शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२३६ - उत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ ।

भाग: २९ साल: २०४४ महिना: माघ अंक: १०

निर्णय नं. ३२३६     ने.का.प. २०४४      अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४३ सालको रिट नं. १९४७

विषय : उत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ ।

 

निवेदक      :भक्तपुर जिल्ला चाँगु गा.पं. वडा नं.९ साग्दह बस्ने विष्णुहरि श्रेष्ठ ।

विरुद्ध

विपक्षी : प्र.जि.अ. श्री रामेश्वरदास श्रेष्ठ, जिल्ला कार्यालय भक्तपुर ।

      भक्तपुर जिल्ला,गा.पं. वडा नं. ६ बस्ने घनश्याम प्रसाद उपाध्याय ।

      ललितपुर जिल्ला सैंबू गा.पं. वडा नं.३ बस्ने विष्णु प्रसाद रिसाल ।

      ऐ.ऐ बस्ने हेम कुमारी उपध्याय ।

आदेश भएको मिति: २०४४।७।९।२ मा

     निवेदकले जिकिर लिएको कागजमा बक्स भएको हु.प्र.को व्यहोरा सुनी पाएको भन्ने उल्लेख गरेको र रिट निवेदनमा सो व्यहोरा उल्लेख गरेको नदेखिँदा वास्तविक तथ्यलाई लुकाई शुद्ध हातले यस अदालतमा प्रवेश गरेको भन्न सकिने अवस्था नदेखिएको र श्री ५ महाराजाधिराज सरकारबाट बक्स भएको हु.प्र. बमोजिम कागज भए गरेको देखिन आएकोले निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाटःX

विपक्षी तर्फबाट      : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदार प्रसाद शर्मा

उल्लेखित मुद्दाःX

आदेश

न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.    बाजे रत्नमानको नाउँमा दर्ता भएको ४० नं. मौजे न.नं.२८ र न.नं.६४ र न.नं.२४ भक्तपुरमा तिरो बुझाउन पर्ने खेत सर्भे नापी हुँदा भक्तपुर जिल्ला चाँगु गा.पं. वडा नं. ९(क) कि.नं. १८१ को क्षेत्रफल ४० को खेत कित्ता १ भिडी दर्ता भएको उक्त जग्गा पिता भक्तमानको अंश भागमा परी निज पिताका ३ छोराहरू जेठा अहरी माहिला म निवेदक विष्णुहरि कान्छा कृष्णहरि समेतले जोती भोगी कमाई आएको उक्त जग्गाको जोताहामा पिता भक्तमानको नाम लेख्नु पर्नेमा भुलले बाजे रत्नमानको नाम लेखिन गएको थियो ।

३.    उक्त जग्गाको पोत पिता भक्तमानले जगन्नाथ न्यौपानेलाई बिक्री गर्नु भई पिता ०३६ सालमा परलोक हुनु भएपछि निज जगन्नाथलाई बाली बुझाई कमाई आएकोमा म निवेदक समेतले चोरी गरी लगेको धान बिगो रु. ५,०००।भराई पाउँ भनि विपक्षी मध्ये विष्णु प्रसाद रिसालले दिएको जाहेरी दर्खास्त बमोजिम चलेको चोरी मुद्दामा प्रतिवादीहरूले धान बाली लगाएको रहेछ भन्न र प्र. हरूको हक पुगेको प्रमाण समेत देखिन आएन । वारदातको रुपबाट लुटपिटमा परिणत हुने ठहर्छ भन्ने भक्तपुर जि.अ.को ०४२।९।११।५ मा फैसला भए उपर मेरो र श्री ५ को सरकारको वागमती अञ्चल अदालतमा पुनरावेदन परेकोमा विवादित खेतमा प्रतिवादीहरूले बाली लगाएको रहेछ भन्न मिलेन प्रतिवादीहरूले प्रमाण पेश गरेको देखिन आएन भन्ने शब्दावली चोरी मुद्दामा ठहरसँग असंगत देखिनाले सो शब्दाबलीसम्म बदर भई आंशिक उल्टी हुने ठहर्छ भनी वागमती अञ्चल अदालतबाट मिति ०४३।२।४।२९ मा फैसला भयो ।

४.    पुनः निज विपक्षी विष्णु प्रसाद रिसाल, घनश्याम उपाध्याय हेम कुमारी उपाध्याय समेत उजूरी निवेदन दिई विपक्षी प्र.जि.अ.ज्यू जिल्ला कार्यालय भक्तपुर मार्फत चाँगु प्रहरी चौकीका प्रहरीद्वारा मलाई मिति ०४३।७।११ गते पक्राउ गरी विपक्षी प्र.जि.अ.ज्यूको आदेशबाट थुनछेक गरी जि.का. भक्तपुरमा  उपस्थित गराई पहिले नै आधा पेज जति लेखिराखेको कागजमा भक्तपुर जिल्ला चाँगु गा.पं.वडा नं. ९(क) कि.नं. १८१ क्षेत्रफल ४० को जग्गामा प्रवेश गरी भोगचलन समेत गर्ने छैन गरेमा यस जि.का. बाट गरिएको सजायँ भोग्न तयार छु भन्ने समेत व्यहोराको मेरो इच्छा विरुद्ध प्र.जि.अ.ज्यूको आदेशबाट कागज गराई आइन्दा उक्त जग्गामा प्रवेश समेत नगर्नु भन्ने समेत व्यहोराको निर्णय गर्नुको साथै ०४३।७।१३ गतेदेखि कार्तिक १८, २४ गतेको मौखिक तारेख दिई हाल मिति ०४३।८।८ गतेको तारेख दिइएको छ । यसरी काम कारवाही गर्न नभएको अधिकार अतिक्रमण गरी विपक्षी प्र.जि.अ.ज्यूले गर्नु भएको सम्पूर्ण काम कारवाही आदेश र निर्णय मुलुकी ऐन, अ.बं. ३५ नं.ले बदरभागी हुँदा जि.का. भक्तपुरबाट मिति ०४३।७।१३ मा मलाई गराइएको कागज र प्र.जि.अ.ज्यूको आदेश निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी आइन्दा यस्तो काम कारवाही नगर्नु भनी प्रतिषेधको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी संविधानद्वारा प्रदत्त हक प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।

५.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो लिखित जवाफ पठाउनु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति ०४३।८।१७।३ को आदेश ।

६.    घनश्याम प्रसाद उपाध्यायले चढाउनु भएको बिन्तिपत्र व्यहोरा साँचो भए हक बेहक गर्न नपर्ने विषयमा बुझी कानुन बमोजिम गर्नु निवेदकलाई जनाउ दिनु भन्ने हु.प्र. बक्स भई कारवाहीको लागि यस कार्यालयमा प्राप्त हुन आएकोले रुद्रहरी श्रेष्ठ र विष्णुहरि श्रेष्ठलाई झिकाई निज घनश्याम उपाध्याय समेत रोहवरमा राखी मेल मिलाप गराउन खोज्दा निज विपक्षीहरूले कागज गरी जान मन्जूर गरी मिति ०४३।७।१३ मा यस कार्यालयबाट कागज गराएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जिल्ला कार्यालय भक्तपुरको लिखित जवाफ ।

७.    विवादको जग्गा हेम कुमारीले लिलाममा सकारी लिएको र रत्नमानको नाउँमा जग्गा निजका छोरा भक्तमानले जगन्नाथलाई जोत पोतै बिक्री गरेको लिखत बदर गरिपाउँ भन्ने हेम कुमारीको फिराद परेकोमा लिखत बदर हुने भन्ने भक्तपुर जिल्ला अदालतको निर्णय सदर गरेको वागमती अञ्चल अदालतको फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३५।१२।२६ मा अनुमति नहुने आदेश भएको र जगन्नाथ न्यौपानेले हेम कुमारी उपर स.अ.मा दर्ता गर्नु भएको रिट निवेदन ०४०।३।१७ मा खारेज हुने गरी निर्णय भइसकेकोलाई अन्यथा भन्न मिल्दैन ।

८.    मैले श्री ५ महाराजाधिराज सरकारको पाउँमा चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए हक बेहक गर्नु नपर्ने विषयमा बुझी कानुन बमोजिम गर्नु भन्ने हु.प्र.बक्स भए अनुरुप नै हक बेहकमा इन्साफ गर्नु नपर्ने विषय भएकोले प्र.जि.अ.जि.का. भक्तपुरले विपक्षीहरूलाई झिकाई मलाई समेत रोहवरमा राखी मेलमिलाप गराउन खोज्दा विपक्षीले खुसी राजीसाथ उक्त कागज गरिदिएका हुन् थुनछेक गरी कागज गराएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको घनश्यामप्रसाद उपाध्यायको लिखित जवाफ ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन प्रस्तुत निवेदनमा विपक्षी तर्फबाट उपस्थित हुनुभएको विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माको बहस समेत सुनियो ।

१०.    निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने नै प्रस्तुत निवेदनमा निर्णय दिनु पर्ने हुन आयो ।

११.    यसमा बाजे रत्नमानको नाउँमा दर्ता भएको पिता भक्तमानको अंश भागमा परी हामीले कमाई जोती भोगी आएको जग्गामा प्रवेश गर्न नपाउने गरी जि.का. भक्तपुरबाट गराएको कागज र निर्णय आदेश समेत बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर भएकोमा हेम कुमारीले  लिलाम सकारेको उक्त जग्गाको जोतपोत निवेदकको पिता भक्तमानले जगन्नाथ न्यौपानेलाई बिक्री गरेको लिखत बदर गराई पाउँ भनी दिएको फिरादमा लिखत बदर हुने ठहर भएको अन्तिम भइरहेकोबाट निवेदकको हक लाग्ने होइन ।

१२.   श्री ५ महाराजाधिराज सरकारबाट व्यहोरा साँचो भए हक बेहक गर्नु नपर्ने विषयमा बुझी कानुन बमोजिम गर्नु भन्ने हु.प्र. बक्स भए अनुरुप नै विपक्षीलाई झिकाई मलाई समेत रोहवरमा राखी मेल मिलाप गराउन खोज्दा विपक्षीले खुसीराजीसाथ उक्त कागज गरिदिएका हुन् भन्ने समेत विपक्षीको जिकिर देखिन्छ ।

१३.   जिल्ला कार्यालय भक्तपुरको कारवाही निर्णय फायल हेर्दा मिति ०४१।८।१७।१ र ०४३।२।३०।६ मा बक्स भएका हु.प्र. बमोजिम कारवाहीको उठान भएको देखिन्छ । निवेदकले जिकिर लिएको कागजमा बक्स भएको हु.प्र.को व्यहोरा सुनी पाएको भन्ने उल्लेख गरेको र रिट निवेदनमा सो व्यहोरा उल्लेख गरेको नदेखिँदा वास्तविक तथ्यलाई लुकाई शुद्ध हातले यस अदालतमा प्रवेश गरेको भन्न सकिने अवस्था नदेखिएको र श्री ५ महाराजाधिराज सरकारबाट बक्स भएको हु.प्र.बमोजिम कागज भए गरेको देखिन आएकोले निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने भएबाट प्रस्तुत निवेदन खारेज हुन्छ । आदेशको जानकारी सम्बन्धित कार्यालयलाई दिन आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ता कार्यालयमा पठाई नियमानुसार फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.श्री रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल कार्तिक ९ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु