शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७१५ - कर्तव्य ज्यान

भाग: २८ साल: २०४३ महिना: भाद्र अंक:

निर्णय नं. २७१५    ने.का.प. २०४३     अङ्क - ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४१ सालको फौ.पु.नं. ५५२

फैसला भएको मिति : २०४३।४।२४।६ मा

 

पुनरावेदक/वादी : फकिरे लोधको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : बाँके नेवाजी गा.पं.वडा नं.१ बस्ने सुमिरन कलवारसमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         शंका एवं अनुमानको भरमा प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न न्यायसंगत हुँदैन ।

(प्रकरण नं. २६)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री राजेन्द्रराज पन्त

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी बमोजिमको सजायँ प्रतिवादीहरूलाई गरिपाउँ भनी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :

२. मिति २०३८।१०।१ गते बाँके शिवपुरी गाउँ पञ्चायत वडा नं.५ पञ्च पक्रा गाउँनिर लास परी रहेको भन्ने सुनी गई हेर्दा १६ वर्षको मानिसको लाश च्यादरमा सुताएको देखि सो लाश कुरुवा राखी प्रतिवेदन गर्न आएको छु । काल वा कर्तव्य के हो छुट्याई कानुन बमोजिम गरी पाउँ भन्ने प्र.ह.भक्तबहादुर सिजापतिको प्रतिवेदन ।

३. लाशको दायाँ आँखा फुटेको, गलामा छुरा हानेको जस्तो घाउ, घाँटी काटी ४ इन्चको घाउ भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

४. लाश हेरी सनाखत गरें मेरो छोराको लाश हो भन्ने फकिरेलोधको सनाखत कागज ।

५. मेरो छोरा वर्ष १८ को बाबादिनलोध ५६ दिनदेखि बेपत्ता भएको पञ्चपक्रा गाउँदेखि दक्षिण प्रहरीले निजको लाश फेला पारी मैले सनाखत गरी दिएको छु । गाउँकै बेचु दयाल बाहूनको छोरीसँग बाबा र गाउँमै सुमरन कलवारको बसउठ थियो भन्ने सुनेको थिएँ । सो कुरामा बाबादिन र सुमिरन कलवारको दुश्मनी थियो र छोरीसँग बसउठ भई भन्ने कुरा बेचु दयालले मनमा रिसइवी लिएको थियो म समेत ३ भाइका छोरा बाबादिन बाहेक अरु सन्तान नभएको गाउँकै राजा बदन सिंहको खेत हामीले वटैया कमाएकोमा निजले बाली बटैया गरी नदिँदा भू.सु.का.मा उजूर गरी बाली बटैया गरिएको थियो । छोरा बाबादिनलाई मारी दिए पछि हामी ३ भाइको अन्त पछि अरु कसैको मोही हक नलागी जग्गा एकलौटी हुने र छोरा वावादिनलाई मारी दिएपछि दुश्मन साँध्न हुने भन्ने विचारले निजहरूको मिलेमतोबाट ज्यान मारिएको हो भन्ने फकिरे लोधको जाहेरी दर्खास्तपत्र ।

६. बाबादिन लोधलाई मैले कर्तव्य गरी मारेको होइन कसले के गरी कर्तव्य गरी मार्‍यो थाहा छैन ।  मृतक बाबादिन र सुमिरन कलवारको बीचमा झगडा भएको मलाई थाहा छैन । फकिरेले मेरो ५ कठ्ठा जग्गा मात्र मोहीमा कमाएको भए पनि त्यति जग्गाको लागि मार्नु पर्ने कुनै कारण छैन भन्ने समेत बदन सिंह ठाकुरले प्रहरीमा गरेको बयान ।

७. मेरो घर र वाबादिनको घर एकै गाउँमा छ मेरो छोरीसँग मृतक बाबादिन र सुमिरन कलवार समेतको बसउठ छैन । मेरो लोग्ने बेच्यू दयालले वावादिनलाई मारेको होइन भन्ने समेत प्र.बेच्यू दयालकी श्रीमती शान्तीदेवीले प्रहरीमा गरेको बयान ।

८. नन्कुन्ती भन्ने कुन्तीदेवीको उमेर १५ देखि १६ वर्षको छ निजको योनीक्षेदन भएको छैन भन्ने समेत भेरी अञ्चल अस्पतालको पत्र ।

९. मेरो र मर्ने बाबादिन तथा सुमरिन कलवारको कुनै सम्बन्ध छैन गाउँघरको भएकोले भेटे देखेको बेला बोलचाल सम्म हुन्थ्यो भन्ने समेत कुन्तीकुमारीले प्रहरीमा गरेको बयान ।

१०. जाहेरवालाको छोरा बाबादिनलाई कसले मार्‍यो थाहा छैन सो बदनसिंले मारे मराएको होइन । सुमिरन कलवार र बेच्यू दयाल घटना घटेपछि घरमा नभई भागी बसेको र २०३८ साल पौषमा मृतक वावादिन र सुमरिन कलवारको झगडा भई कुटपिट समेत भएकोले सुमिरन कलवार र बेच्यू दयालले बावादीनलाई मारे मराएमा शङ्का लाग्दछ भन्ने समेत सरजमीन मुचुल्का ।

११. शंकलित सबूद प्रमाणबाट प्रतिवादी सुमिरन कलवार र बेच्यू दयाल बाहुनले रिसइवी साधन गर्ने उद्देश्यले निजहरूको मिलोमतोबाट बावादिनलाई छुरी तथा धार भएको हतियार प्रयोग गरी ज्यान मारेको देखिन आएकोले निज सुमिरन र बेच्यू दयाललाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गरिपाउँ राजा भन्ने बब्बन सिंह उपर मुद्दा चलाउन सबूद प्रमाण नपुगेकोले निज उपर मुद्दा नचलाई हाजिर जमानीमा छाडी दिने भन्ने प्रहरी प्रतिवेदन दावी ।

१२. मिति २०३८।९।२० गते नेपालगञ्ज फुल्टापुर लाइन बस्ने बहिनी कहाँ गई २ महीना त्यहीं बसी घर आएको हुँ बाबादिन कहिले काँही मेरो घरमा आउने गर्दथे । मेरो छोरीसँग मृतक बाबादिन र सुमिरन कलवारको उठबस बोलचाल थिएन । मैले बाबादिनलाई मारे मराएको होइन । सुमिरनले मारे मराएको मलाई थाहा छैन । रिसइवीले म उपर उजूर गरेका हुन् भन्ने प्रतिवादी बेच्यू दयालले अदालतमा गरेको बयान ।

१३. वारदात समयमा म गाउँघरमा नभई अनेक विनौमा गा.पं.गोडधोईमा सालाको र मेरो साझेको दोकान हुँदा त्यही छु । मिति २०३८।९।१७ गते त्यहाँ गई सात महीनामा एक महीना अघि घर आएकोले बाबादिन के भई मर्‍यो थाहा छैन । निज बाबादिनसँग मेरो कुनै रिसइवी झगडा थिएन कुन्तीसँग मेरो बसउठ थिएन मृतकको बसउठ थियो थिएन थाहा छैन मैले बाबादिन लाई मारेको होइन । म उपर झुठ्ठा उजूर गरेको हो भन्ने समेत प्रतिवादी सुमिरन कलवारले अदालतमा गरेको बयान ।

१४. वारदात समयमा प्रतिवादीहरू गाउँ घरमा थिएनन् । निजहरूले वावादिनलाई मारेका होइनन् । निजहरू उपरको दावी झुठ्ठा हो भन्ने प्रतिवादीहरूको साक्षीको बकपत्र ।

१५. रु.२०००।लिई मोही छोडी देउ भनी बबन सिंहले भन्दा छोरा बाबादिनले नमानेकोमा रिसइवी थियो । छोरा बाबादिनको बेच्यू दयालकी छोरीसँग सम्बन्ध थियो भन्ने सुनेको बेच्यू दयालले पौष महीनाको अन्तिमतिर छोरा बाबादिनलाई बोलाई नाच हेर्न जाउँ भनी लिई गएका त्यसदिन देखि छोरा नआउँदा बेच्यू दयालकी छोरीसँग सोद्धा मेरो बाबुको च्यादर लिई गएका हुन आएका छैनन् भनी जवाफ दिएको सुमिरन कलवारसँग पनि झगडा भएको थियो सोही कारणबाट प्रतिवादीहरू मिली छोरा वावादिनलाई कर्तव्य गरी मारेको हुन भन्ने जाहेरवाला फकिरे लोधको अदालतमा बयान ।

१६. बबनसिंहको चालचालन राम्रो छ भनी सरजमीनमा भनेका थिए बाबादिनलाई मारेमा प्र.हरू उपर शङ्का लाग्दैन सरजमीन कसरी लेखाई दिए थाहा छैन । प्रतिवादीहरूको चालचलन राम्रो छ भन्ने सरजमीन बकपत्र ।

१७. वाबादिन लोध कुन साल मितिमा मरे थाहा छैन कसले मारे काल वा कर्तव्य के हो सो समेत थाहा छैन । वावादीनसँग मेरो कुनै नाता प्रेम भएको थिएन । सुमिरन कलवारसँग पनि बसउठ छैन भन्ने नन्कुन्तीले अदालतमा गरेको बयान ।

१८. बाबादिन लोध के भई मर्‍यो थाहा छैन मेरो छोरी नन्कुन्तीसँग मर्ने बाबादिनको बसउठ प्रेम केही थिएन । भन्ने समेत शान्ति देवीले अदालतमा गरेको बयान ।

१९. वादी पक्षबाट जाहेरवालाको कुरामा पूर्ण रुपमा समर्थन गरिएको समेत छैन अतः प्रमाण परिबन्धको शङ्का सम्मले मात्र दोषी ठहराउन उचित नहुने हुँदा प्रहरी प्रतिवेदन माग दावी पुग्न सक्दैन भन्ने बाँके जिल्ला अदालतको फैसला ।

२०.   प्रतिवादीहरूलाई सफाई दिएको मिलेन शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकार तर्फबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न गएको पुनरावेदनपत्र ।

२१. वावादीनको कर्तव्यबाट मृत्यु भएको देखिन आउँदछ तापनि यी प्रतिवादीहरूले नै बावादीनको हत्या गरेको भन्ने शंकारहित प्रमाण वादी पक्षले गुजार्न नसकेको हुँदा सफाई दिने ठहर्‍याएको शुरु बाँके जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

२२. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला समेत न्यायसंगत नहुँदा शुरु प्रहरी प्रतिवेदन बमोजिमको प्रतिवादीहरूलाई सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२३. नियम बमोजिम निर्णयार्थ यस मुद्दामा पुनरावेदक श्री ५ को सरकार तर्फबाट खटिई आउनु भएको विद्वान सरकारी उपन्यायाधिवक्ता श्री राजेन्द्रराज पन्तले गर्नुभएको बहस समेत सुनियो । मुख्यतया मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरेको निर्णय मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

२४. निर्णयतर्फ विचार गर्दा यसमा मिति २०३८।१०।७ मा बाँके शिवपुरी गाउँ पञ्चायत वडा नं.५ पञ्चपक्रा गाउँनिर लाश परी रहेको र आवश्यक कार्यवाही गरिपाउँ भन्ने प्र.ह. भक्तबहादुरको प्रतिवेदनबाट शुरुवात भएको प्रस्तुत मुद्दामा सो लाश मेरो छोराको हो गाउँकै सुमिरन कलवार बेच्यू दयाल बाहुन र राजा भन्ने बबन सिंह उपर आफ्नो छोरा मारेको हो भन्ने फकिरे लोधको जाहेरी दर्खास्त परेकोमा आवश्यक शंकारहित सबूद प्रमाण वादी पक्षबाट पेश हुन नसकेको हुँदा प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने गरेको शुरु बाँके जिल्ला अदालतको फैसलालाई मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरेको पाइन्छ ।

२५. प्रहरी र अदालतमा प्रतिवादीहरू आफूले कसूर गरेकोमा पूर्ण इन्कार रहेको पाइन्छ भने सरजमीनमा प्रतिवादीहरूलाई शंका देखाएकाहरूले अदालतमा बयान गर्दा सरजमीनमा लेखिएको कुराको इन्कार गरी प्रतिवादीहरूले सो अपराध गरेको होइनन् भनी बकी लेखाई दिएको देखिन्छ ।

२६. प्रस्तुत विवादमा मृतकको मृत्यु कर्तव्यबाट भएको हो भन्ने कुरा लाश प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट देखिन आउँदछ । तापनि प्रतिवादीहरूले नै कर्तव्य गरी मृतक बाबादिनलाई मारेको भन्ने केही कतैबाट खुल्न देखिन आएको पाइएको छैन । फौज्दारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षमा रहेको हुन्छ । वादी श्री ५ को सरकारले प्रतिवादीहरूले नै गरेको हो भन्ने शंकारहित प्रमाण गुजार्न सकेको छैन ।  शंका अनुसारको भरमा प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न न्यायसंगत हुँदैन । अतः केवल जाहेरी दर्खास्तमा उल्लेख गरेको शंका र अनुमानलाई मात्र हेरी प्रतिवादीहरूलाई ज्यान जस्तो अभियोगमा ठहर गर्न न्यायसंगत नहुने हुँदा र मध्यपश्चिाञ्चल क्षेत्रीय अदालतको फैसला बुँदा समेतको आधारमा प्रतिवादीहरूलाई सफाई दिने गरेको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने कुनै कारण नहुँदा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४३ साल श्रावण २४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु