निर्णय नं. ३१८७ - राजीनामा बदर

निर्णय नं. ३१८७ ने.का.प. २०४४ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ५०१
मुद्दा : राजीनामा बदर ।
पुनरावेदक/वादी: जि.कपिलवस्तु गा.पं. सिसवा वडा नं. ४ मौजे तनुई बस्ने भवनाथ मिश्र ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने केवला मिश्राइन ।
ऐ.ऐ बस्ने राजेन्द्र प्रसाद मिश्र ।
फैसला भएको मिति: २०४४।३।२३।३ मा
लिखत बदर मुद्दामा हक कायमको दावी लिई कोर्ट फी राख्नु पर्ने बाध्यता कुनै कानूनमा उल्लेख भएको नहुँदा प्रस्तुत बुँदा कानूनतः छ भन्न मिल्ने देखिएन, त्यसमा पनि मुद्दाको कारवाहीको क्रममा अदालतले यदी आवश्यक ठान्दछ भने अ.बं. १३३ नं. बमोजिम बयान गराई थप कोर्ट फी मागी मद्दाको कारवाही किनारा गर्न मिल्ने नै हुँदा हक कायमतर्फ कोर्ट फी नराखेको भनी मुद्दा नै खारेज गर्ने गरी गरेको इन्साफ र सोही इन्साफलाई सदर कायम गरेको फैसला मिलेको नदेखिँदा यी सबै निर्णयहरू बदर हुने ।
(प्रकरण नं. ११)
पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
उल्लेखित मुद्दाःX
फैसला
न्या.हरगोविन्द सिंह प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. १९९८ सालको नापीमा मौजे तेनुई मध्ये महावीर महादेव रुद्रको नाउँमा कि.नं. ४२१,४२२ कि.नं. ४२३ जग्गा समेतको सिर जिरायत विगहा १०।।।२।१ दर्ता भएको दर्तावालाको मृत्यु पछि तीन खण्डको एक खण्ड रुद्र मिश्रको छोरा विश्वनाथको तीन खण्डको एक खण्ड महावीरको नाती परमात्माको तीन खण्डको एक खण्डमा आधा महादेवको भाइ अयोध्याको तीन खण्डको एक खण्ड आधीको आधी महादेवको छोरा भवनाथको तीन खण्डको आधीको आधी अर्को छोरा गयाप्रसादको नाउँमा दर्ता भई जग्गा छुट्याई भोग गरिआएको ०२८ सालमा गाउँ ब्लकमा परी नापी दर्ता नभए पनि उक्त तीनै हरेक कित्तामा ३ खण्डको १ खण्डको वादी म परमात्मा र ३ खण्डको १ खण्डको आधी अयोध्याको अंश व्यहोर्ने म रामराज मिश्रले भोगचलन गरिआएको हाल विपक्षी केवलाको घरको पूर्व समेत किल्लाभित्र कायम भएको हो विपक्षी केवलालले आफू बसोवास गरिराखेको घर विपक्षीलाई बिक्री गर्दा घर कुप तथा हरिवंशको घर पूर्व समेत किल्ला भित्र बनेको फुसको घर आँगन समेत भनी हामी समेतका नम्बरी जग्गा मिसाई राजीनामा गरेको उक्त नम्बरी जग्गा मध्ये गाउँ किल्लामा परेको पूर्व पश्चिम ७४ हात उत्तर दक्षिण ३२ हात समेत घुसाई राजीनामा गरी लिएदिएको जग्गा हो हकमा समेत राजीनामा लिखत ३ खण्डको १ खण्ड म परमात्माको र ३ खण्डको १ खण्डका आधा म रामराजको हकमा बदर गरिपाउँ भन्ने समेत व्यहोराको परमात्मा र रामराज मिश्रको ०३८।१।१६।३ मा परेको संयुक्त फिरादपत्र रहेछ ।
३. केवलाको हकभोगको मौजे तेनुई मध्ये नम्बरी कि.नं. २७०, २७७, ४६३, ४७४, ६४९, ६६७ र घर कुपत हरिवंश कहारको घर पूर्व समेत किल्ला भित्र बनेका फुसको घर र घरले चर्चेको कागजहिन जग्गा समेतको जम्मा मोल रु. १०,४६८।– केवलाले लिई ०३६।२।२८ मा रजिष्ट्रेशन पारीत समेत गरिदिनु भएको हुन् साविक कि.नं. ४२१, ४२२ र ४२३ को जग्गा १९८८ सालको नापीमा महावीर महादेव रुद्र समेतको नाउँमा नापी दर्ता भएकोमा पछि दामासाही बमोजिम छुट्याई रुद्र मिश्रको छोरा बुहारी केवलाको हकभोग भएका हामी नापीमा गाउँ व्लकमा परेको सहन जग्गा समेत खरीद गरेको हुन् राजीनामा सदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद मिश्रको ०३८।७।२।१ मा परेको प्रतिउत्तरपत्र रहेछ ।
४. कोर्ट फी ऐन अनुसार हक कायमतर्फ कुनै कोर्ट फी राखेको देखिन नआएको हुँदा समेत हक बेहक सम्बन्धमा दावी लिई राख्नु पर्ने कोर्ट फी नराखेको हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतबाट ०३८।९।२९।४ मा भएको फैसला रहेछ ।
५. यसैसाथ पेश हुन आएको जालसाजी मुद्दामा पनि शुरुको इन्साफ मनासिब ठहरी निर्णय भएको पास भएको लिखतमा लेखिएको जग्गा मध्ये कहाँ कुन तर्फबाट पुनरावेदकको हकभोगको हो र कहाँ कुन तर्फबाट जग्गाको लिखत बदर हुनुपर्ने हो सो स्पष्ट रुपमा दावी पनि नभएकोले इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको लुम्विनी अञ्चल अदालतबाट ०३९।१२।१७।५ मा भएको फैसला रहेछ ।
६. लुम्विनी अञ्चल अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा अनुमति प्रदान भएको भन्ने मिति ०४१।५।२०।४ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
७. अञ्चल अदालतको इन्साफमा कुनै कानूनी त्रुटि भएको नदेखिँदा इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।५।६ को फैसला ।
८. सबुद प्रमाणको मूल्यांकन नभई प्रमाण ऐनको दफा ५४ को उल्लंघन गरी फैसला भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी भवनाथ मिश्रको यस अदालतमा परेको निवेदनपत्र ।
९. जालसाजी र हकसफा मुद्दामा पुनरावेदनको अनुमति दिने आदेश भएको र सोही मुद्दाहरूको निर्णयको आधारमा प्रस्तुत मुद्दाको निर्णय भएको देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्जको मिति ०४२।६।२७ को आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी तथा विपक्षी वादी राजेन्द्रप्रसाद तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले गर्नु भएको बहस समेत सुनियो ।
११. यसमा विपक्षी केवलाले आफ्नो घर विपक्षीलाई बिक्री गर्दा हामीहरूको हकभोगको घर कुप, फुसको घर समेत किल्ला भित्र घुसाई राजीनामा गरेको हुँदा हाम्रो हकभोगको राजीनामा लिखतको ३ खण्डको एक खण्ड म परमात्माको र ३ खण्डको एक खण्डको आधा म राजराजको हकमा बदर गरिपाउँ भन्ने वादी दावी भएकोमा कोर्ट फी ऐन अनुसार हक कायम तर्फ कुनै कोर्ट फी राखेको नदेखिएको हुँदा खारेज हुने भनी शुरु कपिलवस्तु जि.अ.को फैसला भएकोमा सोही निर्णय लुम्बिनी अञ्चल अदालत तथा प.क्षे.अ.बाट समेत सदर कायम भएको देखिन्छ । तर लिखत बदर मुद्दामा हक कायमको दावी लिई कोर्ट फी राख्नु पर्ने बाध्यता कुनै कानूनमा उल्लेख भएको नहुँदा प्रस्तुत बुँदा कानूनतः छ भन्न मिल्ने देखिएन । त्यसमा पनि मुद्दाको कारवाहीको क्रममा अदालतले यदि आवश्यक ठान्दछ भने अ.बं. १३३ नं. बमोजिम बयान गराई थप कोर्ट फी मागी मुद्दाको कारवाही किनारा गर्न मिल्ने नै हुँदा हक कायमतर्फ कोर्ट फी नराखेको भनी मुद्दा नै खारेज गर्ने गरी गरेको शुरु कपिलवस्तु जि.अ.को इन्साफ र सोही इन्साफलाई सदर कायम गरेको लुम्बिनी अञ्चल अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा यी सबै निर्णयहरू बदर हुने ठहर्छ । अतः पुनः कानून बमोजिम इन्साफ गर्नु भनी पक्ष विपक्षीलाई तारेख तोकी मिसिल लुम्बिनी अञ्चल अदालतमा पठाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४४ साल आषाढ २३ गते रोज ३ शुभम् ।