शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२५१ - नाता कायम ।

भाग: २९ साल: २०४४ महिना: माघ अंक: १०

निर्णय नं. ३२५१     ने.का.प. २०४४      अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ५६३

मुद्दा : नाता कायम ।

 

पुनरावेदक/प्रतिवादी:जि.लमजुङ चन्द्रेश्वर गा.पं. वडा नं. ९ दुराख डाँडा बस्ने नरहरी तिमिल्सिना ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने बाबुराम तिमिल्सिना ।

फैसला भएको मिति: २०४४।९।२१।३ मा

     आफूलाई पञ्चायतमा गराएको भनेको कागज र पुनरावेदक उपर नाता कायम गरिपाउँ भनी दिएका फिरादपत्र समेत झुक्याई जालसाजबाट गराई लिएको हुँदा सो कागजहरूको प्रमाण नलिई प्र.सँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी दावी लिई उजूर गरेकोमा अञ्चल अदालतबाट  संकलित सबूद प्रमाण तथा साक्षीहरूको बकाइको आधारमा सो कागजहरूलाई दावी बमोजिम झुक्याई जालसाजबाट गराएको भन्ने वादी दावीलाई मान्यता नदिई सोही प्रमाण कागजहरूको आधारमा मुख समेत पतित भइसकेको भन्ने बूँदा उल्लेख भई दावी बमोजिम बाबुरामसँग स्वास्नीको नाता कायम गरिपाउँ भन्ने दावी नपुग्ने भनी ठहर गरे उपर वादीको क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा निजले कानुन बमोजिमको सबूद प्रमाण पुर्‍याई आफ्नो दावी कायम गराई लिन पर्नेमा पुनरावेदनको तारिखै गुजारी पुनरावेदन डिसमिस गराई बसेको हुँदा निजको दावी नै खम्वीर हुन नआएको हुँदा पेटबोलीबाट बुझिएका प्रतिवादी बनाइएका पुनरावेदक तर्फबाट लिइएको जिकिर बमोजिम कमलाको गर्भ को कसको हो र सो प्रमाण कागजहरू वादीले देखाए बमोजिम झुक्याई जालसाज गरेको हो होइन ? त्यसतर्फ विचारै गरिरहन पर्ने अवस्था नरहने ।

(प्रकरण नं. १६)

     अञ्चल अदालतले वादी कमला मुख पतित भइसकेको भनी लेखेको बूँदा र क्षेत्रीय अदालतले वादीको पुनरावेदन डिसमिस गराएको हुँदा वादी कमला प्र.की स्वास्नी हो होइन वा कसकी स्वास्नी हो भनी नाता कायम गरिरहन नपर्ने भनी फैसलामा लेखेको देखिएको मनासिब ठहर्ने ।

 (प्रकरण नं. १६)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

प्रत्यर्थी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन भनी परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    बाबुरामसँग मेरो विधिवत विवाह भएको हो । बाबुरामले मैले धारण गरेको गर्भलाई गाउँकै ठूलो नरहरिको हो भनी भन्न लगाई झुक्याई कागज गराएछन् थाहा पाइन, पछि अड्डामा गई बुझ्दा यसरी म आफैं बिग्रेको कुरा स्वीकार गरी मैले नै निज ठूलो नरहरिसँग नाता कायम गराई पाउँ भनी दिन लगाएको फिराद रहेछ । सो फिराद फिर्ता लिएकोले मैले नै गरेको भनेको उक्त कागज खुशीराजीले गरेको नहुँदा लोग्ने स्वास्नीको २ नं. बमोजिम मुद्दा सुन्ने अड्डामा गई अरुसँग करणीमा फसेको भन्ने प्रमाण नलिई अरु प्रमाणबाट इन्साफ गरिदिनु भनी हु.प्र.पाउँ भनी कमला तिमिल्सिनाले श्री ५ महाराजाधिराजका जुनाफमा दिएको निवेदनमा यसमा व्यहोरा साँचो भए ऐनले उजूर लाग्ने कुरामा ठाडै बुझी ऐनका म्यादभित्र कानुन बमोजिम मुद्दाको कारवाही किनारा गरी नतिजा जाहेर गर्नु भन्ने ग.अं. अदालतका नाउँमा २०३९।१२।९।४ मा हु.प्र.भई आएको ।

३.    लमजुङ जि.अ.मा झुक्याई गराएको मुद्दाको  कारणबाट मलाई श्रीमतीको नाताबाट हटाउने उद्देश्य गर्नु भएको हो, मेरो श्रीमान बाबुरामको गर्भधारण गरी छोरो समेत जन्मेको हुँदा निज मेरो श्रीमान र म निजकी श्रीमती कायम राखिपाउँ भन्ने समेत निवेदक कमला तिमिल्सिनाको बयान ।

४.    २०३८ साल कार्तिकदेखि म अविछिन्न रुपमा नोकरी र अध्ययनको सिलसिलामा काठमाडौंमा थिएँ । २०३९ साल पौष २९ गते घरमा आउँदा निजको आकृति हेर्दा गर्भ धारणा गरेजस्तो लागी २०३८ साल कार्तिकदेखि निजसँग भेटघाट यौन सम्बन्ध नभएको हुँदा गर्भमा शंका लागी सोधखोज गर्दा ठूलो नरहरिसँग बराबर करणीमा बिग्री निजैको गर्भ धारण गरेको कुरामा साविती भएकोले समाजका अगाडि २०३९।९।३० मा कागज गरिदिएकी छन् । त्यसै दिनदेखि निज कमला ठूलो नरहरि कहाँ नै बसेको र ठूलो नरहरिसँग नाता कायम गरिपाउँ भन्ने नालेश समेत गरेकीले निजसँग मेरो नाता टुटेको हुँदा नाता कायम हुनुपर्ने होइन भन्ने समेत प्र.बाबुराम तिमिल्सिनाले गरेको बयान ।

५.    मैले गरिदिएको भनेको २०३९।९।३० को कागज मेरो श्रीमानले मलाई बाध्य गराई ल्याप्चे सही गराएका हुन् लिखित सही गरेको होइन मेरो श्रीमान विपक्षी बाबुराम समेत मिली मेरो चरित्रमा धक्का पुग्ने गरी सही गर्न नजान्नेको कीर्ते सही गरेमा निजहरूलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी कमला तिमिल्सिनाको बा.भक्तबहादुर के.सी.ले गरेको बयान ।

६.    मैले कमला तिमिल्सिनासँग कहिले पनि करणी लिनुदिनु गरेको छैन । निज कमला र बाबुरामको राम्रोसँग मिलती नभई झगडा हुने गरेको र मसँग जग्गा सम्बन्धमा मनोमालिन्य भएको कारणले बाबुरामले हप्काई दप्काई मलाई पोल्न लगाएका होलान भन्ने समेत प्रतिवादीको पेटबोलीबाट बुझिएका नरहरि तिमिल्सिनाको बयान ।

७.    वादी कमलाको गर्भ ठूलो नरहरिकै करणीबाट रहेको भन्ने समेत ४५ जना र बाबुरामकै करणीबाट रहेको हो भन्ने समेत २५ जना भएको सरजमीन मुचुल्का ।

८.    वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई मिसिल संलग्न रहेछ ।

९.    प्र.बाबुराम नोकरीको सिलसिलामा काठमाडौंमा रहे बसेको कुरा वादी प्रतिवादीले स्वीकार गरेका वादीले २०३९ आषाढमा बाबुराम घरमा आएको र गर्भ रहेको भन्ने जिकिर लिएकोमा प्र.ले इन्कार गरेको निज बाबुराम बहाल रहेको त्यस बेलाको कार्यालय स्वास्थ्य मन्त्रालय आयुर्वेदिक विभागबाट प्राप्त पत्रानुसार प्र.बाबुरामले २०३९।२।२ देखि २०३९।४।३१ सम्मका अवधिमा कुनै विदा लिएको भन्ने नदेखिँदा प्र.बाबुराम ०३९ आषाढमा घरमा आएको पुष्ट्याई हुन सकेन । वादी प्रतिवादी बीच राम्रो मेलप्रेम स्नेह थियो भनी वादीका साक्षी हरिवंशले समेत बकपत्र गरिदिएबाट प्र.बाबुरामले त्यसै पन्छाउन पर्ने कारण रहे भएको देखिँदैन । सरजमीनका अधिकांश व्यक्तिले कमलाले धारण गरेको गर्भ बाबुरामको होइन भनी लेखाई दिएको प्र.बाबुरामको अनुपस्थितिमा वादीले गर्भ धारण गरेको र मुख समेत पतित भइसकेको देखिएकोले प्र.बाबुरामसँग स्वास्नीको नाता कायम गराई पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको ०४१।८।१ को फैसला ।

१०.    अञ्चल अदालतको फैसलामा कमला कस्की स्वास्नी हो भन्ने ठहर गरिएको छैन, जसले अप्रत्यक्ष रुपमा मलाई असर पर्ने देखिएको छ, फैसलाको बूँदा नमिलेको हुँदा अदालतको बूँदाहरू हटाई पाउँ भन्ने समेत प्र.नरहरि तिमिल्सिनाको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

११.    नलाग्ने प्रमाण लगाई मेरो विचल्ली पर्ने गरी हु.प्र.को मनसायको समेत विपरीत गरिएको गण्डकी  अञ्चल अदालतको फैसलामा चित्त बुझेन, सो फैसला बदर गरी मेरो दावी बमोजिम विपक्ष नै मेरो पति कायम गरिपाउँ भन्ने समेत वादी कमला तिमिल्सिनाको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१२.   पुनरावेदक कमला तिमिल्सिनाको वारेशले तारेख गुजारी अड्डाबाट थाम्ने थमाउने म्याद समेत नहुँदा सो पुनरावेदन डिसमिस हुन्छ । पु.वे.नरहरि तिमिल्सिनाको पुनरावेदनतर्फ, प्र.बाबुराम तिमिल्सिनालाई लोग्ने कायम गरिपाउँ भन्ने वादी कमला तिमिल्सिनाको मुख्य दावी भएकोमा वादी कमलाको यस अदालतमा पुनरावेदन परेकोमा तारेखमा रही पूर्पक्ष गर्नु पर्नेमा अञ्चल अदालतको फैसलालाई स्वीकार गरी तारेख गुजारी बसेको देखिँदा वादी कमला प्र.बाबुरामको स्वास्नी हो होइन वा कस्की स्वास्नी हो भनी नाता कायम गरी रहन नपरी कमला तिमिल्सिनाको पुनरावेदन डिसमिस भएको हुँदा गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।१२ को फैसला ।

१३.   मेरो पुनरावेदन जिकिर अनुसार मलाई प्रत्यक्ष रुपले निर्दोष ठहर गर्नु पर्नेमा सो बमोजिम नगरी पुनरावेदन जिकिर पुग्न सक्दैन भनी प.क्षे.अ.बाट भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.नरहरी तिमिल्सिनाको यस अदालतमा पर्न आएको निवेदन ।

१४.   यसमा वादी कमलाले प्रतिवादी नरहरी उपर लोग्ने स्वास्नी सम्बन्ध कायम गरिपाउँ भनी फिराद दिएको देखिन्छ, तर निज वादीले लोग्ने बाबुरामले करकाप गरी फिराद सही गराएको भनी विन्तिपत्रमा उल्लेख गरेको साथै नरहरिसँगको अनुचित सम्बन्धबाट गर्भ रहेको भनी २०३९।९।३० मा कमलाले गरेको कागजको सम्बन्धमा बयान गर्दा बाध्य भई सही गराएको भनी उल्लेख गरेको देखिन्छ । यस्तो स्थितिमा कमलाले इन्कार गरेको बयान समेतलाई प्रमाणमा लिई निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरेको प.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४३।२।१४ को आदेश ।

१५.   नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले गर्नु भएको बहस समेत सुनी पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१६.    यसमा अञ्चल अदालतबाट वादी कमलाले आफूलाई पञ्चायतमा गराएको भनेको २०३९।९।३० को कागज र पुनरावेदक नरहरी उपर नाता कायम गरिपाउँ भनी दिएका फिरादपत्र समेत झुक्याई जालसाजबाट गराई लिएको हुँदा सो कागजहरूको प्रमाण नलिई प्र.बाबुरामसँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी दावी लिई उजूर गरेकोमा अञ्चल अदालतबाट संकलित सबूद प्रमाण तथा साक्षीहरूको बकाइको आधारमा सो कागजहरूलाई दावी बमोजिम झुक्याई जालसाजबाट गराएको भन्ने वादी दावीलाई मान्यता नदिई सोही प्रमाण कागजको आधारमा मुख समेत पतित भइसकेको भन्ने बूँदा उल्लेख भई दावी बमोजिम बाबुरामसँग स्वास्नीको नाता कायम गरिपाउँ भन्ने दावी नपुग्ने भनी ठहर गरे उपर वादी कमलाको क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा निजले कानुन बमोजिमको सबूद प्रमाण पुर्‍याई आफ्नो दावी कायम गराई लिन पर्नेमा पुनरावेदनको तारिखै गुजारी पुनरावेदन डिसमिस गराई बसेको हुँदा निजको दावी नै खम्वीर हुन नआएको हुँदा पेटबोलीबाट बुझिएका प्रतिवादी बनाइएका यिनी पुनरावेदक तर्फबाट लिइएको जिकिर बमोजिम कमलाको गर्भ को कस्को हो र सो प्रमाण कागजहरु वादीले देखाए बमोजिम झुक्याई जालसाज गरेको हो होइन त्यसतर्फ विचारै गरिरहन पर्ने  अवस्था नरहेकाले पेश भएका सो प्रमाण कागजहरूका आधारमा अञ्चल अदालतले वादी कमला मुख पतित भइसकेको भनी लेखेको बूँदा र क्षेत्रीय अदालतले वादीले पुनरावेदन डिसमिस गराएको हुँदा वादी कमला प्र. बाबुरामकी स्वास्नी हो होइन वा कस्की स्वास्नी हो भनी नाता कायम गरी रहन नपर्ने भनी फैसलामा लेखेको देखिएकोले मनासिब ठहर्छ । सो प्रमाण कागजबाट पुनरावेदकलाई कुनै असर पर्न आउँछ भने पुनरावेदकले कानुन बमोजिमको फिराद उजूरी दिई कानुनी उपचार लिन पाउने नै हुँदा पुनरावेदकको सम्बन्धमा अञ्चल अदालतको इन्साफ मनासिब ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल पौष २१ गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु