शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२०५ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: पौस अंक:

निर्णय नं. ३२०५    ने.का.प. २०४४      अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ४८०

२०४३ सालको फौ.सा.नं. १२१

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: जसुबुढा मगरको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: जि.रोल्पा हार बडाङ गा.पं. वार्ड नं. ६ बस्ने दीनुराम वाली मगर्नी ।

            ऐ.ऐ बस्ने गन्ज बहादुर पुन मगर ।

            ऐ.ऐ वार्ड नं. ३ बस्ने नौला बहादुर दाती मगर ।

            ऐ.ऐ वार्ड नं. ६ बस्ने जसकली पुन मगर ।

            ऐ.ऐ बस्ने चनु मगर्नी ।

फैसला भएको मिति: २०४४।५।१७ मा

     मृत्यु भएपछि सरसल्लाह गरी प्र.ले लाश डोकोमा बोकी लगेको नौलेले चप्पल बोकी घोघोको जङ्गलमा  लगी झुण्ड्याई आएकोमा प्रतिवादीहरू एक मिलानसँग सावित रहेका र प्र. पिनुले समेत करणी गर्ने प्रयास गर्दा म एक्लैले मारेको र मरेपछि गञ्ज र नौले समेतको मद्दतले जङ्गलमा लगी झुण्डाएको भनी आफू कर्तव्यमा सावित रही लाश दबाउने छिपाउने सम्मको कार्य अन्य प्रतिवादीहरू सरिक रहेको भनी पोलेको समेत देखिँदा ज्यान मरिसकेपछि समयमा जाहेर नगरी दबाउने छिपाउने सम्मको अपराध गरेको देखिने ।

(प्रकरण नं. २६)

मृतक आफ्नो नाता सम्बन्धको व्यक्ति देखिएको र मार्नु पर्नेसम्मको पूर्व रिसइवी रहे भएको कुरा कहिं कतैबाट खुल्न सकेको छैन आफ्नै घरमा बास बस्न आएकोमा राती जवरजस्ती करणी गर्न खोज्दाको अवस्थामा आफ्नो धर्म सतित्व बचाउनको लागि मुंग्राले हान्दा मृतकको मृत्यु भएको देखिन्छ, घटना प्रकृतिबाट सतित्व रक्षार्थ छोडेको चोटबाट मृत्यु भएकोमा कानुन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ बमोजिम प्र.पीनु मगर्नीलाई कैदवर्ष ५ मात्र सजायँ हुने ।

(प्रकरण नं. २६)

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    बडबुढा मगरको स्वास्नी मिनासरी बुढा मगर्नी ०४१ साल भाद्र महिनामा माइत गएकी ०४१।६।१९ गतेसम्म घरमा नआएकीले भतिजा बलबुढा मगर र स्वास्नीलाई बोलाउन ०४१।६।२० गते घरबाट हिँडी गएको ऐ.२३ गते म आफ्नो घरबाट मेरो ससुराली रोल्पा हर्जङ गा.पं बस्ने कणु घर्तिको घरतर्फ जाँदा बाटोमा पर्ने रोल्पा सिरली गा.पं. अन्तर्गत घोघा भन्ने ठाउँको बनजङ्गलमा पुग्दा गुराँसको रुखमा घर बनाएको डोरी बाँधी सोही डोरीले बलबुढा मगर गर्धनमा बाँधी झुण्डी मरेको हुँदा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०४१।६।२६ को जाहेरी दर्खास्त ।

३.    २०४१।६।२८ को बजे ३ को घटनास्थल लाश प्रकृति मुचुल्का राम बहादुर घर्ती मगर समेतले गरिदिएको पेज ८ को मिति ०४१।६।२९ को सरजमीन मुचुल्का ।

४.    ०४१ साल भाद्र महिनाको अन्तिम हप्तातिर म मेरा लोग्नेको सल्लाह लिई माइती आएकी हुँ केही दिन पछि मेरा लोग्ने मलाई लिन आउनु भएको थियो । सोही रात साथै सुतेउँ भोली पल्ट घरमा काम छ तिमी २।४ दिन पछि आउनु भनी घरतर्र्फ गएका हुन् । केही छिन पछि मेरा कान्छा ससुरा जसु बुढाबाट लोग्ने बलबुढा मगर आत्महत्या गरी झुण्डी मरेको कुरा गाउँघरमा हल्ला भएपछि थाहा पाएको हुँ । मैले र मेरा आमाले समेतले कर्तव्य गरी मारे मराएको होइन भन्ने ०४१।७।१२ मा मृतकको श्रीमती मनसरी बुढा मगर्नीले प्रहरीमा गरेको कागज।

५.    ०४१।६।२१ गतेको बेलुका बल बहादुर मेरो घरमा आएका थिए । कहाँबाट आयो भनी सोद्धा ससुरालीबाट आएको हुँ भनी भन्थें सो राती मेरै घरमा बास बसे र निजलाई कुखुराको मासु र आटो पकाई खान दिए । भोलीपल्ट बिहानै आफ्नो घर जान्छु भनी गएका हुन् निजलाई मैले मारे मराएको कुनै होइन । जुस बलीराम जाली मगर्नीको प्रहरीमा गरेको कागज ।

६.    ०४१।६।२० गते ज्वाँई छोरी लिन भनी आएका थिए घरमा काम छ । छोरीलाई २।४ दिन पछि पठाई दिनु होला भनी ऐ.२१ गते बिहान आफ्नो घरतर्फ गएका हुन् । पर्सीपल्ट घोघोको जङ्गलमा झुण्डी मरेको छन् भन्ने कुरा गाउँघरमा हल्ला सुनी सो ठाउँमा गई लाश हेर्दा ज्वाँईको कसले के गरी मारे थाहा छैन भन्ने समेत मृतक को सासू पंचा घर्ती मगर्नी प्रहरीमा गरेको कागज ।

७.    ०४१ साल आश्विन २१ गतेका बेलुका बल बहादुर मेरो घरमा आएको थियो । निजले राती मलाई जवरजस्ती करणी गर्न खोज्दा मैले सिरानमा राखेको काठको मुंग्राले निजको टाउकोमा एकचोट बायाँ आखामा एकचोट दुवै कोखामा हानें त्यति हान्दा पनि मलाई नछाडेकाले सोही मुंग्रोले निजको लिंगमा घोचि रोपें र निज बेहोश भई पल्टियो । केही छिन पछि हेर्दा मरी सकेको थियो सोही राती मेरा घरमा सुतेको देवर गञ्ज बहादुर भाइ नौला बहादुर सासू जयकली नन्द चनु समेतलाई उठाएर बल बहादुरले मलाई करणी गर्न खोज्दा मैले निजलाई मारें भनी भन्दा अब यसलाई घोघोको जङ्गलमा लगी झुण्डयाई दिने सल्लाह भई लाशलाई देवर गञ्ज बहादुरले डोकामा बोकी हामी सबै जना गई गुराँसको रुखमा झुण्याई आएका हो भन्ने समेत पीनु मगर्नीले प्रहरीमा गरेको कागज ।

८.    ०४१ साल आश्विन २१ गतेको राती मृतक बल बहादुरको लाश बोकी घोघोको जङ्गलमा लगी गुराँसको रुखमा झुण्ड्याएको हो भन्ने समेत गञ्ज बहादुर र नौला बहादुरको प्रहरीमा गरेको कागज ।

९.    मृतक बल बहादुरलाई मैले मारे मराएको होइन भन्ने समेत चनु मगर्नीले प्रहरीमा गरेको कागज ।

१०.    यसमा बुझिएसमम्को प्रमाणबाट अभियुक्त पीनु मगर्नी, गजबहादुर, नौला बहादुर समेत जना ३  ले मुलुकी ऐन, ज्या.सं.को १३(३) नं. अनुसार सजायँ हुन प्रहरीमा पक्राउ नभई फरार रहेको अभियुक्त जसकली मगर्नीलाई ताहा अदालतबाटै समाव्हान जारी हुन र निज जसकली र चुन मगर्नीलाई सोही ऐनको २५ नं. अनुसार सजायँ हुन अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन माग दावी भएको ।

११.    प्र.पीनु मेरो सखेद दिदी हुन मलाई जोत्न बोलाएकोले निजको घर गएको थिए । मृतक बल बहादुर पनि साँझ दिदीको घरमा आई बस्यो साँझ खानपीन गरिसकेपछि दिदी पीनु घर बाहिर सुतिन फुपई जसकली भान्जी जनु मर्ने बल बहादुर गजबहादुर र म समेत भुँइतला कोठामा सुत्यौं । मस्त निन्द्रामा सुतेका अवस्थामा दिदी पिनु उठाउन आई मर्ने बल बहादुरले मलाई जबरजस्ती करणी गर्न खोज्दा काठको मुंग्राले हान्दा मर्‍यो भनिन् र सबै जना उठी बाहिर गयौं बल बहादुर मरिसकेको थियो । मृतकलाई झुण्डयाउन हिंड भनेकोले डोकोमा मृतकलाई गजबहादुरले बोकी गुराँसको रुखमा लगी मृतको कम्बरमा बाँधी राखेको कपडाले बाँधी झुण्ड्याई घर फर्केका हौं भन्ने समेत प्र.नौला बहादुर घर्ती मगरले अदालतमा गरेको बयान ।

१२.   यही सालको बडा दशैंको मौका थियो मर्ने बल बहादुर आफ्नो श्रीमती लिन माइत गई आएको हुँ भनी मेरा घरमा आई साँझ खानाखाई बास बस्यो मेरा भाइ निले पनि मेरो घरमा आएको थियो । साँझ खानापीन गरी सकेपछि मेरो लोग्ने घरमा नहुँदा २ छोरीलाई साथमा लिई म घर बाहिर सुतें अरु सबै जना घरभित्र सुते राती एक्कासी मर्ने बलले मेरो हात समाउँदा म बिउँझें । रातमा चाँदनी रात भएकाले मर्ने बल बहादुर मेरो भान्जी ज्वाँईं हुनाले निजलाई चिनें किन यस्तो गरेको भनी भन्दा झन मेरो मुखमा टोपीको बुझा लगाई दियो । करणी गर्न खोज्यो मैले दिइन । मैले सिरानमा राखेको लुगा धुने मुंग्रो झिकी पहिला टाउकोमा त्यसपछि कोखमा हांने तैपनि मलाई त नछाडेकोले अर्को पटक मुन्तिर हान्दा सन्नीमा लागेछ र मलाई छोडी म सुतेको नजिकै दक्षिणतिर खोलो थियो । सो खोलामा लड्न गयो । त्यसपछि घरभित्र सुतेका देवर गञ्जलाई उठाई कुरा गर्दा देवर गञ्जले मर्ने बल बहादुर डोकामा बोकी भाइ नौले समेत भई गुराँसको रुखमा लगी झुण्ड्याई घर फर्केका हौं भन्ने समेत प्र.पीनु रामजाली मगर्नीले अदालतमा गरेको बयान ।

१३.   मृतक बल बहादुर हाम्रो घरमा आई साँझ बास बसेको थिए । साँझ खानपीन गरी सकेपछि अँगेनाको एकातिर आमा जसकली र म सुत्यौं एकातिर मृतक बल बहादुर बुढा र दाई जंगबहादुर पुन सुते पाडा बाच्छा बाहिर भएकोले भाउजू पिनु मगर्नी बाहिर सुतिन् राती के कसो भयो कसकसले मारे मलाई केही थाहा भएन बिहान उठी आमालाई सोद्धा आफ्नो घरतर्फ गयो भनी भनेकी थिइन । मृतक बललाई के कसरी कसले मारे मलाई केही थाहा छैन भन्ने समेत प्र.चनु मगर्नीले अदालतमा गरेको बयान ।

१४.   ०४१ साल आश्विन २१ गते बेलुका अं. ४ बजेतिर भाउजू पिनु मगर्नी माइतबाट आएकी रहिछिन् भाउजूको भाइ नौला बहादुरले बोलाएकाले म पनि सोही दिन त्यही बसें मृतक बल बहादुर पनि भाउजू पिनुकै घरमा थिए । साँझ खानपीन गरिसकेपछि अँगेनाको एकातिर म नौला बहादुर मर्ने बल बहादुर सुत्यौं एकतर्फ चनु र जसकली सुते भाउजू पिनु घर बाहिर गई सुतिन् । हामी निदाएका अवस्थामा मृतक बल बहादुर बाहिर गई भाउजूलाई करणी गर्न खोजेछन् र भाउजूले मुंग्रोले हानी मर्ने बल बहादुरलाई मारी हामीलाई उठाउन आई हामी उठी गई हेर्दा मर्ने बल बहादुर मरिसकेको थियो । भाउजू पिनुको भनाई अनुसार लाशलाई डोकोमा हाली नौलाले बोकी म समेत भई रुखमा झण्ड्याई घर फर्केका हौं भन्ने समेत प्र.गञ्ज बहादुरले अदालतमा गरेको बयान ।

१५.   मृतक बल बहादुर बुढालाई राती कसले कसरी मारे मलाई केही थाहा भएन बिहान उठी नदेख्दा घरमा गए होलान् भनी कसैलाई केही सोधिन । कसैले पनि मलाई केही भनेनन् । राती मलाई कसैले उठाएको पनि  थिएनन् भन्ने समेत प्र.जसकली पुन मगर्नीले अदालतमा गरेको बयान ।

१६.    ०४१ साल आश्विन २३ गते म घरबाट माइतघर रोल्पा हार्जड्ड गा.पं. जान भनी गएको थिएँ घोघा छेरा भन्ने ठाउँमा मृतक बल बहादुर भतिजा नाता पर्नेको लाश भेटिएको हुँदा म माइतीघर नगई स्यूरी गा.पं.को जग्गराम घर्तीको घरमा गई कुरा गर्दा प्रहरी चौकीमा जाहेर गरेको हुँ मृतककी श्रीमती घरमा नबसी माइतमा नै बढी बस्ने गर्दथी उक्त दिन श्रीमतीलाई लिन माइत गएको हो निजको श्रीमतीको कर्तव्यबाट बल बहादुरको मृत्यु भए शंका लाग्छ प्र.पीनु समेत किन सावित भए आफैं जानुन् भन्ने समेत जाहेरवाला जसुबुढा मगरले अदालतमा गरेको बकपत्र।

१७.   मृतकको श्रीमती घरमा नबसी माइतघर बस्ने हुँदा बल बहादुर ०४१।६।१० गते आफ्नो माइत श्रीमती बोलाउन गएको अवस्था निजको सासु र श्रीमतीले नै कर्तव्य गरी मारी रुखमा झुण्डाउन लगाएको भन्ने शंका लाग्छ भन्ने समेत सरजमीनका पुन बुढा मगरको नर बहादुर बुढा समेतको बकपत्र रहेछ ।

१८.   पीनु रामजाली समेतका पति वादीहरूले मृतक बल बहादुरलाई मारेकोमा साविती बयान गरेको हुँदा निजहरूले नै मारेका होलान् भन्ने समेत सरजमीनको मतिराम बुढा तीलबहादुर घर्ति मगर समेतको बकपत्र रहेछ ।

१९.    मृतक बल बहादुरको कसैपट्टि रिसइवी थिएन निज आफैं झुण्डी मरेको होला भन्ने चनुको साली मानु घर्ति र प्र.जसकलीको साली हर्कुपुन मगरको बकपत्र रहेछ ।

२०.   प्र. पिनुलाई मृतक बल बहादुरले करणी गर्न खोज्दा मुंग्रोली सन्नी समेतमा हानेको कुरा प्र.पीनु साविती भई बयान गरेको र लिंगबाट रगत बगेको कुरा लाश प्रकृति मुचुल्काबाट समेत पुष्टि हुन आएकोले प्र.पीनु रामजाली मगर्नीलाई ज्या.सं.को १३(३) नं. अनुसार प्र.नीलबहादुर, गञ्ज बहादुरले लाश बोकी झुण्ड्याई जाहेर नगरेको समेत कारण देखाएकाले ज्या.सं. को १७(३) नं.अनुसार र प्र.जसकली, प्र.चनुले सफाई पाउने ठहर्छ भन्ने समेत रोल्पा जिल्ला अदालतको मिति ०४२।६।२७ गतेको फैसला ।

२१.   शुरु जि.अ.को फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको म.प.क्षे.अ.मा पुनरावेदनपत्र परेको रहेछ ।

२२.   राती सुतेको अवस्थामा मृतक बलले जवरजस्ती करणी गर्ने मनसायले हातपात गर्न लागेको अवस्थामा सिरानी मुनि रहेको लुगाधुने मुंग्राले टाउको र लिंगमा समेत हिकाई मृत्यु भएको भनी प्र.पीनु अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित भएको तथा अन्य प्रतिवादीहरू मार्ने काममा सरिक नभए पनि मरेपछि जङ्गलमा लगी झुण्ड्याएकोमा सावित देखिँदा प्र.पीनुलई ज्या.सं.का १३(३) र अन्य प्रतिवादीहरूलाई ज्या.सं.को १७(३) बमोजिम सजायँ गर्न गरेको शुरुको इन्साफ मनासिब छ । तर जवरजस्ती करणी हुन लाग्दा धर्म बचाउन कोशिस गर्दा मरेको देखिँदा अ.बं.१८८ नं. बमोजिम निज प्र.पीनुलाई कैदवर्ष ५ मात्र गर्ने गरी राय समेत उल्लेख गर्ने गरी म.प.क्षे.अ. बाट मिति ०४३।४।२३।५ मा फैसला भएको रहेछ ।

२३.   शुरुको सदर गरेको म.प.क्षे.अ.को फैसला मिलेको नहुँदा चित्त बुझेन । शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी म.प.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय गर्नु पर्ने देखियो ।

२५.   यसमा मृतक बल बहादुर मगर प्र.  जसकलीको घरमा ०४१।६।२१ गते राती बास बसेकोमा मृतकले म सुती निधाएको अवस्थामा राती जवरजस्ती करणी गर्न खोज्दा मैले सिरानमा राखेको काठको मुंग्राले टाउकोमा आँखामा तथा कोखमा समेत हिर्काउँदा पनि नछोडेको हुँदा सोही मुंग्राले निजको लिंगमा हान्दा बेहोश भई मरे र घरमा भएका सबैलाई उठाई भएको व्यहोरा सुनाइए पछि घोघाको जङ्गलमा लगी झुण्ड्याउने सबैको सल्लाह भए बमोजिम गञ्ज बहादुर म र नौले समेत भई जङ्गलको रुखमा झुण्ड्याई आएको भनी प्र.पीनु मगर्नीले अधिकार प्राप्त अधिकारी र अदालतमा समेत कसुरमा सावित रही बयान गरेको पाइन्छ । लाश प्रकृति मुचुल्कामा लिंगको टाउको थिचिएको लिंगबाट खून आएको, जमेको भन्ने उल्लेख भएबाट पीनुको साविती पुष्टि हुन आयो । अर्कोतर्फ अन्य प्रतिवादीहरू जङ्गबहादुर र नौले समेतले मृतकलाई मार्ने कार्यमा आफू सरिक नरहेको र मार्ने कार्य पीनुले नै गरेकोमा मरिसकेपछि दबाउने कार्य भएको हो भनी अधिकार प्राप्त अधिकारी र अदालतमा समेत बयान गरेबाट मृतक बल बहादुरको मृत्यु पीनुकै कर्तव्यबाट भएको स्पष्ट हुन आएको देखिँदा निज प्र. पीनुलाई ज्या.सं.को १३(३) बमोजिम जन्मकैद गर्ने गरेको क्षे.अ.को इन्साफ मिलेकै देखियो ।

२६.   अब अन्य प्रतिवादीहरूको सम्बन्धमा विचार गर्दा प्र.जसकली चनुको सम्बन्धमा यथेष्ट प्रमाण नभएको हुँदा निजहरूलाई सफाई दिने र बलको मृत्यु भएपछि सरसल्लाह गरी प्र.गन्जबहादुरले लाश डोकामा बोकी लगेको नौलेले चप्पल बोकी घोघोको जङ्गलमा लगी झुण्ड्याई आएकोमा निज प्रतिवादीहरू एकैमिलानसँग सावित रहेका र प्र.पीनुले समेत करणी गर्ने प्रयास गर्दा म एक्लैले मारेको र मरेपछि गन्ज र नौले समेतको मद्दतले जङ्गलमा लगी झुण्ड्याएको भनी आफू कर्तव्यमा सावित रही लाश दबाउने छिपाउने सम्म कार्य अन्य प्रतिवादीहरू सरिक रहेको भनी पोलेको समेत देखिँदा ज्यान मरिसकेपछि समयमा जाहेर नगरी दबाउने छिपाउने सम्मको अपराध गरेको देखिँदा निज प्रतिवादी गन्जबहादुर र नौलेलाई ज्या.सं. को १७(३) बमोजिम ६ महिना कैद गर्ने गरेको शुरुको सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखियो । तर मृतक आफ्नो नाता सम्बन्धको व्यक्ति देखिएको र मार्नु पर्ने सम्मको पूर्व रिसइवी रहे भएको कुरा कहिँ कतैबाट खुल्न सकेको छैन । आफ्नै घरमा बास बस्न आएकोमा राती जबरजस्ती करणी गर्न खोज्दाको अवस्थामा आफ्नो धर्म सतित्व बचाउनको लागि मुंग्राले हान्दा मृतकको मृत्यु भएको देखिन्छ । घटनाको प्रकृतिबाट सतित्व रक्षार्थ छोडेको चोटबाट मृत्यु भएकोमा कानुन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम निज प्र.पिनु मगर्नीलाई कैदवर्ष ५ मात्र सजायँ हुने ठहर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.पीनु मगर्नीके ज्या.सं.को १३(३) कसूर गरेकोमा अ.बं. १८८ नं. बमोजिम जम्मा कैदवर्ष ५ हुने ठहरेको हुँदा निज पीनु मगर्नी मिति ०४१।९।२५ देखि थुनामा रहेको देखिँदा सो मितिबाट कैदवर्ष ५ को लगत कसी असूल गर्नु, जन्मकैदको लगत काटिदिनु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल भाद्र १७ गते रोज शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु