निर्णय नं. ८८६९ - अंश चलन

ने.का.प. २०६९, अङ्क ८
निर्णय नं. ८८६९
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं. २०६८–DF–०००५
फैसला मितिः २०६९।४।११।५
मुद्दा :– अंश चलन ।
पुनरावेदक वादीः काठमाडौं जिल्ला, साङ्गला गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २९, सामाखुशी वस्ने चिरागमान सिँह कुँवर
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २९ घर भई हाल ऐ.ऐ. वडा नं. १६, बालाजु वस्ने ज्ञानु कुँवर
शुरु फैसला गर्नेः
मा.न्या.श्री रामकृष्ण खनाल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री हरिवंश त्रिपाठी
मा.न्या.श्री मीरा खड्का
संयुक्त इजलासमा रायवाझी :–
मा.न्या.श्री रामकुमार प्रसाद शाह
मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की
§ वकसपत्रको लिखतमा दाताले उल्लेख गरेको व्यहोरालाई अन्यथा प्रमाणित नभएसम्म स्वाभाविक हो भन्ने कुरा अदालतले अनुमान गर्नुपर्ने ।
(प्रकरण नं.५)
§ अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले नजिकको हकदार, इष्टमित्र वा माइती मावलीपट्टिका व्यक्तिलाई मात्र सीमित नगरी उल्लिखित व्यक्ति वाहेक जोसुकै व्यक्तिलाई पनि जनाउने देखिन्छ । यसरी अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले जो कोही समेत सम्झन मिल्ने हुँदा उक्त १८ नं. मा भएको व्यवस्थालाई संकुचित व्याख्या गर्नु न्यायोचित् नदेखिने ।
(प्रकरण नं.६)
§ लिखतको व्यहोराबाटै लिखतबमोजिम पाउने व्यक्तिले निजी तवरबाट प्राप्त गरेको भन्ने देखिन आएको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो व्यहोरालाई असत्य मानी थैली हालेर नै खरीद गरेको भनी अनुमान गर्नु कानूनसंगत एवं न्यायोचित् नदेखिने ।
(प्रकरण नं.७)
पुनरावेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू जयनारायण पौडेल, सरीता शर्मा, राजेश्वर अधिकारी र वोर्णबहादुर कार्की
विपक्षीको तर्फबाटः विद्वान अधिवक्ता विश्वप्रकाश सिग्देल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ प्रमाण ऐन २०३१ को दफा २८
§ मुलुकी ऐन अंशबण्डाको १८ नं.
§ स्त्री अंशधनको महलको ५ नं.
फैसला
प्र.न्या.खिलराज रेग्मीः यस अदालतको संयुक्त इजलासवाट मिति २०६८।३।२९ मा रायवाझी फैसला भई सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :–
ज्ञानु कुँवरसँग आज भन्दा २५, २६ वर्ष अगाडि विवाह भई हामीबाट १ छोरा अनुराग कुँवरको जन्म भै निजलाई अध्ययनको सिलसिलामा विदेश सिँगापुर पठाएको, यसरी घर व्यवहार गरी आएकोमा विपक्षी श्रीमतीका नाउँमा घर जग्गा भएकोमा मसँग रिसाई घर छोडी माईतीमा गएकाले आफ्नो अंश समेत हरण हुन गएकाले यो अंश मुद्दा गर्न बाध्य भै प्रस्तुत नालेस गर्न आएको छु । सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग अंशपाऊँ भन्ने मिति २०६३।५।२८ को चीरागमान कुँवरको फिराद दावी ।
मेरो नाउँमा रहेको कि.नं. ३५६ र ३५७ को घर जग्गा मेरो एकलौटी हक भोगको हो । सो जग्गाहरू मैले कसैबाट बकस पाएकाले अरुको अंश हक नलाग्ने सम्पत्ति भएकाले हाम्रो छोरा अनुराग कुँवरलाई शेषपछि बकसपत्र गरी दिएको छु अंश दिन पर्ने होइन भन्ने समेत व्यहोराको ज्ञानु कुँवरको प्रतिउत्तर पत्र ।
यसमा वादी प्रतिवादीबीच नातामा विवाद नदेखिएको र एक आपसमा अंशबापत चल अचल सम्पत्ति लिए दिएको नदेखिँदा अंश हक छुट्टयाई लिन पाउने नै देखियो । के कुन सम्पत्तिबाट अंश पाउने हो भनी हेर्दा कि.नं. ३५६ हाल कि.नं. ८७ को ०–४–० जग्गा र त्यसमा बनेको घर र कि.नं. ३५७ हाल कि.नं. ८६ को ०–४–० जग्गा प्रतिवादीले निजी आर्जन भनेकोमा हाल कि.नं. ८७ को जग्गा श्याम डंगोलबाट हालैको बकसपत्रबाट प्राप्त गरेको र प्रतिवादी जागीरे देखिँदा तलब समेतको रकम खर्च गरी घर निर्माण गरेको वादीले घर निर्माण गर्न यति खर्च गरेको भन्न नसकेकोले सो घर जग्गा बाहेकका तायदातीमा उल्लिखित सम्पत्तिबाट छोरा अनुराग कुँवरको विबाह खर्च परसारी ३ भागको १ भाग वादीले प्रतिवादीबाट अंश छुट्टयाई लिन पाई चलन समेत पाउने ठहर्छ भन्ने समेत काठमाडौँ जिल्ला अदालतको २०६४।९।१२ को फैसला ।
मलाई आंशिक हराई गरेको शुरुको फैसलामा चित्त बुझेन । श्रीमान श्रीमती जो सुकैको नाउँमा जुनसुकै किसिमबाट प्राप्त भएको सम्पत्ति भए पनि बण्डा हुनुपर्ने मुलुकी ऐन, अंशवण्डाको १ नं. लगायत सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको आधारमा शुरुले बण्डा नहुने ठहराएको साविक कि.नं. ३५६ हाल कि.नं. ८७ को जग्गा र सो मा बनेको घर समेत बण्डा लाग्ने गरी न्यायपाऊँ भन्ने समेत वादी चीरागमान सिंह कुँवरको पुनरावेदन पत्र ।
मुद्दा गर्नु अगावै मेरो नामको श्री सम्पत्ति छोराले पाउने गरी बकसपत्र गरी दिएकी छु । मेरा नामको घरजग्गा अंशबण्डाको १८ नं. ले बण्डा गर्न कर लाग्ने होइन र मेरो स्वआर्जनको जग्गा बण्डा लाग्ने गरी भएको शुरु फैसला बदर गरी प्रतिउत्तर र तायदातीमा लेखिए बमोजिम गरी इन्साफ पाऊँ भन्ने समेत प्रतिवादी ज्ञानु कुँवरको पुनरावेदन पत्र ।
यसमा प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुबै पक्षको दोहोरो पुनरावेदन परेको देखिँदा एक अर्काको पुनरावेदन पत्र दुबै पक्षलाई परस्परमा जानकारी गराउनु भन्ने पुनरावेदन अदालतको २०६५।७।५ को आदेश ।
यसमा श्याम डंगोलबाट ज्ञानु कुँवरले र.नं. २३५५ बाट मिति २०६४।३।११ मा पारीत गराई लिएको बकसपत्र र शुरु अदालतको मिति २०६४।५।९ को आदेशानुसार कि.नं. ३५६ को बारे खुलाई प्रतिवादीले गरिदिएको कागज समेतको आधार प्रमाणबाट उक्त कि.नं. ३५६ को जग्गा ज्ञानु कुँवरको निजी आर्जनको बण्डा गर्न कर नलाग्ने प्रकृतिको जग्गा देखिन आउँछ । उक्त जग्गामा बनेको घर ज्ञानु कुँवरले कर्मचारी सञ्चयकोषबाट लिएको सापटी ऋण समेतको रकमबाट निर्माण गरेको भन्ने लिखत प्रमाण पेश गरेको देखिनुका साथै उक्त घर निर्माणको लागि पुनरावेदक वादी समेतले कुनै रकम लगाएको भन्ने कुनै ठोस प्रमाण पेश भएको नदेखिँदा उपरोक्त घर समेत ज्ञानु कुँवरको निजी आर्जनबाट बनेको बण्डा गर्न कर नलाग्ने सम्पत्तिको रुपमा रहेको देखिएकोले कि.नं. ३५६ को जग्गा र सोमा बनेको घर समेतमा अंश छुट्याइ पाऊँ भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
अर्कोतर्फ कि.नं. ३५७ को ०–४–० जग्गा र.नं. ४७१६ बाट राजीनामा पारीत गरी उक्त जग्गा खरीद गरेको देखिँदा एकासगोलमा रहेको अवस्थामा जुनसुकै अंशियारले खरीद गरी लिएको सम्पत्ति सँगोलको आर्जनबाटै खरीद गरिएको हो भनी सहजै अनुमान गर्न सकिने हुँदा त्यस्तो जग्गामा सगोलका सबै अंशियारहरूको अंशहक लाग्ने नै देखिने हुँदा उक्त जग्गा बण्डा गर्न मिल्ने होइन भन्न मिलेन । काठमाडौँ जिल्ला अदालतले आंशिक अंशमा दावी पुग्ने ठहर्याई मिति २०६४।९।१२ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६६।१।२२।३ को फैसला ।
विपक्षी ज्ञानु कुँवरले कर्मचारी सञ्चयकोषबाट मिति २०६३।८।३ मा ९० प्रतिशत सापटीअन्तर्गतको रू.२,०२,९००। र मिति २०५९।६।२३ गते घरायसी प्रयोजनका लागि भनी सेभेनसीज बचत तथा ऋण सहकारी संस्था लि. बाट लिएको रू. ५०,०००।– ऋण यो यस्तो काममा प्रयोग भएको छ भनी प्रतिउत्तर पत्रमा खुलाएको छैन । यस्तो विषयमा फैसलामा बोलिनुपर्नेमा सो भएको छैन । श्रीमान श्रीमती जो सुकैको नाउँमा जुनसुकै किसिमबाट प्राप्त भएको सम्पत्ति पनि बण्डा गरिनुर्छ भन्ने मान्यता रही आएको र अंशबण्डाको १ नं को कानूनी मकसद पनि यही हो भने बकसको लिखतकै आधारमा मात्र बण्डा गर्न नमिल्ने भनी व्याख्या गर्न मिल्ने हुँदैन । बकस प्राप्त गरेको आधार र कारण मा.पो.का. मा पास भएको लिखतले मात्र प्रष्ट हुँदैन । श्याम डंगोललाई ज्ञानु कुँवरले रिझाउनुपर्ने कारण समेत छैन । मैले ३ वर्ष जति जापानमा मजदुरी गरी कमाएको रूपैयाँ समेत घर बनाउने कार्यमा खर्च भएको तथ्यलाई प्रतिवादीले इन्कार गरेको छैन । प्रतिवादीले सञ्चयकोषबाट लिएको ऋण रू. २६,०००।– ले ३ तले घर तयार हुन सक्तैन । ज्ञानु कुँवरको नाउँमा रहेको घरजग्गा बण्डा नलाग्ने फैसलाले अंशियार छोरा अनुराग कुँवरलाई समेत असर पुर्याएको छ ।
अतः पुनरावेदन अदालतको फैसलामा अंशबण्डाको १०, १८,नं. प्रमाण ऐन, २०३१ को दफा ३, दफा ६ (क) दफा ५४ समेतको गम्भीर त्रुटि हुनका साथै नेकाप २०६४, अङ्क –२, नि.नं. ७८१४ पृष्ठ १४०, नेकाप २०५४, अङ्क ११, नि.नं. ६४६९, पृष्ठ ६४८ मा प्रतिपादित सिद्धान्त समेतको विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क), (ख) बमोजिम मुद्दा दोहोर्याई पाऊँ भन्ने वादीको तर्फबाट परेको निवेदन ।
यसमा ज्ञानु कुँवर र वादी लोग्नेस्वास्नी भएका र पति पत्नीले नै कमाई गरी घर बनाई घरजम गरी बसी छोरा नै बालिग भई विदेशमा अध्ययनरत अवस्थामा लोग्ने स्वास्नीमा परेको अनबनबाट पर्न आएको सम्पत्ति विवादमा पत्नीले घर बनी सकेपछि लिएको ऋणको आधारमा घर पत्नीले मात्र चलनमा ल्याउने र स्वामित्व समेत कायम हुने गरेको पुनरावेदन अदालत पाटनको फैसलामा अंशबण्डाको १, २, १८ एवम् अ.बं. १८४क नं. समेतको व्याख्यात्मक त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट भएको मिति २०६६।१२।२५।४ को आदेश ।
यसमा फिराद पत्र र प्रतिउत्तर पत्रबाट वादी प्रतिवादीका छोरा अनुराग कुँवर अंशियार देखिएको र फिराद पत्रमा निजलाई प्रतिवादी कायम गरेको नदेखिँदा निजलाई अ.वं. १३९ नं. बमोजिम झिकाई बयान गराई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।९।२८।४ को आदेश ।
वादी चीरागमान सिंह कुँवर मेरो पिता, प्रत्यर्थी ज्ञानु कुँवर आमा हुनुहुन्छ । पिता र आमासँग एकाघर सगोलमा छु । म वादी, र आमा गरी जम्मा ३ अंशियार छौं, हामीबीच अंशबण्डा भएको छैन । अंशबण्डा हुने सम्पत्ति मेरा नाउँमा छैन । आमाका नाउँमा घर घडेरी दर्ता छ । मेरो आमा राजश्व विभागमा नोकरी गर्ने हुँदा आमाले आफ्नो सञ्चयकोषबाट र आफ्नै निजी आर्जन तलब समेतबाट घडेरी आफ्ना नाउँमा खरीद गरी घर बनाउनु भएको हो । सो घर घडेरी जग्गा आमाको निजी आर्जनको हो । सो घर घडेरी जग्गामा म, मेरो पिताले अंश पाउने होइन । बाबुका नाउँमा दर्ता रहेका जग्गा बाबुले केहि बिक्री गरिसकेका केही बुबाकै नाउँमा दर्ता कायम छन् । बाबुले बिक्री गरेका जग्गा म र आमालाई थाहा जानकारी नदिइ आफ्नै निजी प्रयोजनका लागि बिक्री गर्नुभएको हो । ती बिक्री गरेका जग्गा जमीनबाट म र आमालाई कानूनसम्मत पाउनुपर्ने भाग दिनुभएको छैन । बाबुले बिक्री गर्नु भएको जग्गाबाट पनि मैले मेरो भाग पाउनुपर्छ र बाँकी रहेका बुबाका नाउँको जग्गा समेतबाट मैले ३ भागको १ भाग अंश पाउनुपर्ने हो । त्यसो हुँदा पिताका नाउँमा दर्ता रहेका जग्गा जमीन समेतबाट ३ भागको १ भाग सम्पत्ति मैले अंश पाउनुपर्छ फिराद, प्रतिउत्तर व्यहोरा सुनाउँदा सुने । प्रतिउत्तर व्यहोरा सही सत्यतामा आधारित छ । पिताको फिरादको व्यहोरा अंशियार बाहेकको व्यहोरा झूठा हो भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएका अनुराग कुँवरको यस अदालतमा भएको मिति २०६७।१०।१७।२ को बयान ।
यसमा प्रतिवादी ज्ञानु कुँवरले वकसपत्रवाट पाएको साविक कि.नं. ३५६ को हाल कि.नं.८७ को घर जग्गामा चीरागमान सिंहको समेत अंश लाग्ने हुनाले सो सम्पत्तिमा अंश नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिँदा केही उल्टी भै सो जग्गा र सो मा वनेको घरमा समेत वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश रामकुमार प्रसाद शाहको राय ।
माननीय न्यायाधीश रामकुमार प्रसाद शाहले विवादित कि.नं. ८७ मा बनेको घर पुनरावेदक र प्रत्यर्थीका बीच वण्डा हुने भनी व्यक्त रायसम्ममा मेरो सहमती रहेको भएतापनि कि.नं. ८७ को जग्गा पनि वादी प्रतिवादी बीच वण्डा हुने भन्ने रायमा मेरो सहमती नभै पृथक राय रहेको भन्ने माननीय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको राय ।
नियमबमोजिम आजको पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू जयनारायण पौडेल, सरिता शर्मा, राजेश्वर अधिकारी र वोर्णबहादुर कार्कीले पुनरावेदक वादी तथा प्रत्यर्थी प्रतिवादी पति पत्नी भएकोमा विवाद छैन । कि.नं. ३५६ को जग्गामा प्रतिवादीले मात्र ऋण लिएर घर बनाएको भन्ने जिकीर तथ्यमा आधारित छैन । वादी ३ वर्ष रोजगारीका लागि जापानमा गई कमाएर प्रतिवादीलाई पठाएको रूपैयाँ समेतवाट कि.नं. ३५६ को जग्गा खरीद गरी घर बनाएको हुँदा सो घर जग्गामा दुबै पक्षको लगानी परेको छ । यस स्थितिमा दावीको जग्गा बण्डा नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला यस अदालतबाट प्रतिपादित सिद्धान्त एवं अंशवण्डाको १, २, १० र १८ एवं प्रमाण ऐन, २०३१ को दफा ६(क) विपरीत हुँदा सो हद सम्म उक्त फैसला बदर गरी कि.नं. ३५६ को घरजग्गा समेत वण्डा लाग्ने ठहर्याएको माननीय न्यायाधीश रामकुमार प्रसाद शाहको राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो । विपक्षीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वप्रकाश सिग्देलले प्रतिवादी ज्ञानु कुँवरलाई श्याम डंगोलबाट हालैदेखिको बकसपत्रबाट प्राप्त भएको कि.नं. ३५६ को जग्गा स्त्री अंशधनको सम्पत्ति भएकोले आफूखुशी गर्न पाउने हुँदा अन्य अंशियारलाई बण्डा गर्न कर लाग्दैन । त्यस्तै, प्रतिवादीले कर्मचारी सञ्चयकोषबाट पटक पटक ऋण लिई घर बनाएको देखिएको तर सो घर बनाउँदा वादीले के कति रकम लगानी गरेको भन्ने तथ्ययुक्त प्रमाण पेश हुन सकेको देखिंदैन । जापानबाट यो यति रकम पठाएको भनी वादीले देखाउन सकेको छैन । त्यसैले बकसपत्रबाट प्राप्त जग्गामा प्रतिवादीले निजी तवरबाट बनाएको घर समेत बण्डा नलाग्ने ठहराएको पुनरावेदन अदालतको फैसला कानूनसम्मत हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
दुबै तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीको बहस जिकीर सुनी पुनरावेदन पत्रसहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह र माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीमध्ये कसको राय सदर हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा वादीले विपक्षी श्रीमतीका नाउँमा घर जग्गा भएको र निजले मसँग रिसाई घर छाडी माइतीमा गएपछि घर आउने चासो नदेखाएकी, मेरा विरुद्ध विभिन्न षड्यन्त्र गरी मलाई अंश हकबाट वञ्चित गर्ने भएकोले ३ भागको १ भाग अंश दिलाई अड्डाबाटै चलन समेत चलाई पाऊँ भन्ने फिराद दावी रहेकोमा मेरा नाउँमा दर्ता रहेको कित्ता नं. ३५७ को जग्गा मिति २०५१।८।२६ मा रु. ५०,०००।– मा राजीनामा पास गरी खरीद गरेको हो । उक्त जग्गा खरीद गर्ने रुपैयाँ मेरो नोकरी र माइतीमावलीले दिएको टिका दक्षिणाको रकम समेतबाट खरीद गरेको हुँ । कि.नं. ३५६ को जग्गा श्याम डंगोलबाट हालैको बकसपत्रबाट प्राप्त गरी मेरो आफ्नो दुःख मेहनत गरी कमाएको रकमबाट उक्त घर समेत निर्माण गरेकोले दुबै जग्गा र घरमा वादीको अंश लाग्ने होइन । उक्त कि.नं. ३५६ र ३५७ को दुवै जग्गा मैले हाम्रो छोरा अनुराग कुँवरलाई शेषपछिको बकसपत्र पास गरिदिएको छु भन्ने प्रतिउत्तर जिकीर रहेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा कि.नं. ३५६ को जग्गा र सोमा बनेको घर प्रतिवादी ज्ञानु कुँवरले हालैको बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको भै बण्डा नलाग्ने र कि.नं. ३५७ को जग्गा सँगोलमा छँदै राजीनामाबाट खरीद गरेको हुँदा अंशियारबीच बण्डा लाग्ने भनी शुरु जिल्ला अदालतले गरेको निर्णयउपर परेको पुनरावेदनमा पुनरावेदन अदालत पाटनबाट शुरु फैसला सदर भएपश्चात् कि.नं. ३५६ को जग्गा र सोमा भएको घर बण्डा नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसलामा वादीको चित्त नबुझी मुद्दा दोहोर्याई पाऊँ भन्ने यस अदालतमा निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्ने आदेश भई संयुक्त इजलासमा पेश हुँदा संयुक्त इजलासमा माननीय न्यायाधीशहरूका बीच रायवाझी भै सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) बमोजिम यस पूर्ण इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
४. यसमा दावीको साविक कि.नं. ३५६ हाल कि.नं. ८७ को ज.रो. ०–४–० जग्गा वण्डा नलाग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला नमिलेको भन्ने वादीको पुनरावेदन जिकीर रहेकोले सो तर्फ विचार गर्दा विवादित कि.नं. ८७ को जग्गामा निर्माण भएको घरको सम्बन्धमा विपक्षी प्रतिवादीले कर्मचारी सञ्चयकोषबाट मिति २०४७।१०।३० मा ६० प्रतिशत आंशिक भुक्तानी रकम रू.२६,६००।– प्राप्त गरेको देखिन्छ । त्यसपछि सञ्चयकोषबाटै मिति २०६३।८।३ मा ९० प्रतिशत विशेष सापटी रकम रू.२,०२,९०० लिएको देखिन्छ । तर सो घर मिति २०४७।९।१६ मा निर्माण भएको भन्ने प्रतिवादीका वारेश गजराज के.सी. ले शुरु अदालतको मिति २०६४।३।१० का आदेशानुसार गरिदिएको कागज तथा मिसिल संलग्न काठमाडौँ महानगरपालिकाको नक्सा फायलबाट देखिन्छ । यसबाट कि.नं.८७ को घर आफ्नै तर्फबाट मात्र बनाएको भन्ने विपक्षी प्रतिवादीको जिकीर तथ्यमा आधारित देखिन नआएकोले पुनरावेदक वादी र विपक्षी प्रतिवादीबीच प्रस्तुत मुद्दा पर्नु अगावै दुवै जनाको सामूहिक प्रयासबाट सो घर बनाएको पुष्टि हुन आउँछ । त्यसैले उक्त घरमा समान अवस्था र स्तरका अंशियार प्रतिवादीका पति यी चीरागमानको समेत अंश लाग्ने हुनाले सो सम्पत्तिमा अंश नलाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिएको भनी केहि उल्टी गरी सो घरमा समेत वादीले ३ खण्डको १ खण्ड अंश पाउनेमा दुवैजना माननीय न्यायाधीशहरूको राय मिलेकोले त्यसतर्फ थप विवेचना गरिरहनु परेन ।
५. विपक्षी प्रतिवादी ज्ञानु कुँवरले वकसबाट प्राप्त गरेको साविक कि.नं. ३५६ हाल कि.नं. ८७ को ज.रो. ०–४–० जग्गा समेत वण्डा लाग्ने भन्ने माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको र सो जग्गा वण्डा नलाग्ने भन्ने माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीको अलग–अलग राय रहेकोले सो सम्बन्धमा विचार गर्दा दावीको साविक कि.नं. ३५६ र हाल कि.नं. ८७ को ज.रो. ०–४–० जग्गा र.नं. २३५५ मिति २०४६।३।११ मा प्रतिवादीले श्याम डंगोलबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको कुरा मिसिल संलग्न उक्त पारीत लिखतको प्रतिलिपीबाट देखिन्छ । सो लिखतको कैफियत महलमा “मेरा हरेक काम काजमा सहयोग गरी रिरझाई आउनु भएबापत उक्त जग्गा तपाई श्रीमती ज्ञानु कुँवरलाई हा.व. गरिदिएँ” भन्ने समेत व्यहोरा उल्लेख गरिएको पाइन्छ । वकसपत्रको लिखतमा दाताले उल्लेख गरेको उक्त व्यहोरालाई अन्यथा प्रमाणित नभएसम्म स्वाभाविक हो भन्ने कुरा अदालतले अनुमान गर्नुपर्ने हुन्छ । अदालतबाट अनुमान गरिने यस्तो कुरा कुनै पक्षले खण्डन गरेमा वा कुनै जग्गा वकसपत्रबाट प्राप्त भएको भनी लिखतमा उल्लेख भए पनि वास्तविक रुपमा सो जग्गा खरीद गरी लिएको हो भनी दावी लिएमा त्यस्तो दावी प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २८ अनुसार त्यस्तो दावी गर्ने पक्षमा नै रहन्छ ।
६. मुलुकी ऐन अंशबण्डाको १८ नं. मा “मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सँगोलको सम्पत्तिबाट वा सँगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढेबढाएको सँगोलको आर्जन र लेनदेन व्यहोराको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सो बाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा शीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तबरले दान वा वकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउँछ । वण्डा गर्न कर लाग्दैन” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार कसैबाट निजी तवरले दान वा बकस पाएको सम्पत्ति त्यस्तो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउने देखिन्छ । अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले नजिकको हकदार, इष्टमित्र वा माइती मावलीपट्टिका व्यक्तिलाई मात्र सीमित नगरी उल्लिखित व्यक्ति वाहेक जोसुकै व्यक्तिलाई पनि जनाउने देखिन्छ । यसरी अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले जो कोही समेत सम्झन मिल्ने हुँदा उक्त १८ नं. मा भएको व्यवस्थालाई संकुचित व्याख्या गर्नु न्यायोचित् देखिंदैन ।
७. प्रतिवादी ज्ञानु कुँवरलाई बकस दिने श्याम डंगोलले रिझबापत कि.नं. ३५६ को जग्गा हालै देखिको बकसपत्र गरिदिएको देखिएको र वादीले प्रमाण ऐन २०३१ को दफा २८ बमोजिम सप्रमाण खण्डन गर्न सकेको नदेखिनुको साथै प्रतिवादीले वकसपत्रबाट प्राप्त गरेको जग्गा पैसा लगानी गरी लिएको भनी प्रमाणित गरी वण्डा लाग्ने आधार पुनरावेदक वादीले प्रस्तुत गर्न सकेको पनि देखिँदैन । यसरी लिखतको व्यहोराबाटै सो लिखतबमोजिम पाउने व्यक्तिले निजी तवरबाट प्राप्त गरेको भन्ने देखिन आएको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो व्यहोरालाई असत्य मानी थैली हालेर नै खरीद गरेको भनी अनुमान गर्नु कानूनसंगत एवं न्यायोचित् देखिँदैन ।
८. तसर्थ विवेचित आधार कारणबाट विवादित साविक कि.नं. ३५६ हाल कि.नं. ८७ को ज.रो. ०–४–० जग्गा पुनरावेदक वादी र विपक्षी प्रतिवादीबीच वण्डा नहुने भन्ने माननीय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीबाट व्यक्त राय मनासिव हुँदा सदर हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भै साविक कि.नं. ३५६ हाल कि.नं. ८७ को ज.रो. ०–४–० जग्गामा बनेको घरसम्म पुनरावेदक वादी र विपक्षी प्रतिवादीबीच वण्डा हुने ठहरेकोले अंश छुट्याई पाऊँ भनी दण्ड सजायको ४३ नं. बमोजिम वादीको दरखास्त परे कानूनबमोजिम लाग्ने दस्तूर लिई तीन खण्डको एक खण्ड घर वण्डा छुट्याई दिनु भनी काठमाडौँ जिल्ला अदालतमा लगत दिनू –१
दायरीको लगत कट्टागरी मिसिल नियमानुसार गरी वुझाई दिनू –––––––१
उक्त रायमा सहमत छौं ।
न्या.प्रकाश वस्ती
न्या.वैद्यनाथ उपाध्याय
इति संवत् २०६९ साल साउन ११ गते रोज ५ शुभम्.