको पाइन्छ सो निवेदकका जिकिर बमोजिम गर्न मिल्ने नमिल्ने के रहेछ भनी त्यसतर्फ यसमा निवेदकलाई बर्खास्त गर्ने गरी भएको निर्णय उपर परेको पुनरावेदन मजदूर सम्बन्धी ऐन,  २०१६ को दफा ५१(४) अनुसार कारखाना निरीक्षकले स्वयं निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी पेश भएको टिप्पणीमा उपरोक्त राय अनुसार भनी सदर गरेको देखिन आएकोले कारखाना निरीक्षकले न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न नमिल्ने भई उत्प्रेषणको आदेशद्वारा ०४१।९।२६ को टिप्पणी सदर गरेको निर्णय बदर हुने ठहर्छ । नियमानुसार गरी फायल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

 

इति सम्वत् २०४३ साल श्रावण २० गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु