शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२५० - अंश

भाग: २९ साल: २०४४ महिना: माघ अंक: १०

निर्णय नं. ३२५०    ने.का.प. २०४४      अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ४३२

मुद्दा : अंश ।

 

पुनरावेदक/वादी: का.जि.कलंकी गा.पं. वडा नं. १ बस्ने शिवराम खड्का ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ खड्का गाउँ घर भै हाल बालाजु गा.पं. वा.नं. ४ बोराटार बस्ने कान्छी खड्का क्षेत्री ।

फैसला भएको मिति: २०४४।९।३।६ मा

     यो यस मितिमा वादी प्रतिवादीहरू अंशबण्डा भई छुट्टी भिन्न भई बसेको भन्ने दुवै पक्षको जिकिर नभएबाट खाली वादीले एक कित्ता जग्गा बिक्री गरेको र प्रतिवादीले यो मुद्दा परिसकेपछि केही जग्गाहरू बिक्री गरेको आधारमा अंश भइसकेको भन्ने देखिन नआएकोबाट शुरु जि.अ.ले वादी दावी बमोजिम अंश पाउने ठहराएको सदर गरेको अञ्चल अदालतको फैसला मनासिबै देखिए पनि सो ठहर गर्दा दुवै थरीको मुख मिलेको मिति १९९०।४।१० लाई मानो छुट्टिएको मिति कायम गर्नु पर्नेमा अरु लोग्ने बाहेकका प्रतिवादीका हकमा सो १९९०।४।१० को मितिलाई मानो छुट्टिएको मिति कायम नगरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको र क्षेत्रीय अदालतले अंश भइसकेको ठहराएको गल्ती ठहर्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

प्रत्यर्थी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझाई परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    हामीहरूको लोग्ने तथा बाबु जीत बहादुरको २ पत्निमा जेठी म ठूलो खडकेनी र कान्छी सौता कान्छी खडकेनी २ भएको जेठा म ठूलीतर्फ शिवराम जायजन्म भई कान्छी सौतातर्फ सन्तान नभई हामी सगोलमा बसी आएकोमा बाबु लोग्ने जीत बहादुर कान्छीतर्फ लाग्नु भई हामी आमा छोरालाई २०११ साल ज्येष्ठ महिनादेखि खान लाउन नदी निकाला गर्नु भएको छुट्टै बसी आएको छु । लोग्ने बाबु जीत बहादुर, देवर काका पूर्ण बहादुर १, देवर काका हरि बहादुर १ समेत ३ जवान बाहेक अरु अंश गर्नुपर्ने र विवाह खर्च पर सार्नुपर्ने कोही नभएकोले मिति २०११।२।३ गतेसम्मको तायदाती लिई ४ भाग लगाई २ भाग दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    वादी दावी बमोजिम नभई पुर्खौली सम्पत्ति सासू बजै धनकुमारीलाई मैले स्याहार सुसार गरी मेरो साथमा मरेकी हुन् भन्ने विपक्षीले लेखत पास नामसारी मुद्दामा लेखेको छ, पुर्खौली सम्पत्ति धनकुमारी जिम्मा रहेको भनी के आधारले लेखेको हो विपक्षको लेख नै गैरकानुनी सिद्ध छ । विपक्षका बाबु १९९० सालमा अंशबण्डा भई आआफ्नो भाग दर्ता तिरो भरो नामसारी तिरो भरो चलन भइराखेको हुँदा झुठ्ठा उजूर गरेमा विपक्षहरूलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    माग भएको तायदातीको आदेशानुसार प्रतिवादी कान्छी खड्केनीको २०३५।२।१८ को तायदाती र वादीतर्फको २०३४।८।१।४ को तायदातीमा भएको कुराको हकमा साहूको दावी भएको बखत ठहरे बमोजिम हुने गरी सम्पत्तिको हकमा ३ बण्डा गरी जतिबहादुरको १ भागबाट ४ भाग गरी २ भाग वादीहरूले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०३८।१।४ गतेको फैसला ।

५.    का.जि.अ.को इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.कान्छी खड्का क्षेत्रीनीको बा.अं.अ.मा पुनरावेदन परेकोमा शुरुको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति २०३८।५।३०।३ को फैसला ।

६.    वागमती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भनी परेको निवेदनमा म.क्षे.अ.बाट पुनरावेदनको अनुमति प्रदान भई व्यवहार प्रमाणबाट वादीको लोग्ने बाबु जीत बहादुर प्रतिवादीहरूसँग छुट्टि भिन्न भइसकेको देखिँदा जीत बहादुरबाट अंश पाउने वादीले अन्य प्रतिवादी कान्छी खड्केनी पूर्ण बहादुरबाट अंश पाउन सक्ने अवस्था नदेखिएको जीत बहादुर परलोक भइसकेको र निजपछि निजको हकवाला शिवराम नै हुँदा वादी दावी पुग्न सक्दैन । अंश पाउने गरेको शुरुको सदर गरेको, बा.अं.अ.को फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।२।१५ को फैसला ।

७.    तायदाती राजीनामाहरूबाट अंशबण्डा गर्नुपर्ने सबै तथा धेरै सम्पत्तिहरू विपक्षीसँग भएको कुरा अकाट्य रुपमा प्रमाणित भइरहेकोमा प्रमाणको विचार नगरी भएको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी शिवराम खड्काको यस अदालतमा पर्न आएको निवेदन ।

८.    पैतृक सम्पत्ति दा.खा. नामसारी भई वादी छेउ भएको सबूद प्रतिवादीबाट आउन सकेको छैन । वादीले छुट्टि भिन्न भई बसेको भनाई मात्र देखिन्छ । अंशबण्डा नभई सम्पत्ति सगोलमा नै राखी भिन्न बस्न प्रचलित नेपाल कानुनले नै छुट दिएको यस्तो अवस्थामा व्यवहार प्रमाणबाट अंशमा वादी दावी नपुग्ने ठहराएको म.क्षे.अ.को निर्णयमा अ.बं. १८४(क) अंशबण्डाको १, , , ३० नं. समेतको त्रुटी भएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४२।३।२६ को आदेश ।

९.    यसमा वादी मध्येकी ठूली खड्केनीले बकसपत्र पास गरिपाउँ भनी दिएको का.जि.अ.बाट २०२३ सालमा फैसला भएको मिसिल का.जि.अ.बाट वादीका बाबु जीत बहादुरले २०१८ सालमा दिएको राजीनामामा आफ्नो नाममा दर्ता भएको भनी देखाएको जग्गा के कुन व्यहोराबाट निजको नाममा दर्ता हुन आएको हो ।  सो समेत देखिने गरी दर्ता उतार सम्बन्धित मालबाट र प्र.विपक्षीले आफ्नो प्रतिउत्तरमा देखाएको वादीतर्फबाट भएको ७, ४ नं. का फारामहरूको प्रतिलिपि सम्बन्धित काठमाडौं भू.सु.का. बाट झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४३।८।२६ को आदेश ।

१०.    पुनरावेदक वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वरत्न तुलाधरले १९९० सालको बण्डापत्र कानुन बमोजिम नभएको भन्ने ठहर भइरहेको छ । नामसारी लिखत बदर मुद्दामा छुट्टि भिन्न भएको भन्नेसम्म देखाएको श्रीसम्पत्ति बण्डा भएको भन्ने नभएको र बण्डा भएकै मान्ने हो कि भन्न पनि विपक्षी तर्फबाट तायदातीमा देखाएको र बिक्री गरेको समेत धेरै जग्गा देखिने, तर वादीतर्फ सोही अनुरुप जग्गा पाएको नदेखिएकोबाट अंशबण्डा भइसकेको भन्न मिल्दैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

११.    प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले कान्छी उपरको दावी नपुग्ने जीत बहादुर उपर अर्को फिराद दिनु भनी ठहर भए उपर वादीको पुनरावेदन परेकोमा प्र.जीत बहादुर उपर अर्को फिराद दिनु भनी सुनाएको नमिलेको हुँदा शुरु फैसला बदर गरिएको छ, कानुन बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर गर्नु भनी गएको वा कान्छीतर्फको ठहर बदर नभई जीत बहादुरतर्फको दावीमा ठहर हुन मात्र गएको हो । यस्तोमा शुरु जिल्ला अदालतले फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी तायदाती मागी ठहर भएको छ, जबकी दावीले नै १९९० सालमा मानो छुट्टिएको कायम गरिपाउँ भन्नेसम्म दावी लिएकोमा प्रतिवादीले पनि सोही मितिमा छुट्टि भिन्न भएको कुरा स्वीकार गरेकोबाट मानो छुट्टिएको कुरामा दुवै पक्षको मुख समेत मिलेको हुँदा फिराद परेको अघिल्लो मिति मानो छुट्टिएको कायम गरेको मिल्दैन । व्यवहार प्रमाणबाट बण्डा भएको देखिने नदेखिने के हो ? भन्ने हकमा वादी आफ्नो नाउँ दर्ताको जग्गा बिक्री गरेको र १, , ७ नं. फाराम भरी देखाएको र आफ्नो परिवारमा विपक्षी तर्फको नदेखाई आफ्नो परिवार मात्र देखाएको र प्रतिवादीले पनि सोही बमोजिम बिक्री र १, ७ नं. फाराम भरेकोबाट पनि व्यवहारबाट छुट्टिएको देखिने भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१२.   आज निर्णय सुनाउने तारेख तोकी नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा १९९०।४।१० मा मानोसम्म छुट्टि भिन्न भई अंशबण्डा भई नबसेको हुँदा अरु हाँगाका प्रतिवादीहरूसँग सोही मितिको मानो छुट्टिएको मिति कायम गरी अंश दिलाई पाउँ भन्ने दावी लिएकोमा प्रतिवादी कान्छी खड्काले प्रतिवाद गर्दा अघि नै सोही मितिमा मानो छुट्टि भिन्न भई अंश समेत भइसकेको हुनाले अंश दिनु नपर्ने भन्ने मुख्य जिरह लिई अघि भएका २०२३ सालको फैसला समेत प्रमाणको रुपमा देखाएको देखिन आउँछ । प्रतिवादीतर्फबाट पेश भएको क्षेत्रीय अदालतबाट समेत ठहरमा आधार लिइएको २०२३।१।२६ को का.जि.अ.बाट भएको फैसलाको नक्कलबाट वादी ठूली खड्काले सो मुद्दामा आफू समेत प्रतिवादी कान्छी खड्केनीका हाँगासँग अघि नै छुट्टि भिन्न भएतर्फ केही ठहर भएको नदेखिई बरु सोही मुद्दाको ठहरबाट देखाएको वादीको सासू धनकुमारीले यिनै प्रतिवादी कान्छी खड्केनी उपर १९९० सालमा छुटी भिन्न हुँदा लोग्नेको जिउनीको रुपमा रहेको जग्गाहरू आफ्नो नाममा नामसारी गरिपाउँ भनी दिएको मुद्दामा तत्कालीन अपील तेश्रा फाँटबाट प्रतिवादीले जिकिर लिएको १९९०।४।१० को बण्डा भएको कुरालाई पास नभएको कारणबाट मान्यता नपाउने भन्ने मिति २०१४।२।३ मा ठहर भइरहेको देखिन आउँछ । यसबाट प्रतिवादीले जिकिर लिए बमोजिम सो मितिमा अंश लिई भिन्न भई बसेको भनी मान्यता दिन नमिली खाली वादी र प्रतिवादीहरू मानो छुट्टिई भिन्न भएको सम्म भन्नु पर्ने देखिन आएको र सो कुरामा दुवै  पक्षको मुख मिलेको देखिन आएको सो पछि यो यस मितिमा वादी प्रतिवादीहरू अंशबण्डा भई छुट्टि भिन्न भई बसेको भन्ने दुवै पक्षको जिकिर नभएबाट खाली वादीले एक कित्ता जग्गा बिक्री गरेको र प्रतिवादीले यो मुद्दा परिसकेपछि केही जग्गाहरू बिक्री गरेको आधारमा अंश भइसकेको भन्ने देखिन नआएकोबाट शुरु जि.अ.ले वादी दावी बमोजिम अंश पाउने ठहराएको सदर गरेको अञ्चल अदालतको फैसला मनासिबै देखिए पनि सो ठहर गर्दा दुवै थरीको मुख मिलेको मिति १९९०।४।१० लाई मानो छुट्टिएको मिति कायम गर्नु पर्नेमा अरु लोग्ने बाहेकका प्रतिवादीका हकमा सो १९९०।४।१० को मितिलाई मानो छुट्टिएको मिति कायम नगरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको र क्षेत्रीय अदालतले अंश भइसकेको ठहराएको गल्ती ठहर्छ । सो ठहर्नाले वादीको हाँगातर्फ कोही अंशियार बाँकी नहुँदा कान्छी खड्केनीको हकमा सोही १९९०।४।१० लाई मानो छुट्टिएको मिति कायम गरी जो लिनु पर्ने तायदाती लिई कानुन बमोजिम बण्डा छुट्याई दिनु भनी विपक्षलाई तारेख तोकी मिसिल शुरु जि.अ.मा पठाई दिनु । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डम लेखिए बमोजिम वादी दावी बमोजिम अंश पाउने ठहरिएकाले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाको तपसील खण्डले राख्ने गरेको लगत राख्न परेन, व्यहोरा जनाई लगत कट्टा गर्न का.जि.अ.त.मा लेखि पठाउनु...१

पुनरावेदक वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. २२।६५ र शुरुमा फिराद दर्ता गर्दा राखेको कोर्ट फी रु. १५१।विपक्षीबाट भराई पाउँ भनी कानुनको रीत पुर्‍याई निवेदन दिए कानुन बमोजिम भराई दिन शुरुमा लेखि पठाउनु...२

पुनरावेदक वादीले यस अदालतमा मिति २०४२।४।१५ मा राखेको थप धरौटी रु. १५।१२ कानुनको रीत पुर्‍याई माग्न आए कानुन बमोजिम फिर्ता खर्च लेखी दिनु भनी शुरुमा लेखि पठाउनु...३

मिसिल नियमानुसार बुझाई दिनु...४

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल पौष ३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु