शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१५३ - घर भत्काई पाउँ

भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक:

निर्णय नं. ३१५३   ने.का.प. २०४४ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४३ सालको दे.पु.नं. ७४६

मुद्दा : घर भत्काई पाउँ ।

 

पुनरावेदक/प्रतिवादी: जि.भक्तपुर नकदेश गा.पं. वडा नं. ८ बस्ने आशबहादुर उप ।

विरुद्ध

विपक्षी/वादी:ऐ. चपाचो गा.पं. वडा नं. २ बहाखा बजार बस्ने ओम बहादुर मानन्धर

फैसला भएको मिति: २०४४।४।१९।३ मा

    ठूलो स्केल र सानो स्केलमा भएको नक्शा झट्ट हेर्दा फरक देखिए जस्तो हुने भए पनि खास वस्तुस्थिति फरक नपरेको अवस्थामा त्यत्तिकै कारणले भइआएको नक्शालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन भन्न युक्तिसंगत नहुने ।

 (प्रकरण नं. १७)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री अनुप राज शर्मा

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री विष्णु प्रसाद नेपाल

उल्लेखित मुद्दाःX

फैसला

न्या.महेशराम भक्त माथेमाः पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यसप्रकार छ ।

२.  मैले चन्द्रलक्ष्मी लामा श्रेष्ठबाट राजीनामा पारीत गराई लिई दर्ता समेत भएको भ.पु.जि. ठिमी भिमसेन गा.पं. वडा नं. ८, कि.नं. ११० को ज.वि. ०२ को मोहीमा विपक्षी चन्द्रकृष्णका पिता चन्द्रकुमार जनिएको मेरो हकभोग दर्ताको जग्गा हो । मोही परलोक भई विपक्षी चन्द्रकृष्णले जोतिआएको हो । हाल विपक्षीहरू दुईजना भई विपक्षी आशबहादुरको जग्गामा घर बनाउन भनी जग खन्नेहरूले दक्षिणपट्टिको मेरो कि.नं. ११० को जग्गा समेत मिची मिति २०३६।१२।८ का दिन खन्न थालेकोमा रोक्दा तपाईको जग्गा मिचेको छैन भनेका थिए, मिति २०३६।१२।१० का दिन विपक्षीहरू दुई जनाले १०१५ जना डकर्मी, ज्यामी समेत लगाई घर बनाउन लाग्दा यहाँ मेरो जग्गा मिचियो भनी  रोक्दा म एक्लो माथि धम्की देखाई पूर्व पश्चिम लम्बाई फिट २६, उत्तर दक्षिण चौडाई फिट २१ को घर तयार पारेछन् । उक्त घरको दक्षिण पश्चिम कुना तर्फ ४½ फिट जग्गा मिचिएर मेरो जग्गामा घर बनाएको देखियो । रु. १००।पर्ने घर मोल तिरी लिन मलाई मन्जूर नभएकोले विपक्षीहरूलाई घर भत्काउन लगाई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.  मेरो कि.नं. १०८ को क्षेत्रफल ०१ जग्गामा पक्की घर २०३६।१२।८ गते नै तयार पारेको हुँ । विपक्षी सो अवस्था हेर्न तथा रोक्न आउनु भएको छैन । मैले विपक्षीको जग्गा मिची घर बनाएको नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.  विवादित जग्गामा वादीहरूको दावा खम्वीर हुन आएको नदेखिएको समेतबाट प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने भक्तपुर जि.अ. को फैसला ।

५.  शुरुको सो फैसलामा चित्त बुझेन, दावी बमोजिम इन्साफ गरिपाउँ भन्ने वादीको पुनरावेदन बा.अं.अ. मा परेको ।

६.  मिति २०३८।११।२१ को फैसला बदर गरिदिएको छ, अब जे जो बुझ्नु पर्ने हो बुझी इन्साफ गर्नु भनी मिसिल शुरुमै पठाई दिने गरी बा.अं.अ. बाट भएको फैसला ।

७.  प्रतिवादी आश बहादुरले वादीको कि.नं. ११० मा पर्ने जग्गा मध्ये ४ फिटमा घर बनाएको देखिएकोले सो सम्म भत्काई दिनु पर्ने र चलन समेत वादीले पाउने ठहर्छ भनी भक्तपुर जि.अ.बाट भएको फैसला ।

८.  उक्त इन्साफमा चित्त बुझेन, मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी इन्साफ पाउँ भनी प्रतिवादीको बा.अं.अ. मा परेको पुनरावेदन ।

९.  वादीको जग्गामा बनाएको घरको भागसम्म भत्काई दिने र चलन समेत चलाई दिने ठहर्‍याई गरेको शुरु भक्तपुर जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने बा.अं.अ. बाट भएको फैसला ।

१०.  बा.अं.अ. को सो इन्साफ गलत भई त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन पर्न आएकोमा म.क्षे.अ. सिंगल बेञ्जबाट अनुमति प्रदान हुने गरी आदेश भएको रहेछ ।

११.  न.नं. २ मा बनेको घरको चोसो वादीको कि.नं. ११० मा पर्ने ४ फिट घर बनाएकै देखिन आएकोले सो भागसम्म भत्काई चलन समेत चलाई दिने ठहर्‍याएको शुरुको फैसला मनासिब गरेको बा.अं.अ. को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.बाट भएको फैसला ।

१२.  खास प्रमाण छाडी इन्साफ तलमाथि पारेको म.क्षे.अ. को इन्साफ त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा परेको निवेदन ।

