शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८७५ - उत्प्रेषणयुक्त परमादेशसमेत

भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक:

ने.का.प. २०६९,            अङ्क ८

निर्णय नं. ८८७५

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

०६५WO–०५७०

आदेश मितिः २०६९।४।२३।३

 

विषयः उत्प्रेषण परमादेश समेत 

 

निवेदकः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.९ ओमसाई मार्ग घर नं.१०६/३२ घर भई   नेपाल वायुसेवा निगममा सिनियर क्याप्टेन पदमा कार्यरत कुमारप्रसाद पोखरेल       

विरुद्ध

विपक्षीः नेपाल वायुसेवा निगम के.का. समेत

 

§  आफ्नो राजीनामा स्वच्छ नियतले फिर्ता लिएको वा रद्ध गरेको वा सो गर्ने प्रयास नगरेको अवस्थामा सो राजीनामा यथास्थितिमा रहिरहेकोले जुनसुकै बेलापनि स्वीकृत हुन सक्ने 

§  राजीनामा दिएको केही निश्चित् अवधिभित्र राजीनामा स्वीकृत गर्नुपर्ने र नगरेमा सो राजीनामा आफैँ अस्तित्वहीन हुने अवस्था नभएकाले स्वीकृत गर्नुपर्ने कुनै निश्चित् मितिको किटान वा समयसीमाको निर्धारण नभएकोले व्यवस्थापनको इच्छानुसार जहिले पनि स्वीकृत गर्न मिल्ने 

(प्रकरण नं.९)

§  स्वदेशको ध्वजावाहक एयरलाइन्सको स्थायी पाइलट (क्याप्टेन) ले लुकेर विदेशको एयरलाइन्समा सेवा दिनु, त्यहाँ काम गर्नु निजको पदीय आचरण र नैतिकता विपरीतको कार्य हो । नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त विनियमावली, २०५८ को पनि विपरीत हो । यस्तो गैरकानूनी काम गर्नेले संविधानबमोजिमको मौलिक हकको प्रचलनको दावी गर्नु कानून र समन्यायलगायत कुनै पनि मापदण्डबाट तर्कसंगत र औचित्यपूर्ण नहुने भएकाले यस्तो गलत प्रवृत्तिलाई न्यायिक संरक्षणबाट प्रोत्साहित गर्न नमिल्ने 

(प्रकरण नं.११)

 

निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताहरू हरिहर दहाल, बद्रीबहादुर कार्की र अधिवक्ता श्री सतीशकृष्ण खरेल

विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरू दिनमणि पौडेल र नरबहादुर खड्का

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त विनियमावली, २०५८

 

आदेश

            न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :

            निवेदक करीव २८ वर्षदेखि नेपाल वायुसेवा निगमको सेवामा प्रवेश गरी वरिष्ठ क्याप्टेन पदमा कार्यरत रहेको छु । विगतका केही वर्षमा नेपाल वायुसेवा निगममा विमानहरू घट्दै गएको र निवेदकले उडान गरी रहेका ठूला विमानहरू उडानको पालो धेरै कम मिल्ने भएको र निगमसँग निवेदक जस्ता पाइलटहरूको सख्या कार्यवोझको तुलानामा धेरै भएको हुनाले यो अवधिको सदुपयोग गर्नका लागि निवेदकले विद्यावारिधि गर्ने र सोका लागि निगमसँग विदाको माग गरेको थिएँ । तर मेरो अध्ययन विदाको विपक्षी निगमले कुनै वास्ता नगरेपछि म निवेदक आफ्नो सञ्चित विदावाट केही दिनको विदा समेत लिई आफनो पेशागत अनुसन्धान स्वत्प्रायोजित रुपमा गर्ने उद्देश्यले नेपाल बाहिर गएको थिएँ । थप समय राखी मैले अतिरिक्त विदा माग गरेकोमा मेरो पर्याप्त विदा सञ्चित रहदाँ रहदै पनि मेरो विदा स्वीकृत नगरी मलाई उपस्थित हुन नआएको अवस्थामा कारवाही गर्ने सूचना दिएपछि मिति २०६५।६।७ का दिन मैले आफ्नो चित्त नवुझेको कुरा उल्लेख गरी विना कुनै शर्त स्वीकार गरेमा मञ्जूर हुने गरी राजीनामा लेखी विपक्षी निगमको प्रवन्ध निर्देशकलाई सम्वोधन गरी दिएको थिएँ । तर मेरो उल्लिखित राजीनामा मलाई सनाखत गराउने वा स्वीकृत गर्ने कार्य भएन । उल्टै मिति २०६५।७।१७ को मिति राखी हालसम्म निगममा क्रुको अभाव नै रहेको हुनाले यदि निगमको सेवामा निरन्तरता दिनु चाहनुहुन्छ भने तपाईले दिएको राजीनामाउपर पुनर्विचार गर्न र विदा नियमित गर्ने सम्बन्धमा अविलम्व कार्यालयमा उपस्थित हुन सुचित गरिन्छ भनी विपक्षी निर्देशक अपरेसन्सवाट निवेदकलाई पत्र पठाएपछि निवेदकले मिति २०६५।९।८ मा राजीनामा रद्द गरी विदा नियमित गरी पाऊँ भनी दर्खास्त दिएको थिएँ । सो दर्खास्त रीतपूर्वक निगमको प्रधान कार्यालयमा महाप्रवन्धकको कार्यालयमा मिति २०६५।९।८ मा दर्ता रहेको छ 

            यसरी स्वीकृत हुनु पूर्व मैले मेरो राजीनामा रद्द गरिपाऊँ र विदा नियमित गरिपाऊँ भनी दरखास्त गर्दा समेत विदा नियमित गर्नेतर्फ कुनै पहल नभएपछि मिति २०६५।११।११ का दिन निवेदक आफ्नो सेवामा हाजीर भएँ । सिनियर क्याप्टेनहरूको हकमा नियमित हाजीरी गर्नु नपर्ने आफ्नो उपस्थिति जनाएपछि फ्लाईट रोस्टरमा नाम राखेर जनाउ दिने गरिएकोमा उपस्थित भएको लामो समयसम्म पनि फ्लाईट रोस्टरमा नाम राखेको कुनै जानकारी नदिएको र उडानको कुनै जिम्मेवारी नदिएको हुनाले मिति २० मार्च २००९ का दिन विपक्षी निगमको प्रधान कार्यालयमा गई वुझ्दा मेरो मिति २०६५।६।७ को राजीनामालाई म हाजीर हुनुभन्दा २ दिन अगावै अर्थात् २०६५।११।९ का दिन २०६५।६।७ देखि नै लागू हुने गरी स्वीकृत गरिसकिएको भन्ने व्यहोराको पत्र निवेदकलाई दिइयो । त्यस्तो कामकारवाहीवाट निवेदकलाई नेपालको अन्तरिम संविधानको धारा १२(३)च १३,१९ ले प्रदान गरेको संवैधानिक हक र नेपाल वायुसेवा निगम कर्मचारी नियमावली, २०५८ को नियम ६६ को (१)(२) र (३) ले प्रदान गरेको कानूनी हकमा आघात पुगेको र त्यस्तो त्रुटिपूर्ण कामकारवाही बदर गर्नका लागि अन्य कुनै प्रभावकारी उपचार उपलव्ध नभएको हुनाले यो निवेदन गर्न आएको छु 

            राजीनामा कर्मचारीको स्वेच्छामा निर्भर रहने कुरा हो । यसरी राजीनामा स्वीकृत हुनु पूर्व नै मिति २०६५।९।८ मा दिएको निवेदनवाट मिति २०६५।६।७ मा मैले दिएको राजीनामाको मान्यता शून्य भएको कुरामा विवाद छैन । राजीनामा स्वीकृत हुनुभन्दा धेरै अघि नै रद्द गरिसकेको र त्यसमा पनि स्वयं व्यवस्थापनको अनुरोधबमोजिम पुनर्विचार गरी रद्द गरिसकेको राजीनामा स्वीकृतिका लागि पेश गर्ने,स्वीकृत गर्ने र कार्यान्वयन गर्ने अधिकार विपक्षीहरूलाई छैन । राजीनामा रद्द गरिएको मितिभन्दा करीव ३ महिना अघिदेखि लागू हुने गरी स्वीकृत गरिएको भनिएको मिति भन्दा करीव ५ महिना अघिदेखि लागू हुने गरी स्वीकृत गरिएको छ । त्यति मात्र नभै मिति २०६५।६।७ मा दर्ता गराइएको राजीनामा मिति २०६५।११।९ मा स्वीकृत गरिएकोमा पनि एक महिनाको पूर्व सूचना नदिएको भनी एक महिनाको तलव कट्टा गर्ने गरी स्वीकृत गरिएको भनिएको छ । मैले दिएको राजीनामा निःशर्त छ । मैले निगमलाई मेरो सेवाको आवश्यकता नरहेको निष्कर्षमा पुगि यो राजीनामा विना शर्त स्वीकृतिको लागि भनी दर्ता गराएको थिएँ 

            उपरोक्त आधारमा विपक्षीहरूले गरेको राजीनामा स्वीकृत गर्ने मिति २०६५।११।९ को पत्र र सो पत्रसँग सम्बन्धित निर्णय कामकारवाही टिप्पणी आदेश नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी मलाई मेरो पदमा हाजीर गराई कानूनबमोजिम पाउने तलव भत्ता दिई काममा लगाउनु भनी विपक्षीहरूको नाममा परमादेश लगायतको आदेश जारी गरिपाऊँ भन्ने रिट निवेदन दावी 

            यसमा के कसो भएको हो ? निवेदको माग बमोजमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी रिट निवेदनको १ प्रति नक्कल साथै राखी विपक्षीलाई सूचना पठाई दिनू । लिखित जवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।१२।१४ को आदेश 

लिखित जवाफवाला निगम (शाही) नेपाल वायुसेवा निगम ऐन, २०१९ अन्तर्गत अविच्छिन्न उत्तराधिकारवाला एक सँगठित र स्वशासित संस्था हो । विपक्षी निवेदकले विदा माग गरी निगमले शुरुमा बैशाख १३ गतेदेखि बैशाख ३१,२०६५ सम्मको लागि विदा स्वीकृत गरी विदामा बस्नु भएकोमा घरेलु कारण दर्शाई पुनः तीन महिना विदा थप स्वीकृतको लागि मे १०,२००८ को इमेल मार्फत् अनुरोध गर्नुभएको र सोको प्रत्युत्तरमा दुईवटा जहाज सञ्चालनको लागि क्रुको अभाव हुने हुँदा थप विदा स्वीकृत गर्न नसकिने हुनाले स्वीकृत विदापश्चात् कार्यालयमा हाजीर हुन निगमवाट इमेल मार्फत् विपक्षीलाई जानकारी गराइएको थियो । विपक्षी निवेदकले विदालाई अधिकारको रुपमा प्रयोग गर्न खोजिएको देखिन्छ, जवकि विदा अधिकार नभई सुविधा मात्र हो भन्ने कुरामा कुनै विवाद देखिदैन । विपक्षीले विदा स्वीकृतको लागि दिनुभएको निवेदनहरू आवश्यक प्रक्रिया पूरा नभएकोले विदा स्वीकृत हुन नसकेको र निगमको तत्कालीन उडान तालिका र क्रुको अभाव हुने देखिएकोले थप विदा स्वीकृत नगरी विपक्षीलाई पटक पटक कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो 

            विपक्षी निवेदकले मिति २०६५।६।७ मा विनाशर्त तत्काल लागू हुने गरी स्वीकृतिको लागि राजीनामा निगममा पेश गर्नुभएको थियो । निगमले मिति २०६५।७।१७ मा पत्र पठाई हाल पनि निगममा क्रुको अभाव नै रहेको हुदा यदि निगमको सेवामा निरन्तरता दिन चाहनुहुन्छ भने तपाईले दिनुभएको राजीनामा उपर पुनर्विचार गर्न र विदा नियमित गर्ने सम्बन्धमा अबिलम्व कार्यालयमा उपस्थित हुन सुचित गरिन्छ भनी पत्राचार गर्दा समेत विपक्षी निगममा लामो समयसम्म अनुपस्थित रहनुभएको थियो । निगमले पठाएको पत्रको लगभग २ महिनापछि मात्र विपक्षीले राजीनामा पत्र फिर्ता गरिपाऊँ भनी मिति २०६५।९।८ मा निगममा पत्र दर्ता गर्नुभएको र सो वीचको समयमा विपक्षी गैरहाजीर देखिएकोले निगमले निजको राजीनामा स्विकृत गर्नेतर्फ कारवाही वढाउँदै निगमको अर्थ विभागमा निज विपक्षीसँग लेनदेन बाँकी रहेको सम्बन्धमा मिति २०६५।८।१८ मा पत्र लेखेको देखिन्छ । साथै सोही समयमा निजले RAK Airways मा कार्य गरेको विवरण समेत प्राप्त हुन आएको अवस्था छ । विपक्षीले मिति २०६५।६।७ मा तत्काल लागू हुने गरी राजीनामा स्वीकृत गरिपाऊँ भनी दिएको निवेदन अनुरूप नै सोही मितिवाट लागू हुने गरी मिति २०६५।११।९ मा विपक्षी निवेदकको राजीनामा स्वीकृत गरिएको थियो । विपक्षी निवेदकको राजीनामा स्वीकृत भएको २ दिनपछि मात्र मिति २०६५।११।११ मा सेवामा हाजीर भएको भनी विपक्षीले निगममा पत्राचार गरेको देखिन्छ । निज विपक्षीको राजीनामा निगमवाट स्वीकृत भएको थाहा पाएपछि निज विपक्षी निगममा हाजीर हुन आउनु वा पत्राचार गरी हाजीर हुन खोज्नुले विपक्षी सफा हात लिई नआएको भन्ने देखिन्छ 

            निज विपक्षी स्वयमले राजीखुसीसाथ आफ्नो पदवाट राजीनामा गरी यूनाइटेड अरव ईमिरेट्सस्थित RAK Airways मा कप्तान पदमा कार्यरत रहेको कुरा RAK Airways ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखेको सन् १७ अप्रील २००८ को पत्रमा स्पष्ट उल्लेख भएको हुँदा निज विपक्षीले निगमलाई गुमराहमा राखी झुक्याई उच्च शिक्षा र विदाको बहाना बनाई अर्को विमान कम्पनीमा काम गरी पछि उक्त कम्पनीवाट फर्के पछि पुनः निगममा आउन खोज्दा संविधान प्रदत्त स्वतन्त्रताको हकवाट निगमले बञ्चित ग¥यो भन्न मिल्दैन 

            नेपाल वायुसेवा निगम कर्मचारी विनियमावली, २०५८ को नियम ६६ ले राजीनामासम्बन्धी व्यवस्था गरेको छ । जसमा भएका व्यवस्थाहरू निज विपक्षी निवेदकले नै उल्लंघन गरेको दखिन्छ । विपक्षी निवेदक आफैले कर्मचारी विनियमावलीमा भएको व्यवस्थाहरूको उल्लंघन गरी कानूनी हकमा आघात पुगेको भनी लिएको जिकीर कानूनसंगत नभई रिट निवेदन खारेज हुने स्पष्ट छ । रिट निवदेन खारेज गरिपाऊँ भन्ने नेपाल वायुसेवा निगम कार्यालय समेतको तर्फवाट परेको संयुक्त लिखित जवाफ 

            नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनसहितको मिसिल अध्ययन गरियो । रिट निवेदककातर्फवाट उपस्थित रहनुभएका विद्वान वरिष्ठ अधिवक्ताहरू हरिहर दहाल, बद्रीबहादुर कार्की र अधिवक्ता श्री शतिशकृष्ण खरेलले बहस गर्नुभयो । विपक्षी नेपाल वायुसेवा निगमकोतर्फवाट विद्वान अधिवक्ताहरू श्री दिनमणि पौडेल र नरबहादुर खड्काले बहस गर्नुभयो 

बहसको प्रारम्भ गर्दै निवदेकतर्फका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले नेपाल वायुसेवा निगम विनियमावली, २०५८ को विनियम ६६ ले राजीनामासम्बन्धी व्यवस्था गरेको छ । जसमा एक महिनापूर्व सूचना दिनुपर्ने र बण्ड गरेको भए सो फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । यसमा राजीनामा फिर्ता गर्न पाउने, नपाउने सनाखत गर्नुपर्ने, नपर्ने सम्बन्धमा केही उल्लेख गरिएको छैन । निवेदकले पदबाट राजीनामा दिएपछि राजीनामा पुनर्विचार गर्न भनी निगम स्वयंले भने पछि निवेदकले सेवा निरन्तरता गर्न चाहेको कारण मिति २०६५।९।८ मा राजीनामा फिर्ता पाउन निवेदन गरेका छन । २०६५।११।११ मा मेरो पक्ष निगममा हाजीर हुनगएको अवस्था छ । हाजीर भएपछि दुई दिन अगाडि मिति २०६५।११।९ मा राजीनामा स्वीकृत भएको भनी पत्र दिइयो Human Resource Department मा मेरो हाजीरीको पत्र पहिला दर्ता भएको छ भने विपक्षीको राजीनामा स्वीकृत भएको पत्र पछि दर्ता भएको छ । राजीनामा हाम्रो पक्षले स्वेच्छिक रुपमा दिएपछि कानूनले फिर्ता गर्न पाउदैन नभनेसम्म स्वीकृत हुनु अगाडि राजीनामा फिर्ता गर्न पाउँछ । फिर्ता लिइसकेको राजीनामा स्वीकृत गरी अवकाश दिनु गैरकानूनी छ RAK Airways मा काम गरेको वा नगरेको भन्ने कुरा प्रस्तुत मुद्दामा सान्दर्भिक छैन । सो Airways मा काम गरेको भनी कुनै कारवाही गरिएको अवस्था नभई निवेदकले दिएको राजीनामा विपक्षीकै आग्रहमा पुनर्बिचार गरी फिर्ता लिन लिखित निवेदन दिइसकेपछि राजीनामाको निवेदन अस्तित्वहिन भइसकेको छ । यस्तो अवस्थामा राजीनामा स्वीकृत हुने प्रश्न र अवस्था नै छैन । भारतको सर्वोच्च अदालतले पनि राजीनामा दिएपछि सो राजीनामा स्वीकृत हुनुभन्दा पहिला फिर्ता गर्न पाउने गरी Wing commander विरुद्ध Parthasarathy भएको मुद्दामा बोलेको हुँदा यसमा निवेदकले राजीनामा फिर्ता निवेदन दिइसकेकोले त्यसपछि राजीनामा स्वीकृत भएको हुँदा सो बदर गर्ने गरी रिट जारी गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो 

विपक्षी नेपाल वायुसेवा निगमका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरूले यी रिट निवेदकको २०६५।१।१३ देखि २०६५।१।३१ सम्म विदा स्वीकृत भएको हो । त्यसपछि २०६५।२।१ देखि विदा स्वीकृत नगराई गयल परी बस्नुभएको छ । आफ्नो कामबाट महिनासम्म अनुपस्थित रही राजीनामा दिएपछि पनि निगमले निजलाई काम गर्न चाहेमा वोलाएकै हो । तर निजले अविलम्व हाजीर नभई पटक पटक पत्राचार मात्र गरेबाट निजले निगममा फर्किन अनिच्छा देखाउनुभएको स्पष्ट छ । लामो समयसम्म बिदा नलिई बसेको र निगमलाई जानकारी नदिई विदेश यू.ए.ई स्थित RAK Airways मा काम गरेको जानकारी निगमलाई हुनासाथ निवेदकको राजीनामा स्वीकृतिको प्रक्रिया प्रारम्भ भई राजीनामा स्वीकृत भएको हो । यसमा कुनै प्रत्यक्ष कानूनी त्रुटि छैन । निगमले Trained गरेको एष्यित लाई निगममा फर्काउने प्रयास असफल भएपछि राजीनामा स्वीकृत भएको हो । राजीनामा स्वीकृत गर्ने निगमको अधिकार हो । निवेदकको कुनै हक हनन नभएकोले निवेदन खारेज गरिपाऊँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो 

निर्णयतर्फ विचार गर्दा, यी निवेदक २८ वर्षदेखि नेपाल वायुसेवा निगमको सेवामा कार्यरत रहेको र निगममा कार्यवोझ केही कम भएकोले सो अवधिमा विद्यावारिधि गर्न विदा माग गर्दा नदिएको कारणबाट मिति २०६५।६।७ मा विना कुनै शर्त स्वीकार गरेमा मञ्जूर हुने गरी राजीनामा दिएकोमा विपक्षी निगमको मिति २०६५।७।१७ को राजीनामाउपर पुनििर्वचार गर्नु भन्ने पत्रलाई आधार मानी मिति २०६५।९।८ मा राजीनामा रद्द गरी विदा नियमित गरिपाऊँ भनी दरखास्त दिएको थिएँ । विदा नियमित गर्नेतर्फ कुनै कारवाही नभएपछि मिति २०६५।११।११ मा निवेदक सेवामा हाजीर भएकोमा मिति २०६५।६।७ को राजीनामालाई नै मिति २०६५।११।९ मा स्वीकृत गरेकोले ५ महिना अघिदेखि लागू हुने गरी भएको राजीनामा स्वीकृत समेतको कामकारवाही बदर गरी मेरो पदमा हाजीर गराई तलव समेत दिनु भन्ने परमादेश समेत जारी गरिपाऊँ भन्ने निवेदन माग दावी रहेको देखिन्छः

उल्लिखित तथ्यहरूको विवेचना गरी दुवै पक्षका कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकीर सुनी हेर्दा निम्न प्रश्नहरूको निरुपण गर्दै निर्णय गर्नुपर्ने भएको छः

 

१) निवेदकले राजीनामा दिएपछि विपक्षी निगमको आग्रहमा राजीनामा फिर्ता गरेको (Withdraw) मा पहिला दिएको राजीनामा स्वीकृत गर्न मिल्ने हो, होइन ?

२)       निवेदकको मागदावीबमोजिम राजीनामा स्वीकृत गरेको विपक्षीको निर्णय बदर गर्ने गरी आदेश जारी गर्नुपर्ने हो होइन ?

 

२. पहिलो प्रश्नतर्फ विचार गर्दा, यी निवेदक वायुसेवा निगमको विमान चालक पदमा रही सिनियर क्याप्टेन पदमा मिति २०६५।६।७ मा राजीनामा नदिएसम्म वहाल रहेको भन्नेमा विवाद छैन । निजले मिति २०६५।१।१३ देखि २०६५।१।३१ सम्म स्वीकृत विदामा वसेको भन्नेमा पनि विवाद छैन । तर त्यसपछि यी निवेदकले तीन महिनाको विदा माग गरेकोमा सो विदा स्वीकृत भएको छैन । विदा स्वीकृत नभएमा निगमको काममा फर्की आउनुपर्नेमा नआई मिति २०६५।६।७ मा आफ्नो पदबाट राजीनामा पठाएको देखिन्छ । मिसिलसंलन रहेको निजको राजीनामाको प्रतिबाट निज आफ्नो पेशा र स्वास्थ्यलाई ध्यानमा राखी विदेशमै केही समय रही केही महिनाको अन्तरमा स्वास्थ्य परीक्षण गर्ने निर्णय म आफैले गरी अपरेशन विभागमा इमेल,फैक्सद्वारा विदाको लागि पटक पटक निवेदन पठाएको थिएँ भन्ने समेत उल्लेख गरी अस्वस्थ भएको कारणबाट स्वास्थ परीक्षण गरी औषधि सेवन गर्नुपर्ने भएकोले विदा माग गरेको भन्ने देखिन आउँछ । त्यसरी माग गरेको विदा स्वीकृत नगरी दिएको भन्ने समेतका कारण दर्शाई विना शर्त तत्काल लागू हुने गरी प्रबन्ध निर्देशक समक्ष उल्लिखित मितिमा राजीनामा दिएको भन्ने देखिन्छ । निवेदकले आफू अध्ययनको लागि विदा माग गरेको भन्ने निवेदन लेखको विपरीत सो पत्रवाट स्वास्थ्य उपचारको लागि भनी विदा माग भएकोमा विदा स्वीकृत नभएको कारणले राजीनामा दिएको भन्ने देखिन आउँछ । साथै मिति २०६५।७।१७ को निगमको पत्रमा पनि यी निवेदकले अगष्ट २, २००८ मा निगम समक्ष विरामी विदा माग गरी पत्र पठाएको भन्ने देखिएबाट पनि निज विरामी परेको भन्ने आधारमा विदा माग गरेको देखिन आउँछ 

३. यसरी कुनै कारण नदेखाई वा विरामी भएको कारण देखाई विदाको माग गरेको देखिएपनि यी निवेदकले वास्तवमा संयुक्त अरब इमिरेट्स (यू.ए.ई) दुबईको एक निजी हवाई सेवामा सोही अवधीमा अर्थात् १७ अप्रील २००८ (मिति २०६५।१।५) मा RAK Airways मा क्याप्टेन पदमा कार्यरत रहेको भन्ने सो एयरलाइन्सको पत्रवाट देखिन्छ । निजले सो अवधि मे १०,२००८ मा पुनः तीन महिनाको लागि विदा माग गरेको भन्ने पनि निगमको लिखित जवाफबाट देखिन्छ । यसबाट निज निवेदकले आफू कार्यरत रहेको नेपाल वायुसेवा निगमलाई ढाँटी विदेशी एयरलाइन्समा काम गरेको देखिएको छ । यी निवेदकले पहिलो पटक स्वीकृत विदाको अवधि अर्थात् २०६५ बैशाखदेखि नै दुबईको उक्त कम्पनीमा कार्यरत रहेको तथ्य उक्त कम्पनीको १७ अप्रील २००८ को पत्र र नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०६५।९।२० को पत्रवाट समेत पुष्टि भएको छ । यस तथ्यलाई निवेदक स्वयंले खण्डन नगरेको र आज सुनवाईको क्रममा पनि निवेदकका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूबाट पनि खण्डन गरेको पाइएन । अपितुः यी निवेदक दुवईको RAK Airways मा काम गरे नगरेको कुरा सान्दर्भिक नरहेको भन्नेसम्म निवेदकतर्फका वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्कीबाट व्यक्त गरिएको विचारबाट पनि उक्त तथ्यको पुष्टि भएको छ 

            ४. उपलव्ध तथ्यहरूबाट यी निवेदकले नेपाल वायुसेवा निगमसँग विदा माग गर्दै विदेशी हवाई कम्पनीमा काम गरेको पुष्टि भइसकेको छ; जुन आफैमा गैरकानूनी कार्य हो । सोही आधारमा कारवाही नगरिएको भए पनि त्यसको लाभ यी निवेदकले पाउने होइन । यस तथ्यलाई पूरै लोप गरी यस अदालतलाई पनि ढाँट्ने हिसावले प्रस्तुत रिट निवेदन दायर गरेको देखिएको छ । आफू विद्यावारिधि (Ph.D.) गर्न विदा माग गर्दा सञ्चित विदा हुदाँहुदैँ पनि विदा स्वीकृत नगरेको भन्ने प्रस्तुत निवेदन लेखको व्यहोरा सत्य देखिन आउदैन । निज पी.एच.डी. गर्न नभई नेपाल वायुसेवामा कार्यरत रहदारहदै लुकिछिपी विदेशी कम्पनी RAK Airways मा काम गरेको देखिनु अत्यन्त गम्भीर कुरा हो । एकै साथ दुई हवाई कम्पनीमा काम गर्न मिल्दैन । त्यसमा पनि यी निवेदक एकैसाथ स्वदेशी नेपाल एयरलाइन्समा र विदेशको RAK Airways मा काम गरेको देखिनु कानूनविपरीत मात्र नभई पदीय आचरण र नैतिकताविपरीतको कार्य पनि हो । यसका साथै निजको कति सञ्चित विदा उपभोग गर्न बाँकी थियो भन्ने कुरा निवेदनमा कतै उल्लेख छैन । कुन देशको कुन विश्वविद्यालयबाट पी.एच.डी. गर्न गएको भन्ने कतै उल्लेख छैन । यसवाट निवेदकले नेपाल वायुसेवा निगम र यस अदालतलाई समेत ढाँटेर यो रिट निवेदन दिएको स्पष्ट देखिएकोछ । आफ्नो अधिकारको खोजी गर्नेले सर्वप्रथम शुद्ध नियत र सफा हातले अदालत प्रवेश गर्नुपर्छ । तर यसको विपरीत यी निवेदकले रिट निवेदनमा झूठा व्यहोरा र गलत तथ्य उल्लेख गरेकोले यी निवेदक सफा हातले अदालतमा प्रवेश गरेको भन्ने देखिन आएन 

            ५. जे जस्तो कारणबाट भए पनि यी निवेदक आफ्नो कार्यस्थलमा र आफू कार्यरत नेपाल एयरलाइन्सको काममा उपस्थित नभई पटकपटक विदा माग गरेको भन्ने निजले पेश गरेको राजीनामा र त्यसको जवाफमा विपक्षी निगमले निजलाई पठाएको मिति २०६५।७।१७ को पत्रवाट स्पष्ट हुन आउँछ । निज निवेदक स्वास्थ्यको कारणबाट कार्यालयमा उपस्थित हुन नसकेको भए लागेको रोगको प्रकृति र नेपालमा औषधोपचारको उपलव्धता समेतलाई विचार गरी माननवीयताको आधारमा भए पनि विचार गर्न सकिने कुरा हो । तर अस्वस्थ भएको कारणबाट निजले विदा माग गरेको भन्ने नभई अध्ययनको लागि विदा माग गरेको भन्ने प्रस्तुत निवेदन लेखमा उल्लेख गरेबाट निवेदकको भनाई स्वतः खण्डित हुन आउँछ । वास्तवमा उक्त दुईमध्ये दुबै वा कुनै एक कारण परी यी निवेदक विदा वसेको वा विदा माग गरेको हुँदै होइन । निजले १० मे, २००८ मा इमेलबाट माग गरेको विदाको सम्बन्धमा दुईवटा जहाज सञ्चालनको लागि क्रूको अभाव हुँदा थप विदा स्वीकृत गर्न नसकिने हुनाले स्वीकृत विदापश्चात् कार्यालयमा हाजीर हुन जानकारी गराएको भन्ने नेपाल वायुसेवा निगमको मिति २०६५।७।१७ का पत्रवाट देखिन्छ । यसपछि पनि यी निवेदक आफ्नो काममा फर्केको नदेखिएबाट निज निगमको आफ्नो सेवालाई जिम्मेवारीपूर्वक निरन्तरता दिन इच्छुक रहेको भन्ने देखिन आएन । विदा कुनै अधिकारको कुरा नभएर कार्यालयको कार्यसम्पादनमा प्रतिकूल असर नपर्ने गरी प्रदान गर्न सकिने सुविधासम्म हो भन्ने कुरामा कुनै द्विविधा छैन । यस कुरालाई यी निवेदकले बुझेकै हुनुपर्छ 

            ६. माथि विवेचना गरिएको तथ्यगत पृष्ठभूमिमा निवेदकले विदा स्वीकृत नभएको र तलब रोक्का गर्न लागेको भन्ने समेत उल्लेख गरी मिति २०६५।६।७ मा नेपाल वायु सेवा निगमसमक्ष राजीनामा प्रस्तुत गरेको  देखिन्छ । सो राजीनामाको जवाफमा मिति २०६५।७।१७ गते यदि निगमको सेवा निरन्तरता दिन चाहनु हुन्छ भने तपाईले दिनुभएको राजीनामाउपर पुनर्बिचार गर्न र विदा नियमित गर्ने सम्बन्धमा अविलम्व कार्यालयमा उपस्थित हुन सूचित गरिन्छ भनी निगमको तर्फबाट यी निवेदकलाई पत्र पठाएको देखिन्छ । अविलम्ब उपस्थित हुन भनी पठाइएको पत्रको जवाफमा यी निवेदक निगममा गएको देखिएन । नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगरी अविलम्व वोलाएको दुई महिनापछि निजले अनेक शर्त राख्दै मिति २०६५।६।७ को राजीनामा फिर्ता लिन इच्छा व्यक्त गर्दै निगमलाई मैले निगमको सेवालाई निरन्तरता दिने निर्णय गरेकोले सो राजीनामा पत्रलाई रद्द गरी विदा नियमित गर्ने स्वीकृति दिनुहुन अनुरोध गर्दछु भनी निगमसमक्ष मिति २०६५।९।८ मा निवेदन पठाएकोसम्म देखिन आउँछ । निगम समक्ष आफै उपस्थित भएको होइन । यी निवेदकले राजीनामा फिर्ता पाऊँ भनी दिएको उल्लिखित मिति २०६५।९।८ को निवेदनको करीव दुई महिनापछि मात्र यी निवेदक मिति २०६५।११।११ मा निगममा हाजीर हुन गएको भन्ने देखिन्छ 

