निर्णय नं. ३१५६ - जालसाजी

निर्णय नं. ३१५६ ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ३४५
मुद्दा : जालसाजी ।
पुनरावेदक/प्रतिवादी:बागमती अञ्चल काठमाडौं जिल्ला,काठमाडौं नगर पञ्चायत वडा नं. २४ अन्तर्गत इन्द्रचोक तहपाके बस्ने मोहन बहादुर अमात्य ।
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. वडा नं. २५ ठमेल बस्ने मोहनलाल प्रधान ।
फैसला भएको मिति : २०४४।३।७।१ मा
मोही निष्कासन मुद्दा शुरु फैसला भई पुनरावेदन तहमा चल्दा चल्दैको अवस्थामा नाम भूल सुधार गरेको भन्ने स्पष्ट देखिन आएकोबाट मुद्दा चल्दाचल्दैको अवस्थामा भए गरेको त्यस्तो कार्य मान्य हुनसक्ने देखिन आउँदैन ।
(प्रकरण नं. १४)
एकाको हकको जग्गालाई प्रतिवादीहरू एकआपसमा मिली झुठ्ठा व्यहोराको कागज गरी सोही कागजको आधारमा विपक्षी वादीको हक मेटाउने उद्देश्य लिई निवेदन गरी पर्चा गराई सोही पर्चाको आधारमा दर्ता गराएको कार्य जालसाजीबाट भएकै देखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक,प्रतिवादी तर्फबाटःX
विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का
उल्लेखित मुद्दाःX
फैसला
न्या.प्रचण्डराज अनिलः म.क्षे.अ. को फैसलामा कानूनी त्रुटि भएकोले पुनरावेदनको लागि अनुमति पाउँ भनी निवेदन परी पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदन लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यसप्रकार छ ।
२. विपक्षी मध्ये बाबुकाजी मोही भई कमाई आएको मेरो नाउँमा साविक हा.नं. १९९ को मौजा चावहील हा.नं. २४२ नापी हुँदा का.न.पं. वडा नं. २३ कि.नं. १४६ को रोपनी ४–१०–२ को २०२३ सालको बाली नबुझाउँदा यसै अदालतमा फिराद परी बाली भराई निष्कासन हुने गरी २०२५।५।१ मा फैसला भए उपर विपक्षी बाबुकाजीको बा.अं.अ. मा पुनरावेदन पर्दा शुरु सदर गरी २०३०।४।१० मा फैसला भएको र २०२४ सालदेखि आयस्ता बाली पाउने हुँदा २०३१।५।१३ मा फिराद परेको जुन यसै अदालतमा छ । सो मुद्दाको प्रतिउत्तर २०३५।८।१५।३ मा सारी हेर्दा वादीको जग्गा होइन, २०२६।९।२९ को निवेदन र २०२६।१०।४।१ को ठहर पर्चाबाट मोहनलालको नाम सुधार गरी मोहन बहादुर अमात्य कायम भई पूर्जा पाएको व्यक्तिलाई बाली बुझाई आएको छु भनी जिती पाएको मोहनलालको नाममा मोहन बहादुर भनी खडा गरी व्यहोरा ढाँटी छली बाबुकाजी मोही बनी मोहन बहादुर लाई जग्गाधनी बनाई पर्चा गराई मेरो हक मेटी २०२६।१०।४ को निर्णय पर्चा जालसाजीबाट गराएको हुँदा जालसाजी गरेमा सजायँ गरी जालसाजीबाट गराएको निर्णय पर्चा बदर गरी जालसाजीमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।
३. विपक्षी र वाबुकाजी समेत मिली नापी हुँदा मेरो नाम नलेखाई आफूमा मिली बिक्री गराई हक नपुग्ने जग्गा आफ्नो गराउने प्रयास गरेका हुन्, दावीको कि.नं. १४६ को जग्गा भए बाली बुझाएको हो भनी बीच बीचमा बाबुकाजी समेत मिली फैसला गराएकोले फैसला बदरमा फिराद गरी हक कायम गरिपाउँ भनी फिराद गरेको छु । उक्त जग्गाको प्रमाण पूर्जा लिनलाई जालसाजी गरेको छैन । २०२५ सालमा जग्गाको विवरण पेश गरेको छु । नानीमाया परलोक भएपछि बाबुकाजीको २०२४।८।१५।६ मा कबूलियत गराई भोग गरी मेरो नाउँको साविक रै.नं. १२८ को दर्ता भिडाई कानूनको रीत पुर्याई प्रमाण पूर्जा लिएको छु । मैले जालसाजी गरेको भए भू.प्र.का. उपर पनि फिराद गर्नु पर्ने सो पनि नभएकोले फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत मोहन बहादुरको प्रतिउत्तरपत्र ।
४. प्रतिवादी बाबुकाजीका नाउँमा तामेल भएको समाव्हानको म्यादमा हाजिर नभई गुजारी बसेको ।
५. वादी मोहनलालको हक मेट्न नभएको झुठ्ठा कुरा भएको हो भनी प्र.बाबुकाजी र मोहन बहादुर अमात्यबाट दर्खास्त पारी पराई जग्गाधनी निजै मोहन बहादुर अमात्य हो भनी २०२६।९।२१ मा बाबुकाजीले कागज गरी गराई भू.प्र.का. काठमाडौंबाट पर्चा भई श्रेस्ता कायम गराउने काम जालसाजबाट गराएको ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जि.अ. बाट भएको फैसला ।
६. शुरु का.जि.अ. को इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी मोहन बहादुर ले बा.अं.अ. मा दिएको पुनरावेदनपत्र ।
७. अदालतमा मुद्दा परिरहेको अवस्थालाई गुम पारी एकाको नाउँ ढाँटी काटी अर्काको नाउँ कायम गर्ने गराउने कार्यविधि नै गैरकानूनी देखिएकोले शुरु जि.अ. बाट जालसाजी ठहर्याई गरेको फैसला कानूनसंगत नै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत बा.अं.अ. बाट फैसला भएको रहेछ ।
८. बा.अं.अ. को फैसलामा गम्भीर कानूनी त्रुटि गरी इन्साफ नै तलमाथि पारेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र. मोहन बहादुर को म.क्षे.अ. मा परेको निवेदनपत्र ।
९. बा.अं.अ. को फैसला उपर निवेदकलाई पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत आदेश ।
१०. वादीको नाममा नापी भई जग्गाधनीमा वादीकै नाम लेखिएको जग्गा बाली मुद्दाको प्रमाण मिसिल संलग्न ज.ध.प्र.पु. बाट देखिन आएको, सो जग्गाको मोही बाबुकाजी महर्जनले नापीमा वादीलाई नै जग्गाधनी लेखाई दिएकोमा आफ्नोे जग्गा भए अर्काको नाउँमा नापी गरिएपछि तत्काल प्रचलित ऐेन बमोजिम प्रतिवादीले उजूर गर्न सकेको देखिँदैन । विवादको कि.नं. १४६ को जग्गाको २०२३ सालको बाली भराई जग्गाबाट समेत निष्कासन गरिपाउँ भनी यिनै वादी मोहनलालले प्रतिवादी बाबुकाजी महर्जन उपर दिएको जग्गा बाली मुद्दामा बाली भरिपाउने र वादीले प्रतिवादीलाई याम टायम मिलाई जग्गाबाट निष्कासन गर्न पाउने ठहर्याई का.जि.अ. बाट २०२५।५।१ मा र सोही फैसला मनासिब ठहर्याई बा.अं.अ. बाट २०३०।४।१० मा फैसला भएको प्रमाण मिसिलबाट देखिन आएको छ । प्रतिवादीलाई जग्गाधनी भनी भनेको पनि नदेखिने, जिल्ला अदालतबाट फैसला भएपछि मात्र मोहन बहादुर ले भू.