१३.  वादीको दावाबाट पश्चिमतर्फ घर बनाई जग्गा मिचिएको दावा छैन, यस्तो स्थितिमा वादी दावी बेगरको घरमा पश्चिमतर्फको जग्गा समेत वादीको ठहर गर्ने गरेको शुरुको इन्साफलाई सदर गर्ने गरेको बा.अं.अ. को फैसला सदर गर्ने गरेको म.क्षे.अ. को इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ५४ र मुलुकी ऐन अ.बं. १८४(क) समेतको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भनी यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।

१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मिसिल सहितको कागजातहरू अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अनुपराज शर्मा र विपक्षीतर्फबाट रहुन भएका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालले गर्नु भएको बहस समेत सुनियो ।

१५. पुनरावेदकतर्फका विद्वान अधिवक्ताले सर्भेबाट कायम भएको नक्शा भई जग्गाको रेखांकन र  सीमाको लागि बलियो प्रमाण हुन्छ । सर्भे र अदालतबाट भएको नक्शा नमिलेको अवस्थामा सर्भेकै नक्शालाई आधार बनाइनु पर्नेमा त्यसको विपरीत अदालतबाट भएको नक्शा जसमा ठुलो स्केलले नक्शा गरिएको छ त्यसलाई आधार बनाई भएको म.क्षे.अ. समेतको फैसला मिलेको छैन । तसर्थ सो फैसला उल्टी गरिपाउँ भनी भन्नु भयो भने विपक्षीतर्फका विद्वान अधिवक्ताले सर्भेबाट भएको नक्शा र अदालतबाट भएको नक्शामा अन्तर भिन्नता छैन, सर्भेबाट भएको नक्शा सानो स्केलमा गरिएकोले सानोतिनो बांगो रेखाहरू नदेखिई सिधै भएको जस्तो देखिन्छ भने अदालतबाट भएको नक्शा सर्भेमा भएको नक्शाको स्केलभन्दा ठुलो स्केलमा भएकोले यसमा टेढो मेढो समेत केही देखिन आएकोले फरक जस्तो देखिएको मात्र हो । विवादको निरोपणको लागि अदालत स्वयंले स्थलगत निरीक्षण गरी गरेको नक्शाको आधारमा भएको म.क्षे.अ. समेतको फैसला मिलेकै हुँदा सोही इन्साफ सदर हुनपर्दछ भनी भन्नु भयो ।

१६.  विद्वान अधिवक्ताहरूले आआफ्नो पक्षको तर्फबाट व्यक्त गर्नु भएको उल्लिखित बहस जिकिर समेतलाई मध्यनजर राखी शुरु सदर गरेको बा.अं.अ. को इन्साफ मनासिब गरेको म.क्षे.अ. को फैसला मिले नमिलेको के हो सो कुराको नै निर्णय दिनु पर्ने हुन आएको छ ।

१७. यसमा कि.नं. ११० वादीको र कि.नं. १०८ प्रतिवादीको जग्गा भन्ने कुरामा कुनै विवाद भएको देखिँदैन । कि.नं. ११० मेरो हकको जग्गामा दक्षिण पश्चिम कुनातर्फ ४ फिट जग्गा मिचेर घर बनाएकोले सो भागसम्म भत्काई चलन समेत चलाई पाउँ भन्ने वादीको मुख्य दावी भएको प्रस्तुत मुद्दामा मिति २०३८।११।१९ मा भइआएको नक्शा हेर्दा न.नं. २ प्रतिवादीको घर, न.नं. ३ वादी प्रतिवादी बीचको विवादित जग्गा, न.नं. ५ वादीको कि.नं. ११० को जग्गा भन्ने देखिएको छ । पेश भएको मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाण पूर्जाबाट प्रतिवादीका कि.नं. १०८ को ज.वि. ०१ देखिएको र विवादित न.नं.३ को क्षेत्रफल ०२ देखिन आएकोमा प्रतिवादीको न.नं. १ को क्षेत्रफल ०३ नै देखिई बढी नै भएको देखिन्छ । यसरी न.नं. ५ वादीको जग्गा देखिएको र न.नं. ३ विवादको जग्गा देखिएकोमा भइआएको सो नक्शाबाट समेत न.नं. २ मा बनेको घरको दक्षिण पश्चिमतर्फको ४ को चोसो कुना विवादित न.नं. ३ मा घुसेको स्पष्ट देखिन आउँछ । यदि न.नं. ३ मा प्रतिवादीको जग्गा परेको थियो भने अगाडि पछाडि अरुको र बीच भागमा ४ फिट मात्रै प्रतिवादीको पर्ने भन्ने कुरा नक्शा प्रकृतिबाट पनि स्वाभाविक देखिन आउँदैन । ठुलो स्केल र सानो स्केलमा भएको नक्शा झट्ट हेर्दा फरक देखिए जस्तो हुने भए पनि खास वस्तु स्थिति फरक नपरेको अवस्थामा त्यत्तिकै कारणले भइआएको नक्शालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन भन्नु युक्तिसंगत नहुने भएकोले वादीको कि.नं. ११० मा पर्ने ४½ फिट घर प्रतिवादीले घुसाई बनाएको देखिन आएकोले सो भागसम्म भत्काई सो हदसम्म चलन समेत चलाई दिने ठहर्‍याई भएको भक्तपुर जि.अ. को इन्साफ मनासिब गरेको बा.अं.अ. को फैसला सदर गरी गरेको म.क्षे.अ. को फैसला मिलेकै हुँदा मनासिब ठहर्छ । कोर्ट फी राखी दायर भएको मुद्दा हुँदा केही गरिरहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल श्रावण १९ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु