निर्णय नं. ९१४८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
फैसला मिति : २०७०।११।१४।४
०६७-CR-०६७९
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी : देवनारायण यादवसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, फर्सेठ गाउँ विकास समिति वडा नं. १ बस्ने बेचु भन्ने परमेश्वर यादवसमेत
§ प्रतिवादीले प्लास्टिकको डोरीले घाँटीमा बेरी सास अवरूद्ध हुने गरी घाँटी कस्छ भने त्यो मार्नलाई नै प्रयोग गरिने कार्य हो । मार्नलाई गरिएका कार्य रिस झोकमा गरिएका कार्य होइन र मर्छ भने जानी जानी वा सो नियतले डोरी खोजी मृतकको घाँटी कसी सोही परिणामबाटै मृत्यु भएकोमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने ।
(प्रकरण नं.४)
पुनरावेदक/वादीकातर्फबाट M विद्वान सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल
प्रत्यर्थी/प्रतिवादीकातर्फबाट M विद्वान अधिवक्ता सुन्दरलाल चौधरी र वैतनिक विद्वान अधिवक्ताद्वय हरिशंकर कर्ण र कुमारी रेग्मी
अवलम्बित नजीर M
सम्बद्ध कानून M
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३), १४, २५ नं. ।
सुरू तहमा फैसला गर्ने M
मा.जि.न्या.श्री ऋषिप्रसाद अधिकारी
पुनरावेदन तहमा फैसला गर्ने M
मा.न्या. श्री शम्भुबहादुर खड्का
मा.न्या. श्री थीरबहादुर कार्की
फैसला
न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत राजविराजको फैसलाउपर वादी नेपाल सरकारकोतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नबमोजिम रहेको छ :
जिल्ला सप्तरी, फर्सेठ गा.वि.स. वडा नं. १ स्थित दानर बाढी खोल्सीको डिलमा अन्दाजी ४।५ फिट गोलाईका आँपका काठ दाउराहरूको चिता बनाई चितामाथि उत्तर शिर,दक्षिण खुट्टा बनाई घोप्टो स्थितिमा जिल्ला सप्तरी फर्सेठ, गाउँ विकास समिति वडा नं. १ बस्ने बेचु भन्ने परमेश्वर यादवकी श्रीमती मीनादेवीको सेतो कपडाले ढाकेको अवस्थामा लास रही नजिकमा माटोको गाग्री लास बोक्ने बनाएको बाँसको फर्कि रहेको, अन्दाजी ५ फिट पूर्व उत्तर पट्टी मटितेलसहितको सिसी, कात्रो कपडा, तोरी, धूप आदि थियो । जलाउन तयारी हालतमा रहेको लास ढाकेको कपडा हटाई हेर्दा निज मीनादेवी यादवको लास निर्वस्त्र अवस्थामा रही मुखबाट रगत बगेको, बाँया अनुहारमा निलो डाम जस्तो देखिएको, निधार सुन्निई टुटुल्को देखिएको, बायाँ गालासमेतमा नीलो डाम परेको, घाँटीमा वरिपरि डोरीले कसिएर काटिएको जस्तो डाम देखिएको, पिठ्युँको विभिन्न ठाउँमा रगत जस्तो देखिएको, दुबै खुट्टाको पिडुलामा डाम परेको, घा चोटहरू देखिएको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।
२०३६ सालमा जातीय रीत अनुसार बेचु भन्ने परमेश्वर यादवसँग विवाह गरी दिएकी मेरी बहिनी मीनादेवी यादवलाई मिति २०५८।१।१६ गते बिहानको राति अन्दाजी ४.०० बजे निजको श्रीमान् परमेश्वर यादवसमेतले कर्तव्य गरी मारी रामदिहल यादव, बद्री यादवसमेतले मिली दानर नदीमा लगी जलाउन लागेको हुँदा कारवाही गरिपाउँ भन्ने देवनारायण यादवको जाहेरी दरखास्त ।
जिल्ला सप्तरी, फर्सेठ गाउँ विकास समिति वडा नं. १ स्थित एउटै आँगनको उत्तरतर्फ परमेश्वर यादवको एउटा घर र मन्दिर, त्यसको पूर्व साईडमा कालीचरण यादवको घर, आँगनको पूर्वतर्फ सकलदेव यादवको घर, पश्चिममा परमेश्वर यादवको दोश्रो घर, दक्षिणसमेतमा परमेश्वर यादवको घर भई उक्त दक्षिणतर्फको घरमा मिति २०५८।१।१६ गते बिहानको रातिको ४.०० बजे मृतक मीनादेवी यादवको मृत्यु भएको भनिएको सुरू घटनास्थल भई घरभित्र हेर्दा सो कोठाभित्र परमेश्वर यादव र श्रीमती मीनादेवी यादव सुत्ने सरसामानहरू राख्ने ओछ्यान, बक्सा, घर भई उक्त घर भरखर लिपेको स्थितीमा रहेको खाटको ओछ्यानमा भएका लत्ता कपडाहरू छरपष्ट अवस्थामा देखिएको भन्नेसमेत सुरू घटनास्थल मुचुल्का ।
जिल्ला सप्तरी, फर्सैठ गाउँ विकास समिति वडा नं. १ बस्ने बेचु भन्ने परमेश्वर यादवलाई विवाह गरी दिएकी मेरी छोरी मीनादेवी यादवलाई निजको श्रीमान्लगायतका घर परिवारले बारम्बार कुटपीट हेला होचो गर्दै आएकोमा मिति २०५८।१।१५ गते राति १२।१ बजेसम्म पनि निज छोरीलाई निजको श्रीमान् परमेश्वर यादवसमेतले बाँधछाँद कुटपीट गरी रहेको र निज राति अवेरसम्म रोईरहेको स्थानीय छर छिमेकीहरूले बताउनका साथै ऐ.१६ गते बिहान निज मीनादेवी यादव मरिन् अरे भनी निजको ससुरा अवधि यादव, श्रीमान् परमेश्वर यादव, ऐ फर्सैठ बस्ने छोरीकै काका ससुरा सकलदेव यादव, रामदिहल यादव, निजको छोरा बद्री यादव, ऐ.ऐ बस्ने परमेश्वरको मित महेश्वर यादवसमेत मिली गुपचुपमा लास जलाउन लागेपछि स्थानीय मानिसहरूबाट हामी माइती पक्ष र प्रहरीमा खबर भई तत्काल घाटमा पुर्याई जलाउन लागेको स्थितिमा चितामाथि राखेको छोरी मीनादेवीको लास प्रहरीसमेतले फेला पारी लास लिएर जाने मलामीलगायतका सबै मानिसहरू भागाभाग भई पक्राउ पर्न नसकेका हुँदा निजहरूलाई पक्राउ गरी कर्तव्य गरी ज्यान मारेकोमा कारवाही गरिपाउँ भन्नेसमेत मृतकको बाबु दोरिक यादवको जाहेरी दरखास्त ।
मिति २०५८।१।१५ गते प्रतिवादी बेचु भन्ने परमेश्वर यादवको घरमा महात्माहरूलाई भोज खुवाउने दिन भएको र परमेश्वर यादव र श्रीमती बीना भन्ने मीनादेवी यादवले उक्त दिन घर नलिपेको कारण झगडा परी परमेश्वर यादवले निजलाई कुटपीट गरी सोही कारण मीनादेवीले दिन भरी खानासमेत नखाएको राति पनि खाना खान नमानेपछि श्रीमान् श्रीमतीबिच पुनः झगडा कुटपीट भएको र राति अवेरसम्म मीनादेवी रोईरहेको सुनेकोमा ऐ.१६ गते बिहान मीनादेवीलाई छाति दुख्ने विरामी बढ्यो भनी बयल गाडामा राखी फकाइ हतारहतारमा जलाउन भनी दानुर नदीतर्फ लगेकाले म परमेश्वर यादवकोमा घटनाबारे बुझ्न जाँदा राति झगडा भएपछि बेचु भन्ने परमेश्वर यादवले श्रीमती बिना भन्ने मीनादेवी यादवलाई घाँटी दावी कर्तव्य गरी मारेको लास गाड्ने भनी घर सल्लाह हुँदा आफैँ झुण्डाएकोमा पुनः घर सल्लाह बाझी बिहानपख छाती दुख्ने विरामी भएको बहानामा अस्पतालतर्फ लगे जस्तो गरी केही पर पुर्याई बाटैमा मृत्यु भएको भनेर फर्काई लास जलाउन लागेको थाहा हुन आएको साथै घाटमा पुर्याई जलाउन तयार बनाएको मृतक लास प्रहरीले कब्जामा लिएको र सबै प्रतिवादीहरू भागाभाग भएकोले कानूनबमोजिम होस् भन्ने महादेवी यादवको कागज ।
जिल्ला सप्तरी, फर्सेठ गाउँ विकास समिति वडा नं. १ बस्ने मीनादेवी यादवको मृत्यु कुटपीट एवं घाँटीमा कसे वा दबाएका कारण श्वास प्रश्वास अवरूद्ध भई मरेको पुष्टि भएको सम्बन्धमा सम्बन्धित चिकित्सकको रायसहितको मीनादेवी यादवको लास पोस्टमार्टम रिपोर्ट ।
मिति २०५८।१।१५ गते बिहान घर नलिपेको निउँमा बुबा परमेश्वर यादव र आमा मीनादेवी बीच झगडा भई बाबुले आमालाई कुटपीट गरेको, सो दिन बेलुकासमेत आमाले खाना नखाई आँगनदेखि दक्षिणतर्फको घरमा गई सुत्नुभएको, पछि बुबासमेत उक्त घरमा गई सुत्नु भएको, आफू र दाजु सो घरको बरण्डामा सुतेकोमा ऐ.१६ गते बिहान आमाले झुण्डी आत्माहत्या गरेको कुरा बुबाले हल्ला गर्दा थाहा पाई हेर्दा झुण्डीएको डोरी काटीसकेको र घरभित्र भूइँमा ढली मृत्यु भएको स्थितिमा आमा मीनादेवीको लास देखेको हुँ । म नाबालक नै हुँदा राति के के भयो थाहा पाइँन भन्ने मृतकको छोरा वर्ष १५ को देवकुमार यादवको कागज ।
मृतक मीनादेवी यादवलाई निजको श्रीमान् परमेश्वर यादवलगायत घर परिवारले पहिलादेखि हेला होचो कुटपीट गर्दै आईरहेकोमा मिति २०५८।१।१५ गते घर नलिपेको निँहुमा निजका श्रीमान् परमेश्वर यादवले मरणासन्न हुनेगरी निजलाई कुटपीट गरेको, सोही दिन राति अवेरसम्म अवधि यादव, परमेश्वर यादव , निजको मित ऐ.वडा नं. २ बस्ने महेश्वर यादव, रामदयाल यादव, बद्री यादवबीच अवधि यादवको खाली घरमा मीनादेवीलाई मार्नेबारे मत सल्लाह भई सोही योजना अनुसार सो दिन राति उल्लिखित प्रतिवादीहरू र परमेश्वर यादवका भाइ लुखिया भन्ने रामनारायण यादवसमेतको मिलोमतोमा मीनादेवी यादवलाई कुटपीट गर्नुको साथै घाँटी दबाई कर्तव्य गरी मारेकोमा झुण्डीई आत्महत्या गरेको भन्नुपर्छ भनी घरायसी सल्लाह भएकोमा पुनः सल्लाह नमिलेपछि छाती दुख्ने विरामीले सिरियस भएको भनी ऐब १६ गते बिहानको राति उपचारार्थ अस्पताल लगेको जस्तो गरी बाटैबाट लास फर्काइ जलाउन लागेका हुन भन्नेसमेत बच्चा यादवको कागज ।
मिति २०५८।१।१५ गते बिहान महात्माहरूलाई भोजन गराउने दिन भएकोमा श्रीमतीले घर नलिपेको कारण झगडा गरी मैले श्रीमती मीनादेवी यादवलाई सामान्य कुटपीट गरेको, सो रिसले केही नखाई ओछ्यानमा गई निज सुतेकी, बेलुकी खाना खान बोलाउँदासमेत नआई अन्य घर परिवार आआफ्नो ओछ्यान घरहरूमा सुती म सो राति ११ बजेतिर सुत्न जाँदा श्रीमतीले मसँगै पुनः झगडा गरी जथाभावी गाली गरेकाले सम्झाउन एक दुई थप्पड हिर्काउँदा निजले मलाई उल्टै कुटपीट गरेकीले तत्काल आवेशमा आई सो कोठाभित्र रहेको पहेलो रङ्गको प्लास्टिक डोरीले निज श्रीमतीको घाँटीमा कसी केहीबेर दुबै साइडबाट जोडले तानेकोमा निजको मृत्यु भएकोले रातिको २।३ बजेतिर श्रीमती झुण्डी मरेको भनेर बाबु अवधि यादव, भाइ रामनारायण यादव, काका सकलदेव यादवसमेतलाई बोलाई निजहरू आई घटनाबारे थाहा पाएकोले झुण्डीएको भनेपछि मृतकको शरीरमा घा चोटहरू छ, लास पोर्टमाटम गर्दा उल्टो फसिन्छ । त्यो भन्दा छाती दुख्ने विरामीले सिरियस भएको भनी अस्पतालतर्फ लगे जस्तो गरी बाटैमा मृत्यु भएको भनेर फर्काई जलाउन घाट लैजानुपर्छ भन्ने मत सल्लाह भई सोही अनुसार गरी लास मलगायत बुबा अवधि यादव, भाइ रामनारायण यादव, काका सकलदेव यादव, निजको छोरा खुवलाल यादव, फर्सैठ १ बस्ने अजयनारायण यादव, ऐ. बस्ने हरिकिसुन यादव, पंचदेव यादव, धनश्याम यादवसमेत भई दानर नदी खोल्सीमा लास लगी चिता बनाएर चितामा चढाई लास जलाउन लाग्दा तत्काल प्रहरी पुगी लास कब्जा गरेर मलगायतका मलामीहरू भागाभाग भएकोमा हाल पक्राउ परेको हुँ भन्नेसमेत प्रतिवादी बेचु भन्ने परमेश्वर यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
उक्त वारदात हुँदाको मिति र समयमा म ससुराली घर भारत, सदाहगड गंगापुर गएको थिएँ । परमेश्वर यादवको श्रीमती मीनादेवी झुण्डीएर मरेकोमा माइती पक्षले कर्तव्यमा उजूरी हालेका छन् अरे भन्ने घर आउँदा घर परिवार छर छिमेकीहरूले भन्दा चाल पाएको हुँ । मैले मारे मराएको होइन भन्नेसमेत प्रतिवादी रामदिहल यादवको बयान ।
मिति २०५८।१।१५ गते घर नलिपेको निहुँमा परमेश्वर यादवले श्रीमती मीनादेवीलाई कुटपीट गर्नुका साथै सोही रिसले खानासमेत नखाई आँगनदेखि दक्षिणतर्फको घरमा सुतेकी बुहारी मीनादेवी यादवले राति नै झुण्डी आत्माहत्या गरेको भनी ऐ १६ गते बिहानको राति ३।४ बजेतिर छोरा परमेश्वर यादवले बोलाउन आएकाले हेर्न जाँदा पहेलो रङ्ग प्लास्टिक डोरीको आधा भाग घरको बलोमा झुण्डीएको वा आधा भाग डोरी बुहारी मीनादेवीको घाँटीमा रही डोरी काटिएको र निज ओछ्यान नजिक भूइँमा ढलेकी मृत्यु भईसकेको देखेको, सो डोरी छोरा परमेश्वरले काटेको भनी आएको, तत्काल छोरा रामनारायण, भाइ सकलदेव, भतिज सुवलालसमेत आई सल्लाहा हुँदा लास झुण्डीएको भन्दा निजको जीउभरि घा चोट छ उल्टै फसिन्छ, बरू छाति दुखेको भनी अस्पतालतर्फ उपचारार्थ लगेको देखाई बाटैमा मृत्यु भएको भनेर फर्काइ लास जलाउन लैजाने भन्ने सल्लाह भई सोही अनुसार गरी लासलाई जलाउन उल्लिखित प्रतिवादीलगायत छिमेकी अजयनारायण, हरि किसुन, पंचदेव यादवसमेत भई लासलाई घाटमा पुर्याई जलाउन लाग्दा प्रहरी पुगी लास कब्जा गरेको हो भन्नेसमेत प्रतिवादी अवधि यादवको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वारदात हुँदाको समयमा आफू रोजगारको लागि भारत दुधियानामा रहेकोले घटनामा मेरो कुनै साथ सहयोग संलग्नता छैन । पछि घरमा आएपछि मीनादेवी झुण्डी आत्महत्या गरेकोमा प्रहरीमा खबर नदिई लास जलाउन लागेकोले प्रहरीले चितामा चढाई लास जलाउन लागेका बखत लास कब्जा गरेकोले परमेश्वर यादवसमेत भागाभाग भएका तथा माइती पक्षले कर्तव्यमा उजूरी हालेको छ भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत प्रतिवादी बद्री यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
पहिलादेखि श्रीमान् र घर परिवारले हेला होचो गरी बारम्बार कुटपीट गर्दै आई रहेको, अभियुक्त परमेश्वर यादवको श्रीमती मीनादेवी यादवले मिति २०५८।१।१५ गते घर नलिपेको भनी निजको श्रीमान्ले कुटपीट गरी घाइते बनाउनुका साथै उक्त दिन रातिसम्म पनि झगडा परी पुनः कुटपीट गरेका र अवेरसम्म मीनादेवी रोइरहेकोमा ऐ.१६ गते बिहान निज झुण्डीएर मरेकी भन्ने हल्ला चलेकोले हेर्न जाँदा लास कपडाले ढाकी आँगनमा राखेको देखेको, त्यसरी झुण्डीएको लास पोस्टमार्टम गराउनुपर्ने, प्रहरीमा उजूर दिनु पर्नेमा त्यतिकै परमेश्वर यादव, अवधि यादव, लुखिया भन्ने रामनारायण यादव, सकलदेव, रामदिहल, खुवलाल, बद्री, अजवलाल, हरिकिसुन, पंचदेव, महेश्वर यादवसमेत मिली मुर्दा बनाई घाटतर्फ लगेकाले मैले तत्काल प्रहरीमा आई घटनाबारे जानकारी दिएको हुँ भन्ने छोटेलाल यादवले गरेको कागज ।
मृतक मीनादेवी यादवलाई परमेश्वर यादवसमेतले कर्तव्य गरी मारेको र निज झुण्डी मरेको भनी गुपचुपमा लास जलाउन लागेकोमा प्रहरीले चाल पाई त्यसतर्फ प्रहरीहरू गाडीमा जाँदै गर्दा मलाईसमेत गाडीमा राखी लिएर गई उक्त स्थानमा पुग्दा हाल पक्राउ प्रतिवादीहरूलगायत लास लिई जाने मलामीहरू भागभाग भएका र लास जाँच प्रकृति मुचुल्कामा उल्लेख भएअनुसारको लास प्रहरीले बरामद गरी ल्याएको भन्नेसमेतको डम्बर यादवले गरेको कागज ।
जाहेरी दरखास्तमा उल्लेखित सकलदेव यादव, महेश्वर यादव, परमेश्वर यादवलगायतको बयानबाट नाम खुल्न आएका लुखिया भन्ने रामनारायण यादव, खुवलाल यादव, अजयनारायण यादव, हरिकिसुन यादव, पंचदेव यादव, धनश्याम यादवसमेतका अभियुक्तहरू हाल गाउँ घरबाट भागी फेला पक्राउ गर्न नसकेको भन्ने प्रतिवादी प्र.स.नि.कुलबहादुर खत्रीको प्रतिवेदन ।
पहिलादेखि श्रीमान् सासू ससुरालगायत घर परिवारले हेला होचो गरी बारम्बार कुटपीट दुखः कष्ट भोग्दै आएकी हाल मृतक मीनादेवी यादवले पटकपटक समाज राखी समझदारीसमेत गराएकोमा मिति २०५८।१।१५ गते घर नलिपेको निँहुमा निजको श्रीमान् परमेश्वर यादवले कुटपीट गरी निज मीनादेवी यादव घाइते भएको, उक्त दिन राति ८।९ बजेतिर परमेश्वर यादवको घरमा निजको मित महेश्वर यादव गएका, राति पुनः श्रीमान् श्रीमतीबीच झगडा परी मीनादेवीलाई कुटपीट गरेकोमा ऐ.१६ गते बिहान ६ बजेतिर मीनादेवी यादव मरिन् अरे भन्ने हल्ला चलेकोले म तत्काल वडा अध्यक्ष भएको हैसियतले लास हेर्न जाँदा म पुग्नुअगावै गुपचुपमा मृतक लास प्रतिवादी परमेश्वर यादव, अवधि यादव, सकलदेव यादव, खुवलाल यादव, महेश्वर यादव, परमेश्वरको भाइ लुखिया भन्ने रामनारायण यादवसमेत भई लास उठाई जलाउन लगेको थाहा पाएकोले मैले तत्काल प्रहरीमा खवर गर्न पठाएकोमा प्रहरीले लास दानर नदीको किनारमा चितामाथि राखी जलाउन लाग्दा फेला पारी ल्याएको र मानिस सबै तत्काल भागाभाग भएकोमा हाल पक्राउ परेका परमेश्वर यादव बयानमा साबितसमेत रहेको र कर्तव्यबाट मीनादेवी यादवको मृत्यु भएको भन्ने लास पोस्टमार्टम रिपोर्टसमेत हुँदा आवश्यक कारवाही होस् भन्ने वलदेव यादवको कागज ।
मृतक मीनादेवी यादवको मृत्यु मिति २०५८।१।१५ गते राति भई ऐ.१६ गते मात्र स्थानीय घर छिमेकीमा थाहा भएको, निजको मृत्यु आफैँ झुण्डीई आत्महत्याबाट भएको भनेको सुनेको, झुण्डीएको लास नदेखेको भनी ५ जनाको र निज आफ्नो कालगतिले मरेकी भन्ने सुनेको हो भन्नेसमेत बैजनाथ यादव, बलरामप्रसाद मण्डलसमेतको वस्तुस्थिति मुचुल्का ।
अभियुक्त बेचु भन्ने परमेश्वर यादवले श्रीमती बीना भन्ने मीनादेवी यादवलाई पहिलेदेखि नै हेला होचो गरी कुटपीट गर्ने गरेको, मिति २०५८।१।१५ गते बिहान पनि घर लिपपोत नगरेको विषयमा कुटपीट गरेका, साँझमा अवधि यादव, परमेश्वर यादव, महेश्वर यादव, लुखिया भन्ने रामनारायण यादव, रामदिहल यादव, बद्री यादव, र सकलदेव यादवले मीनादेवीलाई मार्ने योजना बनाई महेश्वर यादवले मार्ने बचन दिएका, रातिको समयमा परमेश्वरले सोही निँहु झिकी कुटपीट गर्दा अवधि यादव, महेश्वर यादव, र लुखिया भन्ने रामनारायण, रामदिहल, बद्री र सकलदेव यादव भई घेराउ दिई सबैले कुटपीट गरी डोरीले घाँटीमा कसी राति नै मीनादेवीलाई कर्तव्य गरी मारी बिहान विरामी परेको भन्दै अस्पताल लगेको बहाना बनाई आधा बाटोबाट फर्काई लासलाई छिटो भन्दा छिटो जलाउने प्रयत्न गरेको पुष्टि हुन आएकाले अभियुक्त बेचु भन्ने परमेश्वर यादव, अवधि यादव, महेश्वर यादव, लुखिया भन्ने रामनारायण यादव, रामदिहल यादव, बद्री यादव, र सकलदेव यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसूरमा ऐ.१३(३) नं बमोजिम सजाय गरी पाउन र ज्यान मारेको कुरा चाल पाएर पनि जाहेर गरी लास जाँच गराउनुपर्नेमा सो नगरी कसूरदारलाई बचाउने कुरामा सहमत गरी लास जलाउन मलामी जाने कार्य गर्ने हरीकिसुन यादव, खुवलाल यादव, अजवनारायण यादव, पंचदेव यादव, घनश्याम यादव, फेकुको छोरा पंचदेव यादव र महादेवी यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं.बमोजिम सजाय गरी ऐ को ४ नं. बमोजिम सबै प्रतिवादीहरूलाई थप सजाय गरिपाऊँ । पक्राउ परेका प्रतिवादीहरू अवधिलाल यादव, परमेश्वर यादव, रामदिहल यादव र बद्री यादवलाई अभियोगपत्र साथै पेश गरेको र फरार प्रतिवादीहरूको हकमा अदालतबाट म्याद जारी गरी माग दावीबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको अभियोगपत्र ।
मृतक मीनादेवी मेरी श्रीमती हुन् । मिति २०५८।१।१५ गतेका दिन म र मृतक मीनादेवी आफ्नै घरको दलिनमा नाईलनको डोरी पासो लगाई आफैँ झुण्डीई मरेकी हुन् । निज मीनादेवीसँग मेरो सो मिति भन्दा २ दिनअगाडि साधारण झगडा भएको थियो । के कति कारणले पासो लगाई मरेकी हुन थाहा जानकारी छैन् । प्रहरीलाई मैले खबर गरिन । खबर गर्नुपर्छ भन्ने कुरा थाहा थिएन । पासो लगाएको डोरी मैले नै काटी दिएको हुँ । छर छिमेकी भेला भएपछि जलाउनुपर्छ भनेकाले दानर नदीमा लगी लास जलाउन लाग्दा गाउँ घरका मानिस गई जलाउन नदिएको हो । मैले आफ्नी श्रीमती मीनादेवीलाई कुटपीट गरी कर्तव्य गरी मारेको होइन । अभियोगदावी झूठ्ठा हो भन्नेसमेतको प्रतिवादी परमेश्वर यादवले अदालतमा गरेको बयान ।
मिति २०५८।१।१२ गते नै म विदेश भारत ससुरालीमा गएको थिएँ । नौ/दश दिनपछि फर्किआएको हुँ । वारदातको विषयमा मलाई थाहा छैन । मृतकको मृत्यु भएको खुलाउन सक्दिन । पूर्व रिसइबीको कारणले जाहेरी दिएको हुन् । महादेवीले किन त्यस्तो कागज गरिन थाहा भएन । बयानमा लेखिएको व्यहोरा पढेर सुनाएको थिएन । डर त्रास देखाई सही छाप गराएको हो । छोटीलाल यादवले व्यापारको रिसइबीको कारणले कागजमा लेखाई दिएका हुन् । वलदेव यादवसँग लुटपीट कुटपीट मुद्दाको रिसइबीको कारणले घटनाको विवरणमा लेखाई दिएका हुन् । वस्तुस्थिति मुचुल्काको व्यहोरा यकिन भन्न सक्दिन । अभियोग दावीअनुसार मैले सजाय पाउनुपर्ने होइन भन्नेसमेत प्रतिवादी रामदिहल यादवले अदालतमा गरेको बयान ।
मृतक मीनादवी मेरी भाउजु नाताकी हुन् । २०५७ साल माघ महिनामा म भारत लुधियानामा कमाउन गएको थिएँ । साउन भाद्रमा फर्की आएको हु । भाउजु मीनादेवीको मृत्यु भएको म फर्की आएपछि मात्र थाहा भएको हो । भाउजुको मृत्यु के गरी, को को भई कर्तव्य गरी भएको हो मलाई थाहा छैन । जाहेरी दरखास्त झूठ्ठा हो । परमेश्वर यादवको बयानमा उल्लेख गरेको घटनामा मेरो संलग्नता छैन । घटनामा म नभएकोले कसरी निजको मृत्यु भयो म भन्न सक्दिन । मलाई अभियोगदावी अनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत प्रतिवादी बद्री यादवले अदालतमा गरेको बयान ।
प्रतिवादी बेचु भन्ने परमेश्वर यादव मेरो छोरा र मृतक मीनादेवी बुहारी हुन् । मिति २०५८।१।१६ गते म घरमा थिइनँ । सो दिन बाबाजीहरूको भण्डारामा गएको थिएँ । जाहेरवाला प्रतिवादीहरूसँग मेरो भेट भएन । जाहेरी व्यहोरा झूठ्ठो हो । के कसरी मीनादेवी मरिन् थाहा भएन । अभियोग दावी झूठ्ठा हो । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी अवधलाल यादवले अदालतमा गरेको बयान ।
मिति २०५८।१।१५ गते बिहान ५ बजेसम्म राजविराज ५ को डेरामा थिएँ । त्यसपछि रायपुर १ बस्ने चन्दनलाल यादवको घरमा पूजा पाठमा र राति त्यहीं बसी भोलिपल्ट ८,९ बजे डेरामा फर्किएँ । ५।७ दिन म फर्सेठ घरमै गएको छैन । सो दिन फर्सेठमा के भयो थाहा भएन । मैले मृतक मीनादेवीलाई कर्तव्य गरी मारेको तथा मेरो संलग्नता केही छैन । कसले कर्तव्य गरी मारेको हो थाहा छैन । पछि झुण्डीएर आत्महत्या गरेको भन्ने थाहा भयो । छोटेलाल, बलदेव, बच्चालालको छोरा शम्भुप्रसाद यादवसँग मुद्दा चलेको कारणले मेरो नाम पोल गरी प्रहरीमा झूठ्ठा बयान गरेको हो । मेरो कुनै कर्तव्यमा संलग्नता छैन । मलाई अभियोग दावीअनुसार सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी महेश्वरप्रसाद यादवले अदालतमा गरेको बयान ।
मिति २०५८।१।१४ गते कै दिन म सुनसरी ववियामा मेरो सम्धीको घरमा गई ऐ.१७ मा मात्र घरमा आएको थिएँ । मिति २०५८।१।१५ मा कुनै कुटपीटको घटना भए नभएको म घरमा नहुँदा थाहा भएन । मीनादेवी यादवलाई मैले मारेको होइन र मेरो संलग्नतासमेत छैन । बलदेव र रामदिहल, बद्री, बलदेव यादवबीच मुद्दा चलेको र पार्टीगत विरोधी भएको हुँदा फसाउने नियत लिई प्रहरीमा किटानी कागज गरी दिएका हुन् । जाहेरी झूठ्ठा हो । अभियोग दावीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी सकलदेव यादवले अदालतमा गरेको बयान ।
जाहेरवाला र अन्य प्रतिवादीहरूलाई चिन्दछु । मिति २०५८।१।१५ गतेका दिन रात म गाउँ घरमा नभई बरहीविरपुर गाउँ विकास समिति वैरसु यादवको घरमा थिएँ । १८ गते फर्किएँ । कुनै कुटपीटको घटना भए नभएको थाहा भएन । जाहेरी दरखास्त झूठ्ठा हो । मीनादेवीलाई मैले मारेको छैन । मेरो संलग्नता छैन । मुद्दा चलेको र पार्टीगत विरोधी भएको हुँदा मविरूद्ध प्रहरीमा किटानी कागज गरी दिएका हुन् । अभियोग माग दावीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी रामनारायण यादवले अदालतमा गरेको बयान ।
प्रतिवादीहरूका साक्षी दिगम्बर यादव, चन्दनलाल यादव, भोला यादव दोरिक यादव, रामफल यादव, सत्यनारायण यादव, राजाराम यादव, शिवनारायण यादव, डम्बरको छोरा देवनारायण यादव, रोशन यादवसमेतको र वादीतर्फका साक्षीहरू महादेवी यादव, देवनारायण साह, मोतीदास भन्ने मोतीलाल यादव, जाहेरवाला वैरसुको छोरा देवनारायण यादव, बैद्यनाथ यादव, छेदी यादव, बच्ची यादव, छोटीलाल यादव, देवकुमार यादव र शव परीक्षण गर्ने चिकित्सक तीर्थनारायणलाल कर्णसमेतले अदालतमा गरेको बकपत्र ।
वारदातको दिन बिहानदेखि मृतकलाई कुटपीट गरेको, शरीरको जत्रतत्र घा खत नीलडाम देखिनु, रातमा डोरीले घाँटी कसी मारेको भन्ने साबित रहेका प्रतिवादी बेचु भन्ने परमेश्वर यादव अदालतमा कसूरमा इन्कार हुँदैमा निजले आफ्नी श्रीमती बिना भन्ने मीनादेवी यादवलाई कर्तव्य गरी मारेको होइन भन्न मिलेन । निज कसूरदार हो भन्ने प्रमाणबाट पुष्टि भैरहेको देखिँदा प्रतिवादी बेचु भन्ने परमेश्वर यादवलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसूरमा सोही ऐनको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीहरू खुवलाल यादव, अजयनारायण यादव, हरिकिसुन यादव, मोतिलालको छोरा पञ्चदेव यादव, घनश्याम यादव, फेकुको छोरा पञ्चदेव यादव र महादेव यादवसमेत ७ जना पक्राउ परी वा हाजीर हुन नआई म्याद गुजारी बसेको देखिँदा निजहरूको हकमा अ.बं १९० नं. बमोजिम मुल्तवीमा राखिदिएको छ । प्रतिवादी अवधि यादव, रामदिहल यादव, बद्री यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव र महेश्वर यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं. बमोजिम जनही रू.२०।– (बीस) जरीवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको सप्तरी जिल्ला अदालतको मिति २०६६।२।२७ को फैसला ।
मृतकलाई आफूले कर्तव्य गरी मारेको भनी देवनारायण यादव र दोरिक यादवसमेतले जाहेरी दरखास्त गरे पनि निजहरूले तथा वादी पक्षका साक्षीहरूले समेत अदालतसमक्ष बकपत्र गर्दा मृतकलाई मैले नमारेको भनी उल्लेख गरेका छन् । प्रहरीमा भएको बयान मेरो स्वेच्छाले भएको होइन । अदालतसमक्ष मैले इन्कार बयान गरेको अवस्था छ । मृतक डोरीको पासोमा झुण्डीएर मरेको अवस्था छ । लास जाँच मुचुल्का विवादास्पद रहेको छ । लास जाँच मुचुल्काका मानिसहरूलाई नबुझी नझिकाई सो कागजलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन । यसरी प्रमाणमा नलाग्ने कागज प्रमाणहरूको आधार लिई मैले मृतकलाई कुटपीट गरी हत्या नगरेको अवस्थामा सुरू सप्तरी जिल्ला अदालतबाट म प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३)नं. बमोजिम सजाय गर्ने गरी भएको मिति २०६६।२।२७ को फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बेचु भन्ने परमेश्वर यादवले पुनरावेदन अदालत, राजविराजमा गरेको पुनरावेदन पत्र ।
प्रतिवादीहरूले वादी दावीअनुसारको कसूर गरेको पुष्टि भैरहेको अवस्थामा यी प्रतिवादीहरूलाई दावी भन्दा कम सजाय गर्ने गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६६।२।२७ मा गरेको फैसला कानूनी व्यवस्था र प्रमाण मूल्याङ्कनको दृष्टिबाटसमेत त्रुटिपूर्ण देखिएकोले सो फैसला बदर गरी यी प्रतिवादीहरूलाई सुरू अभियोग माग दावी अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारकातर्फबाट पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र ।
सुरू सप्तरी जिल्ला अदालतले मनमानी तर्क गरी मृतक मीनादेवीको मलामी गएको भन्ने आधार लिई म पुनरावेदकलाई ज्यानसम्बन्धीको महलको २५ नं. बमोजिम रू.२०।– जरीवाना गर्ने गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६६।२।२७ मा गरेको फैसला अन्यायपूर्ण भएकोले सो फैसला उल्टी बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी महेश्वर यादवको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र ।
जाहेरवाला देवनारायण यादव र प्रहरीमा कागज गर्ने देवकुमार यादवसमेतले पुनरावेदक/प्रतिवादीले मृतक मीनादेवीलाई घाँटीमा प्लास्टिकको डोरीले कसी ज्यान मारेको होइन भनी बकपत्र गरी दिएको साथै प्रतिवादीको मौकामा भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा निजलाई सुरू सप्तरी जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहर्याई भएको फैसला फरक पर्न सक्ने हुँदा छलफलका लागि अ.बं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय राजविराजलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, राजविराजको आदेश ।
प्रतिवादीसँग मृतक श्रीमतीलाई मार्नुपर्ने रिसइबी लाग रहेको नदेखिएको, श्रीमतीलाई मार्ने नियतले तयारी गरी कुटपीट गर्न गएको भन्ने अवस्था नरहेको, श्रीमतीले खाना नखाई सुत्न गएकोले खाना खान भनी प्रतिवादीले सम्झाउन जाँदा मृतक श्रीमतीले प्रतिवादीलाई गाली गरी कुटपीटसमेत गर्न आएबाट प्रतिवादी तत्काल आवेशमा आई कोठामै रहेको प्लास्टिकको डोरीले श्रीमतीको घाँटी कसेको कारणले प्रतिवादीको श्रीमती मीनादेवी यादवको मृत्यु हुन गएको देखिन आएकोले प्रस्तुत तथ्यका सम्बन्धमा ज्यानसम्बन्धीको महलको १३(३) नं. आकर्षित हुन नसक्ने भै ऐ.को १४ नं. आकर्षित हुने देखिँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६६।२।२७ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भै प्रतिवादी बेचु भन्ने परमेश्वर यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नम्बरबमोजिम १०(दश) वर्ष कैदको सजाय हुने ठहर्छ ।
प्रतिवादीहरू महेश्वर यादव, अवधि यादव, लुखिया भन्ने रामनारायण यादव, रामदिहल यादव, बद्री यादव र सकलदेव यादवको हकमा ज्यानसम्बन्धीको महलको १३(३) को दावी पुग्न नसक्ने गरी सप्तरी जिल्ला अदालतबाट मिति २०६६।२।२७ भएको फैसला मिलेकै देखिँदा सोतर्फको वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रतिवादीहरू महेश्वर यादव, अवधि यादव, लुखिया भन्ने रामनारायण यादव, रामदिहल यादव, बद्री यादव र सकलदेव यादवलाई रू.२०।– जरीवाना गर्ने गरी भएको फैसला उल्टी भई निजहरूले सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०६७।३।९ को फैसला ।
प्रतिवादी परमेश्वर यादव र मृतक मीनादेवीबीच बिहानैदेखि झगडा भई कुटपीटसमेत भएको र राति पनि निजहरूबीच झगडा कुटपीट भएपछि प्रतिवादीले निज मृतक मीनादेवीलाई मार्ने योजना बनाई प्लास्टिकको डोरीले निजलाई झुण्ड्याई मारेको, सो कुरा निजले मौकामा गरेको बयानमा स्वीकार गरेको अवस्था हुँदाहुँदै निजले नियोजितरूपमा मृतकलाई मारी सो लास सद्गत गर्ने क्रममा अन्य प्रतिवादीले समेत सहयोग गरेको देखिएकोमा पुनरावेदन अदालत, राजविराजबाट प्रतिवादी परमेश्वरको कसूर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गतको ठहराई निजलाई १० वर्ष कैद र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारतर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
मृतकको मृत्यु घाँटी कसेको कारण (Asphyxia due to strangulation) भएको र प्रतिवादीहरूमाथि ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसारको दावी भएकोमा ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार सजाय हुने ठहर गरी भएको पुनरावेदन अदालत, राजविराजको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने मिति २०६९/२/७ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक/ वादी नेपाल सरकारतर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले मिति २०५८/१/१५ का दिन प्रतिवादी परमेश्वर यादवको घरमा साधु महाजनहरूलाई खाना खुवाउने दिन भएको, सो दिन बिहान मृतक मीनादेवीले घर लिपपोत नगरेका कारण प्रतिवादी परमेश्वर यादव र मृतक मीनादेवीबीच झगडा भई प्रतिवादीले कुटपीट गरेकाले निज मृतकले केही काम नगरी सुतेकी र रातिसम्म निज मृतक नउठी पुनः प्रतिवादी परमेश्वर र मृतकबीच झगडा भई निज प्रतिवादीले पुनः मृतकलाई कृटपीट गरी कलुषित भावना लिई मार्ने नै योजना बनाई प्लास्टिकको डोरीले निजको घाँटी कसी झुण्ड्याई मारेकोमा सुरू सप्तरी जिल्ला अदालतबाट प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिएकोमा पुनरावेदन अदालत, राजविराजबाट प्रतिवादी परमेश्वर यादवलाई ज्यानसम्बन्धीको महलको १४ नं. र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रतिवादी बेचु भन्ने परमेश्वर यादवकातर्फबाट विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी र प्रतिवादी परमेश्वर यादव एवं अन्य प्रतिवादीहरूसमेतकातर्फबाट वैतनिक विद्वान अधिवक्ताद्वय श्री हरिशंकर कर्ण र श्रुतीकुमारी रेग्मीले प्रतिवादी परमेश्वर यादवले पूर्वयोजना बनाई निज मृतकको कर्तव्य गरी मारेको नभै तत्काल उठेको रिस थाम्न नसकी प्लास्टिकको डोरीले घाँटी कसेका कारण निजको मृत्यु हुन गएको र अन्य प्रतिवादीहरू वारदातमा संलग्न नभएकोले प्रतिवादी परमेश्वर यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को कसूर ठहर गरी निजलाई १० वर्ष कैद र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ छैन, सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा प्रतिवादी बेचु भन्ने परमेश्वर यादवले आफ्नी श्रीमती मीनादेवी यादवलाई मिति २०५८/१/१५ गते बिहान घर लिपपोत नगरेका कारण कुटपीट गरेका, साँझ पनि कुटपीट गरी प्लास्टिकको डोरीले घाँटीमा कसी मारेकाले सो कार्यमा अन्य प्रतिवादीहरू अवधि यादव, महेश्वर यादव, लुखिया भन्ने रामनारायण यादव, रामदिहल यादव, बद्री यादव र सकलदेव यादवसमेत सहभागी भएकाले निजहरूलाई ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेतको अभियोग माग दावी भएकोमा, सप्तरी जिल्ला अदालतबाट प्रतिवादी बेचु भन्ने परमेश्वर यादवलाई सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरूलाई जनही रू.२०।– जरीवाना हुने ठहराई फैसला भएको देखिन्छ । सो फैसलाउपर पुनरावेदन अदालत, राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट प्रतिवादी परमेश्वर यादवलाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहरेकोमा सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूमा निर्णय दिनुपर्ने देखियो ।
(क) मृतकको मृत्यु कर्तव्यबाट भएको हो होइन ?
(ख) मृतकको मृत्यु कर्तव्यबाट भएको भए उक्त वारदात आवेशप्रेरित वा मनसायप्रेरित कुन प्रकृतिको हत्या हो ?
(ग) अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्ने हो होइन ?
(घ) पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ छैन ?
२. यसमा पहिलो प्रश्नतर्फ विचार गर्दा, मृतक मीनादेवी यादवलाई मिति २०५८/१/१५ गते राति प्रतिवादी बेचु भन्ने परमेश्वर यादवले कर्तव्य गरी मारी सो कार्यमा अन्य प्रतिवादीहरूसमेत सहभागी भई मृतक लास गुपचुपमा जलाउन लागेकोले प्रतिवादीहरूलाई कारवाही गरिपाउँ भनी मृतकका दाजु देवनारायण यादव र बाबु दोरिक यादवको छुट्टाछुट्टै जाहेरी परी उठान भएको प्रस्तुत मुद्दाको लास जाँच मुचुल्कामा मृतकको निधार, आँखा, गाला, पिठ्यूँसमेतमा नीलडाम देखिएको, घाँटीमा डोरीले कसिएको डाम देखिएको भन्नेसमेत उल्लेख भएको देखिन्छ । प्रतिवादी परमेश्वर यादवले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०५८/१/१५ मा घरमा बाबाजी साधु सन्तहरूलाई खाना खुवाउने दिन भएकोमा सो दिन बिहान मृतक मीनादेवीले घर लिपपोतसमेत नगरी झगडा गरेकाले बिहान २/३ झापड हानेको, त्यसपछि निज साँझसम्म नउठी खाना नखाई मसँग झगडा गरेकाले पुनः २/४ झापड हिर्काई प्लास्टिकको डोरीले निजको घाँटी कसी जोडले तानेपश्चात् निजको मृत्यु भएको हो । सो हत्या म एक्लै गरेको हुँ, अन्य कसैको संलग्नता छैन भनी कसूर गरेमा स्वीकार गरेको देखिन्छ । अन्य प्रतिवादीहरू रामदिहल यादव, अवधि यादव, बद्री यादवसमेतले मौकामा बयान गर्दा कसूर गरेमा इन्कार रही बयान गरे तापनि प्रतिवादी परमेश्वर यादवको बाबु अवधि यादवले छोरा परमेश्वरले सो घटना गराएको र निज मृतकलाई औषधि गर्न लग्ने बहानामा सद्गत गर्न नदीमा लगेको हो भनी बयान गरेको र घटना विवरण सम्बन्धमा कागज गर्ने बच्चा यादव, छोटीलाल यादवसमेतले प्रतिवादी महेश्वर यादवको सल्लाह अनुसार नै प्रतिवादी परमेश्वर यादवले सो घटना घटाएका हुन् भनी कागज गरिदिएको देखिन्छ । यी प्रतिवादी परमेश्वर यादव सुरू अदालतमा बयान गर्दा कसूर गरेमा इन्कार रहे तापनि निजले प्रहरीमा गरेको बयानलाई खण्डित गर्न भने सकेको पाइँदैन । सगरमाथा अञ्चल अस्पतालबाट भएको शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारण Asphyxia due to strangulation भन्ने उल्लेख भई मिसिल संलग्न रहेका अन्य तथ्यगत सबूद प्रमाणबाट यी प्रतिवादी बेचु भन्ने परमेश्वर यादवले पटकपटक कुटपीट गरी प्लास्टिकको डोरीले घाँटी कसी निज प्रतिवादी परमेश्वरको कर्तव्यबाट मीनादेवी यादवको मृत्यु भएको पुष्टि हुन आयो ।
३. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादी परमेश्वर यादवले मृतक मीनादेवी यादवलाई मार्ने नियतले पटकपटक कुटपीट गरी प्लास्टिकको डोरीले घाँटी कसी निज मृतकको मृत्यु भएकोमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन सक्दैन भन्ने वादी नेपाल सरकारबाट आफ्नो पुनरावेदनमा जिकीर लिएको देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. हेर्दा “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इबी पनि रहेनछ, लुकी चोरिकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लातमुक्का इत्यादि हान्दा सोही चोट, पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपछ ।” भन्ने उल्लेख भएको देखिन्छ ।
४. प्रस्तुत वारदातमा प्रतिवादी परमेश्वर यादवले मृतक मीनादेवीलाई बिहान र साँझसमेत गरी पटकपटक कुटपीट गरेको र सोपश्चात् प्लास्टिकको डोरीले घाँटी कसेपश्चात् निजको मृत्यु भएको भनी स्वीकार गरेको देखिन्छ । मृतक पत्नी आफैँ झुण्डी मरेको भन्ने देखिँदैन । यी प्रतिवादीद्वारा पटकपटकको कुटपीटपश्चात् मार्ने नियतले साधन खोजी गरी निज मृतकको हत्या गरिन्छ भने यस्तोमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन सक्ने अवस्था पनि देखिँदैन । प्रस्तुत घटनामा प्रतिवादीले प्लास्टिकको डोरीले घाँटीमा बेरी सास अवरूद्ध हुने गरी घाँटी कस्छ भने त्यो मार्नलाई नै प्रयोग गरिने कार्य हो । मार्नलाई गरिएका कार्य रिस झोकमा गरिएका कार्य होइन र मर्छ भन्ने जानी जानी वा सो नियतले डोरी खोजी मृतकको घाँटी कसी सोही परिणामबाटै मृत्यु भएकोमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने हुँदा प्रस्तुत हत्या योजनाबद्धरूपमा गरिएको मनसाय प्रेरित हत्या नै भएको देखियो ।
५. अब तेस्रो प्रश्नतर्फ विचार गर्दा, पटकपटकको कुटपीटपश्चात् मृतकको घाँटी कसी कर्तव्य गर्ने प्रतिवादी परमेश्वर यादव र सो कार्यमा सहयोग गर्ने अन्य प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकीरतर्फ हेर्दा प्रतिवादी परमेश्वर यादवले आफूले कुटपीट गरी प्लास्टिकको डोरीले घाँटी कसी मृतकको मृत्यु भएको भनी बयान गरेको, अन्य तथ्यगत प्रमाणबाट निजकै कर्तव्यबाट मृतकको मृत्यु भएको माथि विवेचित तथ्यबाट पुष्टि भै निजले मनसायपूर्वक नै हत्या गरेकोले निज प्रतिवादी परमेश्वर यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३) नं. को कसूरमा सोही १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ ।
६. ज्यानसम्बन्धीको महलको १३(३)नं. बमोजिमको अभियोग दावी भएका प्रतिवादीहरू अवधि यादव, रामदिहल यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव, महेश्वर यादव, बद्री यादवको हकमा विचार गर्दा मुख्य प्रतिवादी परमेश्वर यादवले आफ्नी श्रीमती मीनादेवी यादवलाई आफूमात्र भई कर्तव्य गरी मारेको भनी मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष साबित छन् । मृतकलाई घाँटी कसी मारीसकेपश्चात् प्रतिवादी परमेश्वरले सो कुरा आफ्नो बाबु प्रतिवादी अवधि यादव एवं अन्य प्रतिवादीहरूलाई जानकारी गराएपश्चात् अन्य प्रतिवादीहरूले सो थाहा पाएपछि मृतकलाई औषधि गर्न लग्ने बहाना गरी मृतकको लास जाँच नगरी दानर नदीमा लगी सद्गत गर्ने सल्लाह गरी सो लास दानर नदीमा लगी चिता बनाई सद्गत गर्ने क्रममा प्रहरीद्वारा सो लास बरामद भएको देखिँदा प्रतिवादीहरू अवधि यादव, रामदिहल यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव, बद्री यादव, महेश्वर यादवको कसूर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अन्तर्गतको नदेखिई ऐ. २५ नं. बमोजिमको देखिँदा निज प्रतिवादीहरू अवधि यादव, रामदिहल यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव, बद्री यादव, महेश्वर यादवलाई ऐ. २५ नं. बमोजिम जनही रू.२०।– जरीवाना हुने ठहर्छ ।
७. अब चौथो प्रश्नतर्फ विचार गर्दा माथि विवेचित आधार प्रमाणसमेतबाट प्रतिवादीहरू बेचु भन्ने परमेश्वर यादवको कसूर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३) नं. अन्तर्गतको ठहरी निजलाई ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू अवधि यादव, रामदिहल यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव, बद्री यादव, महेश्वर यादवको कसूर ऐ. २५ नं. अन्तर्गतको ठहरी सोही नं. बमोजिम जनही रू.२०।– जरीवाना हुने ठहरेकाले सप्तरी जिल्ला अदालतबाट मिति २०६६/२/२७ मा भएको फैसलालाई उल्टी गरी पुनरावेदन अदालत, राजविराजबाट मिति २०६७/३/९ मा प्रतिवादी बेचु भन्ने परमेश्वर यादवलाइ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गत १० वर्ष कैद र अन्य प्रतिवादीहरू अवधि यादव, रामदिहल यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव, बद्री यादव र महेश्वर यादवले सफाइ पाउने ठहर भएको फैसला उल्टी भै सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला सदर हुन्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी बेचु भन्ने परमेश्वर यादवको कसूर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अन्तर्गतको ठहरी निजलाई सर्वस्वसहित जन्मकैद हुने ठहरी सप्तरी जिल्ला अदालतबाट मिति २०६६/२/२७ मा भएको फैसला सदर हुने ठहरेकाले सप्तरी जिल्ला अदालतले राखेको लगतबमोजिम निज प्रतिवादी परमेश्वर यादवलाई कैदमा राखी पुनरावेदन अदालत, राजविराजले १० वर्ष कैद गर्ने भनी राखेको लगत कट्टा गर्नु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाई अरूमा सप्तरी जिल्ला अदालतले राखेको लगतबमोजिम गर्नु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू -१
प्रतिवादीहरू अवधि यादव, रामदिहल यादव, सकलदेव यादव, लुखिया भन्ने रामनारायण यादव, बद्री यादव र महेश्वर यादवले मुलुकी ऐन, ज्यानसम्बन्धीको २५ नं. को कसूर गरेको ठहरी निजहरूलाई जनही रू.२०।– जरीवाना हुने ठहरी फैसला भएकाले निजहरूलाई सप्तरी जिल्ला अदालतले राखेको लगतबमोजिम सो जरीवाना असूल गर्नु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू -२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू - ३
उक्त रायमा सहमत छु ।
न्या. प्रकाश वस्ती
इति संवत् २०७० साल फागुन १४ गते रोज ४ शुभम् ।
इजलास अधिकृत : कमलप्रसाद ज्ञवाली