शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२४३ - उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

भाग: २९ साल: २०४४ महिना: माघ अंक: १०

निर्णय नं. ३२४३    ने.का.प. २०४४      अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको रिट नं. २५०२

विषय : उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 

निवेदक      : जि.बारा बहुअरी गा.पं वडा नं. ८ बस्ने जवाहिर शाह कानू ।

विरुद्ध

प्रत्यर्थी : जि.बारा पर्सौनी गा.पं. वडा नं. ९ बस्ने जगीया कुर्मिनी मरी हक खाने ऐ. ऐ. बस्ने छोरी जैरतिया कुर्मिनी ।

श्री गुठी संस्थान केन्द्रीय कार्यालय,रामशाहपथ काठमाडौं ।

श्री मालपोत कार्यालय,वारा।

श्री गुठी सुधार अधिकारी,भू.सु.का.वारा।

आदेश भएको मिति: २०४४।७।९।२ मा

     एकपटक निर्णय गरी कायम रहेको विषयमा पुनः कुनै आधिकारिक कानुनी निर्णय बेगर सो बदर भएको मान्न नसकिने ।

(प्रकरण नं. १५)

     साविक भूमिप्रशासनबाट भएको निर्णयलाई पुनः भूमि सुधार कार्यालयले बदर गर्न नमिल्ने।

(प्रकरण नं. १५)

     प्रत्यर्थीबाट कूत असूल उपर गर्दै आएको भन्ने गुठी तहसील तथा खर्च कार्यालयको लिखित जवाफको हकमा भूमिप्रशासन कार्यालयको निर्णयबाट कायम भएको देवराज शाहबाट वा निजको मृत्युपछि मोहीको हैसियतले जग्गा कमाउने भनिएका यी निवेदकबाट विवादित जग्गाको कूत असूल नगरी श्रेस्ताबाट मोही नजनिएको प्रत्यर्थीबाट कूत असूल गर्दै आएको भन्ने भनाइसँग सहमत हुन नसकिने ।

 (प्रकरण नं. १५)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह

प्रत्यर्थी तर्फबाट: विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय तथा विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

उल्लेखित मुद्दाःX

आदेश

न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ :

२.    जि.बारा पिप्रा पञ्चायत वडा नं. १ मा भएको नरसिंह भगवानको मन्दिर नाउँ दर्ताको नौतन गा.पं. वड नं. ४, कि.नं. १८ को दोयम ज.वि. ०१६० सनातनदेखि मैले कमाई आएको हो । भू.सु. सर्भे हुँदा के परिबन्दबाट हो जग्गा नकमाउने जगीया कुर्मिको नाममा मोही लेखिएको, मैले नै कमाई आएको हुँदा मेरो नाममा कायम गरिपाउँ भन्ने तत्कालिन भू.प्र.बारामा मिति २०२९।८।७ मा मेरा पिता देवराज साहु कानूले उजूरी निवेदन दिनु भयो ।

३.    गाउँ पञ्चायतले भू.प्र. बाट जारी भएको म्याद गुजार्ने जगीयाको नाम कट्टा गरी देवराज शाहको नाउँमा मोही लगत खडा गरिदिन सिफारिश गरे बमोजिम श्रेस्ता पूर्जामा देवराज साहू कानूको नाम कायम गर्ने समेत निर्णय भूमिप्रशासकबाट मिति २०२९।१२।१७ मा गरियो । पिता २०३१ सालमा स्वर्गे भएपछि मैले मोही भई जोती कमाई आएको छु । सो निर्णय अनुसार मा.पो.का.बाराको मो.श्रेस्ताको मोही महलमा र ज.ध.श्रेस्ता प्रमाण पूर्जाको मोही महलमा जगीया कुर्मिनीको नाउँ कट्टा गरी मेरो नाउँमा मोही कायम गरी जनाउन लगाई पाउँ भनी विपक्षी भू.सु.का. बारामा २०४२ आषाढ महिनामा निवेदन गर्दा तारेखमा राखिएन । विपक्षी जगीया कुर्मिनीले विवादित जग्गाको आफूलाई मोही देखाई २०२३।१२।३ मा मोहियानी हकको प्रमाणपत्र २०४१।११।२९ को कूतबाली बुझाएको रसीद प्रमाण समेतको आधारमा मैले २०४२ सालको बाली लुटपिट गरी लगें भनी बारा जिल्ला अदालतमा लुटपिट मुद्दा दायर गरेको म्याद तामेल भयो ।

