निर्णय नं. ३१८६ - जालसाजी

निर्णय नं. ३१८६ ने.का.प. २०४४ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. ४०५
मुद्दा : जालसाजी ।
पुनरावेदक/वादी: जि.कपिलवस्तु गा.पं. सिसवा वडा नं. ४ मौजे तेनुई बस्ने भवनाथ मिश्रको मु.स. गर्ने ब्रम्हादेव मिश्र ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने राजेन्द्रप्रसाद मिश्र ।
ऐ.ऐ बस्ने केवला मिश्राइन ।
ऐ.ऐ. बस्ने रामनाथ मिश्र ।
ऐ.कजरहवा गा.पं. वडा नं. ६ मौजे हर्दोना बस्ने दुलहरन मिश्र ।
ऐ.गा.पं. बसन्तपुर वडा नं. ६ मौजे भडेहर माजेर तेनुवा बस्ने मानुल्ला मुसालमान।
फैसला भएको मिति: २०४४।३।२३।३ मा
एकातिर लिखत बदर मुद्दामा तथ्यमा प्रवेश गरी इन्साफ गर्नु पर्नेमा नगरेको र अर्कोतर्फ जालसाजी मुद्दामा जो बुझ्नु पर्ने कुरा बुझी इन्साफ गर्नु पर्नेमा नगरी लिखत बदर मुद्दालाई आधार बनाई जालसाजीमा वादी दावी नपुग्ने ठहर्याएको इन्साफ मिलेको देखिएन ।
(प्रकरण नं. १३)
पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
उल्लेखित मुद्दाःX
फैसला
न्या.हरगोविन्द सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. तेनुई मध्ये मिन्ही डिहमा भएको विपक्षी केवलाको घर र अरु निजको नाउँमा नापी दर्ता भएको जग्गा राजीनामा गर्ने म भवनाथसंग बोलकबोल भएपछि विपक्षी केवलाले विपक्षी राजेन्द्रप्रसाद, रामनाथ मिश्र, दुखहरण मिश्रलाई बोलाई निज विपक्षीहरूले लेखन्दास विपक्षी मानुल्लाह मुसलमानलाई जे गरेको बेहोर्छौ भनी राजेन्द्रप्रसादले रु. १००।– भानुल्लाहलाई दिई धनी राजेन्द्र ऋणी केवला, लेखक अन्तरसाक्षी अन्य विपक्षीहरू बनी कि.नं. २७७, ४७४, ४६३, ६६७ म भवनाथको घर र म समेतको हक लाग्ने साविक कि.नं. ४२१, ४२२, ४२३ समेत मध्येको नम्बरी जग्गा समेत राजीनामा लेखाई लिएको म भवनाथको २ घर र नम्बरी जग्गा समेतमा लिखत बदरतर्फ छुट्टै नालेश गर्ने भएको, मलाई विपक्षी केवलाले राजीनामा गर्ने भनेको निजको घरको मोल रु. ३००।– लाई रु. २,३३३।३३ लेखी लेखाई जालसाजी गरेकोले मिति ०३६।२।२७।१ को राजीनामा लेखतमा थैली अंक बढाई हक नपुग्ने जग्गा राजीनामा समेत गरी जालसाजी गरेको ठहर गरी सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३६।३।३१।१ को भवनाथ मिश्रको फिरादपत्र रहेछ ।
३. मौजे तेनुई मध्ये नम्बरी जग्गा कि.नं. २७०, २७७, ४६३, ४७४, ६४९, ६६७ र फुस घर र घरले चर्चेको आँगन सहन समेत जम्मा रु. १०,४६८ केवलाले बुझी ०३६।२।२७ मा रामनाथ मिश्र समेत साक्षी राखी घरसारमा राजीनामा ०३६।२।२८ मा पारीत समेत गरिदिनु भएको, सद्धे साँचो व्यवहारको भएको, रुद्रको छोराबुहारी केवलाको हक भाग भोगको हाल नापीमा गाउँ ब्लाकमा परेको चर्चेको सहन जग्गा समेत खरीद गरेको हुँ वादीले झुठ्ठा सन्धीसर्पन पर्ने देखाई हकसफा र जालसाजी समेततर्फ गर्नुभएको दावी खारेज हुनुपर्ने हो, सो राजीनामा बमोजिमको थैली र जग्गा धुर समेत सदर कायम राखी हक इन्साफ पाउँ जालसाजी गर्नु पर्ने कुनै कारण अवस्था छैन, हामी सबैजना निर्दोष भएकाले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मिति ०३६।६।२।३ को राजेन्द्रप्रसाद मिश्र समेत जना ३ को प्रतिउत्तरपत्र रहेछ ।
४. राजेन्द्र समेतले लेखन्दास खोजी कागज लेखाई बकसपत्रको कागज भनी सहिछाप गराएको, राजीनामा कागज भनी साक्षी बसी लिएको होइन म बृद्धले जालसाजी गर्न सक्ने स्थिति र अवस्था समेत नहुँदा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मिति ०३६।६।७।१ को रामनाथ मिश्रको प्रतिउत्तरपत्र रहेछ ।
५. राजेन्द्रप्रसाद समेतले लेखन्दास बोलाई लेखिएको कागज बकसपत्र भनी सहिछाप गरी गराई पास समेत गराएको झुक्यान जालमा पारी राजीनामा लेखाइदिएको हो, विपक्षी भवनाथ निजकै घरको एक हिस्साको रुपमा रहेको उक्त मेरो घर कि.नं. २७७, ४६३, ४७४, ६६७ समेतको जग्गाको राजीनामा गर्ने कुरा गरेको नगरी दिएको कारणले फिजुल नालेश दिएका हुन् दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मिति ०३६।६।७।१ को केवला मिश्राइनीको प्रतिउत्तरपत्र रहेछ ।
६. वादी भवनाथ र म गयाप्रसाद सहोदर दाजु भाइ भएको, खानुमानु चल धनमाल अलग अलग गरी जग्गा सगोलमै भोग गरी आएकोमा सर्भे हुँदा आधा मेरो आधा वादीको नाउँमा दर्ता भएको छ, अंश मुद्दा चलिरहेको छ, हक सफामा वादीको नालेश लाग्ने होइन, केवला मिश्राइनीको हकभोग दर्ता तिरोको घर घडेरी जग्गा र अरु कित्ता जग्गा समेत मेरो छोरा राजेन्द्रलाई राजीनामा गरिदिएको सद्धे साँचो हो, जालसाजी गरेको होइन छैन भन्ने समेत व्यहोराको पेटबोलीमा बुझिएका गयाप्रसाद मिश्रले ०३६।९।२३।२ मा गरेको बयान रहेछ ।
७. लिनुदिनु नै नगरी अड्डामा राजीनामा पारीत गर्नु पर्ने कुनै प्रयोजन भएको देखिँदैन, वादीले दावी गरेको घटना भयो भनेको स्थान नै संदिग्ध देखिन आएको छ । थैली नलिई गरिदिएको भन्ने कुरा वादी साक्षीहरूबाट प्रष्ट बकाई भएको नदेखिएको हुँदा वादी दावी पुग्न सक्ने देखिएन । घर जग्गा समेत घुसाई लिखत गरायो भन्ने सम्बन्धमा वादीको छुट्टै दावी परिरहेकोमा सोहीबाट निर्णय हुने हुँदा यसमा निर्णय दिनु पर्ने प्रयोजन देखिन आएन भन्ने समेत व्यहोराको मिति ०३८।९।२९।४ मा कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसला रहेछ ।
८. ऐनको रीत पुगी अड्डाखानाबाट दुवै पक्षलाई सुनाई सम्झाई पास भएको लिखतलाई केवलाको उजूरै नपरेकोले थैली नलिएको भन्ने कानून एवं न्यायसंगत नदेखिने र जालसाजीको दावी प्रमाणित हुन नआएको समेतबाट इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३९।१२।१७।५ मा लुम्बिनी अञ्चल अदालतबाट भएको फैसला रहेछ ।
९. अञ्चल अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा अनुमति प्रदान भएको मिति ०४१।५।२०।४ को प.क्षे.अ.को आदेश ।
१०. एकिन सबुदको अभावमा जालसाजी ठहर गर्न मिलेन, लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।५।६ को फैसला ।
११. साक्षी र कागजी प्रमाणबाट वादी दावी समर्थित भइराखेकोले प्रमाण ऐनको दफा ५४ को पूर्णरुपेण त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी भवनाथ मिश्रको यस अदालतमा परेको निवेदनपत्र ।
१२. वादीले पेश गरेका लिखतहरूलाई प्रमाणमा नलिई एकिन सबुदको अभावमा जालसाजी ठहर गर्न मिलेन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रत्यक्षतः त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्जको मिति ०४२।६।२७ को आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले गर्नुभएको बहस समेत सुनियो । यस्मा विपक्षीहरूले मेरो समेत घर जग्गा घुसाई राजीनामा लिनु दिनु गरेको तथा वास्तविक मोल रु. ३००।– भएकोमा थैली बढाई रु. २,३३३।३३ कायम गरी लिनु दिनु गरी जालसाजी गरेको भन्ने वादी दावी भएकोमा सोही घर जग्गाको सम्बन्धमा यिनै वादीले यिनै प्रतिवादी उपर छुट्टै लिखत बदर मुद्दा दिएको हुँदा सोही मुद्दाबाट निर्णय हुने हुँदा जालसाजी नहुने भन्ने शुरु जि.अ.को फैसला नै लुम्बिनी अञ्चल अदालत र पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतबाट सदर भएको रहेछ । लिखत बदर मुद्दाबाट वादी दावी बमोजिम घर जग्गा घुसाएको हो होइन भन्नेतर्फ निर्णय नभई वादी दावी नै खारेज गर्ने गरी गरेको शुरु जि.अ.ले गरेको इन्साफ नै अञ्चल अदालत र क्षेत्रीय अदालत समेतबाट सदर भएको रहेछ । यसरी एकातिर लिखत बदर मुद्दामा तथ्यमा प्रवेश गरी इन्साफ गर्नु पर्नेमा नगरेको र अर्कोतर्फ जालसाजी मुद्दामा जो बुझ्नु पर्ने कुरा बुझी इन्साफ गर्नु पर्नेमा नगरी लिखत बदर मुद्दालाई आधार बनाई जालसाजीमा वादी दावी नपुग्ने ठहर्याएको इन्साफ पनि मिलेको देखिएन । यसरी माथि उल्लिखित लिखत बदर मुद्दामा शुरु अञ्चल र प.क्षे.अ.को फैसला मिलेको नदेखिई उक्त सबै इन्साफ बदर गरी पुनः कानून बमोजिम निर्णयको लागि मिसिल लुम्बिनी अञ्चल अदालतमा पठाई दिने गरी आज यसै बेञ्चबाट निर्णय भएको र सोही लिखत बदर मुद्दामा आधार मानी प्रस्तुत जालसाजी मुद्दामा निर्णय गरिएको हुँदा यस मुद्दाका शुरु कपिलवस्तु जिल्ला अदालत लुम्बिनी अञ्चल अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतको निर्णयहरू मिलेको नहुँदा उक्त सबै निर्णयहरू बदर हुने ठहर्छ। वादी प्रतिवादी दुवै पक्षलाई तारेख तोकी पुनः निर्णयार्थ मिसिल लुम्बिनी अञ्चल अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमति छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४४ साल असार २३ गते रोज ३ शुभम् ।