निर्णय नं. ३२५९ - जग्गा खिचोला मुद्दामा पुनरावेदनको अनुमति पाउँ

निर्णय नं. ३२५९ ने.का.प. २०४४ अङ्क ११
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको दे.पूर्ण इ.नि.नं. ५
विषय : जग्गा खिचोला मुद्दामा पुनरावेदनको अनुमति पाउँ ।
निवेदक/वादी: पद्म कुमारी राणा ।
विरुद्ध
विपक्षी/प्रतिवादी: कृष्ण कुमारी श्रेष्ठ ।
आदेश भएको मिति:२०४४।९।२३।५ मा
मथुरा प्रसाद मिश्रले प्रस्तुत मुद्दामा वादी पद्म कुमारी उपर दिएको जग्गा खिचोला मुद्दामा २०२५।३।१ मा नक्शा हुँदा न.नं. ३१ मा विष्णुमायाको जग्गा भनी देखाई नक्शा भएको हुनाले सो मिति २०२५।३।१ को नक्शाबाट वादीलाई मुद्दा गर्नु पर्ने कारण प्रष्ट हुन आउने ।
(प्रकरण नं. २)
निवेदक,वादी तर्फबाटःX
विपक्षी,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्र बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादी पद्म कुमारीको निवेदन परी सर्वोच्च अदालतको संयुक्त इजलास समक्ष पेश हुँदा निवेदक वादीले २०३४।१०।१ को नक्शाको आधारमा फिराद दायर गरेको देखिन्छ । मिति २०२५।३।१ मा वादी मथुराप्रसाद प्रतिवादी यिनै पद्म कुमारी भएको मुद्दामा भएको नक्शामा विपक्षी प्रतिवादी स्वयंले यी दावीको जग्गाहरू मेरो भनी देखाएको भन्ने नहुँदा बीच बीचका मानिसहरूले यी दावीका जग्गाहरु यो यस्को हो भनी देखाउँदैमा यी प्रतिवादी उपर मुद्दा गर्नु पर्ने कारण श्रृजना भएको मान्न सकिने अवस्था पर्न आउँदैन । मिति ०३४।१०।१ मा भएको नक्शामा जनाइएको आधारले प्रस्तुत मुद्दा हदम्याद भित्रै दायर गरेको देखिन आएको यस्तो अवस्थामा हदम्याद नाघी दायर भएको आधारमा खारेज गर्ने गरेको म.क्षे.अ.को फैसलामा ज.मि.को १८ नं.को व्याख्या सम्बन्धी त्रुटी भई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को (५)(ख) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय र म.क्षे.अ.बाट ठहर हुँदा रामरतनसँगको यीनै वादीको मुद्दा परी २०३४।१०।१ मा भएको नक्शामा देखाइएका कुराहरूको आधारमा यो मुद्दा परेको देखिन आएको यिनै जग्गाहरू सम्बन्धमा यिनै वादी उपर परेको जग्गा खिचोला मुद्दामा २०२५।३।१ मा भएको नक्शामा यी वादीका जग्गाहरू यिनै प्रतिवादीहरूको भनी विभिन्न न.नं.मा जनिई नक्शा भइरहेको देखिन आएकोले यदि दावीको जग्गा वादीको हकको भए सो नक्शा भएको मितिले म्यादभित्र उजूर गर्नु पर्नेमा नगरी हाल मात्र २०३४।१०।१ मा नक्शामा लेखाई खिचोला समेत गरेको भनी यो फिराद परेकोमा प्रतिवादीले आफ्नो प्रतिउत्तर जिकिरमा दावीको जग्गाहरू अघिदेखि नै हाम्रो हकभोगमा रही नक्शामा समेत जनिएको छ भनी जिकिर लिएको अवस्थामा फिराद जिकिरलाई मात्र मान्यता दिई म्यादभित्र फिराद गरेको भन्न नमिल्ने भएबाट फिराद म्याद नाघी परेको हुँदा खारेज हुने ठहर भइरहेको देखिएकोले माग बमोजिम अनुमति दिन मिलेन भन्ने माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको मिति २०४४।५।२६ मा राय भई माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको छ ।
२. यसमा वादी मथुराप्रसाद मिश्र प्रतिवादी यिनै वादी पद्म कुमारी समेत भएको जग्गा खिचोला मुद्दामा मिति २०२५।३।१ मा भएको नक्शामा मिति ०३४।१०।१ को नक्शा मिलानके न.नं. ३१ मा विष्णुमायाको जग्गा देखिन आएकोमा त्यसतर्फ तत्कालै मुद्दा गर्न नसकी हाल मिति २०३४।१०।१ को नक्शाको आधार लिई फिराद दायर भएको देखिएको २०२५।३।१ मा भएको नक्शाको ऐनको म्यादभित्र प्रस्तुत फिराद दायर हुनसकेको देखिएन, हदम्याद नाघी फिराद दायर भएको देखिँदा खारेज हुने ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको देखिन्छ । मथुराप्रसाद मिश्रले प्रस्तुत मुद्दाका वादी पद्म कुमारी उपर दिएको जग्गा खिचोला मुद्दामा २०२५।३।१ मा नक्शा हुँदा न.नं. ३१ मा विष्णुमायाको जग्गा भनी देखाई नक्शा भएको हुनाले सो मिति २०२५।३।१ को नक्शाबाट वादीलाई मुद्दा गर्नु पर्ने कारण परेको प्रष्ट हुन आउँछ । सो मितिबाट प्रस्तुत मुद्दाको फिराद ज.मि.को १८ नं. को ऐनको म्यादभित्र परेको देखिन्न तसर्थ वादीको फिराद हदम्याद भित्र नपरेको भनी खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटी गरी निर्णय गरेको नदेखिँदा पुनरावेदनको अनुमति दिन मिलेन भनी सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानले गर्नु भएको आदेश मनासिब छ ।
न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश
इतिसम्वत् २०४४ साल पौष २३ गते रोज ५ शुभम् ।