निर्णय नं. ३१६२ - जालसाजी

निर्णय नं. ३१६२ ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. ४७९,४८०
मुद्दा : जालसाजी ।
पुनरावेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ सिवाहाल बस्ने देवमुनी शाक्य ।
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. तखाछें बस्ने चीरीकाजी शाक्य ।
पुनरावेदक/वादी: ल.पु.न.पं. वडा नं. २१ सिवहाल बस्ने चीरीकाजी शाक्य
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने देवमुनी शाक्य ।
ऐ.ऐ बस्ने लक्ष्मीज्योती शाक्य ।
ऐ.ऐ बस्ने वेखामान शाक्य ।
ऐ.वडा नं. ९ बस्ने शान्तमान शाक्य ।
ऐ. वडा नं.३ झम्सिखेल बस्ने लक्ष्मी बहादुर दुवाल ।
फैसला भएको मिति: २०४४।३।८।२ मा
फौज्दारी मुद्दामा कुनै व्यक्तिले झुठ्ठा प्रमाण बनाई रिसइवीले वा मनासिब माफिकको कारण वा तथ्य नभई कुनै व्यक्ति उपर मुद्दा चलाएको ठहरेमा त्यस्तो व्यक्तिलाई सजायँ गर्ने व्यवस्था भएको, तर पोल उजूर गर्दा रिसइवी रहेनछ वा पोल उजूर गर्नु पर्ने मनासिब माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजूर गर्ने व्यक्तिलाई सवै वा केही सजायँ नगर्न सक्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
विपक्षी,वादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।८।४ मा भएको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्र.देवमुनी शाक्य तथा वादी चीरिकाजी शाक्यको पर्न अएको छुट्टाछुट्टै निवेदनमा यस अदालतको मिति २०४२।११।८ को आदेशबाट अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ:
२. विपक्षी मध्ये लक्ष्मीज्योती शाक्यले तेजमुनी शाक्यलाई रु. १,००१।– कर्जा लिए बापत पूर्व ज्ञानमुनीको घर गल्ली बाटो, पश्चिम सप्तमायाको भागको मोतीराजले किनेको घर, उत्तरमा कमाइको केववारी दक्षिण मूल सडक यति ४ किल्ला भित्रको ल.पु. गावहाल ब्लक नं. २१।७७३ को घर र सो घरले चर्चेको उत्तर पट्टि जोडिएको घरपाताल हाल नापीमा ललितपुर न.पं. वार्ड नं. २१ कि.नं. ५९६ कायम भएको छ । सो सम्पत्ति २०२९।११।१२ मा पास गरी भोगबन्धकी लिनु दिनु गरेको थियो । भोगबन्धकी कागज तेजमुनी शाक्यले मलाई घर बन्धकीको कागज गरी मिति २०३६।८।२ मा लिखत गरी २०३६।८।२ मा रजिष्ट्रेशन गरिदिनु भएको उक्त सम्पत्ति २०३६।९।२४ का दिन धनी लक्ष्मीज्योति मार्फत १६,००१।– मा फार्छे गरी भोगचलन गरिआएको थिएँ । यस्तैमा लक्ष्मीज्योति दिने, देवमुनी लिने गरी २०३४।६।५ को मितिमा घरसारमा कागज गरी मिति २०३५।४।२९ मा एकातर्फी गरी मिली ल.पु.जि.अ.बाट फैसला गराई सोही आधारमा २०३६।७।२५ मा मालपोत कार्यालय मार्फत रजिष्ट्रेशन पास गराउनु भएको रहेछ । यसरी एकालाई लिखत गरिदिई सकेपछि जानीजानी अर्को लिखत दिन नहुने र लिनेले पनि लिन नहुने कुरा लेनदेन व्यवहारको २५ नं. को प्रतिकूल भएको भोगबन्धकी तिरेको निस्सा राख्नु पर्ने कुरा रजिष्ट्रेशनको २० नं. मा प्रष्ट छ । तसर्थ लिखत बदरमा छुट्टै नालेश गरेको छु । यसरी भएको वास्तविकता लुकाई लक्ष्मीबहादुरले लेख्ने बेखाराम, शान्तराम बसी कागज खडा गरी मिलुवा मुद्दा समेत गरी रजिष्ट्रेशन पास गरी लिँदा कीर्ते कागजको ३ नं. बमोजिमको अपराध गरेको हुँदा विपक्षीहरूलाई कीर्ते कागजको १० नं. बमोजिमको सजायँ गरिपाउँ भन्ने चीरिकाजीको फिरादपत्र ।
३. वादी दावी झुठ्ठा हो, लक्ष्मीज्योतिलाई देवमुनीले रुपैयाँ दिई सद्दे व्यवहारबाट लिखत भएको हो भन्ने समेत व्यहोराको शान्तमान शाक्यको प्रतिउत्तरपत्र ।
४. लक्ष्मीज्योति र देवमुनी बीच लिनु दिनु भई लिखत गर्ने सल्लाह अनुसार साक्षीको रोहवरमा मैले लिखत लेखिदिएको हुँदा झुठ्ठा दावीबाट फुर्सदपाउँ भन्ने समेत व्यहोराको लक्ष्मीबहादुर दुवालको प्रतिउत्तरपत्र ।
५. म सिकर्मी काम गर्दा छानाबाट खसी मगज बिग्री छिनछिनमा बहुला वक्क लाटो समेत भएको र लिखत भएको भनेको मितिमा सेण्ट जेभियर्स सामाजिक सेवाश्रममा बसेको हुँदा मैले जालसाजी गरेको नहुँदा झुठ्ठा दावीबाट फुर्सदपाउँ भन्ने लक्ष्मीज्योति तर्फको प्रतिउत्तरपत्र ।
६. वादी दावी झुठ्ठा हो । मैले ललितपुर जि.अ.कै फैसला र पुर्जी अनुसार लिखत पास गराएको हुँदा समेत जालसाजी गरेको होइन । तसर्थ त्यस्तो फिराद दावीबाट फुर्सदपाउँ भन्ने समेत व्यहोराको देवमुनी समेतको प्रतिउत्तरपत्र ।
७. देवमुनीले बन्धकी थैली बुझाई पास गरिदिने शर्त सहित गरिदिएको लिखतलाई शर्त पूरा नगरी पारीत गरेकै आधारमा मात्र जग्गाको हक स्वामित्व टुटाई जालसाज गरेको भन्न नहुने भन्ने समेत ल.पु.जि.अ. को २०४०।९।१२ को फैसला ।
८. ललितपुर जि.अ.को उक्त फैसला बदर गरी जालसाजी घोषित गरिपाउँ भन्ने समेत चीरिकाजीको म.क्षे.अ. मा पर्न आएको पुनरावेदनपत्र ।
९. ललितपुर जि.अ.ले फैसला गर्दा दण्ड सजायँको १८ नं. बमोजिम वादीलाई सजायँ गर्नु पर्ने नगरेकाले वादीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको देवमुनी शाक्यको म.क्षे.अ.मा पर्न आएको पुनरावेदनपत्र ।
१०. वादी दावी नपुग्ने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ । वादी प्रतिवादी दुवै थरीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४२।८।४ को फैसला ।
११. विपक्षीलाई सजायँबाट छुट दिने गरी भएको फैसला दण्ड सजायँको १८ नं. विपरीत भई कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदकको माग बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्र.देवमुनी शाक्यको तथा क्षेत्रीय अदालतको फैसला बदर गरी ०३६।७।२५ मा पारीत गरेको रजिष्ट्रेशन कानून विपरीत हुँदा जालसाजी घोषित गरिपाउँ भन्ने समेत व्यहोराको चीरिकाजी शाक्यले पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा दायर गरेको छुट्टाछुट्टै निवेदन ।
१२. म.क्षे.अ.को निर्णयमा दण्ड सजायँको १८ नं. को त्रुटि देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको प्र.देवमुनी शाक्यको निवेदनमा यस अदालत डिभिजन बेञ्जको मिति २०४२।११।८ को आदेश ।
१३. यसमा प्र.देवमुनी शाक्यको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भएकोले यसमा पनि पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको निवेदक वादी चीरिकाजी शाक्यको निवेदनमा यस अदालत डिभिजन बेञ्जबाट भएको आदेश ।
