निर्णय नं. २७२१ - आयकर

निर्णय नं. २७२१ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४१ सालको दे.पु.नं. ७७३
फैसला भएको मिति : २०४३।४।२८।३ मा
पुनरावेदक : का.न.पं.वार्ड नं. २२ धर्मपथ स्थित फ्रेस एण्ड कोल्ड सेण्टरको प्रो.श्यामकुमार राजलवट
विरुद्ध
विपक्षी : कर फर्छ्यौट आयोगद्वारा अधिकार प्राप्त कर कार्यालय
मुद्दा : आयकर
(१) आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (२) अन्तर्गत खूद आय कायम गर्दा उक्त उपदफा (२) को देहाय (क) देखि (छ) सम्मका विभिन्न आधारहरू मध्ये कुन आधारमा खूद आय कायम गरेको हो सो कुरा सम्बन्धित निर्णयमा उल्लेख गर्नुपर्ने ।
(प्रकरण नं. १६)
(२) कुन आधारमा खूद आय कायम गर्न लागेको हो खोली आयकर ऐन, ०३१ का दफा ३३ को उदफा (४) अन्तर्गतको सूचना दिनुपर्ने ।
(प्रकरण नं. १६)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.पृथ्वीबहादुर सिंह : कर फर्छ्यौट आयोगद्वारा अधिकार प्रत्यायोजन गरिएको कर कार्यालय काठमाडौंको न्यायोचित अनुमानद्वारा कर निर्धारण गरिएको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. तपाइसँग आ.ब.०३१ देखि ०३३ सम्मको आयकर सम्बन्धमा केही कुरा बुझ्नु पर्ने भएकोले यो पत्र प्राप्त गर्नुभएको वा घर दैलोमा टाँस भएका मितिले ७ दिनभित्र यस कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु भनी कर कार्यालयबाट फ्रेस एण्ड कोल्ड स्टोरका नाउँमा मिति ०३५।९।४ मा पत्र पठाएको रहेछ ।
३. फ्रेस एण्ड कोल्ड सेन्टरको तर्फबाट मिति ०३५।९।२५ मा राजेन्द्रमान श्रेष्ठ कर कार्यालयमा उपस्थित भई बयान गरेको रहेछ र भोलिपल्ट ९।२६ मा उपस्थित हुनेछु भनी तारेख लिएको रहेछ ।
४. त्यस सेण्टरको आ.ब. ०३१ देखि ०३३।३४ श्रा.आ. सम्मको हिसाब किताब लिई उपस्थित हुन साथै ०३४।३५ आ.ब.को यो पत्र प्राप्त गर्नुभएको ७ दिनभित्र अन्य विवरण पेश गर्नु हुन भनी कर कार्यालयबाट ०३६।९।१८ मा फ्रेस एण्ड कोल्ड सेण्टरका नाउँमा पत्र बुझाएको देखियो ।
५. आ.ब. ०३१।३२, ०३२।३३ र ०३३।३४ श्रा.आ.को आय व्ययको खाता चेक गर्दा यस कार्यालयबाट ०३५।९।२६ को तारेख त्यस फर्मका प्रतिनिधिले तारेख लिएकोमा तारेख गुजारी बस्नु भएको यस कार्यालयको ०३६।९।१८ को पत्र पनि बुझी लिएको देखिन्छ । पटक पटक माग गरिएको खाता आदि पेश नगरेकोबाट आयकर ऐन, २०३१ को दफा २३(३) बमोजिम उक्त आ.ब.को न्यायोचित अनुमानबाट आय कायम गरी कर निर्धारण गर्नुपर्ने स्थिति उत्पन्न भएकोले सोही ऐनको दफा ३३(५) बमोजिम आफ्नो उक्त आय वर्षहरूको आय सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न हुन ७ दिनको मौका प्रदान गरिएको छ भन्ने कर कार्यालय काठमाडौंको फ्रेस एण्ड कोल्ड सेण्टरको प्रो.श्यामकुमार राजलवटलाई लेखिएको ०३६।१०।२५ को पत्र ।
६. फ्रेस एण्ड कोल्ड सेण्टरका तर्फबाट राजेन्द्रमान श्रेष्ठ उपस्थित भई मिति ०३७।१।२ मा बयान गरेको साथै उक्त दिनबाट ऐ.४ गते र ४ गतेबाट ऐ.१० गतेको तारेख लिएको रहेछ ।
७. उक्त तारेखमा हाजिर नभएको समेतबाट न्यायोचित अनुमानद्वारा आयकर निर्धारण गर्नुपर्ने भएबाट ऐ.ऐनको दफा ३३(४) बमोजिम पुनः ७ दिनको मौका प्रदान गरिएको भनी ०३७।१०।६ मा पुनः प्रो.श्यामकुमार राजलवटलाई कर कार्यालयबाट लेखी गएको ।
८. माथि लेखिए बमोजिम मौका दिँदा पनि प्रो.श्यामकुमार रालवटबाट हिसाब किताब पेश नगरेको भनी आ.ब.०३२।३३ को आय विवरण सम्बन्धी हिसाब किताब माग गर्दा पेश गर्न ल्याएको नदेखिएकोले त्यस फर्मको कारोबार, स्थिति, गतिविधि ध्यानमा राखी आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ३३(२) मा उल्लेख भएका आधारहरू अपनाई यस कार्यालयबाट मिति ०३७।१०।१४ मा खडा गरेको निर्णय पर्चा बमोजिम आयकर फर्छ्यौट आयोगका प्रत्यायोजित अधिकार बमोजिम खूद आय रु.४७,३८५।५२ कायम गरी आयकर रु.९८०४।२० लाग्ने निर्धारण गरिएको रहेछ ।
९. उक्त निर्धारण गरिएको करका सम्बन्धमा चित्त नबुझी श्यामकुमार राजलवटको पुनरावेदनको अनुमतिको लागि यस अदालतमा निवेदन परेको डिभिजनबेञ्च समक्ष पेश हुँदा न्या.प्र.सु.ऐनको दफा १३(५)(ख) बमोजिम अनुमति दिन नमिल्ने भन्ने आदेश भएको रहेछ ।
१०. कर फर्छ्यौट आयोग ऐन, ०३३ को दफा १२ अनुसार पुनरावेदनको अनुमति माग गरिएकोमा न्या.प्र.सु. ऐनको दफा १३(५)(ख) बमोजिम अनुमति नदिएको त्रुटिपूर्ण हुँदा फुलबेञ्चबाट दोहोर्याई पाउँ भनी श्यामकुमार राजलवटको बिन्तिपत्र ।
११. न्यायिक समिति मार्फत सिफारिश सहित श्री ५ महाराजाधिराजका हजूरमा पेश हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहोर्याई दिन हुकुम बक्स भएको रहेछ ।
१२. सो हु.प्र. बमोजिम फुलबेञ्चको लगतमा दर्ता गर्नु भन्ने तत्कालीन सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीको आदेश भई फुलबेञ्चको लगतमा दर्ता भई पेश हुँदा डिभिजनबेञ्चमा पेश गर्ने आदेश भई डिभिजनबेञ्चको लगतबाट डिभिजनबेञ्च समक्ष पेश हुँदा खूद आयको अंक कसरी कायम भयो ? प्रतिवेदनमा नखुलेको समेतबाट आयकर ऐन, ०३१ को दफा ३३(२) को खण्ड (ख)(घ) को त्रुटि भएकोले कर फर्छ्यौट आयोग ऐन, ०३३ को दफा १२(२) को देहाय (ख) र (ग) बमोजिम अनुमति दिइएको छ भन्ने आदेश भएर पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले पुनरावेदकको सम्बन्धमा न्यायोचित अनुमानद्वारा खूद आय कायम गरी कर निर्धारण गर्दा के कति खर्च कटाएको हो उल्लेख छैन साथै आयकर ऐनको दफा ३३(२) को देहाय (क) देखि छ सम्मका कुन आधारमा खूद आय कायम गरी कर निर्धारण गरेको हो निर्णय पर्चामा खुलाउन पर्नेमा नखुलाएबाट कर कार्यालय काठमाडौंको खूद आय कायम गरी कर निर्धारण गरेको निर्णय बदरभागी छ भन्ने समेत र विपक्षी कार्यालय तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले हिसाब किताबको खाता विभिन्न समयमा माग गर्दा नल्याएर न्यायोचित अनुमानद्वारा कर निर्धारण गरेको हो । त्यसरी कर निर्धारण गर्दा आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम निवेदकलाई सूचनाद्वारा मौका प्रदान गरेको देखिँदा कर कार्यालयको निर्णयमा त्रुटि छैन भन्ने समेतको बहस प्रस्ततु गर्नुभयो ।
१४. अब प्रस्तुत मुद्दामा कर कार्यालय काठमाडौंबाट भएको निर्णय मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
१५. निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदक श्यामकुमार राजलवटको फ्रेस एण्ड कोल्ड सेण्टरको वारेमा कर फर्छ्यौट आयोगको प्रत्यायोजित अधिकार बमोजिम कर कार्यालय काठमाडौंले आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम खूद आय कायम गरी कर निर्धारण गरेको देखिन्छ । त्यसरी खूद आय कायम गर्ने सम्बन्धमा उक्त ऐनको दफा ३३(४) बमोजिमको सूचना समेत दिएको देखिन्छ ।
१६. आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (२) अन्तर्गत खूद आय कायम गर्दा उक्त उपदफा (२) को देहाय (क) देखि (छ) सम्मका विभिन्न आधारहरू मध्ये कुन आधारमा खूद आय कायम गरेको हो सो कुरा सम्बन्धित निर्णयमा उल्लेख गर्नुपर्ने हुन आउँछ । त्यही कुन आधारमा खूद आय कायम गर्न लागेको हो खोली आयकर ऐन, ०३१ को दफा ३३ को उपदफा (४) अन्तर्गतको सूचना दिनुपर्ने हुन्छ । प्रस्तुत सन्दर्भमा उक्त ऐनको दफा ३३(२) बमोजिम कर निर्धारण गरेको भन्ने मात्र निर्णय पर्चामा उल्लेख गरेको देखिन्छ देहाय (क) देखि (छ) सम्मका आधार खोलेर खूद आय निर्धारण गरेको पाइँदैन । त्यस्तै ऐ.ऐनको दफा ३३(४) बमोजिम दिइएको ७ दिने सूचनामा पनि कुन आधारमा आय कायम गर्न लागेको हो स्पष्ट उल्लेख गरेको पाइँदैन ।
१७. अतः उपरोक्तानुसार आयकर ऐन, २०३१ ले निर्दिष्ट गरे मुताविक आधार नखोली उचित प्रक्रिया पूरा नगरी हचुवा किसिमले कर कार्यालयले पुनरावेदकको सम्बन्धमा कर निर्धारण गरेको देखिँदा उक्त मिति ०३७।१०।१६ को कर कार्यालय काठमाडौंको खूद आय कायम गरी कर निर्धारण गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । अब कानुन बमोजिम गरी पुनः कर निर्धारण गर्नु भनी सम्बन्धित फायल कर कार्यालय काठमाडौंमा पठाई दिनु । रेकर्ड मिसिल नियम बमोजिम बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४३ साल श्रावण २८ गते रोज ३ शुभम् ।