निर्णय नं. ३२३८ - अंश नामसारी ।

निर्णय नं. ३२३८ ने.का.प. २०४४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ५५६
मुद्दा : अंश नामसारी ।
पुनरावेदक/वादी:जि.रुपन्देही बुटवल न.पं. वडा नं. २ सोठी टोल बस्ने रामलाल उमर ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने राम लखन उमर
फैसला भएको मिति: २०४४।७।१२।५ मा
वादीले नगर पञ्चायतमा नामसारी गरिपाउँ भन्ने सम्बन्धमा मिति ०३२।२।२२ मा दिएको निवेदनको व्यहोरामा हामी ३ भाइको ३ अंश भाग बमोजिम तिरो बुझाई आएको भन्ने उल्लेख गरी मर्ने दाजुको नाउँको जग्गा आधा मेरो नाउँमा र आधा माहिला दाजुका नाउँमा नामसारी गरिपाउँ भन्ने व्यहोरा लेखेकोबाट अंशबण्डा भएको छैन, अंश दिलाई पाउँ भन्नेबाट वादी विवन्धित भएको देखिने ।
(प्रकरण नं. १५)
मुलुकी ऐन, अंशबण्डाको महलको ३० नं. को व्यवस्था हेर्दा यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ती बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन, रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुने ।
(प्रकरण नं. १६)
पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार रहेछ ।
२. बाबु बदल उमरको ३ छोरा जेठा हरि उमर माहिला विपक्षी रामलखन उमर कान्छो म वादी रामलाल उमर मध्ये बाबु बदल र जेठा दाजु हरी उमर समेत परलोक भएको जेठी भाउजू भारततर्फ पोइल गईन प्रतिवादी रामलखन र म सगोलको अंशियार हुँ । मैले पाउने अंश विपक्षीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको रामलाल उमरको फिराद दावी ।
३. विपक्ष वादीसँग एकपटक २००० सालमा अंशबण्डा भइसकेको हुँदा वादी मेरा एक सगोलमा बसेको होइन । अंश दिने बदल र दाजु हरि परलोक भई सकेपछि परेको नालेश अंशबण्डाको ३५ नं. प्रतिकूल छ । बादीलाई मैले अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको विपक्षी रामलखन उमरको प्रतिउत्तर ।
४. प्रतिवादीबाट वादीले दावी बमोजिमको अंशबण्डा छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति ०३७।९।३१ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन प्रतिउत्तर जिकिर बमोजिम अंश दिन पर्ने गरिपाउँ भन्ने समेत व्यहोराको प्र.रामलाल उमरको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. बण्डा भइसकेको देखिँदा शुरुले बण्डा छुट्याई दिने ठहर्याएको फैसला उल्टी हुन्छ भने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको मिति ०३९।२।२५ को फैसला ।
७. मलाई हराई गरिएको पुनरावेदन फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी रामलाल उमरको अनुमति निवेदनपत्रमा अनुमति प्रदान गरिएको भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत मिति ०४१।१।२८ को आदेश ।
८. राजुहरी मरेकोमा वादी र प्रतिवादीले आधी आधी जग्गा दर्ता गराएको देखिएकोबाट समेत वादी प्रतिवादीका बीच अंशबण्डा भएको छैन भनी ठहर गर्न मिलेन । कि.नं. १८० बाट एक धुर जग्गामा वादी रामलालको हक कायम भई निजका नाउँमा नामसारी हुने ठहर्छ अरु कुरामा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।३।२७ को फैसला ।
९. क्षेत्रीय अदालतकै ठहरबाट पनि विपक्षको जिकिर बेप्रमाणित छ, मृतक दाजु हरिराम उमरलाई समेत विपक्षले २००० सालमै छुट्टिसकेको भन्ने जिकिर लिएको छ भन्ने निज दाजु र विपक्षको नाउँमा कि.नं. १८० संयुक्त दर्ता छ सोहीबाट मैले १ धुर जग्गा अंश पाउने ठहर क्षे.अ. बाट भएकै छ भन्ने अंशबण्डा नछुट्टिएको अवस्था पनि देखिएकै हुँदा म.क्षे.अ.को त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अुनमति पाउँ भन्ने समेत व्यहोराको वादी रामलाल उमरको यस अदालतमा पर्न आएको मिति ०४२।५।२४ को अनुमति निवेदनपत्र ।
१०. वादी प्रतिवादीका बीच अंशबण्डा भएको कानुन अनुसारको बण्डापत्र पेश भएको पाइँदैन । वादी भन्दा प्रतिवादीका नाउँमा बढी जग्गा दर्ता भएको समेत बाट र कि.नं. १८० को जग्गा भने हरि उमर र प.राम लखनका संयुक्त दर्ता रहेको समेत देखिँदा अंशबण्डा भइसकेको भन्ने प.क्षे.अ. को फैसलामा मुलुकी ऐन अंशबण्डाको ३ नं. र प्रमाण ऐन, ०३१ को दफा ५४ को गम्भीर कानुनी त्रुटी देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको मिति ०४२।८।१२।४ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले कि.नं. १८० मा वादीले आधा पाउने भन्ने प.क्षे.अ.ले ठहर गरी सकेपछि अरुमा नपाउने भनेको मिलेन जग्गाको बण्डा बराबर भएको नहुँदा नारायण वि.धनकुमारीको अंश मुद्दामा सर्वोच्च अदालतबाट भएको सिद्धान्त विपरीत भएको फैसला उल्टी हुनु पर्छ भन्ने र विपक्षी तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले हरि उमरको भागमा परेको कि.नं. २१ को ३ बण्डा भएको मिसिलबाट देखिनुको साथै हरिको मृत्युपछि सो को आधा जग्गा लिन वादीले ०३२ सालमा बुटवल नगर पञ्चायतमा निवेदन दिएको यस अदालतबाट प्रतिपादित भएको सिद्धान्तको आधारमा समेत वादीले अंश नपाउने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भनी बहस गर्नु भयो ।
१२. यसमा वादी दावी बमोजिम अंश नपाउने ठहर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा कि.नं. १८० मा आधा भाग पाउने भएपछि अरुमा पनि पाउनु पर्छ भन्ने जिकिरका सम्बन्धमा हेर्दा सो कि.नं. १८० को जग्गा अबण्डा रहेको नभई मर्ने हरिराम उमर र प्र. रामलखन उमरको संयुक्त दर्तामा रहेको देखिन्छ सो जग्गाबाट एक धुर जग्गा वादीले अंशबण्डाको रुपबाट पाउने नभई हरिराम मरेबाट हरिरामको हकको जग्गा मध्येबाट आधा पाउने हुँदा सो को आधारमा लिएको जिकिर खम्वीर मान्न सकिएन ।
१४. जग्गाको बण्डा बराबर भएको छैन क्षे.अ.को निर्णय नारायणबहादुर राउत क्षेत्री धनकुमारी क्षेत्री समेतको अंश मुद्दा ने.का.पं. ०४२ नि.नं. २२२२ पृ. १ मा यस अदालतबाट प्रतिपादन भएको सिद्धान्त विपरीत छ भन्ने जिकिरका सम्बन्धमा विचार गर्दा उक्त उल्लिखित मुद्दामा अंशियारहरूका नाममा दर्ता भोगको जग्गाहरूको क्षेत्रफल फरक देखिएको र यसकारणले हक हुन आई वा यसप्रकार हक टुट्न गई घटबढ भएको भन्ने खुल्न आएको देखिँदैन । तर प्रस्तुत मुद्दामा प्रतिवादीले २०१५ सालमा लिलाम बढाबढमा सकारेको राजीनामाबाट प्राप्त गरेको र दाजु हरिरामले भोगबन्धकी राखेको जग्गा निखनी लिएकोबाट बढे बढाएको देखिँदा प्रस्तुत मुद्दामा सो नजीर आकर्षित हुनसक्ने देखिएन ।
१५. मिसिल संलग्न वादी रामलाल उमरले काशीप्रसादलाई गरी दिएको भनी ०१२।१०।१६ को भोगबन्धकी कागजको नक्कल हेर्दा सो को किनारामा साक्षीमा हकदार छुट्टी भिन्न भएको सहोदर दाजु हरिप्रसाद उमर र ऐ. ऐ. लखनराम उमर भन्ने उल्लेख भएबाट रामलखन उमर पनि छुट्टि भिन्न भएको सहोदार दाजु भन्ने नै लेखिएको हो भनी बुझ्नु पर्ने हुन आउँछ । यसका अतिरिक्त वादी रामलाल उमरले बुटवल खस्यौली नगर पञ्चायतमा नामसारी गरिपाउँ भन्ने सम्बन्धमा मिति ०३२।२।२२ मा दिएको निवेदनको व्यहोरामा हामी ३ भाइको ३ अंश भाग बमोजिम तिरो बुझाई आएको भन्ने उल्लेख गरी मर्ने दाजु हरि उमरको नाउँको जग्गा आधा मेरो नाउँमा र आधा माहिला दाजु रामलखन नाउँमा नामसारी गरिपाउँ भन्ने व्यहोरा लेखेकोबाट अंशबण्डा भएको छैन, अंश दिलाई पाउँ भन्नेबाट वादी विवन्धित भएको देखिन्छ ।
१६. मुलुकी ऐन अंशबण्डाको महलको ३० नं. को व्यवस्था हेर्दा यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरमगरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ इत्यादि भन्ने व्यवस्था भएको देखिन्छ । यस स्थितिमा वादीले अंशबण्डा भएको छैन भनी अंशमा दावी लिएको व्यवहार समर्थन हुन आएको नदेखिँदा वादी दावी नपुग्ने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । कोर्ट फी राखी पुनरावेदन दर्ता भएको हुँदा केही गर्नु परेन । नियमानुसार मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.श्री रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल कार्तिक १२ गते रोज ५ शुभम् ।