१४. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी चीरिकाजी शाक्य रोहवरमा बसी गर्नुभएको छलफल तथा प्रतिवादी पुनरावेदक देवमुनी शाक्यका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसालले गर्नुभएको बहस समेत सुनियो ।
१५. नियम बमोजिम आज निर्णय सुनाउने तारेख तोकिई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा यसमा बा.अं.अ.बाट वादीले पाएको राजीनामा नै क्रियाशील हुन नसक्ने ठहरी फैसला भएकोले त्यस्तो राजीनामाको आधारमा जालसाजी गरे भनी वादीले लिएको दावी पुग्न नसक्ने भए पनि जालसाजी तर्फ वादीलाई सजायँ नगरेको मनासिब ठहर्याई भएको फैसला उपर वादी चीरिकाजीको जालसाजी ठहर्याउनु पर्ने नठहर्याएको नमिल्ने भन्ने र प्र.देवमुनीले जालसाजी गरे भन्ने दावी नपुगेपछि दं.स.को १८ नं. बमोजिम सजायँ नगर्ने गरेको नमिल्ने भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन दिएकोमा वादी दावी बमोजिम जालसाजी नठहरेपछि वादीलाई सजायँ नगरेको दं.स.को १८ नं. को त्रुटि भएको भन्ने आधारमा प्र.देवमुनीको निवेदनबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई देवमुनीको निवेदनमा अनुमति प्रदान गरेको आधारमा वादी चीरिकाजीको निवेदनमा पनि अनुमति प्रदान भई पेश हुन आएको देखियो ।
१६. जहाँसम्म वादी चीरिकाजीको दावी बमोजिम जालसाजी ठहर्याउनु पर्ने भन्ने जिकिरको हकमा प्रस्तुत मुद्दामा वादीले खास गरी अघि नै भोगबन्धकी पास समेत गरिदिएको घर जग्गा भोगबन्धकी लिने तेजमुनीले आफूलाई लख पास गरिदिएको र पछि राजीनामा समेत गराई लिएको घर जग्गा २०३४।६।५ मा घरसारमा कागज गरी मिलोमतो गरी एकतर्फी गरी २०३५।४।२९ मा ल.पु.जि.अ. बाट फैसला गराई सोही आधारमा २०३६।७।२५ मा मा.पो.का.बाट पास गराई लिएको कीर्ते कागजको ३ नं. बमोजिम जालसाजी गरेको छ भन्ने दावी लिएको र छलफलमा निज वादी चीरकाजीले आफू उपर यिनै प्र.वादी देवमुनीले वादी भई दिएको दोहोरो लेनदेन मुद्दामा यिनी वादीले दिएको प्रतिउत्तरमा जिकिर लिए बमोजिम देवमुनीलाई राजीनामा लेखिदिने भनेको लक्ष्मीज्योती छानाबाट खसी मगज ठेगान नभएको वक्कलाटा समेत भएकोबाट सेन्टजेवियर्स सामाजिक संस्थामा रहेका बखत अघिको मिति हाली राजीनामा गराई लिएको हुँदा जालसाज गरी लिखत गराई लिएको देखिने भन्ने जिकिर समेत लिएको हुँदा प्रमाणको रुपमा साथमा रहेको वादी देवमुनी प्रतिवादी लक्ष्मीज्योती भएको वादीले यस मुद्दाबाट जालसाज गरी गराएको पनि दावी लिएको लिखत पास गरिपाउँ भनी दिएको मुद्दा हेरिएमा सो मुद्दामा यिनै प्रतिवादी देवमुनी वादी भई यिनै प्रतिवादी मध्येको लक्ष्मीज्योती उपर लिखतको घर जग्गा तेजमुनीलाई बन्धकी पास गरिदिएको हुँदा सो न्हेडीक तिर्न रु. १,००१।– र अरु घर खर्च गर्न रु. ९,०००।– समेत रु. १०,००१।– लिई न्हेडीकको फट्टा ल्याई ऐनका म्यादभित्र पास गरी दिनेछु भनी २०३४।६।५ मा राजीनामा लिखत गरी दिएकोमा पास गरी नदिएकोले पास गराई पाउँ भन्ने फिराद दिएकोमा निज प्र.लक्ष्मीज्योतीले वारीसनामा दिई प्रतिउत्तर फिराउँदा सो न्हेडिक तिर्न रु. १,००१।– र अरु समेत जम्मा २,०००।– लिई बाँकी रु. ७,०००।– लिखत पास गर्दा दिने बोलकबोल गरी लिखत गरिदिएको हो, न्हेडिक थैली तिर्न जाँदा भोगबन्धकी लिने तेजमुनीले लिखत फेला नपरेको भनी थैली बुझी फट्टा नदिएकोले सो बाँकी रुपैयाँ दिएमा न्हेडिक थैली तिरी पास गरिदिन मन्जूर छु भनी प्रतिउत्तर फिराएकोमा अदालतबाट थैली पूरा नपाएको भन्ने प्रतिउत्तर जिकिरबाट विचार गर्न नमिल्ने र न्हेडिक नतिरेको भन्ने हकमा अरु कसैको उजूर नपरेको लिखत रीतपूर्वकको देखिएकोले पास हुने ठहर्छ भनी २०३५।४।२९ मा फैसला भए उपर प्रतिवादीको पुनरावेदन नपरी अन्तिम भएपछि अदालतबाट पास पुर्जी लिई २०३६।७।२५ मा मालबाट पास भएको देखिन आएको छ । निज लक्ष्मीज्योतिको हकदार आशामायाले फैसला बमोजिम पास गराई लिएको लिखत मगज बिग्रेको बक्कलाटो भई सेन्टजेवियर्स सामाजिक संस्थामा उपचार गराउन राखेका बखत जालसाज गरी गराएको भनी देखाई २०३५।१।२४ मा जालसाजी मुद्दा र आफ्नो समेत हक लाग्ने घर जग्गा स्वीकृति नलिई गराएको लिखत बदर गरिपाउँ भनी २०३५।९।१२ मा लिखत बदर मुद्दा र जालसाज मुद्दा पर्दापर्दै मुद्दा फैसला गरेको हुँदा सो फैसला बदर मुद्दा २०३५।७।९ मा दिएकोमा यी सबै मुद्दाहरूमा लक्ष्मीज्योती आफैंले अदालतमा उपस्थित भई वादी दावीको कुरा इन्कार गरी प्रतिउत्तर फिराएकोमा अदालतबाट निज लक्ष्मीज्योती मगज बिग्रेको बक्कलाटा भन्ने देखाई प्रतिउत्तरमा केही व्यहोरा नजनाइएका र सबै मुद्दाहरूमा वादी आशामायाले पेशी तारिख गुजारेको र प्रतिवादी हाजिर रहेकोबाट यी सबै मुद्दाहरूमा वादी दावी नपुग्ने ठहरी २०३५।१०।१ मा फैसला भइरहेको पनि प्रमाणको रुपमा साथ रहेका मिसिलबाट देखिन आएकोबाट लिखत पास मुद्दा २०३५।४।२९ मा फैसला भएको अन्तिम रुपमा रहेको देखिन आउँछ । प्रमाणको मिसिलहरूबाट देखिन आएको उक्त कुराहरूबाट देवमुनीलाई लिखत गरिदिँदा निज लक्ष्मीज्योती मगज ठेगान नभएको बक्कलाटा भई उपचारको लागि सेन्टजेवियर्सको सामाजिक संस्थामा रहेको, हिंड्डुल गर्न नसक्ने भन्ने जिकिर मान्न सकिने अवस्था रहन आएन। उसमा पनि वादीले निज लक्ष्मीज्योती लाई मगज ठेगान नभएको वक्कलाटो भई अझसम्म पनि सोही अवस्थामा रहेको भनी जिकिर लिएको पनि देखिन आउँछ । तर निजले लक्ष्मीज्योती सित विवादको घर जग्गा २०३६।९।२४ मा राजीनामा गराई लिंदा यदि निज सो अवस्थामा रहेको भए त्यस्तो मानिस सित निजको घर जग्गा राजीनामा लिंदा अ.बं. २४ नं. को रीत पुर्याई राजीनामा लिखत गराई पास गराएको हुनुपर्ने तर बन्धकी निखनाई पाउँ भनी मा.पो.का.मा चलेको कारवाही मिसिलमा पेश भइरहेको लिखत नक्कलबाट सो बमोजिम भए गरेको नदेखिएकोबाट पनि वादीको सो जिकिर मान्न सकिने अवस्था रहन आएन जहाँसम्म रजिष्ट्रेशनको २० नं. बमोजिम न्हेडिक तिरेको फट्टा बेगर मिलोमतो गरी घरसारमा लिखत गराई एकतर्फी पास भएको लिखत जालसाज ठहर्नु पर्ने भन्ने जिकिरको हकमा उक्त पास मुद्दामा पेश भइरहेको लिखतको व्यहोरामा थैली लिएको बापतमा न्हेडिक गर्न रु. १,००१।– भन्ने र न्हेडिक तिरी ल्याई पास गरिदिने भन्ने समेत व्यहोरा परेको र प्र.लक्ष्मीज्योतिले प्रतिउत्तर फिराउँदा समेत न्हेडिक तिर्न न्हेडिकको रकम बुझिलिएको कुरा स्वीकार गरेकोबाट लिखत रीतपूर्वककै देखिई पास हुने ठहरी फैसला भएको देखिनुको साथै प्रमाणको रुपमा साथमा रहेको बन्धकी थैली बुझाई पाउँ भन्ने मिसिलबाट सो पास हुने ठहरेको लिखत पास पुर्जी लिई पास गराउन जानु अगावै २०३६।७।१६ मा सो भोगबन्धकी थैली बुझाई पाउँ भनी यिनै प्र.लक्ष्मीज्योती को वारीसनामाबाट थैली समेत धरौट राखी कारवाही भई यिनै वादीलाई लखबन्धक पास गरी दिई सकेको पनि भोगबन्धकी लिने साहू तेजमुनीले निवेदन दिएकोबाट यिनी वादीलाई बुझेकोमा यिनी वादीले २०३६।९।२४ मा राजीनामा समेत गराई लिइसकेको भनी देखाई २०३७।३।१६ मा निवेदन दिएकोबाट कारवाहीमा छँदै लक्ष्मीज्योती को बन्धकी निखनी पाउन वारिसद्वारा धरौट राख्न पठाएको होइन भन्ने २०३८।३।११ मा सेन्टजेवियर्स सामाजिक संस्थाले मगज ठेगान नभएको बक्कलाटा भनी देखाई निवेदन पठाएकोबाट २०३८।५।१६ मा सो कारवाही खारेज गर्ने पर्चा भई तामेलीमा राखिएको सो मिसिलमा रहेको वारिसनामा समेतको नक्कल यिनी वादीले २०३८।७।१६ मा लिएको देखिन आउँछ । यदि वास्तवमा यी सबै काम कुरा जालसाजबाट भएको भए यिनी वादी या लक्ष्मीज्योती ले सो कुराको दावी लिई कानूनका म्यादभित्र फिराद दिई बदर गराउन सक्नु पर्ने सो गरेको कुनै प्रमाण नआएको हुँदा न्हेडिक बुझाउन सम्बन्धित कार्यालयमा धरौट समेत राखी कारवाही चलाई सकेपछि न्हेडिक बुझाई फट्टा नलिएको भनी पास हुने ठहरी फैसला भए बमोजिम पास भएको लिखत वादी दावी बमोजिम जालसाजी गरी गराएको भन्न नमिलेकोले क्षे.अ.ले जालसाजी गरे भन्ने वादी दावी नपुग्ने ठहर्याएको मनासिबै देखिन आउँछ ।
१७. जहाँसम्म जालसाजी गरे भन्ने वादीको दावी नपुग्ने ठहरेपछि दं.स.को १८ नं. बमोजिम वादीले सजायँबाट छुट पाउन नसक्ने भन्ने हकमा पुनरावेदनबाट जिकिर लिएको दं.स.को १८ नं. मा भएको व्यवस्था हेरिएमा सो दं.स.को १८ नं. मा कुनै फौज्दारी मुद्दामा कुनै व्यक्तिले झुठ्ठा प्रमाण बनाई रिसइवीले वा मनासिब माफिकको कारण वा तथ्य नभई कुनै व्यक्ति उपर मुद्दा चलाएको ठहरेमा त्यस्तो व्यक्तिलाई सजायँ गर्ने व्यवस्था भएको, तर पोल उजूर गर्दा रिसइवी रहनेछ वा पोल उजूर गर्नु पर्ने मनासिब माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजूर गर्ने व्यक्तिलाई सबै वा केही सजायँ नगर्न सक्नेछ भन्ने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा वादी चीरीकाजीले अघि भोगबन्धकी लिने तेजमुनीबाट लखबन्धकी पास गराई लिई सोही लखबन्धकीको घर जग्गा फेरि हक पुग्ने लक्ष्मीज्योती बाट राजीनामा पास गरी लिएको आधारमा दावी लिएकोमा कानूनमा भएको यस सम्बन्धी व्यवस्थाहरूको सन्दर्भमा अदालतबाट निजले पास समेत गराई लिएको लिखत कानूनले मान्यता नपाउने क्रियाशील नरहेको भनी ठहर भएबाट जालसाजी गरे भन्ने दावी नपुग्ने ठहरी फैसला भएको हुँदा वादीले दं.स.को १८ नं. मा व्यवस्था भए बमोजिम मनासिब माफिकको तथ्य नभई उजूर गरेको भन्न मिल्ने अवस्था रहेको भन्न नमिलेको हुँदा विपक्षीतर्फको यो जिरह पनि मनासिब नदेखिएकोले क्षे.अ.ले वादीलाई दं.स.को १८ नं. बमोजिम सजायँ नगरेको समेत मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल आषाढ ८ गते रोज २ शुभम् ।