शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७१६ - सवारी ज्यान

भाग: २८ साल: २०४३ महिना: भाद्र अंक:

निर्णय नं. २७१६     ने.का.प. २०४३     अङ्क - ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४१ सालको फौ.पु.नं.६६६

फैसला भएको मिति : २०४३।४।३०।५ मा

 

पुनरावेदक/वादी : प्र.ज.माधव मल्लिकको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.बारा.वरेवा गा.पं.वा.नं. ९ बस्ने कृष्णबहादुर राना

 

मुद्दा : सवारी ज्यान

 

(१)         ट्रयाक्टरको ट्रली पछाडि घटेको घटना सम्बन्धमा ड्राइभरले जानीजानी दूर्घटना गरी बच्चालाई किचेको भन्न सकिने अवस्था नदेखिने

(प्रकरण नं. १६)

(२)        वादीको एक मात्र साक्षीले अदालतमा बयान गर्दा वादीको कुरा पुष्टी हुने गरी लेखाउन सकेको छैन, यस्तो स्थितिमा प्रतिवादीले मानिस मर्न सक्दछ भन्ने जानीजानी लापरवाही गरी हाँकेको कारणबाट दुर्घटना भई मानिस मर्न गएको भन्ने स्थिति छैन ।

(प्रकरण नं. १६)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन प्रहरी भनाई बमोजिम विपक्षीलाई सजायँ गरिपाउँ भनी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :

२. ०३७।९।४ गते दिनको अन्दाजी १ बजे वि.न.पं.वा.नं. १७ मा पर्ने वीरगञ्ज चिनी कारखानाको आवास गृह देखि पूर्व पश्चिम सडकमा ना.अं. ५९४ को ट्रयाक्टरबाट १ जना बच्चा किची मरिरहेकोले चालकलाई दाखेल गरेको छु । कानुन बमोजिम होस् भन्ने प्र.ज.माधव मल्लिकको प्रतिवेदन ।

३. ०३७।९।४।५ गते अन्दाजी १०।११ बजे मैले उखु लोड गरी ल्याएको ट्याक्टरबाट दुर्घटना भएछ भन्ने समेत व्यहोरा प्र.कृष्णबहादुर रानाले प्रहरीमा गरेको कागज ।

४. ०३७।९।४।५ को लाश प्रकृति मुचुल्का । ०३७।९।४ गतेका दिन १ बजे ना.अ.नं. ५९४ को ट्याक्टरमा उखु लोड गरी चिनी मिलमा गई रहेको अवस्थामा मर्ने केटो नाबालख सन्दिपनारायण पछाडिबाट उखु तान्न लाग्दा चक्कामा पर्न गई मृत्यु भएको हो । चालकको गल्ती लापरबाहीले भएको होइन भन्ने समेत मिति ०३७।९।१९।६ को सरजमीन मुचुल्का ।

५. सङ्कलित प्रमाणबाट ड्राइभरले थाहा नपाउने गरी केटोको मृत्यु हुन गएको देखिएकोले मुद्दा नचलाउने भन्ने प्रहरी अधिकृतको प्रतिवेदन ।

६. जानीजानी लापरबाही गरी ट्रयाक्टर चलाई दुर्घटना भई मृत्यु हुन गएकोले प्र.कृष्णबहादुर उपर ज्यानसम्बन्धीको १३(१) र सवारी ऐन अनुसार कृया खर्च र क्षतिपूर्ति समेत पाउन अनुरोध छ भन्ने स.स.अ.को राय ।

७. स.स.अ. को राय मनासिब देखिएकोले मुद्दा सरकार वादी दायरीमा दर्ता गर्नु भन्ने ०३७।९।२८ को अदालतको आदेश ।

८. मर्नेसँग मेरो कुनै रिसइवी छैन । मैले चलाएको ट्रयाक्टरको पछाडि ट्रयाक्टरको चक्काले किची मरेको हो । जानीजानी मारौं भन्ने उद्देश्य थिएन भवितव्य परेको हुँदा छुट्कारा पाउँ भन्ने व्यहोराको प्र.कृष्णबहादुरको अदालतमा भएको बयान ।

९. प्र. कृष्णबहादुरले ज्यानसम्बन्धी महलमा १३(१) अनुसार सजायँ हुने कुनै पनि अपराध गरेको मिसिलबाट नदेखिनाले वादी दावी पुग्न सक्दैन । सावधानीसाथ चलाउनु पर्नेमा हेलचेक्राँई गरी चलाएको देखिनाले ज्यानसम्बन्धी महलको ६(२) अनुसार रु.५००।प्र.लाई जरिवाना हुन्छ भन्ने पर्सा जि.अ.को फैसला ।