प्र.का. मा ज.ध.प्र.पु. दिलाई पाउँ भनी निवेदन गरेको र बाबुकाजीले मोहन बहादुर जग्गाधनी भन्ने व्यहोराको कागज गरेको देखियो । सोही कागजको आधारमा भू.प्र.का. ले मोहन बहादुर लाई जग्गाधनी कायम गरेको देखिन आउँछ । तसर्थः प्रतिवादीहरूले जालसाजी गरेको ठहर्याएको शुरुको मनासिब गरेको बा.अं.अ. को फैसला मिलेकै देखिँदा इन्साफ मनासिब ठहरी पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ. बाट भएको फैसला रहेछ ।
११. विवादित जग्गा का.न.पं. वडा नं. २३(ट) को कि.नं. १४६ को जग्गा चावहिलको भन्ने कुरा विपक्षीले मानिआएका छन्, तर बाली मुद्दामा फिराद गर्दा मौजा नै डिल्लीबजार र जग्गा धोविखोलाको खेत भन्दै दावी लिई हारजित गरिआएबाट मौजा नै ढाँटी फरक पारी जग्गा माथि दावा गर्न आएको देखिएकै छ । यसरी १–२ कोश फरकको जग्गामा कुनै अवस्थामा पनि मेरो दर्ता माथि दर्ता गर्न पाउने कुरा सम्भव नै छैन, त्यसबाट पनि २०२६ सालको पर्चालाई जालसाजी गरेको भनी ठहर्याएको कानूनसंगत भएको छैन । अर्को कुरा वादी विपक्षीको पनि नाम शुद्ध लेखाई देखाएको छैन, जुन फिल्डबुकबाट नै प्रष्ट छ । फिल्डबुकमा मोहनलाल श्रेष्ठ छ । विपक्षीको थर श्रेष्ठ होइन प्रधान हो । तसर्थः म.क्षे.अ. को फैसलामा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भई कानूनको व्याख्या सम्बन्धी प्रश्न समेत समावेश भएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति पाउँ भन्ने समेत मोहन बहादुर अमात्यको यस अदालतमा परेको निवेदनपत्र ।
१२. यसमा म.क्षे.अ. को फैसला उपर नि.नं. ७८४ को दर्ता बदर मुद्दामा आजै यस बेञ्चबाट पुनरावेदन गर्ने अनुमति दिने आदेश भएकोले लगाउको हुँदा यसमा पनि न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ । नियम बमोजिम गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल कागजात समेत अध्ययन गरी विपक्षी तर्फका विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्काले जालसाजी ठहर्याई भएको म.क्षे.अ. को फैसला मिलेकै हुँदा सोही सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा शुरुको मनासिब गरेको बा.अं.अ.को इन्साफ मनासिब ठहर्याई भएको म.क्षे.अ. को फैसला मिले नमिलेको के हो ? सो कुराको नै निर्णय दिनु पर्ने हुन आयो ।
१४. यसमा यसै मुद्दाका वादी मोहनलालले प्रतिवादी बाबुकाजी महर्जन उपर दिएको जग्गा बाली मुद्दामा बाली भरिपाउने र जग्गाबाट निष्कासन समेत गर्न पाउने ठहर्याई वागमती अञ्चल अदालतबाट समेत फैसला भएको कुरा मिसिलसाथ रहेको प्रमाण मिसिलबाट देखिन आएको छ । जसबाट बाबुकाजीले विवादित कि.नं. १४६ को जग्गाको जग्गाधनी मोहनलाललाई स्वीकार गरेको देखिन्छ । सो मुद्दामा जिल्ला अदालतबाट २०२५।५।१ मा फैसला भए पश्चात पुनरावेदक प्रतिवादी मोहन बहादुर ले भू.प्र.का. मा ज.ध.प्र.पु. दिलाई पाउँ भनी २०२६।९।९ मा निवेदन गरेको र बाबुकाजीले यी मोहन बहादुर नै जग्गाधनी हुन् भन्ने व्यहोराको २०२६।९।२० मा कागज गरिदिएको देखिन्छ र सोही कागजको आधारमा भू.प्र.का. ले पुनरावेदक मोहन बहादुर लाई जग्गाधनी कायम गरेको देखिन्छ । यसप्रकारले बाली भराई मोही निष्कासन मुद्दा चली शुरु जिल्ला अदालतबाट बाली भराई निष्कासन समेत गरिदिने ठहर्याई निर्णय समेत भइसकेको र सो निर्णय उपर पुनरावेदन परी कारवाही भइरहेकै अवस्थामा बाबुलाल महर्जनले शुरु अदालतबाट बाली मुद्दामा हारेपछि पुनरावेदक प्रतिवादी मोहन बहादुर सँग मिली कागज गर्ने गराउने काम भए गरेको देखिन आउँछ । जुन बाली भराई निष्कासन गरिपाउँ भन्ने मुद्दामा शुरु जि.अ. कै फैसला मनासिब ठहर्याई बा.अं.अ. बाट समेत फैसला भएकै छ । यसरी मोही निष्कासन मुद्दा शुरु फैसला भई पुनरावेदन तहमा चल्दाचल्दैको अवस्थामा मोहन बहादुर ले मोहनलाल प्रधानको नाम भूलसुधार गरेको भन्ने स्पष्ट देखिन आएकोबाट मुद्दा चल्दा चल्दैको अवस्थामा भए गरेको त्यस्तो कार्य मान्य हुनसक्ने देखिन आउँदैन । विवादित कि.नं. १४६ को जग्गा विपक्षी वादीकै नाममा नापी भई जग्गाधनीमा वादीकै नाम लेखिएको देखिन्छ र जग्गाको मोही बाबुकाजीले पनि नापीमा वादीलाई नै जग्गाधनी लेखाई दिएको हुँदा यदि आफ्नो जग्गा अर्काको नाममा नापी भएको भए मौकैमा यी पुनरावेदक प्रतिवादीले उजूर गरी बदर गराउन सक्नु पथ्र्यो सो कार्य पुनरावेदकबाट भए गरेको भन्ने देखिन आउँदैन । विपक्षी वादीले बाबुकाजी उपर दिएको बाली मुद्दाको फिरादमा बाबुकाजीले प्रतिउत्तर जोडेपछि मात्र दर्ता गरेको कुरा थाहा पाएँ भन्ने देखिएको छ । पुनरावेदक प्र.मोहन बहादुर अमात्यले नाममा भूल सुधार गर्दाको अवस्था पहिले कायम भइराखेको जग्गाधनीको नामवाला व्यक्ति विपक्षी वादी मोहनलाल प्रधानलाई बुझेको भन्ने पनि कहींबाट देखिन नआएको समेत कारणले एकाको हकको जग्गालाई प्रतिवादीहरू एकआपसमा मिली झुठ्ठा व्यहोराको कागज गरी सोही कागजको आधारमा विपक्षी वादीको हक मेटाउने उद्देश्य लिई निवेदन गरी पर्चा गराई सोही पर्चाको आधारमा दर्ता गराएको कार्य जालसाजीबाट भएकै देखिँदा प्रतिवादीहरूले जालसाजी गरेको ठहर्याई शुरुको मनासिब गरेको बा.अं.अ. को फैसला सदर गर्ने गरी भएको म.क्षे.अ. को फैसला मिलेकै हुँदा इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखियानुसार क्षे.अ. को इन्साफ मनासिब ठहरेकोले पुनरावेदक प्रतिवादी मोहन बहादुर अमात्यलाई अ.बं. २०३ नं. बमोजिम पुनरावेदन गरे बापत सयकडा ५% का दरले हुने रु. १।२५ थप जरिवाना हुन्छ, बेरुजु हुँदा लगत कसी असूल उपर गर्नु भनी का.जि.अ.त. मा लगत दिनु...................१
मिसिल नियमानुसार गरी बुझाई दिनु.......२
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल आषाढ ७ गते रोज १ शुभम् ।