शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१६३ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक:

निर्णय नं. ३१६३   ने.का.प. २०४४ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको फौ.पु.नं. ४४४

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: प्र.ना.उ.वलेन्द्र बहादुर सिंहको प्रतिवेदन र दुलारी मिश्राइनको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: रुपन्देही जिल्ला वसन्तपुर गा.पं. वडा नं. ३ पननी बस्ने जोखु पाण्डे ।

        ऐ.ऐ बस्ने ललितादेवी मिश्राइन ।

        ऐ.ऐ बस्ने तहसिल तेली ।

        ऐ.ऐ बस्ने राधीका ब्राम्हाण ।

        ऐ.ऐ बस्ने परक कुर्मी ।

        ऐ. वडा नं. ७ बस्ने दुनियायत तिवारी ।

        ऐ.ऐ बस्ने फागु कहार ।

        भारत जिल्ला गोरखपुर पिपरा बस्ने सिउमुरत कायस्थ ।

        ऐ.ऐ बम्बियरगंज घर भै हाल चिलिया गा.प.वडा नं. ६ हाटी वनगाई बस्ने            रामविलास पाण्डे ।

फैसला भएको मिति: २०४४।३।३०।३ मा

    अदालतमा आई बकपत्र गर्दा मर्ने मानिस सो अवस्था बोल्दै थियो भन्ने सम्म कुरा सकारी सो मुचुल्कामा उल्लेख भएका कुराहरू आफूले नसुनेको भनी देखाई मर्नेले होस छँदै भनेको ठीक हो भनी प्रमाणित नगरेकोबाट सो मुचुल्कामा लेखिएका कुरालाई शंकारहित तवरमा प्रमाणमा लिन सकिने अवस्था रहन आएन ।

 (प्रकरण नं. ३६)

पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बुद्धिप्रसाद रेग्मी

विपक्षी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको छ ।

२.  २०३७।११।१४।४ गते राती विद्याप्रसाद मिश्र घाइते अवस्थामा भिम अस्पताल सिद्धार्थ नगरमा आउँदा प्र.ना.उ. बलेन्द्रबहादुरले निजसंग सोधपुछ गर्दा रामरतन यादवले घरबाट बोलाई लगी बुझारथ पासीले एक फायर, जोखुले दोश्रो फायर तथा रामरतन यादवले तेश्रो फायर बन्दूकले हानी घाइते भएको हुँ भन्ने कुरा मृतक विद्याप्रसादले घाइते अवस्थामा हामीहरूको  सामुन्नेमा भनेका हुन् भन्ने समेत व्यहोराको कमलप्रसाद समेतले भिम अस्पतालमा डिउटीमा रहेकी अ.न.मी. शान्ति अर्यालको रोहवरमा गरेको कागज ।

३.  विद्याप्रसाद मिश्रलाई बदमासहरूले घाइते बनाएकोले भिम अस्पतालमा आएको खबर सुनी अस्पताल पुगी सोधपुछ गर्दा रामरतनले मलाई घरबाट बोलाई दक्षिण बाटोमा लगी बुझारथ पासीले पहिलो फायर, जोखु पाण्डेले दोश्रो फायर, रामरतन यादवले तेश्रो फायर बन्दूक हाने भन्ने कुरा भनेको र त्यसपछि बेहोश भएकोले निजको भनाई मुताविक कमलप्रसाद काÇलेले समेत गरेको मुचुल्का साथै राखी प्रतिवेदन गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.उ.बलेन्द्रबहादुर सिंहको प्रतिवेदन ।

४.  बायाँ हातको पाखुरामा ५ इन्च लम्बाई, आधा इन्च चौडाईको घाउ, बायाँ काखी मुनी ८फरक मा ३लम्बाई १चौडाई भएको गोलीको छर्रा लागी छाला डढी कालो भई गहिरो घाउ १, बायाँ दुध देखि मुनी गोलीको ६ वटा छर्रा लागेको घाउ परेको भन्ने समेत व्यहोराको मृतकको लाश प्रकृति मुचुल्का ।

५.  शंकरप्रसादको २ श्रीमती मध्ये जेठी ललितादेवी उपर छोरा विद्याप्रसादले अंश मुद्दा दायर गरी अंश पाउने ठहरी अन्तिम फैसला भएकोले सो इवी निजले लिई राखेकी थिइन् । २०३७।११।१४ गते राती अं. ८ बजे रामरतन आई काम छ भनी छोरालाई बोलाई दक्षिणतर्फ लगेको अवस्था बन्दूक फायर भएको आवाज आयो । विद्याप्रसादलाई गोली लाग्यो भन्ने हल्ला सुनी जाँदा भुँइमा पल्टेको रहेछ । निज छोरालाई सोद्धा रामरतन यादवले बोलाई ल्याई बुझारथ पासी, जोखु पाण्डे समेतले ललिता देवीलाई धेरै परेशानी गरिस् लु अंश खा भनी तीनै जनाले एक एक फायर गरेकोले घाइते भएको हुँ भनी भने । अस्पतालमा ल्याएपछि प्रहरी अधिकृतले सोधपुछ गर्दा पनि रामरतन बुझारथ र जोखुले बन्दूक फायर गरी हानेका हुन् भनी भनेपछि बेहोश भई रातको अं. १:३० बजेतिर मृत्यु भएको हो । ललिताको षडयन्त्रबाट दुनियापत तिवारीको घरमा भेला भई सर सल्लाह गरी बुझारथ पासी, जोखु पाण्डे, रामरतन यादव, तहसील तेली, सिउरभूत कायस्थ, राधिका ब्राम्हण, परम कुर्मी समेतका व्यक्तिहरूले षडयन्त्र गरी मारेमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको दुलारी मिश्राइनको जाहेरी दर्खास्त ।

६.  जोखु पाण्डेको विस्तरामा निजको नाउँको लाइसेन्स भएको बन्दूक १, पड्केको गोलीको खोका १ फेला परेको भन्ने वरामदी मुचुल्का ।

७.  विद्याप्रसाद र मेरो बीच अंश मुद्दा चलेबाट निजसंग मेरो रिसइवी थियो । २०३७।११।१४ गतेको राती विद्याप्रसादको भिम अस्पतालमा मृत्यु भएको हो भन्ने समेत व्यहोराको ललितादेवी मिश्राइनले प्रहरीमा गरेको कागज ।

८.  २०३७ साल फाल्गुणमा फागुकहारले घरमा आई तपाईलाई चनुलिका मालिकले हतियार लिई आउनु भन्ने खबर पठाएका छन् भनी गयो । मैले भोला अहिरसंग बन्दूक १ र टोटा २ मागी भैरहवा तर्फ आउँदा राम औतारसंग भेट भई निजलाई समेत साथमा लिई साँझ चनुलिको सीमानामा पुग्यौं । त्यहाँ सोमई कोइरी, फागुकहार, अर्को १ जना नचिनेका थिए । फागुले पुनः गाउँमा गई नचिनेका दुईजना बोलाई ल्यायो र आज पननी गाउँमा १ जनालाई मार्नुछ भनी पननी पुगेपछि १ जनाले विद्यालाई बोलाई ल्यायो र तीनजना अपरिचित व्यक्तिले १।१ फायर विद्याप्रसादलाई हानी पल्टेपछि रामऔतार भरले फायर गर्दा मीस हुन गयो । त्यसपछि भागी रामपुरको बगैंचामा आएपछि एकजना अपरिचितले रु. १००।दियो । रामऔतार र मैले ५०।५० बाँडी लिएका हौं । सोही फायरबाट विद्याप्रसादको मृत्यु हुन गएको हो । दुनियापत तिवारीले मलाई सो वारदात गर्न बोलाएका हुन् भन्ने समेत व्यहोराको रामबिलास पाण्डेले बिलप्रसाद श्रेष्ठ समेतको जाहेरीले परेको डाँका मुद्दामा प्रहरीमा गरेको बयानको प्रतिलिपि ।

९.  २०३७ सालको फाल्गुण महीनामा भैरहवा छाला कारखाना निर रामबिलाससंग भेट भई काम छ जाउँ भनेकाले अं. ७ बजे चनुली देखि पश्चिम सीमानामा पुग्दा सो मई कोइरी र अरु नचिनेका २ जना थिए । त्यसमध्ये एकजनाले चनुलिमा गई अरु दुई जनालाई बोलाई ल्यायो । सातजना भई पननी गाउँमा गयौं । एकजनाले विद्याप्रसादलाई ल्याएपछि बन्दूकले तीनै जनाले १।१ फायर हानी ढलेपछि मैले पनि १ फायर गर्दा मीस हुन गयो । पछि श्रीरामपुरको बगैंचामा आई एकजनाले रामबिलासलाई रु. १००।दियो मैले र रामबिलासले ५०।–, ५०।बाँडी खाएका हौं भन्ने समेत व्यहोराको राम औतार भरले निलप्रसाद श्रेष्ठ समेतको जाहेरी परेको डाँका मुद्दामा प्रहरीमा गरेको बयानको प्रतिलिपि ।

१०.  २०३७ साल फाल्गुणमा दुनियापतले रामबिलासलाई बोलाई ल्याउनु भनेकोले बोलाई फर्की आएँ । साँझ ७ बजे चनुली देखि पश्चिम खेतमा रामरतन यादव, बुझारथ जोखु र सोमई समेत बसेका थिए । राम औतार र रामबिलास पनि आए । सातजना भई डकैती गर्न जाने होला भनी गएँ । विद्याप्रसादले ललितादेवीलाई दुःख दिएको छ, त्यसलाई खतम पार्नुपर्छ भनी कुरा गरेको सुनेपछि म जान्न भनी आफ्नो घरमा गएँ । करिब एक घण्टापछि बन्दूक फायर भएको आवाज सुनें । विद्याप्रसादलाई हानेके रे भन्ने सम्झें, त्यसको भोलिपल्ट विद्याप्रसादको मृत्यु भएछ। ललिता देवीले दुनियापतसंग सम्पर्क राखी षडयन्त्र रची विद्याप्रसादलाई मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको फागु कहारले प्रहरीमा गरेको कागज ।

११.  २०३७।११।१४ गते राती बन्दूक पड्केको सुनी वारदातस्थलमा जाँदा विद्याप्रसादलाई घाइते अवस्थामा देख्यौं मलाई रामरतन, बुझारथ, जोखु पाण्डेले गोली हानी घाइते बनाएका हुन् भनेका थिए । रामबिलास र राम औतारले आफू सावित भई सोमई कोइरी समेतलाई पोल गरेबाट निजहरूले नै मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको नागु कुर्मीको लेखाई भएको, विद्याप्रसादको भनाई, रामबिलास र रामऔतारको साविती कागज हुँदा रामरतन, जोखु, बुझारथ, रामबिलास, रामऔतार, सोमई कोइरी, फागुकहारले मारेको तथा ललितादेवी र दुनियापत तिवारीले षडयन्त्र गरेको हुनु पर्छ, अन्य तहसील तेली समेतले यो वारदात गरे होलान् भनी भन्न सक्तैनौं भन्ने केही व्यक्तिहरूको भनाई भएको सरजमीन मुचुल्का ।

१२.  सबुद प्रमाणको आधारमा बुझारथ पासी, रामरतन यादव, जोखु पाण्डेले हानेको गोलीले विद्याप्रसादको मृत्यु भएको देखिँदा निजहरू पक्राउ हुन नआएकोले अड्डैबाट झिकाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ हुन र उक्त वारदातमा सम्मिलित भई पारिश्रमिक खाने रामबिलास, रामऔतार र पोलिएका फागुकहार उपर ज्यानसम्बन्धीको १३(४) बमोजिम सजायँ हुन तथा षडयन्त्रमा सम्मिलित हुने ललिता मिश्राइन र पक्राउ नपरेका दुनियापत तिवारीलाई अड्डैबाट झिकाई ऐ.ऐनको १६ नं. बमोजिम सजायँ होस् । हाल पक्राउ नपरेका तहसील तेली, राधिका ब्रम्हाण परम कुर्मीलाई अड्डैबाट झिकाई ऐ.ऐनको १७(३) बमोजिम सजायँ हुन माग दावी गरिएको छ । सिउमुरत, सोमई कोइरीको वतन भारततर्फको देखिएकोले निजहरू नेपाल सरहदमा फेला परे कानून बमोजिम छुट्टै माग गरिने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१३.  रामरतन र बुझारथका हकमा केही भन्न सक्तैन, जोखु पाण्डे सो अवस्था आफ्नो घरमा थिए दुनियापत मेरो गफ मेलका मानिस होइनन् । फागुले किन त्यस्तो लेखाए मलाई थाहा छैन । विद्याप्रसादलाई मार्ने षडयन्त्र गरेको नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.ललिता मिश्राइनले अदालतमा गरेको बयान ।

१४. प्रहरीमा भएको बयान भने बमोजिम लेखिएको छैन वारदातको दिन म भैरहवा हाट बजारमा आलुको बोरा उठाउने काम गरी राती त्यहीं बसेको छु ।  रामबिलासलाई बोलाउन गएको होइन । विद्याप्रसादलाई मैले मारे मराएको नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.फागुकहारले अदालतमा गरेको बयान ।

१५. मिति २०३७।११।१४ गते म जिल्ला प्रहरी कार्यालयमा थिएँ । मलाई बनगाइबाट पक्राउ गरिल्याएका हुन् । विद्याप्रसादलाई मैले मारे मराएको होइन । प्रहरीको बयान मेरो स्वेच्छाको होइन भन्ने समेत व्यहोराको प्र.रामबिलास पाण्डेले अदालतमा गरेको बयान ।

१६.  २०३७।११।१४ गते म आफ्नो घर भारत विसुनपुरामा थिएँ । प्रहरीमा मैले भन्दै नभनेको कुरा लेखी सहिछाप गराएका हुन् विद्याप्रसादलाई मारेको र मार्न गएको होइन भन्ने समेत व्यहोराको प्र.रामऔतार भरले अदालतमा गरेको बयान ।

१७. २०३७।१०।११ गते गोरखपुर गई नेत्र चिकित्सालयमा भर्ना भई चैत्र २ गते अस्पतालबाट छुट्टी पाई बैशाखमा मात्र घरमा आएको छु । जाहेरवाली समेतका व्यक्ति म संग रिसाएकोले पोलेका हुन् । मैले विद्याप्रसादलाई मार्ने षडयन्त्र गरेको र मारेको समेत होइन । झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने दुनियापत तिवारीले अदालतमा गरेको बयान ।

१८.  २०३७।११।१४ गते म मेरै घरमा छु । सो दिन साँझ डाँका पर्‍यो भन्ने हल्ला भयो। सबै जोखुको घरमा गई बन्दूक छाड भनी जोखुलाई भन्दा जोखुले आफ्नो कोठामा एक फायर बन्दूक हाने, दक्षिणतर्फबाट आएका मानिसले विद्याप्रसादलाई मारेछन् भनी भनेबाट हेर्न जाँदा अस्पताल लगिसकेका रहेछन् । दुलारी र विद्याप्रसादसंग कुटपिट मुद्दा चली जितिपाएकोले सोही रिसइवीबाट किटानी जाहेरी दिएका हुन् । मैले मारेको नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.परम कुर्मी भन्ने प्रमनारायणको अदालतमा भएको बयान ।

१९.  २०३७।११।१४ गते घरमा छु । डाँका डाँका भन्ने हल्ला सुनी जोखुले आफ्नो घरबाट एक फायर बन्दूक हाने । हल्ला शान्त भयो । त्यसको १०१५ मिनेट पछि विद्याप्रसादलाई मारेछन् भन्ने हल्ला सुनियो । मैले मारे मराएको नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.राधिका ब्राम्हण भन्ने राधेश्याम पाण्डेले अदालतमा गरेको बयान ।

२०. विद्याप्रसादलाई मैले मारे मराएको होइन, दुलारीसंग कुटपिट मुद्दा चलेको हुँदा रिसइवीले जाहेरी दिएको हुन् मैले कसूर गरेको होइन सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.तहसील तेलीले अदालतमा गरेको बयान ।

२१.  २०३७।११।१४ को राती ८ बजे म र त्रिलोकीनाथ मिश्र मेरो घरमा कुराकानी गरी बसेका थियौं । डाँका डाँका भन्ने हल्ला सुनियो, एक फायर भए पछि आधा घण्टापछि हल्ला शान्त भयो । बदमासले विद्यालाई गोली हानेर भैरहवा अस्पतालमा लगे भन्ने सुनियो । मैले मारे मराएको होइन भन्ने समेत व्यहोराको प्र.जोखु पाण्डेले अदालतमा गरेको बयान ।

२२. २०३७।११।१४ को राती ९ बजे घाइते विद्याप्रसादलाई भीमअस्पताल ल्याएको हो । मुचुल्कामा लेखिएको व्यहोरा पढी बाँची सुनि पाएको होइन, सहिछाप मेरै हो । म बाहिर बसेको हुँदा केही सुनिन भन्ने समेत व्यहोराको मुचुल्काको मानिस महेन्द्र पाठकले अदालतमा गरेको बकपत्र ।

२३. २०३७।११।१४ गते राती ९ बजे म डिउटीमा बसेको अवस्था घाइतेलाई उपचारार्थ ल्याएका थिए । घाइते अलि अलि बोल्न सक्थ्यो । प्रहरी अधिकृतले सोद्धा क कस्को नाम लियो मैले ख्याल गर्न सकिने, मुचुल्काको व्यहोरा नपढी सहिछाप गरेकी हुँ भन्ने समेत व्यहोराको मुचुल्काको रोहवरमा बस्ने शान्ति अर्यालको अदालतमा भएको बकपत्र ।

२४. बदमासहरूले विद्याप्रसादलाई मारे भन्ने सुनी हेर्न जाँदा घाइते विद्याप्रसाद बेहोश भई पल्टिरहेका थिए त्यसपछि गाउँलेहरू समेत मिली अस्पतालमा पुर्‍याए र पछि निजलाई एउटा कोठामा लगी हामीलाई बाहिर बस भनी भनेकाले हामी बाहिर बसेका थियौं । डि.एस.पी.  साहेबले एउटा कागजमा सही गर भनी धम्की दिएकोले सहीसम्म गरिदिएको हुँ, रामबिलास, रामरतन बुझारथ, रामऔतारलाई चिन्दिन, अरु प्रतिवादीहरूको चालचलन राम्रो छ । विद्यालाई मारे मराएमा उनीहरू प्रति विश्वास लाग्दैन भन्ने समेत व्यहोराको मुचुल्कामा बस्ने व्यक्ति खरविन्द छेदीले अदालतमा गरेको बयान ।

२५. म समेत भई विद्याप्रसादलाई अस्पतालमा पुर्‍याएका हौं । अस्पतालमा विद्यालाई ग्लूकोज पानी चढाउँदा मैले हात समाई बसेको थिएँ । सो बेला डि.एस.पी. साहेव आई सोद्धा बुझारथ, रामरतन र जोखुले पालैपालो १, १ फायर गरी घाइते बनाएका हुन् मलाई घरबाट बुझारथले बोलाई दक्षिण सडकतिर ल्याएका थिए भनी विद्याले बताएका थिए भन्ने समेत व्यहोराको मुचुल्काको मानिस मनिराम चमारले अदालतमा गरेको कागज ।

२६. गएको फाल्गुण महीना, गते याद छैन बुधवारको साँझमा रामरतनलाई केही काम छ भनी छोरालाई बोलाई लगेपछि ३ फायर बन्दूकको आवाज आयो । विद्यालाई गोली हाने भन्ने सुनेपछि म गएँ, हेर्न जाँदा पल्टिरहेको देखें । अस्पतालमा लगेपछि डि.एस.पी. साहेवले सोद्धा जोखु, रामरतन र बुझारथ समेतले एक एक फायर गरी बन्दूकले हानी घाइते बनाएका हुन् भनी छोरा विद्याले भनेका थिए भन्ने समेत व्यहोराको जाहेरवाली दुलारी मिश्राइनको बकपत्र ।

२७. सरजमीनका व्यक्तिहरू र प्रतिवादीका साक्षीहरूको बकपत्र मिसिल सामेल रहेको ।

२८. अभियुक्त बुझारथ पासी र रामरतन यादवको हकमा निजहरूले म्यादी पुर्जीको म्याद गुजारी बसेकोले अ.बं. १९० नं. ले मुलतवी रहने ठहर्छ । प्र.रामबिलास, रामऔतार, फागुकहारले प्रहरीमा गरेको कागज अन्य शंकारहित स्वतन्त्र प्रमाणबाट समर्थित नभएको, जोखु पाण्डेले बन्दूकले हानेको प्रमाणित नभएको, प्र.ललिता देवी, दुनियापतले षडयन्त्र गरेको प्रमाणित नभएको र प्र. तहसील, राधेश्याम, परम भन्ने प्रेमनारायण मतलवमा पसेको कुरा प्रमाणित नहुँदा निजहरूले आरोपित अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जि.अ.को फैसला ।

२९. शुरु जिल्ला अदालतबाट प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको फैसलामा चित्त बुझेन, सो फैसला बदर गरी शुरु प्रहरी प्रतिवेदन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारका तर्फबाट प.क्षे.अ.मा परेको पुनरावेदन ।

३०. शुरु जिल्ला अदालतको इन्साफ फरक पर्ने भएबाट अ.बं. २०२ नं. र क्षे.अ.नि. बमोजिम प्रतिवादीहरूलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको आदेश ।

३१.  प्रहरीमा साविती भएको भन्नेतर्फमा विचार गर्दा पनि सो साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्ट्याई भएको देखिएन । जाहेरवालीले पोल गरेकै भरमा ललिता मिश्राइनले षडयन्त्र गरेको भनी ठहर्‍याउन पनि मिलेन । अनुमानकै आधारमा शंका गरेको देखियो । शंकाकै आधारमा अपराधी ठहर्‍याउन मिल्ने नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरेको रुपन्देही जि.अ.को इन्साफ मनासिब छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भनी प.क्षे.अ.बाट भएको फैसला ।

३२. शुरु रुपन्देही जि.अ.को इन्साफ मनासिब ठहर्‍याई प.क्षे.अ.बाट भएको फैसलामा चित्त बुझेन, सो फैसला बदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

३३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात समेत अध्ययन गरी पुनरावेदकतर्फबाट बहसमा उपस्थित विद्वान उप-न्यायाधिवक्ता श्री बुद्धिप्रसाद रेग्मीले गरेको बहस समेत सुनियो ।

३४. विद्वान उप-न्यायाधिवक्ताले पुनरावेदन जिकिरलाई समर्थन गर्दै मृतक विद्याप्रसादले मर्नु भन्दा अगाडि आफू मर्नुपर्ने कारण यो यस्तो हो भनी भनेको  कुरा मौकाको मुचुल्कामा रहेका मनिराम चमारले समर्थित हुने गरी अदालत समेतमा बकपत्र गरिदिएकाले यसरी मर्ने व्यक्तिले आफू पार्नुपर्ने कारण आफ्नो होश छँदाकै अवस्थामा भनेको कुराको पुष्ट्याई भएकोले शुरु सदर गरी भएको प.क्षे.अ.को इन्साफ मिलेको छैन दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ हुनुपर्छ भनी आफ्नो बहस जिकिर प्रस्तुत गर्नु भयो ।

३५. विद्वान उप-न्यायाधिवक्ताको उल्लिखित बहस जिकिर समेतलाई ध्यानमा राखी इन्साफतर्फ विचार गर्दा प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ ? सो कुराको नै निर्णय दिनु पर्ने हुन आयो ।

३६. यसमा अभियुक्तमध्ये २ जनाको हकमा फरार रहेकोबाट मुलतवी रहेको देखिन आएको र अभियुक्तहरूको अदालतमा भएको बयानबाट मर्ने विद्याप्रसादलाई दक्षिणतर्फबाट डाँका गर्न आउने बदमासहरूले मारेको भनी देखाउने प्रयास भएको देखिन आउँछ । तर जुन दिन विद्याप्रसादलाई गोली हानी मारिएको छ सो रातमा कहीं कतै डाँका परी डाँकाको वारदात भएको देखिन नआएको र मर्ने विद्याप्रसादको घा जाँच मुचुल्का तथा चोट लागी अस्पतालमा भर्ना भई उपचार गर्दा गर्दै मरेको भन्ने भएकोबाट निजको सो रातको वारदातबाट परेको घा चोटबाटै मृत्यु भएको देखिन आउँछ । अब को कस्को कर्तव्यबाट मारिएको हो भन्नेतर्फ मुख्य प्रमाणको रुपमा जाहेरवालाको बकपत्र र मर्ने विद्याप्रसादले होश छँदै भनेको कुराको रुपमा ल्याइएको मुचुल्का नै मुख्य आधारको रुपमा रहेको हुँदा त्यसतर्फ विचार गर्दा जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा मर्ने छोरालाई आफ्नो घरबाट अभियुक्त रामरतनले बोलाई लगेको भनी देखाएकोमा मर्ने विद्याप्रसादले होश छँदै व्यक्त गरेको कुरा भनी भएको मुचुल्कामा रोहवरमा बस्ने मनिरामले अदालतमा आई बकपत्र गर्दा विद्याप्रसादले आफूलाई अभियुक्त मध्येको बुझारथले बोलाई लगेको भनी देखाई बकपत्र गरेकोबाट जाहेरी दर्खास्त तथा निजको अदालतको बकपत्रमा देखाएको कुरा मेल नखानुको साथै जाहेरीमा मर्ने छोराले आफू घाइते भएको ठाउँमा हेर्न जाँदाकै मौकामा बुझारथ, जोखु, रामरतनले गोली हानेको भनी देखाइएकोमा अदालतमा आई बकपत्र गर्दा सो कुरा इन्कार गरी प्रहरीले सोद्धा मात्र भनेको भनी देखाइएकोबाट मर्नेले होश छँदै भनेको भनी देखाइएको मुचुल्कालाई नै आधार बनाएको देखिएकोले सो मुचुल्कामा व्यक्त गरेको कुरा के कसो हो भनी विचार गरिएमा सो मुचुल्कामा बस्ने एकजना महेन्द्र पाठकले सो मुचुल्का गरिँदा आफू रोहवरमा नै नरहेको हुँदा सो मुचुल्कामा लेखिएका कुराको पुष्टि नगरेको र सो मुचुल्कालाई कानून बमोजिमको प्रमाणको रुपमा प्रयोग गर्नको लागि मर्नेको भनाई अभिलेख गर्न रोहवरमा राखिएको भनेको अ.न.मि. शान्ति अर्यालले पनि अदालतमा आई बकपत्र गर्दा मर्ने मानिस सो अवस्था बोल्दै थियो भन्नेसम्म कुरा सकारी सो मुचुल्कामा उल्लेख भएका कुराहरू आफूले नसुनेको भनी देखाई मर्नेले होश छँदै भनेको ठीक हो भनी प्रमाणित नगरेकोबाट सो मुचुल्कामा लेखिएका कुरालाई शंकारहित तवरमा प्रमाणमा लिन सकिने अवस्था पनि रहन आएन । जहाँसम्म अभियुक्त मध्येका केही व्यक्ति प्रहरीमा आफू सो काममा गएकोमा सावित भई पोल गरेको भन्ने हकमा पनि जो अभियुक्त सावित भएको भनी भनेका छन्, तिनीहरू आफू समेत भई वारदात गरेमा इन्कार रही पोल गर्दा पनि नचिनेका तीनजनाले गोली हानेको भनी सो सम्म देखाएको सो पोल पनि आधारको रुपमा लिन सकिने अवस्थामा नरहेकोमा पनि निजहरू पनि अदालतमा आफू बयान गर्दा सो कुरा समेत इन्कार गरेको छँदै अदालतमा आई बयान गर्दा इन्कारीमा रहेका अभियुक्तहरूले नै दावी बमोजिम गोली हानी मारेको षडयन्त्र गरेको र पारिश्रमिक खाएको भनी ठहर गर्न शंकारहित निजहरूले सो अपराध गरेको देखिनु बेगर कानूनले नमिल्ने नै हुँदा शुरुले सफाई पाउने ठहर्‍याएको इन्साफ सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४४ साल आषाढ ३० गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु