शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२३७ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: माघ अंक: १०

निर्णय नं. ३२३७    ने.का.प. २०४४      अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४२ सालको फौ.पु.नं. ५०५, ५०६, ५१२

सम्वत् २०४३ सालको फौ.सा. नं. ७५

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: गा.स.स उमा गिरीको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: लमजुङ धमिली कुवा गा.पं वडा नं. १ बस्ने टाउके भन्ने जंगु गिरी ।

पुनरावेदक/प्रतिवादी:लमजुङ धमिली कुवा गा.पं.वडा नं.१ गरम बेसी भै हाल लमजुङ कारागारमा थुनामा रहेका बृद्धि बहादुर सिलवाल ।

विरुद्ध

विपक्षी/वादी: उमा गिरीको जाहेरीले श्री ५ को सरकार ।

पुनरावेदक/प्रतिवादी: लमजुङ धमिली कुवा गा.पं.वडा नं.१ गरम बेसी भै हाल कारागार शाखा लमजुङमा थुनामा बस्ने पूर्ण भन्ने पुरन गिरी ।

ऐ.ऐ घर भै ऐ.ऐ मा थुनामा रहेकी पार्वती गिरी ।

ऐ.ऐ घर भै ऐ मा थुनामा बस्ने वालकृष्ण गिरी ।

विरुद्ध

विपक्षी/वादी: ऐ. ऐ. बस्ने उमा गिरीको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति: २०४४।७।११।४ मा

अभियुक्तहरूले गरेको प्रहरीको सावितीलाई हेर्दा यदाकदा प्रहरीमा भएको साविती बयान अमान्य गर्ने अवस्था नपर्ने होइन तर सामान्य र स्वभाविक अवस्थामा पनि अमान्य गर्नु उपयुक्त नदेखिने ।

(प्रकरण नं. ३३)

     जाहेरी दर्खास्तमा नाम नामासी समेतका इतिबृत्त खुलेकै हुनै पर्दछ भन्ने बाध्यता नदेखिने।

(प्रकरण नं. ३४)

     अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज प्रहरीले कुटपिट गरी साविती गरेको भनी अभियुक्त प्रतिवादीहरूले कुनै घा चोट देखाउन नसकेकोबाट अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज, बरामद भएका फिष्टीको मुखमा बुझो लगाएको टाला र पोष्टमार्टममा ४१/२ महिनाको बालक फिष्टीको गर्भमा रहेको र मृतकको घाँटी कसिई भुत्ते बस्तुले हिर्काएको भन्ने लेखिएबाट समेत समर्थित भएकोले प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न नमिल्ने ।

(प्रकरण नं. ३५)

प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की

श्री ५ को सरकार तर्फबाट: विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री बलराम के.सी.

उल्लिखित मुद्दा: (१) ने.का.प. २०४३, नि.नं. २९१२, पृ. ११०४ मा सतन धोवीको जाहेरीले श्री ५ को सरकार विरुद्ध हरिराम धोवी समेत भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादित ।

            (२) ने.का.प.२०४३, कार्तिक नि.नं. २७७२, पृष्ठ ६१५ मा फुल बेञ्जबाट पु.प्र.मान बहादुर भण्डारी समेत विपक्षी वादी श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादित ।

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी प्र.बुद्धि बहादुर सिलवालको, बालकृष्ण गिरी समेतको र श्री ५ को सरकारको यस अदालतमा छुट्टा छुट्टै पुनरावेदन परी  साधकको सदरको लागि समेत बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको विवरण यसप्रकार छ ।

२.    मिति २०३९।१०।२९ गते दिउँसो अन्दाजी ४ बजेको समयमा बस्तु चराउन भनी पाँडे बेसी भन्ने पाखा तिर गएकी बसुन्धरा पराजुलीले फिष्टीको लाश देखी खबर गरेकीले जाहेरी गर्न आएको छु । घटनास्थल हेर्दा निज फिष्टीको मृत्यु कर्तव्यबाट भएको भन्ने प्रष्ट भएको साथै कस्ले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको गा.स.स उमा गिरीको ०३९।११।१।१ को जाहेरी दर्खास्त ।

३.    छोरी फिष्टीले बुद्धि बहादुरको गर्भ बोकेन भनेर भनेकी थिई, आखिर कर्तव्यबाट नै मर्न गएकीले कसको कर्तव्यबाट मारे कानुन बमोजिम कारवाही गरिपाउँ भनी विष्णुकुमारीले जिल्ला प्रहरी कार्यालयको डोर समक्ष गरेको ठाडो कागज ।

४.    मृतकको घाँटीमा पछ्यौराले कसेर निस्सासिएको बखत टाउकामा भुत्ते बस्तु (Blunt Object) ले हिर्काएर तुरुन्तै टाउकाको घाउबाट निजको मृत्यु भएको देखिन्छ भन्ने समेत ०३९।११।३ गतेको लाश जाँच प्रतिवेदन ।

५.    फिष्टी गिरीलाई मैले ०३८ साल पौष मसान्तमा र पछि पनि ५।७ पटक करणी गरेको हुँ, तर पेटमा गर्भ रहन गएछ । निज फिष्टीलाई गाउँकै बालकृष्ण गिरीले पनि करणी गरेको भन्ने थाहा पाएपछि अब कसले फिष्टीलाई स्याहार्ने भन्ने प्रश्नमा बरु मारिदिए ठिक पर्ला भनी मैया दिदी भन्ने पार्वतीले भनेपछि म समेत ५ जना प्रतिवादीको कर्तव्य चोटबाट फिष्टी मरेकी हुन् भन्ने समेत व्यहोराको प्र.बुद्धि बहादुर सिलवालले प्रहरीमा गरेको साविती बयान कागज ।

६.    प्रतिवादी मध्यकै ४ जनाले फिष्टी गिरीको टाउकोमा हानेको हुँदा टाउको फुटेको थियो मैले मात्र हानिन, फिष्टीको मुखमा टालो मात्र बुझो लगाएकी हुँ भन्ने समेत व्यहोराको प्र. मैया भन्ने पार्वती गिरीको प्रहरीमा भएको साविती बयान कागज ।

७.    बुद्धि बहादुर, पुरन गिरीको श्रीमती मैया दिदी भन्ने पार्वती गिरीसँग सल्लाह हुँदा रु. ९००।पाए फिष्टीलाई मार्न मैले पनि सहयोग गर्ने छु भनी सल्लाह सम्म दिएको हुँ, आजसम्म सो रुपैयाँ दिइएको पनि छैन तर मैले फिष्टीलाई मार्न कुनै सहयोग गरेको पनि होइन भन्ने समेत व्यहोराको प्र. टाउके भन्ने जंगु गिरीको प्रहरीमा इन्कारी बयान कागज ।

८.    २०३९ साल माघ २८ गते राती अन्दाजी २ बजे टाउके गिरी, म बालकृष्ण गिरी ३ जना पुग्दा फिष्टी गिरीलाई लिई बुद्धि बहादुर र मेरी श्रीमती आएका रहेछन् र बुद्धि बहादुर सिलवालले टाउके गिरीलाई आँखाको इशारा गरेपछि टाउकेले फिष्टीलाई एक मुक्का घाँटीमा र एक मुक्का टाउकोमा हानेपछि निज फिष्टी जमीनमा ढली छटपटाउन थालेपछि बुद्धि बहादुर सिलवाल, बालकृष्ण र मैले समेत ढुङ्गाहरू टिपी टाउकोमा हानी टाउको फुटाली दिएको हुँदा फिष्टी गिरीको मृत्यु भयो मेरो श्रीमतीले ढुङ्गाले हानेको होइन भन्ने समेत पूर्ण भन्ने पुरन गिरीले प्रहरीमा गरेको साविती बयान कागज फिष्टी गिरीसँग मेरो पनि माया प्रेम बसी ०३९ साल माघ महिना देखि सहवास हुँदै आएको निज फिष्टीलाई बुद्धि बहादुरले पनि करणी गरेको थाहा भएको साथै ०३९ साल कार्तिकदेखि निज फिष्टीले गर्भ बोकी छन् सो गर्भ बोक्ने फिष्टीलाई स्याहार्ने विषयमा छलफल हुँदा मारिदिनै ठिक छ भन्ने भिनाजु पुरन गिरी, बुद्धि बहादुर सिलवाल, दिदी पार्वती गिरीको सल्लाह भई रु. ९००।पाउने आशामा टाउके गिरी समेतले मार्ने काममा सहयोग गर्न मन्जुर गरेकोले म समेत भई फिष्टीलाई कर्तव्य गरी मारेको भन्ने समेत व्यहोराको प्र.बालकृष्ण गिरीको प्रहरीमा साविती बयान कागज ।