१०. उक्त फैसलामा चित्त बुझेन भनी श्री ५ को सरकार तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन ।

११. शुरु जि.अ.ले प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको ६(२) अनुसार सजायँ गर्ने गरेको मनासिब नै हुँदा सदर हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१२. उक्त फैसलामा समेत चित्त बुझेन भनी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

१३. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा श्री ५ को सरकार तर्फबाट खटिई आउनु भएको विद्वान सरकारी उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको बहस समेत सुनियो । प्रस्तुत विवादमा मुख्यतया मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आएको छ ।

१४. निर्णयतर्फ विचार गर्दा यसमा सबूद प्रमाणको अभावमा प्र.उपर मुद्दा चलाउन नमिल्ने भन्ने प्रहरी प्रतिवेदन र निज प्र.कृष्णबहादुरले जानी जानी लापरबाही गरी चलाएको ट्रेक्टरबाट बालखको मृत्यु हुन गएको हुँदा ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ होस् भन्ने स.स.अ.को राय भएकोमा स.स.अ.को राय मनासिब ठहरी अदालतमा यस मुद्दामा कारवाही चलेको पाइन्छ ।

१५. मिति ०३७।९।४।५ मा म विपक्षीले उखु समेत लौड गरी चलाएको ट्याक्टरबाट बालखको मृत्यु भएकोमा शंका छैन तापनि ज्यानसम्बन्धी महलको १३(१) बमोजिमको स.स.अ.को माग दावी बमोजिमको सजायँ प्र.लाई गर्नलाई बालखको मृत्यु कसरी कस्तो अवस्थामा भएको रहेछ र बालखको ज्यान मार्नेसम्म मनसाय विपक्षीको थियो वा थिएन सो कुरालाई ध्यानमा राख्‍नु पर्ने हुन आउँदछ ।

१६. उक्त मितिमा चिनी कारखानामा उखु पुर्‍याउन गएको विवादीत ट्याक्टरको ड्राइभर प्र.कृष्णबहादुर आफ्नै बाटै बाटो ट्याक्टर हाँकी गई रहेकोमा पछाडिको ट्रलीको पहियाँबाट बालखको मृत्यु भएको भन्ने देखिन्छ । प्रतिवादीले पुरै अगाडिको पहियाँले बालख किचेको भन्ने पनि मिसिलबाट देखिँदैन । मौकामा भएको सरजमीनले सबैले एकै स्वरबाट बालखको मृत्यु प्रतिवादीको लापरबाहीबाट भएको होइन भनी भनेका छन् भने जानी जानी बच्चालाई मैले किचेको होइन भनी प्र.ले प्रहरी र अदालतमा समेत प्रष्ट रुपमा लेखाई दिएको छ । ट्याक्टरको ट्रली पछाडि घटेको घटनाको सम्बन्धमा ड्राइभरले जानी जानी दुर्घटना गरी बच्चालाई किचेको भन्न सकिने अवस्था पनि देखिन आउँदैन सो बाहेक बालखलाई मार्ने प्र.को कुनै मनसाय थियो भन्न पनि कहि कतैंबाट खुल्न देखिन आउँदैन । सरजमीनमा सबै व्यक्तिले प्रतिवादीले जानी जानी बालखलाई किचेको होइन भनी भनेका छन् भने वादीको एक मात्र साक्षी राम अयोध्याप्रसादले पनि अदालतमा बयान गर्दा वादीको कुरा पुष्टी हुने गरी लेखाउनु सकेको छैन यस्तो स्थितिमा प्रतिवादीले मानिस मर्न सक्दछ भन्ने जानी जानी लापरबाही गरी हाँकेको कारणबाट दुर्घटना भई मानिस मर्न गएको भन्ने स्थितिको छैन अतः प्रतिवादीलाई ज्यानसम्बन्धी महलको ६(२) अनुसार रु.५००।जरिवाना गर्ने गरी गरेको शुरु पर्सा जि.अ.को फैसला सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला न्यायसंगत नै हुँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । श्री ५ को सरकारको पुनरावेदन हुँदा कसैलाई केही गरी रहनु परेन । नियमानुसार गरी मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४३ साल श्रावण ३० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु