निर्णय नं. २७३० - खूनडाँका

निर्णय नं. २७३० ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको फौ.पु.नं. ३४३
फैसला भएको मिति : २०४३।४।१६।५ मा
पुनरावेदक/वादी : सुरज राउत यादवको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जिल्ला धनुषा बिसरमोरा हरिने गा.पं.वा.नं.१ बस्ने रामसेवक राउत
मुद्दा : खूनडाँका
(१) उजूरी र सावितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टाई गरेको नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मनासिब ठर्हछ ।
(प्रकरण नं. २२)
फैसला
न्या.हरिहरलाल राजभण्डारी : पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन फौजदारी पुनरावेदन डिभिजन दायरीमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. मिति ०३८।८।१२ गते राती २५।२६ जना मानिसहरूले दाजु विन्दा यादवलाई कुटी बेहोस भई लडे पछि मर्यो भन्ने ठानी घरको रु.२४२५।– को धनमाल समेत डाँका गरी भागे । विन्दा यादवलाई भोलिपल्ट सिरहा अस्पतालमा उपचार गर्न ल्याउँदा उपचार गर्दा गर्दै मृत्यु भयो र सो डाँका गर्न आउँदा डाँकाहरूले बालेको टर्च र बालिरहेको लालटेनको उज्यालोबाट सेवक राउत, बेचन राउत, विल्टू दास, बद्री माझी यादव चन्द्रदेव चोरवार, जैशीलाल चोरवार, सूर्यलाल चोरवार, समिदानन्द चोरवार, राम सामर चोरवार, रामखेलावन यादव, रामैवा यादव, रामदयाल साहू, बैजु यादव जागेश्वर यादव, तपसि यादव पाण्डव चोरवार यादव, असुरेर महासेठ र जगती कुसियत समेतलाई चिन्हेकोले ऐनको १३ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने जाहेरवाला सुरजा राउतको जाहेरी दर्खास्त ।
३. विन्देश्वरको घर घेरा गरी निज विन्देश्वरलाई कुट्दा कुटदै मारिदिए मैले केही धनमाल लिन पाइन क कसले के कति धनमाल लिए थाहा छैन सो मानिसहरू मध्ये परशुराम रोदी, जगदेव, राजेन्द्रराम सोमित, जगतु, रामसोगारथ, जितनाचन्द्र यादव समेतलाई चिन्दछु अरुको नाम थाहा छैन भन्ने समेत प्र.मन्सीफ पासवानको प्रहरीमा भएको कागज ।
४. ०३८।८।१२ गते राती डाँकाहरूले विन्देश्वर रामलाई कुटपिट गरी मारेका हुन । मैले मारे मराएको होइन भन्ने समेत प्र. रोदीदाशले प्रहरीमा गरेको कागज ।
५. डाँकाहरूलाई चिन्हेको भन्ने सरजमीनमा व्यक्तिहरूले मिल्दो जुल्दो ११ जनाको सरजमीन मुचुल्का ।
६. कुटाईको पीडाबाट विन्दा यादवको मृत्यु अस्पताल मै भएको देखिँदा प्रतिवादीहरूलाई ज्या. ऐनको १३(१) बमोजिम सजायँ समेत होस् भन्ने प्रहरी प्रतिवेदन ।
७. मैले विन्देश्वर विन्दा यादवलाई मारेको र मगलुको घरमा डाँका गरेको हैन छैन म माथि झुठ्ठा अभियोग लगाइएको हो भन्ने समेत प्र.मन्सीफ पासमानले अदालतमा गरेको बयान ।
८. कसले डाँका खून गरेको गराएको हो मलाई थाहा छैन मैले सो वारदात गरेको छैन होइन म माथि लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.रोदिदासले अदालतमा गरेको इन्कारी बयान ।
९. मैले जाहेरवालाको घरमा डाँका गरी विन्देश्वर राम, विन्दा यादवलाई मारे मराएको छैन । म माथि लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.रामसेवक राउतले अदालतमा गरेको इन्कारी बयान ।
१०. मिति ०३८।८।१२ गते म आफ्नै गाउँ घरमा थिएँ जाहेरवालाको घरमा डाँका गरेको र विन्दा यादवलाई मारे मराएको समेत छैन भन्ने एकै मिलानको प्र.विल्टू यादव, प्र.बद्री माझी, प्र.जगती कुसियत, प्र.रामेश्वर यादव, प्र.अशेषर महासेठी, प्र.सूर्यलाल चौरवार, प्र.पाण्डव चौरवार, प्र.तपसि यादव, प्र.रामसागरको एकै मिलानको अदालतमा गरेको बयान ।
११. वारदातको दिन आफ्नो घरमा नभई पूजाको निम्ता मान्न जेठानकोमा गएको हुँदा मैले डाँका खून गरेको होइन छैन भन्ने, प्र.जागेश्वर यादवले अदालतमा गरेको बयान ।
१२. वारदातको दिन हजुरवा स्वर्गे हुनुभएकोले दाह संस्कार गरी आफ्नो घरमा आएकोले म निर्दोष छु भन्ने समेत प्र.सचिदानन्द चोरेवारले अदालतमा गरेको बयान ।
१३. वारदातको दिन म आफ्नो घरमा नभई उदलेश्वरमा सीताराम साहूको घरमा छु मैले जाहेरवालाको घरमा डाँका खून गरे गराएको छैन भन्ने प्र.रामदयाल साहूले अदालतमा गरेको बयान ।
१४. वारदातको दिन म घरमा नभई इनरुवामा थिए जाहेरवालाको घरमा मैले डाँका गरेको मारे मराएको होइन भन्ने समेत प्र.जैसीलाल चोरेवारले अदालतमा गरेको बयान ।
१५. वारदातको दिन म घरमा नभई सासुकोमा गएको थिए जाहेरवालाको घरमा डाँका गरेको र विन्दा राउतलाई मारेको समेत छैन भन्ने समेत प्र.चन्द्रदेव चोरेवारको अदालतमा बयान ।
१६. प्र.बेचन, राम, खेलाचन, बैज, राजेन्द्र, रामसोमित जगतु, पासमान, राम सोगारथ, जितग दुसार्ध र चन्दर यादव समेतका नाउँमा जारी भएको ७० दिने म्याद गुजारी बसेकोले निजहरूको हकमा मुलतवी राखी दिने ठहर्छ ।
१७. प्र.रामसेवक राउत, विल्टुदास, बद्रीमाझी चन्द्रदेव चोरेवर, जैसीलाल चोरेवार, सूर्यलाल सच्चीधनन्द चोरेवार, रामसागर चोरेवार रामेश्वर यादव, राम दयाल साहु, जागेश्वर यादव, तपसी यादव, भाण्डव चोरेवार, अशेश्वर जतगी कुसियतर रोदी दास समेतको बक्ने साक्षीहरूले निजहरूलाई सफाई दिई बकपत्र समेत गरेबाट प्रस्तुत मुद्दामा प्रहरी प्रतिवेदन दावीको कसूरबाट उपरोक्त प्रतिवादीहरूले सफाई पाउने ठहर्छ । मनासिफ पासमानको सम्बन्धमा निजको साक्षीको बकपत्र नभएको प्रहरीमा साविति भए पनि उजूरी र सावितिलाई समर्थन गर्न अन्य प्रमाण नहुँदा निजले सफाई पाउने ठहर्छ भन्ने समेत शुरु सिराहा जिल्ला अदालतको ०४०।९।२८।५ को फैसला ।
१८. शुरु फैसलामा चित्त नबुझेकोले श्री ५ को सरकारको पु.क्षे.अ.मा पर्न आएको पुनरावेदन ।
१९. सरजमीनमा मानिसले कसैले धानको बोझामा लुकेर बसे, कसैले बारीमा लुकेर बसे, कसैले खेतमा भनेका छन् यसरी सरजमीनको भनाई नै विश्वासनीयता नदेखिनुको साथै जाहेरी दर्खास्तसँग विवादास्पद देखिन्छ । साथै वादी पक्षले अभियोग समर्थित हुने कुनै सबूद प्रमाण गुजार्न नसकी प्रतिवादीहरू इन्कारी रहेका र प्र.मुन्साफ प्रहरीमा सावित भए तापनि अदालतमा इन्कारी रहेको र उजूरी र सावितीलाई समर्थित गर्ने अन्य प्रमाण नहुँदा प्रतिवादीलाई सफाई दिने ठहराएको शुरु सिराहा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भनी पु.क्षे.अ. मिति ०४१।१०।१० मा गरेको फैसला ।
२०. पु.क्षे.अ.को इन्साफमा चित्त नबुझी यस अदालतमा श्री ४ को सरकारको पर्न आएको पुनरावेदनपत्र ।
२१. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत खून डाँका मुद्दामा पू.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
२२. यसमा मिति ०३८।८।१२ का राती घरमा सुतिरहेका अवस्था २५।२६ जना मानिसहरू आई दाजु विन्दा राउतलाई कुटपिट गर्दा बेहोस भएकोले भोलिपल्ट सिराहा अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको हुँदा बलेको लाल्टिनको उज्यालोबाट जगती कुसियत यादव समेत १८ जनालाई चिनेको हुँदा विपक्षीहरूलाई सजायँ गरिपाउँ भन्ने सुरज राउत यादवको प्र.नि.का.सिराहामा मिति ०३८।८।१७ मा परेको जाहेरी दर्खास्त र सरजमीनको गवाहको भनाई नै परस्पर बाझिएको छ किनभने बाहिर लुकेर घर भित्रको वारदात देखिन सकिदैन साथै सरजमीनको मानिस र जाहेरवालालाई अदालत समक्ष वादी पक्षले उपस्थित गर्न सकेको देखिँदैन । प्रतिवादीका साक्षीहरूले प्रतिवादीहरूलाई सफाई दिई बकेको पाइन्छ । तसर्थ वादी पक्षले जाहेरवालाको घरमा डाँका गरी विन्देश्वरीलाई मारेको भन्ने प्रतिवादीहरू उपर लगाइएको आरोप कतैबाट समर्थित हुने गरी कुनै सबूद प्रमाण स्वतन्त्र रुपले गुजार्न सकेको पाइदैन । प्रतिवादीहरू अदालतमा इन्कारी रहेका र प्र. मुन्सिफ प्रहरीमा सावित भए तापनि अदालतमा इन्कारी रहेको उजूरी र सावितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टाई गरेको समेत नदेखिँदा शुरु जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मनासिब ठहराएको पू.क्षे.अ.को इन्साफ सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम गरी मिसिल बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४३ साल श्रावण १६ गते रोज ५ शुभम् ।