९.    बेलनारायण श्रेष्ठ, राम बहादुर पराजुली बोराई कान्छो समेतले फिष्टीलाई मार्नमा कुनै किसिमको मद्दत गरेको छैन हामी निर्दोष छौं भन्ने समेत व्यहोरा  पारी जिल्ला प्रहरी लमजुङमा गरेको बयान कागज ।

१०.    फिष्टी गिरी कर्तव्यबाट मरेकोले निज फिष्टी गिरीलाई मार्नमा सावित हुने बुद्धि बहादुर सिलवाल, पार्वती गिरी, बालकृष्ण गिरी, टाउके गिरी हुन बेलनारायण, राम बहादुर, रणकान्त प्रति शंका छैन भन्ने समेत बुझिएका सम्मका समस्त सरजमीनको लेखाई बकाई भएको मिति ०३९।११।२० को सरजमीन मुचुल्का ।

११.    प्र.बुद्धि बहादुर सिलवाल, प्र.बालकृष्ण गिरी, प्र.पुरन गिरी, पार्वती गिरी, प्र. टाउके भन्ने जंगु गिरी, समेत ५ जनाले घाँटीमा कसी मुखमा बुझो लगाई ढुङ्गाले हानी फिष्टी गिरीलाई कर्तव्य गरी मारेको देखिएको हुँदा निजहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३९।११।२७ को प्रहरी प्रतिवेदन दावी ।

१२.   ०३९ साल माघ २८ गतेको रात करिब ९ बजेतिर गोरखा जिल्लामा पर्ने लामागरा भन्ने ठाउँमा लाग्ने शिवरात्री मेलामा रातभरी मेला हेरी ०३९ साल माघ २९ गते बिहान मात्र घर फर्की आएको हुँ । फिष्टी गिरीलाई मार्ने मराउने समेत कुनै काम गरेको छैन । फिष्टीले बोकेको गर्भ पनि मेरो होइन भन्ने समेत व्यहोरा पारी प्र.बुद्धि बहादुर सिलवालले अदालतमा गरेको इन्कारी बयान ।

१३.   ०३९ साल माघ २८ गते रात म खुट्टा फुलेकोले बजार पनि नगई मेरो घरमा थिएँ रु. ९००।दिए भने फिष्टीलाई मार्छु भनेको पनि होइन । प्रहरीले मार्छु भनेकोले प्रहरीले लेखेको कागजमा सही गरेको हुँ भन्ने समेत व्यहोराको टाउके भन्ने जंगु गिरीको अदालतमा इन्कारी बयान ।

१४.   ०३९ साल माघ २८ गते रातभर म र मेरो लोग्ने पूर्ण गिरी जात्रामा नगई घरमा नै थियो, फिष्टी गिरीलाई मैले मारे मराएको होइन कसले मार्‍यो थाहा छैन टाउके गिरीलाई रु ९००।दिन र मार्न लगाउन सल्लाह समेत गरेको होइन भन्ने समेत व्यहोराको पार्वती गिरीको अदालतमा इन्कारी बयान ।

१५.   ०३९ साल माघ २८ गते राती ७ बजेतिर गोरखा जिल्लाको लामोगरा भन्ने ठाउँमा लाग्ने शिवरात्रीको मेला हेर्न मेरा दुइवटा सानिमाका साथ गई भोलिपल्ट बिहान ७ बजेतिर घर फर्केको हुँ सो २८ गते राती फिष्टी गिरीलाई मैले मारेको होइन कसले मार्‍यो थाहा छैन फिष्टीले बोकेको गर्भ मेरो होइन भन्ने समेत व्यहोराका प्र.बालकृष्ण गिरीको अदालतमा इन्कारी बयान ।

१६.    ०३९ साल माघ २८ गते राती म मेरै घर बगैंचामा हो कटेरामा सुतेको थिए मैले टाउके गिरीलाई बोलाउन गएको र फिष्टी गिरीलाई मार्न समेत मत सल्लाहमा पसी मारेको समेत होइन भन्ने समेत व्यहोराको पूर्ण भन्ने पुरन गिरीले अदालतमा गरेको इन्कारी बयान ।

१७.   प्रतिवादीहरूका साक्षीहरूको मिति ०४०।१।२७ मा र सरजमीनका मानिसहरूको ०४०।७।१३ गते बकपत्र भएको रहेछ ।

१८.   फिष्टी गिरीले बोकेको गर्भ फिष्टीको आमाले बुद्धि सिलवालको भन्दा सुनेको थिए । बालकृष्ण गिरी, पार्वती गिरी, पुरन गिरी, टाउके भन्ने जंगु गिरीले फिष्टी गिरीलाई ज्यान मारेमा शंका लाग्दैन, बुद्धि बहादुरको हकमा फिष्टीको आमाले गर्भ बोकाएका भनेर भनेकीले फिष्टीलाई मारेको हो कि भन्ने जस्तो लाग्दछ भन्ने समेत व्यहोराको जाहेरवाला गा.स.स. उमा गिरीले अदालतमा गरेको बकपत्र ।

१९.    छोरी फिष्टीले बोकेको गर्भ बुद्धि बहादुरको हो भन्ने कुरा छोरीले भन्दा सुन्दथें हो होइन छोरी नै जानुन् । गर्भ बुद्धि बहादुरले बोकाएको र छोरी फिष्टी कर्तव्यबाट मरेकीले प्र.बुद्धि बहादुर प्रति शंका लाग्छ भन्ने समेत व्यहोराको मर्ने फिष्टीकी आमा विष्णुकुमारीले अदालतमा गरेको बयान ।

२०.   मैले फिष्टी गिरीलाई कर्तव्य गरी मारेको  होइन म निर्दोष छु भन्ने समेत राम बहादुर पराजुलीले अदालतमा गरेको बयान ।

२१.   मृतकसँग प्र्र.बुद्धि बहादुर र प्र.बालकृष्ण समेतको अवैध करणी लिनु दिनु भइरहेको लोग्ने घरमा नभएको अवस्थामा अवैध गर्भ मृतक फिष्टीले बोकेकी जस्ता कारणहरूले गर्दा नै प्रतिवादीहरूले मृतकलाई मार्ने मनसाय राखी रातको समयमा एकान्त पाँडे बेसी भन्ने ठाउँमा प्र.बुद्धि बहादुर सिलवाल प्र.बालकृष्ण गिरी प्र.पूर्ण गिरी र प्र.मैयाँ दिदी भन्ने पार्वती गिरी समेत जना ४ ले घाँटीमा बाँधी ढुङ्गाले समेत टाउकोमा हानी मृतक फिष्टीलाई कर्तव्य गरी मारेको ठहर्छ। मिसिल सामेल रहेको कागजातबाट यसैको चोटले मृतकको मृत्यु भएको भन्ने खुल्न नआएको हुँदा उक्त प्र.बुद्धि बहादुर समेत ४ जना लाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर्छ । प्र.टाउके भन्ने जंगु गिरीको हकमा विचार गर्दा मृतक फिष्टीको ज्यान मार्नमा मतलबमा सम्म पसेको निजकै बयानबाट देखिँदा प्र.टाउके भन्ने जंगु गिरीले ज्यानसम्बन्धीको १३(३) नं. को कसूर गरेका ठहर्छ । तसर्थ निज टाउके भन्ने जंगु गिरीलाई उक्त महलको १७(३) नं. बमोजिम ३ (तीन) वर्षकैद हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको लमजुङ जिल्ला अदालतको मिति ०४१।७।२४।६ को जाहेरी फैसला ।

२२.   संकलित सबूद प्रमाण एवं तथ्यको आधारमा प्र. जंगु गिरी दोषी ठहर्ने व्यक्ति हुन भन्ने निर्विवाद हुँदाहुँदै सहअभियुक्तहरूको बयानलाई समर्थन गर्ने ठोस प्रमाण वादी पक्षबाट पुग्न आएको छैन भनी निज जंगु गिरीको तथ्यहीन इन्कारीलाई मूल प्रमाण मानी ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजायँ हुने ठहर गरिएको शुरु जिल्ला अदालतको फैसला न्यायसंगत नहुँदा सो हदसम्म बदर गरी प्र.टाउके भन्ने जंगु गिरीलाई पनि प्रहरी प्रतिवेदन माग दावी बमोजिम नै सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२३.   शंकाको भरमा ज्यान जस्तो जघन्य अपराधमा कसूरदार ठहर्‍याई गरेको शुरु लमजुङ जिल्ला अदालतको फैसला प्रतिकूल हुँदा सो फैसला उल्टाई सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको प्र.बुद्धि बहादुर सिलवालको जि.का. कारागार शाखा लमजुङ मार्फत यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२४.   प्रहरीका समक्ष हामीहरूले गरेको बयानले एकआपसमा प्रत्येकको बयानलाई खण्डन गरेको त्यस्तो अवस्था विद्यमान हुँदाहुँदै हामीहरूलाई शंकाको भरमा कसूरदार ठहर्‍याएको शुरु लमजुङ जिल्ला अदालतको फैसला फौज्दारी न्यायको सिद्धान्त विपरीत भएकोले सो उल्टाई आरोपित कसूरबाट रिहाई पाउने गरी हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको प्र.टाउके भन्ने जगु गिरी१ पूर्ण भन्ने पुरन गिरी१ पार्वती गिरी१ बालकृष्ण गिरी१ समेत जना ४ को कारागार शाखा लमजुङ मार्फत यस अदालतमा पर्न आएको पुनरावेदन ।

२५.   मृतक फिष्टी गिरीले आमासँग प्र.बुद्धि बहादुरको गर्भ बोकेको कुरा व्यक्त गरेको मिसिल कागत प्रमाणबाट पुष्टि हुन आउँछ । मृतक फिष्टीको र प्र.बुद्धि बहादुरको तथा प्र.बालकृष्ण गिरीको बीचमा करणी लिनु दिनु भई सो अवैध करणीबाट फिष्टीले गर्भ धारण गरेको कुरा प्रतिवादीहरूको बयानबाट समेत देखिन्छ । प्र.बुद्धि बहादुर सिलवालको कर्तव्यबाट छोरी मरेको शंका लाग्छ भन्ने मृतकी आमा विष्णुकुमारीको अदालतको बयानलाई प्र.बुद्धि बहादुर सिलवालले कुनै खण्डन गर्न सकेको पाइएन । प्र. टाउके भन्ने जंगु   गिरी मतलबमा सम्म पसेको भन्ने निजको बयानबाट पुष्टि हुन आएको छ । मृतकको घाँटीमा पछ्यौराले कसेर निस्सासिएको बखत टाउकोमा भुत्ते बस्तु (Blunt Object) ले हिर्काएर तुरुन्तै टाउकोको घाउबाट निज फिष्टीको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन भएबाट अधिकार प्राप्त अधिकारी समक्ष सो कसूरमा सावित हुने प्रतिवादीहरूको बयानलाई उक्त शव परीक्षण प्रतिवेदन समेतले  समर्थन गरेको हुँदा प्र.बुद्धि बहादुर सिलवाल, प्र.बालकृष्ण गिरी, प्र.पूर्ण गिरी र प्र. मैया दिदी भन्ने पार्वती गिरी समेत ४ जनाले मार्ने मनसाय राखी मृतक फिष्टी गिरीलाई कर्तव्य गरी मारेकोले प्र.बुद्धि बहादुर सिलवाल समेत जना ४ लाई ज्या.सं. को १७(३) बमोजिम ३ वर्षकैद हुने समेत ठहर्‍याएको शुरु लमजुङ अदालतको इन्साफ मनासिब ठहर्छ । भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले ०४२।१०।१५।३ मा गरेको फैसला रहेछ ।

२६.   पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर चित्त नबुझी यस अदालतमा श्री ५ को सरकारको पुनरावेदन परेको रहेछ ।

२७.   पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा चित्त नबुझी बुद्धि बहादुर सिलवालको पुनरावेदन र बालकृष्ण गिरी, पुरन गिरी, पार्वती गिरी समेतको संयुक्त पुनरावेदन पर्न आएको रहेछ ।

२८.   नियम बमोजिम पुनरावेदन परी साधक समेतको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी पुरन गिरी बालकृष्ण गिरी पार्वती समेतको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको र प्र.बुद्धि बहादुर सिलवालको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता शुशिल कुमार पन्त, प्र.पुरन गिरी समेतको तर्फबाट विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की र श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री बलराम के.सी.को बहस समेत सुनियो ।

२९.   प्रस्तुत कर्तव्य ज्यान मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय गर्न तलका प्रश्नहरूलाई समेत विचार गर्नु पर्ने भएको छ ।

जाहेरी दर्खास्तमा सबै कुरा खुल्नु पर्ने हो कि होइन ?

३०.   यसमा मिति ०३९।१०।२९ का दिन ४ बजेको समयमा फिष्टीको लाश पाँडे बेसीमा बस्तु चराउन जाँदा देखेको र फिष्टीको घरका परिवार हाल कोही नहुँदा कर्तव्यबाट मरेको देखिन आएको हुँदा गा.स.स. को नाताले जाहेर गरेको छु । घटनास्थलको मौका तहकिकात गरी पोष्टमार्टम समेत गराई सरजमीन बुझि पाउँ भन्ने व्यहोराको गा.स.स. उमा गिरीको जाहेरीमा उल्लेख भएको पाइन्छ ।

३१.   मिति ०३९।११।२ को लाश प्रकृति मुचुल्का हेर्दा मृतक फिष्टी गिरीको निधार, मुख, टाउको ढुङ्गाको चोटले टाउको फुटी ठूलो खाल्टो परेको नजिकको ढुङ्गाहरूमा रगत लागेको, सो सिदुरेको रुख मुनी लाशको उत्तर पट्टी २ हात फरकमा माटो घिसारिएको, माडिएको र हरियो चूराहरू फुटेको टुक्राहरू भएको, पेट ठूलो देखिएको, चुराहरू फुटेको ठाउँमा मुखमा बुझो लगाएको जस्तो गन्हाएको दुईटा रातो र सेतो कपडा भएकोमा सेतो टुक्रामा रगत लागेको भन्ने लाश जाँच प्रकृति मुचुल्कामा उल्लेख भएको पाइन्छ । ०३९।११।३ को पोष्टमार्टम रिपोर्टमा पाठेघरभित्र अन्दाजी ४ महिनाको छोरो पाइएको मेडिकल अधिकृतले आफ्नो रायमा मृतकको छातीमा पछ्यौराले कसेर निस्सासिएको बखत टाउकोमा कुनै भुत्ते बस्तु ९द्यगिलत यदवभअत० ले हिर्काएर तुरुन्तै टाउकोको चोटबाट निजको मृत्यु भएको र मृतकको देहान्त करीब ३।४ दिन अगाडि भएको हुन सक्छ भनी उल्लेख गरेको देखिन्छ ।

३२.   प्र.बुद्धि बहादुर सिलवालले प्रहरी कार्यालयमा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा मैले टाउके गिरीलाई इशारा गरेपछि टाउके गिरीले फिष्टीलाई मुक्काले हानी ढाले पूर्ण गिरीले फिष्टीको पछेउराले छातीमा बोल्न नसक्ने गरी बाध्न थाले मैया दिदीले झुत्रो टालो मुखमा कोच्न थालिन् साथी पूर्ण गिरी, बालकृष्ण गिरी, टाउके गिरी समेतले फिष्टी गिरीलाई ढुङ्गाले हानी मुख थुनी कर्तव्य गरी मारेका हुन् टाउके गिरीलाई रु. ९००।दिन बाँकी नै छ भनी अभियुक्त बुद्धि बहादुर सिलवालले अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको छ भने  फिष्टी गिरी मेरो माइजू नातासित काहिलो भाइ बालकृष्ण गिरी र बुद्धि बहादुर सिलवालले पटकपटक करणी गरी फिष्टीलाई गर्भ रहन गएको कुरा बुद्धि बहादुर सिलवालले बताएपछि फिष्टीलाई मार्ने सल्लाह भई टाउके गिरी समेतलाई रु. ९००।दिने भनी हात लिई पाँडे बेसीको पाखो जग्गामा सिदुरेको रुखनेर फिष्टी गिरीलाई टाउके गिरीले एक मुक्का हानी जमीनमा ढाले मेरो लोग्नेले फिष्टीकी घाँटीमा बेसरी कसे र कमेजको टालाले फिष्टीको मुख कोची दिएको हुँ बुद्धि बहादुरले ढुङ्गाले हिर्काई टाउको फुटाई मारेका हुन् भनी अधिकार प्राप्त अधिकारीको समक्ष मैया दिदी भन्ने पार्वती गिरीले बयान गरेको देखिन्छ । फिष्टीले बुद्धिको गर्भ बोकेको भनी भनेको कुरा अदालतमा आई मृतक फिष्टीकी आमा विष्णुकुमारी गिरीले बयान गरेको पाइन्छ ।

३३.   अभियुक्तहरूले गरेको प्रहरीको सावितीलाई हेर्दा यदाकदा प्रहरीमा भएको साविती बयान अमान्य गर्ने अवस्था नपर्ने पनि होइन तर सामान्य र स्वभाविक अवस्थामा पनि अमान्य गर्नु उपयुक्त देखिँदैन । ने.का.प. २०४३, नि.नं. २९१२, पृ. ११०४ मा सतन धोवीको जाहेरीले श्री ५ को सरकार वि. हरिराम धोवी समेत भएको कर्तव्य ज्यान मुद्दामा पनि यस अदालतबाट अदालत समक्ष आएर कसूर गरेमा इन्कार रहे तापनि निजहरूको प्रहरीमा गरेको बयानमा उल्लिखित परिस्थित र पोष्टमार्टम एवं लाश जाँच मुचुल्काबाट लाशमा पाइएका लक्षणहरू मेल खान आएबाट उक्त बयान समर्थित भएको देखिने भनी सिद्धान्त प्रतिपादन भए बमोजिम प्रस्तुत मुद्दाको मृतक फिष्टीको ४ महिनाको गर्भ रही बच्चा पाइएको र घाँटीमा पछ्यौरा कसेर निसास्सिएको बखत (Blunt Object) ले हिर्काई मारेको भन्ने पोष्टमार्टम रिपोर्टमा उल्लेख भएबाट र मुखमा कोचिएका टाला समेत बरामत भएको समेतबाट प्रहरीमा अभियुक्तहरूले साविती बयान गरेका र अदालतमा प्रतिवादीहरू इन्कार रहे पनि प्रहरीमा गरेको बयान मेल खान आएको देखिन्छ । प्रहरीको बयानलाई कुनै तरहबाट प्रमाण नलिने हो भने प्रहरीको बयानको आवश्यकता नै पर्ने अवस्था हुँदैन । प्रहरीले बयान नगराई सोझै जाहेरवालाको दर्खास्त बमोजिम प्रहरी प्रतिवेदन दाखिला सम्म गरे हुने भयो । जाहेरवालाले सबै कुरा थाहापाई सक्नु पर्ने र उसले नै थाहा नपाएको कुरालाई प्रमाणमा नलिने हो भनी प्रहरीले अनुसन्धान गरी प्रतिवेदन गर्नु पर्ने आवश्यकता पनि पर्ने भएन यस सम्बन्धमा भारतमा के कस्तो प्रचलन छ भनी हेर्दा Law relating to Murder trial by H.P. Gupta (1986) Ashoka Law House Alahbad को पृष्ठ २१८ मा "The F.I.R. is not an encyclopaedia. It is not the all and end all of a case. Such a report sets the law in Motion and at the stage of investigation, the details can be gathered and filled up" (State V. Aru pradhan 1985 cr L.I. 161) मा उल्लेख भएको छ।त्यसरी नै "It has been laid down by the supreme court in the case of Harpal Singh V. State Haryana that the Mere fact that the name of the eyewitness is not given in the F.I.R. thought of some relevance, would not be sufficient by itself, to entail rejection of the testimony of the witness" A.I.R 1977 Sc. 1066 भनी सोही किताबको पृष्ठ २१९ मा उल्लेख भएको पनि पाइन्छ ।

३४.   यसरी जाहेरी दर्खास्तमा नाम नामासी समेतका इतिवृत्त खुलेकै हुनु पर्दछ भन्ने बाध्यता देखिँदैन । प्रस्तुत मुद्दाका मृतक फिष्टी प्र. बालकृष्ण गिरीको माइज्यू नाता पर्ने र बालकृष्ण गिरी र बुद्धि बहादुर सिलवालले पटकपटक करणी गरी फिष्टीले गर्भ बोकेकोमा फिष्टीलाई कसले स्याहार्ने भन्ने सम्बन्धमा बुद्धि बहादुर सिलवाल समेतले फिष्टीलाई मार्ने नै सल्लाह भएको कुरा मैया दिदी भन्ने पार्वती गिरीले अधिकार प्राप्त अधिकारी समक्ष स्पष्ट बयान भएको देखिन्छ भने यस्तो अवस्थामा मैया दिदी भन्ने पार्वती गिरी पार्वती गिरीको लोग्ने पूर्ण गिरीले भाइ बालकृष्ण गिरीलाई सहयोग गर्नु पर्ने कारण परेको स्पष्ट छ । बुद्धि बहादुरको घरमा स्वास्नी छोरा समेत भएपछि पूर्ण पार्वती बालकृष्णले मृतक फिष्टीलाई मार्नु पर्ने अवस्था नै छैन भन्ने कुराको खण्डन नै प्रतिवादीहरूले गर्न सकेको छैन । यसरी वादी श्री ५ को सरकारले अनुसन्धान गरी गरेको प्रहरी बयान र प्रतिवेदनलाई समेत पूर्ण विचार गरी निर्णयमा पुग्नु पर्ने हुन्छ यी सबै कुरालई ध्यानमा राखी यस मुद्दाको तथ्यतर्फ हेर्दा बुद्धि बहादुर र मर्ने फिष्टीको विचमा करणी लिनु दिनु भएको भन्ने कुरा र मर्ने फिष्टी गर्भिणी भएको भन्ने कुरा मर्नेकी आमा विष्णुकुमारी जाहेरवालीले अदालतमा स.ज.३ मा गरेको बयान र अभियुक्तहरूले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानबाट पुष्टि हुन्छ । ने.का.प. २०४३ कार्तिक नि.नं. २७७२ पृष्ठ ६१५ मा फुल बेञ्जबाट पु.प्र. मान बहादुर भण्डारी समेत विपक्षी वादी श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी डरधाक देखाई साविती बयान गरेको हो कर्तव्य गरी मारेको छैन भनी इन्कारी बयान गरेपछि निजले कुटपिट गरेको कुनै घा चोट छ भनेर भन्न सकेको नदेखिएबाट अदालतमा गरेका निजको बयान साँचो नदेखिई प्रहरी समक्ष भएको बयान कागज बमोजिम निजले मर्नेलाई कर्तव्य गरी मारेको देखिने भनी सिद्धान्त प्रतिपादन भएकोबाट अदालतमा अभियुक्त प्रतिवादीहरू आई इन्कारी बयान दिंदैमा त्यसको मान्यता हुन्छ भन्न मिल्दैन ।

३५.   तसर्थ प्रस्तुत कर्तव्य ज्यान मुद्दामा पनि प्र.बुद्धि बहादुर सिलवाल समेतको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज प्रहरीले कुटपिट गरी साविती गरेको भनी अभियुक्त प्रतिवादीहरूले पनि कुनै घा चोट देखाउन नसकेकोबाट अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज, बरामद भएका फिष्टीको मुखमा बुझो लगाएको टाला र पोष्टमार्टममा ४१/२ महिनाको बालक फिष्टीको गर्भमा रहेको र मृतकको घाँटी कसिई भुत्ते वस्तुले हिर्काएका भन्ने लेखिएबाट समेत समर्थित भएकोले प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न नमिल्ने भई अभियुक्त प्र.बुद्धि बहादुर सिलवाल, बालकृष्ण गिरी, पूर्ण गिरी, मैयाँ दिदी भन्ने पार्वती गिरी र टाउके भन्ने जंगु गिरी समेत भई मृतक फिष्टी गिरीलाई कर्तव्य गरी मारेको होइन भन्न मिलेन प्र.जंगु गिरीको हकमा ज्या.सं.को १३(३) को अवस्था विद्यमान भएको देखिन आएन, तसर्थ मृतक फिष्टी गिरीलाई प्र.बुद्धि बहादुर सिलवाल, प्र.बालकृष्ण गिरी, प्र. पूर्ण गिरी, प्र.मैया दिदी भन्ने पार्वती गिरी समेत ४ जनालाई ज्या.सं. को १३(३) नं. बमोजिम जन्मकैद र प्र. टाउके भन्ने जंगु गिरीलाई ज्या सं.को १७(३) बमोजिम ३ वर्षकैद हुने समेत ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको जिकिर पुग्न सक्दैन । प्र.टाउके भन्ने जंगु गिरीलाई ज्या.सं.को १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पनि पुग्न सक्दैन, साधकको लगत कट्टा गरी नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.श्री रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल कार्तिक ११ गते रोज ४ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु