शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१९२ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: मंसिर अंक:

निर्णय नं. ३१९२     ने.का.प. २०४४      अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं ३८९

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: कृपारामको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: जि.भोजपुर ठूलो दुम्मा गा.पं. वडा नं ४ बस्ने रत्न बहादुर राई ।

            जि.सुनसरी धरान न.पं.वडा नं. ८ भोटेपुल बस्ने क्षमा राइनी।

फैसला भएको मिति: २०४४।५।१।२ मा

     केवल अफूलाई हेरी हाँसेकै कारणबाट भनाभन भई कुटपिट हुन जाँदा त्यस किसिमको वारदात घटेकोले र लाठी प्रहार गरेको कुरामा प्र.क्षेमा राई अधिकार प्राप्त अधिकारी समक्ष सावित भई कुनै जोखमी हतियार प्रयोग भएको पनि देखिन आएन अतः यस्तो अवस्थामा आफूलाई हेरी हाँसेको कारणबाट उठेको रीस थाम्न नसकी भएको कुटपिटबाट मृतकको मृत्यु भएको हुँदा ज्या.सं.को १४ नं. को कसूर गरेको देखिएकोले ज्या.सं.को १३(३) अनुसार सजायँ गर्ने ठहर्‍याएको शुरुको इन्साफ उल्टी गरी ज्या.सं.को १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने ।

(प्रकरण नं. १९)

पुनरावेदक, वादीतर्फबाट: विद्वान सहायक न्यायाधिवक्ता श्री रघुनाथ अर्याल

प्रत्यर्थी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.रुद्र बहादुर सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।८।१८ को फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी निणयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    ठूलो दुम्मा बस्ने बमबहादुर राई र मानबहादुर लिम्बू समेतको अधिकृतबाट वृटिशतर्फ भर्ना गर्न ०३७ साल चैत्र २५ गते ठूलो दुम्मा आउनु भएको रहेछ सोही दिन जि. सुनसरी ध.न.पं. वार्ड नं. ८ भोटे पुल बस्ने क्षेमा राइनी पनि आउनु भएको रहेछ । ऐ.चैत्र २८ गते १६.०० बजे भर्ना हुने भो.जि. खावा गा.पं खाल बस्ने रमेश राई समेतका केटाहरु हजार सिंहको बारीमा बसी भर्ना हुने केटाहरुलाई फिजिकल दौड गराएको हेरी हाँसी रहेको अवस्था देखी भोजपुरे गुण्डा हो मलाई हेरी किन हाँसेको हो एकछिन पछि थाहा पाउलास् भनी गएको २।३ मिनेटपछि १२।१४ जना केटाहरु ल्याई भोजपुरे केटाहरु उपर लाठी ढुंगा प्रहार गरी भो.जि. अन्नपूर्ण गा.पं. वार्ड नं १ भेसाङ बस्ने कृपाराम राइको छोरा किरेन्द्रराज राईलाई कर्तव्य गरी मारेको बुझिएकोले प्रतिवेदन गरेको छु । कानून बमोजिम होस् भन्ने प्र.ह. मैनबहादुरको प्रतिवेदन।

३.    ठूलो दुम्मा बस्ने बमबहादुर राईले वृटिश आर्मीको लागि गल्ला भर्ना गर्छ भन्ने थाहा पाई मेरा छोरा किरेन्द्रराज राई पनि भर्नामा जान सिकतेल खावा गा.पं. वार्ड नं. ६ बस्ने गोपाल राई समेतका साथीहरुसंग गल्लावालका घरमा भर्ना हुन गएका रहेछन् । मुख्य क्षेमा राइनीले मलाई हेरी हाँस्यो भन्ने निउ झिकी धरानबाट लिई आएका केटाहरुलाई भोजपुरे केटाहरु उपर लाठी ढुंगा प्रहार गरी मेरो छोरा किरेन्द्रराज राईलाई कुटी मारेका छन् भन्ने खबर थाहा पाई जाहेर गर्न आएको छु भन्ने कृपाराम राईको जाहेरी दर्खास्त ।

४.    ०३७।१२।२५ गते ठूलो दुम्मा मेरो माइति घर भाइ रत्नबहादुरको घरमा आइपुगी ऐ.२८ गते भर्ना हुने केटाहरुको स्वास्थ्य परिक्षण फिजिकल दौड हुँदै रहेको अवस्था दाजु बमबहादुर राईले तिमीसंग आएका केटाहरुलाई ल्याउनु भन्नु भएकोले सो केटाहरुलाई बोलाउन भनी गइरहेको अवस्था मैले नचिनेका भोजपुरे केटाहरु मलाई हेरी हाँसेको हुँदा किन हाँसेको चितुवा हो भनी गाली गरेको कारणबाट झगडाको सृजना भई मेरा साथमा आएका केटाहरुले माटाको डल्ला ढुंगा समेत प्रहार गर्दा जाहेरवालाको छोरा किरेन्द्रराज राईलाई लागी मर्न गएछ । घटनाको सृजना खास म बाटै भएको हुँदा मर्ने किरेन्द्रराज राईलाई मसंग आएको केटाहरुले मारेको हो भन्ने समेत व्यहोराको क्षेमा राईनीको प्रहरीमा गरेको कागज ।

५.    ०३७ साल चैत्र २८ गते मेरा दाजु बमबहादुर राइले गल्ला भर्ना नाँप जाँच फिजिकल दौड गर्ने ठाउँमा गएको थिएँ । अचानक बेलुका ४ बजेको समयमा फिजिकल दौड क्याम्प भन्दा अं. ५० गज फरक काभ्राको रुखनिर झगडा भयो । सो ठाउँमा मेरो दिदी क्षेमा राईनीलाई पनि देखें । दिदीका साथमा आएका केटाहरुले भोजपुरका केटाहरुलाई दक्षिण पश्चिमतर्फ लखेट्दै गरेको देखें । घटना भएको ठाउँमा गइँन । घटनाको श्रृजना गर्ने मेरी दिदी क्षेमा राइनी हुँदा निजको साथमा आएका धराने केटाहरुले जाहेरवालाका छोरा किरेन्द्रराजलाई कर्तव्य गरी मारेको हो । यो जाहेरीमा लेखी पक्राउ परेकी क्षेमा राइनी मेरी सहोदर दिदी हुँदा जाहेरवालाले मलाई समेत पोल गरेको हो, यो अपराधमा निर्दोषी छु भन्ने रत्नबहादुर राइले प्रहरीमा गरेको कागज ।

६.    ०३७।१२।२८ गते भर्ना हुने केटाहरुलाई फिजिकल दौड स्वास्थ्य परिक्षण गराउँदै रहेका अवस्था अं. बेलुका ४ बजेको समय फिजिकल दौड क्याम्प भन्दा अं. ५० गज फरक काभ्राको रुखनिर झगडा भएको देखें ।  केहीबेर पछि ४।५ केटाहरुले गोपाल राइलाई कुटे । १०।११ जना धराने केटाहरु क्षेमा राइनी समेतले भोजपुरे केटाहरुलाई लखेटी जाहेरवालाको छोरा किरेन्द्रराज राइलाई मारेछन् । गोपाल राइलाई गल्लावाला बमबहादुर राइले छुट्याई आफ्नो घरतर्फ ल्याए । मर्ने किरेन्द्रराजलाई यसैको चोटबाट मरेको हो भन्न नसकिए तापनि घटनाको श्रृजना क्षेमा राइनीबाट भएको हुँदा मर्ने किरेन्द्रराज राइलाई जाहेरीमा लेखिएकै व्यक्तिहरुकै कर्तव्यबाट मारेको हो भनी वर्तबहादुर समेतको सरजमीनका मानिसले गरिदिएको सरजमीन मुचुल्का ।

७.    ०३७।२१।२८ गते स्वास्थ्य परिक्षण फिजिकल दौडिने ठाउँदेखि केही पूर्व अं. ५० गज फरक काभ्राको रुख मुनी आई हेर्दा कसैको खुट्टा छोटो कसैको हात बांगो देखी आफू आफू कुरा गर्दै हाँसिरहेको अवस्था क्षेमा राइनी सोही काभ्राको रुख हुँदै पूर्वतर्फ लागिरहेको अवस्था केटाहरु हाँसेको देखी भोजपुरे गुण्डा हो मलाई देखी किन हाँसेको, तिमीहरुको मुखबाट रगत छदाउन जानेको छु, पख भनी पूर्वतर्फ लागी क्षेमा राइनीले धरानबाट लिई आएका केटाहरु राजु राई, रामकुमार तामांग, लक्षुमनी तामांग, राजु राई, अर्जुन भुर्तेल समेतका केटाहरु ल्याई कुटपिट गरी हामी भोजपुरे केटाहरु भागेका अवस्था क्षेमा राइनी र निजका साथमा आएका केटाहरु समेतले लाठा ढुँगा प्रहार गर्दै लगेका अवस्था किरेन्द्रराजलाई मारेको हो मलाई समेत कुट्दा बमबहादुरले छुट्याई दिएको र घटनाको श्रृजना क्षेमाको कारणबाट भएको हो भन्ने समेत व्यहोराको गोपाल राई, रमेश राई, सुरेन्द्र वर्देवा, दिपक श्रेष्ठ, भिमचन्द्र राई, विष्णुराज राई, माधव श्रेष्ठ, ऋषिराज राई, रत्नध्वज राई समेतले प्रहरीमा गरेको कागज ।

८.    प्रतिवादी क्षेमा राइनीबाट घटनाको श्रृजना भई जाहेरीमा उल्लिखित व्यक्तिहरुले नै कर्तव्य गरी मारेको भन्ने देखिन आउँदा मु.ऐन ज्यानसम्बन्धीको महल १ नं. विपरीत कसूर गरेमा राजु राई, विनोद भन्ने बेनुराई रामकुमार तामांग, लक्ष्मण तामांग, माधव राई, किश्वरप्रसाद राई, टंकप्रसाद राई, कृष्ण तामांग, राजन राई अर्जुन भुजेल, डल्ले भुजेल, सेरे भन्ने चोरे राई, रामकुमार राई समेतका १३ जनाले ऐ.मु. ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय दफा ३ बमोजिम कारवाही हुन र शुरुको झगडाको कारण रमेश राइको साथीहरु समेत भई क्षेमा राइनीले धरानबाट ल्याएका केटाहरु बोलाई ल्याई कुटपिट भएपछि गोपाल राइ समेत पछिबाट आउँदा सो घटना अरु चर्कन गएको हुँदा यसरी केटाहरुलाई झगडा गराउनमा मुख्य क्षेमा राइनी भई किरेन्द्रराज राईलाई मार्न संयोग पारिदिएको स्पष्ट हुन आएको हुँदा ऐन ऐनको १७ नं. को देहाय २ बमोजिम क्षेमा राइनीलाई कारवाही हुन र रत्नबहादुर इन्कार भए तापनि क्षेमाको सहोदर भाइ हुँदा निज घटनास्थलमा थिएनन् भनी भन्न नहुने हुँदा निजलाई ऐ.ऐनको देहायको ३ बमोजिम हुन अभियुक्त क्षेमा राइनी, रत्नबहादुर र संकलित कागज प्रमाण यसै प्रतिवेदन साथ पेश गरेका छौं भन्ने समेत प्रहरी प्रतिवेदन ।

९.    प्र.मध्ये क्षेमा राइनीले ज्यान मार्न संजोग गरिदिएको कुरा समर्थित हुन आएको देखिएको भनी ऐ.ऐनको १७ नं. को देहायको २ लगाएकोमा सहमत हुन नसकिने हुँदा निजको कारणबाट किरेन्द्र राई मरेको देखिएको हुँदा ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम हुन प्रस्तुत मानिस मिसिल समेत प्रस्तुत गरेका छौं भन्ने स.स.अ.को छुट्टै माग प्रतिवेदन ।

१०.    ०३७।१२।२८ गते झगडा मैले देखेको हुँ झगडा हुनुको कारण मेरी दिदी क्षेमालाई हेरी भोजपुरे केटाहरु हाँसेछन् । दिदी क्षेमाले केटाहरुलाई गाली गरेको सुनेको हुँ, देखेको होइन र धराने केटाहरुलाई भोजपुरे केटाहरु भएको ठाउँमा ल्याएको कुरा सुनेको हुँ मृतक किरेन्द्रराजलाई कसले हिर्काए, हुल हुँदा छुट्याउन सक्दिन, मैले कुटपिट गरी मारेको होइन भन्ने समेत व्यहोराको रत्नबहादुर राइले अदालतमा गरेको बयान ।

११.    ०३७।१२।२८ का दिन अन्दाजी ४।५ बजे भोटे पुल बस्ने राजु राई, चोरे राई, बेनु राई, राम  तमांग, लक्ष्मण तमांग, राजेन्द्र राई, माधव राई, अर्जुन भुजेल र म मेरा माइति समेत त्यहिँ भएको र मलाई भर्ति जाने गल्लावाल त्यहाँ आएको हुँदा भोजपुरबाट गल्ला जाने केटाको बीच डिवस नम्बर विषय लिई झगडा सम्म भएको देखेको हुँ । मैले किरेन्द्रराजलाई कर्तव्य गरी मारेको र मेरो मुख हेरी हाँसेकोमा गाली गरेको समेत होइन । सरजमीनका मानिसहरुले समेत मलाई किन पोल गरे खुलाउन सक्दिन भन्ने समेत व्यहोराको क्षेमा राइनीले अदालतमा गरेको बयान ।

१२.   प्र.राजकुमार खड्काका नाउँको वारेण्ट सहितको म्यादी पुर्जी ०३८।२।२२।५ मा, प्र.यादव राइका नाउँमा जारी भएको वारेण्ट सहितको म्यादि पुर्जी ०३८।३।२३।३ मा, र प्र.अर्जुन भुजेल, प्र.कृष्ण तमांग, प्र.राजन राई, प्र.राजु राई, प्र.विनोद राई, प्र.किश्वरप्रसाद राई, प्र.टंकप्रसाद राई, लक्ष्मण तमांग, प्र. दले भुजेल, प्र.रत्नकुमार तमांग, प्र. चोरे राई, प्र. राजु राई समेत फेरारीका हकमा अ.बं. १९० नं बमोजिम मुलतवी राखिदिने । बुझिएसम्मको प्रमाणबाट प्र. क्षेमा राइनीलाई ज्या.सं.को १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने र रत्नबहादुर उपर ज्यान मार्न सरिक थिए भनी लेखाउन नसकेकोले सफाई पाउने ठहर्छ भन्ने समेत २०४०।९।२८।४ मा भोजपुर जिल्ला अदालतबाट भएको फैसला ।

१३.   प्र.रत्नबहादुरलाई सफाई दिएको उक्त इन्साफमा चित्त बुझेन, शुरुको फैसला बदर गरी दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१४.   प्र.क्षेमा राइनीलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको फैसला नमिली फरक पर्ने देखिएकोले श्री ५ को सरकारलाई सूचना दिनु भन्ने आदेश भएको रहेछ ।

१५.   प्र.क्षेमा राइनीले ज्या.सं. को १४ नं. को कसूर गरेको देखिन आएकोले ज्या.सं. को १३(३) अनुसार कैद गर्ने गरेको भोजपुर जि.अ.को सो हदसम्मको इन्साफ बदर भई उल्टी हुन्छ । प्र.राम बहादुरको हकमा ज्या.सं.को १४ नं. को विद्यमान रही वारदात घटेको देखिन आएको यस स्थितिमा निजले ज्या.सं.को १७(३) अनुसारको कसूर गरेको देखिन नआएको र मार्ने कुरामा अरु किसिमसंग मत सल्लाहमा पसेको समेत देखिन नआएको हुनाले निजलाई सफाई दिने ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ।

१६.    पू.क्षे.अ.को उक्त इन्साफमा चित्त बुझेन, शुरु माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र रहेछ ।

१७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट बहसमा खटिई आउनु भएका विद्वान सहायक न्यायाधिवक्ता श्री रघुनाथ अर्यालले आफ्नो पुनरावेदन जिकिरलाई समर्थन गर्दै गर्नुभएको बहस समेत सुनियो ।

१८.   विद्वान सहायक न्यायाधिवक्ताले प्रस्तुत गर्नुभएको बहस समेतलाई विचार गरी इन्साफतर्फ विचार गर्दा प्र.क्षेमा राइनीलाई ज्या.सं. को १४ नं. बमोजिम १० वर्ष र प्र.रत्नबहादुरलाई सफाई दिने ठहर्‍याई भएको पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१९.    प्र.क्षेमा राइनीको हकमा विचार गर्दा नचिनेका केटाहरु १६, १७ जना काभ्रोको रुखमा सितल तापी बसेका र रामु राई समेत ३ जनालाई लिन जाँदा नचिनेका केटाहरुले काभ्रोको रुखमा बसी अँगालो पारी मलाई हेरे, मलाई के देखेर हाँसेको चुतिया हो भनँे सो भन्दा ती मानिसहरु मध्ये एकजनाले मलाई कुट्न लाग्दा मैले पनि धरानबाट ल्याएको केटालाई बोलाई ल्याएँ, सबै आवेशमा आई लाठा, ढुँगा गर्न लागे । लाठीले मैले पनि प्रहार गरें भनी अधिकार प्राप्त अधिकारी समक्ष  सावित भई कागज गरेको र निजको घा केश फारामबाट आँखा मुनी गालामा ठाउँठाउँमा घा खतहरु भएको भन्ने देखिन आएकोबाट निजको सो सावित समर्थित भई पुष्ट्याँई भएकोले प्र.क्षेमा राई समेत वारदातमा सहभागी भई कुटपिटमा भाग लिएको भन्ने देखिन आएको छ । यसरी वारदात घटनास्थलमा निजको उपस्थिति र संलग्नता भएको भन्ने देखिन आएपछि अब प्र.क्षेमा राइबाट दावी अनुसारको अपराधिक कार्य भएको हो होइन वा कुन किसिमको कसूर निजले गरेकी हुन् भनी त्यसतर्फ हेर्दा निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीबाट वारदात घटनामा निज समेतको संलग्नता भएको कुरा स्पष्ट नै छ । वारदातको रुप र अवस्थालाई हेर्ने हो भने आफूलाई देखेर केटाहरुको जमात हाँसेपछि भनाभन भई त्यही जरियाबाट वारदात घटना घट्न गएको र वारदात घटनाबाट पीडित पक्ष अर्थात् मृतकसंग प्र.क्षेमा राइनीको जान पहिचान नै नभएको अवस्था हुँदा मृतकलाई मार्ने मनसायबाट प्रेरित भई वारदात घटना घटेको हो भन्न सकिने अवस्था देखिँदैन । केवल आफूलाई हेरी हाँसेकै कारणबाट भनाभन भई कुटपिट हुन जाँदा त्यस किसिको वारदात घटेकोले र लाठी प्रहार गरेको कुरामा प्र.क्षेमा राई अधिकार प्राप्त अधिकारी समक्ष सावित भई कुनै जोखिमी हतियार प्रयोग भएको पनि देखिन आएन । अतः यस्तो अवस्थामा आफूलाई हेरी हाँसेको कारणबाट उठेको रीस थाम्न नसकी भएको कुटपिटबाट मृतकको मृत्यु भएको हुँदा निज प्र.क्षेमा राइनीले ज्या.सं.को १४ नं. को कसूर गरेको देखिएकोले निजको हकमा ज्या.सं.को १३(३) अनुसार सजायँ गर्ने ठहर्‍याएको शुरुको इन्साफ उल्टी गरी ज्या.सं. को १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिन आयो ।

२०.   प्रतिवादी रत्नबहादुरको हकमा विचार गर्दा निजले मर्ने मृतकलाई हात छोडी पिटेको समेत मिसिलबाट नदेखिने र प्र.मध्ये क्षेमा राइनीको हकमा ज्या.सं.को १४ नं. बमोजिम कसूर कायम हुने ठहर भएपछि यस्तो अवस्थामा निजले १७(३) को कसूर गरे भनी भन्न मिल्ने अवस्था समेत नभएकोले निजलाई सफाई दिने ठहर्‍याई गरेको शुरुको इन्साफ मनासिब ठहर्‍याई भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४४ साल भाद्र १ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु