निर्णय नं. ३१६१ - दोहोरो लेनदेन

निर्णय नं. ३१६१ ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ६३७
मुद्दा : दोहोरो लेनदेन ।
निवेदक/वादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ सीवहाल बस्ने देवमुनी शाक्य ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. लखाछें बस्ने चीरीकाजी शाक्य ।
ऐ.ऐ श्री बहाल बस्ने लक्ष्मीज्योती शाक्य ।
फैसला भएको मिति:२०४४।३।८।२ मा
वादीको लिखत पहिले नै पास भइसकेपछि मात्र प्र. को लिखित पास भएको देखिन आएकोले ऐनमा भएको व्यवस्था बमोजिम वादीको अघिल्लो लिखत कायम भई प्र.को पछिल्लो राजीनामा कायम रहन नसक्ने ।
(प्रकरण नं.१०)
लेनदेनको २८ नं. मा भएको व्यवस्थाबाट एकालाई राजीनामा लिखत गरी दिई सकेको अचल फेरि दोहोरो पारी अरुलाई राजीनामा गरिदिएको ठहरेमा त्यस्तो दोहोरो पारी राजीनामा दिनेलाई पछिल्लो लिखितमा बिगो खुलेको भए सोही बिगो बमोजिम जरिवाना हुने ।
(प्रकरण नं. १०)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
विपक्षी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधान: मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफमा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी देवमुनी शाक्यको पर्न आएको निवेदनमा यस अदालत डिभिजन बेञ्जको मिति २०४२।११।८ का आदेशले अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. ललितपुर गावहालटोल सिवहालको ब्लक नं. २१।७३३ दक्षिण मोहडा, पूर्वपश्चिम लंग दुईनाले लम्वाई फिट ७ लाइन ५ चौडाई उत्तर दक्षिण २०७।। चार तले जस्ताको छाना भएको घर र सो घरसँगै उत्तरपट्टी जोडिएको पूर्वपश्चिम लम्वाई ७।५ उत्तर दक्षिण चौडाई फिट १४७।। को घर पाताल २०३४।६।५ मा रु. १०,००१।– मा लक्ष्मीज्योतिको घरसारमा फार्छे गरिदिनु भएको । समयमा पास गरिदिनु नभएकोले नालेश परी ललितपुर जि.अ.बाट २०३५।४।२९ मा पास हुने ठहरी २०३६।७।२५ मा रजिष्ट्रेशन भएको थियो । यस्तो घर जग्गा विपक्षी लक्ष्मीज्योतिले २०३६।९।२४ मा चीरीकाजीलाई बिक्री गर्नु भएको, सो काम लेनदेन व्यवहारको २५ नं. विपरीत भएको, सोही महलको २७ नं. ले लिखत बदर हुने भएबाट लक्ष्मीज्योतिलाई लेनदेन व्यवहारको २८ नं. बमोजिम र चीरीकाजीलाई दण्ड सजायँको १२ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको देवमुनी शाक्यको फिरादपत्र ।
३. रजिष्ट्रेशनको २० नं. बमोजिम न्हेडिक तिरेको फट्टा वा निस्सा ल्याएपछि मात्र रजिष्ट्रेशन गराइदिने कानूनी व्यवस्था भएकोले सो बमोजिम नभएको, लक्ष्मीज्योतिको मगज ठीक नभएको बेलामा पहिलेको मिति हाली कागज गरेको समेतबाट वादी दावी झुठ्ठा हो भन्ने समेत चीरीकाजीको प्रतिउत्तरपत्र ।
४. म २०२९ सालमा छानाबाट खसी मगज बिग्रेको समेत कारणले २०३० सालदेखि सेण्ट जेभियर्स सामाजिक सेवाश्रममा रहेका, विपक्षी देवमुनीले २०३४।११।२२ मा मलाई लैजान दर्खास्त दिए बमोजिम सेवाश्रमले २०३४।१२।७ मा निजको साथ लगाई पठाएको र सो अवस्थामा विपक्षीले मौका मौकामा कागजमा ल्याप्चे गराएकोमा मेरो अद्यावधि मगज ठीक नभएकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको लक्ष्मीज्योतिको तर्फबाट राजेन्द्रमुनी शाक्यले दिएको प्रतिवेदन ।
५. वादीले लक्ष्मीज्योतिबाट २०३७।७।२५ मा पास गराई दिएको राजीनामा शर्त सहितको भएको, निज वादीले लेनदेन व्यवहारको २६ नं. बमोजिम बन्धकी थैली तिरी जग्गा खान्छु भन्न समेत नसकेको आधारमा ०३६।७।२५ को राजीनामा लिखत १२९ नं. को मुद्दामा बदर हुने ठहरिसकेको हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०४०।९।१२ को फैसला ।
६. उक्त फैसला अ.बं. २५ र २८ नं. को विपरीत हुनुका साथै २०३५।४।२९ को फैसला विपरीत हुँदा बदर गरी लेनदेन व्यवहारको २८ नं. बमोजिम जरिवाना समेत गरिपाउँ भन्ने समेत व्यहोराको देवमुनीको म.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
७. वादी दावी नपुग्ने ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।४ को फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी देवमुनी शाक्यको निवेदन पर्न आएकोमा यस अदालत डिभिजन बेञ्जबाट म.क्षे.अ.को निर्णयमा लेनदेन व्यवहारको २५ नं. को प्रत्यक्षः त्रुटि देखिएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४२।११।८ मा भएको आदेश ।
९. आज निर्णय सुनाउने तारेख तोकी नियम बमोजिम निर्णयार्थ पेश भएको ।
१०. यसमा क्षे.अ.बाट प्रस्तुत मुद्दा कोर्ट फी लागी दायर भएको र कोर्ट फी ऐन बमोजिम कोर्ट फी लागी दायर भएको मुद्दामा अरु ऐन बमोजिम सजायँ हुन नसक्ने हुँदा दोहोरो लेनदेन गरेमा सजायँ गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने भन्ने ठहर भएकोमा पुनरावेदक वादी देवमुनीको सो निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी पेश भएकोमा वादीले आफ्नो फिरादबाट दोहोरो लिखत गरेमा सजायँ गरिपाउँ भन्ने दावी लिएपछि दावी बमोजिम दोहोरो लिखत भएको हो होइन ठहर गर्नु पर्ने सो नगरेको त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति प्रदान गर्ने आदेश भई विपक्षी समेत झिकाई पेश हुन आएकोमा पुनरावेदक देवमुनी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल र विपक्षी चीरकाजी शाक्यले गरेको बहस समेत सुनी क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के हो भन्नेतर्फ विचार गरेमा पुनरावेदक वादीले प्रस्तुत मुद्दामा लक्ष्मीज्योतिले आफूलाई २०३४।६।५ मा गरिदिएको लिखत ऐनका म्यादभित्र पास गरी नदिएकोबाट पास गरिपाउँ भन्ने मुद्दा परी पास हुने ठहरी भएको फैसला उपर पुनरावेदन नपरी अन्तिम भए बमोजिम पास भएको लिखतको जग्गा दोहोरो लेनदेन गरेको हुँदा लेनदेनको २५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने दावी लिएकोबाट लेनदेनको २५ नं. मा भएको व्यवस्था हेरिएमा सो दफामा एकलाई लिखत गरिदिएको अचल दोहोरो पारी अरुलाई कुनै व्यहोराले लेखिदिन हुँदैन जानीजानी दोहोरो पारी लिनेको थैली परेको भए भूस हुन्छ, नजानी लिएकोमा यसै महलको २६ नं. बमोजिम लिन मन्जूर नगरे पछिल्लाको थैली कपाली हुन्छ यस्तो दोहोरो परेकोमा जसको लिखतको मिति अघिको छ उसैको सदर हुन्छ म्याद नाघेपछिलाई ऐन बमोजिम हुन्छ भन्ने व्यवस्था भएको देखियो । कानूनमा भएको यो व्यवस्थाबाट एकालाई लिखत गरिदिएको अचल फेरि अरुलाई लिखत गरिदिन निषेध गरी त्यस्तो लिखत गरी लिए दिएकोमा जानीजानी लिएकोमा साहूको थैली भूस हुने र नजानी लिएकोमा कपाली हुने र यस कुरामा ऐनका म्यादभित्र फिराद दिनु पर्ने व्यवस्था भएको स्पष्ट छ । प्रस्तुत मुद्दामा वादीले जुन ब्लक नं. २१/७७३ को घर र पाताल जग्गा आफूलाई राजीनामा लेखिदिई फैसला बमोजिम २०३६।७।५ मा पास समेत भइसकेको भनी दावी लिएको सोही ब्लक नं. को घर पाताल जग्गा आफूलाई २०३६।९।२४ मा पास गरी राजीनामा दिएको भनी देखाई यीनै प्रतिवादी चिरकाजीले आफू वादी भइदिएको लिखत बदर तथा जालसाजी मुद्दामा र यस मुद्दाको प्रतिउत्तरमा समेत देखाएकोबाट वादीको राजीनामाको र प्रतिवादीको राजीनामाको अचल जग्गा एकै होइन कि भन्ने तर्फ विचार गरिरहन परेन । अब म्यादभित्र फिराद परेको हो होइन भन्नेतर्फ विचार गरेमा प्रस्तुत फिराद २०३७।७।२६ मा परेको र दोहोरो लेनदेन गरेको भनी दावी लिएको प्र. चीरकाजीले लिएको राजीनामा २०३६।९।२४ मा मात्र पास भएकोबाट लेनदेनको ४० नं. को म्यादभित्रै परेको देखिन आयो । अब वादीले आधार लिएको लिखत जालसाजबाट गराएको भनी यिनै प्रतिवादी चीरकाजीले यिनै वादी उपर दिएको मुद्दामा आजै भएको फैसलाबाट जालसाजी गरे भन्ने वादी दावी नपुग्ने ठहर्याएको क्षेत्रीय अदालतको फैसला मनासिब ठहरी फैसला भएबाट वादीले आधार लिएको लिखत जालसाजी भन्ने विपक्षीको दावी नपुगी कायम रहन आएको छ । अतः प्रस्तुत मुद्दामा वादीले दावी लिए बमोजिम दोहोरो लेनदेन गरेको हो होइन भन्नेतर्फ विचार गरेमा वादीले आधार लिएको वादी धनी र लक्ष्मीज्योती ऋणी भएको लिखत २०३६।७।२५ मा मालबाट पास भएको र प्र.चीरकाजीले निजै लक्ष्मीज्योतिबाट लिएको राजीनामा २०३६।९।२१ मा पास गराइलिएको उक्त दुवै लिखतको अचल घरजग्गा माथि लेखी देखाइए बमोजिम भएकै हुँदा आसामी लक्ष्मीज्योतिले वादीलाई लेखिदिएको राजीनामा सम्बन्धमा मुद्दा परी पास हुने ठहरी २०३६।७।२४ मा पास भइसकेपछि निजै लक्ष्मीज्योतिले सोही घरजग्गा पुनः प्र. चीरकाजीलाई २०३६।९।२५ मा पास गरी राजीनामा गरिदिएको देखिएकोबाट दोहोरो पारी राजीनामा गरी दिएको भन्ने कुरा स्पष्ट देखिन आयो । अब वादी दावी बमोजिम दोहोरो लेनदेन गरी प्र.चीरकाजीलाई गरिदिएको लिखत लेनदेनको २७ नं. बमोजिम बदर हुने होइन भन्नेतर्फ विचार गरेमा वादीको लिखत पहिले नै पास भइसकेपछि मात्र प्र.चीरकाजीको लिखत पास भएको देखिन आएकोले ऐनमा भएको व्यवस्था बमोजिम वादीको अघिल्लो लिखत कायम भई प्र. को पछिल्लो राजीनामा कायम रहन नसक्ने हुँदा बदर समेत हुने ठहर्छ । जहाँसम्म दोहोरो लेनदेन गरेमा सजायँ गरिपाउँ भन्ने वादीको दावी छ, प्र.चीरकाजीले अघि लिखत गरिदिएको जानीजानी आफूले दोहोरो पारी राजीनामा लिएको देखिएमा निजको थैली समेत भूस हुने कानूनी व्यवस्था भएकोमा निजले जानीजानी दोहोरो पारी लिएको भन्ने कतैबाट देखिन नआएकोले सो बमोजिम पनि हुने देखिन आएन । प्र. को लिखत बदर हुने ठहर्याउनु पर्नेमा कोर्ट फी लागी दायर भएको मुद्दामा कोर्ट फी ऐनले अरु सजायँ हुन नसक्ने र दोहोरो लेनदेन गरेमा सजायँ हुन नसक्ने भनी क्षे.अ. ले गरेको इन्साफ सम्म गल्ती ठहर्छ । यसप्रकार दोहोरो पारी राजीनामा लिने प्र.चीरकाजी उपर दावी बमोजिम सजायँ गर्न कानूनी व्यवस्था नभए पनि दोहोरो पारी राजीनामा दिने लक्ष्मीज्योतिको हकमा के कसो हो भन्नेतर्फ विचार गरेमा लेनदेनको २८ नं. मा भएको व्यवस्थाबाट त्यसरी एकालाई राजीनामा लिखत गरी दिइसकेको अचल फेरि दोहोरो पारी अरुलाई राजीनामा गरिदिएको ठहरेमा त्यस्तो दाहोरो पारी राजीनामा दिनेलाई पछिल्लो लिखतमा बिगो खुलेको भए सोही बिगो बमोजिम जरिवाना हुने व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्र.लक्ष्मीज्योतिले आफूले वादी देवमुनीलाई राजीनामा लिखत गरिदिई म्यादभित्र पास नगरिदिएबाट निज लक्ष्मीदेवी उपर पास गरिपाउँ भन्ने मुद्दा परी निजैले प्रतिउत्तर दिँदा समेत सो लिखत गरिदिएमा सावित भई प्रतिउत्तर समेत दिएको छँदै फेरि सोही अचल घरजग्गा दोहोरो पारी प्र.चिरीकाजीलाई राजीनामा पास गरिदिएको देखिन आएकोले निजलाई लेनदेनको २८ नं. बमोजिम पछिल्लो लिखतबाट देखिएको मोल बिगो बमोजिम रु. १६,००१।– जरिवाना समेत हुने ठहर्छ । बेरुजू हुँदा कानून बमोजिम असूल गर्न ल.पु.जि.अ. मा लेखिपठाउन का.जि.अ.त. मा लगत दिने । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल आषाढ ८ गते रोज २ शुभम् ।