निर्णय नं. ३१६० - खिचोला चलन

निर्णय नं. ३१६० ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ६३८
मुद्दा : खिचोला चलन ।
पुनरावेदक/वादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ गावाहाल बस्ने देवमुनी शाक्य ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. सिवाहाल तखाछें बस्ने चीरीकाजी शाक्य ।
ऐ.ऐ सिवाहाल बस्ने लक्ष्मीज्योती शाक्य ।
फैसला भएको मिति: २०४४।३।८।२ मा
जुन घर जग्गा खिचोला गरे भनी वादीले दावी लिएको छ सो घर राजीनामा लिंदाकै अवस्थामा भोगमा भइरहेको भनी आफ्नै लिखतमा देखाएको सो भोगबन्धकी थैली बुझाई पाउँ भनी मालमा कारवाही चलाएको भए पनि भोगको लखमा खाने विपक्षीलाई बुझाई सकेको उक्त थैली बुझाई पाउँ भन्ने मालबाट कारवाही भएको मिसिलबाट देखिन नआएको र अघि थैली बुझाएको ऐन बमोजिम सबुद बेगर राजीनामा लिने वादीले चलन पाउने अवस्था नदेखिएको सो नबुझाए सम्म खिचोला गरेको भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
विपक्षी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेको वादी देवमुनी शाक्यको निवेदनमा यस अदालत डिभिजन बेञ्जका मिति २०४२।११।८ का आदेशले अनुमति प्राप्त भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. विपक्षी लक्ष्मीज्योती शाक्यले न्हेडिक तिर्न र घर खर्च गर्न भनी रु. १०,००१।– कर्जा लिई सो बापत पूर्व देवमुनीको हक भएको घर गल्ली वादी पश्चिम सप्तमायाको भागको मोतिराजले किनेको घर, उत्तर माक भाइको बारी, दक्षिण मूल सडक यति ४ किल्ला भित्रको घर एक र सो सँगैको घर पाताल घरसारमा राजीनामा गरी मलाई लेखिदिएको, सो लिखत पास नगरी दिँदा मेरो नालेश परी ललितपुर जि.अ. को फैसला बमोजिम २०३६।७।७।२५ मा पास भएको, सर्भे नापी आउँदा घरमा नभएको बखत चीरीकाजीले आफ्नो भनी नापी टोलीमा लेखाई लिएका रहेछन्, पछि बुझ्दा लक्ष्मीज्योतिबाट चीरीकाजीले २०३६।९।२४ मा राजीनामा गराएका रहेछन्, दोहोरो लिखतमा नालेश गरेको छु । मेरो पुरानो लिखत हुँदा विपक्षीले नापी गराई खिचोला गरेकोले सो खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. म २०२९ सालमा छानाबाट खसी मगज बिग्री सेण्ट जेभियर्स सामाजिक सेवाश्रममा २०३० सालमा भर्ना भई त्यहीं उपचार गराई रहेकोमा देवमुनीले २०३४।१२।७ मा लगी कागजमा सहिछाप गराएको हुँदा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मीज्योतिको प्रतिउत्तरपत्र ।
४. मेरो राजीनामा भित्रको घर पाताल भएकोले आफूले नै भोगचलन गरिआएको हुँदा दोहोरो लेनदेन मुद्दाको मेरो प्रतिउत्तर यस मुद्दामा कायम गरी झुठ्ठो वादी दावीबाट फुर्सद पाउँ भन्ने व्यहोराको चीरीकाजीको प्रतिउत्तरपत्र ।
५. वादीले हक भएको भनेको २०३६।७।२५ को राजीनामा लिखत आज यसै बेञ्चबाट दे.नं. १२९।४२७ को लिखत बदर मुद्दामा बदर भई फैसला भएको, वादीले राजीनामा गराई लिनु भन्दा अगावै २०२९।११।१२ देखि नै बन्धकी साहूले भोग गरी राखेको र उक्त बन्धकी भोग नटुटाई २०३६।९।२४ मा प्र.चीरीकाजीले राजीनामा लिई भोग गरी राखेको देखिँदा खिचोला मेटाई चलन पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु ल.पु.जि.अ. बाट मिति २०४०।९।१२ मा भएको फैसला ।
६. सो फैसलामा चित्त नबुझेकोले बदर गरी मेरो माग दावी अनुसार खिचोला गरेको ठहर्याई चलन पाउँ भन्ने समेत व्यहोराको देवमुनी शाक्यको म.क्षे.अ. मा पर्न आएको पुनरावेदनपत्र ।
७. विवादित जग्गा बन्धकी लिने तेजमुनीबाट प्र.चिरीकाजीले लख लिएकोमा निजले गराई लिएको राजीनामा क्रियाशिल नरहने भएकोले लखको थैली फछ्र्यौैट भएको मान्न नमिल्ने हुँदा सो थैली नपाएसम्म निजले चलन गर्न पाउने नै हुँदा निजले खिचोला गरी वादीलाई चलन गर्न नदिएको भन्न नमिल्ने देखिन्छ । तसर्थ वादी दावी नपुग्ने ठहर्याएको शुरु ललितपुर जि.अ. को इन्साफ मनासिब ठहर्छ वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।४ को फैसला ।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको सो फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाई उक्त निर्णय बदर गरी मेरो माग दावी अनुसार खिचोला ठहर्याई चलनसमेत चलाई पाउँ भन्ने समेत व्यहोराको वादी देवमुनी शाक्यको पर्न आएको निवेदनमा यस अदालत डिभिजन बेञ्जबाट यिनै निवेदक विपक्षी भएको दोहोरो लेनदेन मुद्दामा आजै पुनरावेदन गर्ने अनुमति प्रदान गरिएकोले यसमा पनि पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४२।११।८ को आदेश ।
९. प्रत्यर्थी वारेश चीरीकाजी शाक्य रोहवरमा बसी पुनरावेदक प्र.देवमुनी शाक्यका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसालले गर्नु भएको बहस समेत सुनियो ।
१०. आज निर्णय सुनाउने तारेख तोकी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा जुन घर जग्गा खिचोला गरे भनी वादीले दावी लिएको छ सो घर आफूले लक्ष्मीज्योती बाट राजीनामा लिंदाकै अवस्था तेजमुनीलाई रु. १,००१।– मा भोगमा गइरहेको भनी आफ्नै लिखतमा देखाएको सो भोगबन्धकी थैली बुझाई पाउँ भनी मालमा कारवाही चलाएको भए पनि भोगको लखमा खाने विपक्षीलाई बुझाई सकेको उक्त थैली बुझाई पाउँ भन्ने मालबाट कारवाही भएको मिसिलबाट देखिन नआएको र अघि थैली बुझाएको ऐन बमोजिम सबुद बेगर राजीनामा लिने वादीले चलन पाउने अवस्था नदेखिएको सो नबुझाएसम्म खिचोला गरेको भन्न नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्ट फी राखी पुनरावेदन गरेको देखिँदा केही गर्नु परेन । मिसिल नियम बमोमिज गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल आषाढ ८ गते रोज २ शुभम् ।