शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७३१ - ज्यान

भाग: २८ साल: २०४३ महिना: भाद्र अंक:

निर्णय नं. २७३१     ने.का.प. २०४३     अङ्क - ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४० सालको स.फौं.पु.नं. ६६९

फैसला भएको मिति : २०४३।४।१४।३ मा

 

पुनरावेदक/वादी : भुवनेश्वरीको जाहेरीले वादी श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जि.का.कारागार शाखा, सिरहामा थुनामा बस्ने रोदीदाश तत्मासमेत

 

मुद्दा : ज्यान

 

(१)         वादी दावी शंकारहित तवरबाट प्रमाणित हुन नसकेबाट प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको फैसला सदर हुने ।

(प्रकरण नं. ३०)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

 

फैसला

न्या.प्रचण्डराज अनिल : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४१।१०।१०।१ मा भएको फैसलामा श्री ५ को सरकारको चित्त नबुझी पुनरावेदन परेको प्रस्तुत मुद्दाको निवेदन जिकिर तथा तथ्य यसप्रकार छ ।

२. मिति २०३८।८।१२ गतेको राती निर्दना गा.पं.वा नं. १ बस्ने विन्देश्वर यादव विन्दा यादव समेतको घरमा डाँकाहरू आई कुटपिट गरी केही धनमाल डाँका गरी भागी गएका भन्ने खबर आएकोले सो घटनास्थलमा पुग्दा विन्देश्वरको मृत्यु भइसकेको र विन्दा यादव, भगालु अमात समेतले घाइतेहरूलाई सिरहा अस्पतालमा उपचारको व्यवस्था लगाई कानुनी कारवाहीका लागि जाहेर गरेको छु भन्ने समेत प्रहरी चौकी निर्दनाको प्रहरी इन्द्रदेव साहुको मिति २०३८।८।१३ को प्रतिवेदन ।

३. पौषराम भन्ने परशुराम अमात समेतसँग मेरो पति विन्देश्वरको जग्गा सम्बन्धमा रिसइवी थियो । २०३८।८।१२ गते राती अन्दाजी २ बजेको समयमा निज परशुराम अमातले खुकुरी भाला समेत लिएका ६०।६५ जनाको जमात आई मेरो पतिलाई मारी दिएको लालटेनको उज्यालो र टर्चको रोसनीमा मनासिब पासमान, परशुराम, रौदीदास, कारीचन, सिरपेन, तेतर यादव सुरवालाल, विल्टु सहनी, अर्याधी यादव, सूर्यनाथ रामसरण, शिवशंकर, ब्रम्हादेव, जगदेव, राजदेव अलिमन रामचन्द्र विश्वनाथ, गोपाल विन समेतलाई चिनेकोले ज्यानसम्बन्धी महलको १३ नं. बमोजिम सजायँ समेत गरिपाउँ भन्ने भुवनेश्वरी देवीको जाहेरी दर्खास्त ।

४. मृतक विन्देश्वरको शरीरमा विभिन्न ठाउँमा काटेको कुटेको चोट परेको समेत पोष्टमार्टम रिपोर्ट तथा लाश जाँच प्रकृति मुचुल्का ।

५. ०३८ साल मार्ग महीनाको गते बारको सम्झना छैन, म आफ्नो घरमा सुतेको अवस्था अं.२ बजेको समयमा ६०।७० जना मानिसहरू आई सो मध्ये राजेन्द्र चोखाले मलाई घरबाट बोलाई ल्याए । विन्देश्वर रामलाई मार्न हिंडे भन्दा डर भयो तर निजहरूको साथ गएँ र कसैको हातमा भाला कसैको हातमा लाठी र राजेनद्रको हातमा बन्दूक थियो । विन्देश्वरको घरमा पुग्दा विन्देश्वर सुतेको थियो । सबैले घेरा गरी निजलाई समाती कुट्दा कुटदै मारी दिए त्यसपछि लगातारै सोही विन्देश्वरको घर नजिकै भएको विन्दा यादवको घरमा गयौं र विन्दा यादवलाई पनि लाठी भालाले कुट्दा कुटदै घाईते बनाएपछि नजिकै घर भएका भगलुरामको घरमा गयौं । भगलु आफ्नो दोकान घरमा थियो । भगलुलाई मारी पिटी घाइते पारी दोकानमा मालसामानहरू समेत साथीहरूले लिए । त्यसपछि साथीहरू पश्चिम लागे, म आफ्नो घर गएँ । मैले केही धनमाल लिन पाइन, कसले के कति धनमाल लिए थाहा छैन सो मानिसहरू मध्ये परशुराम, रौदी, जगदेव, राजेन्द्र, राम सौमित, जगतु, रामसोगारत, जितुना, चन्दर यादव समेतलाई चिन्दछु, अरुको नाम थाहा छैन भन्ने समेत प्र.मनसिब पासमानको प्रहरीमा भएको साविती बयान कागज ।

६. ०३८।८।१२ गतेको राती डाँकाहरूलाई आई विन्देश्वर रामलाई कुटपिट गरी मारेका हुन, म डाँकाहरूको डरले लुकी राखेको, मैले मारे मराएको होइन, छैन भन्ने प्र.रौदी दासको प्रहरीमा भएको इन्कारी बयान ।

७. ०३८।८।१२ गतेको रात अं.२ बजेको समयमा विन्देश्वर राजको घरमा डाँका आयो भन्ने हो हल्ला सुनी जाँदा विन्देश्वर रामलाई मारी रहेको अवस्थामा परशुराम समेतलाई चिनेको, मार्नु पर्ने कारण  परशुराम अमातको र विन्देश्वर रामको जग्गा सम्बन्धमा रिसइवी थियो सोही रिसइवीले गर्दा परशुरामले नै मारे मराएको हो भन्ने मिल्दोजुल्दो सरजमीनका व्यक्तिहरूको भनाई भएको सरजमीन मुचुल्का ।

८. प्रस्तुत मुद्दामा सङ्कलन हुन आएका सङ्कलित सबूद प्रमाणको आधारबाट विरुद्ध महलमा उल्लिखित प्रतिवादीहरूले ज्यानसम्बन्धीको १ नं. को कसूर गरी ज्यान मारेको सिद्ध हुन आएकोले निज प्रतिवादीहरूलाई सोही ऐनको १३ नं. को देहाय १ बमोजिम सजायँ हुन राय व्यक्त गरी प्रतिवेदन पेश गरेका छौं भन्ने समेत प्रहरी र स.स.अ.को संयुक्त प्रतिवेदन ।

९. ०३८।८।१२ गतेको दिन रात म आफ्नो गाउँघरमा नभई खैनी बेच्न मझौलिया वार्ड नं. १ बस्ने लखन पासमानकहाँ ऐ.११ गते गई १२ गते तही बसी १३ गते आफ्नो घर फर्की आएको हुँ, जाहेरवालाका घरमा डाँका खुन भयो भन्ने कुरा गाउँघरमा आएपछि मात्र थाहा पाएको हुँ, मैले विन्देश्वरीराम, विन्दा यादवलाई मारेको र भगलुको घरमा डाँका गरे गराएको छैन, हैन, म माथि लगाएको अभियोग झुठ्ठा हो, मैले प्रहरीमा नभनेको कुरा मलाई कुटपिट गरी जबरजस्ती सहिछाप गराएको हो भन्ने समेत प्र.मनसिव पासमानले अदालतमा गरेका बयान ।

१०. ०३८।८।१२ गतेको दिनरात म आफ्नो गाउँघरमा नै छु, सो रात भुवनेश्वरी शुरुजको घरमा डाँका खून, मधुरीको घरमा डाँका भएको होहल्ला सुनी मर्ने विन्दा यादवको स्वास्नी मेरो घरमा आई म समेत धान खेतमा लुकेर बसे, डाँका खून भइसकेपछि म समेत र विन्दाको स्वास्नी घरमा हेर्न जाँदा विन्दालाई काटकुट पारेको मरेको थिएन, भोलिपल्ट अस्पतालमा मरेको हो, डाँका खून भइसकेपछि जाहेरवालाको घरमा गएको हुँदा कसले डाँका खून गरे गराएको हो मलाई थाहा छैन । मैले भुवनेश्वरी देवी शुरुज राउत र विन्दा मरेको र मारी अमातको जाहेरी समेतको जाहेरी परेको डाँका खून मुद्दाहरूमा सो वारदात गरेको नहुँदा झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत प्र.रौदीदासले अदालतमा गरेको बयान ।

११. ०३८।८।१२।६ का दिन म आफ्नो गाउँघरमा नभई जिघ गा.पं.खैरपनि वार्ड नं.६ बस्ने नन्दा पासमान मेरो भिनाजु भएकोले पूजामा निम्ता मान्न गई ३।४ दिन पछि आफ्नो घरमा आएको छु । तेसो हुँदा मैले विन्देश्वर रामलाई कर्तव्य गरी ज्यान मारेको मराएको होइन, छैन म माथि लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.जगदेव पासमानले अदालतमा गरेको बयान ।

१२. ०३८।८।१२ को दिन रात म आफ्नै गाउँ विसरमोरामा थिएँ । सो दिन मैले विन्देश्वरलाई खून गरेको र मधुरी अमातको घरमा डाँका गरेको समेत होइन, छैन । मैले मनसिब पासमानलाई नचिनेको हुँदा किन पोल गरे थाहा छैन, मैले सो वारदात गरे गराएको नहुँदा झुठ्ठा अभियोगबाट फूर्सद पाउँ भन्ने समेत प्र.परशुराम रायले अदालतमा गरेको बयान ।

१३. ०३८।८।१२ गतेको दिन म आफ्नो गाउँघरमै छु सो दिनरात मैले विन्देश्वरलाई कर्तव्य गरी ज्यान मारे मराएको छैन, होइन । कसले मारे मराएको हो, मलाई थाहा छैन । मैले सो वारदात नगरेको हुँदा अभियोगबाट फूर्सद पाउँ भन्ने समेत प्र.शिवसंकर यादवले अदालतमा गरेको बयान ।

१४. ०३८।८।१२ गतेका दिन रात म आफ्नो गाउँघरमा छु, सो दिन विन्देश्वरलाई मैले कर्तव्य गरी ज्यान मारे मराएको होइन छैन कसले मारे मराएको हो सो मलाई थाहा छैन । मैले मारे मराएको नहुँदा झुठ्ठा अभियोगबाट फूर्सद पाउँ भन्ने समेत प्र.विल्टु सहनले अदालतमा गरेको बयान ।

१५. ०३८।८।१२ गतेको दिन रात म आफ्नो गाउँघरमा नै छु, सो दिन रात मैले विन्देश्वरलाई कर्तव्य गरी ज्यान मारे मराएको होइन छैन । कसले मारे सो भन्न सक्दिन म उपर लगाएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.सूर्यनाथ यादवले अदालतमा गरेको बयान ।

 १६. ०३८।८।१२ गतेका दिन म जनकपुर काम विशेषले गएकोले सो दिन म जनकपुरमा छु मैले जाहेर  वालाको जाहेरी, प्रहरी प्रतिवेदनमा लगाइएको अभियोग अनुसार विन्देश्वर यादवलाई कर्तव्य गरी ज्यान मारे मराएको होइन, छैन । म उपर लगाएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.विश्वनाथ दासले अदालतमा गरेको बयान ।

१७. ०३८।८।१२ गतेका दिन दिनरात म आफ्नै गाउँ घरमा नै छु, सो दिन मैले विन्देश्वरलाई कर्तव्य गरी ज्यान मारे मराएको होइन छैन म उपर लगाएको अभिगोग झुठ्ठा हो भन्ने समेत प्र.ब्रम्हदेव यादवले अदालतमा गरेको इन्कारी बयान ।

१८. ०३८।८।१२ गतेका दिनरात म आफ्नै गाउँघरमा नै छु, सो दिन मैले विन्देश्वरलाई कर्तव्य गरी ज्यान मारे मराएको होइन, छैन । कसले मारे मराएको हो सो भन्न सक्दिन । मैले नमारेको हुँदा म उपर लगाइएको झुठ्ठा अभियोगबाट फूर्सत पाउँ भन्ने समेत प्र. सुब्बालाल यादवले अदालतमा गरेको बयान ।

१९. ०३८।८।१२।६ का दिन म गाउँमै दाजु नाताको राजकिश्वरको घरमा भगवानको पूजाको निम्तो भएकोले सो दिन म ताहीं दाजु काहाँ नै छु, सो वारदात भएको दिन मैले मर्ने विन्देश्वर यादवलाई कर्तव्य गरी ज्यान मारे मराएको होइन, छैन । कसले मारे मराएको हो सो भन्न सक्दिन, अभियोगबाट फूर्सद पाउँ भन्ने समेत प्र.तेतर यादवले अदालतमा गरेको बयान ।

२०.   ०३८।८।१२।६ का दिनरात म आफ्नै गाउँ घरमा नै छु, सो दिन र अन्य कुनै समयमा पनि मैले निज मर्ने विन्देश्वरलाई कर्तव्य गरी मारे मराएको समेत होइन, छैन । म माथि लगाएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.गोपाल मुखियाले अदालतमा गरेको बयान ।

२२. ०३८।८।१२।६ का दिन म आफ्नो गाउँ घरमा नै छु सो दिन र अन्य कुनै मिति समयमा पनि मैले जाहेरवालाको पति विन्देश्वरलाई म समेत भई कर्तव्य गरी ज्यान मारे मराएको होइन, छैन । कसले मारे मराएको हुन् सो मलाई थाहा छैन, म माथि लगाइएको झुठ्ठा पोलबाट सफाई पाउँ भन्ने समेत प्र.श्रीपनेले अदालतमा गरेको बयान ।

२३. प्रतिवादी कारीधन यादव अयोधी यादव, रामशरण यादव, राजदेव सहनोमिया, अलिमन कवारी, रामचन्द्र विराजी, राजेन्द्र चारेवार, राम सोमित पासमान, जगतु पासमान, राम सोगारत पासमान, जितना दूसाध र चन्दूर यादव समेतका नाउँमा जारी भएको ७० दिने म्याद गुजारी बसेको ।

२४. प्र. हरूमध्ये कारिचन यादव, अयोधी यादव, अयोधी यादव, रामशरण यादव, राजदेव महतो गीया, अलिमन कवारी, रामचन्द्र विराजी, राजेन्द्र चोरवार, राम सोमित पासमान, जगतु पासमान, राम सौगारत पासमान, जितन दूसाध र चन्दर यादव समेतले म्यादमा हाजिर भएको नदेखिँदा निजहरूको हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी राखी दिने ठहर्छ । प्र.परशुराम, रौदीदास, श्री पेन ततेर, सुब्बालाल, विल्टु, सूर्यनाथ, शिवशंकर ब्रहमदेव, जगदेव, विश्वनाथ र गोपाल विन समेतको साक्षीले निजहरूलाई सफाई दिई बकपत्र समेत गरेबाट प्रस्तुत मुद्दामा प्रहरी प्रतिवेदन दावीको कसूरबाट उपरोक्त प्रतिवादीहरूले सफाई पाउने ठहर्छ प्र.मनसिबको सम्बन्धमा प्रहरीमा सावित भए पनि उजूरी सावितीलाई समर्थन गर्ने अन्य प्रमाण नहुँदा निजले समेत सफाई पाउने ठहर्छ भन्ने समेत शुरु सिरहा जिल्ला अदालतको ०४०।९।२८।५ को फैसला ।

२५. उक्त फैसला उपर चित्त बुझेन शुरु अदालतको इन्साफ उल्टाई प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ होस् भन्ने समेत वादी श्री ५ को सरकारको ०४१।१।७।५ को पुनरावेदन ।

२६. वादी पक्षले अभियोग प्रमाणित हुने कुनै सबूद प्रमाण पेश दाखिल गर्न नसकेको र प्रतिवादीहरूले इन्कारी बयान गरेका तथा प्रतिवादी मन्सिफ प्रहरीमा सावित भए पनि अदालतमा इन्कारी रहेको र उजूरी र सावितीलाई समर्थन गर्ने अन्य प्रमाण नहुँदा प्रतिवादी  हरूलाई सफाई दिने ठहर्छ भन्ने मिति २०४१।१०।१०।४ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

२७. उक्त पू.क्षे.अ.को फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन जिकिरमा जाहेरी दर्खास्त, सरजमीन लेखाई तथा लाश प्रकृति मुचुल्का समेतबाट विन्देश्वरको मृत्यु कर्तव्यबाट भएको भन्ने प्रष्ट हुन आएको, प्र.मन्सिफ पासमानले आफू तथा उल्लिखित प्रत्यर्थीहरू समेत भई मृतक विन्देश्वर रामलाई मारेकोमा प्रहरी समक्ष स्वीकार गरी बयान गरेको तथा चस्मदिद गवाह जाहेरवाली तथा सरजमीनका किटानी गर्ने व्यक्तिहरूलाई नबुझी नहुने अवस्था भई निजहरूलाई बुझ्नु पर्नेमा नबुझी गरेको फैसला उपर गरिएको पुनरावेदनमा उक्त सम्बन्धमा केही उल्लेख नगरी वादी पक्षबाट उपस्थित गराउन नसकेको भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले शुरु इन्साफ सदर गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने पुनरावेदन जिकिर ।

२८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट खटी आउनु भएका मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले प्रतिवादी मध्येको प्र.मन्सिफ पासमानले आफू समेत भई मृतक विन्देश्वरलाई मारेकोमा सावित भएको, अधिकांश सरजमीनका मानिसहरूले प्रतिवादीहरूले नै मृतक विन्देश्वरलाई मारेको भनी सरजमीनमा लेखाई दिएबाट मृतक विन्देश्वरको मृत्यु प्रतिवादीहरूकै कर्तव्यबाट हुन गएको हो भन्ने कुरा सिद्ध हुन आएको छ भनी प्रस्तुत गर्नुभएको बहस जिकिर सुनियो ।

२९. अब प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर बमोजिम प्रतिवादीहरूको कर्तव्यबाट मृतक विन्देश्वरको मृत्यु भएको हो वा होइन सो नै मुख्य कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

३०.   निर्णयतर्फ विचार गरी यसमा प्रतिवादीहरू मध्येका कारिचन यादव, अवोधी यादव, रामशरण यादव, राजदेव सहनोगिया, अलिमन कवारी, रामचन्द विराजी, राजेन्द्र चारेवार यादव, राम सोमित पासमान, जगतु पासमान, राम सगोरथ पासमान, जितवा दुसाध, चन्दर र यादवको हकमा अ.बं. १९० नं. बमोजिम मूलतबी रहेकोले केही बोली रहन परेन । अन्य प्रतिवादीहरूको हकमा विचार गर्दा २०३८।८।१२ गते राती सुती रहेको अवस्थामा परशुराम समेतका ६०।७० जना मानिस आई मेरो पति विन्देश्वरलाई कुटपिट गरी मारेको भन्ने जाहेरी दर्खास्त परेको र अधिकांश सरजमीनका मानिसहरूले प्रतिवादीहरूले नै मारेको भनी लेखी दिएको तथा प्रतिवादी मध्ये मन्सिफ पासमानले प्रहरीमा साविती बयान गरेको कारणबाट प्रतिवादीहरू माथि ज्यानसम्बन्धीको १३ नं. को माग दावी गरेको रहेछ । मृतक विन्देश्वरको मृत्यु भएकोमा कुनै विवाद नभए तापनि यीनै व्यक्तिहरूको कर्तव्यबाट मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट सिद्ध हुन आएको देखिँदैन । किटानी जाहेरी दर्खास्तबाट चस्मदिद गवाहको रुपमा देखिएकी जाहेरवाली भुवनेश्वरी देवीलाई अदालतबाट उपस्थित गराउने भनी आदेश हुँदा पनि वादी पक्षले आफ्नो गवाहलाई उपस्थित गराउन सकेको छैन अधिकांश सरजमीनका मानिसहरूले प्रतिवादीहरूले नै मृतक विन्देश्वरलाई कर्तव्य गरी मारेको भनी सरजमीनमा लेखाई दिए तापनि कसैले लालटेनको उज्यालोबाट, कसैले टर्चको उज्यालोबाट तथा कसैले उज्यालो रात भएकोले विपक्षीहरूले कुटपिट गरेको देखेका हौं भनेका छन् तापनि किटानी सरजमीनमा लेखाई दिने यी सरजमीनका व्यक्तिहरूलाई शुरु जि.अ.ले आदेश दिँदा पनि उपस्थित नगराएको समेत कारणबाट सरजमीनका व्यक्तिहरूको शंकालाई विश्वसनीय मान्न सकिएन । तसर्थ वादी दावी प्रमाणित गर्ने भार वादी माथि नै हुने भएकोले प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतबाट वादी पक्षलाई आफ्ना गवाह उपस्थित गराउने मौका दिइँदा पनि उपस्थित नगराएकोले वादी पक्षले आफ्नो दायित्व पूरा गरेको मान्न मिलेन । प्र.मनसिफ पासमानको  प्रहरीमा साविती बयान भए तापनि अदालतमा इन्कारी बयान गरेको र वादी पक्षले आफू समक्ष भएको साविती बयानलाई समर्थन हुने अन्य कुनै सबूद प्रमाण गुजार्न नसक्नुको साथै शंकारहित तवरबाट आफ्नो माग दावी प्रमाणित गर्न समेत नसकेकोले प्रतिवादीहरू अदालतमा इन्कारीमा रहनु, किटानी भनी लेखाई दिने व्यक्ति अदालतमा उपस्थित नगराउनु, प्रतिवादीहरूका साक्षीहरूले निजहरूलाई सफाई दिने किसिमबाट बकपत्र गर्नु तथा सरजमीनको भनाई परस्पर नमिलेको समेत भई वादी दावी शंकारहित तवरबाट प्रमाणित समेत हुन नसकेबाट प्रतिवादीहरूलाई सफाई दिने गरी शुरु सिरहा जिल्ला अदालतले गरेको फैसला सदर गर्ने गरी पू.क्षे.अ.ले गरेको फैसला मनासिब नै हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी श्री ५ को सरकारबाट पुनरावेदन परेकोले सजायँको हकमा केही गर्नु परेन । मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४३ साल श्रावण १४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु