निर्णय नं. २५८ - ज्यान

निर्णय नं. २५८ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री स.इश्वरीराज मिश्र
फौ.फु.नं. ५०
निवेदक, प्रतिवादी : वीरबहादुर मगर थुनुवा
विरुद्ध
विपक्षीवादी : जाहेरवाला पदमलाल पाध्या
मुद्दा : ज्यान
(१) अदालतमासमेत साविती बयान दिएपछि पुलिसले सासना गरी सावित गराएको भनी मान्न नमिल्ने ।
........मौका पुलिसमा र अदालतसमेतमा खुकुरीको हतियार प्रयोग गरी निजसमेतले कर्तव्य गरी मारेको हुँ भनी सावित भएको देखिन्छ । तर पुलिसले साविती गराएको कुटपीट गरेको चोट डाम छ । निरापराधीलाई सजाय दिइयो भन्ने निवेदकको जिकिर भएको पुलिसमामात्र सावित भएको नदेखिइ लेखिएबमोजिम अदालतसमेतमा आई कर्तव्य गरेमा सावित भई बयान गरेको देखिएको, अदालतबाट पनि कुटपिट गरी सावित गराए भन्ने जिकिर नभएका कुटपिट गरी सावित गराएको प्रमाण निवेदकले कुनै पनि पेश गर्न नसकेकोले कुटपिट गरी सावित गराएको रहेछ भन्न नमिल्ने । वादी मर्ने दुर्गाप्रसादलाई लखेट्दै जाँदा देख्ने भनेका चैते र डल्लीले पनि वारदातमा भएका मानिस त्यही हो भनी सनाखत गरेको देखिएबाटसमेत निर्दोषी छु भन्ने निवेदकको जिकिर पुग्न सक्तैन ।
(प्रकरण नं. १२)
निवेदकतर्फ : बैतिनीक प्लिडर इश्वरीलाल झा
फैसला
१. पं. दुर्गाप्रसाद उपाध्याय र महोत्तरी मौजे रामनगर सितानगरबाट घर उदयपुर दहर गाउँ आउन ०१६।२।१० गतेका दिन आएको भोलीपल्ट ११ गतेका दिन १२ बजे तीन तलेबाट तोवा खोला निक्लने गौंडामा आई पुग्दा नचिनेका हरियो कमेज लगाएका खुकुरी भीरेको २०।२२ वर्षको कालो अनुहार भएको मानिस बसी रहेको रहेछ । हामी पनि एकछिन ताहाँ बसी हिडौं भनी दूर्गा प्रसाद अगाडि म पछि भई २।४ कदम हिड्नासाथ दुर्गाप्रसादलाई तँलाई कसले छाता बोक्ने अडर दियो भनी काखीमा च्यापेको छाता पक्री खुकुरीले देव्रे हातको हरथुंगामा हान्दासाथ गुहार भनी कराउँदा ताहाँबाट पूर्वतर्फ ३ जना मानिस देखि दौडी नै गुहार देउ भन्दा दिएनन् । फर्की आउँदा दुर्गाप्रसाद र काट्ने मानिस ताँहा रहेनछन् । गाउँमा आउँदा पुलिससँग भेटभई भनें, पुलिस र म खोज्न जाँदा पहिला काटेको ठाउँ देखि २ कोस टाढा हदैयाको चौरमा अंगभंगसँग काटी मरेको भेटियो । पुलिस लास कुरी बसेका छन भन्नेसमेत पदमलाल उपाध्यायले पुलिसमा दिएको ०१६।३।१२ को जाहेरी दर्खास्त र सोही मिलान अदालतमा पदम्लालले गरेको बयान ।
२. म र छोरी धानबोकी घर जान लाग्दा तावा खोला कलाहा चौडो नजिक नचिनेको मानिसलाई २ जना नचिनेका मानिसले खुकुरी उज्याई लखेट्दै ल्याएका खेदिनेले मलाई काहाँ लगी मार्छन भन्यो । गाउँमा गई यौटी बुढी दनुवारनीलाई भनेसमेत चैते माझीको बयान ।
३. कसुरदार तलास गर्दै जाँदा रिस्कुखुलाल डाँडामा हुलियाबमोजिमको मानिसदेखि सोद्धा नाउँ वीरबहादुर मगर हुँ, घर पूर्व ३ नं. माने भंज्याङ्ग आरुबोटे होक्साई झुल्केमा आएको १०।१२ दिन बसी खुलाल डाँडामा घर गरी बसेको छु भन्यो । दुर्गाप्रसाद मरेको कुरा सोद्धा प्रष्ट जवाफ दिएन, निजउपर शंका भएकाले दाखिल गरेका छौं भन्ने क.टे भवकृष्ण, रिठे दमाईको रिपोर्ट र यो देखाएको वीरबहादुरले पं. दुर्गाप्रसादलाई कर्तव्य गर्ने मानिस हो भन्ने पद्यलाल, खेदिलाने मध्येका १ जना यही हो भन्ने चेते माझि निजकी छोरी डल्लीको सनाखत कागज ।
साहिलाबाबु करवीरले पं. दुर्गाप्रसादलाई जग्गा बिक्री गरी सकेछ । निज दुर्गाप्रसाद बतर,ा बस्ने झ्याकुलेको घरमा बसेका रहेछन, हक सफा गर्दछु भन्दा नदिनी कुरा गरेबाट म र साथ गएको देवीप्रसाद जैशि दिनामपुर गई बस्यौं । भोलिपल्ट देवीप्रसादको मित बद्रीनाथ पाध्या पनि आई पुगे र जग्गा नपाइने भयो के गर्ने भन्दा रुपा कुले र दुर्गाप्रसादलाई खतम पारुँ भन्ने देवीप्रसादले भने, बद्रीनाथले पनि ठीक हो भने र मलाई पनि ठिकै लाग्यो । ताहाँ केही दिन बसी ज्येष्ठमा हो गते याद भएन, ताँहाबाट हिडी टाँडी माथि खहरेमा आइपुगेका थिए, नचिनेको तामाङ्ग आई दुर्गाप्रसादलाई तिमी र म भएर काट्नु भनी पठाएको छ भन्यो र ताँहाबाट हिडी ३ तलेको तावा बैजनाथको दोभान वारीको जङ्गल किनारामा दिनको अं. १२ बजे आई पुगि बस्यौं । केही बेरपछि दूर्गाप्रसाद र उजुरवाला आई ताही बसे र हिंड्न लाग्दा दुर्गाप्रसादको हातमा मैले खुकरीले हानें, गुहार भनी कराए उजुरवाला रिस्कु गाउँपट्टि लागे । दुर्गाप्रसादलाई जङ्गलपट्टि लगाई खेद्दै लांदा धान बोकी जाने बुढी र केटी भेटिएका थिए । हदैया पुगेपछि साथीले खुकुरीले पाखुरामा हान्यो । मैले पनि खुकुरीले गर्धनसमेतमा हानी मारेका हौं । साथी रामनगर घर हो भन्थ्यो । दुर्गाप्रसादको छाता साथीले लियो अरु कुरा लिएनौ भन्नेसमेत वीरबहादुर आले मगरको पुलिसमा गरेको कागज । अरु पुलिसमा गरेको कागज मिलान र आखिरी तमाँगले ल्याएको रुपैयाँ दिएको छैन, देवीप्रसाद बद्रीनाथसँग झ्याकुले र दुर्गाप्रसादलाई मार्ने सल्लाहा भएको छैन, पुलिसमा भूलबाट लेखिएको हो तामाङ्गले दुर्गाप्रसाद यो हो भनी चिनाएकोले चिनेको हुँ भन्ने निजवीरबहादुरको बयान ।
४. पं. दुर्गाप्रसाद, देवीप्रसादलाई चिनेको छैन र मार्न सल्लाह गरेको हैन । स.इ.कालिदासले सिकाई पोलाएको हो भन्ने बद्रीनाथको र दुर्गाप्रसाद बद्रीनाथलाई चिनेको छैन, मार्न सल्लाह गरेको हैन मार्न रुपयाँ दिएको पनि छैन । वीरबहाुदरले रु. ६० दिनु पर्ने पक्राउ गरेको इवीले झुट्ठा पोल गरेको हो भन्नेसमेत देवीप्रसाद अधिकारीको बयान ।
५. दुर्गाप्रसाद कर्तव्य परि मरेको, वीरबहादुरलाई पद्मलाल, चैते, डल्लीले कसूर गर्न भनी सनाखत गरेका र मारेमा सावित भई बयान गरेकोलेसमेत ज्यानसम्बन्धीका २५ नं. दण्ड साजयका ९० नं. दामल गर्ने नाउँ नजानेको तामाङ्गको हकमा मुल्तवी राख्ने प्र.देवीप्रसाद बद्रीनाथको हकमा झुठा पोल गरेको ठर्हछ । प्रतिवादीको कागज गराएमा इन्स्पेक्टर जगतबहादुर राईलाई रु. १०। जरिवाना गर्ने र सनाखत गराउँदा साक्षी र धेरै मानिस नराखी गराएमा दण्ड सजायलाई जाहेरगरी निकास भई आएबमोजिम गर्नसमेत ठहराई उदयपुर इलाका अदालतले ०१८।६।६।६ मा गरेको जाहेरी फैसला ।
६. दुर्गाप्रसादलाई मार्नुपर्ने कारण अवस्था मिल्न नआएको सरजमिनले मलाई शंका नदेखाएको पुलिसले पक्राउ गरी ल्याएपछि कुटपीट सास्ती सासना दिई व्यहोसमा परी कागज गराएको कानूनले बदर हुने हुनालेसमेत शुरुको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्र. वीरबहादुरको अपील ।
७. जाहेरवाला पदमलालले पहिले नचिने पनि हुलियाबाट पक्राउ भएको, वीरबहादुरलाई देखाउँदा पं. दुर्गाप्रसादलाई काटी लखेट्ने यही हो चिने भनेको, लखेट्दा देख्ने चैते माझी र डल्लीले पनि खुकुरी लिई लखेट्दै लाने यै वीरबहादुर भनी देखाएको मानिस हो चिन्यौं भनी किटान गरेकोसमेतबाट देवीप्रसाद र बद्रीनाथलाई सफाई दिने वीरबहादुरलाई दामल गर्ने ठहराई जाहेरी फैसला गरेको इन्साफ शुरुको मनासिव छ ननेचको तामाङ्ग भन्नेको नामै किटान नभएको त्यस्तो नाम किटान नभएको मानिसको हकमा अ.बं. ३२ क.नं. ले नाम किटाई उजुर गरेका वा पत्ता लागेका बखत कारवाई हुने भएकोले मुल्तवी राख्न नपर्ने, इन्स्पेक्टर जगतबहादुरलाई रु. १०। जरिवाना भएको देख्नाले अरु सजायलाई जाहेर गर्न नपर्ने भन्नेसमेत जिल्ला अदालत सप्तरीको ०१९।२।१९।६ को जाहेरी फैसला ।
८. वारदाता जग्गा देखि लगारी देहान्त हुने जग्गा लगभग २८ जग्गा र खोला तर्नुपर्ने असम्भवी कुरा हो । काटी मारी बोकी लगी फाली दिएकोसमेत भनी लेखाउन सकेको छैन । निरपराधीलाई पक्राउ गरी सावित गरायो भन्दैमा जेल जस्तो कठोर यातना दामल काराबास दिलाउनु अन्याय हुँदा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्र.वीरबहादुरको अपील ।
९. पुलिसमा सावित भए पनि अदालतमा इन्कार लिएको भए सो पुलिसको सावितीलाई कुनै शंका लिन पथ्र्यो । अदालतमा पनि आई विलकुल सावित भएको सो सावित गराउने लायक परिबन्द र उजुर भए परेको नदेखिएको यस कसूर होइन रहेछ त्यसै सवित गराएछन भन्न न्यायोचित नभएकोले वीरबहादुरलाई दामल गर्ने ठहराएको इलाका अदालतको सदर गरी सप्तरी जिल्ला अदालतले जाहेर गरेको इन्साफ मुनासिब छ, लालमोहर बक्साई दामलमा हाली दिनु भनी मिसिल इ.अ. उदयपुरमा पठाउन जि.अ.सप्तरीमा पठाई दिने भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।११।१७।६ को फैसला ।
१०. हुलिया मिलेको र जिभ्रो चपाएकोले मौकामा फेला नपरेको पछि निरपराधीलाई आफ्नो मतलब साध्य गराउन सवित गराई बयान गराएको त्यस्तो हुलिया मिल्ने मानिस कती हुन्छन् । पुलिसले कुटेको चोट डाम अजै छँदैछ । निराअपराध काराबासको सजाय भोग्नु नपरोस मुद्दा फुल बेञ्चबाट दोहर्याई पाउँ भन्नेसमेत प्र.वीरबहादुरको श्रीमती मनमाया मगरनीले श्री ५ महाराजाधिराजका हुजरमा चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए एकपटक फुल बेञ्चबाट रुल नियमबमोजिम इन्साफ जाँची निर्णय गरी दिनु भन्ने ०२०।४।१५।३ को बक्स भई आएको हुकुम प्रमांगीको व्यहोरासमेत श्रीमाननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०२०।५।१६।१ को आदेश ।
११. यसमा विपक्षी, वादी पदमलालका नाउँमा जारी भएको म्याद २०२०।१०।१७।६ मा तामेल भएकोमा हाजिर नभएको थुनुवामा रहेका निवेदक वीरबहादुरलाईसमेत झिकाई राखी गत माग १२ गते पेश भई निवेदकतर्फबाट बहस गर्न खटिनु भएका वैतनिक विद्वान प्लीडर इश्वरीलाल झाले गर्नु भएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा,
१२. मर्ने पं. दूर्गाप्रसादलाई निवदेक वीरबहादुरसमेतले कर्तव्य गरे नगरेको के हो भन्नेतर्फ हेर्दा, मौका पुलिसमा र अदालतसमेतमा खुकुरीको हतियार प्रयोग गरी निजसमेतले कर्तव्य गरी मारेको हुँ भनी सावित भएको देखिन्छ । तर, पुलिसले साविती गराएको कुटपीट गरेको चोट डाम छ । निरपराधीलाई सजाय दिइयो भन्ने निवेदकको जिकिर भएको पुलिसमामात्र सावित भएका नदेखिइ लेखिएबमोजिम अदालतसमेतमा आइ कर्तव्य गरेमा सावित भई बयान गरेको देखिएको, अदालतबाट पनि कूटपीट गरी सावित गराए भन्ने जिकिर नभएको कूटपीट गरी सावित गराएको प्रमाण निवेदकले कुनै पेश गर्न नसकेकाले कूटपीट गरी सावित गराएको रहेछ भन्न नमिल्ने । वादी मर्ने दुर्गाप्रसादलाई लखेट्दै जाँदा देख्ने भनेका चैते र डल्लीले पनि बारदातमा भएको मानिस यही हो भनी सनाखतमा गरेको देखिएबाटसमेत निर्दोषी छु भन्ने निवेदकको जिकिर पुग्न सक्तैन । निवेदकसमेतको कर्तव्यबाट दुर्गाप्रसाद मरेको ठहराएको इन्साफ ०१९।११।१७।६ को डिभिजन बेञ्चको मनासिव छ । डिभिजन बेञ्च लगायतबाट सर्वस्व र दामल गर्ने गरेकोमा केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐनले हालका मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. बमोजिम सर्वस्व गरी जन्म कैदमा परिणत हुनेमा निवेदकको मर्ने पं. दुर्गाप्रसादसँग अघि देखिको रिसइवी भए परेको भन्ने नदेखिएको । पुलिसमा गरेको कागजमा पं. दुर्गाप्रसाद भ्याकुलेको घरमा बैशाख महिनामा बसी रहेका रहेछन् म र देवीप्रसादले कुराकानी गर्दा जग्गा उकास गर्न नदिने मनसायको कुराकानी भए गरेकोले भोलिपल्ट देवीप्रसाद, बद्रीनाथ, हामी ३ जनाले जग्गा नपाउने भयो । अब के गरौं भन्ने सल्लाह हुँदा देवीप्रसादले भ्याकुले र पं. दुर्गाप्रसादलाई खतम पारौं भनी सल्लाह गरेको भनी लेखेको पछि अदालतमा सो कुरालाई भूलबाट लेखेको भनी बयान गरेको, बद्रीनाथ देवीप्रसादउपरको पोल नठहरी सफाइ भएको देखिएको अ.बं. १८८ नं. मा ऐनले मृत्युदण्ड सर्वस्व सहित जन्म कैद वा जन्म कैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेका अवस्था विचार गर्दा, कसुरदारलाई ऐनबमोजिमको सजाय दिंदा चर्को हुने भइ घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नुहुन्छ अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाइ तोक्न हुन्छ भन्ने उल्लेख भएको । उपरोक्त कारण र वारदातको अन्य अवस्थाको विचारबाट निवेदकलाई ऐनबमोजिम सर्वस्व गरी जन्म कैदको सजाय दिंदा चर्को हुने देखिएकाले सर्वस्व र जन्म कैद गर्नु पर्दैन । थुनिएको मिति देखि कैद बर्ष १० दश हुने ठहर्छ, तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक उदयपुर इलाका प्र.देवीधाप मौजे खुलाल डांडा बस्ने हाल सदरजेलमा थुनामा रहेको वीरबहादुर मगरको उदयपुर इलाका अदालतका ०१८।६।६ का फैसलाले अंश सर्वस्व र दामल गर्ने गरेकोमा हाल माथि लेखिएबमोजिम कैद बर्ष १० मात्र हुने ठहरेकाले सर्वस्व र दामलको लगत काटी थुनिएका मिति देखि कट्टी हुने गरी कैद बर्ष १० दशको लगत कस्नु भनी का.फै.त. मा लगत दिनु..................१
थुनामा रहेका निवेदकलाई मुद्दा किनारा भएको जनाउ दिई मिसिल नियमबमोजिम बुझाई दिनु ..............२
इति सम्बत् २०२१ साल मार्ग १९ गते रोज शुभम् ।