४.    विवादित जग्गाको मा.पो.का. बाराको मिति २०३७।१२।२६ को निर्णयबाट साविक ज.ध. खारेज भई श्री गुठी संस्थान पिप्रा म गुठीको नाउँ श्रेस्ता कायम रहेको र वीरगञ्ज गुठी तहसील तथा खर्च कार्यालयको सिफारिश बमोजिम विपक्षी भू.सु.का. बाराले साविक बमोजिम जगीया कुर्मिनीको नाउँ यथावत गरीदिने भनी विपक्षी मा.पो.का. बारामा पत्र पठाएको र विपक्षी जगीयाको २०४२ श्रावणमा निवेदन परेको मिति २०४३।२।१२ मा नक्कल लिएँ ।

५.    भू.प्र. बाराको मिति २०२९।१२।१७ को निर्णय र मोहियानी हकको प्रमाणपत्र समेत बदर नभई यथावत कायम रहेकोमा विपक्षी गुठी तथा खर्च कार्यालय  समेतले मोहियानी हकको प्रमाण पूर्जा सम्बन्धमा विपक्षी भू.सु.अ. बाट मलाई प्रतिवाद गर्ने मौका समेत नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत भू.सु. अधिकारीले विपक्षी मालपोत कार्यालय बाराको विवादित जग्गाको जगीया कुर्मिनीको नाउँ मोही महलमा कायम राख्ने भनी गर्नु भएको पत्र आदेश समेत भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(१) समेतको विपरीत गैरकानुनी छ । उत्प्रेषण लगायतको उपर्युक्त आज्ञा, आदेश जारी गरी भूमि सुधार कार्यालयको आदेश बदर गरी मेरो मोहियानी हक संरक्षण गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

६.    यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको आदेश ।

७.    साविक मोही जगीया कुर्मिनीबाट नै कूत असूल तहसील गरी आएको व्यहोराको वीरगञ्ज गुठी तथा खर्च कार्यालयको मिति २०४२।४।३ को पत्र गएको आधारमा सो जग्गा आमा जगीयाले मोहिमा जोती कमाई कूतबाली बुझाउँदै आएको हो । निवेदकले कुनै सालको कूतबाली रसीद लिएको भनी प्रमाण पेश गर्न सकेको छैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी स्व. जगीया कुर्मिनीको हक खाने छोरी जयरतीया कुर्मिनीको लिखित जवाफ ।

८.    वीरगञ्ज गुठी तहसील तथा खर्च कार्यालयलाई विपक्षी बनाएतर्फ उक्त कार्यालयले लिखित जवाफमा भएको व्यहोरा प्रस्तुत गर्नेछ । गुठी संस्थान केन्द्रिय कार्यालयबाट रिट निवेदकको हक र हितमा आघात पर्ने काम कारवाही केही नगरेको र यस्तो अन्याय गरेको भन्ने निवेदनमा उल्लेख नभएबाट गुठी संस्थान केन्द्रिय कार्यालय उपर रिट जारी हुनु नपर्ने हुँदा खारेज होस् भन्ने समेत प्रत्यर्थी गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्षको लिखित जवाफ ।

९.    गुठी संस्थान ऐन, २०३३ बमोजिम विवादित जग्गाधनी गुठी संस्थान भएको सम्बन्धले भू.सु.कार्यालयले २०२९ सालको निर्णय कार्यान्वितको निमित्त मालपोत कार्यालयलाई २०४२।३।३१ गते पत्र लेखेको । त्यसको बोधार्थसम्म यस कार्यालयलाई दिएकोमा सो पत्रको सन्दर्भमा श्रेस्ताबाट देखिएको तथ्य र सर्वोच्च अदालतबाट उक्त जग्गा गुठी संस्थान अधीनस्थ भएकोले जग्गाको कूत जगीयाबाट असूल गराई राखेको व्यहोरा उल्लेख गरी भू.सु.कार्यालयलाई लेखि पठाएको हो । विपक्षी र निजको बाबुले आजसम्म मोहीको हैसियतले जग्गा कमाएको पनि देखिँदैन । विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी वीरगञ्ज गुठी तहसील तथा खर्च कार्यालयको लिखित जवाफ ।

१०.    यसमा साविक मोही जगीया कुर्मिनी भएकोमा साविक भू.प्र.का.बाराको मिति २०२९।१२।१७ को निर्णय अनुसार देवराज शाह कानूको नाममा मोही कायम भएकोमा निज देवराज शाहको छोरा जवाहिर शाहले मिति २०४२।३।२३ को निवेदनमा यस कार्यालयबाट फैसला भए अनुसार मोहीको नाम चढाई पाउँ भनी निवेदन दिँदा मिति २०२९।१२।१७ को निर्णय अनुसार जगीया कुर्मिनीको नाम कट्टा गरी देवराज शाहको नाम जनाई दिनु भनी पत्र लेखि बोधार्थ प्रति गुठी तहसील तथा खर्च कार्यालयमा पठाउँदा संस्थानको पत्रबाट सर्वोच्च अदालतको मिति २०३२।४।१५ को फैसला अनुसार विवादित जग्गा गुठी अधीनस्थ भएको र गुठी संस्थान ऐन, २०३३ को दफा २५ र २९ अनुसार यस कार्यालयबाट साविक मोही जगीया कुर्मिनीबाट नै कूत असूल तहसील गरी आएको व्यहोरा जानकारी गराएको पत्र अध्ययन गर्दा गुठी जग्गाको मोही गुठी संस्थानले पजनी र कायम गर्न सक्ने हुँदा वीरगञ्ज गुठी तहसील तथा खर्च कार्यालयको पत्र बमोजिम मोही जनाई दिने आदेश गरिएको कानुनी त्रुटी भएको छैन । माग निराधार हुँदा खारेज गरिपाउँ भन्ने प्रत्यर्थी भूमि सुधार कार्यालय बाराको लिखित जवाफ ।

११.    प्रत्यर्थी मालपोत कार्यालय बाराबाट म्यादभित्र लिखित जवाफ दर्ता हुन आएको नदेखिएको ।

१२.   रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले निवेदक २०२९ सालको भू.प्र.का.को फैसलाबाट मोही कायम भई प्रमाणपत्र समेत प्राप्त गरेको विवादित जग्गाको मोही हक बदर नहुँदै एकपटक निर्णय भई सकेपछि फेरि निर्णय गर्न नमिल्नेमा जगीयाको नाउँमा मोही कायम गर्ने गरेको काम कारवाही गैरकानुनी तथा त्रुटिपूर्ण भएकोले तत्सम्बन्धी काम कारवाही आदेशहरू उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्छ भन्नु भयो ।

१३.   प्रत्यर्थी गुठी संस्थानका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले सर्वोच्च अदालतको फैसलाले गुठी अधीनस्थ भएको विवादित जग्गाको साविक मोहिलाई कायम गर्ने गरेको काम कारवाही कानुनसंगत भएको भन्ने तथा प्रत्यर्थी भू.सु.कार्यालयतर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले गुठी संस्थानलाई गुठी अधीनस्थ जग्गाको मोही पजनी र कायम गर्ने गरेको काम कारवाही कानुनसंगत भएको भन्ने तथा प्रत्यर्थी भू.सु.कार्यालय तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले गुठी संस्थानलाई गुठी अधीनस्थ जग्गाको मोही पजनी र कायम गर्ने अधिकार भए बमोजिम गुठी तहसील तथा खर्च कार्यालयको पत्र बमोजिम जगीयालाई मोही जनाई दिने सम्बन्धमा भएको काम कारवाही २०२९ सालको निर्णय बदर भई भएकोले कानुनसंगत हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१४.   विद्वान अधिवक्ताहरू तथा विद्वान सह-न्यायाधिवक्ताको बहस समेत सुनी प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश हुनुपर्ने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१५.   यसमा निर्णयतर्फ हेर्दा, विवादित जग्गाको यी रिट निवेदकका पिता देवराज शाहलाई मोही कायम गर्ने गरी साविक भूमिप्रशासन कार्यालयबाट मिति २०२९।१२।१७ मा निर्णय भएको देखिन आयो । उक्त निर्णयबाट त्यसबखत यी निवेदकका पिता मोही भएको र निजको मृत्यु पश्चात निवेदक जवाहिर शाहले विवादित जग्गा मोहीको हैसियतले कमाएको भन्ने जिकिर देखिन्छ । विवादित जग्गा नरसिंह भगवानको नाउँ साविक दर्ता रहेकोमा पछि २०४२ सालमा गुठी संस्थान पिप्रा मठ गुठीको नाउँमा श्रेस्ता कायम रहेको भन्ने उल्लेख भएकोमा मोहीको नाम संशोधन गर्न प्रत्यर्थी भू.सु.का. संग गुठी तहसील तथा खर्च कार्यालयले पत्राचार गरेको भन्ने उल्लेख भएको पाइन्छ । प्रत्यर्थी गुठी तहसील तथा खर्च कार्यालयले लिखित जवाफमा २०२९ सालको निर्णय कार्यान्वयन गर्नको निमित्त मालपोत कार्यालयलाई लेखि पठाउँदा बोधार्थ प्राप्त भई सो जग्गा गुठी अधिनस्थ भएकोले जग्गाको कूत जगीयाबाट असूल भएको व्यहोरा लेखि पठाएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । सोही बमोजिम गुठी जग्गाको मोही पजनी र कायम गर्न गुठी संस्थानबाट सक्ने भन्ने आधारमा प्रत्यर्थी जगीया कुर्मिनीलाई मोही कायम गर्ने आदेश भएको भन्ने भू.सु.का. को जवाफबाट देखियो । कार्यालयको निर्णयबाट मिति २०२९।१२।१७ मा यी निवेदकका पितालाई मोही कायम गरेको विषयमा प्रस्तुत विवाद श्रृजना हुनु अघि सो निर्णय अधिकार प्राप्त निकायबाट बदर भएको देखिँदैन । एकपटक निर्णय गरी कायम रहेको बिषयमा पुनः कुनै आधिकारिक कानुनी निर्णय बेगर सो बदर भएको मान्न सकिँदैन । २०२९।१२।१७ को मोही कायम गर्ने गरेको निर्णय बदर भएको हो कि भन्नलाई साविक भूमिप्रशासनबाट भएका उक्त निर्णयलाई पुनः भूमि सुधार कार्यालयले बदर गर्न मिल्दैन । प्रत्यर्थी जगीयाबाट कूत असूल उपर गर्दै आएको भन्ने गुठी तहसील तथा खर्च कार्यालयको लिखित जवाफको हकमा भूमिप्रशासन कार्यालयको निर्णयबाट कायम भएको देवराज साहूबाट वा निजको मृत्युपछि मोहीको हैसियतले जग्गा कमाउने भनिएका यी निवेदकबाट विवादित जग्गाको कूत असूल नगरी श्रेस्ताबाट मोही नजनिएको प्रत्यर्थी जगीयाबाट कूत असूल गर्दै आएको भन्ने भनाइसँग सहमत हुन सकिएन । अतः वीरगञ्ज गुठी तथा खर्च कार्यालयको पत्र बमोजिम २०२९।१२।१७ को निर्णय बमोजिम निवेदकका पिता देवराज साहुकै नाउँ मोही महलमा भई निजको मृत्युपछि  निजका छोरा यी रिट निवेदक जवाहिर साहु कानूको मोही महलमा सच्याउन निवेदन परेपछि सो निर्णय कायमै रहेका अवस्थामा जगीया कुर्मिनीलाई मोही कायम गर्ने गरेको निर्णय कानुनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल कार्तिक ९ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु