निर्णय नं. २५६ - हकसफा

निर्णय नं. २५६ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
न्यायाधीश श्री स.इश्वरीराज मिश्र
दे.फु.नं. २३७
निवेदक, प्रतिवादी : मोहनबहादुर राउत क्षेत्रीसमेत
विरुद्ध
विपक्षी वादी : हरिप्रसाद उपाध्याय
मुद्दा : हकसफा
(१) रजिष्ट्रेशन पास नभएको लिखतबाट जग्गामा दावा पुग्न नसक्ने, कागज परिसकेपछि मात्र भोग गरेको प्रमाणलाई पक्कामान्न नमिल्ने ।
झगडा परेको जिमिदारी जिमिदार कृष्णराजबाट राजिनामा लिएको पास नभए पनि भोग गरी आएको भन्ने निवेदकको जिकिर देखिन्छ । राजिनामा भएको भनेको ०३।८।१३ को लिखित पास नभएमा प्रतिवादी सावितै हुनाले त्यस्तो पास नभएको लिखतबाट रजिष्ट्रेशनका ७ नं. ले जग्गामा दावा पुग्न नसक्ने र लिखित पास नभए पनि भोग गरेको भन्ने हकमा पेश भएका रसिद हेर्दा मुद्दा परेपछिको १६ सालको पोत बुझाएको रसिदमा भोगवाला यज्ञबहादुर भनी जनिएको देखिए पनि सो भन्दा अघिको पोत बुझाएको रसिदमा हस्ते भन्नेमात्र जनिएको देखिन आएकोले झगडा परिसकेपछि भोगवाला भनी जनिएको भरले वादीको राजिनामा गराई लिएको हैसियतबाट भोग भइ पक्का भईसकेको भन्न नमिल्ने ।
(प्रकरण नं.१३)
निवेदकतर्फ : प्लीडर सुधानाथ पन्त प्लीडर ठाकुरप्रसाद खरेल
विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे
फैसला
१. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याइ हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको सन्तकुमारी देवकुमारीका हकमा र आफ्ना हकमासमेत विष्णुकुमारीले दिनु भएको बिन्तिपत्रमा बक्स भइ आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,
२. यज्ञबहादुरलाई २००३।८।१३।५ मा कं.रु. २३०१ मा राजिनामा गरी दिएको तप्पे गौ राबल मौजे चेथरी दुइ आना जिमिदारीको राजिनामा पास नभई कपाली भएको सो थैली तिर्न र त्यस माथि कं.रु. ७००१ सात हजार एक रुपैयाँ थप दिई जम्मा कं.रु. ९३०२ मा सो जिमिदारी ०१६।२।५ मा घरायसमा र ०१६।७।२७ मा रजिष्ट्रेशन पास गराई कृष्णराज गुर घरानाबाट राजिनामा गराइ मैले लिएकोले सो यज्ञबहादुरको थैली कं.रु. २३०१ बुझाउन लाग्दा नबुझेकोले पाल्पा मालमा धरौट राख्दा निजले बुझ्न इन्कार गरी नालेस दिनु भनी मालले सुनाएका म्याद भित्र नालेस गर्न आएको छु । सो रुपैयाँ दावी खिचोला मेटाई पाउँ भन्नेसमेत व्यहोराको हरिप्रसाद उपाध्यायको फिराद ।
३. सो जिमिदारी पहिला हाम्रै हो, पछि फिर्ता दिने कबूलले मैले राजिनामा गरी दिएको हुँदा २००३।८।१३ मा जि.कृष्णराजबाट मलाई हक छोडी राजिनमा गरी दिएको पास गर्न जान सरम हुन्छ भन्नु भई पास गरी नदिए पनि सालसालै पोत बुझाई भोग गरी आएको र कृष्णराज ऐन्द्रराजको बण्डापत्रमा राजिनामा भई गएको भनी लेखेकोले थैली बुझ्नु नपर्ने भन्नेसमेत व्यहोराको यज्ञबहादुरको प्रतिवादी ।
४. बुझिएसम्मका प्रमाणबाट प्रतिवादीको रु. २३०१ को राजिनामा पास नभएकाले थैली नबुझी जग्गामा दावीबमोजिम प्रतिवादीले खिचौला गरेको ठर्हन आएकोले वादीको दामी मनासिव छ भन्ने ०१७।९।१५ को पाल्पा इलाका अदालतको फैसला ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको अपील ।
६. शुरुका फैसलामा लेखिएका बुँदा प्रमाणसमेतबाट इन्साफ शुरु इलाका अदालत पाल्पाको मनासिव ठहर्छ भन्ने २०१७।११।५।५ को जिल्ला अदालत पाल्पाको फैसला ।
७. उक्त इन्साफ बदर गरी पाउँ भनी प्रतिवादीको अपील ।
८. अपिलाट यज्ञबहादुरले राजिनामा पास गराई लिई र जग्गा जिमिदारी आफ्ना नाउँमा दर्ता दाखेल खारेज गराउन सकेकोसमेत देखिन आएन । हस्तेवारी तवरबाट तिरो बुझाइ खाई आएबाट नै ऐनले निजको हक पक्का हुन्छ भन्न नमिल्ने भएकोले जग्गा जिमिदारी मेरो हक पक्का भईसकेको भन्ने अपीलाटको जिकिर पुग्न सक्तैन । इन्साफ शुरुको सदर गरी पाल्पा जिल्ला अदालतले छिनेको मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१८।११।३ को फैसला ।
९. सो फैसलामा चित्त बुझेन मेरा एकाघरका लोग्ने यज्ञबहादुर परलोक हुनु भइ म नजिक हकदार भएकीले निवेदन गर्न आएको छु, मुद्दा दोहर्याई दिनु भन्ने आदेश पाउँ भन्नेसमेत सन्तकुमारी राउत क्षेत्रीनीको बिन्तिपत्रको व्यहोरा पेश हुँदा यसमा लायक कानूनी प्वान्इट नहुनाले निस्सा हुन सक्दैन । ऐन सवालबमोजिम गर्नु भन्नेसमेत प्रधान न्यायाधीशज्यूको ०१९।२।२८ को आदेश ।
१०. फैसलामा चित्त बुझेन, देउकुमारी सन्तकुरमाीको वा भई आफ्नो हकमासमेत निवेदन गर्न आएको छु, मुद्दा दोहर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको विष्णुकुमारी राउत क्षेत्रीनीले दिनु भएको बिन्तिपत्रमा तपसीलका मानिसले चढाएको तपसीलका निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा निजहरूको व्यहोरा साँचो भए रुल नियमबमोजिम फुल बेञ्चबाट एकपटक दोहर्याई हेरी ऐन सवालबमोजिम निर्णय गरी दिनु भनी तहाँ पठाउन मौसुफबाट हुकुम बक्सेकाले सोबमोजिम हुन तपसीलका निवेदन पठाएको छु भन्नेसमेत मौसूफका विशेष जाहेरी विभागबाट लेखी आएको २०।५।४ को पत्र ।
११. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुलबेनचमा पेश गर्नु भन्नेसमेत प्रधान न्यायाधीशज्यूको २०।५।१७।२ को आदेश ।
१२. यसमा तारेखमा रहेका दुवै पक्ष राखी श्रावण २० गते पेश भई निवेदक वा. समेतको मोहनबहादुरतर्फका विद्वान प्लीडर सुधानाथ पन्त तथा विद्वान प्लीडर ठाकुरप्रसाद खरेलले र वादी हरिप्रसादतर्फका विद्वान एडभोकेट कुष्णप्रसाद घिमिरेले गर्नु भएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा विचार गर्दा,
१३. भगडा परेको जिमिदारी जिमिदार कृष्णराजबाट राजिनामा लिएको पास नभए पनि भोग गरी आएको भन्ने निवेदकतर्फको जिकिर देखिन्छ । राजिनामा लिएको भनेको ०३।८।१३ को लिखत पास नभएमा प्रतिवादी सावितै हुनाले त्यस्तो पास नभएको लिखतबाट रजिष्ट्रेशनका ७ नं. ले जग्गामा दावा पुग्न नसक्ने र लिखत पास नभए पनि भोग गरेको भन्ने हकमा पेश भएका रसिद हेर्दा, मुद्दा परे पछिको १६ सालको पोत बुझाएको रसिदमा भोगवाला यज्ञबहादुर भनी जनिएको देखिए पनि सो भन्दा अघिको १५ सालको पोत बुझाएको रसिदमा हस्ते भन्नेमात्र जनिएको देखिन आएकोले झगडा परिसकेपछि भोगवाला भनी जनाएको भरले वादीकोराजिनामा गराइ लिएको हैसियतबाट भोग भइ पक्का भए सकेको भन्न नमिल्ने । कृष्णराज ऐन्द्रराजहरूको ०९ सालको बण्डापत्रमा यो झगडा परेको जिमिदारी राजिनामा दिएको भन्ने जनाएकोबाट पनि राजिनामा भईसकेको भन्ने देखिने । कृष्णराजको अंशमा नपरेकोले कृष्णराजबाट लिने वादीको हकै पुग्न नसक्ने भन्ने निवेदकतर्फको अर्को जिकिरका हकमा पनि पेश भएको बण्डापत्रमा “चेथरी कृष्णराजका नाउँमा ।। मध्ये जिमीदारी ऽ आना ऐनका म्याद भित्र पास गरी दिने गरी अर्कौलाई दिएको” भन्ने उल्लेख भएको निवदेक प्रतिवादीहरूको लिखित ०३ सालको भई पास गर्ने अवधी नाघिसकेकोले प्रतिवादीकै लिखतलाई लक्ष गरी सो कुरा लेखिएको भन्न नमिल्नेमा पनि बण्डापत्रमा पास गरी दिने गरी दिएको भन्ने भविष्य सूचक कुरा लेखिएको भविष्यमा पास हुन नसकेमा पनि अंशियारमा सो हक वापस आउन नसक्ने भन्ने सम्झन नहुने, दर्तावाला कृष्णराजले वादीलाई बिक्री गरेकोमा असर पर्ने भए अंशियारहरूलाई पर्ने म्याद भित्र अंशियारको उजुर परेमा ठहरेबमोजिम हुने कुरामा प्रतिवादीको जिकिरबाट त्यसतर्फ विचारगर्न नमिल्ने । अंशियारीको म्याद भित्र उजुर बाजुर गरेको भन्ने नदेखिएबाट वादीको हक कच्चा भयो भन्न कानूनले मिलेन।
१४. लिखितबाट जग्गामा हक पुग्ने अवधी नाघिसकेको र अरु हक पुग्ने सबुद प्रतिवादीबाट पेश हुन नसकेकोले झगडा परेको जिमिदारी हाम्रो हकको भन्ने निवेदक, प्रतिवादीतर्फको जिकिरको कानूनी आधार देखिएन । तसर्थ, वादी दावीबमोजिम रुपैयाँ नबुझी जग्गामा खिचोला गरेको ठहराएको सदर गरी जिल्ला अदालत पाल्पाबाट छिनेको सदर गरेको डिभिजन बेञ्चको १८।११।३ को फैसला मनासिव छ अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी यज्ञबहादुर मरी निजकोतर्फबाट निवेदन गर्ने देहायको निवेदकहरूले इन्साफ दोहर्याएमा यस अघिका डिभिजन बेञ्चका फैसलाले प्रतिवादी यज्ञबहादुरलाई रु. ४।६१ जरिवाना गरेको देखिँदा अ.वं २०४ नं. बमोजिम दशौद रु. ।४७ पैसा जरिवाना हुन्छ । देहायबमोजिम असूल गर्नु भनी मोहनबहादुर रुजु र अरु बेरुजु हुँदा तपसीलमा लगत दिनु ..........................१
देवकुमारी राउतनीके रु. ।१६, सन्तकुमारी राउतनीके ।१५, मोहनबहादुर राउतके ।१६,
मिसिल नियमबमोजिम बुझाई दिनु ..................... २
इति सम्वत् २०२१ साल श्रावण २७ गते रोज ३ शुभम् ।