            ७. यसरी यी निवेदकले मिति २०६५।६।७ मा दिएको राजीनामा स्वीकृत नहुँदा पुनर्बिचारको लागि निगमले निवेदकलाई २०६५।७।१७ मा पत्र लेखेपछि सोको आदर गर्दै आफ्नो उक्त राजीनामा फिर्ता लिएको वा आफ्नो काममा फर्की आएको होइन । नेपाल वायु सेवा निगमको मिति २०६५।७।१७ को पत्रलाई निगमको सेवामा रहँदै विदेशको अर्कै एयरलाइन्सको सेवालाई पनि निरन्तरता दिने माध्यमसम्म बनाएको देखिन्छ । अन्यथा नेपाल वायुसेवा निगमको सेवालाई मात्र स्वीकार गरी आफ्नो राजीनामा फिर्ता लिन चाहेको भए उक्त पत्र प्राप्त गरे पछि तत्काल मिति २०६५।६।७ को राजीनामा फिर्ता लिने र आफू निगमको सेवा गर्न तयार रहेको भनी आफै निगममा उपस्थित हुनुपर्ने थियो । निगमले मिति २०६५।७।१७ को पत्रबाट अविलम्व वोलाएको छ । अविलम्बको अर्थ यी निवेदकले अनिश्चितकालसम्म जहिलेसुकै राजीनामा फिर्ता लिन वा काममा फर्कन सक्ने भन्ने होइन अविलम्बको अर्थ तत्काल अर्थात् भोलिपल्टै वा बढीमा सात दिनको अवधिलाई लिन सकिन्छ 

            ८. यी निवेदकले मिति २०६५।९।८ मा केही शर्त राखी मिति २०६५।६।७ को राजीनामा रद्द गरिपाऊँ भनी निवेदनसम्म दिएको अवस्था छ । सो निवेदनसँगै आफू आफ्नो काममा हाजीर नभई मिति २०६५।११।११ मा मात्र उपस्थित भई निवेदन दिएको पाइन्छ । सोही अवधिमा यी निवेदकले निगमसँग लुकाएको तथ्य अर्थात् निज यू.ए.ई.को RAK Airways मा काम गरेको जानकारी निगमलाई प्राप्त भएपछि यी निवेदकले पुनः नेपाल वायुसेवा निगमको सेवामा फर्किने अपेक्षा, अवस्था र सम्भावना समाप्त भएकोले निवेदकको २०६५।६।७ को राजीनामा मिति २०६५।११।९ मा निगमबाट स्वीकृत भएको देखिन्छ । यसरी यी निवेदकले दिएको राजीनामा निजले रद्द गरेको वा फिर्ता लिएको नभई गैरकानूनी ढंगले अन्यत्र काम गर्दै निगममा पनि आफ्नो सेवाको अस्तित्वलाई जोगाई राख्न दोहोरो आर्थिक लाभ लिने प्रयाससम्म गरेको देखिन्छ । यसरी छलकपटपूर्ण व्यवहार गर्नेको हकमा निवेदकतर्फका विद्वान कानून व्यवसायहिरूले प्रस्तुत गर्नुभएको भारतीय सर्वोच्च अदालतको नजीर त्यहाँ पनि लागू नहुने र यो रिट निवेदकको हकमा अनुनयात्मक (Persuasive Force) को रुपमा पनि आकर्षित हुन सक्ने अवस्था छैन 

            ९. माथिका प्रकरणहरूमा विवेचना गरिएको तथ्य र प्रमाणको सन्दर्भमा हेर्दा यी निवेदकले दिएको मिति २०६५।६।७ को राजीनामा निजले स्वच्छ नियतले फिर्ता लिएको वा रद्द गरेको वा सो गर्ने प्रयास गरेको देखिएको  छैन । यस्तो अवस्थामा सो राजीनामा यथास्थितिमा रही रहेकोले जुनसुकै बेलापनि स्वीकृत हुन सक्ने हो । राजीनामा दिएको केही निश्चित् अवधिभित्र राजीनामा स्वीकृत गर्नुपर्ने र नगरेमा सो राजीनामा आफै अस्तित्वहीन हुने अवस्था छैन । स्वीकृत गर्नुपर्ने कुनै निश्चित मितिको किटान वा समय सीमाको निर्धारण विपक्षी नेपाल वायुसेवा निगमको कर्मचारी नियमावलीमा भएको देखिदैन । व्यवस्थापनको इच्छानुसार जहिले पनि स्वीकृत गर्न मिल्ने देखिन्छ । यसबाट मिति २०६५।६।७ मा दिएको राजीनमा सोही मितिबाटै लागू हुने गरी मिति २०६५।११।९ मा स्वीकृत गरिएको कार्यलाई कानूनी त्रुटिपूर्ण वा अनाधिकृत भन्न मिल्ने देखिएन 

            १०. अव निवदेकको माग बमोजिम आदेश जारी गर्नुपर्ने हो, होइन भनी विचार गर्दा यी निवेदकले मिति २०६५।६।७ मा आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि लागू हुने गरी २०६५।११।९ मा स्वीकृत भइसकेको  छ । सो राजीनामा अधिकारप्राप्त नभएको व्यक्तिले स्वीकृत गरेको भन्ने जिकीर पनि छैन । सो राजीनामा फिर्ता लिएको भनिए पनि विधिवत् फिर्ता लिएको नदेखिएको र निजले स्वच्छाले दिएको राजीनामा निगमले नै अविलम्ब हाजीर हुन आएमा पुनर्विचार हुन सक्ने भनी गरेको निर्देशबमोजिम यी निवेदक अविलम्व हाजीर हुन नगएबाट राजीनामा स्वीकृत भएको कार्य कानूनप्रतिकूल नभएको भनी पहिलो प्रश्नको निरोपणको सन्दर्भमा सविस्तार विवेचना गरिसकिएको छ 

            ११. यी निवेदकले सफा हात र स्वच्छ नियतले अदालत प्रवेश नगरको भन्ने पनि माथिको प्रकरणमा उल्लेख गरिसकिएको छ । यसरी छलछाम गरी वास्तविकता लुकाई आउने कसैलाई पनि यस अदालतले असाधारण अधिकारक्षेत्र प्रयोग गरी मद्दत गर्न सक्ने अवस्था हुँदैन । अधिकारको खोजी गर्नेले आफ्नो कर्तव्य निश्चितरुपले पूरा गर्नुपर्छ । आफ्नो कर्तव्य पूरा नगर्नेले अधिकारको खोजी गर्न पाउने पनि होइन । स्वदेशको ध्वजावाहक एयरलाइन्सको स्थायी पाइलट (क्याप्टेन) ले लुकेर विदेशको एयरलाइन्समा सेवा दिनु, त्यहाँ काम गर्नु निजको पदीय आचरण र नैतिकता विपरीतको कार्य हो । नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त विनियमावली,२०५८ को पनि विपरीत हो । यस्तो गैरकानूनी काम गर्नेले संविधानबमोजिमको मौलिक हकको प्रचलनको दावी गर्नु कानून र समन्याय लगायत कुनै पनि मापदण्डबाट तर्कसंगत र औचित्यपूर्ण देखिन आउँदैन । यस्तो अवस्थामा यी निवेदकको दावी निराधार र निरर्थक देखिन्छ । यस्तो गलत प्रवृत्तिलाई न्यायिक संरक्षणबाट प्रोत्साहित गर्न मिल्दैन 

            १२. आफ्नो व्यवहार र आचरणबाट यी निवेदकले विपक्षी नेपाल वायुसेवा निगमप्रति जिम्मेवार र इमानदार रहेको भन्ने पनि देखिन आएको छैन । विद्यावारिधि गर्न निगमसँग विदा माग गरेको भनी झुठा व्यहोरा उल्लेख गरी यी निवेदक यस अदालतमा प्रवेश गरेको देखिन्छ । विदा स्वीकृत नगराई आफूखुशी वाहिर गएर बसेको मात्र नभई अनुपस्थित रहेको सोही अवधिमा अन्यत्र यी निवेदकले सेवा गरेको देखिएबाट निगमको कामकारवाहीमा प्रतिकूल असर पुग्न गएको अवस्था पनि गम्भीररुपमा विचारणीय रहेको छ । यसरी निगमको सांगठनिक कामकारवाहीमा र निगमले प्रदान गर्ने सेवामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने कुरा समेतलाई विचार गरी निवेदकले स्वेच्छाले दिएको राजीनामा स्वीकृत गरिएवाट यी निवेदकको कुनै संवैधानिक र कानूनी हकहितमा प्रतिकूल असर परेको भन्ने देखिन आएको छैन । यी निवेदकलाई निजले अन्यत्र काम गरेको कारण कारवाही नगरिएकोले अन्यत्र काम गरेको कुरा असान्दस्भिक छ र राजीनमा फिर्ता लिएपछि स्वीकृत गर्न नमिल्ने भन्ने निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताहरूको बहस जिकीर पनि तर्कसंगत देखिन नआएकोले सोसँग सहमत हुन सकिएन 

            १३. तसर्थ माथि उल्लिखित आधार र कारणबाट यी निवेदकले नेपाल वायुसेवा निगमसमक्ष दिएको मिति २०६५।६।७ को राजीनामा सोही मितिदेखि लागू हुने गरी मिति २०६५।११।९ मा स्वीकृत भएबाट यी निवेदकको कुनै संवैधानिक वा कानूनी हकमा प्रतिकूल असर नपरेकोले सो बदर गर्ने गरी निवेदकको माग बमोजिम रिट जारी गर्नुपर्ने अवस्था रहेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार वुझाई दिनू ।                                           

उक्त रायमा म सहमत छु 

 

न्या.भरतराज उप्रेती

 

इति संवत् २०६९ साल साउन २३ गते रोज ३ शुभम्

इजलास अधिकृत : चुरामन खड्का

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु