निर्णय नं. ३२५५ - अंश माना चामल

निर्णय नं. ३२५५ ने.का.प. २०४४ अङ्क ११
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.इ. नम्बर ७५
मुद्दा : अंश माना चामल ।
निवेदीका/वादी :जिल्ला धादिङ भारपाक गाउँ पञ्चायत घर भई हाल जिल्ला नुवाकोट गङ्गामाई गाउँ पञ्चायत वडा नं. २३ त्रिशुली बस्ने कल्पना कुमारी अधिकारी ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जिल्ला धादिङ भारपाक गाउँ पञ्चायत वडा नं. ३ को बोराङ बस्ने भद्र कुमारी अधिकारी क्षेत्री ।
ऐ.ऐ बस्ने चन्द्र बहादुर अधिकारी क्षेत्री ।
फैसला भएको मिति: २०४४।१०।२१।५ मा
अर्कोसंग करणी गराएकी छु भनी स्वास्नी अड्डामा सावित भएको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने भएबाट सम्बन्ध बिच्छेद गर्न लोग्नेले छुट्टै नालेश गर्नुे पर्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने ।
(प्रकरण नं. १२)
कार्यविधिगत त्रुटीको कारणले मुद्दा खारेज हुँदैमा मुद्दामा पक्षले स्वेच्छापूर्वक व्यक्त गरिसकेको कुराको विपरीत हुने गरी अन्य दावी वा जिकिर लिन पाउँछ भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
अर्को विवाह समेत गरी आफ्नो साविकको स्थितिमा परिवर्तन गरेकोबाट अब आएर सत्यमा बसेकी छु भन्न पाउने अवस्था आउँदैन, एउटा मुद्दामा एक व्यहोरा र दोश्रो मुद्दामा सो व्यहोरा विपरीत भन्न पाउने हुँदैन विबन्धनको सिद्धान्त लागू हुने ।
(प्रकरण नं. १५)
५ भागको १ भाग मेरो र मेरो छोराको अंश दिलाई माना चामल समेत भराई पाउँ भन्ने वादीको दावी भएपनि मूल रुपमा कल्पना कुमारीकै दावी भएको र स्वतन्त्र रुपमा छोराको समेत दावी भई मुद्दा चलेको नदेखिएको र पछि रीतपूर्वक फिराद परेका बखत निर्णय हुनसक्ने नै देखिँदा प्रस्तुत मुद्दाबाट निजको हकमा निर्णय गरिरहनु नपर्ने ।
(प्रकरण नं. १६)
निवेदीका तर्फबाट: विद्वान अधिवक्ता श्री शुशिल पन्त
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाःX
फैसला
प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय उपर निवेदीकाको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको अंश माना चामल भने मुद्दाको मिसिल झिकी फुल बेञ्जबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको हुकुम प्रमाड्डी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विपक्षी चन्द्र बहादुर मेरा पति हुन् मेरो गर्भबाट एक छोरा समेत जायजन्म भएको छ । विपक्षी मिली मलाई षडयन्त्र गरी हाडनाता करणी मुद्दा दिएकोमा मिति २०३४।९।२२ गते वागमती अञ्चल अदालतबाट खारेज भई अन्तिम फैसला भएको छ । विपक्षी लोग्नेले २०३५ सालमा अर्को स्वास्नी ल्याएको र मलाई सासू र लोग्ने मिली मिति २०३४।१०।३ गते घरबाट निकाला गरिदिएकोले विपक्षीहरूसँग बाबु बाजेको श्रीसम्पत्तिको तायदाती मागी सौता १, लोग्ने १, सासू १ र म वादी र मेरो नाबालख छोरा गरी पाँच भागको १ अंश मध्ये म र नाबालख छोराको गरी २ भाग अंश दिलाई फैसला भएको मिति तकको माना चामल भराई पाउँ भन्ने समेत व्यहोराको दावी ।
३. विपक्षी वादीले मिति २०३१।१२।२२ मा तीन पुस्ताभित्रको ओम बहादुर नाम गरेको देवरले करणी गरी ३ महिनाको गर्भ छ भनी अदालतमा बयान गरेको हाडनाता करणी मुद्दामा बयान गर्दा १० महिना भयो विवाहिता लोग्नेसँग भेट भएको छैन भनेकी हुनाले उक्त छोरा ओम बहादुरसँग करणी गराई जन्माएको हुँदा हामीले अंश दिनु पर्ने होइन लोग्ने स्वास्नीको २ नं. बमोजिम र वागमती अञ्चल अदालतको मिति २०३४।९।२२ गतेको फैसलाले समेत मेरो सम्बन्ध विच्छेद भएको स्वतः सिद्ध छ । वादीको झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको भद्रकुमारी र चन्द्र बहादुरको संयुक्त प्रतिउत्तरपत्र ।
४. वादीले २०३१ सालमा चैत्र २२ गते हाडनाता करणीमा मुख सावित भई अड्डामा आई बकेको हुँदा लोग्ने स्वास्नीको २ नं. को व्यवस्था अनुसार अर्कोसँग करणी गराएको कुरा स्वास्नीले स्वीकार गरी भन्दछे भने स्वतः सम्बन्ध विच्छेद हुने हुँदा वादीले लोग्नेतर्फबाट अशं पाउँ भन्ने दावी पुग्न सक्दैन र नाबालख छोराको माना चामलतर्फ बाबुको ठेगाना लागी कायम भएका बखत उजूर लाग्ने हुनाले यस्तो स्थितिमा बाबु कायम हुने ठहरेमा मात्र दावी पुग्ने देखिएकोले दावी खारेज हुने ठहर्छ भने समेत व्यहोराको धादिङ जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी कल्पना कुमारीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
६. करणीमा बिग्री गर्भ धारण गरेको कुरामा समेत मुख सावित भई बयान गरेको मिसिल संलग्न भइआएको हाडनाता मुद्दाको छिनुवा मिसिलबाट देखिन आएकोले यस मुद्दामा सो विबन्धन निजलाई लाग्दैन भन्न नहुने हुनाले र लोग्ने स्वास्नीको २ नं. का ऐन हेर्दा अर्कोसित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध विच्छेद गर्न पाउछ भन्ने कानुनी व्यवस्था भइराखेकोले निज कल्पना कुमारीको चन्द्र बहादुरको उपरको अंश भाग माना चामलको दावी पुग्न नसक्ने र नाबालख छोराको हकमा कायम गरी ल्याएको बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको निर्णय बेमनासिब भन्न भएन अतः शुरु निर्णय सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३९।२।१८।३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादी कल्पना कुमारीको यस अदालतमा निवेदन पर्दा हाडनाता करणी मुद्दामा वागमती अञ्चल अदालतको मिति २०३४।९।२२ गतेको फैसलाबाट गैरकानुनी घोषित भएको बयानलाई प्रमाणमा लिई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णयमा सबूद प्रमाणको सही मूल्याङ्कन नभई त्रुटी गरी निर्णय गरेको देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने सर्वोच्च अदालतको आदेश ।
८. निर्णयार्थ पेश हुँदा यिनै वादी कल्पना कुमारी निजको तीन पुस्ताभित्रको हाडनाताको ओम बहादुरसँग करणीमा बिग्रेको भनी चन्द्र बहादुरले फिराद गरेको हाडनाता करणी मुद्दामा यी वादी कल्पना कुमारीले चन्द्र बहादुरसँग करणीमा बिग्रीएको र निजको करणी विर्यबाट निजले गर्भ धारण गरेको कुरामा समेत मुख सावित भई बयान गरेको मिसिल संलग्न भइआएको हाडनाता मुद्दाको छिनुवा मिसिलबाट देखिन आएकोले यस मुद्दामा सो विबन्धन लाग्दैन भन्न नहुने हुनाले र लोग्ने स्वास्नीको २ नं.को कानुनी व्यवस्थाबाट निज कल्पना कुमारीको चन्द्र बहादुर उपरको अंश माना चामलको दावी पुग्न नसक्ने र नाबालख छोराको हकमा बाबु कायम गरी ल्याएको बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको शुरुको निर्णय सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।५।१० को फैसला ।
९. निवेदीका वादीतर्फबाट विद्वान अधिवक्ता श्री शुशिल पन्तले हाडनाता करणी मुद्दामा वादीले गरेको बयानलाई गैरकानुनी ठहर्याई वागमती अञ्चल अदालतबाट मुद्दा खारेज भएपछि त्यो बयान शुन्यको स्थितिमा पुगेको हुँदा प्रस्तुत मुद्दामा सो बयानलाई प्रमाणमा लगाउन मिल्दैन। प्रस्तुत मुद्दामा विबन्धनको अन्तरतत्व नै विद्यमान नहुँदा अंश माना चामलमा दावी गर्न वादी विबन्धित छन् भन्न मिल्दैन । लोग्ने स्वास्नीको २ नं. स्वतः सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको नभई लोग्नेले सम्बन्ध विच्छेद गर्न पाउँछ भनेबाट लोग्नेले मुद्दा गरी सम्बन्ध विच्छेद गराउन नसकेसम्म अंश माना चामलको दायित्वबाट पन्छिन मिल्दैन । नाबालख छोराको सम्बन्धमा यसै मुद्दाबाट नाता कायमतर्फ कारवाही उठाई निर्णय गर्न मिल्नेमा बाबु कायम गराई ल्याएपछि हुने भनेको पनि संयुक्त इजलासको निर्णय मिलेको छैन, भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले कार्य विधिगत त्रुटीले मुद्दा खारेज भए पनि देवर नाता पर्ने व्यक्तिसँग करणीमा बिग्री तीन महिनाको गर्भ भएकोमा वादी सावित भएको र उक्त अवस्थामा विद्यमान लोग्ने स्वास्नीको २ नं. को कानुनी व्यवस्था अनुसार त्यस्तो स्थितिमा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने हुँदा सो बयान निजको विरुद्ध प्रमाण नलाग्ने भन्न मिल्दैन । वादीसँग स्वतः सम्बन्ध विच्छेद भएको ठानी चन्द्र बहादुरकै स्वास्नी हुँ भनी अंशमा दावी गर्न विबन्धित हुँदा बाबु कायम गराई ल्याएको बखत हुने भनेको संयुक्त इजलासको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१०. मिति २०४४।१०।१४ गतेमा यस इजलास समक्ष पेश भई आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा अंश माना चामल पाउँ भन्ने वादी कल्पना कुमारीको दावी पुग्न नसक्ने र नाबालख छोराको हकमा खारेज गर्ने गरेको संयुक्त इजलासको निर्णय मिलेको छ वा छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा निर्णयतर्फ हेर्दा विपक्षी चन्द्र बहादुर मेरा खसम हुन् । मेरा गर्भबाट छोरा एक समेत जायजन्म भएको छ । विपक्षीहरूले मेरा उपर षडयन्त्र रची हाडनाता करणी मुद्दा लगाए तापनि विपक्षीले दिएको फिराद खारेज हुने ठहर्याई मिति २०३४।९।२२ मा वागमती अञ्चल अदालतबाट अन्तिम फैसला भएको विपक्षी खसम र सासू समेतले मलाई हेला गरी खान लाउन समेत नदिई मिति २०३४।१०।३ गतेका दिन घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १ नं. बमोजिम ५ भागको १ भाग मेरो र मेरो छोराको अंश मलाई दिलाई फैसला भएको मिति तकको मेरो र नाबालख छोराले खाँदा लाग्ने माना चामल वर्ष १ को रु. १२००।– का दरले भराई पाउँ भन्ने समेत फिराद दावी र यो वादी विवाहिता श्रीमती हो तापनि हाडनाता करणी मुद्दामा ३ पुस्ताभित्रको देवर ओम बहादुरले मलाई करणी गरेकोले मेरो पेटमा तीन महिनाको गर्भ छ भनी वादीले अदालतको सामुन्ने मिति २०३१।१२।२२ मा बयान गरेकीले लोग्ने स्वास्नीको २ नं. बमोजिम वादी र म चन्द्र बहादुरको लोग्ने स्वास्नीको सम्बन्ध मिति २०३१।१०।५ गतेबाट समाप्त भएको र वादीले ओम बहादुरसँग करणी गराई रहेको गर्भबाट जन्मिएको छोरा हुँदा हामीले अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ ।
१२. वादी यिनै चन्द्र बहादुर अधिकारी तथा प्रतिवादी यिनै कल्पना कुमारी समेत भई चलेको हाडनाता करणी मुद्दामा धादिङ जिल्ला अदालत समक्ष कल्पना कुमारीले २०३१।१२।२२ मा बयान गर्दा तिन पुस्ताभित्रको देवर नाताको ओम बहादुरले यहि गएका माघ ५ गतेको दिनमा वारचे भन्ने वनमा करणी गरे र करणी गरेदेखि म नछुनी भएको छैन मेरो पेटमा तीन महिना जतिको गर्भ रहेको छ लोग्ने काठमाडौंमा नोकरी गर्न जानु भएको लोग्नेसँग भेट नभएको १० महिना जति भयो होला भन्ने समेत उल्लेख गरेको पाइन्छ । तत्काल बहाल रहेको लोग्ने स्वास्नीको २ नं. मा भएको कानुनी व्यवस्था हेर्दा यस महलको १ नं. बमोजिम सम्बन्ध विच्छेद नगराई स्वास्नीले लोग्ने बाहेक अरुसित करणी गराएमा वा पोइल गएमा लोग्नेले जारीको महल बमोजिम सजायँ गराउन पाउँछ र त्यस्तो अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध पनि स्वतः विच्छेद हुन्छ । अर्कासित करणी नगराए पनि गराएको छु भनी स्वास्नी अड्डामा मुख सावित भई भने त्यस्तो अवस्थामा पनि लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्था अनुसार अर्कोसँग करणी गराएकी छु भनी स्वास्नी अड्डामा सावित भएको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने भएबाट सम्बन्ध विच्छेद गर्न लोग्नेले छुट्टै नालेश गर्नु पर्ने भन्ने निवेदीका तर्फका विद्वान अधिवक्ताको जिकिरसँग सहमत हुन सकिएन ।
१३. वादी चन्द्र बहादुर अधिकारी क्षेत्री प्रतिवादी कल्पना कुमारी अधिकारी क्षेत्री समेत भएको हाडनाता करणी मुद्दामा वागमती अञ्चल अदालतको मिति २०३४।९।२२ गतेको निर्णय हेर्दा प्रतिवादी कल्पना कुमारीलाई वादीले नै फिराद साथ सुम्पुवा गर्न ल्याएको र शुरु जिल्ला अदालतबाट अ.बं. ९४ नं. को कार्यविधि नअपनाई ठाडो करणीको ४ नं. अन्तर्गतको अवस्था देखिँदा दुनिया वादी फौज्दारी मुद्दा देखिएको यस्तोमा फिरादवालाले प्रतिवादीलाई फिराद साथ सुम्पूवा गर्न पाउने कानुनी व्यवस्था नहुँदा उक्त ठाडो बयानलाई कानुनी मान्यता प्राप्त बयान भन्न नमिल्ने मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत उल्लेख भएको पाइन्छ ।
१४. उक्त मुद्दा खारेज भएको कारणले कल्पना कुमारीको उक्त मुद्दामा भएको बयानलाई प्रस्तुत मुद्दामा प्रमाणमा लिन मिल्ने हो वा होइन प्रतिवादी चन्द्र बहादुरसँग अंश माना चामलमा दावी गर्न वादी कल्पना कुमारी विवन्धित छन् वा छैनन् भन्ने सन्दर्भमा हेर्दा उक्त मुद्दा खारेज भएको कारणले वादी कल्पना कुमारीलाई हाडनाता करणीमा कुनै सजायँ गर्न नमिल्ने सम्म हुन्छ । तर कार्य विधिगत त्रुटीको कारणले मुद्दा खारेज हुँदैमा उक्त मुद्दामा पक्षले स्वेच्छापूर्वक व्यक्त गरिसकेको कुराको विपरीत हुने गरी अन्य दावी वा जिकिर लिन पाउँछ भन्न मिल्दैन । अदालत समक्ष अर्को व्यक्तिसँग करणी गराएकी छु भनी वादी कल्पना कुमारी सावित भएको र निजको त्यस्तो अभिव्यक्तिबाट लोग्ने स्वास्नीको महलको तत्काल बहाल रहेको २ नं. को व्यवस्था अनुसार लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने अवस्थामा सो हाडनाता करणी मुद्दा खारेज भएकै कारणले निजको अघिल्लो लोग्ने अर्थात् यो मुद्दाको प्रतिवादीसँग लोग्ने स्वास्नीको सम्बन्ध यथावत कायम रहन्छ भन्न मिल्ने स्थिति देखिएन ।
१५. प्रस्तुत अंश माना चामल मुद्दाको फिरादपत्रको प्रकरण नं. २ मा चन्द्र बहादुरले २०३५ सालमा अर्की श्रीमती ल्याई लोग्ने स्वास्नीको सम्बन्ध स्थापित गरी बसेको भन्ने उल्लेख गरेको पाइन्छ । हाडनाता मुद्दामा कल्पना कुमारीले ओम बहादुरसँग करणीमा बिग्री गर्भ रहेको उल्लेख गरी मिति २०३१।१२।२२ मा बयान गरेपछि लोग्ने स्वास्नीको तत्कालिन २ नं. को कानुनी व्यवस्था अनुसार लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने भएको र चन्द्र बहादुरले अर्को विवाह समेत गरी आफ्नो साविकको स्थितिमा परिवर्तन गरेकोबाट अब आएर चन्द्र बहादुरकै सत्यमा बसेकी छु भन्न पाउने अवस्था पाउँदैन । एउटा मुद्दामा एक व्यहोरा र दोश्रो मुद्दामा सो व्यहोरा विपरीत भन्न पाउने हुँदैन । विबन्धनको सिद्धान्त लागू हुन्छ ।
१६. ५ भागको १ भाग मेरो र मेरो छोराको अंश दिलाई माना चामल समेत भराई पाउँ भन्ने वादी कल्पना कुमारीको दावी भएपनि मूल रुपमा कल्पना कुमारी कै दावी भएको र स्वतन्त्र रुपमा छोराको समेत दावी भई मुद्दा चलेको नदेखिएको र पछि रितपूर्वक फिराद परेका बखत निर्णय हुनसक्ने नै देखिँदा प्रस्तुत मुद्दाबाट निजको हकमा निर्णय गरी रहनु पर्ने अवस्था छैन । यस स्थितिमा नाबालख छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने भनी संयुक्त इजलासबाट भएको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नरहेकोले प्रस्तुत मुद्दाबाटै छोराको हकमा समेत नाता कायमतर्फ न्याय निरोपण गर्नु पर्ने भन्ने वादीतर्फका विद्वान अधिवक्ताको जिकिरसँग सहमत हुन सकिएन ।
१७. अतः उपर्युक्त कारणबाट अंश माना चामलतर्फ कल्पना कुमारीको दावी पुग्न नसक्ने र नाबालख छोराको हकमा खारेज हुने ठहर्याएको शुरु तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको संयुक्त इजलासको निर्णय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायम हामीहरूको सहमती छ ।
न्या.प्रचण्डराज अनिल
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल माघ २१ गते रोज ५ शुभम् ।